Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




महासंकष्टमा उत्साह र चेताउनी-
अहिले र भविष्यमा

ENCOURAGEMENT AND WARNING IN TRIBULATION –
NOW AND IN THE FUTURE
(Nepali)

डा. क्रिस्टोफर ए. केगनले दिएका सामग्री लिएर डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित १९ मई, २०१९, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
with material by Dr. Christopher L. Cagan
preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, May 19, 2019

‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।’ (यूहन्ना १६:३३)


येशूले भन्नुभयो, ‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ।’ जुन शब्दलाई ‘संकष्ट’ भनी अनुवाद गरिएको छ त्यो थलिपसेस हो। त्यसलाई ‘दबाब’ भनेर पनि अनुवाद गर्न सकिन्थ्यो। हामी सबैको जीवनमा दबाब हुन्छ। तर सबैभन्दा ठूलो दबाब झेल्ने समय आउन बाँकी नै छ। महासंकष्ट ख्रीष्ट धार्मिकतामा राज्य गर्न जैतून पर्वतमा ओर्लेर आउनुभन्दा अघिको सात वर्षको समय हो। त्यो महासंकष्टको सबैभन्दा भयानक अन्तिम साढे तीन वर्षको समय हुनेछ। ख्रीष्ट पृथ्वीमा फर्केर आउनुभन्दा अघिको त्यो सात वर्ष संसारमा ख्रीष्ट विरोधीले शासन गर्नेछ। बाइबलले संकेत दिँदछ त्यो सात वर्षको अवधिमा ख्रीष्टियन बन्ने सबै जना शहिद हुनेछन्।

प्रेरित यूहन्नाले महासंकष्ट कालमा शहिद बन्ने यी ख्रीष्टियनहरूका आत्माहरूको स्वर्गमा एउटा दर्शन देखे। तिनले भने,

‘तब वेदीको मुन्तिर मैले तिनीहरूका आत्माहरू देखेँ, जो परमेश्वरको वचनका निम्ति र तिनीहरूले दिएका गवाहीका कारण मारिएका थिए।’ (प्रकाश ६:९)

त्यसपछि तिनले लेखे,

‘यिनीहरू ती नै हुन्, जुनहरू महासंकष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।’ (प्रकाश ७:१४)

यी सात वर्ष ख्रीष्टियनहरूका निम्ति इतिहासको अरू कुनै पनि कालभन्दा भयानक हुनेछ। येशूले भन्नुभयो,

‘किनकि त्यस बेला यस्तो महासंकष्ट हुनेछ, जो जगतको शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।’ (मत्ती २४:२१)

हो, ऱ्याप्चर हुनेछ। बाइबलले भन्छ,

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरीउठनेछन्। तब हामी बाँचिरहेकाहरू र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।’ (१ थेस. ४:१६-१७)

तापनि यो प्रतिज्ञाले आज, महासंकष्ट आउनुभन्दा अघिको समयमा हामीलाई कठिनाइमा पर्नबाट जोगाउँछ भनी सोच्नुहुँदैन। हाम्रो सन्दर्भमा येशूले भन्नुभएको छ, यस युगभरि ख्रीष्टियनहरूलाई संकष्ट हुनेछ।

‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।’ (यूहन्ना १६:३३)

+++++++++++++++++++++++++++++++++++++++++++++++++

हाम्रा प्रवचनहरू अब तपाईंको सेलफोनमा पनि उपलब्ध छन्।
WWW.SERMONSFORTHEWORLD.COM.
मा जानुहोस्, ‘APP’ लेखिएको हरियो बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि आउने निर्देशनहरू पालन गर्नुहोस्।

+++++++++++++++++++++++++++++++++++++++++++++++++

येशूले यहाँ जे भन्नुभएको छ त्यसलाई ध्यान लगाएर हेरौं। म यो पदको दोस्रो भागमाथि केही भन्नेछु, त्यसपछि पहिलो भाग र अनि फेरि अन्तिम भागको बारेमा भन्नेछु।

१. पहिलो, ‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ।’ यो कुरा येशूले उहाँका चेलाहरूलाई भन्नुभएको हो, र यो अहिलेको युगका ख्रीष्टियनहरूका निम्ति पनि हो। ख्रीष्टियनहरूलाई शारीरिक कठिनाइहरू पनि हुनेछ। प्रेरित पावलले लेखे,

‘प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढो मेरो शरीरमा दिइयो।...’ (२ कोरिन्थी १२:७)

यसले पावलमा आँखाको समस्या थियो कि भन्ने संकेत गर्दछ। यसले ख्रीष्टियनहरू पनि शारीरिक बिमारी, पीडा र शारीरिक मृत्यु भोग्नुपर्छ भन्ने संकेत दिन्छ। हामी ख्रीष्टियन बनेपछि शारीरिक रोग र पीडाबाट उम्कन सक्दैनौं।

ख्रीष्टियनहरूले यो पतित, पापमय संसारमा अरू कठिनाइ र संकष्टहरू पनि भोग्नु पर्छ। प्रेरित पावलले ख्रीष्टियनहरूको अनुभवको बारेमा बताएका छन्,

‘के संकष्टले, अथवा दुःखले, वा खेदोले वा तरवारले? यस्तो लेखिएको छ, ‘तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेडाहरूजस्तै हामी गनिएका छौं’।’ (रोमी ८:३५-३६)

तर तिनले यो संकेत दिएका छन्, कि यी कुनै पनि संकष्टले ‘हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन’ (रोमी ८:३५क)।

‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ।’ (यूहन्ना १६:३३)

यूहन्नाबाहेक, अरू सबै प्रेरितहरू ख्रीष्टमा तिनीहरूका विश्वासको कारण मारिए, यूहन्नालाई भने उम्लिएको तेलमा हालिएको थियो, अनि तिनी बाँकी जीवनभरि भयभीत भएका थिए। युगौंयुगबाट ख्रीष्टियनहरूले आफ्नो विश्वासको खातिर दुःख भोगेका छन्। फक्सको शहिदहरूको पुस्तक एउटा उत्कृष्ट पुस्तक हो, त्यसमा इतिहासभरि ख्रीष्टियन शहिदहरूले भोगेका दुःखहरूको वर्णन गरिएको छ। डा. पल मार्शलले भनेका छन्,

मध्य अमेरिकाका जंगलहरूमा, चीन देशका यातना गृहहरूमा, पाकिस्तानी झ्यालखानहरूमा, भारतको दंगाहरूमा र सुडान देखका गाउँहरूमा धेरै जना विश्वासीहरूले आफ्नो विश्वासका निम्ति सर्वोच्च मूल्य चुकाइसकेका छन्। (ऐजन, पृष्ठ १६०) व

सुडान देशमा ख्रीष्टियनहरूलाई दास बनाइएको छ। इरानमा तिनीहरूको हत्या गरिएको छ। क्युबामा तिनीहरूलाई झ्यालखानमा हालिएका छन्। चीन देशमा तिनीहरू कुटेर मारिएका छन्। सारा संसारका ६० भन्दा बढी देशहरूमा ख्रीष्टियनहरूलाई तिनीहरूको विश्वासको कारण सताइएका, दुर्व्यवहार गरिएका, यातना दिइएका वा मृत्युदण्ड दिइएको छ। सारा संरासमा २० करोड ख्रीष्टियनहरू दिनहुँ गुप्त पुलिस, जासूसहरू वा राज्यको दबाब र भेदभाव सहेर जिउँछन्। लाखौं ख्रीष्टियनहरूले तिनीहरूले गरेका विश्वासको कारण दुःख भोगिरहेका छन् (पल मार्शल, पीएचडी.,दियर ब्लड क्राइस आउट, वर्ड, १९९७, पछिल्लो जिल्द)।

यहाँ पश्चिमी मुलुकमा पनि साँचो ख्रीष्टियनहरूलाई बढदै गइरहेको सांसारिक समाजको समूहबाट अलग गरिन्छ र तुच्छ ठानिन्छ वा दुःख दिइन्छ। कलेजका कक्षा कोठाहरूमा ख्रीष्टियन विश्वास र बाइबलको हाँसो उडाइन्छ। धेरै जना ख्रीष्टियनले प्रभुको दिनमा मण्डलीमा गएर परमेश्वरको आराधना गर्न चाहेकाले गर्दा तिनीहरूलाई अगाडि बढन दिइँदैन, वा जागिरबाट बर्खास्त गरिन्छ। यहाँसम्म कि, अख्रीष्टियन परिवार र कमजोरहरूले, कोमल नव सुसमाचारवादीले समर्पित ख्रीष्टियनहरूको गिल्ला गर्छन्। जसरी येशूले भन्नुभएको छ,

‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ।’ (१६:३३)

२. दोस्रो, ‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्।’

'यो तिनीहरूलाई दिइएको प्रतिज्ञा हो, जो ‘ख्रीष्टमा’ छन्। ‘ममा।’ भित्रिय शान्तिको स्रोत उहाँ नै हुनुहुन्छ। येशूले भन्नुभयो,

‘शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ।...’ (यूहन्ना १४:२७)

जब एक व्यक्तिले ख्रीष्टलाई चिन्छ, तब उसको मनमा स्थिर भित्रिय शान्ति हुन्छ, जुन संसारका अरूहरूसँग हुँदैन।

जुन व्यक्ति ‘ख्रीष्टमा’ हुन्छ, जसले आफ्ना समस्याहरू प्रार्थनामा परमेश्वरको हातमा सुम्पन्छ, उसँग अनौठो प्रकारको शान्ति हुन्छ, जसलाई बाइबलले ‘समझलाई माथ गर्ने परमेश्वरको शान्ति’ (फिलिप्पी ४:७) भन्दछ। संसारले ख्रीष्टियनहरू संसारका धेरैवटा देशमा किन पक्राउ, यातना, कैद र मृत्युदण्ड सहन्छन् भनी बुझ्दैन।

यो भित्रिय शान्तिको अर्थ ख्रीष्टियनहरूमा आन्तरिक द्वन्द्व, भावनात्मक समस्याहरू वा शारीरिक रोगहरू हुँदैन भन्ने होइन। अमेरिकामा धेरै जना सुसमाचारवादीहरू सफलता, प्रगति, शान्ति, खुशी र व्यक्तिगत सुधारको पछि लागेका छन्। यी विषयहरू क्रूसमा उल्टो झुण्डाइएको एक चीनी ख्रीष्टियन वा झ्यालखानको एकान्तमा पाँच वर्ष बिताउने क्युबाका ख्रीष्टियन वा येशूमा विश्वासको गरेको कारण मृत्यु भोग्ने ख्रीष्टियनलाई हाँसउठदो लाग्न सक्छ।

तेस्रो संसारमा सतावटमा परेका ख्रीष्टियनहरूले येशूले ‘‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्’ (यूहन्ना १६:३३) भन्नुभएको वचनको अर्थ राम्ररी बुझ्छन्। तिनीहरूले जान्दछन्, यो शान्तिले पापको क्षमा पाएपछि र परमेश्वरले तिनीहरूलाई वास्ता गर्नुहुन्छ भनी जानेपछि उत्पन्न हुने भित्रिय शान्तिलाई बुझाउँछ।

म २ कोरिन्थी ११:२४-२८ पढनेछु। सुन्नुहोस्, म बताउँछ, प्रेरित पावललाई के भएको थियो। तिनले भने,

‘पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी खाएँ। तीन पल्ट मलाई लौरोले पिटे। एक पल्ट ढुंगाले हाने। तीन पल्ट म चढेको जहाज ध्वस्त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूको जोखिममा परेँ, डाँकूहरूको जोखिममा, आफ्नै जातिका मानिसहरूको जोखिममा, अन्यजतिहरूको जोखिममा, शहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा, परिश्रममा र कष्टमा, कति-कति अनिँदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परेँ। अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ।’ (२ कोरिन्थी ११:२४-२८)

पावलले त्यस्तो परिस्थितिमा शान्ति हुने कुरा कसरी गर्न सके? तिनले शान्ति पाए। यसको जवाफ पावलले फिलिप्पी ४:६,७ मा दिएका छन्,

‘कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।’ (फिलिप्पी ४:६-७)

पावलले धेरै संकष्ट र दुःख भोगे, तापनि तिनले ‘समझलाई माथ गर्ने परमेश्वरको शान्तिको’ कुरा गरे।

३. तेस्रो, ‘साहस गर, मैले संसारलाई जितेको छु’

तपाईंले जीवनका कठिनाइ र संकष्टहरू सहन सक्नुहुन्छ कि हुन्न भनी सोच्नुहुन्छ होला। सांसारिक कलेजहरूमा जवान मानिसहरू एकपछि अर्को कक्षामा बस्छन्, जहाँ बाइबल र ख्रीष्टियन विश्वासमाथि आक्रमण गरिन्छ, तुच्छ ठहराइन्छ वा हाँसो उडाइन्छ। कलेजका विद्यार्थी सोच्छन्, ‘के म त्यो सहन सक्छु, के म ख्रीष्टियन बन्न सक्छु? के म यो अहिलेको कठिनाइ सहन सक्छु? मानिसहरू मेरो विरोधमा आउँदा के म सहन सक्छु? म डराउँदा, र ममा धेरै विश्वास नहुँदा के म त्यसको प्रतिरोध गर्न सक्छु?’

आज गम्भीर ख्रीष्टियनहरूलाई धर्मान्ध भनी हाँसो उडाइन्छ। मानिसहरू तपाईंले येशूका निम्ति बढी नै गरिरहनुभएको छ भन्नेछन्। तिनीहरूले तपाईंलाई आइतबार बिहानको एक घण्टे धर्म पालन गर्न बोलाउनेछन्, त्यो मण्डली कदापि हुँदैन। तिनीहरूले तपाईं ख्रीष्टको पछि लाग्न छोड्नुभयो भने तपाईं खुशी हुनुहुनेछ भन्नेछन्। तिनीहरू भन्छन्, ‘क्रूस बोक्नु जरूरी छैन। दुःख र पीडा भोग्नु पर्ने आवश्यकता छैन। ती सबै भुलिदिनुहोस्। त्यसलाई त्यसै छोडिदिनुहोस् र हामी जस्ता छौं त्यस्तै बन्नुहोस्’ भन्नेछन्। तिनीहरू तपाईंलाई दबाब दिन्छन्। येशूले भन्नुभएको छ, ‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ।’

तर ख्रीष्टले भन्नुभयो, ‘साहस गर, मैले संसारलाई जितेको छु।’ मैले रोमी ८:३५-३९ पढदा ध्यान लगाएर सुन्नुहोस्।

‘कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, ‘तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेडाहरूजस्तै हामी गनिएका छौं। होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं। किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।’ (रोमी ८:३५-३९)

जब तपाईं ख्रीष्टमा आउनुहुन्छ, उहाँले तपाईंमाथि अधिकार गर्नुहुनेछ। उहाँले तपाईंलाई सम्हाल्नुहुनेछ र छोड्नुहुनेछैन। जब तपाईं ख्रीष्टमा आउनुहुन्छ तपाईंले उहाँलाई पक्रनु पर्दैन। उहाँले तपाईंलाई पक्रनुहुन्छ। तपाईंको हृदय परिवर्तन भएको क्षणदेखि तपाईं अनन्त रूपमा ख्रीष्टमा सुरक्षित हुनुहुन्छ। तेस्रो संसारमा दुइ करोड मानिसहरू तिनीहरूका ख्रीष्टियन विश्वासका निम्ति दुःख भोग्न तयार भएको कुराले ख्रीष्टले उहाँका चेलाहरूलाई सम्हाल्नुहुन्छ र तिनीहरूलाई स्वर्गको आशारहित अवस्थामा नाश हुन दिनुहुनेछैन भन्ने प्रमाण दिँदछ। ख्रीष्टमा आउनुहोस्, र सबै बचाउने र सबै सुरक्षा गर्ने काम उहाँले गर्नुहुन्छ। जसरी श्री गानले यो सन्देशभन्दा अघि गाएका थिए,

त्यो आत्मा येशूमा आरामको निम्ति झुकेको
   छोड्नेछैनँ, छोड्नेछैनँ म उहाँका विरोधीलाई
त्यो आत्मालाई नरकले हल्लाउन खोजे पनि
   छोड्नेछैनँ, छोड्नेछैनँ म उहाँका विरोधीलाई
'हाउ फर्म अ फाउन्डेसन,' (‘के’ इन रिप्पोन्स् सेलेक्सन अफ हिम्स्, १७८७)

यो प्रवचनको शीर्षक हो- ‘महासंकष्टमा उत्साह र चेताउनी- अहिले र भविष्यमा।’ आज राति मैले तपाईंहरूलाई उत्साह दिएको छु। तर मैले चेताउनी पनि दिनुपर्छ। अहिले हामीले जुन कष्ट भोग्छौं त्यो मानिसहरूले अरू ठाउँहरूमा भोगिरहेका दुःखको तुलनामा धेरै सानो छ। तेस्रो संसारका ख्रीष्टियनहरू येशूमा विश्वास गरेका कारण पिटिन्छन्, झ्यालखानमा हालिन्छन्, यातनामा पर्छन् र मारिन्छन्। ती ठाउँहरूको तुलनामा यहाँ अमेरिकामा हामी धेरै आराममा छौं। भविष्यका वर्षहरूमा यहाँ ख्रीष्टियन बन्नु एउटा गाह्रो कुरा हुनेछ। दबाब धेरै बढेर जानेछ। तपाईं एक गम्भीर ख्रीष्टियन हुनुभएको कारण आफ्नो जागिर, घर, धन गुमाउनुहुनेछ। अरू देशहरूमा अहिले नै यस्तो भइरहेको छ। तपाईंका मित्रहरू र आफन्तहरू तपाईंको विरुद्धमा खडा हुनेछन्। संकष्टको बारेमा बोल्दै येशूले भन्नुभयो, ‘एउटा भाइले अर्को भाइलाई मृत्युका लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई। छोराछोरीहरू आमाबाबुका विरुद्धमा खडा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ...’ (मर्कूस १३:१२-१३)। अरू देशहरूमा अहिले नै यस्तो भइरहेको छ। तर मानिसहरूले ती सात वर्षभन्दा अगि नै तपाईंलाई इन्कार गरे तपाईं छक्क नपर्नुहोस्।

अगमवक्ता यर्मियाले भने, ‘यदि तँ मानिसहरूसित दगुरिस् र तिनीहरूले तँलाई थकाए भने, घोडाहरूसित तँ कसरी दगुर्न सक्छस् र? यदि सुरक्षित स्थानमा नै तँ लोटिस् भने, यर्दननेरका झाडीहरूमा तँ के गर्छस्?’ (यर्मिया १२:५)। हो, तपाईं अहिले केही संकष्टहरूबाट गइरहनुभएको छ। तर यदि तपाईं आजको सानो दबाब झेल्न सक्नुहुन्न भने त्यो अझै बढेर जाँदा के गर्नुहुनेछ? यदि आजको सहज समयमा तपाईं ख्रीष्टियन जीवन जिउन सक्नुहुन्न भने आँधी आउँदा तपाईं के गर्नुहुनेछ? म तपाईंलाई बिन्ती गर्छु, तपाईं एक बलियो ख्रीष्टियन बन्नुहोस्। यदि अहिले यो गर्नुभयो भने पछिबाट एक बलियो ख्रीष्टियन बन्नुहुनेछ। नयाँ ख्रीष्टियन हुँदै मैले रिचर्ड वर्मब्राण्डको ख्रीष्टको निम्ति यातना पुस्तक पढेपछि यस्तो विचार गरेँ। त्यो पढिने एउटा पुस्तक मात्र थिएन। त्यसले मेरो जीवन बदलायो। ख्रीष्टियन बन्नु सधैं सजिलो हुँदैन। यो गाह्रो हुन सक्छ। यो गाह्रो छ। हो, ‘साहस गर्नुहोस्’(यूहन्ना १६:३३)। तर मूल्यको पनि हिसाब गर्नुहोस् (हेर्नुहोस्, लूका १४:२८)। त्यसो गर्नु उचित छ, किनकि तपाईं सधैँभरि ख्रीष्टसित जिउनुहुनेछ।

अनि अब म आज राति यहाँ भएका उद्धार नपाएका मानिसहरूसँग बोल्छु। येशूले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ। तपाईंको पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। तपाईंको पाप पखाल्न उहाँले रगत बगाउनुभयो। तपाईंलाई जीवन दिन उहाँ चिहानबाट उठनुभयो। उहाँमाथि विश्वास गर्नुभयो भने तपाईं सधैँभरिका निम्ति बचाइनुहुनेछ। तर येशूलाई विश्वास गर्नु भनेको केही शब्दहरू भन्नु मात्र होइन। येशूमा भरोसा गर्नु भनेको साँच्चै येशूमा विश्वास गर्नु हो। हो, तपाईंको निम्ति कठिन समयहरू हुनेछ। तपाईंले दुःख पनि भोग्नु पर्ला। तर ती भोग्नु उचित नै हुन्छ। तपाईंले येशूलाई जान्नुहुनेछ। उहाँमा विश्वास गर्नुभयो भने सधैँभरि उहाँसित जिउनुहुनेछ। येशूमा विश्वास गर्ने सम्बन्धमा मसँग बातचीत गर्न चाहनुहुन्छ भने कृपया यहाँ अघिल्लो लहरमा आएर बस्नुहोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री ज्याक गानद्वारा एकल गीत प्रस्तुत गरियो।
'हाउ फर्म अ फाउन्डेसन,' (‘के’ इन रिप्पोन्स् सेलेक्सन अफ हिम्स्, १७८७)


रूपरेखा

महासंकष्टमा उत्साह र चेताउनी- अहिले र भविष्यमा

ENCOURAGEMENT AND WARNING IN TRIBULATION –
NOW AND IN THE FUTURE

डा. क्रिस्टोफर ए. केगनले दिएका सामग्री लिएर डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
with material by Dr. Christopher L. Cagan

‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।’ (यूहन्ना १६:३३)

(प्रकाश ६:९; ७:१४; मत्ती २४:२१; १ थेसलोनिकी ४:१६-१७)

१. पहिलो, ‘संसारमा तिमीहरूलाई संकष्ट हुनेछ,’ २ कोरिन्थी १२:७; रोमी ८:३५-३६

२. दोस्रो, ‘मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्।’ यूहन्ना १४:२७; २ कोरिन्थी ११:२४-२८; फिलिप्पी ४:६-७

३. तेस्रो, ‘साहस गर, मैले संसारलाई जितेको छु,’ रोमी ८:३५-३९; मर्कूस १३:१२-१३; यर्मिया १२:५; लूका १४:२८