Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




प्रारम्भिक मण्डलीहरूमा सुसमाचार प्रचार

EVANGELISM IN THE EARLY CHURCHES
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१९ अगस्त, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, August 19, 2018

‘उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुइ-दुइ गरी पठाउनुभयो।’ (मर्कूस ६:७)


यी बाह्र जना मानिस केही हप्तादेखि मात्र येशूको साथमा थिए। तर उहाँले तुरुन्तै तिनीहरूलाई दुइ-दुइ जना गरी प्रचार गर्न पठाउनुभयो (मर्कूस ६:१२)। येशूले तिनीहरूलाई बोलाउनुभएको समयमा पनि ‘प्रचार गर्न पठाउनलाई’ (मर्कूस ३:१४) उहाँले त्यसै गर्नुभयो। तपाईंलाई निश्चय थाहा छ, कि त्यसबेला ती मानिसहरू त्यत्ति आत्मिक थिएनन्। तपाईंलाई निश्चय थाहा छ कि यहूदाको हृदय परिवर्तन भएकै थिएन, थोमाले अझसम्म सुसमाचारमा विश्वास गरेका थिएनन्, पत्रुसले पनि येशूलाई क्रूसको मृत्युबाट बचाउन चाहेका थिए। तापनि ख्रीष्टले तिनीहरूलाई तुरुन्तै सुसमाचार प्रचार गर्न पठाउनुभयो। येशूले सुरुमा नै पत्रुस र अन्द्रियासलाई यसो भन्नुभएको थियो, ‘मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु। तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। (मत्ती ४:१९-२०)

फेरि, करिब एक वर्षपछि, ख्रीष्टले उहाँका सत्तरी जना चेलालाई बोलाउनुभयो, र ‘आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुइ-दुइ गरी पठाउनुभयो’ (लूका १०:१)। कृपया, लूका १० अध्यायको यो पृष्ठ खोल्नुहोस्। मैले यसको १ देखि ३ पदसम्म पढदा खडा हुनुहोला।

‘यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुइ-दुइ जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘फसल त प्रशस्त छ, तर खेलाताहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्। जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूको बीचमा भेडाका पाठाहरूझैं पठाउँछु।’ (लूका १०:१-३)

तपाईंहरू बस्न सक्नुहुन्छ।

सुसमाचार प्रचार गर्न दुइ-दुइ जना गरी पठाउनु ख्रीष्टको तरिका थियो। मलाई लाग्छ, आज हामीले पनि त्यसै गर्नुपर्छ। साथै ध्यान दिनुहोस्, ती व्यक्तिहरू सिकारूहरू थिए, ठीकसँगले भन्नुपर्दा ख्रीष्टियन बालकहरू थिए, तर उहाँले तुरुन्तै तिनीहरूलाई पठाउनुभयो। तिनीहरूलाई पठाउनुभन्दा अघि उहाँले वर्षौंसम्म बाइबलको शिक्षा दिएर समय खर्च गर्नुभएन। अहँ त्यसो गर्नुभएन! उहाँले तिनीहरूलाई भन्नुभयो,

‘जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूको बीचमा भेडाका पाठाहरूझैं पठाउँछु।’ (१०:३)

ध्यान दिनुहोस्, ख्रीष्टले ती अनुभवहीन नयाँ चेलाहरूलाई कुन विषयका निम्ति प्रार्थना गर्नुपर्छ भन्ने पनि बताउनुभयो। अनि उहाँले दोस्रो पदमा कुन कुराका निम्ति प्रार्थना गर्ने भनी बताउनुभयो,

‘यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्।’ (लूका १०:२)

उहाँले ती अनुभवहीन सत्तरी जना नयाँ चेलाहरूलाई परमेश्वरसँग फसलका निम्ति धेरैभन्दा धेरै मानिसहरू पठाइदिऊन् भनी प्रार्थना गर्न लगाउनुभयो। डा. जोन आर. राइसले उनको एउटा हृदयस्पर्शी भजनमा सही कुरा भनेका छन्। तपाईंहरूको भजनको पुस्तकमा त्यो नम्बर ४ मा छ। कृपया, खडा भएर यो गाउनुहोस्!

गर्नुपर्छ प्रार्थना फसलका प्रभुसँग,
   ‘पठाउनोस् कटनी गर्नेहरू खेतमा तपाईंको,’
थोरै कटनी गर्नेहरू, पाकेको र लत्रिएको
   छ खेत, फलेको प्रशस्त फसल!
छु म यहाँ! छु म यहाँ! फसलका प्रभु पठाउनोस् मलाई,
   फुक्नुहोस् तपाईंको पवित्र आत्मा,
छु म यहाँ! छु म यहाँ!
पठाउनोस् आज मलाई जित्न अमूल्य आत्मा!
   ('हियर एम आइ,' डा. जोन आर. राइसद्वारा रचित, १८९५-१९८०)

दोस्रो शताब्दीमा महान् ईश्वरशास्त्री ओरिजनले भने, ‘ख्रीष्टियनहरू सारा संसारमा आफ्नो विश्वास फैलाउन आफ्नो शक्तिले भ्याएजति सबै कुरा गर्छन्।’ ख्रीष्टले उहाँको सांसारिक सेवकाइको अन्त्यतिर भन्नुभयो,

‘स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैं तिमीहरूका साथमा छु। आमिन।’ (मत्ती २८:१८-२०)

मर्कूसको सुसमाचारको अन्त्यमा ख्रीष्टले भन्नुभयो,

‘सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।’ (मर्कूस १६:१५)

लूकाको सुसमाचारको अन्त्यमा ख्रीष्टले भन्नुभयो,

‘यरूशलेमबाट शुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।’ (लूका २४:४७)

यूहन्नाको सुसमाचारको अन्त्यतिर ख्रीष्टले भन्नुभयो,

‘जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।’ (यूहन्ना २०:२१)

अनि ख्रीष्टको स्वर्गारोहण हुनुभन्दा अघि उहाँको अन्तिम वचन यस्तो थियो,

‘पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।’ (प्रेरित १:८)

कुनै समय एक जना मानिस थियो, जसले यी आज्ञाहरू ती प्रेरितहरूका निम्ति मात्र हुन्, आजका ख्रीष्टियनहरूले ती पालन गर्नुपर्दैन भन्दै मण्डली फुटायो। उसले मानिसहरूलाई आफ्नो पछि लगाउन र तिनीहरूका मण्डली छोडाउनका निम्ति चरम केल्भिनवादको वस्त्र ओढेको थियो। तर त्यसको कुनै परिणाम निस्केन, किनकि येशूका वचनहरूलाई बङग्याउँदा र उल्लङघन गर्दा कहिल्यै पनि आशिष् पाउन सकिँदैन।

स्पर्जन पाँच-बुँदे केल्भिनवादी थिए, तर तिनी चरम केल्भिनवादी थिएनन्। हामी हेर्नेछौं, ती दुइमा केही भिन्नता थिए। स्पर्जनले भने,

अहो! म चाहन्छु, कि उद्धारकर्ताले आज मण्डलीलाई भनिरहनुभएको यो वचन त्यसले सुन्नुपर्छ; किनकि ख्रीष्टका वचनहरू जीवित वचन हुन्, हिजो मात्र तिनमा शक्ति थियो भन्ने होइन, तर आज पनि छ। उद्धारकर्ताका आज्ञाहरू तिनका कार्यमा चिरस्थायी हुन्छन्ः ती प्रेरितहरूका निम्ति मात्र बाध्यकारी थिएनन्, तर हाम्रो निम्ति पनि छन्, अनि ‘पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ’ भन्ने यो जुवा हरेक ख्रीष्टियनको काँधमा छ। थुमाका निम्ति उहाँका प्रथम चेलाहरूले गरेका सेवाबाट आज हामीलाई छुट छैन; तिनीहरूलाई जस्तै हामी पनि जाने आज्ञा दिइएको छ, अनि हाम्रा कप्तान हामीबाट तिनीहरूजस्तै तुरुन्त र पूर्ण आज्ञापालन चाहनुहुन्छ। (सी. एच. स्पर्जन, द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९८६, पुनर्प्रकाशित भाग ७, पृष्ठ २८१)

हामी प्रत्येकले डा. जोन आर. राइसको साथमा भनौं,

छु म यहाँ! छु म यहाँ! फसलका प्रभु पठाउनोस् मलाई,
   फुक्नुहोस् तपाईंको पवित्र आत्मा,
छु म यहाँ! छु म यहाँ!
   पठाउनोस् आज मलाई जित्न अमूल्य आत्मा!

एउटा ठूलो भोजको दृष्टान्तमा येशूले भन्नुभयो, ‘मूल सड्कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्’(लूका १४:२३)। विवाह-भोजको दृष्टान्तमा येशूले बन्नुभयो, ‘यसकारण तिमीहरू सड्कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’ (मत्ती २२:९)

येशूले यरूशलेममा खडा गर्नुभएको स्थानीय मण्डलीले सुसमाचार प्रचार गर्नुपर्ने उहाँको आज्ञालाई दुरुस्तै लिए। पेन्तिकोसको केही हप्ताभित्र प्रधान पूजाहारीले यस्तो गुनासो गरे, ‘तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ’ (प्रेरित ५:२८)। प्रेरित ५:४२ मा हामीलाई यसो भनिएको छ, ‘अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोडेनन्।’ प्रेरित ६:१ मा हामी पढ्छौं, ‘ती दिनमा चेलाहरूको संख्या बढ्दैगएको थियो।’ पछिबाट प्रेरित १२:२४ मा हामी यस्तो पढ्छौं, ‘तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो।’ डा. जोन आर. राइसले भने,

     डिकन फिलिप प्रचार गर्न गएका सामरियाको बारेमा प्रेरित ८:६ मा हामीलाई यसो भनिएको छ, ‘फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीडले एक मनका भई तिनका कुरामा ध्यान दिए।’ फेरि १२ पदमा भनिएको छ, ‘तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए।’ नयाँ करारका मण्डलीहरूका निम्ति परमेश्वरको शक्तिको त्यस्तो अचम्मको छाल उठ्नु र मानिसहरूले उद्धार पाउनु एउटा सामान्य कुरा थियो।
     वास्तवमा, प्रेरित ९:३१ ले भन्छ, ‘त्यसरी... मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदैगयो।’
     मण्डलीहरू ‘गुणन’ भए, अर्थात् विश्वासमा आउने नयाँ व्यक्तिहरूको संख्यामा गुणन भयो र मण्डलीहरू वृद्धि भए। नयाँ करारको मण्डलीको नियमित र स्थिर ढाँचा त्यस्तै थियो, जहाँ ख्रीष्टियनहरू तिनीहरूले सक्ने जति सबैका आत्माहरू जित्न निस्कन्थे र दिनहुँ साक्षी दिन्थे। (जोन आर. राइस, डी.डी., व्हाइ आवर चर्चेज डु ट विन सोल्स, स्वर्ड अफ द लर्ड पब्लिसर्स, १९६६, पृष्ठ २५)

डा. राइसले अझै भनेका छन्, ‘अन्धो मूर्तिपूजक मानिसहरूको बीचमा सतावट हुँदाहुँदै पनि तिनीहरूले मानिसहरूका भीडहरूलाई जिते। नयाँ करारको मण्डलीको अचम्मको वृद्धि कसरी भयो त्यो हाम्रो समझदेखि बाहिर छ।’ श्री वारनकले आफ्नो पुस्तक हिस्ट्री अफ प्रोटेस्टेन्ट मिसन्स मा भन्छन् कि पहिलो शताब्दीको अन्त्यमा, त्यो पेन्तिकोसको घटना पछि (सड्सट्ठी) दुइ लाख ख्रीष्टियन थिए। तिनी भन्छन्, तेस्रो शताब्दीको अन्त्यसम्म हरप्रकारका कठोर सतावट हुँदाहुँदै र हजारौं ख्रीष्टियन शहिद भए पनि ख्रीष्टियनहरूको संख्या ८० लाख पुगेको थियो। अब रोमी साम्राज्यभरि तिनीहरूको विरुद्ध रक्तपात पूर्ण सतावटहरू भए पनि त्यस साम्राज्यमा तिनीहरूको संख्याको पाँच भागको एक भाग बनेको थियो (अर्थात् प्रत्येक १५ जनामा एक जना ख्रीष्टियन थियो)। स्तिफनस र याकूब यरूशलेममा शहिद भए पनि, र अरू धेरै जना ‘मृत्युसम्मै सताइए, र पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिए’ (प्रेरित २२:४), अनि पावललाई झ्यालखानमा हाल्ने र हत्या गर्ने कोसिस गरिए पनि यहूदीहरूबाट हजारौंलाई ख्रीष्टमा जितियो। पावलको शिर काटिदिने निरोको शासनकालमा रक्तपातपूर्ण सतावट भए पनि, हडरियन र विशेष गरी एन्टोनिनस पियस, मार्कस औरिलियस र सेप्टिमस सेभेरसका शासनकालमा धेरै सतावट भए पनि सुसमाचारको आगो जलिनै रह्यो। श्री वर्कमेन भन्छन्,

दुइ सय वर्षसम्म ख्रीष्टियन बन्नुको अर्थ आफैलाई त्याग्नु, अवहेलित र सताइएका मानिसहरूको समूहमा मिसिनुजस्तो थियो, त्यसबेला चलेको दुर्भावनाको प्रवाहको विरुद्धमा पौडिनु थियो, साम्राज्यको प्रतिबन्धमा पर्नु थियो, अनि कुनै पनि समय अति भयानक प्रकारले झ्यालखानमा हालिने वा मारिन सक्ने सम्भावना हुन्थ्यो। ख्रीष्टको पछि लाग्ने व्यक्तिले दुइ सय वर्षसम्म आफ्नो स्वतन्त्रता र जीवनका निम्ति मूल्य चुकाउनु पऱ्यो। दुइ सय वर्षसम्म आफूलाई ख्रीष्टियन भन्नु मात्र पनि एउटा अपराध हुन्थ्यो (राइस्, ऐजन, पृष्ठ २७-२८)।

डा. राइसले भने, ‘त्यस्तो घोर विरोधी परिस्थिति, चर्को घृणा, सतावट र ‘ढोकाहरू बन्द’ भएको बीचमा पनि नयाँ करार कालका ख्रीष्टियनहरूले आत्माहरू जित्ने आफ्नो अभियान अगाडि बढाए।’ हाम्रा मण्डलीहरूले गर्ने आत्मा जित्ने कार्यलाई नयाँ करारको शिक्षा र अभ्याससँग कसरी तुलना गरिन्छ? (राइस, ऐजन)। ‘नयाँ करारका मण्डलीहरू र नयाँ करारकालका ख्रीष्टियनहरूको तुलनामा हाम्रो अहिलेका मण्डली र ख्रीष्टियनहरू नराम्रोघतले र लाजमर्दो प्रकारले असफल भएका छन्’ (राइस, ऐजन, पृष्ठ २९)।

फेरि, डा. राइसले भने, ‘केवल सम्पूर्ण कोसिसद्वारा मात्र नयाँ करार कालको आत्मा जित्ने कार्यसँग तुलना गर्न सकिन्छ।... हाम्रो दयनीय शारीरिक स्वभावमा आज्ञापालन नगर्ने, अति उत्साह र जोशबाट खस्केर मनतातो हुने, परमेश्वरको काम आधा हृदयले गर्ने प्रवृत्ति हुन्छ। जसरी एउटा पुरानो भजनले भन्छ,’

भडकिन सक्छ, प्रभु मलाई त्यस्तो लाग्छ,
मैले प्रेम गरेको परमेश्वरलाई छोड़न सक्छ।

यसैले मण्डलीमा बारम्बार जोश ल्याउने, दयासहित आत्माहरू जित्ने जागृति, हामीमाथि परमेश्वरको शक्ति ल्याउने जागृतिको खाँचो हुन्छ। सम्पूर्ण रूपले कोसिस गर्ने नयाँ करारको ढाँचाबाहेक आत्माहरू जित्नलाई मण्डलीका निम्ति अर्को उपाय छैन’ (राइस्, ऐजन, पृष्ठ १४९-१५०)।

म जान्दछु, यस्तो भन्ने मानिसहरू पनि हुन्छन्, जसले यसो भन्छन्, कि डा. राइसले भनेजस्तो प्रत्येक व्यक्तिले सुसमाचार प्रचार गर्ने कुरा ‘हुन सक्दैन’। यसैले कोही-कोही चरम केल्भिनवादतिर लागेका छन्- पाँचबुँदे केल्भिनवाद होइन- तर चरम केल्भिनवाद, जसले भन्छ कि तपाईंले हराएका आत्माहरूको वास्ता नगरे पनि हुन्छ; ख्रीष्टियनले सुसमाचार प्रचार नगरे पनि परमेश्वरले उहाँको सार्वभौम अनुग्रहद्वारा उनीहरूलाई ल्याउनुहुनेछ। जर्ज व्हाइटफिल्ड, विलियम केरी, स्पर्जन र आत्माहरू जित्ने अन्य महान् व्यक्तिहरू पाँचबुँदे केल्भिनवादी थिए, तर उनीहरू चरम केल्भिनवादी थिएनन्। उनीहरू हामी सबैले ‘प्रचारकको काम गर्नुपर्छ’ (२ तिमोथी ४:५) भनी विश्वास गर्दथे। म इच्छा गर्छु, प्रत्येक सुधारवादी पास्टरले रेभ. आयन एच. मुर्रेद्वारा लिखित स्पर्जन भर्सेस हाइपर-केल्भिन्जिम (ब्यानर अफ त्रुथ ट्रस्ट, १९९५) नामक पुस्तक पढोस्। यो पुस्तक मगाउन यहाँ क्लिक गर्नुहोस्। यो पुस्तक अति राम्रो छ, यसले तपाईंहरूलाई प्रेरणा दिन्छ, हृदयमा उत्साह दिन्छ, र हराएकाहरूलाई सुसमाचार सुनाउने तपाईंको जोश फेरि जगाउँछ!

डा. राइसले ख्रीष्टियनलाई तिनीहरूका हृदय र प्राण सुसमाचार प्रचारमा लगाउने आग्रह गरेर गलत गरेका छैनन्। उनको पछि लाग्ने धेरैवटा मण्डलीहरूले विश्वासमा ल्याइएका नयाँ मानिसहरूलाई हुर्काउन पर्याप्त समय नदिएका कारण कमजोरी आयो। प्रायः उनीहरू मानिसहरूलाई ‘छोटो प्रार्थना’ गर्न लगाउँथे, उनीहरूले पश्चात्ताप गरे कि गरेनन्, बप्तिस्मा दिनुभन्दा अघि येशू ख्रीष्टमा साँचो रूपमा परिवर्तन भएका छन् कि छैनन् भनी निश्चित गर्दैनथे। डा. केगन र मैले यो समस्यामथि एउटा पुस्तक लेखेका छौं, त्यसको नाउँ ‘निर्णयवाद’ हो, यो पुस्तक तपाईं वेबसाइटमा सित्तैंमा पढ्न सक्नुहुन्छ, त्यसका निम्ति यहाँ क्लिक गर्नुहोस्ः टुडेज अपोस्टेसीः हाउ डिसिसनिज्म इस डिस्ट्रोइङ आवर चर्चेज। Today’s Apostasy: How Decisionism is Destroying Our Churches.

एउटा शिशुलाई नुहाउने पानीमा नफाल्नुहोस्। डा. जोन आर. राइसले भन्नुभएका कुराहरूसँग म पूर्ण सहमत छु। हामीले प्रारम्भिक मण्डलीको सुसमाचार प्रचार गर्ने जोशलाई फेरि जाँच्नुपर्छ, र तिनीहरूका उदाहरण पछ्याउनुपर्छ। हामी आफैलाई हराएकाहरूलाई सुसमाचार प्रचार गर्नुमा खर्च गरौं। हामी सकेसम्म होसियार पनि बनौं, कि कसैलाई बप्तिस्मा दिनुभन्दा अघि उसको जीवन साँच्चै परिवर्तन भएको होस्! सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी ख्रीष्टको आज्ञा याद राखौं,

‘मूल सड्कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्।’ (लूका १४:२३)

दोस्रो शताब्दीमा ओरिजनले भने, ‘ख्रीष्टियनहरू सारा संसारमा आफ्नो विश्वास फैलाउन आफ्नो शक्तिले भ्याएजति सबै कुरा गर्छन्।’ आउनुहोस्, हामी पनि त्यसै गरौं। कृपया, खडा भएर डा. असवल्ड जे. स्मिथको महान् भजन गाउनुहोस्- ‘प्रचार गर! प्रचार गर!’ यो तपाईंहरूको भजनको पुस्तकमा नम्बर १ मा छ।

दिनोस् हामीलाई समयको मूलनारा, आनन्द र शक्तिको शब्द,
लडाइँको पुकार, जीवन वा मरण ल्याउने जल्दो सास।
मण्डलीलाई सुस्ताइबाट जगाउने शब्द, प्रभुको ठूलो आग्रह सुन्न,
दिइएको यो बोलावट, हे फौज उठ, हाम्रो नारा प्रचार हो!
प्रचारक गर्छ घोषणा, सारा संसारमा येशूको नाउँ,
घन्किरहेका आकाशमा शब्द: प्रचार गर! प्रचार गर!
मरेका मानिस, पतित जाति, भन अनुग्रहको सुसमाचारको उपहार,
छ संसार अन्धकारमा डुबेको प्रचार गर! प्रचार गर!
(‘इभान्जलाइज! इभान्जलाइज! डा. असवल्ड जे स्मिथद्वारा रचित, १८८९-१९८६;
यो चार्ल्स वेस्ली, १७०७-१७८८-द्वारा रचित ‘एन्ड केन इट बी’ को लयमा गाइन्छ)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('हियर एम आइ,' डा. जोन आर. राइसद्वारा रचित, १८९५-१९८०)