Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




त्यो क्रूसको ख्रीष्ट

THE CHRIST OF THE CROSS
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा
रेभ. जोन शमूएल केगनद्वारा १० जुन, २०१८,
आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट
टेबरनेकलमा प्रचार गरिएको प्रवचन

A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, June 10, 2018

‘भाइ हो मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गऱ्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गऱ्यौ। किनभने मैल जे पाएँ, त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:१-३)


यो प्रेरित पावलले दिएका ख्रीष्टियन सुसमाचारको स्पष्ट र छोटो परिभाषा हो। ‘सुसमाचार’ शब्दको अर्थ ‘राम्रो खबर’ हो। पावलले कोरिन्थको मण्डलीलाई तिनले उनीहरूलाई सुसमाचारको राम्रो खबर प्रचार गरेका थिए भनी भने। तिनले उनीहरू सुसमाचारद्वारा बचाइएका हुन्, नत्रता तिनीहरूका हृदय परिवर्तन झूटो हो, ‘नत्रता तिनीहरूले व्यर्थमा विश्वास गरे’(१ कोरिन्थी १५:२) भनी भने। अनि तिनले उनीहरूलाई सुनाएका सुसमाचार फेरि दोहोऱ्याएर भने। त्यो सुसमाचारमा तीनवटा सरल कुराहरू थिएः (१) ‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो’ (२) ‘अनि उहाँ गाडिनुभयो’ (३) ‘अनि पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।’ सुसमाचार भनेको यही नै हो। यही सुसमाचार साँचो प्रचारकहरूले युगौंयुगदेखि प्रचार गर्दै आएका छन्। मेरो अभिषेक हुँदा मेरो अभिषेक प्रमाण-पत्रमा म ‘सुसमाचारको सेवकाइ’ का निम्ति नियुक्त गरिएको हुँ भनी लेखिएको थियो। अर्थात् म विशेष गरी सुसमाचार प्रचार गर्न नियुक्त वा अलग गरिएको थिएँ। ‘सुसमाचारको सेवकाइ’ मा मैले गर्नुपर्ने मुख्य काम ख्रीष्टको मृत्यु, गडाइ पुनरुत्थानको असल खबर घोषणा गर्नुथियो। अनि पावलले भने, ‘मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु’ (१ कोरिन्थी १५:१)। तर मैले सुसमाचार प्रचार गर्ने बोलावटको विषयमा अरू पनि धेरै कुराहरू भन्नुपर्छ।

१. पहिलो, धेरै जना पास्टरले आज त्यो सुसमाचारलाई होइन तर अर्कै कुरालाई मुख्य विषय बनाउँछन्।

यस्ता मानिसहरू पनि छन् जसले राजनीति प्रचार गर्छन्। उनीहरूका सन्देशहरू राजनीतिक क्षेत्रमा के हुन गइरहेको छ भन्ने विषयमा आधारित हुन्छन्। यस्तो किसिमका प्रचारकहरूले उद्धार पाउनु पर्ने कुरामा जोड् दिँदैनन्, किनकि तिनीहरूले त्यसलाई आवश्यक ठान्दैनन्। तिनीहरू राजनीति गर्नेहरू मात्र हुन्। धेरै वर्ष अघि हाम्रा पास्टर, डा. हिमर्स जुन चिनियाँ मण्डलीको सदस्य हुनुहुन्थ्यो, त्यहाँ एक जना जवान केटो थियो, जसले पास्टर डा. लिनले भियतनामको लडाइँको विरुद्धमा प्रचार गर्नुपर्छ भनी सोच्थ्यो। अन्त्यमा त्यो केटो र उसको साथमा अरू पनि केटाहरू मण्डलीबाट निस्केर गए। तिनीहरू पासाडेनाको अस सेन्टस् एपिस्कोपल चर्चमा गए, जुन लस एन्जलस शहरदेखि बाहिरको क्षेत्र हो। त्यो मण्डलीलाई अति नै राम्रो मानिन्थ्यो। त्यहाँका पास्टर डा. जर्ज रिगासले प्रायः प्रत्येक आइतबार भियतनामको लडाइँ र अन्य विषयहरूबारे प्रचार गर्थे। तर केही समयपछि ती जवानहरू त्यहाँका राजनीतिक कुराहरूद्वारा वाक्कदिक्क बने। तिनीहरू सबै मण्डली त्यागेर संसारमा फर्केर गए। डा. हिमर्सको जानकारीअनुसार आज तिनीहरूमध्ये कोही पनि मण्डली जाँदैनन्। आजका ‘मुख्यधारा’ का सम्प्रदायहरू भनिने सबै मण्डलीहरूमा यस्तै हुँदछ। राजनीतिक प्रचारले मण्डलीका मानिसहरूलाई थामेर राख्न सक्दैन। प्रत्येक मुख्यधाराका मण्डलीहरूका प्रवचनहरू राजनीतिक र सामाजिक विषयमा आधारित भएकाले ती मण्डलीहरूले हजारौं मानिसहरू गुमाएका छन्, अनि विगत दशकहरूमा लाखौं सदस्यहरू गुमाएका छन्।

अनि कुनै-कुनै प्रचारकहरू आफ्नो प्रचारलाई मनोविज्ञानमा केन्द्रित गर्छन्। आफ्नै प्रकारले बनाएका तिनीहरूका प्रवचनहरू जोएल अस्टिनको जस्ता हुन्छन्। तिनीहरू कताकता मात्र बाइबल पद उल्लेख गर्छन्, तर उनीहरूका सन्देशको धेरै भाग बाइबलमा आधारित हुँदैन। टेलिभिजनमा प्रचार गर्ने ओप्रा विनफ्रे र डा. ड्रिउको जस्तै उनीहरूका प्रचारको विषय कसरी राम्रो महसुस गर्ने र सफल हुने भन्ने खालका हुन्छन्। तिनी फिलिप्पिनी नर्स थिइन्, तिनले त्यस अस्पतालमा काम गर्थिन् जहाँ डा. हिमर्सको सानो उपचार भएको थियो। डा. हिमर्सले हरेक पल्ट तिनलाई हेर्दा तिनको हेराइ उदासपूर्ण रिसालु देखिन्थ्यो। उहाँले केही ठट्टाका कुराहरू भन्नुभयो, तर तिनलाई हँसाउन सक्नुभएन। जब उहाँले तिनलाई तिनको धर्म के हो भनी सोध्नुभयो, तिनले उहाँलाई आफू मासमा जाने गरेकी, र हरेक आइतबार जोएल अन्टिनको कार्यक्रम पनि हेर्ने गरेकी बताइन्, किनकि उसले खुशी कसरी हुने भन्ने कुरा सिकाउँछ। त्यस्ता किसिमका प्रचारकहरूले मानिसहरूलाई प्रसन्न बनाउँछ, तर तिनीहरूका व्यक्तिगत जीवनमा थोरै मात्र प्रभाव पार्दछ, अनि थोरै मानिसहरूका मात्र आत्माको उद्धार हुन्छ वा कसैको पनि हुँदैन।

तेस्रो, कोही-कोही छन्, जो बाइबलको एक-एक पद गर्दै शिक्षा दिन्छन्। बाइबलमा धेरैवटा विषय छन्, यस्ता मानिसहरू प्रवचन प्रस्तुत गर्दा बाइबलको यो ठाउँदेखि अर्को ठाउँमा फड्को मार्छन्। केही रुढिवादी पास्टरहरूले आज यस प्रकारको प्रचार गर्छन्। तर त्यस्तो प्रचार व्यर्थ हुन्छ। त्यस्ता प्रवचनमा धेरैवटा विचार र सुझाउहरू हुन्छन्, जसले मानिसहरूको जीवन परिवर्तन गर्दैन। मेरा पिता, डा. केगन उनको हृदय परिवर्तन हुनुभन्दा अघि धेरै महिनासम्म डा. जोन मेकअर्थरको मण्डलीमा जानुहुन्थ्यो, तर डा. केगनले उद्धारको खोजी गर्ने उत्साह पाउनुभएन। उहाँ उद्धार नपाई त्यो मण्डलीबाट निस्कनुभयो, तापनि उहाँमा ख्रीष्टियन बन्ने बलियो इच्छा थियो। एक-एक पद गर्दै शिक्षा दिइने मण्डलीहरू प्रचारको उद्देश्य नै बाइबल अध्ययन हो भन्ने गर्छन्। बाइबलका ख्रीष्ट होइन, तर बाइबल नै मुख्य केन्द्र बन्दछ। यसैलाई सन्डीमेनीयवाद भनिन्छ। यस्तो मण्डलीका धेरै जना मानिसहरू सेलाउँदै जान्छन्, तर प्राचीनकालका फरिसीहरूजस्तै चतुर बन्छन्।

अन्त्यमा, त्यस्ताहरू पनि छन्, जो तथाकथित ‘स्तुति-प्रशंसा’ मा बढी ध्यान दिन्छन्। यसले धेरैवटा अनौठा घुमाउरो र मोड्हरू लिन्छ। डा. हिमर्स र उनका पास्टर मित्रले त्यस्तै एउटा अनियन्त्रित ‘स्तुति-प्रशंसा’ को सेवा देखेका थिए, जहाँ मानिसहरू सिंहझैं गर्जिँदै एकले अर्कोलाई नङग्राएका थिए, अरूचाहिँ पिंजराबाट निस्केका भूतात्माहरूझैं चिच्याउँदै भूइँमा लडीबुडी गरेका थिए। अर्को ‘आराधना सेवा’ मा डा. हिमर्स र उनकी पत्नी र छोराहरूले मानिसहरूले साँच्चिकै मूर्तिको पूजा गरेका, हाँसेका र भूइँमा लम्पसार परेका देखे। उनीहरूले आफूहरू अर्कै ठाउँमा भएको, पागलखानमा भएको जस्तो महसुस गरे। अर्को ठाउँको एउटा ख्रीष्टियन कलेजमा डा. हिमर्सले केटीहरू वेश्याजस्तो नाचिरहेका, र मेसिनबाट रातो धुवाँ निस्किरहेको देख्नुभयो, अनि त्यहाँ कानको जालो नै फुटाउने संगीत बजिरहेको थियो। अरू ‘आराधना सेवा’ त्यत्ति भडिकिला हुँदैनन्, तर त्यहाँ एकपछि अर्को गर्दै धेरै लामो समयसम्म भजन गाइन्छ, अनि मानिसहरू मोहनी लागेकाजस्ता हुन्छन्। ती सेवाहरूमा साँचो प्रचारका निम्ति समय थोरै हुन्छ। यो भनिरहनुपर्दैन कि यी मण्डलीहरूमा ख्रीष्टलाई श्रेष्ठ स्थान दिइँदैन।

अनि ती सेवाहरूमा जुन ख्रीष्टको बारेमा चर्चा गरिन्छ त्यो साँचो ‘ख्रीष्ट’ हुँदैन। सुसमाचारको वास्तविक ख्रीष्टलाई मानिसको आफ्नै व्यक्तिगत विचारमा परिवर्तन गरिन्छ। डा. माइकल होर्टनले आफ्नो भेदकारी पुस्तक क्राइष्टलेस क्रिश्चियानिटी मा भनेका छन्,

हामीले येशू ख्रीष्टद्वारा परमेश्वरसित सम्बन्ध बनाउनेबारे जति धेरै कुरा गरे पनि आपैसित बाहेक उहाँसित सम्बन्ध भएकोजस्तो देखिँदैन, येशू साँच्चै मेरो वेदीको अहम् बन्नुहुन्छ (माइकल होर्टन, पीएचडी., बेकर बुक्स, २००८, पृष्ठ ४३)।

डा. हिमर्सलाई भेट्ने एक जवान केटोले उहाँलाई भन्यो, ‘मलाई बाइबल वा मण्डलीको खाँचो छैन। मेरो ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध छ, मलाई चाहिएको त्यत्ति नै हो।’ आजका धेरैवटा प्रचारले यस्तै मानिसहरू जन्माउँछ, जसले तिनीहरूका आफ्नै विचार र भावनाहरू ख्रीष्ट हुन भन्ने सोच्छन्। त्यो अर्कै येशू हो! त्यो झूटा ख्रीष्ट हो! त्यो पावलले आजको हाम्रो बाइबल पदमा चर्चा गरेका सुसमाचार होइन! यस किसिमको विचार र अरू झूटा विचारहरू धेरै जना पास्टरहरूबाट आउँछन्, जसले तिनीहरूका प्रचारको केन्द्र सुसमाचारलाई होइन अरू नै थोकलाई बनाउँछन्। प्रेरित पावलले ‘अर्कै सुसमाचारको कुरा गरे, जुन तिनीहरूले ग्रहण गरेका होइन’ (२ कोरिन्थी ११:४)। मैले भनेका यी सबै कुरा ‘अर्कै सुसमाचारमा’ केन्द्रित छ। पावलले आजको हाम्रो बाइबल खण्डमा भने,

‘किनभने मैल जे पाएँ, त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:१-३)

त्योचाहिँ सुसमाचार हो!

२. दोस्रो, सुसमाचारको केन्द्र ख्रीष्टको क्रूस हो।

मैले उल्लेख गरेका सबै प्रकारको प्रचारमा ख्रीष्टको क्रूस मुख्य विषय हुँदैन- मुख्य कुरा हुँदैन- ख्रीष्टियन विश्वासको जग हुँदैन। डा. डब्लु. ए. क्रिसवेलले भने,

प्रवचनबाट ख्रीष्टको मृत्यु हटाउनुहोस्, र त्यसमा केही पनि रहँदैन। प्रचारकसँग कुनै ‘असल खबर’ हुँदैन, हाम्रो पाप क्षमाको मुख्य सिद्धान्त हुँदैन। नयाँ करारको ख्रीष्टियन विश्वास यीमध्ये कस्तो किसिमको ख्रीष्टियन विश्वास हो? निःसन्देह, यो क्रूसको ख्रीष्टियन विश्वास हो (डब्लु. ए. क्रिसवेल, पीएचडी.,इन डिफेन्स अफ फेथ, जोन्डर्भन पब्लिसिङ हाउस, १९६७, पृष्ठ ६७)।

प्रेरित पावलले भने,

‘हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसबाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्।’ (गलाती ६:१४)

‘ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ पावलको प्रचारको मुख्य विषय त्यही नै थियो। वास्तवमा तिनले कोरिन्थको मण्डलीलाई भने, ‘किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ’ (१ कोरिन्थी २:२)। यदि यो बाइबलको ख्रीष्टियन विश्वास हो भने यो क्रूसको ख्रीष्टियन विश्वास हो। महान् स्पर्जन, ‘प्रचारकहरूका राजकुमार’ ले भने, ‘सुसमाचारको मुख्य विषय छुटकारा हो, त्यो छुटकाराको निचोड् क्रूसमा भएको ख्रीष्टको सट्टाको मृत्यु हो।’

आज धेरैवटा मण्डलीले आफ्नो विश्वासको प्रतिनिधित्व गर्न ढुकुरको चिन्ह प्रयोग गर्छन्। मेरो विचारमा त्यसो गर्नु गलत हो। ढुकुरले पवित्र आत्माको प्रतिनिधित्व गर्दछ। तर सुसमाचारको सन्देशमा पवित्र आत्मा त्रिएक परमेश्वरका मुख्य व्यक्ति हुनुहुन्न। यूहन्ना सोह्र अध्यायमा येशूले भन्नुभयो, पवित्र आत्मा ‘आफ्नै तर्फबाट बोल्नुहुनेछैन’ (यूहन्ना १६:१३)। फेरि येशूले भन्नुभयो, ‘उहाँले मेरो महिमा गर्नेछ’ (यूहन्ना १६:१४)। पवित्र आत्माको काम मानिसहरूको ध्यान आफूतिर खिँच्नु होइन, तर ख्रीष्टको महिमा गर्नु हो। यसकारण जुन मण्डलीको मुख्य सन्देश पवित्र आत्मामा केन्द्रित हुन्छ त्यो बाइबलीय मण्डली होइन। प्रेरित पावलले भने, हाम्रा सबै सेवकाइमा र हाम्रा सबै प्रचारमा ख्रीष्टको सर्वश्रेष्ठता हुनुपर्छ। तिनले भने ख्रीष्ट

‘उहाँ शरीर, अर्थात् मण्डलीको शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहु्न्छ, ताकि प्रत्येक कुरामा उहाँ सर्वोच्च होऊन्। किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँको क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो’ (कलस्सी १:१८-२०)

हामीले ‘उहाँको क्रूसको रगतद्वारा’ पाप क्षमा र परमेश्वरसित मिलाप पाएका छौं- अनि ख्रीष्टको क्रूसको रगतद्वारा मात्र!

मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के?
   ख्रीष्टको रगतले शुद्ध भयौ?
पूरा भरोसा येशूमा राख्छौ के,
   ख्रीष्टको रगतले शुद्ध भयौ के?
ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला
   के ख्रीष्टको रगतले साफ र उज्ज्वल?
तिमी स्वर्ग जानलाई तयार छौ के
   ख्रीष्टको रगतले शुद्ध भएर?
ख्रीष्टको रगतले शुद्ध भयौ के?
(‘आर यू वास्ड इन द ब्लड?’ एलिशा ए. हफमेन- १८३९-१९२९-द्वारा रचित)

अहो! कति मूल्यवान् त्यो बहाउ
   जसले मलाई हिउँझैं सेतो बनाउँछः
अरू कुनै फोहरा म जान्दिनँ
   अरू केही होइन, तर येशूको रगत।
(‘नथिङ बट द ब्लड,’ रोबर्ट लाउरी- १८२६-१८९९-द्वारा रचित)

‘किनभने मैले जे पाएँ, त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ,... ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:३)

डा. क्रिसवेलले भने,

      तिनले ‘सबैभन्दा मुख्य’ भन्नुको अर्थ के हो? तिनको भनाइ त्यसको महत्त्वसँग जति सम्बन्ध छ समयसँग त्यस्तो छैन। ख्रीष्टको मृत्युद्वारा हाम्रो पापका निम्ति प्रतिनिधिस्वरूप (पापीहरूको सट्टामा)गरिएको प्रायश्चितको सिद्धान्त नै अनुग्रहको कुने-ढुंगो, र सुसमाचारको मुख्य विषय हो। अरू कुनै पनि सत्यता महत्त्वपूर्ण छैन। पवित्र-शास्त्रका सबै महान् सिद्धान्तहरूले क्रूसतिर डोऱ्याउँदछ।
      एकचोटि एक जना आलोचकले चार्ल्स हड्डोन स्पर्जनलाई भने, ‘तपाईंका सबै प्रवचनहरू उस्तोउस्तै लाग्छ।’ जवाफमा लण्डनका विश्वप्रसिद्ध प्रचारकले भने, ‘हो, म बाइबलबाट मेरो पद लिन्छु, र त्यसबाट क्रूसतिर जाने रेखा खिँच्छु।’ प्रायश्चितबिना कुनै क्षमा छैन; रगत नबगाइ पापको क्षमा छैन; ऋण नचुकाइ कुनै मिलाप छैन।...
      ख्रीष्टको प्रायश्चितको मृत्युको प्रचार विशेष छ, यो नयाँ करार पुस्तकको निर्णायक सिद्धान्त हो। यसले हाम्रो विश्वासलाई अरू सबै धर्महरूभन्दा फरक बनाउँछ। ख्रीष्टियन सन्देश विशेष रूपले छुटकाराको सम्बन्धमा छ। यसको मुख्य उद्देश्य मानिसलाई बन्धनबाट निकाल्नु र पापको दण्डबाट बचाउनु हो। यो सबैभन्दा पहिले छुटकाराको सुसमाचार हो, परमेश्वरले ख्रीष्टको खातिर हामीलाई क्षमा गर्नुभएको छ भन्ने असल समाचारको घोषणा हो। (डब्लु. ए. क्रिसवेल, पीएचडी.,इन डिफेन्स अफ फेथ, ऐजन, पृष्ठ ६८-७०)।

३. तेस्रो, क्रूसका ख्रीष्टले हामीलाई आफ्ना पापहरूबाट बचाउनुहुन्छ।

एक अर्थमा मुसलमानहरू येशूमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई ‘ईसा’ भन्छन्। कुरानले त उहाँ कन्येबाट जन्मनुभयो भनी भन्दछ। केही मूर्ख मानिसहरू त्यत्ति विश्वास गरे पुग्छ भन्ने सोच्छन्। तर मुश्लिम संसारका धेरै जना मानिसहरू ‘ईसा’ बाट, कुरानको येशूबाट टाढा भएका छन्। अनि तिनीहरूमध्ये धेरै जना विगतमा भन्दा अहिले येशूमा आइरहेका छन्। तिनीहरूले ख्रीष्टियमतका येशूमा विश्वास गर्दा प्रायः सतावट र दुःख भोग्नुपर्छ। हाम्रा येशूमा विश्वास गर्नका निम्ति तिनीहरूले किन दुःख भोग्छन्, र यातना सहन्छन्? किन त्यो म तपाईंलाई बताउँछु। कुरानका येशूचाहिँ हाम्रा पापका निम्ति क्रूसमा मरेका छैनन्- त्यसैले गर्दा हो। कुरानले भन्छ, येशू हामीलाई बचाउन क्रूसमा मर्नुभएन। तर कुरानले तिनीहरूका पाप कसरी क्षमा हुन्छ भन्ने कुरा बताउँदैन। त्यसले तिनीहरूलाई भलाइ गर्नू र नियमहरू पालन गर्नू भन्छ, तर पापको क्षमा कसरी पाउने र परमेश्वरको छोराछोरी कसरी हुने भन्ने कुरा बताउँदैन। कुरानले तिनीहरूलाई त्यो कुरा बताउन सक्दैन, किनकि कुरानले येशू क्रूसमा मर्नुभएको कुरालाई इन्कार गर्दछ। तिनीहरू हाम्रा येशूमा विश्वास गर्नका निम्ति ठूलो दुःख भोग्छन्, किनकि उहाँले मात्र ‘उहाँका क्रूसको रगतद्वारा’ (कलस्सी १:२०)परमेश्वरसँग मिलाप गराउन सक्नुहुन्छ।

के तपाईं क्रूसको ख्रीष्टमा विश्वास गर्न सतावट सहन तयार हुनुहुन्छ? के ‘उहाँका क्रूसको रगतद्वारा’ परमेश्वरसँग मिलाप गर्नका निम्ति तपाईंको आफ्नै जीवनलाई जोखिममा पार्नुहुन्छ? मुसलमानहरूले त जोखिममा पार्छन्। प्रत्येक दिन पार्छन्। के तपाईं क्रूसमा ख्रीष्टले बगाउनुभएको रगतद्वारा आफ्ना पापहरूको क्षमा पाउनका निम्ति मुसलमानहरूको घृणाको आगोबाट भएर जानुहुनेछ? तिनीहरू त जान्छन्। हरेक दिन तिनीहरू त्यसबाट भएर जान्छन्।

केही समय अघि पास्टर वर्मब्राण्डको पत्रिकामा डा. हिमर्सले इन्डोनेसियाकी एउटी जवान मुसलमान केटीको तस्वीर देख्नुभयो। त्यस केटीले येशूमा विश्वास गर्दा मानिसहरूले उसलाई एसिडले प्रहार गरेका थिए। उसको अनुहार अब अति नै घिनलाग्दो, वर्णन नै गर्न नसकिने भएको थियो। तापनि ऊ मुस्कुराइरहेकी थिई। मानिसहरूले भनेअनुसार ऊ सधैं मुस्कुराइरहन्थी। ख्रीष्टको क्रूस प्राप्त गर्नका निम्ति आफ्नो अनुहार गुमाउनु उसलाई उचितै लागेको थियो। किन? किनकि,

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:३)

मेरो पाप- अहो, यो महिमित विचारको आनन्द,
   मेरो पाप, केही भाग होइन, तर सम्पूर्ण-
क्रूसमा काँटी ठोकिएको र त्यो म अझ सहनु सक्दिनँ,
   प्रभुको प्रशंसा होस्, प्रभुको प्रशंसा होस, ए मेरो प्राण!
(‘इट इस वेल विद माई सोल,’ एच.जी. स्पाफोर्ड-१८२८-१८८८-द्वारा रचित)

हो, ख्रीष्ट फेरि स्वर्गमा उक्लिनुभयो। तर कुरानले त्यसो भन्छ। यदि क्रूसबिनै ख्रीष्ट स्वर्गमा चढिजानुभएको हो भने- तपाईंले उद्धार पाउनुहुन्न। तपाईंसँग क्रूस हुनैपर्छ! किनकि त्यो क्रूसमा नै येशूले तपाईंको पापको मूल्य तिर्नुभयो। त्यो क्रूसबिना पापको मूल्य तिरिएको हुँदैन, र परमेश्वरसँग मिलाप पनि भएको हुँदैन। क्रूसको ख्रीष्टले मात्र तपाईंलाई पापबाट बचाउन सक्नुहुन्छ। क्रूसको ख्रीष्टले मात्र तपाईंलाई सबै पापहरूबाट शुद्ध पार्न उहाँको पवित्र रगत बगाउनुभयो। हो,

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:३)

लाखौं शहिदहरू र सन्तहरूले भनेका छन्, ‘क्रूसका ख्रीष्टको निम्ति म आफैलाई दिँदछु! क्रूसका ख्रीष्टको निम्ति म मेरा हातहरू र खुट्टाहरू दिँदछु! क्रूसका ख्रीष्टको निम्ति म मेरो शरीर वनका पशुहरूलाई सुम्पिनेछु! क्रूसका ख्रीष्टको निम्ति म मेरो सम्पूर्ण जीवन दिनेछु!’

तिनीहरूले अत्याचारीको स्पातको लहुरो भेटे,
   सिंहको रगतले भरिएको जगर;
मृत्यु भोग्न झुकाए आफ्नो गर्दनः
   को पछ्याउँछ तिनीहरूका मार्ग?
(‘द सन अफ गड गोस फोर्थ टु वार,’ रेजिनाल्ड हेबर, १७८३-१८२६)

तिनीहरूका पाप क्षमा हुन र क्रूसको ख्रीष्टको रगतले शुद्ध हुनका निम्ति ती सबै भोग्नु उचित नै थियो भनी तिनीहरूले भने।

के तपाईं ख्रीष्टलाई ग्रहण गर्नुहुनेछ? के अहिले, यो बिहान नै उहाँमा विश्वास गर्नुहुनेछ? के तपाईं डा. वाट्सको साथमा यसो भन्नुहुनेछ, ‘हे प्रभु, म यहाँ छु, म आफैलाई दिइहाल्छु। म त्यत्ति मात्र गर्न सक्छु?’ तपाईं भन्नुहोस्, ‘म आफैलाई क्रूसका ख्रीष्टलाई दिइहाल्न तयार छु, जो मेरा पापहरूबाट मलाई बचाउनका निम्ति मर्नुभयो।’ हामी अरूहरू माथिल्लो तलामा भोजन खान गइरहेका छौं। उनीहरू जाँदा तपाईंहरू आएर अघिल्लो दुइवटा पंक्तिमा बस्नुहोस्। हामी येशूमाथि विश्वास गर्ने सम्बन्धमा तपाईंसँग बातचीत गर्नेछौं। मेरो यही प्रार्थना छ, कि आज बिहान कसैले ख्रीष्टमा विश्वास गरोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियोः
('दि ओल्ड रगेड क्रस,' जरज बर्नार्ड- १८७३- १९५८-रचित)


रूपरेखा

त्यो क्रूसको ख्रीष्ट

THE CHRIST OF THE CROSS

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा रेभ. जोन शमूएल केगनद्वारा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan

‘भाइ हो मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गऱ्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गऱ्यौ। किनभने मैल जे पाएँ, त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:१-३)

१.  पहिलो, धेरै जना पास्टरले आज त्यो सुसमाचारलाई होइन तर अर्कै कुरालाई मुख्य विषय बनाउँछन्। २ कोरिन्थी ११:४

२.  दोस्रो, सुसमाचारको केन्द्र ख्रीष्टको क्रूस हो।
गलाती ६:१४; १ कोरिन्थी २:२; यूहन्ना १६:१३,१४ कलस्सी १:१८-२०

३.  तेस्रो, क्रूसका ख्रीष्टले हामीलाई आफ्ना पापहरूबाट बचाउनुहुन्छ।
कलस्सी १:२०