Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




क्रूसको प्रचार

THE PREACHING OF THE CROSS
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा रेभ. जोन शमूएल केगनद्वारा २७ मई, २०१८, आइतबार बिहान लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, May 27, 2018

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।’
      (१ कोरिन्थी १:१८)


हाम्रा पास्टर, डा. हिमर्सले साठी वर्षदेखि प्रचार गर्दैआउनुभएको छ। उहाँले हजारौं सन्देश प्रचार गर्नुभएको छ। अहिले मैले प्रचार गरिरहेको सन्देश पनि उहाँले नै लेख्नुभएको हो। अन्य सयौं प्रवचनका पाण्डुलिपीहरू जस्ताको त्यस्तै वेबसाइटमा छन्। ती ३८ वटा भाषामा अनुवाद हुन्छन् र प्रवचनका भिडियोहरू संसारका २२१ वटा देशमा पुग्छन्। संसारमा धेरै जना पास्टरहरू उहाँको प्रवचन प्रचार गरिरहेका छन्। डा. हिमर्स विशिष्ट प्रचार हुनुहुन्छ! तापनि यति धेरै अनुभवहरू प्राप्त गरे पनि कुन विषयमा प्रचार गर्ने भनी निर्णय गर्न उहाँलाई कठिन पर्दछ।

तपाईं प्रश्न गर्नुहुन्छ होला, ‘किन कठिन परेको?’ किन पर्छ, त्यो म तपाईंलाई बताउँछु। हाम्रो मण्डलीमा आइतबारको दिन धेरै जना यस्ता मानिसहरू हुन्छन् जो साँचो ख्रीष्टियन हुँदैनन्। कोही-कोही बौद्धधर्म मान्ने परिवारबाट हुन्छन्। अरूहरू क्याथोलिक वा नवसुसमाचारवादी समूहबाट हुन्छन्, कोही नामधारी, नाउँले मात्र ख्रीष्टियनहरू हुन्छन्। कोही-कोही त अझै कुनै धार्मिक पृष्ठभूमिका हुँदैनन्। अरूहरू हाम्रो मण्डलीमा उद्धार नपाएका मानिसहरू हुन्छन्, जसले बाइबलको बारेमा धेरै कुरा जान्दछन्, तर नयाँ जन्मको अनुभव कहिल्यै पनि गरेका हुँदैनन्। तिनीहरू सबैमा एउटा कुरा सामान्य हुन्छ। तिनीहरू साँचो रूपले येशूमा आएका हुँदैनन्।

आइतबार बिहान प्रवचन करिब एक घण्टा वा त्योभन्दा कम हुन्छ। त्यो छोटो समयमा केही यस्तो कुरा भन्नुपर्छ जसले धर्मको बारेमा तिनीहरूले सोच्ने सबै कुरालाई परिवर्तन गर्नुपर्छ अनि ख्रीष्टियन विश्वासलाई सत्य, एउटा सत्य मात्र होइन, तर त्यो सत्य- एकमात्र सत्यको रूपमा प्रस्तुत गर्नुपर्छ। त्यो प्रवचनले तपाईंलाई सहमतिमा ल्याउनुपर्छ अनि तपाईंको सम्पूर्ण सोचविचार गर्ने ढंगलाई परिवर्तन गर्नुपर्छ अनि तपाईंमा भएका गलत विचारहरू त्याग्न तपाईंलाई मनाउनुपर्छ, पापको दोषी महसुस गराउनुपर्छ, र तपाईंको सम्पूर्ण जीवनलाई येशू ख्रीष्टमा फर्काउनुपर्छ। त्यसो गर्नु एउटा अति ठूलो काम हो! अनि त्यो काम गर्न करिब एक घण्टा मात्र हुन्छ। मैले जे प्रचार गर्न लागेको छु, त्यो त्यो साधारण सुसमाचारको सन्देशजस्तो मात्र लाग्न सक्छ, तर यसको निम्ति धेरै सोचविचार र प्रार्थना गरिएको छ।

हाम्रो आजको बाइबल पद पवित्र-शास्त्रको एउटा पद हो। अहिले म प्रार्थना गर्दैछु, ताकि मैले यहाँबाट भन्ने केही कुराहरूले तपाईंलाई सहायता पुऱ्याओस्, कम्तीमा पनि आज तपाईं घर फर्केर जानुभएपछि मैले व्यक्ति गरेका विचारहरूले तपाईंलाई प्रभु येशू ख्रीष्टको बारेमा र तपाईंको अनन्त आत्माको उद्धारका निम्ति उहाँले के गर्नुभएको छ सोबारे विचार गर्न सहायता पुऱ्याओस्। यसैले यहाँ हाम्रो आजको बाइबल पद छ। मैले यो पढ्दा तपाईं ध्यान लगाएर सुन्नुहोला।

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।’
(१ कोरिन्थी १:१८)

यो प्रवचनका तीनवटा मुख्य भाग हुनेछः (१) स्वयम् क्रूसको प्रचार, (२) नष्ट हुनेहरूलाई क्रूसको प्रचार गर्नु मूर्खता, अनि (३) एउटा बलियो मण्डली बनाउनका निम्ति क्रूसको प्रचार गर्नु मात्र पर्याप्त हुँदैन।

१. पहिलो, स्वयम् क्रूसको प्रचार।

प्रेरित पावलले जुन ‘क्रूसको प्रचार’ भने, ती शब्दहरूको अर्थ के हो? ‘क्रूसको प्रचार’ भन्ने वाक्यांशमा एउटा मुख्य विषयवस्तु छ। यसको अर्थ ती शब्दहरूमा एउटै मात्र सत्यता व्यक्त गरिएको छ भन्ने हुन्छ। ती शब्दले एकमात्र र साँचो सुसमाचारलाई बुझाउँछन्। जसरी परमेश्वर एकमात्र हुनुहु्न्छ, त्यसरी नै सुसमाचार पनि एउटा मात्र छ। अनि उद्धारकर्ता पनि एक मात्र हुनुहुन्छ- येशू ख्रीष्ट। म आधुनिकोत्तरवादी धारणामा विश्वास गर्दिनँ, जसले ‘क्रूसको प्रचार’ मेरो निम्ति सत्य हुन सक्छ, अनि तपाईंको निम्ति नहुन सक्छ भनी भन्दछ। आधुनिकोत्तरवादीहरू भन्लान्, ‘तपाईंको सत्यता त्यही हो। यो तपाईंको निम्ति सत्य हो। तर त्यो मेरो निम्ति सत्य होइन।’ म भन्छु, त्यो आधुनिकोत्तरवादको दोहोरो कुरा हो। जब बाइबलले क्रूसको कुरा गर्छ, तब एउटा सत्यताको वास्तविकताको बारेमा कुरा गर्छ- एउटा यस्तो सत्यता जसको सामना तपाईंहरू प्रत्येकले गर्नुपर्छ। एउटा यस्तो सत्यता जुन तपाईंले विश्वास गरे वा नगरे पनि सत्य नै रहन्छ। परमेश्वरले त्यसको विषयमा बाइबलमा बोल्नुभएको कारण तपाईंले यसलाई सत्य माने वा नमाने पनि यो सत्य नै छ। यो एउटा वास्तविक सत्यता हो, जसको अर्थ, तपाईंको मनले यसको महत्त्वलाई बुझ्न नसके पनि यो सत्य नै रहन्छ।

अर्को कुरा, ‘क्रूसको प्रचार’ बाइबलले भनेको कुरामा मात्र आधारित नभएर ऐतिहासिक सत्यताहरूमा पनि आधारित छ- अर्थात् येशूले तपाईंको पापका निम्ति ठूलो कष्ट भोग्नुभयो, उहाँ गेतसमनीको बगैंचामा ठूलो वेदना र पीडामा पर्नुभयो, जुन बेला तपाईंका पापहरू उहाँको आफ्नै शरीरमा बोक्नुभयो। तिनीहरूले पिलातसको आँगनमा उहाँलाई कुटपिट गर्दा उहाँले भयानक यातना सहनुभयो। त्यसपछि उहाँलाई घिस्साउँदै कल्भरी डाँडामा लगियो, उहाँका हात र खुट्टाहरूमा काँटीहरू ठोकिए, तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, उहाँको रगतको धारा बग्यो, तपाईंको पापको मूल्य चुकाउन उहाँ त्यहाँ मर्नुभयो, ताकि तपाईंले उद्धार पाउन सक्नुहोस्, तपाईंका पापहरू क्षमा मात्र नभएर उहाँको मृत्युद्वारा तपाईं धर्मी ठहरिनुहोस्, अर्थात् उहाँमा विश्वास गरेर तपाईं पापरहित गनिनु होस्।

‘क्रूसको प्रचार’ एउटा त्यस्तो प्रचार हो, जसले तपाईं

‘आफ्ना पापहरूमा मर्नुभएको छ।’ (कलस्सी २:१३)

भनी देखाउँछ, अनि तपाईंको स्थानमा भएको ख्रीष्टको सट्टाको मृत्युले प्रतिनिधिको रूपमा तपाईंको पापको मूल्य चुकाउँछ, तपाईंका पापहरूलाई रद्द गर्दछ, मृतकहरूबाट भएको ख्रीष्टको पुनरुत्थानले तपाईंलाई नयाँ जीवन दिन्छ।

‘क्रूसको प्रचार’ ले तपाईं असल कामहरू गरेर वा कहिलेकहीं चर्चमा आएर उद्धार कमाउनु हुन्न भन्ने देखाउँछ। होइन! होइन! क्रूसको प्रचारले तपाईंले गर्नुभएको कुनै पनि असल कार्यको तपाईंको उद्धारसँग कुनै सम्बन्ध छैन भन्ने पनि देखाउँछ। ‘क्रूसको प्रचार’ ले तपाईंले गर्नुहुने ती सबै ‘असल’ कुराहरूलाई हटाउँछ- अनि येशूले तपाईंको प्रतिनिधि बनेर तपाईंको पापको मूल्य चुकाउन क्रूसमा जुन पूर्ण प्रायश्चित गर्नुभयो त्यसैले मात्र तपाईंलाई बचाउन सक्छ भनी भन्दछ- एक जना मानिस, ख्रीष्ट (परमेश्वर-मानिस) जो तपाईंका पापका निम्ति मर्नुभयो, त्यसमा तपाईंले गर्नुभएको कुनै पनि असल कार्य वा तपाईंले लिनुभएका ‘निर्णयहरू’ थपिँदैनन्।

तपाईंले केही असल कार्यहरू गर्नुभएको छ भन्ने कुरामा म अलिकति पनि शंका गर्दिनँ। मैले यो मात्र भनेको हुँ कि, ती असल कार्यहरूले तपाईंलाई बचाउँदैनन्! उद्धार परमेश्वरका एकमात्र पुत्र, त्रिएक परमेश्वरमा दोस्रो व्यक्ति, येशूको मृत्युद्वारा आउँछ, जसले क्रूसमा उहाँलाई काँटीहरू ठोकिँदा तपाईंका पापहरू आफैमाथि बोक्नुभयो। प्रेरित पावलले यसो भन्दा यस कुरालाई स्पष्ट पारेका छन्,

‘तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण उहाको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।’ (रोमी ५:८-९)

तपाईं पापी छँदै परमेश्वरले तपाईंलाई प्रेम गर्नुभयो। तपाईं पापी छँदै तपाईंको पापको मूल्य चुकाउन ख्रीष्ट मर्नुभयो। अनि तपाईं पापी नै हुनुहुन्छ भने पनि उहाँको रगतद्वारा धर्मी ठहरिन सक्नुहुन्छ।

प्रभु येशू, गर्छु नम्रतामा बिन्ती यसका निम्ति,
   पर्खन्छु, धन्य प्रभु, क्रूसमा टाँगिएको तपाईंको खुट्टामा;
विश्वासद्वारा, शुद्धीकरणका निम्ति, देख्छु बगेको तपाईंको रगत,
   धुनुहोस् मलाई, हुनेछु म हिउँभन्दा सेतो।
हिउँभन्दा सेतो, हो, हिउँभन्दा सेतो;
   धुनुहोस् मलाई, हुनेछु म हिउँभन्दा सेतो
(‘व्हाइटर देन स्नो,’ जेम्स निकोलसन- १८२८-१८९६-द्वारा रचित)

सुन्छु, तपाईंले बोलाएको आवाज,
   जसले बोलाउँछ मलाई, प्रभु तपाईंमा
तपाईं अमूल्य रगतमा धोइनु
   जुन कल्भरीमा बग्यो।
आउँदैछु प्रभु, तपाईंकहाँ आउँदैछु!
   धुनुहोस् मलाई, रगतमा शुद्ध पार्नोस्
जुन कल्भरीमा बग्यो।
   (‘आइ एम कमिङ, लर्ड’- लिविस हार्टसग-१८२८-१९१९- द्वारा रचित)

क्रूसको प्रचार भनेको त्यही नै हो!

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।’ (१ कोरिन्थी १:१८)

तर हाम्रो बाइबल पदमा अर्को विचार पनि छ।

२. दोस्रो, नष्ट हुनेहरूलाई क्रूसको प्रचार गर्नु मूर्खता ।

कृपया, यी वचनहरू सुन्नुहोस्,

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो।’

यो पद फेरि सुन्नुहोस्।

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो।’ (१ कोरिन्थी १:१८)

‘मूर्खता’ शब्दको अर्थ ‘मूर्ख कुराकानी,’ ‘व्यर्थको कुरा’ हो। परिवर्तन नभएको हृदयले ख्रीष्टको मृत्युद्वारा मात्र पापबाट बच्न सकिन्छ भन्ने प्रचार सुन्दा त्यो त्यसका निम्ति ‘मूर्खताको कुरा’ हुन्छ।

नष्ट भइरहेकाहरूका निम्ति तिनीहरूका पापका लागि भएको ख्रीष्टको सट्टाको मृत्युको प्रचारको कुनै महत्त्व हुँदैन। तिनीहरूले त्यसलाई मूर्खताको कुरा सम्झनुको कारण यो हो कि तिनीहरू त्यसमा कुनै महत्त्व देख्दैनन्। त्यही कुरामा त पवित्र आत्मा आउनुहुन्छ। येशूले भन्नुभयो,

‘जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।’ (यूहन्ना १६:८)

पवित्र आत्माले नै एक व्यक्तिलाई हप्काउनुपर्छ, पापको निम्ति उसलाई दोषी ठहराउनुपर्छ, नत्रभने उसले क्रूसमा भएको क्रूसको मृत्युको महत्त्व बुझ्न सक्दैन। पवित्र आत्माले एक व्यक्तिलाई उसको पापका निम्ति दोषी ठहराउनुभन्दा अघिसम्म उसले क्रूसको प्रचारलाई मूर्खता मात्र सम्झन्छ। जुन ग्रीक शब्दलाई ‘मूर्खता’ भनी अनुवाद गरिएको छ त्यो मूल शब्द ‘मोरोस’ बाट आएको हो, र त्यसैबाट अंग्रेजी शब्द ‘मरोन’ (अर्थ-मूर्ख व्यक्ति) आएको हो। परमेश्वरका आत्माले तपाईं एक हराएको पापी हुनुहुन्छ भन्ने तपाईंको हृदयमा निश्चयता नदिऊञ्जेल क्रूसको प्रचार मूर्ख, बुद्धिहीन व्यक्तिको कुराजस्तो लाग्छ।

त्यसैकारण तपाईं एक साँचो ख्रीष्टियन बन्न ‘सिक्न’ सक्नुहुन्न। मानिसहरूको बुद्धिका कुरा सिकेर उद्धार पाइँदैन। प्रेरित पावलले एकाईसौं पदमा यो कुरा स्पष्ट बताएका छन्, जहाँ तिनले यसो भनेका छन्,

‘संसारले आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिन्न सकेन।’ (१ कोरिन्थी १:२१)

कुनै पनि प्रकारको बुद्धिको कुरा सिकेर उद्धार पाउन सकिँदैन। हृदयमा नै ज्योति बल्नुपर्छ, र त्यसले तपाईं एक आशारहित पापी हुनुहुन्छ भनी देखाउनुपर्छ। त्यस्तो नभएसम्म क्रूसमा भएको क्रूसमा मृत्यु मात्र तपाईंको समस्याको समाधान हो भन्ने प्रचार एक मूर्ख मानिसको कुराजस्तो लाग्छ। जबसम्म तपाईं आफ्नो मनमा तपाईंको समस्या पाप हो भनी महसुस गर्नुहुन्न तबसम्म क्रूसमा भएको ख्रीष्टको मृत्युको महत्त्व बुझ्नुहुन्न। बाइबलले भन्छ,

‘ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’ (१ कोरिन्थी १५:३)

हाम्रा पापको मूल्य चुकाउन उहाँ हाम्रो स्थानमा मर्नुभयो। बाइबलले भन्छ,

‘उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।’ (१ यूहन्ना १:७)

तर पापको सरापबाट बच्ने अर्को कुनै उपाय छैन बुझ्नका निम्ति परमेश्वरका आत्माद्वारा तपाईंका आँखाहरू नखोलिएसम्म त्यो तपाईंलाई एउटा चाखलाग्दो सिद्धान्तजस्तो, अनि बाँकी मूर्खको कुराजस्तो लाग्न सक्छ। जब तपाईं एक असहाय पापी अवस्थामा हुनुहुन्छ भनी बुझ्नुहुन्छ, तब मात्र हृदयबाटै यो भजन गाउन सक्नुहुन्छः

किनकि छैन ममा केही असल
   जसद्वारा गरूँ दाबी तपाईंको अनुग्रहको-
धुन्छु मेरो वस्त्र सेतो पारेर
   रगतमा कल्भरीको थुमाको।
येशूले तिर्नुभयो सबै, उहाँको म ऋणी
   पापले छोडेको सिन्दूरे दाग
धुनुभो उहाँले हिँउभन्दा सेतो पारेर।
   (‘जिजस पेड इट अल,’ एलभिना एम, हल-१८२०-१८९९-द्वारा रचित)

तर क्रूसको प्रचारले मात्र हामीलाई बलियो मण्डली दिँदैन। यसले अर्को बुँदातिर लैजान्छ।

३. तेस्रो, एउटा बलियो मण्डली बनाउनका निम्ति क्रूसको प्रचार गर्नु मात्र पर्याप्त हुँदैन।

यदि तपाईंले उद्धार पाउनु आवश्यक छ भने क्रूसको प्रचार आवश्यक हुन्छ। ख्रीष्ट तपाईंलाई पापहरूबाट बचाउन क्रूसमा मर्नुभयो र आफ्नो रगत बगाउनुभयो। तर क्रूसको प्रचारले मात्र तपाईंलाई एउटा बलियो मण्डली दिँदैन। त्यसैकारण ख्रीष्टले मण्डलीहरूमा पास्टरहरू दिनुभयो। बाइबलले भन्छ, ख्रीष्टले ‘कोही पास्टर हुनलाई दिनुभयो’ (एफिसी ४:११)। पास्टर भनी अनुवाद गरिएको ग्रीक शब्द पोइमेन हो। त्यसको अर्थ ‘गोठाला’ हो। येशूले कुनै-कुनै मानिसलाई तिनीहरूका स्थानीय मण्डलीको एक पास्टर, एक गोठालो बन्ने वरदान दिनुभयो। अनि पास्टर मण्डलीलाई दिइएको वरदान हो। मण्डलीका मानिसहरू भेडाहरू, एउटा बगाल हो। पास्टर मण्डलीको गोठालो हो। उसले भेडाहरूको हेरचाह गर्दछ। उसले भेडाहरूको रक्षा गर्दछ। उसले तिनीहरूलाई डोऱ्याउँछ र बाटो बिराउनुबाट बचाउँछ। एक जना गोठालाले यस्तै काम गर्दछ।

‘पास्टर’ का निम्ति अर्को ग्रीक शब्द हो इपिस्कोपस। यो शब्दको अर्थ ‘निरीक्षक’ हो। किङ जेम्स बाइबलमा यसलाई ‘बिशप’ भनी अनुवाद गरिएको छ। बाइबलले भन्छ, ‘यदि कुनै मानिसले बिशप [इपिस्कोपस, निरीक्षक, पास्टर]को काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्दछ’ (१ तिमोथी ३:१)। एक पास्टरले मण्डलीको देखरेख गर्दछ। उसले त्यसको हेरचाह गर्छ। वास्तवमा भन्नैपर्दा, उसले त्यसलाई हेर्छ। उसले सचेत रहेर मण्डलीलाई ध्यान दिन्छ। उसले मण्डलीको विषयमा प्रार्थना र सोचविचार गर्छ। मण्डली कस्तो छ त्यो उसले देख्छ। समस्याहरू के-के छन् त्यो उसले देख्छ। एक पास्टरले मण्डलीलाई त्यसरी हेर्छ, जसरी अरूहरूले हेर्दैनन्। परमेश्वरको अगुवाइमा के गर्नुपर्छ भनी उसले बुझ्छ। पास्टरले मण्डलीका मानिसहरूलाई देखरेख, निरीक्षण गर्छ। तिनीहरूले कस्ता छन् सो उसले हेर्छ। तिनीहरूका संघर्ष र समस्याहरू देख्छ। अनि परमेश्वरको अगुवाइमा तिनीहरूका ख्रीष्टियन जीवनमा सफल बन्न सहायता गर्दछ।

वरदानप्राप्त पास्टर नहुँदा मण्डली फस्टाउँदैन। त्यो मण्डलीमा हरप्रकारका सेवा र कार्यहरू होलान्। सेवामाथि सेवा होला। साप्ताहिक सेवामा नयाँ मानिसहरू आउलान्। हामी उनीहरूलाई भजनको पुस्तिका र पत्रिका दिऔंला। उनीहरूलाई भोजन पनि खुवाऔंला। हामी राम्रो प्रचार गरौंला- क्रूसको प्रचार गरौंला- अनि हामी गर्छौं पनि। तर क्रूसको प्रचारले मात्र मण्डलीलाई बलियो बनाउँदैन।

परमेश्वरले मण्डलीलाई पास्टरहरू किन दिनुभयो? आत्मिक वरदानहरूको सूचीमा पास्टरको वरदान किन लेखियो? यदि प्रचारले मात्र मण्डलीलाई बलियो बनाउने भए हाम्रा प्रभुले एउटै पनि पास्टर नदिई किन ‘केही प्रचारकहरू’ मात्र दिनुभएन? बलियो मण्डली खडा गर्नका निम्ति क्रूसको प्रचार गरेर मात्र पुग्दैन भन्ने कुरा ख्रीष्टले जान्नुहुन्थ्यो। मण्डलीलाई एक जना पास्टरको आवश्यकता पर्छ, त्यसैकारण उहाँले ‘कोही पास्टर’ हुनलाई दिनुभयो।

प्रचार राम्रै भए पनि एक पास्टरबिना मण्डली असफल हुन्छ। त्यो कमजोर बन्छ। त्यो समस्यामा पर्छ। अन्त्यमा त्यो मर्छ। पास्टरबिना मण्डलीका मानिसहरू विश्वासबाट पचि हट्छन्। तिनीहरू चिसा बन्छन्। तिनीहरूद्वारा जीवनमा ठूल्ठुला गल्तीहरू हुन सक्छन्। तिनीहरू समस्यामा पर्नेछन्। किन?

पहिलो, किनकि शैतान छ। बाइबलले भन्छ, ‘त्यो कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिँहझैं खोजिहिँड्छ’ (१ पत्रुस ५:८)। त्यसले कसलाई खान्छ? भेडाहरूलाई! तर शैतान तपाईंले त्यसको विषयमा सोचेको चाहँदैन। त्यो तपाईंमाथि झम्टेर तपाईंलाई खान चाहन्छ- अनि त्यो झम्टिने शैतान हो भनी तपाईं थाहा पनि पाउनुहुन्न! तपाईंले याद गर्नु भए पनि वा नगर्नु भए पनि शैतान र त्यसका भूतात्माहरू यहाँ छन्।

दोस्रो, सबै मानिस पापी छन्। आदमले परमेश्वरको आज्ञापालन गरेन यसैले हामी सबै पाप स्वभाव बोकेर जन्मेका छौं। बाइबलले भन्छ, ‘एउटै मानिसको अनाज्ञाकारिताद्वारा धेरै जना पापी बनाइए’ (रोमी ५:१९)। सबै जना- यहाँसम्म कि ख्रीष्टियनहरूमा पनि त्यो पाप स्वभाव छ। पाप गर्नु हाम्रो स्वभावमा छ। हामी गलत दिशातिर जानु हाम्रो स्वभावमा छ। मर्फीको नियमले भन्छ, ‘यदि कुनै कुरा गलत दिशामा जान सक्छ भने त्यो जानेछ।’ कुनै पनि कुरा आफैआफ अझ राम्रो बन्दैन। ती गलत दिशामा जान सक्छन्, ती सजिलै तल्तिर जान सक्छन्। अनि ती जान्छन्। मानिसहरू आफैआफ बलिया ख्रीष्टियनहरू बन्दैनन्। तिनीहरू पछि हट्न सक्छन्। तिनीहरू सेलाउन सक्छन्। तिनीहरूले गल्तीहरू गर्न सक्छन्। अनि तिनीहरूले गर्छन्। त्यस्तो हुनका निम्ति तपाईंले कठोर परिश्रम गर्नुपर्दैन। त्यो आफैआफ हुन्छ। मण्डलीहरू आफैआफ बलिया हुँदैन। ती कमजोर बन्न सक्छन्। ती समस्यामा पर्न सक्छन्। त्यस्तो सहजै हुँदछ। अनि त्यस्तो हुन्छ। त्यसैकारण मण्डलीमा एक पास्टरको आवश्यकता हुन्छ। ख्रीष्टले ‘कोही पास्टरहरू’ हुनलाई दिनुभयो। परमेश्वरलाई धन्यवाद होस्, उहाँले दिनुभयो!

हाम्रो मण्डलीका पास्टर डा. हिमर्स हुनुहुन्छ। उहाँ सेवकाइमा आउनुभएको साठी वर्ष भयो। परमेश्वरले उहाँलाई सयौं मानिसहरूलाई ख्रीष्टमा ल्याउनका निम्ति प्रयोग गर्नुभएको छ। उहाँले धेरै वर्षदेखि मानिसहरूलाई परामर्श-सरसल्लाह दिँदै आउनुभएको छ। उहाँले मानिसहरूलाई सहायता गर्नुभएको छ। उहाँले तिनीहरूलाई सहायता गर्नुभएको छ। डा. हिमर्सले दुइवटा मण्डली खडा गर्नुभएको छ। उहाँले हाम्रो मण्डलीलाई कठिनाइ र दुःखहरूमा नेतृत्त्व गर्नुभएको छ। उहाँले हाम्रो मण्डलीको अति डरलाग्दो विभाजन हुँदा यसलाई सम्हाल्नुभएको छ। परमेश्वरले उहाँलाई हाम्रो मण्डलीलाई निर्माण गर्न, हामीलाई वास्ता गर्न, हामीलाई रक्षा गर्न प्रयोग गर्नुभएको छ। डा. हिमर्स एक पास्टर मात्र हुनुहुन्न। उहाँ अति नै उत्कृष्ट पास्टर हुनुहुन्छ। हाम्रा पास्टर डा. हिमर्सका निम्ति म परमेश्वरलाई धन्यवाद दिँदछु!

तपाईंको अवस्था कस्तो छ? तपाईं पास्टर हुनुहुन्न। तर तपाईं उहाँलाई सहायता गर्न सक्नुहुन्छ। कुनै गलत कुरा भएको देख्नुभयो भने तपाईं त्यो उहाँलाई भन्न सक्नुहुन्छ। हाम्रो मण्डलीका डिकनहरू र अगुवाहरूले पनि त्यसै गर्नुपर्छ। तपाईं यहाँ पास्टरलाई सहायता गर्नका निम्ति हुनुहुन्छ। त्यसै केही नगरी नबस्नुहोस्। पास्टरले सबै कुरा जान्दछन् भन्ने नसोच्नुहोस्। यदि तपाईंले कुनै गलत कुरा देख्नु वा सुन्नुभयो भने त्यो पास्टरलाई भन्नुहोस्।

तपाईंहरूमध्ये कोही-कोही ख्रीष्टियन हुनुहुन्न। तपाईंले येशूमा विश्वास गर्नुभएको छैन। तपाईंको पाप उहाँको रगतले धोइएको छैन। तपाईंको अवस्था कस्तो छ? तपाईं ख्रीष्टद्वारा बचाइनुपर्छ। तपाईंको पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। तपाईंको पाप पखाल्न उहाँले आफ्नो रगत बगाउनुभयो। तपाईंलाई जीवन दिन उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। यदि तपाईं येशूमा विश्वास गर्नेसम्बन्धमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने अरूहरू भोजन खान माथिल्लो तलामा जाँदा तपाईंहरूचाहिँ यहाँ आएर अघिल्लो पंक्तिको पहिलो दुइवटा बेन्चमा बस्नुहोस्। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियोः
('सेभ्ड बाई द ब्लड अफ द क्रूसिफाइड वान,' एस. जे. हेन्डरसनद्वारा रचित, १९०२)


रूपरेखा

क्रूसको प्रचार

THE PREACHING OF THE CROSS

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा रेभ.
जोन शमूएल केगनद्वारा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Rev. John Samuel Cagan

‘किनकि क्रूसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।’
      (१ कोरिन्थी १:१८)

१. पहिलो, स्वयम् क्रूसको प्रचार,
१ कोरिन्थी १:१८क, कलस्सी २:१३, रोमी ५:८-९

२. दोस्रो, नष्ट हुनेहरूलाई क्रूसको प्रचार गर्नु मूर्खता
१ कोरिन्थी १:१८ख, यूहन्ना १६:८, १ कोरिन्थी १:२१, १५:३, १ यूहन्ना १:७

३. तेस्रो, एउटा बलियो मण्डली बनाउनका निम्ति क्रूसको प्रचार गर्नु मात्र पर्याप्त हुँदैन,
एफिसी ४:११; १ तिमोथी ३:१; १ पत्रुस ५:८; रोमी ५:१९