Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




एक लडाकू ख्रीष्टियन बन्ने साहस गर!

DARE TO BE A FIGHTING CHRISTIAN!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१० दिसम्बर २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, December 10, 2017


हालैमा मैले वर्ल्ड मेगजिनमा एउटा चाखलाग्दो लेख पढेँ। त्यो ती चिनियाँ विद्यार्थीहरूको विषयमा थियो, जो अमेरिकामा अध्ययनको दौरान इभान्जलिकल ख्रीष्टियन बनेका थिए, र आफ्नो देश फर्केर जाँदा तिनीहरूमध्ये धेरै जना त्यहाँका घरेलु मण्डलीहरूमा अटाउन सकेनन्। इभान्जलिकल ख्रीष्टियन बनेर चीन गएकी एउटी केटीले उनीहरूले सामना गर्न परेको समस्याको बारेमा बताई। उसले भनी, ‘म एउटा घरेलु मण्डलीमा गएँ। त्यहाँ उनीहरूसँग मेरा अनुभवहरू बाँड्न मलाई धेरै गाह्रो भयो।’ तिनीहरूले केही पनि भनेनन्। मैले एकलो र अप्ठ्यारो महसुस गरेँ।’ त्यो लेखले उसको अनुभव विशेष किसिमको भएको बताएको थियो। अमेरिकीमा इभान्जलिकल ख्रीष्टियन बन्ने धेरै जना त्यहाँका घरेलु मण्डलीहरूमा तिनीहरूले पाउने कुराका निम्ति तयार हुँदैनन्- परिवारको दबाब, कामको तालिका र एउटा भिन्नै किसिमको चर्चको परिपाटी! ‘दुई वर्षपछि ती इभान्जलिकल ख्रीष्टियन बनेका धेरै जना चर्च जान छाडे’ (वर्ल्ड मेगजिन, ३० सेप्टेम्बर, २०१७, पृष्ठ ४८)। चिनियाँ चर्चमा प्रवेश गरेपछि तिनीहरूले सोचेका कुराहरू सबै चकनाचूर भए- त्यहाँका कुनै-कुनै चर्चमा एयर कन्डिसन थिएन, कुनै त आफ्नो चर्च भवन पनि थिएन- तिनीहरूका आवश्यकताहरू पूरा गर्ने पनि कोही थिएन।’

त्यसको साथसाथै चीनका पास्टरले ती जवान मानिसहरूले गुनासो गरेका र चर्चका अगुवाहरूलाई चुनौती दिएका देखे। उनीहरू चीनका घरेलु चर्चहरू पनि अमेरिकामा तिनीहरू जाने चर्चहरूजस्तै भएको चाहन्थे।

मलाई यो कुरा अति चाखलाग्दो लाग्यो, किनकि हाम्रो चर्चमा हामी चीनका घरेलु चर्चहरूका विषयमा ठूल्ठुला कुरा सोच्छौं। यी चिनियाँ ख्रीष्टियनहरूले वर्षौंसम्म कम्युनिस्टहरूको हातबाट सतावट झेलेका थिए। साथै ती धेरै वटा घरेलु चर्चमा जागृति पनि आएको थियो। हामीलाई यस्तो लाग्छ, कि अमरिकी ढाँचामा हुर्केका हाम्रो चर्चका केटाकेटीहरूले ती घरेलु चर्चहरूका गम्भीर मनका र जागृति चाहने चिनियाँ केटाकेटीहरूजस्तो बन्न मन पराए कस्तो होला! तर होइन, अमेरिकी ढाँचाको इभान्जलिकलहरू ती घरेलु चर्चहरूका जोसिला आत्मिक चिनियाँ केटाकेटीहरूसँग ‘मिल्नै सक्दैनन्।’ ‘दुई वर्षपछि अमेरिकी ढाँचाका ती ८०% प्रतिशत इभान्जलिकलहरू चर्च जान छाडे।’

किन? एयरकन्डिसन छैन! बिचरा केटाकेटीहरू! राम्रो चर्च भवन छन! बिचरा गरिब केटाकेटीहरू! तिनीहरूका खाँचोहरू कसैले पनि पूरा गरिदिँदैनन्। अहो, गरिब केटाकेटीहरू! हामी सबै थोक हामीलाई दिइओस् भन्ने चाहन्छौं- अमेरिकाका इभान्जलिकलहरूले जस्तै! हामी गुनासो गर्छौं! हामी चर्चका अगुवाहरूलाई चुनौती दिन्छौं- भ्रष्ट अमेरिकी इभान्जलिकलहरूले जस्तै। हामीलाई गम्भीर प्रार्थना सेवाहरूमा चासो लाग्दैन। तिनीहरूले किन त्यत्ति धेर प्रार्थना गर्न परेको- त्यो पनि यति चर्को सोरमा! तिनीहरूले त्यत्ति कठोर प्रचार, त्यो पनि त्यत्ति चर्को सोरमा किन गर्नु परेको! उनीहरूले अमेरिकामा जस्तो असल बाइबल अध्ययनहरू किन नदिएका?

अमेरिकीमा तालिम पाएका यी चिनियाँ इभान्जलिकलहरूमा के समस्या थियो? वर्ल्ड मेगजिनले चीन फर्कने अमेरिकीकरण गरिएका ती इभान्जलिकलहरूमा यस्तो समस्या भएको बताउँछ- तिनीहरू १० मध्ये ८ जनालाई सुसमाचार के हो त्यो थाहा थिएन। तिनीहरू अमेरिकाका इभान्जलिकल चर्चहरूमा परिवर्तन भएका थिएनन्। ती अमेरिकीकरण गरिएका इभान्जलिकलहरूमा रहेको मुख्य समस्या यही नै थियो। १० मध्ये ८ जना साँचो ख्रीष्टियन थिएन। यसैले तिनीहरूले चिनियाँ घरेलु चर्चका साँचो ख्रीष्टियनहरूलाई मन नपराउनु कुनै अचम्मको कुरा होइन। दोस्रो, तिनीहरूको परमेश्वरसँग व्यक्तिगत सम्बन्ध थिएन, चर्चका अरू सदस्यहरूसँग मात्र सम्बन्ध थियो। यदि तपाईं मित्रताका निम्ति मात्र चर्च जानुहुन्छ भने तपाईं धेरै लामो टिक्नुहुनेछैन। यदि तपाईं येशू ख्रीष्टसँग साँचो सम्बन्धमा हुनुहुन्न भने तपाईं ढिलोछिटो चर्च छोडेर जानुहुनेछ! तेस्रो तिनीहरूलाई चर्चमा परमेश्वरको सेवा गर्न सिकाइएको थिएन। तिनीहरू अरू मानिसहरूको सेवा नगरी र अरूलाई ख्रीष्टमा नजिती बरू आफै अरूबाट वास्ता पाउन चाहन्थे!

यी सब अति नराम्रा असफलता हो, अमेरिकी इभान्जलिकलहरूले जवान मानिसहरूलाई परिवर्तन गर्न र ख्रीष्टका निम्ति काम गर्न मन पराउन नसक्नु तिनीहरूको पूर्ण असफलता हो। त्यो कुरा त हामी अघिबाटै जान्दछौं, होइन त? अमेरिकी इभान्जलिकलहरू भन्छन्, ‘म धनी छु, अनि मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन, तर तिमीलाई थाहै छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।...किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु’ (प्रकाश ३:१६-१७)। ख्रीष्ट यी घमन्डी अमेरिकीकरण गरिएका विद्यार्थीहरूलाई भन्नुहुन्छ, ‘म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु’ (अक्षरस)। अनि यसले हामीलाई दानिएलको पुस्तकको हाम्रा चार जना जवान मित्रहरूलाई स्मरण गराउँछ। दानिएल. शद्रक, मेशक र अबेदनगो, तिनीहरू आफ्नो देशबाट १ हजार ५ सय किलोमिटर टाढामा थिए। तिनीहरू कलिला जवान केटाहरू थिए, घरदेखि टाढा थिए, मूर्तिपूजक बेबिलोनी शहरमा थिए। के तिनीहरू चीन देशमा फर्किने कमजोर न्यू इभान्जलिकलहरूजस्तै बने त?

त्यहाँ कैद गरी लगिएका हिब्रू जवानहरू यी चार जवान मात्र थिएनन्। कृपया दानिएल १:३ पल्टाएर हेर्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १२२५ मा छ। मैले यो पद पढदा कृपया खडा हुनुहोस्।

‘तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्येबाट शाही खानदान र सभ्य खानदानका केही जवान मानिसहरू छान्नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।’ (दानिएल १:३)

अब पद ६ लाई हेर्नुहोस्।

‘यीमध्ये कोही यहूदा कुलका थिए, दानिएल, हनन्याह, मीशाएल र अजर्याह।’ (दानिएल १:६)

तपाईंहरू बस्न सक्नुहुन्छ। यी पदहरूले त्यहाँ कैदमा लगिएका अरू पनि धेरै जना जवान मानिसहरू थिए भन्ने देखाउँछ। तर यी जवान मानिसहरू सबैभन्दा उत्तम थिए। तिनीहरूलाई बुद्धिमान् र बेबिलोनका राजा नबूकदनेसरका सल्लाहकारहरू बनाउनका निम्ति तीन वर्षको तालिम दिन लागिएको थियो। दानिएल तिनीहरूमध्ये एक थिए र अरू तीन जना थिए शद्रक, मेशक र अबेदनगो। तिनीहरू प्रखर बुद्धि भएका जवानहरू थिए, जो ज्ञानमा, विज्ञानमा र भाषाहरूमा बुद्धिमान् थिए।

तर यी बुद्धिमान् चार जना केटाहरूको विषयमा अर्को केही कुरा पनि थियो, तिनीहरूले राजाले दिएका भोजन वा मद्य खाएनन्। तिनीहरूले खाने र पिउने सम्बन्धमा तिनीहरूलाई मोशाको व्यवस्था पालन गर्न दिइओस् भनी विन्ती गरे। तिनीहरूलाई मृत्युदण्ड दिन सकिन्थ्यो। त्यस मूर्तिपूजक देशमा तिनीहरू परमेश्वरका निम्ति खडा भइरहेका थिए। पद ८ हेर्नुहोस्। यो पदले भन्छ, ‘तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे।’ अरू तीन जनाले पनि त्यसै गरे। तिनीहरूले परमेश्वरका निम्ति कठिन कदम उठाए। तपाईं बुझ्नुहुन्छ, तिनीहरूलाई तालिम दिनेहरू राजाका चाकरहरू मात्र थिएनन्। परमेश्वर आफैले तिनीहरूलाई उहाँका निम्ति खडा हुने र उहाँको निम्ति शर्म नमान्ने तालिम दिइरहनुभएको थियो। हरेकचोटि भोजन खाँदा के तपाईं आफ्नो शिर निहुराएर परमेश्वरलाई धन्यवाद दिनुहुन्छ? के अख्रीष्टियनहरूको बीचमा हुँदा पनि तपाईं त्यसो गर्नुहुन्छ? के तपाईं कुनै रेस्टुरेन्टको भीडमा पनि त्यसो गर्नुहुन्छ? के तपाईं ख्रीष्टमसको अघिल्लो साँझमा हुने भोजमा आउनुहुनेछ? वा पाप गरिने स्थानमा जानका निम्ति ख्रीष्टमसको अघिल्लो साँझको कार्यक्रम छुटाउनुहुन्छ कि? के नयाँ वर्षको पहिलो दिनको साँझ तपाईं हामीसँग मण्डलीमा हुनुहुनेछ? कि तपाईं मूर्तिपूजकहरूको भोजमा जानुहुन्छ? ती केटाहरूजस्तै अडान लिनका निम्ति विश्वास र साहस चाहिन्छ। मैले त्यस गीतमा एउटा शब्द फेरबदल गरेको छु।

दानिएल जस्तो बन्ने साहस गर,
   एकलै उभिने साहस गर!
दह्रो उद्देश्य राख्ने साहस गर!
   त्यो जनाउने साहस गर!

कृपया, खडा भएर गाउनुहोस्।

दानिएल जस्तो हुने साहस गर,
   एकलो उभिने साहस गर
दह्रो लक्ष्य राख्ने साहस गर
   त्यो जनाउने साहस गर!

तपाईंहरू बस्न सक्नुहुन्छ।

ती चार जवान अमेरिकीकरण गरिएका चिनियाँहरूजस्तै थिएनन्, जो चीनमा पनि अमरिकी इभान्जलिकलहरूको जस्तै कोमल र सम्झौता गर्ने चर्चहरू होस् भन्ने चाहन्थे। होइन! होइन! ती चार जवानले अरूहरूले मन पराए वा नपराए पनि परमेश्वरको आज्ञापालन गरिरहे! त्यस्ता केटाकेटीहरूलाई परमेश्वर आदर गर्नुहुन्छ। उहाँले तिनीहरूलाई आदर गर्नुभयो, र तपाईं पनि ती केटाहरूजस्तै गम्भीर हुनुभयो भने उहाँले तपाईंलाई पनि आदर गर्नुहुन्छ।

अब ती चार जना केटालाई अर्को कुरामा पनि जाँच गरियो। तिनीहरूले अशुद्ध भोजन नखाएर पहिलो जाँच पास गरे। अब परमेश्वरले तिनीहरूलाई अर्को जाँच दिनुभयो- प्रार्थनाको जाँच। राजाले एउटा सपना देखे र उनले त्यसको अर्थ बुझ्न चाहन्थे। तर उनले आफ्ना बुद्धिमान् मानिसहरूलाई आफूले देखेको सपना भनेनन्। उनले त्यस सपनाको अर्थ बताउनुभन्दा पहिले त्यो सपना के थियो सो भन्न लगाए। यदि तिनीहरूले त्यो गर्न नसके तिनीहरूलाई टुक्रा-टुक्रा पारिन्थ्यो। राजाले भने, ‘मलाई मेरो सपना र त्यसको अर्थ बताओ’ (दानिएल २:६)। राजाले भनेका कुरा कुनै मानिसले बताउन सक्नेछैन भनी बुद्धिमान् मानिसहरूले भने। यसले राजालाई क्रोधित बनायो र उनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने आज्ञा दिए। राजाको आदेश जारी गरियो र तिनीहरूले दानिएल र तिनका तीन जना मित्रलाई पनि अरू सबै ज्ञानी मानिसहरूसँगै मार्नका निम्ति तिनीहरूलाई खोजे। दानिएल राजाको अगि गए अनि त्यसको उत्तर दिनका निम्ति केही समय मागे। दानिएलले के गरे? तिनी आफ्ना तीन मित्र शद्रक, मेशक र अबेदनगोलाई खोज्न गए। ती चार जनाले प्रार्थना सेवा गरे। तिनीहरूले मलाई जोन, ज्याक, नोआ र एरोनको सम्झना गराउँछ, यी चार जना जवान मसँग प्रार्थना गर्न भेला हुन्छन्। ती जवानहरूले स्वर्गका परमेश्वरको कृपा पाउनका निम्ति प्रार्थना गरे। परमेश्वरले तिनीहरूलाई त्यो गोप्य सपना प्रकट गरून् भनी तिनीहरूले प्रार्थना गरे। दानिएल २:१९ हेर्नुहोस्, ‘राति दर्शनमा दानिएललाई यसको रहस्य प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्वरको प्रशंसा गरे।’ दानिएल २:२३ हेर्नुहोस्। दानिएलले भने, ‘हे मेरा पिता-पुर्खाका परमेश्वर, तपाईंलाई म धन्यवाद दिँदछु, र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेका कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।’ हेर्नुहोस्, राजाले भने, ‘के तिमी मेरो सपना र त्यसको अर्थ बताउन सक्छौ?’ दानिएलले भने, ‘महाराजाले सोध्नुभएको रहस्यको कुरा कुनै पनि ज्ञानी मानिसले बताउन सक्दैन। तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ,...हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्।’ अब ४७ पद हेर्नुहोस्। राजाले दानिएललाई भने, ‘साँच्ची नै तिमीहरूका परमेश्वर देवताहरूका पनि परमेश्वर र राजाहरूका प्रभु र रहस्य खोलिदिनुहुने हुनुहुन्छ, किनभने तिमीले यो रहस्य खोल्न सक्यौ।’ अब हेर्नुहोस्, ती राजाले दानिएललाई महान् व्यक्ति बनाए, अनि उनले तिनलाई बेबिलोनको प्रदेशमाथि शासक बनाए, अनि बेबिलोनका सबै ज्ञानी मानिसहरूका प्रमुख नियुक्त गरे। शद्रक, मेशक र अबेदनगोलाई पनि उच्च पदहरू दिइयो, तर यस जवान मानिस दानिएललाई सारा बेबिलोन राज्यका प्रधान मन्त्री बनाइए।

ती केटाहरूले राजाले दिएका भोजन र मद्य नपिएर परमेश्वरले तिनीहरूलाई गर्नुभएको पहिलो जाँचमा पास भए। तिनीहरूले परमेश्वरलाई पहिलो स्थानमा राखे र त्यो जाँच ठूलो सफलताका साथ पाप गरे!

अब ती केटाहरूले दोस्रो जाँच पनि पास गरे। तिनीहरू एकसाथ भेला भए र परमेश्वरले राजाले देखेका सपना प्रकट गरिदेऊन् भनी विन्ती गरे। तिनीहरू प्रार्थनामा परमेश्वरमाथि भर परे र ठूलो सफलताका साथ दोस्रो जाँच पनि पास गरे।

मैले यो तपाईंहरूलाई बताएको छु, किनकि यो धेरै महत्त्वपूर्ण कुरा छ। हामी कहिलेकहीं एक ख्रीष्टियनको रूपमा हामी शक्तिमा ठूलो फड्को मार्छौं भनी सोच्छौं। तर परमेश्वरको शक्तिमा तपाईं ठूलो ‘फड्को’ मार्नुहुन्न। तपाईं त्यसभित्र बढनुहुन्छ। तपाईं उद्धार पाउनुहुन्छ र त्यसपछि तपाईं बढ्नुहुन्छ। प्रभु येशूले भन्नुभयो,

‘जो थोरै कुरामा इमानदार हुन्छ, त्यो धेरैमा पनि इमानदार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ, त्यो धेरैमा पनि बेइमान हुन्छ।’ (लूका १६:१०)

यदि तपाईं ख्रीष्टमसको अघिल्लो साँझ र नयाँ वर्षको पहिलो साँझ चर्चमा आउने जस्तो सानो कुरामा इमानदार हुनुभयो भने त्यसपछि तपाईं अझ ठूला कुराहरूमा पनि इमानदार हुनुहुनेछ।

ती केटाहरू आफूले खाने कुराहरूमा इमानदार भए। तिनीहरूले जाँच पास गरे। तिनीहरू प्रार्थनामा पनि इमानदार थिए। तिनीहरू त्यो जाँचमा पनि पास भए।

पछिबाट तिनीहरूको अझ ठूलो जाँच भयो। के तिनीहरूले राजाको सुनको मूर्तिको अगाडि निहुरिएर उनको पूजा गरे वा त्यसरी ननिहुरिएर जिउँदै आगोको भट्टीमा जलाइने खतराको सामना गरे? तिनीहरूले ससाना जाँचहरू पास गरेका थिए। यसैले पछिबाट साहसपूर्वक तिनीहरूले यसो भन्न सके,

‘हे महाराजा, यदि हामी दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुन्छ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।’ (दानिएल ३:१७)

ससाना जाँचहरू पास गरेपछि आगोको भट्टीको ठूलो जाँचबाट पनि परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुनेछ भनी तिनीहरूले जाने।

साथै गम्भीर प्रार्थनाद्वारा तिनीहरू राजादेखि मारिनुबाट बचाइए। पछि, जब राजाले दानिएललाई गर्जने सिंहहरूको खोरमा फालिदिए, त्यहाँ पनि तिनी सुरक्षित राखिए, किनकि परमेश्वरले एउटा स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गरिदिनुभयो। येशू त्यो आगोको भट्टीभित्र हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई बचाउनुभयो। त्यो स्वर्गदूत येशू नै हुनुहुन्थ्यो। दानिएललाई सिंहहरूको खोरमा फालिँदा येशू त्यहाँ हुनुहुन्थ्यो। तिनमा शैतानको विरुद्ध खडा हुन सक्ने विश्वास थियो। बाइबलले भन्छ, ‘तपाईंका परमेश्वरलाई भेट्न तयार हुनुहोस्।’ यदि तपाईं तयार हुनुहु्न्न भने तपाईं शैतानको अगि झुक्नुहुनेछ र प्रभुलाई इन्कार गर्नुहुनेछ।

तपाईंले अहिले नै त्यस दृढताका निम्ति तालिम लिनुपर्छ। जस्तो दानिएलले गरेका थिए। यदि आगोबाट उम्किने आशा राख्नुहुन्छ भने तपाईंले पनि त्यसै गर्नुपर्छ।

यसैकारण तपाईंले अहिले नै तालि सुरु गर्नुपर्छ। पछिबाट होइन, अहिले नै। तपाईँ अचानक विश्वास गर्ने महान् व्यक्ति बन्नुहुन्न। कदपि बन्नुहुन्न। त्यसका निम्ति अभ्यास चाहिन्छ। डा. चानले मेरी पत्नी, श्रीमती हिमर्सको बारेमा भनेका कुरा याद गर्नुहोस्। डा. चानले भने, ‘श्रीमती हिमर्स महान् ख्रीष्टियन हुन्, तर उनी रातारात त्यस्तो भएकी होइन। धेरै वर्षसम्म इमानदारीसाथ प्रभुको सेवा गरेर उनी परिपक्व भएकी हुन्। जवान छँदै उनले आफ्नो जीवन चर्चको सेवाका निम्ति दिइन् र केही पनि बाँकी राखिनन्। यसैले गर्दा परमेश्वरले तिनलाई महान् रूपले प्रयोग गर्नुभयो।’ उनले सोह्र वर्षको उमेरदेखि नै चर्चका निम्ति आफूले सक्दो सेवकाइ गर्न थालिन्। अहिले, धेरै वर्षपछि उनी विश्वास गर्ने महान् महिला भएकी छन्। यदि तपाईं अहिले आफूसँग भएको सानातिना काममा गम्भीर र इमानदार हुनुहुन्न भने तपाईं अचानक आत्माहरू जित्ने महान् व्यक्ति र भविष्यमा प्रार्थनाका योद्धा बन्नुहुन्न।

दानिएल र तिनका तीन मित्रहरूका निम्ति कुनै छोटोमिठो उपाय थिएन- अनि तपाईंका निम्ति पनि छोटोमिठो उपाय छैन। अहिले नै गम्भीरता र जोशका साथ ख्रीष्टमा प्रवेश गर्ने कोसिस गर्नुहोस्। यदि सुरुमा तपाईं अल्छे बन्नुहुन्छ भने पछि तपाईं असल ख्रीष्टियन बन्नुहुन्न। अहिले नै आफ्नो सारा शक्तिले ख्रीष्टमा प्रवेश गर्ने कोसिस गर्नुहोस्। कसैले भनेको छ, ‘राम्ररी सुरु गरिएको काम आधा गरिसकिएको हुन्छ।’ श्रीमती हिमर्स पापबाट फर्किन् अनि मैले सुसमाचार प्रचार गरेको पहिलोचोटि सुन्नासाथै ख्रीष्टमा विश्वास गरिन्। डा. जुडिथ केगनले पनि त्यसै गरेकी हुन्। डा. क्रेगटन चानले त्यसै गरेका हुन्। श्रीमती मेलिस्सा सेन्डर्स साथै श्री बेन ग्रिफिथले पनि त्यसै गरेका हुन्। उनीहरू अहिले बलिया ख्रीष्टियनहरू हुन्, जुन अचम्म मान्नुपर्ने कुरा होइन। उनीहरूले त्यत्ति चाँडै उद्धार पाएकामा एउटी महिलाले छक्क पर्दै मलाई हेरिन्। तिनी आफै यहाँ धेरै वर्षदेखि हराएकी अवस्थामा थिइन्। तिनले प्रश्न गरिन्, ‘उनीहरूले यति चाँडै त्यो कसरी गर्न सके?’ उनीहरू गम्भीर थिए र तपाईं हुनुहुन्नथ्यो। त्यसैले त्यस्तो भएको हो। यदि तपाईं मूर्ख बन्नुहुन्छ र सुरुमा नै परमेश्वरको राज्यमा बलजफ्ती पस्ने कोसिस गर्नुहुन्न भने तपाईं सधैं कमजोर न्यू इभान्जलिकल ख्रीष्टियन रहनुहुनेछ, ठीक ती केटाकेटीहरूजस्तै जो मलिन, कमजोर न्यू इभान्जलिकल चर्चहरूमा गएर नाश भए। बाइबलले भन्छ, ‘ख्रीष्ट येशूका असल सिपाहीझैं दुःख-भोगमा हामीसँग सहभागी होऊ’ (२ तिमोथी २:३)। दानिएलजस्तो हुने साहस गर! गाउनुहोस्!

दानिएल जस्तो हुने साहस गर,
   एकलो उभिने साहस गर
दह्रो लक्ष्य राख्ने साहस गर
   त्यो जनाउने साहस गर!

निश्चय म लड्नुपर्छ यदि मैले शासन गर्ने हो भने,
   मेरो सहास बढाउनुहोस्, हे प्रभु!
म गर्छु परिश्रम, सहन्छु कष्ट
   तपाईंको वचनद्वाराको सहयोग।
(‘आइ एम अ सोल्जर अफ द क्रस?’ डा. इजहाक वाट्स-१६७४-१७४८-द्वारा रचित)

‘विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख’ (१ तिमोथी ६:१२)

अल्छे न्यू इभान्जलिकलहरूले कहिल्यै पनि असल चर्च सदस्यहरू बनाउँदैनन्! तिनीहरूका कमजोर न्यू इभान्जलिकलवाद गलत हो भनी तिनीहरू विश्वास नै गर्दैनन्। त्यसैकारण न्यू इभान्जलिकलहरूले कहिल्यै उद्धार पाउँदैनन्। अनि तिनीहरूले पहिलोचोटि सुसमाचार सुन्दा कहिल्यै उद्धार पाउँदैनन्। तिनीहरूलाई आफ्नो धर्म गलत छ भनी स्वीकार गराउन तपाईंले वर्षौंसम्म तिनीहरूसँग लडाइँ गर्नुपर्छ। त्यसैकारण तिनीहरूले कहिल्यै पनि असल चर्च सदस्यहरू बनाउँदैनन्। कहिल्यै, कहिल्यै, कहिल्यै पनि बनाउँदैनन्। यदि तपाईं ख्रीष्टकहाँ आउने बाटोका निम्ति लडाइँ गर्नुहुन्न भने यो ख्रीष्टियन जीवनमा तपाईं कुनै पनि उचित कुराका निम्ति लडाइँ गर्न सक्नुहुन्न। के मैले काम गरेर उद्धार पाइन्छ भनेको हुँ? होइन, त्यसो भनेको होइन। मैले अनुग्रहद्वारा उद्धार पाइन्छ भनेको हुँ, अनुग्रहले नै तपाईंलाई तपाईंका शंका र डरहरू पर सारेर तपाईंको मार्गमा लडाइँ गर्दै अगि बढ्ने शक्ति दिँदछ। मैले त्यो विश्वासको कुरा गरेको हुँ, जसले ख्रीष्टकहाँ पुग्न लडाइँ गर्दछ, अनि जसले ख्रीष्टको चर्चको भलाइका निम्ति लडाइँ गर्दछ। डा. आर. ए. टोर्रीको एउटा प्रवचनको शीर्षक ‘चाहिएको छ लडाइँ लड्ने ख्रीष्टियनहरू’ भन्ने थियो। सुरुदेखि नै त्यस्तो व्यक्ति बन्नुहोस्यदि तपाईं एक ख्रीष्टियन बन्न अल्छी मान्नुहुन्छ भने- तपाईं जीवनभरि अल्छे बन्नुहुनेछ। ‘चाहिएको छ लडाइँ लड्ने ख्रीष्टियनहरू!’ त्यस्तो ख्रीष्टियन यहाँ हाम्रो ब्याप्टिस्ट टेबरनेलकमा मात्र छ। यदि अल्छे ख्रीष्टिय मत चाहनुहुन्छ भने अरू चर्चमा जानुहोस्। कमजोर न्यू इभान्जलिकल चर्चहरू धेरै वटा छन्। कुनै एउटामा जानुहोस्। यहाँबाट निस्किएर त्यहाँ जानुहोस्।

तर पर्खनुहोस्! मैले भनिसकेको छैनँ! तपाईं जानुहोस् भन्ने म चाहन्नँ। तपाईं यहीँ बस्नुहोस् र उद्धार पाउनुहोस् भन्ने म चाहन्छु। अब ध्यान लगाएर मेरो कुरा सुन्नुहोस्। यदि तपाईंले उद्धार पाउनुभएको छैन भने योचाहिँ यस सन्देशको महत्त्वपूर्ण भाग हो। अब म जे भन्छु, त्यसमा ध्यान दिनुहोस्। यो कुरा अघि कहिल्यै नसुनेको जस्तो गरी सुन्नुहोस् तिमोथी

ती राजाले तीन जना केटालाई दन्किरहेको आगोको भट्टीमा हाले। तिनीहरूका निम्ति कुनै आशा थिएन। के तपाईंको अवस्था अहिले त्यस्तै छैन र? तपाईं आशारहित अवस्थामा हुनुहुन्छ। तपाईं आफैलाई बचाउन सक्नुहुन्न। वास्तवमा, तपाईंले उद्धार पाउने सबै आशा छोडिदिनुभएको छ। ‘म डा. चानजस्तो वा श्री ग्रिफिथ वा जुडी केगन वा श्रीमती हिमर्सजस्तो हुन सक्दिनँ।’ तपाईं आफूलाई आशारहित ठान्नुहुन्छ। तपाईं नरकको आगोमा जल्नुहुनेछ भनी जान्नुहुन्छ, तपाईं आफैलाई बचाउन केही पनि गर्न सक्नुहुन्न। तर पर्खनुहोस्। राजाले त्यस आगोको भट्टीमा हेर्दा त्यहाँ तीन जना केटालाई मात्र देखेनन्। उनले त्यहाँ भट्टीमा चार जना व्यक्ति ‘आगोभित्र चार जना मानिस वरिपरि हिँडिरहेका देखे, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखे, र त्यो चौथोचाहिँ परमेश्वरका पुत्रजस्तै देखिन्थे’ (दानिएल ३:२५)। स्पर्जनले ठिकै भनेका छन्। त्यो आगोमा देखिएको चौथो व्यक्ति येशू हुनुहुन्थ्यो- देहधारण गर्नु अघिका परमेश्वरका पुत्र। येशू त्यहाँ आगोमा तिनीहरूका साथमा हुनुहुन्थ्यो। येशूले ती केटाहरूलाई आगोको ज्वालाबाट बचाइरहनुभएको थियो। बाइबलले भन्छ, ‘आगोले तिनीहरूको हानि पुऱ्याएको थिएन’ (दानिएल ३:२७)। येशू तिनीहरूको साथमा हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आगो र नरकबाट बचाउनुभयो।

मेरो प्रिय मित्र, येशूले तपाईंलाई पनि बचाउनुहुनेछ। उहाँले तपाईंलाई दया गर्नुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। तपाईंको विश्वास जत्तिनै सानो भए पनि येशू सर्वशक्तिमान् हुनुहुन्छ। अनि येशू तपाईंको पक्षमा हुनुहुन्छ। बाइबलले त्यसो भन्छ। बाइबलले भन्छ, ‘पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो।’ (१ तिमोथी १:१५)

तपाईं अहिले आफैलाई कति आशारहित महसुस गर्नुहुन्छ त्यसको मलाई कुनै वास्ता छैन। वास्तवमा, तपाईंले अझ बढी आशारहित महसुस गर्नुहोस्। किन? किनकि त्यस्तो भयो भने तपाईं येशूलाई सबै उद्धार गर्न दिनुहुनेछ। तपाईं आफैलाई बचाउन सक्नुहुन्न। सक्नुहुन्न भनी तपाईं पनि जान्नुहुन्छ। तपाईं असल र बलियो पनि बन्न सक्नुहुन्न भनी जान्नुहुन्छ। त्यो राम्रो हो। अब तपाईंको आगोको भट्टीमा येशूलाई चौथो व्यक्ति हुन दिनुहोस्। उहाँलाई तपाईंलाई बचाउन दिनुहोस्।

तपाईं भन्नुहुन्छ, ‘ममा धेरै विश्वास छैन।’ मलाई थाहा छ। तर जे भए पनि येशूले तपाईंलाई बचाउनुहुनेछ। येशूले मलाई त्यसबेला बचाउनुभयो जब मैले उद्धार पाउन सबै आशा गुमाएको थिएँ। उहाँ मकहाँ आउनुभयो र शंका र डरको भट्टीबाट बचाउनुभयो। येशू तपाईंलाई बचाउन क्रूसमा मर्नुभयो। उहाँ तपाईंलाई बचाउन पुनर्जीवित हुनुभयो। आज राति येशू तपाईंका निम्ति यहाँ हुनुहुन्छ। उहाँ तपाईंको शंका र डरको भट्टीमा तपाईंकहाँ आउनुहुनेछ। उहाँले तपाईंलाई शान्ति र आशा दिनुहुनेछ। म जान्दछु, तपाईं विश्वास गर्नुहुन्न। तर उहाँकहाँ आउनुहोस् र उहाँ तपाईंका निम्ति यहाँ हुनुहुन्छ। आफैलाई नहेर्नुहोस्। उहाँलाई हेर्नुहोस्। सानो विश्वास, वा विश्वास छँदैछैन भने पनि उहाँमाथि विश्वास गर्नुहोस्। यसका निम्ति धेरै विश्वास चाहिँदैन। थोरै विश्वास भए पुग्छ। उहाँ यहाँ आगोको भट्टीमा हुनुहुन्छ। उहाँमाथि थोरै विश्वास गर्नुहोस् र सबै कुरा राम्रो हुनेछ। तपाईंले यसमा विश्वास गर्नुपर्दैन। केवल ममा विश्वास गर्नुहोस्। जान्दछु, उहाँले तपाईंलाई बचाउनुहुनेछ। मेरो विश्वासलाई तपाईंलाई सहायता गर्न दिनुहोस्। तपाईंलाई येशूमा विश्वास गर्न मलाई सहायता गर्न दिनुहोस् र सबै कुरा राम्रै हुन्छ। ‘डा. हिमर्स येशूले मलाई बचाउनुहुन्छ भनी विश्वास गर्नुहुन्छ, यसैले म पास्टरको कुरामा र येशूमा पनि विश्वास गर्छु।’ ‘उहाँमा विश्वास गर, उहाँमा विश्वास गर, केवल अहिले उहाँमा विश्वास गर। उहाँले तपाईंलाई बचाउनुहुनेछ, उहाँले बचाउनुहुनेछ। अहिले उहाँले तिमीलाई बचाउनुहुनेछ।’ तपाईं भन्नुहुन्छ, ‘तर उहाँले मलाई पहिले बचाउनुभएन।’ तपाईंलाई त्यस्तो लाग्न सक्छ, तर उहाँले अहिले तपाईंलाई बचाउनुहुनेछ। ।

आओ, पापले थिचेको प्रत्येक आत्मा, प्रभुमा छ कृपा,
निश्चय दिनेछन् विश्राम भरोसामा उहाँको वचनमा
उहाँमा विश्वास गर, विश्वास गर, अहिले उहाँमा विश्वास गर
उहाँले बचाउनुहुनेछ, उहाँले बचाउनुहुनेछ, अहिले उहाँले बचाउनुहुनेछ
(‘ओनली ट्रस्ट हिम,’ जोन एच. स्टकटन, १८१३-१८७७-द्वारा रचित)

तपाईंको कमजोर न्यू इभान्जलिकल धर्मबाट फर्किनुहोस्। अहिले नै त्यसबाट फर्किनुहोस्। अनि येशूमा विश्वास गर्नुहोस् र उहाँद्वारा पापबाट बचाइनुहोस्- उहाँले क्रूसमा तपाईंका निम्ति बगाउनुभएको रगतद्वारा!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('डेर टु बी लाइक् डानिएल,' फिलिप पी. ब्लिसद्वारा रचित, १८३८-१८७६, डा. हिमर्सद्वारा केही फेरबदल गरिएको)