Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




प्रार्थना कसरी गर्नु र प्रार्थना सेवा कसरी संचालन गर्नु

(डा. तिमोथी लिनका शिक्षा, १९११-२००९)
HOW TO PRAY AND HOW TO CONDUCT A PRAYER MEETING
(THE TEACHINGS OF DR. TIMOTHY LIN, 1911-2009)
(Nepali)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा श्री जोन शमूएल केगनद्वारा १५ अक्टुबर २०१७ मा आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon written by Dr. R. L. Hymers, Jr.
and preached by Mr. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, October 15, 2017

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’ (लूका १८:८)


डा. हिमर्सका लामो समयका पास्टर, डा. तिमोथी लिन (१९११-२००९), सित बाइबलको ठूलो ज्ञान थियो। उनले हिब्रू र त्यस्तै समान भाषामा पीएचडी. गरेका थिए। सन् १९५० को दशकमा बब जोनेसको स्नात्तक स्कुलमा उनले व्यवस्थित ईश्वरशास्त्र, बाइबलीय ईश्वरशास्त्र र पेसहिटा सिरियाली भाषाको शिक्षा दिन्थे। पछिबाट उनी डा. जेम्स हडसन टेलर तृतीयका उत्तराधिकारीको रूपमा चाइना इभान्जलिकल सेमिनरीका अध्यक्ष बनेका थिए। उनी पुरानो करार न्यू अमेरिकन स्टेन्डर्ड बाइबल (NASB) अनुवादकहरूमध्ये एक थिए। डा. लिन चौबीस वर्षसम्म डा. आर. एल, हिमर्स, जुनियरका पास्टर रहेका थिए। डा. हिमर्स कुनै शंका नगरी भन्छन् कि, डा. लिन उनले चिनेका पास्टरहरूमध्ये सबैभन्दा प्रभावशाली थिए। उनको चर्चको सदस्य हुँदा परमेश्वरले त्यस्ता जागृतिहरू पठाउनुभएको डा. हिमर्सले देख्नुभयो, जसमा सयौं मानिसहरूले उद्धार पाएर चर्च आउन थालेका थिए।

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’ (लूका १८:८)

धेरै वटा बाइबल टिप्पणीहरूले यो पदको व्याख्या सही प्रकारले गरेका छैनन्। उदाहरणका निम्ति, एउटा प्रसिद्ध बाइबल टिप्पणीको पुस्तकले भन्छ, ‘सारा पृथ्वीमा त्यो बेला अविश्वास पाइन्छ।’ तर यस खण्डमा येशूले त्यस्तो कुरा गर्नुभएको होइन। यस खण्डमा उहाँले अन्तिम समयमा धेरै जना मानिस विश्वासबाट पछि हट्ने कुरा गर्नुभएको होइन, न त येशूले उहाँ फर्किआउनुहुँदा कुनै साँचो ख्रीष्टियनहरू हुनेछन् कि भनी प्रश्न नै गर्नुभएको हो। वास्तवमा, येशूले पत्रुसलाई योभन्दा ठीक विपरीत कुरा भन्नुभयो।

‘म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्’ (मत्ती १६:१८)

मत्ती १६:१८ ले हामीलाई देखाउँछ कि, ख्रीष्ट फेरि आउनुहुँदा विश्वास त्याग जत्ति नै गहन र भयानक भए पनि अझै पनि त्यस्ता ख्रीष्टियनहरू हुनेछन्, जोसँग बचाउने विश्वास हुन्छ। धेरै जना साँचा ख्रीष्टियनहरू उठाइलगिनेछन्, विशेष गरी चीन र तेस्रो विश्वका अन्य भागहरूबाट, जहाँ आज साँचो जागृति आएको छ।

‘किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान दूतहरूको आवाज र परमेश्वरको तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरीउठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैं प्रभुसँग रहनेछौं।’ (थेसलोनिकी ४:१६-१७)

यहाँसम्म कि, त्यस महासंकष्टको समयमा पनि मानिसहरूका ठूल्ठुला भीडले उद्धार पाउनेछ।

‘कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जातिका...थिए’ (प्रकाश ७:९)

‘यिनीहरू ती नै हुन्, जुनहरू महासंकष्टबाट आएका हुन्, तिनीहरूले आफ्ना-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।’ (प्रकाश ७:१४)

यसैले प्रभु येशूले तलको वचन भन्नुहुँदा बचाउने विश्वास हुनेछैन भन्नुभएको होइन,

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’ (लूका १८:८)

१. पहिलो, अटल प्रार्थनाको महत्त्व

धेरै वटा बाइबल टिप्पणीका पुस्तकहरू गलत छन्, तर डा. लिनले हाम्रो आजको बाइबल पदको साँचो व्याख्या गरेका छन्। डा. लिनले भनेका छन्,

बाइबलमा ‘विश्वास’ शब्द व्यापक रूपले प्रयोग गरिएको छ। त्यो शब्दको सठीक अर्थ त्यसको सन्दर्भलाई जाँचेर मात्र बुझ्न सकिन्छ। यो पदको अगाडिको पद एउटा दष्टान्त हो, जसले हामीले हरेस नखाइ सब समय प्रार्थना गर्नुपर्छ भनी भन्दछ (लूका १८:१-८क); अनि त्यसपछिको खण्ड (लूका १८:९-१४) एक जना फरिसी र एक जना कर उठाउने व्यक्तिको दृष्टान्त हो। यसरी यो पद (लूका १८:८) को सन्दर्भले ‘विश्वास’ शब्दले यहाँ प्रार्थनामा विश्वास भनी बुझाउँछ भन्ने स्पष्ट छ। अनि हाम्रा प्रभुको भनाइ उहाँको दोस्रो आगमनको बेला उहाँको चर्चले प्रार्थनामा विश्वास गुमाउला कि भन्ने विलाप हो (तिमोथी लिन, टीएचडी. द सिक्रेट अफ चर्च ग्रोथ, फर्स्ट चाइनिज ब्याप्टिस्ट चर्च अफ लस एन्सलस, १९९२, पृष्ठ ९४-९५)।

डा. लिनले भने लूका १८:१-८ मा पाइने दृष्टान्तको मुख्य कुरा ख्रीष्टियनहरू प्रार्थना गरिरहनुपर्छ र हरेश खानुहुँदैन भन्ने हो। आठ पदले अन्तिम समयमा ख्रीष्टियनहरूमा अटल प्रार्थना हुनेछैन भन्ने देखाउँछ, त्यो समय हामी जिइरहेका समय नै हो। त्यसकारण हामी त्यस पदको विषयमा यसो भन्न सक्छौं,

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास (अटल प्रार्थना) भेट्टाउनेछ र?’ (लूका १८:८)

डा. लिनले अझै भनेका छन्,

आज धेरै वटा चर्चका प्रार्थना सेवाहरू हराएका गएका छन्(वा त त्यो सेवालाई हप्ताको बीचमा गरिने बाइबल अध्ययनमा परिवर्तन गरिएको छ, जहाँ प्रार्थना दुमोको रूपमा मात्र हुन्छ)। यस्तो दुःखद स्थितिको सामना गर्दै केही चर्चहरूले यो महत्त्वपूर्ण चेताउनीलाई पूर्णरूपले बेवास्ता गर्छन् अनि आफ्नो आत्मसन्तुष्टिका निम्ति (प्रायः) तिनीहरूका प्रार्थना सेवाहरू पूरै स्थगित गर्छन्। यो प्रभुको दोस्रो आगमन चाँडै हुनलागेको छ भन्ने चिन्ह हो। अहिले धेरै जनाले प्रभुको भन्दा बढ्ता टेलिभिजनको आराधना गर्छन्। यो साँच्चै दुःखको कुरा हो। अन्तिम समयका चर्चहरूले प्रार्थनाप्रति अति नै बढी निरुत्साह (जोशको कमी) देखाउँछन् (तिमोथी लिन, पीएचडी., ऐजन, पृष्ठ ९५)।

यसैले लूका १८:८ ले ख्रीष्टको दोस्रो आगमन हुनुभन्दा अगाडि चर्चहरूमा प्रार्थनाको अभाव हुने संकेत दिँदछ, यो चिन्ह अहिले हामी जिइरहेकै समयमा देखिँदैछ, जहाँ बचाउने विश्वासको भने पूर्ण अभाव छैन। चर्चहरूमा प्रार्थना नहुनु हामी प्रभुको दोस्रो आगमन भन्दा अघिको अन्तिम समयमा जिइरहेका छौं भन्ने कुराको चिन्ह हो।

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास (अटल प्रार्थना) भेट्टाउनेछ र?’ (लूका १८:८)

२. दोस्रो, प्रार्थना सेवाहरूको महत्त्व

डा. लिनले यो पनि भनेका छन् कि, व्यक्तिगत प्रार्थनामा प्रार्थना सेवाहरूमा गरिने संयुक्त प्रार्थनामा जस्तो अधिकार र शक्ति हुँदैन। उनले भनेका छन्,

मानिसहरू प्रार्थना एकलै गरे पनि वा समूहमा गरे पनि वा घरमा एकलै गरे पनि वा दाजुभाइ, दिदीबहिनीहरूसँग चर्चमा गरे पनि त्यसले कुनै फरक पार्दैन भन्ने गर्छन्। यस्तो भनाइ आफ्नो अल्छीपन ढाक्न आफैलाई सान्त्वना दिने कुरा वा प्रार्थनाको शक्तिप्रतिको अविश्वासी भनाइ मात्र हो। हेर्नुहोस्, प्रभुले प्रार्थनाको यस विषयमा के भन्नुहुन्छः

‘फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।’ (मत्ती १८:१९,२०)

     हाम्रा प्रभुले जोड दिएर यो कुरा हामीलाई सम्झाउनुभएको छ कि, यो ईश्वरीय अधिकार एकलैको कोसिसद्वारा प्राप्त गर्न सकिँदैन, तर सम्पूर्ण चर्च मिलेर गरिएको सामूहिक कोसिसद्वारा मात्र सकिन्छ। अर्को शब्दमा भन्नुपर्दा, जब सम्पूर्ण चर्च एक मन भएर प्रार्थना गर्छ, तब चर्चसँग त्यो ईश्वरीय अधिकार हुन्छ।
     "तापनि अन्तिम समयको चर्चले यो सत्यतालाई बुझ्न सक्दैन, न त परमेश्वरको शक्ति प्राप्त गर्ने सठीक विधि नै याद गर्न सक्छ। अहो, कति ठूलो हानि हुन्छ! चर्चले स्वर्गबाट ईश्वरीय शक्ति प्राप्त गरेको छ, तर त्यो प्रयोग गर्ने ज्ञान प्राप्त गरेको छैन, तापनि त्यसले शैतानको कामलाई बाँध्न, थिचोमिचोमा परेकाहरूलाई छुटकारा दिन अनि परमेश्वरको उपस्थितिको वास्तविकताको अनुभव गर्न खोज्दछ। खेदको कुरा, त्यो गर्न सकिँदैन! (तिमोथी लिन, पीएचडी., ऐजन, पृष्ठ ९२-९३)।

यसरी डा. लिनले प्रार्थनामा विश्वास हुनु अति महत्त्वपूर्ण कुरा हो भनी सिकाउनुभयो, साथै चर्चमा प्रार्थना सेवाहरू हुनु अति नै महत्त्तवपूर्ण कुरा हो भन्ने पनि सिकाउनुभयो।

३. तेस्रो, ‘एक मन’ भएर प्रार्थना गर्नुको महत्त्व

कृपया, प्रेरित १:१४ खोलेर ठूलो सोरमा पढ्नुहोस्।

‘कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे’ (प्रेरित १:१४)।

‘यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे...।’ डा. लिनले भने,

चिनियाँ भाषाको बाइबलमा ‘एक मनका भएर’ भन्ने वाक्यांशलाई ‘एउटै हृदय र एउटै मनका भएर’ भनी अनुवाद गरिएको छ। त्यसकारण, प्रार्थना सेवामा परमेश्वरको उपस्थिति हुनका निम्ति सबै सहभागीले प्रार्थनाको महत्त्वलाई मात्र नबुझेर तिनीहरू एक मनको भएर परमेश्वरलाई निवेदन र धन्यवादहरू चढाउने साँचो चाहनासहित आउनुपर्छ(प्रार्थना सेवाहरूमा)। अनि मात्र प्रार्थना सेवाहरू सफल बन्छन् अनि अन्य सेवकाइहरू पनि सफल बन्छन् (तिमोथी लिन, पीएचडी., ऐजन, पृष्ठ ९३-९४)।

‘एक मनको भएर प्रार्थना गर्नका निम्ति’ कुनै भाइले गरेको प्रार्थनामा हामीले ‘आमेन्’ भन्नुपर्छ।

तपाईंहरूले विश्वासको प्रार्थनाको महत्त्व, एकताको महत्त्व, ‘एक मनको भएर प्रार्थना गर्ने’ बारे डा. लिनका शिक्षा सुन्नुभएको छ। तापनि आज राति यहाँ हुने तपाईंहरूमध्ये कति जना हाम्रो कुनै प्रार्थना सेवामा भाग लिनुहुन्न। यसैले तपाईंको आत्मिक जीवन सुस्त भएकोमा अचम्म मान्नुपर्दैन। के आज राति यहाँ कोही हुनुहुन्छ, जसले यसो भन्नुहुन्छ, ‘पास्टरज्यू, आजदेखि उसो म कम्तीमा एउटा प्रार्थना सेवामा भाग लिनेछु?’ कृपया, तपाईंका आँखाहरू बन्द गर्नुहोस्। यदि आँखा बन्द गर्नुभयो भने कृपया तपाईंको हात उठाउनुहोस्। यस्तो प्रतिज्ञा गर्नेहरूलाई परमेश्वरले सहायता गरून् भनी कृपया सबैले प्रार्थना गर्नुहोस्। (सबैले प्रार्थना गर्नुहोस्)।

यदि अझसम्म तपाईंको हृदय परिवर्तन भएको छैन भने म तपाईंसँग जोरदार निवेदन गर्दछु कि, कम्तीमा पनि शनिबार राति हुने एउटा प्रार्थना सेवामा भाग लिनुहोस्। कृपया, तपाईंहरूको आँखा बन्द गर्नुहोस्। के यसो भन्ने कोही छ, ‘हुन्छ पास्टरज्यू, म शनिबार राति हुने प्रार्थना सेवामा आउन थाल्नेछु?’ कृपया, तपाईंको हात उठाउनुहोस्। हात उठाउनेहरूले आ-आफ्नो प्रतिज्ञा पूरा गर्न सकून् भनी कृपया सबैले प्रार्थना गरिदिनुहोस्। (सबैले प्रार्थना गर्छन्)।

ख्रीष्ट हाम्रो पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो। तपाईंका पापहरू पखाल्न उहाँले आफ्नो रगत बगाउनुभयो। उहाँले भयानक पीडा सहनुभयो, काँटी ठोकेर उहाँलाई क्रूसमा टाँगियो, तपाईंको पापको प्रायश्चित गर्न उहाँले ती गर्नुभयो। तेस्रो दिन उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। उहाँ जीवित हुनुहुन्छ र परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। ख्रीष्टमा आउनुहोस् र तपाईं आफ्ना पापहरूबाट बचाइनुहुनेछ।

तपाईंहरूमध्ये कसले आज राति उद्धार पाउनुभएको छैन र तपाईंको हृदय परिवर्तनका निम्ति हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ? फेरि तपाईंका आँखाहरू बन्द गर्नुहोस्। कृपया, हात उठाउनुहोस्, ताकि हामी तपाईंको हृदय परिवर्तनका निम्ति प्रार्थना गर्न सकौं। कृपया, सबैले प्रार्थना गर्नुहोस्, ता कि तिनीहरूले आफ्ना पापहरूका निम्ति पश्चात्ताप गरून् र ख्रीष्टको रगतले शुद्ध हुन उहाँकहाँ आउन सकून्।

डा. चान, कृपया आज राति कसैले उद्धार पाओस् भनी प्रार्थना गर्न हामीलाई अगुवाइ गर्नुहोस्। यदि तपाईं ख्रीष्टियन कसरी बनिन्छ भन्ने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने पछिल्तिरको भवनमा गएर कृपया डा. केगन, श्री जोन केगन र नोआ सङलाई अहिले नै भेट्नुहोस्। उनीहरूले तपाईंलाई एकान्त स्थानमा लैजानेछन्, जहाँ हामी तपाईंको हृदय परिवर्तनका निम्ति बातचित र प्रार्थना गर्न सक्छौं।

विल्किपेडियामा डा. लिनको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('टिस द ब्लेसेड आवर अफ प्रेयर,' फेनी जे. क्रस्बीद्वारा रचित, १८२०-१९१५)


रूपरेखा

प्रार्थना कसरी गर्नु र प्रार्थना सेवा कसरी संचालन गर्नु

(डा. तिमोथी लिनका शिक्षा, १९११-२००९)
HOW TO PRAY AND HOW TO CONDUCT A PRAYER MEETING
(THE TEACHINGS OF DR. TIMOTHY LIN, 1911-2009)

डा. आर. एल. हिमर्स, जुनियरद्वारा लिखित तथा श्री जोन शमूएल केगनद्वारा प्रचार गरिएको प्रवचन

‘तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’ (लूका १८:८)

(मत्ती १६:१८; १ थेसलोनिकी ४:१६-१७; प्रकाश ७:९,१४)

१. पहिलो, अटल प्रार्थनाको महत्त्व (लूका १८:८) .

२. दोस्रो, प्रार्थना सेवाहरूको महत्त्व (मत्ती १८:१९-२०)

३. तेस्रो, ‘एक मन’ भएर प्रार्थना गर्नुको महत्त्व (प्रेरित १:४)