Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




प्रत्येक व्यक्तिले सुसमाचार प्रचार गर्दैछ!

EVERY PERSON EVANGELIZING!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१७ सेप्टेम्बर, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 17, 2017

‘तिनीहरू जाँदाजाँदै निको भइहाले।’ (लूका १७:१४)


प्रभु येशू सामरिया र गालील भएर जानुहुँदा एउटा सानो सहरमा आइपुग्नुभयो। त्यहाँ शहरदेखि बाहिरको गाउँमा दश जना कुष्ठरोगी थिए। तिनीहरू उहाँदेखि ‘टाढै उभिए’ (लूका १७:१२)। पुरानो करारको व्यवस्थाले कुष्ठरोगीहरूलाई त्यो रोग नलागेका अरूदेखि अलग बस्ने आदेश दिएको थियो।

‘सरुवा रोग भएको मानिसले... ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस्‌। त्‍यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्‍यसको डेरा होस्‌।’ (लेवी १३:४५-४६)

यी दश कुष्ठरोगीले येशूले आश्चर्यकर्महरू गर्नुभएको सुनेका थिए। यसैले तिनीहरू टाढैबाट यसो भन्दै कराए, ‘हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्’ (लूका १७:१३)। येशूले तिनीहरूका कुष्ठरोग त्यही ठाउँमा निको पार्नुभएन, तर उहाँले तिनीहरूलाई यरूशलेमको मन्दिरमा गएर पूजाहारीहरूको अगाडि आफैलाई देखाउने आदेश दिनुभयो। येशूले दुइ वटा कारणले त्यसो गर्नुभयोः पुरानो करारको व्यवस्था पूरा गर्न, जुन कुरा लेवी १४:१-२० मा भनिएको छ, जहाँ कुनै व्यक्ति कुष्ठरोगबाट निको भएको छ कि छैन भन्ने कुरा पूजाहारीहरूले मात्र बताउन सक्दथे। दोस्रो कारण, ‘पूजाहारी र अरू यहूदीहरूलाई उहाँसँग निको पार्ने शक्ति छ भनी गवाही दिनु थियो’(थोमस हेल, दि एप्लाइड न्यू टेस्टामेन्ट, चेरिअट भिक्टर पब्लिसिङ, १९९६, पृष्ठ २३६)।

ती दश कुष्ठरोगीले ख्रीष्टको आज्ञा पालन गरे, र यरूशलेम मन्दिरतिर लागे। यसले तिनीहरूमा केही मात्रामा विश्वास थियो भन्ने देखाउँछ, नत्रता तिनीहरूले उहाँको आज्ञापालन गर्ने थिएनन्। तर हामी देख्छौं, त्यो उद्धार गराउने विश्वास थिएन। तिनीहरूले बाहिरी रूपमा ख्रीष्टको आज्ञापालन गरे।

‘तिनीहरू जाँदाजाँदै निको भइहाले।’ (लूका १७:१४)

तिनीहरू गालीलको क्षेत्रबाट दक्षिणतिरको यरूशलेमको मन्दिरतिर ओर्लिंदा तिनीहरूका शरीरबाट कुष्ठरोग हराएर गयो।

तर ती निको हुनेहरूमध्ये एक जना फर्केर येशू हुनुभएको ठाउँमा आयो।

‘उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो, र येशूलाई धन्‍यवाद दिएर त्‍यो येशूका पाउमा घोप्‍टो पर्‍यो।...’ (लूका १७:१५-१६)

‘अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, ‘उठ, र आफ्‍नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।’ (लूका १७:१९)

अब, मलाई यस्तो लाग्छ, कि यस खण्डमा हामीले सिक्नु पर्ने केही शिक्षाहरू छन्। म ती सबै बताउँदिनँ, तर मैले देखेको तीन वटा कुरा बताउँछु।

१. पहिलो, बाहिरी रूपमा ख्रीष्टको आज्ञापालन गर्दा केही-केही शुद्धीकरण हुन्छ।

ती दशै जना कुष्ठ रोगी बाहिरी कुष्ठरोगबाट निको भएका थिए। तापनि तिनीहरू येशूले छुनेसाथ तुरुन्तै निको भएका थिएनन्। तिनीहरू यरूशलेमतिर जाँदा बाटोमा केही मात्रामा निको भएका थिए। तर तिनीहरूका आत्माहरू निको भएका थिएनन्। येशूले भन्नुभयो,

‘उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, ‘जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।’ तिनीहरू जाँदाजाँदै निको भइहाले।’ (लूका १७:१४)

बाहिरी रूपमा ख्रीष्टप्रति आज्ञाकारी हुनेहरू त्यस्ता धेरै वटा विपत्तिबाट शुद्ध पारिन्छन्, जुन विपत्तिहरूले पूर्ण आज्ञाकारी नहुनेहरूलाई दुःख दिन्छन्। जुन मानिसहरू चर्च आउँछन् र ख्रीष्टियमतका आधारभूत नियमहरू पालन गर्छन्, तिनीहरूले आफ्नो जीवन अझ बढी नियममुताबिक भएको र स्कुलमा तिनीहरूका अध्ययन बानीले अझ राम्रा नतिजा ल्याएका थाहा पाउँछन्। तिनीहरूका भावनाहरू धेरै नियन्त्रित हुन्छन्। सामान्य रूपमा तिनीहरू आधुनिक समाजको अन्योलताद्वारा ‘अगि-पछि हुत्त्याइनेहरू’ (एफिसी ४:१४) भन्दा आफ्नो जीवनमा अझ बढी सफल र फलदायी बन्दछन्।

‘संसार’ मा हुनेहरू तिनीहरूका काम वा स्कुलबाट धेरै समय लिएर चर्चमा आउँदा तिनीहरूका जीवनमा हानि हुन्छ भन्ने सोच्छन्। अख्रीष्टियन आमाबुबाले प्रायः यस्तो विचार गर्छन्। उनीहरू चर्चमा जाँदा उनीहरूका छोराछोरीका धेरै समय खर्च हुन्छ, त्यसकारण तिनीहरूले आफ्नो काममा वा स्कुलमा राम्रो गर्न सक्दैनन् भनी सोच्छन्। तर हामीले बारम्बार यसको ठीक विपरीत कुरा सत्य पाएका छौं। जब जवानहरू चर्चका निर्धारित सेवाहरूमा सहभागी हुन्छन्, हामीले पाएका छौं, कि तिनीहरू अझ उत्तम विद्यार्थी र अझ असल कामदार बन्दछन्। तिनीहरू आफ्ना अध्ययनहरू ठीक-ठीक गर्छन्। तिनीहरू ‘समयको पूरा सदुपयोग’ (एफिसी ५:१६; कलस्सी ४:५) गर्दै आफ्नो अध्ययन ठीक-ठीक गर्छन्। चर्चका अगुवाहरूका अर्ती-उपदेश र चर्चका सदस्यहरूका उदाहरणद्वारा तिनीहरूले काममा र स्कुलमा परिश्रम गर्नुको महत्त्व सिक्छन्। तिनीहरू संसारका सन्तानझैं धेरै ‘मूर्ख बन्दैनन्’ बरू तिनीहरूले पाएका समयमा कठोर परिश्रम र अध्ययन गर्छन्।

म विश्वास गर्छु, हाम्रो चर्चमा अमेरिका कै तुलनामा कलेजका विद्यार्थी र कलेज पढिसकेका विद्यार्थीहरूको प्रतिशत सबैभन्दा धेरै छ। मलाई लाग्छ, यो स्थानीय चर्चको संगतिमा नजाने र त्यसका निर्धारित सेवाहरूमा भाग नलिनेहरूले जुन धेरै वटा बाहिरी समस्याको सामना गर्नुपर्छ येशूको आज्ञापालन गर्नेहरूबाट त्यस आज्ञापालनले त्यस्ता समस्या ‘हटाउँछ’ भन्ने कुराको प्रमाण हो। वर्षौंदेखि हेरेर आउँदा बारम्बार घरीघरी यो कुरा सत्य हो भनी प्रमाणित भएको छ।

२. दोस्रो, पूरा उद्धारको अनुभव त्यत्तिबेला हुन्छ जब तपाईं ख्रीष्टमा आउनुहुन्छ।

ती मानिसहरूमध्ये नौ जना कुष्ठ रोगबाट शारीरिक रूपमा शुद्ध भएपछि बाहिरी चंगाइमा नै सन्तुष्ट भए। तर तीमध्ये एक जना बाहिरी आज्ञापालनमा मात्र सन्तुष्ट भएन। परमेश्वरप्रति धन्यवादी भएर उसको हृदय खुशीले उफ्रियो। ऊ फर्कियो र येशू हुनुभएको ठाउँमा आयो। ‘येशूलाई धन्यवाद दिँदै’ ऊ उहाँको पाउमा घोप्टो पऱ्यो (लूका १७:१६)। अर्को शब्दमा भन्ने हो भने यो व्यक्ति ख्रीष्टमा आयो! ऊ ख्रीष्टमा आयो र उसले शारीरिक चंगाइ मात्र पाएन, तर उद्धारकर्ताको पाउमा घोप्टो परी उहाँमा पूर्ण उद्धार पायो।

यदि तपाईं हाम्रो चर्चमा आउने गर्नुभएको छ भने, सेवाहरूमा नियमित आउने गर्नुभएको छ भने त्यो ठीक छ र राम्रो हो। त्यसले तपाईंको जीवनमा र काममा सहायता गर्नेछ। तर साँचो ख्रीष्टियमतमा तपाईंलाई असल जीवन जिउन सहायता गर्ने कुरा मात्र नभएर त्योभन्दा अझ धेरै कुरा हुन्छन्। सफल जीवन जिइरहेको एक व्यक्तिलाई येशूले भन्नुभयो,

‘मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।’ (यूहन्ना ३:७)

येशूकहाँ फर्किएर आउने कुष्ठरोगीलाई पनि त्यस्तै भयो। येशूको आज्ञापालन गरी शारीरिक रूपमा शुद्ध भएपछि ऊ येशूकहाँ फर्किएर आयो, उहाँको पाउमा घोप्टो पऱ्यो र भित्रैबाट परिवर्तन भयो। अनि ख्रीष्टले उसलाई भन्नुभयो,

‘तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।’ लूका १७:१९)

दि एप्लाइड न्यू टेस्टामेन्ट सँग सहमत छु। काश, मलाई यसले भरोसायोग्य किङ जेम्स भर्सन बाइबलबाट उद्धृत गरेको भए हुनेथ्यो जस्तो लागे पनि यसले येशूकहाँ फर्किएर आउने त्यस शुद्ध भएको कुष्ठरोगीलाई के भएको थियो भन्ने कुरा राम्ररी बताउँछ। जब येशूले उसलाई ‘तिम्रो विश्वासले तिमीलाई निको पारेको छ’ भन्नुभयो, त्यस टिप्पणीले भन्दछ, ‘येशूको भनाइको अर्थ उसको शरीर मात्र ठीक भएको छ भन्ने थिएन, तर उसको आत्मा पनि ठीक भएको छ भन्ने थियो। उसले उद्धार पाएको थियो’ (ऐजन, पृष्ठ ३४१)।

तपाईं कोही-कोही चर्च आउने गर्नुभएको छ। यसले तपाईंलाई आशिषित बनाएको छ र त्यसरी आउन तपाईंलाई सहायता गरेको छ। त्यसका निम्ति हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। तर हामी भन्छौं, तपाईं अझै एक कदम अगाडि बढ्नुहोस् र येशूमा विश्वास गर्दै, उहाँको पाउमा घोप्टो पर्दै, उहाँमाथि पूर्ण भरोसा राख्दै पूर्ण उद्धार, पूर्ण परिवर्तन प्राप्त गर्नुहोस्।

किनभने ख्रीष्ट यो संसारमा तपाईंलाई अझ असल जीवन दिनका निम्ति मात्र क्रूसमा मर्नुभएको होइन। त्योभन्दा अझै धेरै कुरा छन्। तपाईंको पाप क्षमा गर्न, अनि उहाँको अनमोल रगतले तपाईंलाई शुद्ध पार्न उहाँ क्रूसमा मर्नुभयो। उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो, अनि तपाईंलाई अनन्त जीवन दिन उहाँ अहिले पिता परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। यदि तपाईं त्यो मानिसजस्तै सरल विश्वास गर्दै येशूकहाँ आउनुभयो भने तपाईं पनि परिवर्तन हुनुहुनेछ, सब समय र अनन्तताका निम्ति नयाँ गरी जन्मनुहुनेछ। यो परिवर्तनको अनुभव तपाईंलाई चाँडै दिइएको होस्। तर म विश्वास गर्छु, बाइबलको यस खण्डमा हाम्रो निम्ति तेस्रो शिक्षा छ, त्यो हो प्रत्येक व्यक्तिले सुसमाचार प्रचार गर्नुपर्ने कुरा।

३. तेस्रो, सुसमाचार प्रचार तुरुन्तै सुरु हुनुपर्छ, तपाईं परिवर्तन हुनुभन्दा अघि नै।

ध्यान दिनुहोस्, येशूले ती दश जनालाई तिनीहरू अशुद्ध हुँदै (र परिवर्तन नहुँदै) भन्नुभयो,

उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले। (लूका १७:१४)

तिनीहरू येशूद्वारा उहाँकै विषयमा बताउन साक्षी, एक गवाहीको रूपमा ‘पूजाहारी र अरू यहूदीहरूकहाँ पठाइएका थिए’(दि एप्लाइड न्यू टेस्टामेन्ट, ऐजन, पृष्ठ २३६)। तिनीहरू शुद्ध हुनुभन्दा अघि र तिनीहरूमध्ये कोही परिवर्तन हुनुभन्दा अघि तिनीहरू साक्षीहरूका रूपमा पठाइए!

अब, के यो कुरा महत्त्वपूर्ण छैन त? आज, धेरै जना इभान्जलिकलहरू तपाईं बाहिर सुसमाचार प्रचार गर्न जानुभन्दा अघि अति बलियो ख्रीष्टियन हुनुपर्छ, विश्वासमा राम्ररी जरा गाडेको हुनुपर्छ, बाइबलको धेरै ज्ञान हुनुपर्छ विचार गर्छन्। म भन्दछु, त्यो पूर्ण रूपले मूर्ख कुरा हो। त्यसो भन्नु त कुनै व्यक्ति चर्चको निर्धारित सेवामा आउनुभन्दा अघि ऊ एक बलियो ख्रीष्टियन हुनुपर्छ भनेजस्तो मूर्ख कुरा हो। तापनि म जान्दछु, केही मूर्ख मानिसहरू छन्, जसले यस्तो विचार गर्छन्। तर बाइबलले त्यस्तो कुरा सिकाउँदैन। येशूले बाह्र चेलालाई केही नगरी त्यसै सुसमाचार प्रचार गर्न पठाउनुभयो। अस्सेरको कालक्रमअनुसार येशूले जुन वर्ष ती चेलाहरूलाई बोलाउनुभएको थियो, त्यही वर्ष तिनीहरूलाई सुसमाचार प्रचार गर्न पठाउनुभयो। त्यो वर्ष जब उहाँले,

‘तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। ... तब तिनीहरू निस्‍केर गई मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनी प्रचार गरे।’ (मर्कूस ६:७,१२)

त्यस बेला तिनीहरू उहाँका चेला बनेका केही समय मात्र भएको थियो।

कम्तीमा एक जना चेला (यहूदा) को त हृदय परिवर्तन पनि भएको थिएन। तापनि हृदय परिवर्तन नभएको वा विश्वासमा बलियो नभए पनि तिनीहरूलाई सुसमाचार प्रचार गर्न तुरुन्तै पठाइयो। तिनीहरू ख्रीष्टको आज्ञा पाएर सुसमाचार प्रचार गर्न गए।

मलाई लाग्छ, ख्रीष्टको तरिकाबाट हामी धरै कुरा सिक्न सक्छौं। बाहिर गएर सुसमाचार प्रचार गर्नु ख्रीष्टको आज्ञा हो, जुन उहाँका आज्ञाहरूमध्ये सबैभन्दा प्रसिद्ध आज्ञा होः

यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला (मत्ती २८:१९)

के उहाँको आज्ञापालन गर्नुभन्दा अघि हामीले तालिम लिनुपर्छ? त्यसोभए, ती दश जना कुष्ठरोगी पूजाहारी र अरू यहूदीहरूलाई साक्षी दिनु जानुभन्दा अघि तिनीहरूले तालिम लिएका थिएनन् त? भनौं भने तिनीहरूले उद्धार पनि पाएका थिएनन्। तापनि ख्रीष्टले तिनीहरूलाई गएर तुरुन्तै पूजाहारीहरूलाई सुसमाचार प्रचार गरी उहाँको आज्ञापालन गर्नु भन्नुभयो। ती चेलाहरू पनि आलोकाँचो, अनपढ मछुवाहरू थिए, तर येशूले तिनीहरूलाई दुइ-दुइ जना गरी सुसमाचार प्रचार गर्न पठाउनुभयो।

मलाई लाग्छ, आज हामीले पनि त्यसै गर्नुपर्छ। येशूले बनाउनुभएको तरिका हामीले पछ्याउनुपर्छ। हामीले मानिसहरूलाई बाइबल तालिम दिनुपर्छ। हो दिनुपर्छ। तर तिनीहरूले पूरा तालिम पाइसक्नुभन्दा अघि नै तिनीहरू सुसमाचार प्रचार गर्न जान थाल्नुपर्छ। बाइबलका सबै सिद्धान्तहरू सुन्नुभन्दा अघि नै तिनीहरू सुसमाचार प्रचार गर्न जानुपर्छ।

तपाईं मानिसहरूलाई निरन्तर तालिम दिन सक्नुहुन्छ, तापनि तिनीहरूले कुनै व्यक्तिलाई चर्चमा सुसमाचार सुन्न नल्याएका देख्नुहुन्छ। तपाईं बाइबलको एक-एक पदको अर्थ बताउँदै मानिसहरूलाई बाइबलको राम्रो व्याख्या गरी सुनाउनुहुन्छ, तर तिनीहरूले तपाईंका सेवाहरूमा एउटै पनि व्यक्तिलाई सुसमाचार सुन्नका निम्ति नल्याएका देख्नुहुन्छ।

कुनै विचार मानिसले साँचो हो भनी जानेको भए पनि त्यस विषयमा के गर्नुपर्छ भनी नजानेका जस्तो देखिन्छ। तर येशूले हामीलाई त्यस विषयमा के गर्नुपर्छ भनी बताउनुभएको छ- हरसम्भव तिनीहरूलाई तुरुन्तै सुसमाचार प्रचार गर्न पठाउनु, चाहे तालिम लिएको होस् वा नहोस, तिनीहरूका हृदय परिवर्तन भएका होस् वा नहोस्। म विश्वास गर्छु, चर्चको प्रत्येक व्यक्ति सुसमाचार प्रचार गर्न जानुपर्छ। यो ख्रीष्टको आज्ञापालनको एक सामान्य भाग हुनुपर्छ, अनि म विश्वास गर्छु, यो कुरा ती सबैका निम्ति हो, जो एक पल्ट वा दुइ पल्ट हाम्रो चर्चको ढोकाबाट भित्र पस्दछ।

तिनीहरूले धेरै कुरा जान्नु पर्ने आवश्यक छैन। तिनीहरूले यति मात्र भन्नुपर्छ, ‘चर्चमा कुनै सुन्दर कुरा हुँदैछ, अनि तपाईं त्यहाँ हुनु जरूरी छ,’ यस्तै साधारण कुरा भन्नुपर्छ। अनि मानिसहरूको फोन नम्बर लिनुहोस् र अनि चर्चका अगुवाहरूले उनीहरूसँग सम्पर्क गरून्। यसो गरेकोले गर्दा हाम्रो बीचमा हरेक हप्ता नयाँ मानिसहरू आउँछन्। प्रत्येक आइतबारको सेवामा म सुसमाचार प्रचार गर्छु। प्रत्येक सेवामा उद्धार नपाएका मानिस धेरै हुने भएकोले सुसमाचारीय सन्देश प्रचार गर्नु आवश्यक हुन्छ।

मेरो सल्लाह छ, येशूले जसरी मानिसहरूलाई संसारमा सुसमाचार प्रचार गर्न पठाउनुभयो, हामी त्यही सरल तरिकामा फर्केर जाऔं। आखिर अरू तरिकाले खासै राम्ररी काम गरेका छैनन्, छ र? तर म जान्दछु, येशूको तरिका जुन चर्चले अपनाउँछ त्यो चर्च मानिसहरूले भरिन्छ, प्रत्येक सेवामा संसारका दर्जनौं मानिस आउनेछन्। डा. जोन राइसले प्रायः भन्थे, ‘सबै शक्ति लगाएर गरिने कोसिस मात्र आत्मा जित्ने नयाँ करारको तरिकासँग मेल खान्छ’ (डा. जोन राइस, डी. डी., व्हाइ आवर चर्चेज डु नट विन सोल्स, स्वर्ड अफ दि लर्ड पब्लिसर्स, १९६६, पृष्ठ १४९)। यस कुरामा म उनीसँग पूर्ण सहमत छु।

अझ एउटा कुरा, मानिसहरूलाई सुसमाचार गर्न पठाइयो भने तिनीहरू ख्रीष्टमा बढ्छन्। मानिसहरू यदि सुसमाचार प्रचार गर्दैनन् भने वर्षौंसम्म एकै ठाउँमा जमेर बस्छन्। तर म आफ्नै अनुभवबाट जान्दछु, यदि हरेक हप्ता तिनीहरू सुसमाचार प्रचार गर्न गए भने तिनीहरू बलिया ख्रीष्टियन बन्छन्। ख्रीष्टियन जीवनमा बढ्नु हो भने महान् आज्ञा पालन गर्नुपर्छ!

उहाँले तिनीहरूलाई देखेर भन्‍नुभयो, ‘जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।’ तिनीहरू जाँदाजाँदै निको भइहाले।’ (लूका १७:१४)

तपाईंले सबैतिरका मानिसलाई सुसमाचार प्रचार गर्न थाल्नुभयो भने तपाईंको जीवन परिवर्तन हुनेछ। अनि निश्चय तपाईं नयाँ गरी जन्मनु पर्छ! तपाईंहरू विश्वासद्वारा ख्रीष्टमा आउनुहुँदा परमेश्वरले तपाईं प्रत्येकलाई नयाँ जन्म देऊन्। त्यसपछि त तपाईं हराएका मानिसहरूलाई सुसमाचार प्रचार गर्न अझ सफल बन्नुहुनेछ। परमेश्वरले तपाईंलाई पूर्ण रूपले सुसमाचारको काममा लाग्ने प्रेरणा देऊन्, अनि यो काम चाँडोभन्दा चाँडो गरिहाल्नुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्र वचन अघि डा. क्रिगटन एल. चानद्वारा पवित्रशास्त्र पठन गरियो– लूका १७:११-१९
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘सो लिटल टाइम,' डा. जोन आर. राइसद्वारा रचित, १८९५-१९८०)


रूपरेखा

प्रत्येक व्यक्तिले सुसमाचार प्रचार गर्दैछ!

EVERY PERSON EVANGELIZING!

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिनीहरू जाँदाजाँदै निको भइहाले।’ (लूका १७:१४)
(लूका १७:१४; लेवी १३: ४५-४६; लूका १७:१३,१४,१५,१६,१९)

१. पहिलो, बाहिरी रूपमा ख्रीष्टको आज्ञापालन गर्दा केही-केही शुद्धीकरण हुन्छ।
लूका १७:१४; एफिसी ४:१४; ५:१६; कलस्सी ४:५

२. दोस्रो, पूरा उद्धारको अनुभव त्यत्तिबेला हुन्छ जब तपाईं ख्रीष्टमा आउनुहुन्छ।
लूका १७:१६; यूहन्ना ३:७; लूका १९:१७).

३. तेस्रो, सुसमाचार प्रचार तुरुन्तै सुरु हुनुपर्छ, तपाईं परिवर्तन हुनुभन्दा अघि नै।
लूका १७:१४; मर्कूस ६:७,१२; मत्ती २८:१९).