Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टको पुत्रपनको प्रमाण!

THE PROOF OF CHRIST’S SONSHIP!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

१५ अप्रेल, २०१७, शनिबार बेलुकी लसएन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, April 15, 2017

‘यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:३-४)।


म डा. विलबुर एम. स्मिथलाई ख्रीष्टियन साहित्यसम्बन्धी उनको असीम ज्ञानको निम्ति , प्रशंसा गर्दछु, साथै फुल्लर सेमिनरीले बाइबलको त्रुटिहीनता छोडेर उदारवाद अंगाल्दा सन् १९६३ मा उनले त्यस सेमिनरी त्यागेर जुन इमानदारिता देखाउनु भयो त्यसको म प्रशंसा गर्दछु (हेर्नुहोस्, हेरोल्ड लिन्डसेल, पीएच. डी., द बेटल फर द बाइबल, १९७८ संस्करण, पृष्ठ ११०-११२)। डा. स्मिथले रोमी १:४ को सम्बन्धमा एउटा भेदकारी प्रश्न गरेका छन्, ‘म छक्क पर्छु, विश्वासको निश्चयता दिने यो बाइबल पदबाट हाम्रा सबैभन्दा महान् प्रचारकहरू किन प्रचार गर्दैनन् वा कम्तीमा पनि कुनै लेख छाप्दैनन्?’ (डा. विलबुर एम. स्मिथ, डी. डी., देअरफोर स्टान्ड, किट्स पब्लिसिङ, १९८१ संस्करण, पृष्ठ ५८३)। मेरो विचारमा, यसको कारण यो हुन सक्छ कि विगत १२५ वर्षमा, विशेष गरी ‘निर्णयवाद’ को चलन आएपछि ख्रीष्टको पुनरुत्थानको विषयमा प्रचार धेरै कम भएको छ। सी. जी. फिन्नीको समयदेखि यता प्रवचनहरू अति नै बढी मानिस र मानिसले गर्ने काममा बढी नै समर्पित हुन्छन्। यी दिनहरूमा प्रचारकहरूले परमेश्वरका कुराहरूलाई पछिल्तिर पारेका छन्। बरु उनीहरू मानिसको कामलाई प्रमुखता दिन्छन्। आजका सुसमाचारीय ख्रीष्टियनहरू ईश्वरशास्त्रीय नभएर मानवशास्त्रीय, ख्रीष्टशास्त्रीय नभएर मनोशास्त्रीय, ख्रीष्टमा केन्द्रित नभएर मानिसमा केन्द्रित भएका छन्।

प्रेरितको पुस्तकमा उल्लिखित एउटा सन्देशबाहेक अरू सबै सन्देशले पुनरुत्थानलाई प्रमुख विषय बनाएको छ। प्रेरितहरूले ख्रीष्टको पुनरुत्थानको चर्चा नगरी प्रचार गर्नै सक्दैनथे! तिनीहरूले सुसमाचारको केन्द्रमा रहेको कुराको नै प्रचार गर्दथे। तापनि आज, यदि ख्रीष्टको पुनरुत्थानको चर्चा गरियो नै भने पनि ईस्टरको आइतबार बिहान मात्र गरिन्छ। तापनि सेवकहरूले सैद्धान्तिक कुराहरूको प्रचार गर्दैनन्।

क्राइष्टलेस क्रिश्चियानिटी ( अर्थात् ख्रीष्टविहीन ख्रीष्टियमत) नामक पुस्तकमा डा. माइकल होर्टोनले भनेका छन् कि धेरैवटा परम्परावादी चर्चहरूमा ईस्टरका प्रवचनहरू ‘येशूले उहाँका कमजोरीहरू माथि कसरी विजय पाउनु भयो र आज हामी सुसमाचारीय ख्रीष्टियनहरू पनि उदारवादीहरूले जस्तै सुसमाचारको साटो प्रचलित मनोविज्ञान, राजनीति वा नैतिकवादको कुरा गर्न सक्छौं’ भनेजस्तै छन् (माइकल होर्टोन, पीएच.डी., क्राइष्टलेस क्रिश्चियानिटीः दि अल्टर्नेटिभ गस्पल अफ दि अमेरिकन चर्च, बेकर बुक्स, २००८, पृष्ठ ३०)। अचम्मको कुरा, डा. आर. ए. टोर्री, जसको म प्रशंसा गर्दछु, उनको प्रसिद्ध पुस्तक हाउ टु वर्क फऱ क्राइष्ट (फ्लेमिङ एच. रिभेल, मिति छैन) मा ख्रीष्टको पुनरुत्थानको विषयमा एउटै पनि प्रवचन छैन। डा. टोर्रीले प्रचारकहरूका निम्ति १५६ पृष्ठको प्रवचनको रूपरेखा दिएका छन्, तर ती रूपरेखामध्ये एउटै पनि पूर्णरूपले येशूको पुनरुत्थानको विषयमा छैन! निश्चय, अहिलेको अवस्था अझ नराम्रो छ!

आधुनिक स्तुति-भजनको पुस्तक जाँच्दा मैले दशवटा भजन मात्र ख्रीष्टको पुनरुत्थानको विषयमा भएको पाएँ। तीमध्ये एउटाबाहेक अरू सबै २० औं शताब्दीभन्दा अघि लेखिएका थिए। दुइवटा १८ औं शताब्दीमा, तीनवटा १९ औं शताब्दीमा, एउटा १६ औं शताब्दीमा, एउटा १७ औं शताब्दीमा, एउटा १५ औं शताब्दीमा, र दुइवटा ८ औं शताब्दीमा रचिएका थिए! २० औं शताब्दीमा लेखिएको साँच्चै असल एक मात्र भजन पल राडरले रचेका ‘अलाइभ अगेन’ हो, तर मलाई थाहा भएअनुसार त्यो कुनै पनि भजन पुस्तकमा देखिँदैन। मेरो साथमा खडा भएर त्यो भजन गाउनुहोस्!

उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
तोड्नु भो कठोर मृत्युको बन्धन,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ!
(‘अलाइभ अगेन’ पल राडर, १८७८-१९३८ द्वारा रचित)

तपाईंहरू बस्न सक्नुहुन्छ। तपाईंहरू मलाई मेरो P.O. Box 15308, Los Angeles CA 90015 मा मलाई पत्र लेख्न सक्नुहुन्छ अनि पल राडरको यो भजनको शब्द र धुन मगाउन सक्नुहुन्छ। फेरि, आधुनिक स्तुति-भजनको पुस्तकमा पुनरुत्थानको भजन नहुनुले धेरै लामो समयदेखि, फिन्नीको समयदेखि नै सबैभन्दा महत्त्वपूर्ण विषयलाई बेवास्ता गरिएको प्रकट गर्दछ। ख्रीष्ट,

“...मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४)।

तर यस विषयमा कसैले बिरलै प्रचार गर्दछ, अनि हामी पनि प्रायः यो भजन गाउँदैनौं! यो कुनै अचम्मको कुरा होइन, कि पश्चिमी मुलुकका चर्चहरू मर्दै र ओइलाउँदै जाँदैछन्। पुनरुत्थान हुनुभएका ख्रीष्टमा विश्वास नगरी जागृतिको र जीवित सन्देशको कुनै आशा हुँदैन- किनकि आधा जति सुसमाचार भुलिएको छ- हाम्रो प्रचारबाट धेरै हटाइएको छ। हे परमेश्वर, हामीलाई सहायता गर्नुहोस्!

तेस्रो विश्वमा बस्नेहरूले हामी युरोप र अमेरिकामा बस्नेहरूले भन्दा बढी पुनरुत्थान हुनुभएका ख्रीष्टलाई उचित प्रकारले जोड् दिएका मैले पाएको छु। त्यहाँ ख्रीष्टियमत बढ्दै जाँदै छ, तर यहाँ एकै ठाउँ अचल भएर बसेको छ, यो कुनै अचम्म मान्नु पर्ने कुरा होइन!

मैले तेस्रो विश्वका एक बीस वर्षे जवानसँग ईमेलद्वारा पत्राचार गरेँ। तिनले त्यहाँ भोग्न परेको ठूलो कष्टको बारेमा यसरी लेखेका थिए, ‘मेरो ख्रीष्टियन विश्वास इन्कार गराउने प्रयासमा मलाई ठूलो यातना दिइयो। मैले सहायता पाउनका निम्ति गुहारें, तर कोही पनि अगि आएन, र मैले धेरै मानिस (ख्रीष्टियन)हरू नाश भइरहेको देखेँ। बाल-बालिकालाई सताइँदैछ र भारत, म्यानमारको आश्रमहरूमा लगिँदैछन्, तिनीहरूले येशूलाई त्यागून् भनी तिनीहरूलाई विद्युतको झट्काद्वारा निरन्तर यातना दिइँदैछ। त्यसबाट बच्नेहरूमध्ये म एक जना हुँ।’ त्यो पत्र पढ्दा म रोएँ। त्यस्ता बाल-बालिका र जवानहरू अमेरिका र सम्पूर्ण पश्चिमी मुलुकमा कहाँ पाइन्छ? यस जवान मानिसले भनेअनुसार तिनी र अन्य बाल-बालिकाले मरेकोबाट जीवित हुनुभएका ख्रीष्टलाई भेटे। मृतकबाट फेरि जीवित हुनुभएका ख्रीष्टको अनुभव गरेपछि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिनीहरूले जाने। त्यसपछि जत्ति नै धेर विद्युतीय झटका दिइए पनि र कुटपिट गरे पनि येशूलाई त्याग्न तिनीहरूलाई बाध्य गराउन सकेन। उहाँ जीवित हुनुहुन्छ- मरेकोबाट जीवित हुनुभएको छ भनी तिनीहरूले जाने! त्यसै कुराले तिनीहरूलाई साँचो ख्रीष्टियन बनाए! हाम्रो आजको बाइबल पदमा पनि प्रेरित पावलले त्यसै भनिरहेका छन्। ख्रीष्ट,

“...मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४)।

त्यो कोरस फेरि गाउनु होस्!

उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
तोड्नु भो कठोर मृत्युको बन्धन,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ!

जुन ग्रीक शब्दलाई ‘ठहरिनु भयो’ भनी अनुवाद गरिएको छ, त्यसको अर्थ ‘निश्चित गर्नु’ ‘चिन्ह लगाउनु’ हो (स्ट्र्ङ #३७२४)। येशू मरेकोबाट फेरि जीवित हुनुभएकोले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी निश्चित गरियो, उहाँमाथि चिन्ह लगाइयो। सन् १५९९ को द जेनेभा बाइबल ले भन्छ, ‘देखाउनु र प्रकट गर्नु भयो’ (रोमी १:४ को टिप्पणी #१)। ख्रीष्ट मरेकोबाट फेरि जीवित हुनुभएकाले उहाँलाई परमेश्वरका पुत्रको रूपमा ‘देखाइयो र प्रकट गरियो।’

“...मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४)।

१. पहिलो, येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी कसरी घोषणा गरियो।

यो मुख्यरूपले उहाँको शिक्षाद्वारा ठहराइएन। उहाँले डाँडाको उपदेशलगायत धेरैवटा सुन्दर कुराको शिक्षा दिनुभयो। तर उहाँले दिनुभएका शिक्षाहरूले मात्र उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाण दिएन। न उहाँका आश्चर्कर्महरूले, न त उहाँले तीन जना व्यक्तिलाई मरेकोबाट फेरि जीवित पार्नुभएको घटनाले नै दिए। पुरानो करारको समयमा अगमवक्ता एलियाले एउटा मरेको केटोलाई जीवित पारेका थिए, अनि ती अगमवक्ता परमेश्वरका पुत्र थिएनन् (१ राजा १७:१७-२४)। एलिशाले पनि एउटा मरेको बालकलाई फेरि जीवित पारेका थिए (२ राजा ४:३२-३७), तर एलिशा परमेश्वरका पुत्र थिएनन्। मोशाले पनि लालसमुद्रलाई दुइ भाग पार्नेलगायत अरू धेरैवटा आश्चर्यकर्म गरेका थिए, तर तिनी परमेश्वरका पुत्र थिएनन। येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी घोषणा गर्ने एक मात्र चिन्ह उहाँको आफ्नै शरीरको पुनरुत्थान थियो। येशू आफैले उहाँको पुनरुत्थान दुष्ट पुस्तालाई उहाँले दिनुहुने एउटा चिन्ह हुनेछ भनी भन्नुभएको थियो,

‘उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ‘दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। तर यस पुस्तालाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ’ (मत्ती १२:३९-४०)।

येशूले प्रधान पूजाहारीको सामुन्ने उहाँ परमेश्वरका पु्त्र हुनुहुन्छ भनी स्वीकार गर्नुभएको कारण उहाँलाई मृत्युदण्ड दिइयो (मत्ती २६:६३-६६)। उहाँ क्रूसमा झुन्डिनुहुँदा मुख्य पूजाहारीहरूले यसो भन्दै उहाँको गिल्ला गरे,

‘यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिल्यै छुटकारा दिऊन्, किनकि यसले ‘म परमेश्वरका पुत्र हुँ’ भनी भन्थ्यो .(मत्ती २७:४३)।

तर परमेश्वरले येशूलाई मरेकोबाट फेरि जीवित बनाएर उहाँका पुत्रको रूपमा स्वीकार गर्नुभयो। येशू,

मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४),

परमेश्वरले उहाँको शरीरलाई तेस्रो दिनमा फेरि जीवित पारेर उहाँलाई आफ्नो पुत्र ठहराउनु भयो! यो भजन गाउनु होस्!

उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
तोड्नु भो कठोर मृत्युको बन्धन,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ!

२. दोस्रो, येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी किन घोषणा गरियो।

प्रिन्सटन थिअलजिकल सेमिनरीमा लामो समयसम्म प्रोफेसर रहनुभएका डा. चार्ल्स हज (१७९७-१८७८) ले भनेका छन्,

ख्रीष्ट मरेकोबाट फेरि जीवित नहुञ्जेल उहाँ पुत्र हुनुहुन्छ भन्ने प्रमाण वा प्रेरितहरूले जनाइएको कुराको पूर्णता पूरा भएको थिएन।... पुनरुत्थानद्वारा नै उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने प्रमाणित भयो। ती (धेरैवटा) खण्ड(पवित्रशास्त्रका)मा ख्रीष्टको पुनरुत्थानलाई ख्रीष्टले सिकाउनु भएका सबै महान् सत्यताहरू, अनि ख्रीष्टले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी खुल्लमखुल्ला दाबी गर्नुभएको थियो, यी साथै अन्य सबै दाबीहरू, को अन्तिम प्रमाणको रूपमा प्रस्तुत गरिएको छ, उहाँ मृतकबाट जीवित हुनुभएको घटनाले उहाँको घोषणाको सत्यतामाथि परमेश्वरको छाप लगायो। उहाँ मृत्युको शक्तिको अधीनमा नै रहनुभएको भए परमेश्वरले उहाँको पुत्र हुनुहुन्छ भनी गर्नुभएको उहाँको दाबीलाई अस्वीकार (खारिज) गर्नुहुने थियो; तर परमेश्वरले येशूलाई मरेकोबाट जीवित पार्नु भएर ‘तिमी मेरा पुत्र हौ, आजको दिन म तिमीलाई मेरा पुत्र भनी घोषणा गर्दछु’ भन्दै खुल्लमखुल्ला उहाँलाई स्वीकार गर्नु भयो (चार्ल्स हज, पीएच. डी., अ कमेन्टेरी अन रोमन्स्, द ब्यानर अफ त्रुथ ट्रस्ट, १९९७ संस्करण, पृष्ठ २०-२१; रोमी १:४ को टिप्पणी)।

यसरी, ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्थ्यो भन्ने प्रमाण उहाँको पुनरुत्थानद्वारा दिइयो, र उहाँले दिनु भएका अरू सबै शिक्षा सत्य हुन् भनी प्रमाणित गऱ्यो।

डा. विलबुर एम. स्मिथको भनाइअनुसार ख्रीष्टको पुनरुत्थानले

... ख्रीष्टले भन्नुभएका सबै कुराहरू सत्य र विश्वसनीय छन् भन्ने प्रमाण दिन्छ। किनकि (उहाँले भविष्यवाणी गर्नु भएझैं) उहाँ चिहानबाट फेरि जीवित भई उठ्नु भयो, अनि यो भविष्यवाणी पूरा हुन आयो, यसैले मलाई सधैं यस्तो लाग्छ कि हाम्रा प्रभुले भन्नु भएका अरू सबै कुरा पनि सत्य हुनु पर्छ। जब हाम्रा प्रभुले उहाँमाथि विश्वास गर्नेहरूले अनन्त जीवन पाउनेछन् र उहाँमाथि विश्वास गर्न इन्कार गर्नेहरूले अनन्त दण्ड पाउने छन् भन्नु भयो, त्यस बेला उहाँले सत्य कुरा भनिरहनु भएको थियो।... हामी ख्रीष्टले बोल्नु भएको कुनै पनि सत्यतामाथि शङ्का गर्दै उहाँको पुनरुत्थानलाई स्वीकार गर्न सक्दैनौं (स्मिथ, देअरफोर स्टान्ड, ऐजन, पृष्ठ ४१८-४१९)।

येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो,

‘हेर, हामी यरूशलेमतिर जाँदै छौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूको हातमा सुम्पिइने छ, र तिनीहरूले उसको गिल्ला गर्ने छन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्ने छन्। तिनीहरूले उसलाई कोर्रा लाउने छन् र मार्ने छन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्ने छ’ (लूका १८:३१-३३)।

येशूले लूका १८:३१-३३ मा जुन भविष्यवाणी गर्नुभयो त्यो दुरुस्तै पूरा भयो। उहाँलाई गिल्ला गरियो, कुटियो-पिटियो, थुकियो, कोर्राले हानियो र क्रूसमा टाँगेर मारियो। तर उहाँ क्रूसमा टाँगिनु भएको तेस्रो दिन उहाँ मरेकोबाट फेरि जीवित हुनुभयो। येशूले आफ्नै विषयमा गर्नुभएको भविष्यवाणी दुरुस्तै पूरा हुनुले उहाँले भन्नु भएका अरू सबै कुरा पनि सत्य छन् भन्ने निश्चयता दिन्छ, किनकि उहाँ

“मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४)।

‘उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ।’ यो फेरि हामी गाऔं!

उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
तोड्नु भो कठोर मृत्युको बन्धन,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ!

उहाँले अघिबाटै भन्नु भएझैं उहाँ मरेकोबाट फेरि जीवित हुनुभएका कारण उहाँले भन्नुभएको तलको कुरा पनि सत्य हो भनी हामी निश्चित हुन सक्छौं,

‘...मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैनौं’ (मत्ती १८:३)।

हामीले उहाँका ती वचनलाई गम्भीरतासाथ लिनु पर्छ, किनकि ती परमेश्वरका पुनरुत्थान हुनुभएका पुत्रले भन्नु भएको हो। के तपाईंको मन परिवर्तन भएको छ? के तपाईंको मन परिवर्तन भएको छ भनी निश्चित हुनुहुन्छ? परमेश्वरका पुत्रले भन्नुभएको छ, यदि तपाईंको मन परिवर्तन भएको छैन भने तपाईं ‘परमेश्वरको राज्यभित्र पस्नु हुनेछैन।’ अहो, तपाईंले आफ्नो मन परिवर्तनको विषयमा कति गम्भीरतासाथ विचार गर्नु पर्छ! तपाईंको मन परिवर्तन भएको छ भनी कति होसियारीसाथ निश्चित गर्नु पर्छ!

परमेश्वरका पुनर्जीवित हुनुभएका पुत्रले भन्नुभयो,

‘बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन’ (यूहन्ना १४:६)।

उहाँले भन्नुभएको कुरा तपाईंले कति गम्भीरतासाथ सुन्नु पर्छ! उहाँकहाँ आउन र उद्धार पाउन तपाईं कति धेरै उत्सुक हुनु पर्छ! तपाईं सबै अन्धविश्वास र झुटो धर्मका विचारहरू पन्साउन अनि येशूमाथि मात्र भरोसा राख्न कति धेरै होसियार हुनुपर्छ, किनकि उहाँले भन्नुभएको छ, ‘मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।’.”

फेरि, परमेश्वरको पुनर्जीवित हुनु भएका पुत्रले भन्नुभएको छ,

‘मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्नेछैनँ’ (यूहन्ना १४:६)।

अहो, तपाईंले कसरी उहाँमा ‘पस्ने कोसिस गर्नुपर्छ’ (लूका १३:२४)। येशूमा आउने विषयमा तपाईं कति होसियार र विचारशील हुनु पर्छ। याद गर्नुहोस्, उहाँले भन्नुभएको छ,

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु’ (मत्ती ११:२८)।

तपाईंले परमेश्वरका पुनर्जीवित हुनुभएका पुत्रको आवाज सुन्नु होस् भनी हामी प्रार्थना गरिरहेका छौं। तपाईं सीधै उहाँकहाँ आउनु होस्, र उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा शुद्ध हुनु होस्- अनि उहाँको पुनरुत्थानको जीवनद्वारा उद्धार पाउनु होस् भनी हामी प्रार्थना गरिरहेका छौं। उहाँको आवाज सुन्नुहोस्। उहाँले जे भन्नुभएको छ त्यसमा विश्वास गर्नुहोस्! उहाँले तपाईंलाई भन्नुभएजस्तै सीधै उहाँकहाँ आएर उद्धार पाउनु होस्, किनकि उहाँ

“मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:४)।

उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ,
तोड्नु भो कठोर मृत्युको बन्धन,
   उहाँ जो मर्नु भो फेरि जीवित हुनुहुन्छ!
(‘अलाइभ अगेन’ पल राडर, १८७८-१९३८ द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा बाइबल पाठ गरियोः लूका १८:१-३४।
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
          (‘हेल, दाउ वान्स् डिस्पाइस्ड जिजस!’ जोन बेकवेल, १७२१-१८१९ द्वारा रचित)


रूपरेखा

ख्रीष्टको पुत्रपनको प्रमाण!

THE PROOF OF CHRIST’S SONSHIP!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो’ (रोमी १:३-४)।

१. पहिलो, येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी कसरी घोषणा गरियो। १ राजा १७:१७-२४; २ राजा ४:३२-३७; मत्ती १२:३९-४०; २६:६३-६६; २७:४३

२. दोस्रो, येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी किन घोषणा गरियो। लूका १८:३१-३३; मत्ती १८:३; यूहन्ना १४:६; ६:३७; १३:२४; मत्ती ११:२८