Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




तपाईंले मलाई किन त्याग्नुभएको छ?

WHY HAST THOU FORSAKEN ME?
(Nepali)

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

८ अप्रेल, २०१७, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, April 8, 2017

‘तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथानी?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (मत्ती २७:४६)


येशू गेतसमनीको बगैंचामा प्रार्थना गरेर उठ्नुभयो। त्यहाँ ‘मुख्य पूजाहारीले पठाएका मानिसहरू र अधिकृतहरूको दलसँग’ उहाँको भेट भयो। तिनीहरू ‘बत्ती, राँको र हतियारहरू’ सहित आएका थिए (यूहन्ना १८:३)। तिनीहरूले येशूलाई समाते र उहाँलाई प्रधान पूजाहारीको सामुन्ने लगे (मत्ती २६:५७)। तिनीहरूले येशूमाथि ईश्वर-निन्दाको दोष लगाए। तिनीहरूले उहाँको मुखमा थुके। तिनीहरूले उहाँलाई मुड्किले हिर्काए। तिनीहरूका हातले उहाँको गालामा चड्काए। तिनीहरूले उहाँको दाह्री लुछे (यशैया ५०:६)।

प्रधान पूजाहारी र धर्मगुरुहरूले येशूलाई मृत्युदण्ड दिने निर्णय गरे। तिनीहरूले उहाँलाई रोमी राज्यपाल पिलातसको सामुन्ने लगे। पिलातसले उहाँलाई केरकार गरे। अनि पिलातसले मानिसहरूको भीड्लाई भने, ‘ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ?’ मानिसहरू यसो भन्दै जोरजोरले कराए, ‘त्यो क्रूसमा टाँगिओस्’ (मत्ती २७:२२)। पिलातसले आफ्ना हात धोए र भने, ‘म यस मानिसको रगतदेखि निर्दोष छु’ (मत्ती २७:२४)। अनि पिलातसले येशूलाई कोर्रा हान्न लगाए र उहाँलाई क्रूसमा टाँग्नका निम्ति सुम्पिदिए। रोमी सिपाहीहरूले येशूको रक्ताम्मे शरीरमा बैजनी रङ्गको वस्त्र लगाइदिए। तिनीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा निगालो दिए ‘अनि उहाँको सामु घुँडा टेकेर उहाँलाई यसो भन्दै गिल्ला गरे, ‘हे यहूदीहरूका राजा, प्रणाम’ (मत्ती २७:२९)। तिनीहरूले उहाँलाई थुके र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराए। तिनीहरूले उहाँलाई क्रूसमा झुन्ड्याउन लगे।

उहाँको निम्ति चाँदी वा सुनको मुकुट थिएन
   उहाँको निम्ति थिएन अरू कुनै मुकुट
रगतले रंगियो उहाँको आँखीभौं, र त्यो अहंकारको दाग बोक्नु भो,
   पापीहरूले दिएका मुकुट उहाँले पहिरिनु भो।
कठोर क्रूस बन्यो उहाँको सिंहासन
   उहाँको राज्य हृदयहरूमा मात्र थियो,
उहाँले लेख्नुभो उहाँको प्रेम रातो रङ्गले
   अनि आफ्नो शिरमाथि काँढाहरू पहिरिनु भो
(‘अ क्राउन अफ थ्रोन्स’, ईरा एफ. स्टानफिल, १९१४-१९९३)

येशू उहाँको क्रूस बोकेर उहाँलाई प्राणदण्ड दिइने स्थानमा जानुभयो। त्यो क्रूसको भारले गर्दा उहाँ घरीघरी लड्नुभयो। अन्त्यमा सिपाहीहरूले कुरेनीको सिमोनलाई उहाँको क्रूस बोक्न लगाए। तिनीहरू कल्भरी भनिने ठाउँमा आइपुगेपछि, उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए, जुन पिउन उहाँले अस्वीकार गर्नुभयो। सिपाहीहरूले उहाँलाई क्रूसमा राखेर उहाँका हात र गोडाहरूमा कीला ठोकिदिए। तिनीहरूले त्यो क्रूसलाई ठाडो गरी उचाले। ‘तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे’ (मत्ती २७:३६)।

तिनीहरूले क्रूसमा उहाँको शिरमाथि एउटा दोष-पत्र टाँसिदिए। त्यो दोष-पत्रमा ‘येशू, यहूदीहरूका राजा’ भनी लेखिएको थियो। उहाँसँगसँगै अन्य दुइ जना चोरलाई पनि क्रूसमा टाँगिएको थियो, एक जना उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्यो क्रूसको छेउबाट भएर जानेहरूले उहाँको अपमान गरे। तिनीहरूले भने, ‘यदि तँ परमेश्वरका पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइजा’ (मत्ती २७:४०)। प्रधान पूजाहारीले पनि यसो भन्दै उहाँको गिल्ला गरे, ‘यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यदि यो इस्राएलको राजा हो भने अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं’ (मत्ती २७:४२)।

हात्तीदाँतको सिंहासनमा उहाँले राज गर्नुभएन
   उहाँ कल्भरीको क्रूसमा मर्नु भो
त्यहाँ पापीका निम्ति आफ्ना सबै गुमाउनु भो,
   अनि क्रूसबाट आफ्नो राज्य हेर्नु भो।
कठोर क्रूस बन्यो उहाँको सिंहासन
कठोर क्रूस बन्यो उहाँको सिंहासन
   उहाँको राज्य हृदयहरूमा मात्र थियो,
उहाँले लेख्नुभो उहाँको प्रेम रातो रङ्गले
   अनि आफ्नो शिरमाथि काँढाहरू पहिरिनु भो।

येशूलाई बिहानको नौ बजी क्रूसमा टाँगियो। मध्यबाह्र बजीदेखि दिउँसोको तीन बजीसम्म सारा देशभरि अन्धकार छायो। तीन बजीतिर येशू यसो भन्दै ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथनी? अर्थात्, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ’ (मत्ती २७:४६)? ‘कठोर क्रूस बन्यो उहाँको सिंहासन।’

कठोर क्रूस बन्यो उहाँको सिंहासन
   उहाँको राज्य हृदयहरूमा मात्र थियो,
उहाँले लेख्नुभो उहाँको प्रेम रातो रङ्गले
   अनि आफ्नो शिरमाथि काँढाहरू पहिरिनु भो

येशू यसो भन्दै ठूलो सोरमा कराउनु भयो, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ उहाँले क्रूसबाट गर्नुभएको पुकाराले तीनवटा कुरा देखाउँछ।

१. पहिलो, येशूले क्रूसबाट गर्नुभएको पुकारले पुरानो करारको अगमवाणी पूरा गऱ्यो।

भजन २२:१ मा दाऊदले लेखेका छन्,

‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (भजन २२:१)

येशूले जानीजानी पवित्रशास्त्रको यो पद पूरा गर्नुभयो। भजन २२ ले ती पन्ध्रवटा कुरा बताउँछ जुन येशू क्रूसमा टाँगिनुहुँदा पूरा भए। सुरु-सुरुको चर्चका केही लेखकहरूले भजन २२ अध्यायलाई ‘पाँचौं सुसमाचार’ भन्थे। भजन २२:१८ ले भन्छ, ‘तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन्, र मेरा पोशाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।’ सिपाहीहरूले क्रूसको फेदमा ख्रीष्टको वस्त्रलाई ठिक त्यसै गरेका थिए। भजन २२:१६ ले भन्छ, ‘तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्।’ ‘छेड्नु’ को निम्ति प्रयोग गरिने हिब्रू शब्दको अर्थ ‘खन्नु, छेड्नु वा प्वाल बनाउनु’ भन्ने हुन्छ (जोन गिल)। जकरिया १२:१० ले भन्छ, ‘तिनीहरूले मलाई हेर्नेछन्, जसले मलाई घोंचेका छन्।’ ‘घोंच्नु’ को निम्ति प्रयोग गरिने हिब्रू शब्दको अर्थ ‘छुरी रोप्नु, छेड्नु, वारपार छेड्नु’ भन्ने हुन्छ (स्ट्र्ङ)। स्कोफिल्ड बाइबलले भन्छ,

भजन २२ क्रूसद्वारा हुने मृत्युको सजीव वर्णन हो। जोर्नी (पद १४) का हड्डीहरू (हातहरू, पाखुरा, कुमहरू र कम्मरदेखि मुनिका हड्डीहरू); तीव्र पीडाद्वारा हुने खलखल पसीना (पद १४); मुटुको कार्य प्रभावित हुन्छ (पद १४); शक्ति क्षीण हुन्छ र अति नै तिर्खा लाग्छ (पद १५); हात र गोडाहरू छेडिन्छन् (पद १६); लाजसरमको वास्ता नगरी अर्धनग्न हुन्छ (पद १७); त्यस किसिमको मृत्युमा यस्तै कुराहरू हुन्छन्। ती कुराको साथमा सृजना हुने परिस्थितिहरू ख्रीष्टको क्रूसको मृत्युमा ठिकठिक पूरा भएका छन्। पद १ (मत्ती २७:४६) को निराशलाग्दो पुकार; पद २ (मत्ती २७:४५) को उज्यालो र अँध्यारो अवधि; पद १८ (मत्ती २७:३५) को चिट्ठा हालेको कुरा, यी सबै एक-एक गरी दुरुस्तै पूरा भए। अनि क्रूसमा प्राणदण्ड दिने चलन यहूदीहरूको होइन, तर रोमीहरूको चलन थियो भनी सम्झँदा परमेश्वरको वचन आत्माको प्रेरणाद्वारा लेखिएको हो भन्ने कुराको विरोध गर्न सकिँदैन (द स्कोफिल्ड स्टडी बाइबल, भजन २२ को टिप्पणी)।

डा. हेनरी एम. मोरिसले भनेका छन्,

भजन २२ अध्याय भविष्यमा हुने परमेश्वरका पुत्रको क्रूसिकरणको एउटा अचम्मको अगमवाणीय वर्णन हो। यो भजन यस घटना हुनुभन्दा एक हजार वर्ष अघि लेखिएको थियो र यसले क्रूसमा प्राणदण्ड दिइने चलनको बारेमा जान्नुभन्दा धेरै अघि नै ख्रीष्टको दुःखको सजीव रूपमा वर्णन गर्दछ...(हेनरी एम. मोरिस, पीएचडी.,द डिफेन्डर्स् स्टडी बाइबल, वर्ल्ड पब्लिसर्स, १९९५ संस्करण, पृष्ठ ६०८; भजन २२:१ को टिप्पणी)।

डा. जोन आर. राइसले पुरानो करारका ती अगमवाणीहरू एकपछि अर्को गर्दै प्रस्तुत गरेका छन् जुन येशू क्रूसमा टाँगिनुहुँदा पूरा भएका थिए। उनले भनेका छन्, ‘यी कुराहरू पूरा हुनु एउटा संयोग मात्र हुनु असम्भव छ। यसरी हामी पवित्रशास्त्र आत्माको प्रेरणाद्वारा लेखिएको हो भन्ने र ख्रीष्टको ईश्वरत्वको बारेमा प्रशस्त प्रमाण पाउँदछौं (लूका २४:२५-२७)। मूर्खले मात्र यस कुरामा अविश्वास गर्दछ। परमेश्वरले अगमवाणी (उहाँको क्रूसिकरणसम्बन्धी)लाई विशेष महत्त्व दिनुभएकाले... यो नै परमेश्वरको योजनाको मुख्य कुरा भएको हामी देख्छौं’ (जोन आर. राइस, डी.डी.,द बाइबल गार्डन, स्वर्ड अफ द लर्ड पब्लिसर्स्, १९८२, पृष्ठ ३१)।

२. दोस्रो, येशूले क्रूसबाट गर्नुभएको पुकारले केही अर्थमा नरकमा परेको पापीको चित्रण गर्दछ।

‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (मत्ती २७:४६)

क्रूसमा टाँगिनुहुँदा येशू नरक जानुभएन। डा. फ्रेडेरिक के. प्राइसले गलत प्रकारले झुटो शिक्षा दिन्छन्। डा. प्राइसले भनेझैं येशूले ‘हाम्रा पापका निम्ति नरकमा दुःख भोग्नुभएऩ।’

तापनि येशू वेदनामा ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ भन्दै कराउनुभयो, र त्योचाहिँ पापीहरूले नरकमा भोग्ने दुःखको तस्वीर हो भन्ने कुरामा म डा. जोन आर. राइससँग सहमत हुन्छु। डा. राइसले भनेका छन्,

हामी विश्वास गर्छौं, कि ख्रीष्टले क्रूसमा भोग्नुभएको दु-ख केही हदसम्म नरकमा भोग्नुपर्ने दुःखको तस्वीर हो। क्रूसमा येशू ‘मलाई तिर्खा लाग्यो’ भन्दै कराउनुभयो, जसरी त्यो धनी मानिस पनि नरकमा तिर्खाएको थियो (लूका १६:२४)। के तपाईं त्यो धनी मानिसले ‘’हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ’ भन्दै कराएको कल्पना गर्न सक्नुहुन्न? नरक वास्तविक स्थान हो। पापले यातना, वास्तविक शारीरिक दुःख, परमेश्वरबाट अलग्ग्याइ ल्याउनै पर्छ। पापीहरू नरकमा पनि अझै अन्धो पारिएका हुन्छन्, अझै पनि दुष्टै हुन्छन्, अझै पनि ‘किन’ (१ कोरिन्थी २:१४) भनी प्रश्न गर्छन्। यहूदाले उसको पीडित मनमा आफूले एक निर्दोष व्यक्तिलाई धोका दिएको थाहा पायो (मत्ती २७:४) तर ऊ आफ्ना पापहरूबाट फर्किएन (राइस, ऐजन, पृष्ठ ३१,३२)।

यसैले येशू क्रूसबाट कराउनुभएको कुराले केही अर्थमा नरकमा पापीहरू कराउने कुरा चित्रण गर्दछ।

‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (मत्ती २७:४६)

नरकमा जानेहरूका निम्ति कुनै आशा हुँदैन। उद्धार नपाएका मानिसहरूको मृत्युपछि कस्तो अवस्था हुनेछ भन्ने कुरा येशूले हामीलाई बताउनुभएको छ। उहाँले तिनीहरूलाई यसो भन्नुहुनेछ,

‘श्रापित मानिस हो! मबाट दूर होओ...र अनन्तको आगोमा जाओ!’ (मत्ती २५:४१)

‘नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्दछ।’ (मर्कूस ९:४४)

‘नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेऱ्यो।’ (लूका १६:२३)

येशूले क्रूसमा जुन ठूलो कष्ट भोग्नुभयो त्यस्तो कष्ट उद्धार नपाएकाहरूले नरकमा सदासर्वदा भोगिरहनेछन्। तिनीहरूले ‘अनन्त आगो’ मा अनन्त-अनन्तसम्म यातना भोगिरहने छन् (मत्ती २५:४१)। यस्तो लाग्छ, तिनीहरू निरन्तर यसो भन्दै कराउनेछन्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ हो, हामी विश्वास गर्छौं, ख्रीष्टले क्रूसमा भोग्नुभएको दुःख एक अर्थमा हराएका पापीहरूले नरकमा भोग्ने दुःखको तस्वीर हो। त्यसैकारण हामी तपाईंलाई ढिला हुनुभन्दा अघि नै ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईंका पापहरूबाट बच्नुहोस् भनी बिन्ती गर्दछौं।

यदि तपाईंले यी प्रवचनहरू तुरुन्तै भुल्नुभयो भने तपाईं कहिल्यै पनि उद्धार पाउन सक्नुहुन्न। गएको आइतबार रातिको सेवापछि जोन केगन र मैले एउटी केटीसँग कडाकडी रूपमा कुराकानी गऱ्यौं। दश मिनेटपछि मैले उसलाई संगति गर्ने भवनभित्र हाँस्दै र ठट्टा गर्दै गरेकी देखें। यदि ऊ गम्भीर भइन भने ऊ दण्डबाट कहिल्यै पनि उम्किनेछैन। प्रवचनहरू सुनेपछि तपाईं आफ्ना पापहरूका निम्ति गम्भीर हुनु भएन भने तपाईं कहिल्यै पनि उद्धार पाउन सक्नुहुन्न। येशूले किन त्यत्ति ठूलो कष्ट भोग्नुभयो? उहाँले तपाईंको पापको दण्डको दाम तिर्न त्यो सहनुभयो। तर यदि तपाईंले आफ्ना पापहरूको विषयमा सोच्नुभएन भने ख्रीष्टले तपाईंलाई क्षमा गर्नु आवश्यक छ भन्ने महसुस पनि गर्नुहुन्न। त्यसैकारण तपाईं येशूमा विश्वास गर्नुहुन्न। तपाईंले यी प्रवचनका पाण्डुलिपिहरू घरमा गएर पढ्नुपर्छ। आज राति सुत्नुभन्दा अगाडि यो पढ्नुहोस् र यस विषयमा विचार गर्नुहोस्। भोलि बिहान तपाईँको पापको विषयमा सोच्दै चर्च आउनुहोस्। त्यसो गर्नुभएऩ भने तपाईंले कहिल्यै पनि उद्धार पाउनुहुनेछैन। तपाईंले आफ्नो पापका निम्ति आफूलाई दोषी महसुस गर्नुपर्छ!

३. तेस्रो, येशू क्रूसबाट कराउनुभएको कुराले उहाँ हाम्रो पापको दाम तिर्न मर्नुभयो भन्ने देखाउँछ।

‘येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथानी?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (मत्ती २७:४६)

उहाँ त्यसरी कराउनु भएको कुरा बुझ्नु कठिन छ। मैले पढेको एउटा कुरा म सम्झन्छु, उद्धारकर्ता त्यसरी किन कराउनु भयो होला भनी बुझ्नाका निम्ति अध्ययन गर्नलाई लुथर केही नखाई, कतै नगई धेरै दिनसम्म अध्ययन गरिबस्थे। अन्त्यमा तिनले पिता र पुत्र कसरी अलग भएका थिए भन्ने कुरा मानवीय समझले बुझ्न सकिँदैन भनी बुझे। त्रिएक परमेश्वरको पहिलो व्यक्तिले दोस्रो व्यक्तिलाई कसरी त्याग्न सक्नुहुन्छ? आखिरीमा तिनले कोसिस गर्न छाडिदिए, र पत्नी अनि छोराछोरीसँग रातिको भोजन खान कोठाबाट बाहिर निस्किए। उद्धारकर्ता त्यसरी कराउनुको रहस्यको बारेमा विशुद्धवादी टिप्पणीकार जोन ट्र्याप्प (१६०१-१६६९) ले बताएका छन्। जोन ट्र्याप्पले भनेका छन्, ‘मानिसको रूपमा उहाँ ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर (तपाईंले मलाई किन त्याग्नुभएको छ भन्दै)’ कराउनुहुन्छ, भने परमेश्वरको रूपमा उहाँले पश्चात्ताप गर्ने त्यस चोरलाई स्वर्गलोक प्रदान गर्नुहुन्छ’ (जोन ट्र्याप्प, अ कमेन्ट्री अन दि ओल्ड एन्ड न्यू टेस्टामेन्टस्, ट्रान्स्की पब्लिकेसन्स्, १९९७, पुनर्प्रकाशित, भाग ५, पृष्ठ २७६, मत्ती २७:४६ को टिप्पणी)।

डा. आर. सी. एच. लेन्स्की (१८६४-१९३६) ले भनेका छन्, ‘उहाँको क्षीण हुँदै गइरहेको शक्तिद्वारा उहाँले परमेश्वरलाई पुकार्नुहुन्छ, अनि उहाँलाई एक पिताको रूपमा देख्नुहुन्न, किनकि पिता र पुत्रको माझमा उहाँहरूलाई अलग गर्ने पर्खाल खडा भएको छ, जस्तै संसारको पाप र त्यसको सराप, किनकि ती पुत्रमाथि राखिएका छन्। येशू परमेश्वरका निम्ति तिर्खाउनु हुन्छ, तर परमेश्वरले आफैलाई हटाउनु भएको छ। पुत्रले पितालाई छोड्नुभएको होइन, तर पिताले पुत्रलाई त्याग्नुभएको हो। पुत्रले परमेश्वरलाई पुकार्नुहुन्छ, अनि परमेश्वरले उहाँलाई कुनै जवाफ दिनुहुन्न। यस रहस्यलाई हामीले नजिकबाट बुझ्ने भनेको यही हो, कि येशू संसारको पाप र सरापले ढाकिनुभएको थियो, अनि जब परमेश्वरले त्यो देख्नुभयो तब उहाँले आफ्नो मुख फर्काउनु भयो। परमेश्वरका पुत्रले हाम्रा पाप र सराप बोक्नुभयो। त्यसैकारण येशू ‘हे मेरा पिता’ भन्दै होइन, तर ‘हे मेरा परमेश्वर’ भन्दै कराउनुभयो। तर यहाँ आफ्नोपनको शब्द (‘मेरा’) महत्त्वपूर्ण छ। परमेश्वरले उहाँबाट मुख फर्काउनु र उहाँलाई त्याग्नु भए पनि उहाँले परमेश्वरलाई उहाँको आफ्नो ठानेर पुकार्नु भयो। बलिदानको समयमा उहाँलाई पाप र सराप बनाइए पनि उहाँ कुनै दाग नभएको थुमा हुनुहुन्छ’ (आर. सी. एच. लेन्स्की, पीएचडी., दि इन्टरप्रिटेसन अफ सेन्ट म्याथुज गस्पल, अगस्बर्ग पब्लिसिङ हाउस, १९६४ संस्करण, पृष्ठ, १११९-११२०)।

डा. राइसले भनेका छन्, ‘यसैले येशूले कुनै सुन्दर तरिकाले संसारका पापहरू उठाउनुभयो र पापीका निम्ति दुःख भोग्नुभयो’ (राइस, ऐजन, पृष्ठ ३१)। प्रेरित पावलले भनेका छन्,

‘धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।’(१ कोरिन्थी १५:३)

प्रेरित पत्रुसले भनेका छन्,

‘हामी पापको लेखि मरेर धार्मिकताका लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ’ (१ पत्रुस २:४)

येशू हाम्रा पापको मूल्य चुकाउन ‘हाम्रो निम्ति सराप बनेर’ (गलाती ३:१३) हाम्रो साटोमा मर्नुभयो।

येशूले तपाईंलाई यति धेरै प्रेम गर्नुभयो कि तपाईंलाई पाप र नरकबाट बचाउन उहाँ क्रूसमा मर्नुभयो। उहाँको प्रेमले तपाईंको विश्वासको र तपाईंले उहाँलाई प्रेम गर्नुपर्छ भन्ने माग गर्दछ। डा. वाट्सले भनेका छन्, ‘यति अचम्मको प्रेम, यति ईश्वरीय, मेरो प्राण, मेरो जीवन, मेरो सबै कुराको माग गर्दछ।’ येशूतिर फर्कनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्। उहाँले तपाईंलाई पापको दण्डबाट बचाउनु हुनेछ। क्रूसमा तपाईंको निम्ति भएको प्रेमको बारेमा सुनेर पनि तपाईं कसरी उहाँको विषयमा भुल्न र केही क्षणपछि मूर्खजस्तो हाँस्न सक्नुहुन्छ? प्रवचन सुनेपछि पनि तपाईं गम्भीर हुनुभएन भने कसरी उद्धार पाउन सक्नुहुन्छ? तपाईंलाई ख्रीष्टको नितान्त आवश्यकता नहोऊञ्जेल तपाई कहिल्यै पनि उद्धार पाउन सक्नुहुन्न। तपाईंले येशूबिना जिउन सक्दिनँ भनी महसुस नगरेसम्म कहिल्यै पनि उद्धार पाउन सक्नुहुन्न।

हात्तीदाँतको सिंहासनमा उहाँले राज गर्नुभएऩ
   उहाँ कल्भरीको क्रूसमा मर्नु भो
त्यहाँ पापीका निम्ति आफ्ना सबै गुमाउनु भो,
   अनि क्रूसबाट आफ्नो राज्य हेर्नु भो।
कठोर क्रूस बन्यो उहाँको सिंहासन
कठोर क्रूस बन्यो उहाँको सिंहासन
   उहाँको राज्य हृदयहरूमा मात्र थियो,
उहाँले लेख्नुभो उहाँको प्रेम रातो रङ्गले
   अनि आफ्नो शिरमाथि काँढाहरू पहिरिनु भो।

आज राति म तपाईंलाई येशूमा भरोसा राख्नुहोस् भन्दछु। जब उहाँमाथि विश्वास गर्नुहुन्छ, उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ, र उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा ती धुनुहुनेछ!


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा बाइबल पाठ गरियोः मर्कूस १५:२९-३४
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
            (‘अ क्राउन अफ थ्रोन्स’, ईरा एफ. स्टानफिल, १९१४-१९९३)


रूपरेखा

तपाईंले मलाई किन त्याग्नुभएको छ?

WHY HAST THOU FORSAKEN ME?

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

‘तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथानी?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’ (मत्ती २७:४६)

(यूहन्ना १८:३; मत्ती २६:५७; यशैया ५०:६; मत्ती २७:२२,२४,२९,३६,४०,४२)

१. पहिलो, येशूले क्रूसबाट गर्नुभएको पुकारले पुरानो करारको अगमवाणी पूरा
गऱ्यो। भजन २२:१,१८,१६; जकरिया १२:१०

२. दोस्रो, येशूले क्रूसबाट गर्नुभएको पुकारले केही अर्थमा नरकमा परेको पापीको चित्रण गर्दछ। नरकमा एक जना पापी, लूका १६:२४; १ कोरिन्थी २:१४; मत्ती २७:४; मत्ती २५:४१; मर्कूस ९:४४; लूका १६:२३

३. तेस्रो, येशू क्रूसबाट कराउनुभएको कुराले उहाँ हाम्रो पापको दाम तिर्न मर्नुभयो भन्ने देखाउँछ। हाम्रा पापका निम्ति, १ कोरिन्थी १५:३; १ पत्रुस २:२४; गलाती ३:१३