Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




यहूदाको झुटो पश्चात्ताप

THE FALSE REPENTANCE OF JUDAS
(Nepali)

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

२ अप्रेल, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, April 2, 2017

‘तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखीकन पछुतो गऱ्यो, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्का फिर्ता दिन ल्यायो, र भन्यो, ‘मैले निर्दोष मानिसलाई धोखा दिएर पाप गरेको छु।’ तर तिमीहरूले भने, ‘हामीलाई के मतलब? तँ आफै जान।’ तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गऱ्यो’ (मत्ती २७:३-५)।


मत्ती २७ को घटना येशू गेतसमनीको बगैंचामा पक्राउ पर्नुभएको भोलिपल्टको एकाबिहानैदेखि सुरु हुँदछ, त्यस बेला उहाँलाई प्रधान पूजाहारी र महासभाको अगाडि हाजिर गराइसकिएको थियो, झुटा गवाहहरूले उहाँको विरुद्ध साक्षी दिइसकेका थिए, उहाँलाई अनुहारमा हिर्काइएको र उहाँको गिल्ला गरिसकिएको थियो, साथै पत्रुसले पनि उहाँलाई इन्कार गरिसकेको थियो।

‘बिहान सबेरै, सबै मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरुद्धमा सरसल्लाह गरे। अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए’ (मत्ती २७:१-२)।

तिनीहरूले येशूलाई प्रधान पूजाहारीको महलमा लगे। यहूदा भित्र आयो र येशूको नजिकमा उभियो। तर यहूदाले येशूतिर फर्केर उहाँसँग क्षमा मागेन। त्यस अन्तिम घडीमा पनि यदि ऊ येशूतिर फर्केको भए ऊ बाँच्ने थियो। येशूको छेउमा क्रूसमा टाँगिने त्यो चोरले आफू मर्नुभन्दा अघि उद्धार पायो। यहूदा क्षमा पाउनका निम्ति येशूतिर नफर्किएर किन प्रधान पूजाहारीतिर फर्क्यो? म विश्वास गर्छु, यसका दुइवटा कारण छन्ः

१. पहिलो, यहूदाले पहिलेबाटै अक्षम्य पाप गरिसकेको थियो।

येशूले भन्नुभयो,

‘मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्ध केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन’ (मत्ती १२:३१-३२)।

डा. जोन आर. राइसका अनुसार यहूदाले ‘सायद क्षमा नहुने पाप गरेको थियो,’ अर्थात् ऊ अघिबाटै भाँडिएको थियो। डा. जोन आर. राइस भन्छन्

अक्षम्य पाप भनेको ख्रीष्टलाई पूर्ण र अन्तिमचोटिका निम्ति इन्कार गर्नु हो, यति निश्चित प्रकारले कि त्यसद्वारा पवित्र आत्माको अपमान हुन्छ र त्यसले उहाँलाई सधैंका निम्ति धपाउँछ। त्यसो हुँदा (पवित्र आत्माले) हृदय छुनु हुन्न, पापको निम्ति दोषी ठहराउनुहुन्न र मुक्ति पाउने इच्छा जगाउँदैन। अक्षम्य पाप गर्ने व्यक्ति बेपर्वाह हुन्छ, किनकि पवित्र आत्मा ऊबाट निस्किएर जानुभएको हुन्छ। मानिसको हृदयमा पवित्र आत्माले काम गरेको कारण ऊ साँचो रूपले परमेश्वरतिर फर्केको हुनुपर्छ, परमेश्वरसँग मानिसलाई पापको दोषी ठहराउने अनि उद्धार गराउने अर्को कुनै प्रतिनिधि छैन (जोन आर. राइस, डी.डी., अ भर्स बाई भर्स कमेन्ट्री अन द गस्पल एकोर्डिङ टु मेथ्यू, स्वर्ड अफ द लर्ड पब्लिसर्स, १९८० संस्करण, पृष्ठ १८३; मत्ती १२:३१-३२ को टिप्पणी)।

डा. राइसले रचेका भजन, ‘यदि धेरै ढिला गरिरह्यौ भने’ ले यही कुराको वर्णन गर्दछ!

तिमीले अझै उद्धारकर्तालाई इन्कार गर्दै पर्खेर ढिला गरेका छौ,
   उहाँका सब चेताउनी धीरजी, उहाँका सब बिन्ती दयालु,
यसरी तिमीले निषेधित फल खायौ, शैतानको प्रतिज्ञामा विश्वास गऱ्यौ,
   यसैले तिम्रो हृदय कठोर भयो, पापले तिम्रो मन अन्ध्यारो भो
कति दुःख अहो दण्ड भोग्नु, दयाबिना तिमी सम्झना गर्छौ,
आत्मा नगईञ्जेल तिमीले पर्ख्यौ र ढिला गऱ्यौ,
   कस्तो निन्दा र शोक, पाए मृत्युले आशारहित!
(‘इफ यू लिङ्गर टु लङ,’ डा. जोन आर. राइस- १८९५-१९८०, द्वारा रचित)

यहूदाले ‘आत्मा उसलाई छोडेर जानुहुने समयसम्म ढिला गरिरह्यो।’ उसले क्षमा हुन नसक्ने पाप गऱ्यो। त्यस बिहान ऊ येशूतिर फर्केन। उसले उद्धार पाउन ढिला भइसकेको थियो। धेरै ढिला! धेरै ढिला! सधैंभरिका निम्ति ढिला भइसकेको थियो!

प्रभुलाई इन्कार गर्दा एउटा रेखा खिँचिन्छ,
   जहाँ उहाँका आत्माको बोलावट हराउँछ;
अनि तिमी विलासमा बौलाएको भीडको पछि लाग्छौ-
   के हिसाब गरेका छौ, मूल्यको हिसाब गरेका छौ?
हिसाब लगाएका छौ तिम्रो आत्मा गुम्यो भने
   आफ्नै निम्ति सारा संसार प्राप्त गरे पनि के होला?
अहिले पनि तिमीले त्यो रेखा पार गरेको हुन सक्छौ,
   के हिसाब गरेका छौ, मूल्यको हिसाब गरेका छौ?
(‘ह्याभ यू काउन्टेड द कस्ट?’ ए. जे. हज- १९२३, द्वारा रचित)

म तपाईंलाई बिन्ती गर्दछु, पवित्र आत्माले तपाईंलाई सधैंको निम्ति छोडेर जाने समयसम्म नपर्खनु होस्! जब उहाँले तपाईंलाई पापको दोषी ठहराउनुहुन्छ- ख्रीष्टमा आउनुहोस्! तपाईंले सायद अर्को मौका कहिल्यै पाउनुहुन्न! म तपाईंलाई बिन्ती गर्छु, धेरै ढिला हुनुभन्दा अघि नै ख्रीष्टमा आउनुहोस्!

२. दोस्रो, यहूदाले गरेको ‘पश्चात्ताप’ ‘सांसारिक शोक’ मात्र हो।

आजको हाम्रो बाइबल पदले भन्छ,

‘तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखीकन पछुतो गऱ्यो,’ (मत्ती २७:३)।

यहाँ जुन ‘पछुतो’ शब्द छ त्यो ग्रीकको ‘मेटामेलोमाइ’ शब्दबाट अनुवाद गरिएको हो, जसको अर्थ ‘अफसोस गर्नु’ (स्ट्र्ङ), ‘त्यसको निम्ति दुःखी हुनु’ (जर्ज रिकर बेरी) हो। तर ‘मेटामेलोमाइ’ ले उद्धारमा पुऱ्याउँदैन। त्यो त ‘अफसोस’ मात्र हो, त्यसमा पवित्र आत्माले पापको दोषी ठहराउनुभएको हुँदैन। यो त पाप गरिरहेको बेला पक्राउ पर्दा हुने शोक मात्र हो। यस किसिमको शोक र पछुतोले निराशा, आत्मदया र असाहयपनमा मात्र पुऱ्याउँछ। प्रेरित पावलले भनेका छन्,

‘ईश्वरीय शोकले मुक्तिका निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ’ (२ कोरिन्थी ७:१०)।

ईश्वरीय शोकले साँचो पश्चात्ताप उत्पन्न गराउँछ, जसले ख्रीष्टमा उद्धारतिर बढाउँछ। २ कोरिन्थी ७:१० मा जुन शब्दलाई ‘पछितो’ भनी अनुवाद गरिएको छ त्यो मत्ती २७:३ को शब्द भन्दा भिन्नै हो, जहाँ यहूदाले ‘आफै पछितो’ गरेको छ। २ कोरिन्थी ७:१० को ग्रीक शब्द ‘मेटानोइअ’ को रूप हो- जसको अर्थ ‘मन वा विचार परिवर्तन हुनु’ (भाइन) हो। मेरो चिनियाँ पास्टर डा. तिमोथी लिन (१९११-२००९) हिब्रू र ग्रीकका विद्वान थिए। डा. लिन भन्थे, ‘यो एउटा नयाँ ‘नोअस,’ एउटा नयाँ मन हो।’ यसको अर्थ एक व्यक्तिको हृदय र मन पूर्ण रूपले परिवर्तन हुनु हो, जुन परिवर्तन परमेश्वरले मात्र उत्पन्न गर्न सक्नुहुन्छ। डा. डर्ड रिकर बेरी (१८६५-१९४५) ले भनेका छन्, ‘मेटानोइअ’ (‘मेटामेलोमाइ’ शब्द मात्र भन्दा) अझ उच्च अर्थ बोकेको शब्द हो, यो पूर्ण पश्चात्ताप गरेको नियमित प्रकटीकरण हो’(ग्रीक-इंगलिस न्यू टेस्टामेन्ट लेक्सिकन)। विशुद्धवादी लेखक रिचर्ड बक्सटर (१६१५-१६९१) ले यसलाई ‘माया वा स्नेहमा परिवर्तन हुनु’- परमेश्वर र पापको विषयमा विचार परिवर्तन हुनु, तपाईंले मन पराउने र घृणा गर्ने कुरामा परिवर्तन हुनु भनेका छन्।

‘किनभने ईश्वरीय शोकले मुक्तिका निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ’ (२ कोरिन्थी ७:१०)।

ईश्वरीय शोक पवित्र आत्माले उत्पन्न गर्नुहुन्छ। अनि आत्माले पश्चात्ताप, एउटा नयाँ मन उत्पन्न गराउनुहुन्छ, अनि त्यसले ख्रीष्टमा उद्धारतिर डोऱ्याउँछ।

यहूदाले आफू पक्राउ पर्दा दुःखी बन्दै झुटो पश्चात्तापको मात्र अनुभव गऱ्यो। ‘जब उसले आफू निन्दित भएको देख्यो तब ऊ आफैले पछितो गऱ्यो।’ किङ जेम्स बाइबलले यसको राम्रो अर्थ दिँदछ। उसले ‘आफै पछितो गऱ्यो।’ त्यो परमेश्वरले उत्पन्न गर्नुभएको शोक थिएन। त्यो पूर्ण रूपले मानवीय शोक थियो। त्यो ‘मुक्ति निम्ति ईश्वरीय शोक’ थिएन। त्यो साँचो मन परिवर्तन गराउने ‘ईश्वरीय शोक’ थिएन। त्यो आत्मदया मात्र थियो! त्यो ‘मृत्यु उत्पन्न गराउने सांसारिक शोक मात्र’ थियो। यसैले यहूदा ‘गयो र झुण्डेर आत्महत्या गऱ्यो’ (मत्ती २७:५)।

कयिन यहूदाको नमुना (वा तस्वीर) थियो। ख्रीष्टले यहूदालाई ‘विनाशको छोरो’ (यूहन्ना १७:१२) भन्नुभयो। एक मानिसको रूपमा यहूदा ख्रीष्टको मृत्युको निम्ति जिम्मेवार थियो। ‘कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे’ (उत्पत्ति ४:८)। कयिनको विषयमा स्कोफिल्डको टिप्पणीले यसो भन्छ, ‘कयिन...पृथ्वीको सामान्य मानिसको नमुना हो, जसलाई पापको विषयमा पर्याप्त ज्ञानको कमी हुन्छ वा जसलाई प्रायश्चितको आवश्यकता परेको हुन्छ’ (द स्कोफिल्ड स्टडी बाइबल, उत्पत्ति ४:१)। कयिनमा ‘ईश्वरीय शोक’ कहिल्यै पनि थिएन। कयिनमा ‘मुक्तिमा पुऱ्याउने पश्चात्ताप’ थिएन। ऊ आफैमा दुःखी मात्र बन्यो। कयिनले भन्यो, ‘मेरो दण्ड मैले सहन सक्नेभन्दा ठूलो छ’ (उत्पत्ति ४:१३)। आत्मदया! उसले त्यत्ति मात्र महसुस गऱ्यो। उसले ‘सांसारिक शोक’ मात्र अनुभव गऱ्यो। त्यो शोक पक्राउ परेको कारणले मात्र भएको थियो। त्यसले आत्मदया मात्र उत्पन्न गरायो, त्योभन्दा बढी अरू केही होइन। त्यसले कयिनलाई आशारहित अवस्थामा पुऱ्यायो। तपाईंहरूमध्ये कतिले आफूलाई पापको दोषले दबिएको महसुस गर्नुहुन्छ होला, तर वास्तवमा तपाईंहरू त्यस्तो हुनुहुन्न। तपाईंहरू कयिनजस्तै आफ्नै निम्ति मात्र दुःखी बनेको हुनुहुन्छ। आत्मदया भनेको पापको निम्ति कायल हुनु होइन! त्यो त ‘मृत्युमा पुऱ्याउने सांसारिक शोक’ हो।

एसाव यहूदाको अर्को नमुना (वा तस्वीर) हो। यहूदाले जसरी ख्रीष्टलाई धोका दिँदा तीसवटा चाँदीका सिक्का पाएका थिए त्यसरी नै एसावले एक बटुका सुरुवाका निम्ति आफ्नो जन्माधिकार बेच्यो। स्कोफिल्डको टिप्पणीले भन्छ, ‘एसावले पृथ्वीको सामान्य मानिसको प्रतिनिधित्व गर्दछ’ (ऐजन, उत्पत्ति २५:२५ को टिप्पणी)। आफूले आशिष गुमाएको थाहा पाएपछि एसाव ‘अत्यन्तै विह्वल र चर्को सोरले रोए, र आफ्ना पितालाई भने, ‘हे मेरा बुबा’ (उत्पत्ति २७:३४)। कयिन र यहूदाझैं एसाव पनि ‘सांसारिक शोकले’ भरिए। उसले ‘मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गराउने ईश्वरीय शोक’ कहिल्यै पनि अनुभव गरेन। उसले यहूदाले झैं आत्मदया र अफसोस मात्र अनुभव गऱ्यो। यहूदाले झैं एसावले यसो भन्यो, म मेरो भाइ याकूबलाई मार्छु’ (उत्पत्ति २७:४१)। हिब्रूको पुस्तकले एसावलाई अधर्मी मानिस भन्दछ, ‘जसले एक छाक भोजनका लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो। तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो’ (हिब्रू १२:१६-१७)। उसले ‘आँसु बगाएर खोजे पनि’ साँचो पश्चात्ताप कहिल्यै पनि पाउन सकेन। हो, एसावले आँसु बगाएको थियो। तर त्यो पापप्रति कायल बनेर बगेको आँसु थिएऩ। त्यो ऊ आफैसित दुःखी बनेर बगेको आँसु थियो। यदि तपाईँ आफ्नै निम्ति मात्र दुःखी बन्नुहुन्छ भने तपाईं पापको निम्ति कायल बन्नुहुन्न। तपाईंमा ‘मृत्यु उत्पन्न गराउने सांसारिक शोक मात्र हुनेछ।’ अनि तपाईं कहिल्यै पनि उद्धार पाउन सक्नुहुन्न।

म आशा गर्छु, तपाईं कयिन, एसाव र यहूदाजस्तो हुनुहुन्न। म आशा गर्दछु, तपाईं पापको कायल बन्नुहुनेछ। म आशा गर्छु, तपाईं कयिनजस्तो हुनुहुन्न, ‘जो पृथ्वीको सामान्य मानिसको नमुना हो, जसमा पापको विषयमा पर्याप्त ज्ञानको कमी हुन्छ वा जसलाई प्रायश्चितको आवश्यकता परेको हुन्छ।’ म आशा गर्छु, तपाईं एसावजस्तो अधर्मी व्यक्ति बन्नुहुन्न। म आशा गर्छु, तपाईँ आफ्नो प्राणलाई संसारका कुराहरूमा लगाउनु हुनेछैन। म आशा गर्छु, तपाईं यहूदाजस्तो बन्नुहुनेछैन, जसले केही टुक्रा चाँदीका निम्ति येशूलाई धोखा दियो!

संसारबाट निस्किएर आउनुहोस्। त्यसको पाप र झुटो सम्पत्तिबाट निस्किएर आउनुहोस्। पापबाट निस्किएर ख्रीष्टकहाँ आउनुहोस्। परमेश्वरका आत्माले तपाईंलाई बोलाइरहनुभएको बेला, अनि तपाईंको हृदयले तपाईंको पापको गह्रौं भारी र वजनको अनुभव गरिरहेको बेला येशूकहाँ आउनुहोस् र उहाँको रगतद्वारा तपाईंका पापहरूबाट शुद्ध हुनुहोस्। धेरै ढिला हुनुभन्दा अघि, अहिले नै येशूकहाँ आउनुहोस्।

कति दुःख अहो दण्ड भोग्नु, दयाबिना तिमी सम्झना गर्छौ,
   कि आत्मा नगईञ्जेल तिमीले पर्ख्यौ र ढिला गऱ्यौ,
कस्तो निन्दा र शोक, पाए मृत्युले आशारहित
   आत्मा नगईञ्जेल तिमीले पर्ख्यौ र ढिला गऱ्यौ।
(‘इफ यू लिङ्गर टु लङ,’ डा. जोन आर. राइस- १८९५-१९८०, द्वारा रचित)

एक जवान मानिसले एकचोटि मेरो मित्र डा. केगनलाई भन्यो, ‘यस्तो गतिमा म कहिल्यै पनि ख्रीष्टियन बन्न सक्दिनँ।’ उसले भनेको कुरा ठिकै हो। तपाईँ आफ्नो पापको निम्ति कायल नभईञ्जेल जत्तिनै शिक्षा र प्रार्थनाले पनि तपाईंलाई सहायता गर्न सक्दैन। पापको कायल बनेपछि मात्र तपाईँ येशूतिर फर्कनुहुनेछ। जसरी एउटी स्त्रीले भनेकी थिई, ‘म आफैसँग अति नै विरक्त भएकी थिएँ।’ त्यही नै ‘मु्क्तिका निम्ति ईश्वरीय शोक हो।’ आफ्नो पापी हृदयका निम्ति ‘विरक्त’ बनेपछि त्यस स्त्रीलाई ख्रीष्टतिर खिँचियो र उसले विश्वास गरी। परमेश्वरका आत्माले तपाईंलाई आफैसँग ‘पूर्ण रूपले विरक्त’ बनाऊन्, यसैले कि ‘तपाईंको मुख चूप रहोस्, र तपाईं परमेश्वरको अगि दोषी ठहरिनुहोस्’ (रोमी ३:१९)। परमेश्वरका आत्माले येशूको रगतको प्रायश्चितद्वारा तपाईंका पापहरूबाट उद्धार पाउनका निम्ति तपाईंलाई उहाँतिर खिँच्नुभएको होस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा बाइबल पाठ गरियोः मत्ती २७:३-५
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘इफ यू लिङगर टु लङ,’ डा. जोन आर. राइस, १८९५-१९८० द्वारा रचित)


रूपरेखा

यहूदाको झुटो पश्चात्ताप

THE FALSE REPENTANCE OF JUDAS

डा. आर. एल हिमर्स,जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

‘तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्डाज्ञा भएको देखीकन पछुतो गऱ्यो, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्का फिर्ता दिन ल्यायो, र भन्यो, ‘मैले निर्दोष मानिसलाई धोखा दिएर पाप गरेको छु।’ तर तिमीहरूले भने, ‘हामीलाई के मतलब? तँ आफै जान।’ तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो, र त्यसले झुण्डेर आत्महत्या गऱ्यो’ (मत्ती २७:३-५)।

(मत्ती २७:१-२)

१. पहिलो, यहूदाले पहिलेबाटै अक्षम्य पाप गरिसकेको थियो।
मत्ती १२:३१-३२

२. दोस्रो, यहूदाले गरेको ‘पश्चात्ताप’ ‘सांसारिक शोक’ मात्र हो।
२ कोरिन्थी ७:१०; मत्ती २७:५; यूहन्ना १७:१२; उत्पत्ति ४:८,१३;
उत्पत्ति २७:३४,४१; हिब्रू १२:१६-१७; रोमी ३:१९