Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




गेतसमनीको दुःख

THE SORROW OF GETHSEMANE
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१८ मार्च, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, March 18, 2017

‘येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।’ (हिब्रू ५:७)


येशू क्रूसमा मर्नुभन्दा एक रात अघि उहाँले आफ्ना चेलाहरूलाई रातको अन्धकारमा गेतसमनीको बगैंचामा लैजानुभयो। त्यस बेला मध्यरात भइसकेको थियो। येशूले उहाँका आठ जना चेलालाई त्यस बगैंचाको सिमानामा छोड्नुभयो। उहाँले पत्रुस, याकूब र यूहन्नालाई बगैंचाको निकै भित्रसम्म लैजानुभयो। तब उहाँ ‘अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो’ (मर्कूस १४:३३)। उहाँले ती तीन जना चेलालाई भन्नुभयो, ‘मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहाँ बस, र जागा रहो’ (मर्कूस १४:३४)। उहाँ केही कदम अगाडि जानुभयो र भूइँमा घोप्टो पर्नुभयो। उहाँले वेदनामा प्रार्थना गर्दै यदि सम्भव हुन्छ भने ‘त्यो घडी उहाँबाट टलेर जाओस्’ भन्नुभयो (मर्कूस १४:३५)। गेतसमनीको बगैंचाको त्यो प्रार्थनाको कुल समय करिब एक घण्टा थियो- किनकि येशूले तिनीहरूलाई निदाएका भेट्टाउनुहुँदा भन्नुभएको थियो, ‘के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ’ (मत्ती २६:४०)?

मध्यरातमा गेतसमनीको बगैंचामा येशूलाई केही डरलाग्दो कुरा भएको थियो। येशूले भन्नुभयो, ‘मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ’ (मत्ती २६:३८)। ग्रीक शब्द ‘पेरिलुपोस’ को अर्थ ‘दुःखले बेह्रिनु’ हो। उहाँले भजनकारसँगै यसो भन्न सक्नुहुन्थ्यो, ‘चिहानको वेदना ममाथि आइपऱ्यो’ (भजन ११६:३)। दुःखका छाल र तरंगहरूले उहाँलाई छोपे। उहाँको माथि, उहाँको तल, उहाँको वरिपरि, उहाँदेखि बाहिर र उहाँभित्र मृत्युसम्मै सबैतिर दुःखैदुःख थियो, यस्तो दुःख जसले उहाँलाई झण्डै माऱ्यो। त्यो पीडाबाट उम्कने कुनै उपाय थिएन। त्योभन्दा नराम्रो दुःख अरू कुनै थिएन। उहाँ त्यसको त्रासद्वारा यति दबिनु भएको थियो, कि ‘उहाँका पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए’ (लूका २२:४४)।

‘मध्यरातमा जैतूनको शिखरमा
   तारा मधूरो देखेको ढिलो,
मध्यरातमा त्यो बगैंचामा अहिले
   दुःख भोग्ने उद्धारकर्ता गर्छन् एकल प्रार्थना।

‘मध्यरातमा, अनि सबैबाट हटाइएर
   उद्धारकर्ता लडछन् एकलै डरसित,
उहाँले प्रेमे गरेका चेलाले पनि
   देख्दैन प्रभुको दुःख र आँसु
('टिस मिडनाइट एन्ड अन ओलिभस् ब्रो,' विलियम बी. टप्पनद्वारा रचित, १७९४-१८४९)

बाइबलले हामीलाई बताउँछ, येशू ‘अफसोसमा परेको मानिस र कष्टसित परिचित’ (यशैया ५३:३) व्यक्ति हुनुहुन्थ्यो। तर उहाँ सधैंभरि अनुहार लामो पारेर, उदास भएर हिँड्नु भएन। दुःख उहाँले जान्नुहुन्थ्यो। उहाँले शोक जान्नुहुन्थ्यो। तर प्रायः समय येशू एक शान्तिपूर्ण, आनन्दित मानिस हो। उहाँ धेरै ठाउँ भोज खान जानुभयो, जसको कारण फरिसीहरूले गुनासो गरे। तिनीहरूले भने, ‘उनी कर उठाउने र पापीहरूसँग बसेर खान्छन्’ (मत्ती ११:१९, आदि)। यसले देखाउँछ, साँचो ख्रीष्टियनहरू प्रायः सधैं आनन्दित रहने मानिसहरू हुनुपर्छ। कहिलेकहीं हामी निराशको समयबाट भएर जान्छौं। तर येशू मृत्युमाथि विजयी हुनुभयो भनी सम्झ्यौं भने हामी शान्तिको अनुभव गर्न सक्छौं।

तर अदनको बगैंचामा सबै कुरा परिवर्तन भए। शान्ति हराएर गयो। उहाँको आनन्द चर्को दुःखमा बदलियो। ‘पेरिलुपोस’- दुःखले घेरिनु, त्यसद्वारा निचोरिएर अर्धमृत हुनु। यो पापको दोषले गर्दा अनुभव गरिएको दुःख हो।

येशूले उहाँको जीवन कालमा दुःख वा निराशा शब्द मुश्किलले उच्चारण गर्नुभयो। तर अहिले, त्यो बगैंचामा सबै कुरा परिवर्तन भए। उहाँले परमेश्वरलाई पुकार्दै भन्नुभयो, ‘यदि हुन सक्छ भने यो कचौरा मबाट हटोस्’ (मत्ती २६:३९)। उहाँले पहिले कहिल्यै पनि गुनासो गर्नु भएको थिएन। तर अहिले ‘आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए’ (लूका २२:४४)। किन? किन? येशू, कुन कारणले तपाईं दुःख भोगिरहनुभएको छ?

डा. जोन गिलले शैतान त्यो बगैंचामा आएकोले त्यस्तो भएको हो भन्छन्। हाम्रो समयमा मेल गिब्सनले तिनको चलचित्र ‘प्यासन अफ क्राइष्ट’ मा शैतान येशूलाई मानसिक यातना दिन अन्धकारमा सर्पको रूपमा गेतसमनीमा आएको देखाएका छन्। तर यस कुरामा डा. गिल र मेल गिब्सन गलत छन्। शैतान गेतसमनीको बगैंचामा थिएन। बाइबलमा त्यस्तो कतै पनि छैन। केही व्यक्तिहरू लूका २२:५३ उल्लेख गर्छन्, जुन बेला येशूले उहाँलाई पक्राउ गर्न आउने सिपाहीहरूलाई यसो भन्नुभएको थियो, ‘अब तपाईंहरूको समय हो, र अन्धकारको शक्ति यही हो’ (लूका २२:५३)। उनीहरूले त्यसले शैतानलाई संकेत गर्दछ भनेका ठिकै हो। तर ध्यान दिनुहोस्, ख्रीष्टले गेतसमनीमा प्रार्थना गरिसक्नु भएपछि अनि रगतको पसीना बगाउनु भएपछि सिपाहीहरूलाई यो कुरा भन्नुभएको थियो। त्यो बगैंचामा उहाँको वेदनाको अन्त्यमा उहाँले सिपाहीहरूलाई भन्नुभयो, ‘अब तपाईंहरूको समय हो (गेतसमनीमा उहाँले बिताउनुभएको समय होइन), र अन्धकारको शक्ति यही हो।’ यहूदा केही दिन अघि भूतात्माले ग्रस्त (साँच्चै भूतात्माले समातेको) भएको थियो। हामीलाई लूका २२:३ मा भनिएको छ, ‘यहूदाभित्र शैतान पस्यो।’ शैतानको त्यो डरलाग्दो संघर्षपछि यहूदामा भएर त्यो बगैंचामा आएको थियो, र येशूलाई पक्राउ र उहाँसँग अपमानपूर्ण व्यवहार गर्न सिपाहीहरूलाई ल्याएको थियो।

यसैले, हामी येशूले छुटकाराका निम्ति प्रार्थना गर्नुहुँदा रगतको पसीना बगाउँदै किन त्यस्तो यातना भोग्नुभयो भनी सोच्छौं। त्यो बगैंचामा येशूले ‘हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्’ (मत्ती २६:३९) भन्दै प्रार्थना गर्नुभयो। त्यो ‘कचौरा’ के थियो? त्यो भोलिपल्ट उहाँले क्रूसमा भोग्नुहुने दुःख थियो, उहाँको प्रार्थनाको उत्तर दिइएन। यदि त्यो ‘कचौरा’ त्यो रात शैतानबाट छुटकारा पाउनु थियो भने, उहाँको प्रार्थनाको उत्तर दिइएन, किनकि भूतात्माले ग्रस्त मानिसहरूले उहाँलाई घिस्साउँदै क्रूसमा टाँग्न लगे। हिब्रू ५:७ को वचनले हामीलाई यसको उत्तर दिन्छ। कृपया, खडा भएर ठूलो सोरमा यो एकसाथ पढनुहोस्।

‘येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।’ (हिब्रू ५:७)

तपाईंहरू बस्न सक्नुहुन्छ। अब, यो पदले येशूले यो प्रार्थना ‘उहाँको शारीरिक जीवनमा’ - अर्थात् उहाँ पृथ्वीमा जिउनुभएको बेला गर्नुभयो भन्दछ। उहाँले मृत्युबाट बच्न ‘बडो क्रन्दन र आँसुसहित प्रार्थना गर्नुभयो, यसैले यो प्रार्थना उहाँ क्रूसमा टाँगिनुभन्दा अघि गरिएको थियो। यो पदले उहाँको प्रार्थना सुनियो र गेतसमनीको बगैंचाबाट उहाँलाई मृत्युबाट बचाइयो पनि भन्दछ। प्रसिद्ध ईश्वरशास्त्री डा. जे. ओलिभर बुसवेलले यसो भनेका छन्,

लूकाले जस्तो किसिमको असिनपसीन भएको वर्णन गरेका छन् (गेतसमनीको बगैंचामा) त्यस्तो ठूलो आघात लाग्दा हुने गर्छ, अनि त्यसको शिकार हुने व्यक्ति तुरुन्तै ढल्न र मर्न पनि सक्छ। हाम्रा प्रभु येशू ख्रीष्टले आफैलाई शारीरिक रूपमा ठूलो आघात पुगेको अवस्थामा पाउनुभयो, र उहाँले क्रूसमा आफ्नो उद्देश्य पूरा गर्न सक्नाका निम्ति त्यो बगैंचामा हुन सक्ने मृत्युबाट छुटकारा पाउन प्रार्थना गर्नुभयो(जे. ओलिभर बुसवेल, पीएचडी., सिस्टेमेटिक थिअलजी अफ क्रिश्चियन रिलिजन, जोनडर्भन पब्लिसिङ हाउस, १९७१, भाग ३, पृष्ठ ६२)।

डा. जोन आर. राइसले पनि प्रायः यस्तै कुरा भनेका छन्,

येशू शोकित र उदास हुनुहुन्थ्यो र ‘मृत्यु नै होला जस्तो गरी’ उहाँको प्राण शोकित बन्यो, अर्थात्, येशू शोकले साँच्चै मरिरहनुभएको थियो। येशूले भोलि पल्ट क्रूसमा मर्नका निम्ति त्यो रात cमृत्युको त्यस कचौरा उहाँबाट हटोस् भनी प्रार्थना गर्नुभयो (जोन आर. राइस, डी.डी., द गस्पल एकोर्डिङ टु मेथ्यू, स्वर्ड अफ द लर्ड, १९८०, पृष्ठ ४४१)।

डा, बुसवेलले भने,

यो व्याख्या हिब्रू ५:७ सँग मेल खान्छ, अनि मलाई त्योसँग मिल्ने व्याख्या यो मात्र हो जस्तो लाग्छ (ऐजन)।

डा. राइसले भने,

यो कुरा हिब्रू ५:७ मा स्पष्ट बताइएको छ, जहाँ हामीलाई येशूले ‘मृत्युबाट बच्नका निम्ति बडो क्रन्दन र आँसुसहित प्रार्थना र अर्जबिन्ती गर्नुभयो अनि उहाँ जुन कुराका निम्ति डराउनुभएको थियो त्यसमा उहाँको प्रार्थना सुनियो।’ गेतसमनीको बगैंचामा मर्न लाग्दा येशूले भोलिपल्ट क्रूसमा मर्न सक्नाका निम्ति त्यो रात मृत्युको कचौरा उहाँबाट हटोस् भनी प्रार्थना गर्नुभयो। पवित्रशास्त्रले भन्छ, ‘उहाँको प्रार्थना सुनियो!’ परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो(ऐजन)।

‘येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।’ (हिब्रू ५:७)

हेर, परमेश्वरका पुत्रको दुःख
   स्वाँस्वाँ, सुस्केरा, रगतको पसीना!
सीमाहीन गहिराइ अनुग्रह ईश्वरीय,
   येशू, कस्तो प्रेम तपाईंको!
(‘दाइन् अननोन सफरिङ,’ जोसेफ हार्ट-१७१२-१`७६८,रचित)

तर अझै पनि भन्छौं, त्यो रात येशूले किन त्यत्ति धेरै दुःख भोग्नुभयो। म विश्वास गर्छु त्यो बगैंचामा येशूलाई यस्तो भएको थियो। म विश्वास गर्छु,

‘परमप्रभुले हामी सबैका अधर्म उहाँलाई बोकाउनुभयो।’ (यशैया ५३:६)

‘निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो।’ (यशैया ५३:४)

तर उहाँले ती कहिले बोक्नुभयो? उहाँले ती गेतसमनीमा बोक्नुभयो, अनि भोलिपल्ट बिहान क्रूसमा लैजानुभयो।

‘उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो।’ (१ पत्रुस २:२४)

तर एक रात अघि गेतसमनीको बगैंचामा हाम्रा पापहरू ‘उहाँको आफ्नै शरीरमा राखिए।’ उहाँले हाम्रा पापहरू गेतसमनीबाट बोकेर क्रूसमा लैजानुभयो। उहाँले परमेश्वरको क्रोधलाई शान्त पार्नुभयो। उहाँले त्यो आफैमा लिनुभयो।

उद्धारकर्ताले एकलै गेतसमनीको अन्धकारमा प्रार्थना गर्नुभो;
एकलै तीतो कचौरा पिउनुभो, र मेरो निम्ति दुःख भोग्नुभो,
एकल-एकलै, उहाँले एकलै बोक्नुभो,
आफ्नैहरूलाई बचाउन आफैलाई दिनुभो,
दुःख भोग्नुभो रगत बगाई मर्नुभो, एकलै, एकलै
(‘एलोन,’बेन एच. प्राइस- १९१४- द्वारा रचित)

महान् डा. जोन गिल (१६९७-१७७१) ले ठीकै भनेका छन्,

अब उहाँ चोट पारिनुभयो, अनि उहाँका पिताले उहाँलाई दुःख दिनुभयोः अब उहाँको दुःख सुरु हुन्छ, किनकि ती यतिमै समाप्त हुँदैनन्, तर क्रूसमा उहाँका मानिसहरूका पापको बोझद्वारा, अनि धेरै गह्रौं हुनु पर्थ्यो; अनि परमेश्वरको क्रोधको अनुभव गर्नुपर्थ्यो, जसद्वारा उहाँ मिचिनु र पेलिनु पर्थ्यो, उहाँमा रत्तिभर उत्साहहरू हुँदैनथ्यो; उहाँ मूर्च्छा पर्नुभयो, डुब्नु र मर्नु पर्थ्यो; उहाँको मुटुले उहाँलाई धोखा दियो,... उहाँको प्राण उहाँका मानिसहरूका पापले चारैतिरबाट पेलियो, त्यसले उहाँलाई समात्यो र छोप्यो, सबैतिरबाट मृत्यु र नरकको दुःखले उहाँलाई घेऱ्यो उहाँलाई कुनै सान्त्वना थिएन। यसैले उहाँको प्राण दुःखमा डुब्यो, उहाँको महान् हृदय तोडिन तयार थियो; उहाँलाई मृत्युको धूलोमा पुऱ्याइयो; उहाँका दुःखले पनि उहाँलाई छोडेन, अन्त्यमा उहाँको शरीर र प्राणले एक-अर्कालाई छोड्यो (जोन गिल, डी.डी.,एन एक्सपोजिसन अफ द न्यु टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टेनडर्ड बेरर, भाग १, पृष्ठ ३३४)।

यसरी येशूले हामीलाई परमेश्वरको क्रोधबाट, हाम्रा पापहरूको दण्डबाट र नरकको अनन्त दण्डबाट बचाउनका निम्ति के गर्नुभयो भनी हामी जान्दछौं। उहाँले हाम्रो प्रतिनिधि बनेर हाम्रो सट्टामा दुःख भोग्नुभयो। तपाईंको स्थानमा उहाँले प्रतिनिधि बनेर दुःख भोग्नुभयो, त्यो गेतसमनीको बगैंचामा सुरु भएको थियो, जहाँ उहाँले तपाईंका पापहरू लिनुभयो र भोलिपल्ट बिहान ती क्रूसमा लैजानुभयो।

मेरा मित्र हो, हामी ईस्टर सन्डेको नजिक आइरहेको छौं, जुन दिन येशू चिहानबाट जीवित भई उठ्नुभएको थियो। तर उहाँ मरेकोबाट जीवित हुनुभएको कुराको त्यति बेलासम्म कुनै अर्थ हुँदैन जबसम्म तपाईंलाई बचाउन उहाँले गेतसमनीको बगैंचामा र क्रूसमा डरलाग्दो दुःख भोग्नुभयो भनी बुझ्नुहुन्न। येशूलाई तपाईंको प्रतिनिधि बनाउन तपाईंले के गर्नुपर्छ? तपाईं उहाँको चरणमा आउनुपर्छ र उहाँमाथि विश्वास गर्नुपर्छ।

त्यो क्रूसमा जब हेर्दछु,
जसमा मारिनुभो येशू
धन-सम्पत्ति म तुच्छ ठान्छु,
घमण्ड त्यागी नरम हुन्छु।

येशूले भोगे मृत्युदण्ड
खाली यसमा गर्छु घमण्ड,
मलाई लोभ्याउने थोकहरू
म उनको लागि त्याग्दछु।

लौ उनको शिर हात पाउदेखि,
हेर दुःख र प्रेम मिसी बग्यो,
छ शिरमा काँढा बुनेको
के अघि यस्तै मुकुट थियो?

सब संसार भए ता मेरो,
त्यो पनि तुच्छ दान हुन्थ्यो,
लौ यत्रो प्रेमको योग्य दान
हो जीवन, आत्मा जीउ र प्राण।
(‘व्हेन आइ सर्भे द वनडर्स क्रस,’ आइजक वाट्स,डी.डी, -१६७४-१७४८- द्वारा रचित)

आजको रात येशूमा भरोसा राख्नुहोस् र उहाँले तपाईंको स्थानमा क्रूसमा भोग्नुभएको दुःख र मृत्युद्वारा तपाईंका पापहरूको दाम चुकाइनेछ। जुन क्षण तपाईं उहाँमा विश्वास गर्नुहुन्छ उहाँको रगतले तपाईंलाई पापबाट शुद्ध पार्नेछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि एकल गीत प्रस्तुत गरियो।
('टिस मिडनाइट एन्ड अन ओलिभस् ब्रो,' विलियम बी. टप्पनद्वारा रचित, १७९४-१८४९)