Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net

 


प्रवचन अघि डा. हिमर्सको अगुवाइमा गाइएका भजनहरूः
      "फिल अल माइ भिजन"(एभिस बर्गजीसन क्रिस्टियनसेन, १८९५-१९८५ द्वारा रचित)
      " हे परमेश्वर, मलाई जाँच्नुहोस्" (भजन १३९२३-२४)

शैतान र जागृति

SATAN AND REVIVAL
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१५ सेप्टेम्बर, २०१६, बिहीबार साँझ लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Thursday Evening, September 15, 2016


कृपया, सबै जना खडा भएर स्कोफिल्ड स्टडी बाइबलको पृष्ठ १२५५ खोल्नुहोस्। त्यहाँ एफिसी ६:११ र १२ पद हेर्नुहोस्।

"शैतानका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूको विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो" (एफिसी ६:११-१२)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

यी पदहरूले शैतानका दुष्टात्माहरूको फौज साँचो ख्रीष्टियमतका शत्रुहरू हुने भन्ने देखाउँछन्। द न्यू अमेरिकन स्टेनडर्ड बाइबलले १२ औं पदलाई यसरी अनुवाद गरेको छः¬

"किनकि हाम्रो युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, शक्तिहरूको विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टताका आत्मिक सेनाहरूका विरुद्ध हो"(एफिसी ६:१२)।

डा. मेरिल एफ. अङ्गरले भन्नुभएको छ, "दुष्टताका आत्मिक सेनाहरूको अति चाखलाग्दो ओहदा... "यस अन्धकारको सांसारिक शासकहरू" हो...यी शासन गर्ने दुष्ट आत्माहरू हुन्(बिव्लिकल डिमोनोलजी क्रेगेल पब्लिकेसन्, १९९४, पृष्ठ १९६)। डा. चार्ल्स रिर्रीले दानिएल १०:१३ माथि यस्तो टिप्पणी गरेका छन्,"फारस राज्यका राजकुमार...एक अलौकिक प्राणी, जसले फारसका शासकहरूलाई परमेश्वरको योजनाको विरोध गर्ने निर्देशन दिए। दुष्ट स्वर्गदूतहरू(दुष्टात्माको 'सांसारिक शक्तिहरू') ले राज्य-राज्यका कामहरू संचालन गर्न खोज्छन्...राज्यहरूमाथि अधीनता गर्न असल र दुष्ट स्वर्गदूतहरूबीच लडाइँ चलि नै रहन्छ" (रिर्री स्टडी बाइबल; दानिएल १०:१३ माथिको टिप्पणी)।

मलाई पूरा विश्वास छ, त्यहाँ शासन गर्ने कुनै एउटा दुष्टात्मा छ, जसले अमेरिका र पश्चिमी संसारलाई नियन्त्रण गरेको छ। स्कोफिल्डको दानिएल १०:१३ को बीचको टिप्पणीले भन्छ,"दुष्टात्माहरू शैतानको सांसारिक व्यवस्थाको प्रतिनिधिको रूपमा काम गर्छन्।" यो टिप्पणीले "फारस राज्यका राजकुमार" लाई संकेत गर्दछ। यो "राजकुमार" फारस देशलाई नियन्त्रण गर्ने मुख्य दुष्टात्मा थियो। आज "पश्चिमका राजकुमार" ले अमेरिका र त्यसका मित्र-राष्ट्रहरूलाई नियन्त्रण गरेको छ। अनि अमेरिका र पश्चिमी मुलुकहरूलाई नियन्त्रण गर्ने त्यो मुख्य दुष्टात्मालाई हाम्रो सभ्य समाजलाई पूर्णरूपले भौतिकवादी बनाउने शक्ति दिइएको छ। भौतिकवादमाथि शासन गर्ने यो दुष्टात्माले जागृतिलाई रोक्दछ, हाम्रा प्रार्थनाहरूमा बाधा पुऱ्याउँछ, र हाम्रा मानिसहरूलाई वशमा पार्दछ। शासन गर्ने यो दुष्टात्माले हाम्रा मानिसहरूलाई के गरेको छ? दुष्टात्माहरूको विषयमा बोल्दै डा. लोयड जोनेसले यो दुष्टात्माको शक्तिले के गर्छ भन्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, त्यो दुष्टात्माको शक्तिले हाम्रा मानिसहरूको समझलाई अन्धो पारिदिएको छ। उहाँले भन्नुभएको छ,"आत्मिकता(को विचार) भन्ने छँदैछैन। परमेश्वरमाथि विश्वास भन्ने कुरा प्रायः हराइसकेको छ... परमेश्वरको विषयमा यो विश्वास अनि धर्म र मुक्ति रद्द गरिएको र भुलिएको छ"(रिभाइभल, क्रसवे बुक्स्, १९९२, पृष्ठ १३)। "पश्चिमका राजकुमार" र त्यसको अधीनतामा रहेका दुष्टात्माहरूको कामको कारण यस्तो भएको हो।

अरू देशहरूमा यस्तो भएको छैन। तेस्रो संसारमा यस्ता देशहरू छन्, जहाँ "भौतिकवाद" को विशाल दुष्टात्माले अमेरिका र पश्चिमी मुलुकहरूमा प्रयोग गरेकै जस्तो शक्तिले शासन गरेको छैन। चीनमा, अफ्रिकामा, इन्डोचिनमा, साथै मुस्लिम देशहरूमा समेत लाखौं जवान मानिसहरू प्रभुमा आइरहेका छन्। तिनीहरूमध्ये लाखौं साँचो ख्रीष्टियन बनिरहेका छन्। तर अमेरिका र पश्चिमी मुलुकहरूमा लाखौं जवान मानिसहरू चर्च जानु छोडिसकेका छन्। अमेरिका र पश्चिमी संसारमा थोरै जवान मानिसहरू मात्र साँचो ख्रीष्टियन बन्दैछन्। हाम्रा चर्चहरू शक्तिहीन छन्। हाम्रा प्रार्थना सेवाहरू त्यागिएका छन्। हाम्रा जवान मानिसहरूमा परमेश्वरका निम्ति कुनै उत्साह पाइँदैन। मतदान-विशेषज्ञ श्री जर्ज बारनाले भनेअनुसार २५ वर्ष पुग्दा नपुग्दा हाम्रा जवानहरूमध्ये ८८% ले कहिल्यै नफर्किने गरी चर्चलाई त्याग्छन्। तिनीहरू खराब पुस्तक, खराब चलचित्रतिर लाग्छन्, जुन तिनीहरूले इन्टरनेटमा घन्टौंसम्म हेर्छन्। तिनीहरू गाँजाजस्तो नशालु पदार्थ र अरू मोजमज्जातिर लाग्छन्। तिनीहरू प्रार्थनाको हाँसो उडाउँछन्, तर अर्कोतिर घन्टौंसम्म सामाजिक मिडियाको वशमा परेका छन्। तिनीहरूको हातमा हरसमय स्मार्टफोन हुन्छ। तिनीहरू पूरै त्यस्ता यन्त्रहरूको वशमा परेका छन्। फुर्सदको समय पाउनेसाथ ती हेर्न थाल्छन्। प्राचीन इस्राएलीहरूले पनि अगमवक्ता होशेको समयमा त्यसरी नै आफ्ना मूर्तिहरूलाई हेरेका थिए। सामाजिक मिडिया शैतानले हाम्रा जवान मानिसहरूलाई वशमा राख्न प्रयोग गरेको मूर्ति हो। अनि अमेरिका र पश्चिमी मुलुकका प्रायः सबै पास्टरहरूले तिनीहरूका चर्च किन अति सांसारिक र कमजोर भएको छ भनी बुझेका छैनन्। डा. लोयड जोनेसले भन्नुभएझैं तिनीहरूले दुष्टात्माहरूको शक्तिको सामना गरिरहेका छन् भनी बुझेका छैनन्।

होशेको समयमा स्थिति यति खराब भयो कि परमेश्वरले भन्नुभयो,"एफ्राइम(इस्राएल) मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ"(होशे ४:१७)। त्यो जाति परमेश्वरद्वारा त्यागियो। तिनीहरूलाई परमेश्वरले त्यागिदिनुभयो। तिनीहरू दुष्टात्माहरूको शक्तिको अधीनमा एकलै छाडिए। अहिलेको समयमा हाम्रा आफ्नै जवान मानिसहरू शक्तिशाली दुष्टात्माहरूको वशमा परेर खराब पुस्तक-चलचित्रहरू, गाँजा, र सामाजिक मिडियातिर लागेका छन्। दुष्टात्माद्वारा जवान मानिसहरू हराएका मित्रहरूसँग बाँधिन्छन्। भौतिकवादको वशमा पार्ने दुष्टात्माहरूले जवान मानिसहरूलाई यस्तो पेशा वा जागिरको दास बनाउँछन्, जसले तिनीहरूलाई आत्मिक ख्रीष्टियनहरू बन्न दिँदैनन्, ती दुष्टात्माहरूले अरूहरूलाई चाहिँ आफ्ना पति वा पत्नीबाहेक अरूसँग पनि शारीरिक सम्बन्ध गर्ने बनाउँछ अनि खराब पुस्तक-चलचित्रहरूको कुलतमा पार्दछन्। "एफ्राइम(इस्राएल) मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ"(होशे ४:१७)। आज राति यहाँ तपाईंहरूमध्ये कोही-कोही दुष्टात्माको शक्तिको वशमा पर्नुभएको छ।

तपाईंहरू हाम्रो चर्चमा आउनुहुन्छ। तर परमेश्वर यहाँ हुनुहुन्न। तपाईंलाई परमेश्वर यहाँ नहुनुभएको जस्तो अनुभव हुन सक्छ। अगमवक्ता होशेले भने,"जब तिनीहरू...परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ"(होशे ५:६)। परमेश्वर गइसक्नुभएको छ! उहाँ हाम्रा चर्चहरू छोडेर गइसक्नुभएको छ। उहाँले हाम्रो चर्चलाई छोड्नुभएको छ। उहाँ अनुपस्थित हुनुहुन्छ। उहाँको अस्तित्व नभएकोले उहाँ अनुपस्थित हुनुभएको होइन। उहाँको अस्तित्व छ, यसैले उहाँ अनुपस्थित हुनुहुन्छ! परमेश्वर हुनुहुन्छ-अनि त्यसैले उहाँ हामीलाई छोडेर जानुभएको छ! उहाँ पूर्ण रूपले पवित्र हुनुहुन्छ। उहाँ हाम्रा पापसँग पूर्ण रूपले रिसाउनुभएको छ। त्यसैले उहाँले तपाईंहरूलाई एकलो छोडिदिनुभएको छ। तपाईंहरू घरमा एकलो हुनुहुन्छ। तपाईंहरूको प्रार्थनामा एकलो हुनुहुन्छ। हाम्रो चर्चमा समेत एकलो हुनुहुन्छ। परमेश्वरको उपस्थितिको अनुभव नहुने एकलो! मेरो आफ्नै अनुभवबाट म जान्दछु, एक जवानको रूपमा एउटा ककेसियन चर्चमा आउँदा मलाई कस्तो डरलाग्दो अनुभव भएको थियो, त्यहाँ मेरो निम्ति परमेश्वर हुनुहुन्न थियो। त्यो चर्चभित्र- म एकलो थिएँ। ग्रीन डेले यो लोकप्रिय गीत गाएझैं एकलो,

कहिलेकाहीं, इच्छा हुन्छ, कसैले मलाई भेट्टाओस्
त्यतिञ्जेल म एकलै हिँड्छु।
   (ग्रीन डे,'बलिभर्ड अफ ब्रोकन ड्रीम्स्,' २००४)।

तपाईंहरू कस्तो महसुस गर्नुहुन्छ त्यो म जान्दछु। तपाईंहरूजस्तै जवान हुँदा म लस एन्जलसका सड्कहरूमा एकलै हिँड्थें, हो एकलै! चिनियाँ ब्याप्टिस्ट चर्चको सदस्यता लिन अघि ककेसियन चर्चमा समेत म एकलो थिएँ। हो, साँच्चै भनेको! मलाई कस्तो लाग्दथ्यो त्यो अझै पनि मलाई सम्झना छ। त्यो अनुभवलाई म घृणा गर्दछु। म भौतिकवादको त्यो दुष्टात्मालाई घृणा गर्दछु, जसले तपाईंहरूको परिवारको प्रेमलाई नष्ट पारेको छ, जसले तपाईंको सुखलाई नष्ट पारेको छ, जसले तपाईंको हृदयलाई नष्ट पारेर तपाईंलाई एकलो बनाएको छ। म त्यो दुष्टात्मालाई घृणा गर्दछु, जसले हाम्रो चर्चलाई उदासीन र रुखो बनाएको छ। म अमेरिकाको त्यो पापलाई घृणा गर्दछु, जसले परमेश्वरले तपाईंहरूका निम्ति राखिदिनुभएका असल कुराहरू तपाईंहरूबाट चोरेर लगेको छ। तपाईंहरूमध्ये कोही-कोही एक जना राष्ट्रपतिको उम्मेद्वारको पछि कुद्नुभयो, किनकि उसले सबै कुरा दिने तपाईंलाई प्रतिज्ञा गरेको थियो। तर उसले जितेर पनि तपाईंलाई केही दिएन। धेरै जना प्रचारकहरूले पनि त्यसै गरे। तिनीहरूले सबै कुरा दिने तपाईंहरूसँग प्रतिज्ञा गरे। तर तिनीहरूसँग तपाईंहरूलाई दिने वास्तविक कुरा केही पनि थिएन। तपाईंहरू दुष्टात्माहरूको अन्धो बनाउने प्रभावमा पर्नुभएको छ। अनि यही शैतानिक प्रभावको कारण तपाईंहरू एकलो हुनुभएको छ। परमेश्वर अमेरिका र पश्चिमी मुलुकहरूलाई छोडेर गइसक्नुभएको छ। हाम्रो पापका कारण परमेश्वरले हामीलाई एकलो छोडिदिनुभएको छ। तपाईंको पापको कारण परमेश्वरले तपाईंलाई एकलो छोडिदिनुभएको छ।

हाम्रो चर्चमा परमेश्वर हाम्रो साथमा हुनुपर्छ! हामीसँग उहाँको उपस्थिति हुनुपर्छ। हामी तपाईं जवान मानिसहरूलाई सहायता गर्न सक्दैनौं। परमेश्वर ओर्लेर आउनु नभइञ्जेल हामी तपाईंहरूलाई सहायता गर्न सक्दैनौं। हामीले आफ्ना पापहरूका निम्ति पश्चात्ताप गर्नै पर्छ। हामीले रुँदै प्रार्थना गर्नपर्छ। हामी रुँदैनौं भने त हाम्रा प्रार्थनाहरू शब्दहरू मात्र हुन्छन्। चीन देशमा विश्वासीहरू रुन्छन्, अनि परमेश्वर ओर्लेर तिनीहरूकहाँ आउनुहुन्छ। परमेश्वरबिना जवान मानिसहरूलाई दिने हामीसँग केही पनि छैन। हामी तपाईंहरूलाई पार्टी दिन सक्छौं। तर हामी तपाईंहरूलाई परमेश्वर दिन सक्दैनौं! हामी तपाईंहरूलाई बास्केटबल खेल दिन सक्छौं। तर हामी तपाईंहरूलाई परमेश्वर दिन सक्दैनौं! अनि यदि हामी तपाईंहरूलाई परमेश्वर दिन सक्दैनौं भने तपाईंहरूका निम्ति हामीसँग केही पनि छैन। तपाईंहरूको एकलोपन हटाउने केही पनि छैन। तपाईंहरूको हृदयलाई आनन्द दिने केही पनि छैन। तपाईंहरूको आत्मा बचाउने केही पनि छैन। तपाईंहरू हामीकहाँ आउनुहुन्छ अनि हामीसँग तपाईंको अगाडि प्रस्तुत गर्ने केही पनि हुँदैन। पार्टीबाहेक अरू केही पनि छैन। जन्मदिनको केकबाहेक केही पनि छैन। पुरानो कार्टुनबाहेक अरू केही छैन। तपाईंहरूको अगाडि प्रस्तुत गर्ने, तपाईंहरूलाई सहायता गर्ने, तपाईंहरूलाई नरकको आगोबाट बचाउने केही पनि हामीसँग छैन। परमेश्वर हामीसँग हुनुभएन भने हामीसँग केही पनि हुँदैन। एक दुइ ओटा भजन, प्रार्थनाका केही शब्दहरूबाहेक अरू केही पनि हुँदैन। अधमरो प्रवचनबाहेक अरू केही हुँदैन। हामी बाँझो हुन्छौं। हामी असहाय बन्छौं। तपाईंहरूलाई चाहिएको कुनै पनि कुरा हामीसँग हुँदैन। हामीसँग परमेश्वर हुनुभएन भने तपाईंहरूका निम्ति हामीसँग केही पनि हुनेछैन!

दुइ शनिबार अघिको राति मैले तपाईंहरूलाई हामीले कण्ठ गरेको बाइबल पद मुखस्त भन्न लगाएको थिएँ। तपाईंहरूमध्ये धेरै जनाले त्यो मुखस्त भन्नुभयो।

"आकाश फटाएर तपाईं तल आउनुभए, र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! आगोले झिँजामिजा डढाएर, र पानी उमालेझैं, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस्! जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्थितिमा कामे" (यशैया ६४:१-३)

तपाईंहरूमध्ये कसै-कसैले ती वचनहरू वाचन गर्नुहुँदा मैले परमेश्वर ओर्लेर आउनुभएको महसुस गर्न सकें। म आफैभित्र प्रेरित भएँ। मेरो हृदय परमेश्वरको शक्तिद्वारा प्रेरित भयो। मैले निमन्त्रणा दिएँ। कुनै प्रवचन प्रचार गरिएन। कुनै प्रार्थना चढाइएन। केवल ती शब्दहरू भनिए,

"आकाश फटाएर तपाईं तल आउनुभए, र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! आगोले झिँजामिजा डढाएर, र पानी उमालेझैं, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस्! जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्थितिमा कामे" (यशैया ६४:१-३)

अनि श्रीमती............ले आँसुसहित प्रार्थना गरिन्! अनि जेसन............ले पीडाको आवाज निकाल्यो र डाँको छाडेर रोयो। रिबेका........... रुँदै वेदीको छेउमा आइन्। कसैले भन्यो, "अब्राहाम...........लाई के गर्ने?"ऊ आउन थाल्यो। तर फर्केर गयो र भाग्यो। तीन जना व्यक्ति उसको पछिपछि दगुऱ्यो। भूतात्माहरू निस्किए। आँसुहरू बगाइए। बिन्तीहरू चढाइए। अन्त्यमा उसले शान्ति पायो। त्यसको केही दिनपछि उसले उद्धार पायो। फेरि क्रिस्टिना....... आइन्। मैले डा. जोन केगनलाई अर्को व्यक्तिसँग कुरा गर्न बोलाउनु अघि उनले तिनलाई केही कुरा भने। उ आफ्नै कोसिसले येशूमा आइन्, अनि डा. केगनले तिनको जीवन गवाही सुनेर भने,"उ मृत्युदेखि जीवनमा सरेकी छ।" तिनले क्रूसमा टाँगिनुभएका उद्धारकर्ताको रगतद्वारा मुक्ति पाइन्। अब्राहाम.......... को साथमा प्रार्थना गरेपछि ज्याक गन्न र मैले स्तुति-गीत गायौं। अगस्त १८,२७ र २८, यी तीन दिनमा हामीले १३ जना आशालाग्दो नयाँ विश्वासीहरू पायौं। यो कुरा मैले एक जना प्रचारकलाई भनें, र उसले भन्यो,"तपाईंहरूले केही जागृतिको अनुभव गरिरहनुभएको छ।" कुरा साँचो थियो, तर मानिसहरूलाई विश्वासमा ल्याएपछि त्यो सुरु भएको थियो। यो प्रायः ख्रीष्टियनहरूले तिनीहरूका पापहरू स्वीकार गरेपछि सुरु हुँदछ। तर चार जना ख्रीष्टियनले मात्र आफ्ना पापहरू स्वीकार गरे अनि जागृत भए। मात्र चार जना ख्रीष्टियन! बाँकी तपाईंहरू सधैंझैं चिसो र जीवनरहित हुनुहुन्थ्यो।

क................. ................... करिब छ फिट अल्गो छ। रिसाएको अनुहार भएको, ठूलो डालको तिनी अफ्रिकी मूलका-अमेरिकी हुन्। तिनले घुँडा टेके अनि धेरै आँसु बगाउँदै तिनी रोइरहे। विगत आइतबार राति उद्धार पाउने तिनी अन्तिम व्यक्ति थिए।

तर ती सेवाहरूमा मैले दुइ ओटा कुरा देखें, जसले मलाई विचलित बनायो, र अझै पनि बनाइरहेछ। मलाई विचलित बनाउने पहिलो कुरा यो थियो कि ती १३ जनाले उद्धार पाउँदा कसैले पनि आनन्द मनाएन। डा. केगनले दुइ वा तीनचोटि तिनीहरूलाई जाँचे। उनले तिनीहरूले उद्धार पाएका छन् भनी भने। तपाईंहरू रमाउनुभएन। डा. केगनले तिनीहरूका कुरा सुनेर तिनीहरूले उद्धार पाएका आशा गर्न सकिन्छ भनेका कुरा मैले तपाईंहरूलाई बताउँदा पनि रमाउनुभएन। ज्याक र मैले मात्र आफ्नै इच्छाले स्तुति-गीत गायौं। प्रशंसाका आवाजहरू निस्किएन। परमेश्वरलाई प्रशंसा चढाइएन। बिस्तारै ताली मात्र बजाइए। मधुरो, मनतातो प्रशंसा मात्र! जागृतिहरूमा तपाईंहरूले पढ्ने कुनै प्रकारको खुशीको आवाज थिएन। तपाईंहरू जो ख्रीष्टियन हुनुहुन्छ, ती छोटो सेवाहरूमा १३ जनाले विश्वास गर्दा कुनै आनन्द मनाउनु भएन। कुनै मुस्कुराहट थिएन! हल्लेलूयाह भनिएन! जागृतिहरूमा मैले देखेकोजस्तो कुनै खुशीको आवाज थिएन। विगतमा भएका जागृतिको वर्णनमा पढिएकोजस्तो धन्यवाद दिने काम भएन! कुनै प्रकारको रमाहट भएन। मैले उद्धार पाउनेहरूका नाउँहरू पढदा केवल बिस्तारै ताली बजाइयो। मैले सोचेको थिएँ, तपाईंहरू खडा हुनुहुनेछ, र जोड्जोड्ले ताली बजाउँदै "परमेश्वरको प्रशंसा होस्" भन्दै कराउनुहुनेछ। तर त्यस्तो भएन। त्यस्तो ठूलो विजयको कुरामा पनि बिस्तरै ताली मात्र बजाइयो। मलाई विचलित पार्ने पहिलो कुरा यही थियो।

मलाई विचलित पार्ने दोस्रो कुरा, ती सेवाहरूमा हाम्रो चर्चको लामो समयदेखिका चार जना ख्रीष्टियनको जीवनमा मात्र जागृति आयो। चार जना मात्र! अरू प्रत्येक ख्रीष्टियन पहिलेको झैं चिसो र गतिहीन अवस्थामा नै रह्यो। एक जना व्यक्तिले भन्यो,"ममा जागृति आयो। तर श्रीमती......... जस्तो होइन।" मेरा प्रिय दाज्यूभाइ, दिदीबहिनीहरू, यदि तपाईंहरू श्रीमती....... जस्तो बन्नुभएन भने तपाईंमा जागृति आएको हुँदैन! यदि तपाईंहरू श्रीमती......... जस्तो हुनुभएन भने तपाईंहरू परमेश्वरद्वारा छोइनुभएको हुँदैन!

मैले डा. केगनलाई उद्धार पाइसकेका तपाईंहरूको माझमा किन थोरै मात्र जागृति आएको भनी सोधेँ। उनले भने तपाईंहरू भावनाशून्य र अविश्वासी हुनुहुन्छ। मलाई लाग्छ, तिनले भनेका कुरा सही हो। आत्माको ठूलो काम भयो अनि १३ जना व्यक्तिले विश्वास गरे, तर तपाईंहरू भावनाशून्य हुनुभयो। तपाईंहरूले त्यसमा विश्वास गर्नुभएन। हाम्रो बीचमा परमेश्वरले ठूलो काम गर्नुभएको थियो, तर तपाईंहरूले त्यसमा साँच्चै विश्वास गर्नुभएन। तपाईंहरूले त्यसमा साँच्चै विश्वास किन गर्नुभएन? त्यसको कारण म तपाईंहरूलाई बताउँछु। कारण यही हो कि तपाईंमा केही कुरा गलत छ! तपाईंमा कुनै कुरा अति नै गलत छ! तपाईंमा खुसीको आँसु थिएन। तपाईंमा आनन्दको कुनै प्रतिक्रिया थिएन। तपाईंमा कुनै आनन्द थिएन, किनकि तपाईंको हृदय गलत छ। तपाईंको हृदय गलत छ, किनकि तपाईंले होसियारीसाथ त्यसको जाँच गर्नुभएको छैन। तपाईं शैतानको छलमा पर्नुभएको छ। त्यो कुरा तपाईं थाहा पनि गर्नुहुन्न। तपाईं "शैतानका युक्तिहरूद्वारा" छलमा पर्नुभएको छ भनी थाहा पनि पाउनुहुन्न। शैतानले तपाईंलाई छलेको र धोखा दिएको छ भनी तपाईं थाहा पाउनुहुन्न! अहो, यस्तो प्रकारले तपाईं कसरी " प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् हुन" सक्नुहुन्छ? शैतानले तपाईंलाई छलेको र धोखा दिएको छ भन्ने थाहा पाउनुभएन भने त्यसको विरुद्ध कसरी " लडाइँ गर्न" सक्नुहुन्छ?(हेर्नुहोस्, एफिसी ६:१०-११)। डलास थिअलजी सेमिनरीका डा. मेरिल एफ. अङ्गरले भन्नुभएको छ," आत्मिक र विजयी जीवन जिउने ख्रीष्टियनहरूले आत्मिकता र ख्रीष्टियन प्रयोजनको जोरदार विरोध गर्ने शैतान र दुष्टात्माहरूसित ठूलो लडाइँ गर्नेछन्,( बिव्लिकल डिमोनोलजी, क्रेगेल,१९९४, पृष्ठ १०१)।

दाज्यूभाइ, दिदीबहिनीहरू, हामीले आ-आफ्नो हृदय जाँच्नुपर्छ। हामीले आफ्ना पापहरू स्वीकार गर्नैपर्छ, "ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं"(२ कोरिन्थी २:११)। डा. लोयड जोनेसले भन्नुभएको छ, "आज चर्चको नराम्रो अवस्था हुनुको एउटा मुख्य कारण शैतानलाई भुलिदिनु हो। चर्चलाई बेहोसी र भ्रममा पारिएको छ; त्यसलाई त्यो लडाइँको बारेमा थाहै छैन(क्रिश्चियन वरफेर, ब्यानर अफ त्रुथ, १९७६, पृष्ठ २९२, १०६)। त्यो लडाइँको बारेमा केही थाहा छैन। तपाईंका पापहरूले तपाईंको हृदयलाई बोधो पारिदिएको छ भनी तपाईंलाई थाहा छैन। स्वीकार नगरिएका पापहरूले तपाईंलाई परमेश्वरदेखि अलग गरेको छ भन्ने तपाईंलाई थाहा छैन!

हामी शैतानमाथि विजय कसरी पाउन सक्छौं? सबैभन्दा पहिले हामीले परमेश्वरसँग हाम्रो हृदयका पापहरू देखाइदिनुहोस् भनी बिन्ती गर्नुपर्छ। हामीले साँचो रूपले यसरी प्रार्थना गर्नुपर्छ,

"हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोऱ्याइदिनुहोस्" (भजन १३९:२३-२४)।

तपाईंले चर्चको निम्ति गर्नुहुने काम गर्न नछाड्नुहोस्। तपाईंहरूमध्ये धेरैले हाम्रो चर्चमा कठोर परिश्रम गर्नुहुन्छ। तपाईं कठोर परिश्रम त गर्नुहुन्छ, तर तपाईंको हृदयमा पाप छ। प्रार्थना गर्न पनि नछाड्नुहोस्। तपाईंले प्रत्येक दिन प्रार्थना गर्नुभए तापनि तपाईंको हृदयमा दुष्टता हुन सक्छ। मैले हाम्रो चर्चको एक जना व्यक्तिलाई सोधें,"तपाईं ठिकै हुनुहुन्छ?" उसले जवाफ दियो, "ठिकै छु।" उसले आफू ठिकै छु भन्ने सोचेको थियो। तर त्यसपछि मैले उसको एउटा गतिलो पाप देखाइदिएँ, जसले उसलाई नाश पारिरहेको थियो। उसले भन्यो,"मैले त्यो पाप हो भन्ने कहिल्यै पनि सोचेको थिइनँ।" के तपाईंको हृदयमा पनि त्यस्तै भएको हुन सक्छ? के तपाईंको हृदयमा त्यस्तो कुनै पाप हुन सक्छ, जसको विषयमा तपाईंले कहिल्यै पनि सोच्नुभएको छैन?

हाम्रो चर्च विभाजन हुँदा तपाईंहरू हाम्रो चर्चप्रति बफादार रहनुभयो। तर त्यतिमै नबस्नुहोस्। तपाईं हाम्रो चर्चमा स्थिर भएर बस्न सक्नुहुन्छ र पनि तपाईंको हृदयमा तपाईंले 'कहिल्यै नसोच्नुभएको' पाप हुन सक्छ। तपाईंहरूमध्ये कतिले आफ्ना छोराछोरीले उद्धार पाऊन् भनी प्रार्थना गरिरहनुभएको छ। तर तपाईंका प्रार्थनाहरूको उत्तर दिइएको छैन। के तपाईंको हृदयमा लुकेको कुनै पापको कारण यस्तो भएको हो? कुनै-कुनै पापको बारेमा तपाईं कहिल्यै पनि विचार गर्नुहुन्न। तर त्यो पाप हो, अनि अहिले तपाईंले त्यो महसुस गर्नुहोस् भनी म प्रार्थना गर्दछु। तपाईंले आफ्ना छोराछोरीहरूका निम्ति गर्नुभएका प्रार्थनाहरूको उत्तर तबसम्म पाउनुहुन्न, जबसम्म तपाईं आफ्नो पाप स्वीकार गर्नुहुन्न। परमेश्वरको वचनले भन्छ,"यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन"(भजन ६६:१८)। केवल शुद्ध पारिएका ख्रीष्टियनहरूले तिनीहरूका प्रार्थनाका उत्तर पाउन सक्छन्। तपाईंले आफ्न दाइ वा बहिनीले उद्धार पाऊन् भनी प्रार्थना गर्नुभयो। तर तपाईंको प्रार्थनाको उत्तर दिइएको छैन। सायद तपाईं त्यसको उत्तर नपाऊञ्जेल "प्रार्थना गरिरहनेछु" भन्दै आफूलाई सान्त्वना दिनुहुन्छ। तर तपाईं जुन अवस्थामा हुनुहुन्छ, त्यसैमा रहेर "प्रार्थना गरिरहन" सक्नुहुन्न। ,"यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन"(भजन ६६:१८)। तर तपाईं भन्नुहुन्छ,"यो सानो पाप हो।" शैतानले तपाईंलाई त्यो "सानो" भनेको थियो- तर तपाईंले बुझ्नुपर्छ, त्यसले तपाईंको प्रार्थनालाई रोकिरहेको छ। तपाईंले परमेश्वरको अगाडि तपाईंको हृदयको पाप स्वीकार गर्नुपर्छ। तपाईंले ती स्वीकार गर्नैपर्छ, नत्र प्रभुले तपाईंको प्रार्थना सुन्नुहुनेछैन।

जवान सुसमाचार प्रचारक इभान रोबर्टस् सन् १९०४ को वेल्सको जागृतिमा ठूलो रूपमा चलाइएका थिए। इभान रोबर्टसले भने, जागृतिमा आत्मा आउनुभन्दा अघि "हामीले चर्चलाई सबै खराब भावना-विचारहरूबाट मुक्त गर्नुपर्छ- सबै दुर्भावना(घृणा, तीतोपन), डाह, पूर्वाग्रह (अरूहरूलाई दोष लाउने), अनि भूलभ्रान्तिहरू(असहमति, अहङ्कार)। सबै अपराधहरू(चर्चमा अरूहरूसँग गरिएका) स्वीकार गर्दै ती क्षमा नभएसम्म प्रार्थना नगर्नुहोस्, तर यदि तपाईंलाई क्षमा गर्न सक्दिनजस्तो लाग्छ भने घुँडा टेक्नुहोस् र परमेश्वरसित क्षमा गर्ने आत्मा माग्नुहोस्, र तपाईं त्यो पाउनुहुनेछ"(बेरियन एच. एडवर्ड,रिभाइभल, इभान्जलिकल प्रेस, २००४, पृष्ठ ११३)। "सामान्य समयमा ख्रीष्टियनहरू त्यस्ता कुरा गर्दछन् । तर साँचो जागृतिमा ख्रीष्टियनको मनमा गोप्य पापहरू प्रकट गरिन्छ, अनि त्यो स्वीकार नगरूञ्जेल शान्ति हुँदैन" (एडवर्ड, ऐजन, पृष्ठ ११४)।

सन् १९६९ र १९७० मा चिनियाँ ब्याप्टिस्ट चर्चमा ख्रीष्टियनहरू पापप्रति भयानक रूपले कायल भए। मैले त्यो देखेको थिएँ। कहिलेकाहीं पाप मानिलिनेहरूको घुइँचो हुन्थ्यो। मानिसहरू अनियन्त्रित भएर रून्थे। तर पापप्रति कायल नभइ र शोकबिना कुनै किसिमको जागृति (ख्रीष्टियनहरूको बीचमा)भन्ने कुरा हुँदैन। श्रोताहरू बस्ने भवनको एकातिर कोही रुन थाल्यो। त्यसपछि सबै जना रून थाले। पाप स्वीकार गर्दै, रुँदै, प्रार्थना गर्दै र मधुरो सोरमा भजन गाउँदै सेवाहरू घन्टौंसम्म चल्थे। अरूले के सोच्ला भन्ने कसैलाई पर्वाह थिएन। तिनीहरू परमेश्वरको आमने-सामने हुन्थे।

ख्रीष्टियनहरूमा पापको गहन बोध, असजिलोपन र नम्रता नभइञ्जेल कुनै जागृति हुँदैन। त्यो मौनता ती मानिसहरूको सुँकसुँकाइद्वारा तोडियो जुनहरूसँग परमेश्वरले व्यवहार गरिरहनुभएको थियो। मेरा चिनियाँ पास्टर डा. तिमोथी लिनले अब के गर्नुपर्छ भनी जानेका थिए। उनले त्यस्तो हुन दिए, किनकि उनले परमेश्वर आफ्ना मानिसहरूको बीचमा हिँड्डुल गरिरहनुभएको छ भन्ने कुरा चीनमा पाएको आफ्नो अनुभवबाट जानेका थिए। त्यो मैले अहिलेसम्म देखेको सेवाहरूको अति सुन्दर क्रम थियो। हाम्रो चर्चमा पनि परमेश्वरले त्यसै गर्नुभएको देख्न पाउँ भनी म कति धेरै प्रार्थना गर्दछु। जब चार जना ख्रीष्टियनले आफ्ना हृदयमा पापको निम्ति दोषी भएको महसुस गरे अनि त्यो स्वीकार गरे, तब हामीले "जागृतिको छुवाइ" पाएका थियौं। पवित्र आत्मा ओर्लेर आउनुभयो र हराएका १३ जना व्यक्तिको हृदय परिवर्तन भयो। तर हाम्रो चर्चको अरू सदस्यमा कुनै प्रभाव परेन। यदि चार जना ख्रीष्टियनमा जागृति आउँदा १३ जना व्यक्तिको हृदय परिवर्तन भएको थियो भने, विचार गर्नुहोस्, तपाईंहरूमध्ये १५ वा २० जनाले श्रीमती........ ले झैं आफ्ना हृदयका पापहरू स्वीकार गर्नुभयो भने के हुन सक्छ! के तपाईं आज राति आफ्ना पापहरू स्वीकार गर्नुहुनेछ? वा के आज राति कुनै आनन्द नपाई घर जानुहुनेछ? पाप-स्वीकार नगरी? आँसुहरू नबगाइ? जागृति आएको हृदयबिना? सधैंझैं चिसो र मृत अवस्थामा घर जानुहुनेछ?

श्री किउ डङ लीले भनेका छन्,"म 'ती ३९' मध्ये एक हुँ। हाम्रो चर्चमा ठूलो विभाजन हुँदा मेरा मित्रहरू र अरूहरू यो चर्च छोडेर जाँदा म यही चर्चमा बसें। मैले उद्धार पाएको थिएँ। जब डा. हिमर्सले म विश्वासबाट पछि हटेको छु भन्नुभयो, मैले सोचें,'मलाई अरू कुन कुरा चाहिन्छ र? म अघिबाटै विश्वासमा आइसकेको छु। मलाई अरू कुन कुराको खाँचो छ र?' मैले प्रभु येशूप्रतिको मेरो पहिलो प्रेम गुमाइसकेको छु भनी थाहा पाएको थिइनँ। डा. हिमर्सले प्रकाश २:४ र ५ उदधृत गर्नुभयो," तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ। यसकारण कहाँबाट खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर.."(प्रकाश २:४-५)। त्यसपछि मैले बुझें कि उद्धार पाउँदा सुरुमा म जस्तो थिएँ, त्यस्तो अब थिइनँ। 'जस्तो म छु, हो तपाईंको' र 'अचम्मको अनुग्रह' जस्ता भजनहरू गाउँदा मेरा आँखाबाट खुशीका आँसुहरू झर्थे। तर अहिले म कुनै प्रेम र आनन्दबिनै ती शब्दहरू गाउने गर्दछु। अहिले म ठूलो सोरमा प्रार्थना गर्दथें, तर मेरा प्रार्थनाहरू शब्दहरू, असल शब्दहरू भएको खोक्रो प्रार्थना मात्र हुन्छन्। म अझै पनि क्रममा र तर्कसंगत रूपले प्रार्थना गर्थें, तर परमेश्वरले उत्तर दिनुहुनेछ भन्ने आशा नराखि प्रार्थना गर्थें। मेरो ठूलो सोरको प्रार्थना शब्दहरू मात्र हुन्थे। ती खोक्रा प्रार्थनाहरू थिए। तब मैले मेरा पापहरू, मेरो हृदयमा भएका पापहरू स्वीकार गर्नुपर्छ भनी बुझें। पवित्र बाइबलले भनेको वचन मैले सम्झें,

"यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ"(१ यूहन्ना १:९)।

मैले भजनकारले गरेका प्रार्थना सम्झें, "तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई समाल्न इच्छुक आत्मा दिनुहोस्"(भजन ५१:१२)। तिनले भनेका वचन मैले सम्झें,"तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न"(भजन ५१:१७)।

श्री ली 'ती ३९' मध्ये एक थिए, जसले हाम्रो चर्चलाई कङ्गाल हुनबाट बचाएका थिए। तिनी विश्वासयोग्य डिकन उम्मेद्वार थिए। मैले प्रचार गर्दा तिनी मञ्चमा मेरो पछिल्तिर बस्थे। तिनी हाम्रा मानिसहरूका निम्ति एक उदाहरण थिए। तिनले भने, 'मलाई अरू कुन कुरा चाहिन्छ र?' परमेश्वरले तिनको हृदयका पापहरू तिनले स्वीकार गर्नु आवश्यक छ भनी देखाउनुभयो। तिनी अगाडि आए र आफ्ना पापहरू स्वीकार गरे। तिनी यति धेरै रोए कि तिनको अनुहार नै रातो भयो। परमेश्वरले तिनलाई क्षमा दिनुभयो र तिनको हृदयमा फेरि आनन्द हालिदिनुभयो। अहिले तिनी रुँदै र आनन्दसहित प्रार्थना गर्छन्, जुन आनन्द तिनले गुमाएका थिए। तिनले भने,"हामीसँग खोक्रा प्रार्थनाहरू छन्। सङ्गतिमा हातहरू मिलाउँदा हामीसँग बनावटी मुस्कानहरू हुन्छन्, झुटा मुस्कानहरू! साँचो प्रेम हुँदैन। झुटा मुस्कानहरू मात्र हुन्छन्।"

श्री ली चर्चको एक जना अगुवा हुन्। तर यदि तपाईंले आफ्नो पहिलो प्रेम हराउनुभएको छ भने चर्चको अगुवा कसरी बन्न सक्नुहुन्छ? तपाईं आफूसँग भएको त्यस्तै खोक्रो धर्मतिर मात्र जवान मानिसहरूलाई डोऱ्याउन सक्नुहुन्छ। हाम्रो चर्चको हरेक अगुवाले आफ्ना पापहरू स्वीकार गर्नुपर्छ, नत्र हाम्रो चर्चका निम्ति कुनै आशा छैन। मैले भनें, "हामीकहाँ आउने मानिसहरूले हाम्रो चर्च धेरै राम्रो छ भन्छन्। साँचो प्रेमबिना हामीसँग झुटो धर्म मात्र हुन्छ भनी तिनीहरू बुझ्दैनन्। हाम्रा अगुवाहरू र सदस्यहरूले आफूलाई परमेश्वरको खाँचो छ भन्ने महसुस गर्दैनन् र रुँदै आफ्ना पापहरू स्वीकार गर्दैनन् भने र हाम्रा हृदयलाई निको पार्न आफ्नो रगत बगाउनुहुने अनि हामीले सुरुमा उद्धार पाएको क्षण हामीसँग भएको पवित्र प्रेम फेरि हामीलाई दिनुहुने प्रभु येशूको रगतद्वारा पुनर्स्थापित हुँदैनन् भने हाम्रो चर्च पनि अर्को मरेको सुसमाचारीय चर्च बन्नेछ। प्रभु येशूले भन्नुभयो,"यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।" दाज्यूभाइ, दिदीबहिनीहरू, हाम्रो चर्चमा तबसम्म कहिल्यै पनि साँचो प्रेम हुनेछैन, जबसम्म हामीमध्ये धेरै, बूढा र जवानले आफ्ना पापहरू स्वीकार गर्दैनौं

मैले प्रार्थना गरिरहेको छु कि तपाईंहरूले मेरो कुरा सुन्नुहुनेछ र आज राति आफ्ना पापहरू स्वीकार गर्नुहुनेछ। कृपया खडा भएर भजन गाउनुहोस्, "हे परमेश्वर, मलाई जाँच्नुहोस्।"

"हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्। मलाई जाँच्नुहोस्, र मेरा चिन्ताहरूलाई जान्नुहोस्। हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि, र मलाई अनन्तको मार्गमा डोऱ्याइदिनुहोस्" (भजन १३९:२३-२४)।

अब यो भजन गाउनुहोस्, "मेरो दर्शन सारा भर्नुहोस्, पाप शून्य होस्"

मेरो दर्शन सारा भर्नुहोस्, पाप शून्य होस्
   भित्र चम्केको चहकमा छायाँ परोस्
म देखूँ मात्र तपाईंको धन्य मुहार
   मेरो प्राण असिमित अनुग्रहमा रमाओस्।
मेरो दर्शन सारा भर्नुहोस्, उद्धारकर्ता ईश्वरीय
   तपाईंको महिमाले मेरो आत्मा नचम्किञ्जेल
मेरो दर्शन सारा भर्नुहोस्, कि सबले देखून
   तपाईंको पवित्र रूप झल्केको ममा।
("फिल अल माइ भिजन"(एभिस बर्गजीसन क्रिस्टियनसेन,
      १८९५-१९८५ द्वारा रचित)

कृपया, यहाँ वेदीमा आएर आफ्ना पापहरू स्वीकार गर्न नहिच्किचाउनुहोस्। कृपया, यहाँ आउन नडराउनुहोस्। कृपया, हाम्रो चर्च फेरि जिउन सकोस् भनेर यहाँ आउनुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
      ( ''रिभाइभ दाय वर्क''- अलबर्ट मिडलेनद्वारा रचित, १८२५-१९०९)