Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




थुमाको मौनता

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ८)
THE SILENCE OF THE LAMB
(SERMON #8 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२४ मार्च, २०१३, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 24, 2013

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।


ख्रीष्टियन शहिदहरूले बोलेका अन्तिम कुराहरू सुन्दा सधैं प्रेरणा पाइन्छ। तिनीहरूले मर्ने बेलामा भनेका कुराहरू सुन्दा हाम्रो हृदय उत्साहित हुन्छ। श्री पोलिक्रेप दोस्रो शताब्दीको प्रारम्भतिरका एक प्रचारक थिए। अंग्रेजीमा तिनको नाउँ पोलिक्रेप र लेटिनमा पोलिक्रेपस थियो। पोलिक्रेप प्रेरित यूहन्नाका शिष्य रहेका थिए। धेरै वर्षपछि मूर्तिपूजक न्यायाधीशको सामुन्ने खडा भए, जसले तिनलाई भने, ‘तिमी एक वृद्ध मानिस हौ। तिमी मर्नु पर्ने कुनै आवश्यकता छैन। एउटा शपथ खाऊ, र म तिमीलाई छोडिदिनेछु। हेर, ‘प्रभु कैसर (सिजर)’ भन्नु र उनलाई धुप चढाउनुमा के हानि छ र? तिमीले कैसरको नाउँमा शपथ मात्र खानुपर्छ र म खुशीसाथ तिमीलाई छोडिदिनेछु। ख्रीष्टलाई इन्कार गर, र तिमी बच्नेछौ।’

पोलिक्रेपले जवाफ दिए, ‘मैले छयासी वर्षसम्म (ख्रीष्टको) सेवा गरेको छु, र त्यसले मलाई कहिल्यै नराम्रो गरेन। मलाई बचाउनुहुने राजामाथि म कसरी दोष लगाउन सक्छु?’ न्यायाधीशले भने, ‘म तिमीलाई आगोमा हाल्नेछु।’ पोलिक्रेपलेले जवाफ दिए, ‘जुन आगोको डर तपाईं मलाई देखाउँदै हुनुहुन्छ, त्यो एक घन्टापछि निभ्छ। के तपाईंलाई अधर्मी (हराएका) मानिसहरूका निम्ति राखिएको आउन लागेको न्यायको आगो र अनन्त दण्डको बारेमा थाहा छैन? किन ढिला गर्नुहुन्छ? आउनुहोस्, तपाईं के गर्न चाहनुहुन्छ त्यो गर्नुहोस्।’

यति भएपछि न्यायाधीशले घोषणा गर्ने व्यक्तिलाई रंगशालामा गएर मानिसहरूको अगि यो घोषणा गर्न लगाए, ‘पोलिक्रेपले आफू एक ख्रीष्टियन हो भनी स्वीकार गरे।’ मूर्तिपूजक मानिसहरूको भीड यसो भन्दै चिच्यायो, ‘त्यसलाई जिउँदै जलाइयोस्!’ ठूलो आगो तयार गरियो। मृत्युदण्ड दिने मानिसहरू पोलिक्रेपको छेउमा आए र तिनलाई एउटा खम्बामा कीला ठोकेर उभ्याए। पोलिक्रेपले शान्त भावमा भने, ‘मलाई यत्तिकै छाडिदेओ। जसले मलाई आगो सहने शक्ति दिनुहुन्छ, उहाँले मलाई चितामा नहल्ली बस्ने शक्ति पनि दिनुहुन्छ, तपाईंहरूले कीलाबाट आशा गर्नुभएको सुरक्षा पनि त्यस्तो मजबुत हुँदैन।’

अनि पोलिक्रेपले ठूलो सोरमा प्रार्थना गरे, तिनलाई ‘त्यसरी मर्न योग्य ठानिएकोमा’ तिनले परमेश्वरको प्रशंसा गरे। आगो बालियो, अनि त्यसको ज्वालाले तिनलाई छोप्यो। तिनको शरीर आगोमा टुक्रा-टुक्रा नभएकोले तिनलाई मार्नेहरूले छुरीले तिनको शरीर काटे। स्मुर्नाका पास्टर, प्रेरित यूहन्नाका शिष्य पोलिक्रेपको जीवन यसरी समाप्त भयो (हेर्नुहोस्, जेम्स सी. हेफ्ले, हिरोज अफ फेथ, मुडी प्रेस, १९६३, पृष्ठ १२-१४)।

स्पर्जनले हाम्रा गौरवशाली ब्याप्टिस्ट शहिद ‘सुश्री जेन बाउचर’ को विषयमा भनेका छन्... कि जब तिनलाई चर्च अफ इंगल्याण्डका दुइ बिशप क्रेनमेन र रिडलेको सामुन्ने ल्याइयो, उनीहरूले यस ब्याप्टिस्टलाई जलेर मर्नु सजिलो हुन्छ भन्दै तिनलाई खम्बामा बाँधी जलाएर मार्ने दण्ड दिए। तिनले भनिन्, ‘म पनि तपाईंहरू जस्तै ख्रीष्टकी एक साँचो सेविका हुँ; अनि तपाईंहरू आफ्नी लाचार बहिनीलाई मार्न चाहनुहुन्छ भने होसियार हुनुहोस्, नत्र परमेश्वरले रोमका ब्वाँसाहरू तपाईंहरूमाथि छोडिदिनुहोला, र तपाईंहरूले पनि परमेश्वरका निम्ति दुःख भोग्नुपर्ला।’ तिनले ठीक कुरा भनेकी थिइन्, किनकि ती दुवै पनि केही समयपछि परमेश्वरका निम्ति शहिद बने (हेर्नुहोस्, सी. एच. स्पर्जन, अल सफिसेन्सी मेगनिफाइड, द न्यू पार्क स्ट्रीट पुल्पिट, भाग ६, पृष्ठ ४८१-४८२)।

यो धेरै शताब्दी अघिको घटना भए पनि श्री पोलिक्रेप र सुश्री जेन बाउचरले खम्बामा जलेर मर्न लाग्दा पनि विश्वासको निम्ति दह्रिलो बयान दिए। तापनि प्रभु येशू ख्रीष्टलाई ताड्ना र मृत्युको धम्की दिइँदा उहाँले त्यसो गर्नु भएन। हो, उहाँ प्रधान पूजाहारीसँग बोल्नुभएको थियो। हो, उहाँ रोमी राज्यपाल पन्तियस पिलातससँग बोल्नुभएको थियो। तर जब उहाँलाई अधमरो हुने गरी कोर्रा लगाउने र क्रूसमा कीला ठोकेर मार्ने समय आउँदा उहाँ चुप लागेर बस्नुभएको कुरा अगमवक्ता यशैयाका वचनले अचम्म प्रकारले वर्णन गर्दछ।

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

तिनीहरूले उहाँलाई कुटदा उहाँ एक शब्द पनि बोल्नुभएन! तिनीहरूले उहाँलाई क्रूसमा कीला ठोक्दा उहाँ एक शब्द पनि बोल्नुभएन! हामी आजको हाम्रो बाइबल पद हेरौं अनि तीनवटा प्रश्नको उत्तर दिँदै त्यसबाट गहनरूपले पियौं।

१. पहिलो, येशू भनिने यी व्यक्ति को हुनुहुन्छ?

ती व्यक्ति को हुन् जसको विषयमा अगमवक्ता यसो भन्छन्,

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन...’ (यशैया ५३:७)।

बाइबलले हामीलाई बताउँछ, उहाँ महिमाका प्रभु, पवित्र त्रिएक परमेश्वरका दोस्रो व्यक्ति, शरीरमा आउनुभएका पुत्र परमेश्वर हुनुहुन्थ्यो! जसरी विश्वासको सारमा पनि यसो भनिएको छ, ‘साँचो परमेश्वरका साँचो परमेश्वर।’ हामीले प्रभु येशूलाई एक सामान्य मानवीय शिक्षक वा अगमवक्ता मात्र हुन् भनी सोच्नुहुँदैन। उहाँले हामीलाई उहाँको बारेमा त्यस्तो सोच्ने मौका दिनुभएको छैन, किनकि उहाँले भन्नुभएको छ,

‘पिता र म एकै हौं’ (यूहन्ना १०:३०)।

फेरि उहाँले भन्नुभयो,

‘पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मऱ्यो भने पनि जीवित हुनेछ’ (यूहन्ना ११:२५)।

यदि कुनै मानिसले यस्तो कुरा भन्यो भने हामी उसलाई भूत लागेको, भ्रमित, होश हराएको, चेतना हराएको, वा दिमाग बिग्रेको मानिस भन्छौं! तर जब येशूले पिता परमेश्वर र उहाँ एकै हुनुहुन्छ भनी भन्नुभयो, र ‘पुनरुत्थान र जीवन म नै हुँ,’ र यस्तै अरू कुराहरू भन्नुभयो, तब हामी रोकिन्छौं, र हामीमध्ये सबैभन्दा खराब व्यक्तिले पनि उहाँले भन्नुभएको यो कुरा सही होइन होला भनी सोच्छौं!

म सी. एस. लिविससँग सधैं अरू कुराहरूमा सहमत नभए पनि तिनले येशू ख्रीष्टको विषयमा भनेका कुरामा को असहमत हुन सक्छ? सी. एस. लिविसले भनेका छन्,

म यहाँ कुनै पनि त्यो व्यक्तिलाई रोक्ने कोसिस गरिरहेको छु, जसले मानिसहरूले उहाँको बारेमा भन्ने गरेका कुराहरू भन्छन्ः ‘म येशूलाई एक महान् नैतिक शिक्षकको रूपमा स्वीकार गर्न तयार छु, तर उहाँले परमेश्वर हुँ भनी गर्नुभएको दाबीलाई म स्वीकार गर्दिनँ।’ त्यही एउटा कुरा हामीले भन्नुहुँदैन। कुनै एक साधारण मानिसले येशूले भन्नुभएका कुराहरू भन्दैमा उ एक महान् नैतिक शिक्षक हुँदैन। कि त उ आफैलाई उमालेको फुल (अण्डा) भन्ने बौलाह हो, वा नरकको शैतान हो। तपाईंले आफ्नो निम्ति चुन्नु पर्छ। कि त यस मानिस परमेश्वरका पुत्र हुनुहुन्थ्यो, र हुनुहुन्छः वा त बौलाह वा अरू कोही हो। तपाईं उहाँलाई मूर्ख ठानेर कि चुप गराउन सक्नुहुन्छ, उहाँलाई थुक्न वा शैतान ठानेर हत्या गर्न सक्नुहुन्छ; वा त उहाँको चरणमा परेर उहाँलाई प्रभु र परमेश्वर भन्न सक्नुहुन्छ। तर हामी उहाँ एक महान् मानवीय शिक्षक हुनुहुन्छ भनी मूर्ख कुरा गर्दै नआऔं। उहाँले हामीलाई त्यसो भन्ने मौका दिनुभएको छैन। उहाँको उद्देश्य पनि त्यस्तो थिएन (सी. एस. लिविस, पीएचडी. मेर क्रिश्चियानिटी, हार्पर कोलिन्स, २००१, पृष्ठ ५२)।

‘तपाईं उहाँलाई थुक्न वा उहाँको हत्या गर्न सक्नुहुन्छ; वा त उहाँको चरणमा परेर उहाँलाई प्रभु र परमेश्वर भन्न सक्नुहुन्छ। तपाईंले निर्णय गर्नुपर्छ, किनकि येशूले भन्नुभयो,

‘बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन’ (यूहन्ना १४:६)।

मुख्य कुरा यही हो। तपाईं येशूसँग बौद्ध धर्म वा हिन्दु धर्म वा इस्लाम धर्म मिसाउन सक्नुहुन्न, किनकि येशूले हाम्रो निम्ति ‘त्यस्तो मौका छोड्नुभएको छैन। उहाँको उद्देश्य पनि त्यस्तो थिएन।’ ख्रीष्टले हाम्रो निम्ति अरू कुनै विकल्प छोड्नुभएको छैन। उहाँले भन्नुभयो, ‘मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।’ जसरी सी. एस. लिविसले भनेका छन्, ‘तपाईं उहाँलाई थुक्न, वा उहाँको हत्या गर्न सक्नुहुन्छ; वा त उहाँको चरणमा परेर उहाँलाई प्रभु र परमेश्वर भन्न सक्नुहुन्छ। तपाईंले आफ्नो निर्णय गर्नुपर्छ।’ तपाईंले दुइवटामा एउटा गर्नुपर्छ। कुनै पनि व्यक्ति यस कुरामा साँच्चै बीचमा रहन सक्दैन। उहाँले हाम्रो निम्ति अरू कुनै विकल्प छोड्नुभएको छैन।’

२. दोस्रो, येशूले उहाँलाई यातना दिने र मार्ने मानिसहरूको अगि आफैलाई बचाउन किन सक्नुभएन?

त्यस्तो किन भयो

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

महान् वैज्ञानिक अलबर्ट आइन्स्टाइन, एक ख्रीष्टियन नभए पनि, तिनले यसो भनेका छन्,

कुनै पनि व्यक्तिले येशूको वास्तविक उपस्थितिको अनुभव नगरी सुसमाचारहरू (चारवटा) पढ्न सक्दैन। हरेक शब्दमा उहाँको व्यक्तित्व पाइन्छ। मेरो कल्पना त्यस्तै जीवनले भरिएको छ (अलबर्ट आइन्स्टाइन, पीएचडी. द सेटेरडे इभनिङ पोस्ट, २६ अक्टोबर,१९२९)।

तापनि जब येशूलाई कोर्रा लगाइयो र क्रूसमा टाँगियो त्यसबेला उहाँले केही पनि गर्नुभएन! उहाँलाई कुट्ने र हत्या गर्नेहरूको अगि उहाँले आफ्नै बचाउ गर्न किन सक्नुभएन? फ्रान्सका दार्शनिक रुस्सो, कट्टर नास्तिक थिए, तापनि अचम्मको कुरा तिनले जे भनेका छन् त्यसमा यस प्रश्नसँग केही मिल्ने उत्तर दिएका छन्,

यदि सुकरात एक दार्शनिक जस्तो जिएका र मरेका थिए भने, येशू परमेश्वरजस्तै जिउनुभयो र मर्नुभयो (जिन-जेकस रुस्सो. फ्रान्सका दार्शनिक, १७१२- १७७८)

येशूले आफ्नै बचाउ गर्नु भएन, किनकि उहाँ संसारमा आउनुको उद्देश्य र दुःख भोगेर क्रूसमा मर्नु थियो। उहाँको मृत्यु हुनुभन्दा एक वर्ष अगि येशूले यो कुरा स्पष्ट बताउनुभएको थियो,

‘उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्मगुरु र मुख्य पूजाहारी हरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो’ (मत्ती १६:२१)।

दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्टेरीले भन्छ,

पत्रुसले भर्खरै येशू जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका थिए (मर्कूस ८:२९)। तापनि तिनले ख्रीष्ट संसारमा के गर्न आउनुभएको हो भनी बुझेका थिएनन्। तिनको विचार पनि अरू यहूदीहरूकै जस्तो थियो, जस्तै ख्रीष्ट संसारको राजा बन्न आउनुभएको हो। त्यसकारण, येशूले पत्रुसलाई उहाँले दुःख भोग्नुपर्छ, र मारिनुपर्छ भन्नुहुँदा, त्यो कुरा तिनले स्वीकार गर्न सकेनन्। त्यस्तो कुरा गर्नुभएकोमा तिनले येशूलाई हप्काए। येशूले उहाँ तीन दिनपछि मरेकोबाट फेरि जीवित हुनुहुनेछ भन्ने कुरा पनि बताउनुभयो। येशूलाई उहाँ मर्नुहुनेछ भन्ने कुरा मात्र थाहा नभएर उहाँ तेस्रो दिन फेरि जीवित हुनुहुनेछ भन्ने कुरा पनि थाहा थियो। चेलाहरूले यी सब कुरा बुझेका थिएनन् (थोमस हेल, दि एप्लाइड न्यू टेस्टामेन्ट कमेन्टेरी, किङ्ग्सवे पब्लिकेसन, १९९६, पृष्ठ २६०-२६१)।

तर हामीले यो बुझ्नुपर्छ। बाइबलले भन्छ,

‘पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो’ (१ तिमोथी १:१५)।

क्रूसमा हाम्रो पापका निम्ति भएको उहाँको मृत्यु र उहाँको पुनरुत्थानले हामीलाई जीवन दिन्छ। उहाँलाई कोर्रा लगाइँदा र क्रूसमा टाँगिँदा येशूले आफूलाई बचाउनका निम्ति केही बोल्नुभएन, किनकि उहाँले राज्यपाल पिलातसलाई भन्नुभयो, ‘यसैका निम्ति म जन्मेको हुँ,... यसैका निम्ति म यस संसारमा आएको हुँ’ (यूहन्ना १८:३७)।

३. तेस्रो, यो बाइबल पदले हामीलाई येशूले चुपचाप दुःख भोग्नुभएको बारेमा के भन्छ?

कृपया, खडा भएर एकचोटि फेरि ठूलो सोरमा यशैया ५३:७ पढ्नुहोस्।

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

तपाईंहरू बस्न सक्नुहुन्छ!

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो।’ डा. यङ्ग भन्छन्, यो पदलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, ‘उहाँले आफैलाई कष्टमा पर्न दिनुभयो।’ ‘कष्ट भोग्दै उहाँले आफ्नै इच्छामा दुःख उठाउनुभयो।... आफ्नो बचाउ गर्नुभएन वा उहाँको मुखबाट कुनै विरोधको वचन निस्किएन।’ कुनै पनि व्यक्तिले यो (अगमवाणी) पूरा भएको विचार नगरी यो पढ्न सक्दैन, जुन बेला पिलातसको न्यायासनको अगि यस साँचो दासले केही पनि जवाफ दिनुभएन। ‘तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन।’ (दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन); एडवर्ड जे. यङ्ग, पीएचडी. द बुक आफ आइजैया, एर्डमन्स, १९७२, भाग ३, पृष्ठ ३४८-३४९)

‘तब पिलातसले उहाँलाई भने, ‘तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ? तर उहाँले तिनलाई एउटै अभियोगमा पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्क परे’ (मत्ती २७:१३,१४)।

‘मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, ‘के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्’ (मर्कूस १५:३,५)।

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

यशैया ५३:७ मा ख्रीष्टलाई थुमासँग तुलना गरिएको छ। पुरानो करारमा मानिसहरूले परमेश्वरलाई बलि चढाउनाका निम्ति भेडाहरू मार्न ल्याउँथे। भेडालाई बलिको निम्ति तयार गर्न तिनीहरूले त्यसको सम्पूर्ण ऊन कत्रन्थे। ऊन कत्रँदा भेडा चुपचाप खडा बस्थ्यो। बलि चढाइने भेडा त्यसको ऊन कत्रँदा र त्यसलाई मार्दा चुपचाप बस्थ्यो, यसैले ‘उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

बप्तिस्मा दिने यूहन्नाले येशूलाई बलि चढाइने थुमासँग तुलना गरे, तिनले भने,

‘हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा’ (यूहन्ना १:२९)।

जब तपाईं विश्वासद्वारा येशूमा भरोसा राख्नुहुन्छ, क्रूसमा उहाँले चढाउनुभएको बलिदानले तपाईंको पापका निम्ति पूरा दाम चुकाउँछ, अनि तपाईं निर्दोष बनी परमेश्वरको सामुन्ने खडा हुनुहुनेछ। तपाईंको दोषका निम्ति उहाँको मृत्युले क्रूसमा क्षतिपूर्ति गरेको छ। अनि उहाँले त्यहाँ बगाउनुभएको रगतद्वारा तपाईंका पापहरू धोइएका छन्।

अमेरिकी इन्डियनका निम्ति प्रसिद्ध मिसनेरी डेभिड ब्रेनेर्डले तिनको सेवकाइको सुरुदेखि अन्त्यसम्म यो सत्यताको घोषणा गरे। अमेरिकी इन्डियनहरूलाई प्रचार गर्दा तिनी भन्थे, ‘मैले येशू र उहाँ क्रूसमा टाँगिनुभएको बाहेक अरू कुरा गरिनँ। ती मानिसहरूले हाम्रो निम्ति भएको ख्रीष्टको मृत्युको महान् अर्थ राम्रोसँगले बुझेका मैले पाएँ, मैले तिनीहरूका बानी-व्यवहार परिवर्तन गर्ने विषयमा धेरै शिक्षा (निर्देशन) दिनु परेन’ (पल लि टेन, टीएचडी., एनसाइक्लोपेडिया 7,700 अफ इलस्ट्रेसन, एसुरेन्स पब्लिसर्स, १९७९, पृष्ठ २३८)।

म जान्दछु, आज पनि यो कुरा सत्य छ। जब तपाईं एकपल्ट

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो’ (१ कोरिन्थी १५:३)।

भनी बुझ्नुहुन्छ र जब तपाईं एकपल्ट क्रूसमा टाँगिनुभएका र मरेकोबाट जीवित हुनुभएका उद्धारकर्तामा विश्वास गर्नुहुन्छ तब तपाईं ख्रीष्टियन बन्नुहुन्छ। तुलनात्मक रूपमा बाँकी कुराहरू बताउन र बुझ्न सजिलो छ। विश्वासद्वारा ख्रीष्टमा भरोसा राख्नुहोस् र तपाईंले उद्धार पाउनुहुनेछ।

स्पर्जनले आफू मर्न लागेको बेला भने, ‘मेरो ईश्वरशास्त्र चारवटा ससाना शब्दमा पाइन्छ - येशू मेरो निम्ति मर्नुभयो।’ यदि म फेरि उठ्न सकेँ भने यही नै प्रचार गर्नेछु भनेको होइनँ, तर यसको निम्ति मर्नु राम्रै हुन्छ। येशू मेरो निम्ति मर्नुभयो’ (टेन, ऐजन)। के तपाईं त्यसो भन्न सक्नुहुन्छ? के तपाईं ‘येशू मेरो निम्ति मर्नुभयो’ भन्न सक्नुहुन्छ? होइन भने, के बौरी उठ्नुभएका उद्धारकर्तामा समर्पित हुनुहुन्छ र आज बेलुकी उहाँमा विश्वास गर्नुहुन्छ? के तपाईं यसो भन्नुहुनेछ, ‘येशू मेरा निम्ति मर्नुभयो अनि म उहाँमा समर्पित हुन्छु, र उहाँको रगत र धार्मिकताद्वारा पूर्ण उद्धारका निम्ति उहाँमा भरोसा गर्छु?’ परमेश्वरले तपाईंलाई त्यसो गर्ने साधारण विश्वास देऊन्। आमेन।

कृपया, खडा भएर भजन किताबबाट ६ नम्बरको भजन, जोन वेस्लीले रचेका ‘के यो हुन सक्छ?’ गाउनुहोस्

के हुन सक्छ मलाई रुचि
   उद्धारकर्ताको रगतमा?
मेरो निम्ति उहाँ मर्नुभयो, कसले दियो दुःख उनलाई?
   मेरो निम्ति, जसले मृत्यु अपनाए?
उदेकको प्रेम! कसरी यो हुन सक्छ,
   कि मेरा परमेश्वर मेरो निम्ति मर्न पर्ने?
उदेकको प्रेम! कसरी यो हुन सक्छ,
   कि मेरा परमेश्वर मेरो निम्ति मर्न पर्ने?
   (‘एन्ड केन इट बी’- चार्ल्स वेस्ली, १७०७-१७८८)

यदि तपाईं येशूले तपाईंका पापहरू क्षमा गर्न र तपाईंको आत्मालाई बचाउन सक्नुहुन्छ भनी विश्वास गर्नुहुन्छ भने हामी तपाईंलाई ख्रीष्टियन कसरी बन्न सकिन्छ भन्नेबारे केही कुराहरू बताउन चाहन्छौं। कृपया, तपाईंको स्थानबाट उठेर यहाँदेखि पछिल्तिरको कोठामा जानुहोस्। डा. केगनले तपाईंहरूलाई एकान्त कोठामा लैजानुहुनेछ। अहिले नै यो भवनको पछिल्तिर जानुहोस्। श्रीमान् लि, कृपया यहाँ आएर प्रभुलाई ग्रहण गर्नेहरूका निम्ति प्रार्थना गर्नुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वारा पवित्रशास्त्र पठन गरियो– यशैया ५२:१३-५३:७
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘क्राउन अफ थ्रोनस,’ इरा एफ. स्टेनफिल- १९१४-१९९३- द्वारा रचित)


रूपरेखा

थुमाको मौनता

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ८)
THE SILENCE OF THE LAMB
(SERMON #8 ON ISAIAH 53)

द्वारा डा. आर.एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले पनि आफ्नो मुख खोलेन’ (यशैया ५३:७)।

१. पहिलो, येशू भनिने यी व्यक्ति को हुनुहुन्छ? यूहन्ना १०:३०; ११:२५; यूहन्ना १४:६

२. दोस्रो, येशूले उहाँलाई यातना दिने र मार्ने मानिसहरूको अगि आफैलाई बचाउन किन सक्नुभएन? मत्ती १६:२१; १ तिमोथी १:१५; यूहन्ना १८:३७

३. तेस्रो, यो बाइबल पदले हामीलाई येशूले चुपचाप दुःख भोग्नुभएको बारेमा के भन्छ? मत्ती २७:१३,१४; मर्कूस १५:३-५; यूहन्ना १:२९; १ कोरिन्थी १५:३