Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




त्यो पतित मानिस

THE FALL OF MAN
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२८ अप्रेल, २०१८, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, April 28, 2018


उत्पत्तिको पुस्तक बाइबलको ‘बीउको ड्याङ’ हो। उत्पत्तिको पुस्तकको एउटा सबैभन्दा चाखलाग्दो विशेषता के हो भने यसले आजका धेरै वटा झूटा कुराहरूको उत्तर दिँदछ। सी. एस. लिविसले तिनको जीवनको अन्त्यतिर डार्विनको विकासवादको सिद्धान्त आधुनिक समयको ‘प्रमुख झूट’ हो भने।

डार्विनको विकासवादको सिद्धान्तलाई उत्पत्तिको पुस्तकले दुइ प्रकारले झूटो साबित गर्दछ। पहिलो, हामीलाई भनिएको छ कि पशु-पक्षीहरू र वनस्पतिहरू समेत सोझै परमेश्वरद्वारा सृष्टि गरिएको हो। दोस्रो, उत्पत्तिको पुस्तकले बताउँछ कि, सबै वनस्पति र पशु-पक्षीहरूले ‘आ-आफ्नो किसिमको बीउ’ मात्र उत्पन्न गर्न सक्छन्। पशु-पक्षीहरू र वनस्पतिहरूले तिनीहरू आफैभित्रको ‘किसिम’ मात्र उत्पन्न गर्न सक्छन्। यस कुराले विकासवादको सिद्धान्तलाई झूटो साबित गर्दछ, जसले पुनरुत्पादन ‘विभिन्न प्राणीहरू’ को बीचमा पनि हुँदछ भनी भन्छ। विकासवादको एउटा सबैभन्दा कमजोर तर्क यो हो कि यसले एउटा ‘किसिम’ अर्को किसिममा जान सक्छ, अर्थात् एउटा ‘किसिम’ अर्को किसिममा विकास हुन सक्छ भनी भन्दछ। यो कुरा प्रमाणित भइसकेको छैन। यसरी उत्पत्तिको पुस्तकले विकासवादको सिद्धान्तको मुख्य अनुमान नै पूर्ण झूटो छ भनी देखाउँछ। एउटा कुकुर बद्लेर कहिल्यै पनि घोडा बन्दैन। एउटा चील बद्लेर कहिल्यै पनि कुखुरा बन्दैन। एउटा ‘किसिम’ बाट अर्को किसिममा जाने कुनै कुरा छैन। उत्पत्तिको पुस्तकले विकासवादको मुख्य अनुमानहरू फोहोर झूट भएको दर्शाउँछ।

दोस्रो, मानवजाति तिनीहरूका वातावरणका उत्पादन हुन् भन्ने झूटलाई पनि उत्पत्तिको पुस्तकले खण्डन गरेको छ। हाम्रा प्रथम मातापिता एक सिद्ध वातावरणमा जिएका थिए। तापनि उनीहरू पापी बने। र उनीहरूका पहिलो छोरा हत्यारा थियो!

तेस्रो, दुष्टताको समस्यालाई बुझ्न सकिँदैन भन्ने विचारलाई पनि उत्पत्तिको पुस्तकले झूटो साबित गरेको छ। अदनको बगैंचा धेरै भूतिय र शैतानिक कार्यहरू हुने स्थान थियो। शैतानले सर्पमा वास गऱ्यो, जसले हव्वालाई पाप गर्ने परीक्षामा पाऱ्यो। छ अध्यायका नफिलीमहरू सामान्य स्त्रीहरूको साथमा बस्ने भूतात्माले ग्रस्त पुरुषहरूका सन्तान थिए। यसैले दुष्टतालाई एउटा ‘समस्या’ भन्नु शैतान र भूतात्माहरूको वास्तविकता बुझ्न नसक्ने आधुनिक मानिसहरूले बनाएको एउटा झूट हो।

चौथो, त्यसरी नै उत्पत्तिको पुस्तकले आधुनिक भूविज्ञानको एकरूपतावादी सिद्धान्त पनि एउटा झूट भएको देखाएको छ। पृथ्वीले कुनै बेला विश्वव्यापी जलप्रलय भएको प्रशस्त प्रमाणहरू देखाउँछ। एकरूपतावादीहरू, ‘सबै थोक सृष्टिको समयदेखि जस्ता थिए र त्यस्तै रहिरहन्छन्’ (२ पत्रुस ३:४) भन्छन्। तिनीहरू नोआको समयमा भएको त्यो ठूलो जलप्रलयको बारेमा ‘जानीजानी अन्जान’ बन्छन्। आधुनिक भूविज्ञानसँग ग्रान्ड केनियन कसरी बन्न आयो वा समुद्री प्राणीहरूको कंकाल उच्च पहाडहरूमा देखिन्छन् भन्ने कुराको कुनै उत्तर छैन। यसरी उत्पत्तिको पुस्तकले आधुनिक भूविज्ञानको झूटलाई खण्डन गर्दछ।

पाँचौं, मानिसको भ्रष्टताको भरपर्दो प्रकारले बयान गर्न सकिँदैन, अनि यससम्बन्धी प्रायः सबै सिद्धान्तहरू झूटो प्रमाणित भएका छन्, किनकि उत्पत्तिको पुस्तकले मानिस उसको सुरुको धार्मिक अवस्थाबाट आज हामीले आधुनिक संसारमा देखिरहेका खतरनाक क्रूर अवस्थामा कसरी पुग्यो भन्ने कुरा स्पष्ट रूपमा वर्णन गरेको छ। ‘किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, नता धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो’ (रोमी १:२१)। यसरी नै आधुनिक मनोविज्ञानका धेरै वटा सिद्धान्तहरूलाई उत्पत्तिको पुस्तकले झूटो साबित गरेको छ।

आज राति हामी यो झूटो कुरालाई अझ विस्तृत रूपमा हेर्नेछौं। कृपया उत्पत्ति ३:१-१० खोल्नुहोस्।

‘परमप्रभु परमेश्वरले बनाउनुभएका वन्य पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, ‘के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै पनि रूखको फल नखानू भनी भन्नुभएको छ?’ स्त्रीले सर्पलाई भनिन्, ‘बगैंचाका रूखहरूका फल हामी खान सक्छौं, तर बगैंचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।’ सर्पले स्त्रीलाई भन्यो, ‘तिमीहरू मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।’ जब त्यस स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र ‘नाङ्गै पो रहेछौं’ भनी तिनीरूले थाहा पाए। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्वर बगैंचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैंचाका रूखहरूका बीचमा लुके। तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो, ‘तँ कहाँ छस्?’ उनले भने, ‘मैले तपाईंको सोर बगैंचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकेँ।’

अर्थर डब्लु पिङ्क अंग्रेज ईश्वरशास्त्री र बाइबल टिप्पणीकार थिए। पिङ्कले उत्पत्ति तेस्रो अध्याय परमेश्वरको सम्पू्र्ण वचनमा सबैभन्दा महत्त्वपूर्ण छ भनी ठिकै भनेका छन्। पिङ्कले भने,

यो ‘बाइबलको बीउको ड्याङ’ हो। यहाँ त्यस्ता जगहरू छन्, जसमाथि विश्वासका मुख्य सिद्धान्तहरू आधारित छन्। यहाँ हामी धेरै वटा ईश्वरीय सत्यताका धेरै वटा नदीहरूका स्रोत पाउन सक्छौं। यहीं नै त्यो ठूलो नाटक सुरु हुन्छ, जुन मानव इतिहासको मञ्चमा खेलिँदैछ।... यही नै हामी मानवजातिको पतित र नाश भएको जातिको ईश्वरीय स्पष्टीकरण पाउँछौं। यहाँ हामी हाम्रो शत्रु शैतानको गुप्त युक्तिहरूको बारेमा सिक्छौं। यहाँ हामी मानवजातिले आफ्नै कामको युक्तद्वारा आफ्नो नैतिक शरम छोप्न खोजेको सर्वव्यापी स्वभावको बारेमा थाहा पाउँछौं (अर्थर डब्लु पिङ्क, ग्लिनिङ्स इन जेनेसिस, मुडी प्रेस, १९८१ संस्करण, पृष्ठ ३३)।

तेस्रो अध्यायले हामीलाई शैतान त्यो बेलासम्म निर्दोष रहेको सर्पमा भएर र त्यसद्वारा बोल्दै अदनको बगैंचामा कसरी प्रवेश गऱ्यो भन्ने कुरा बताउँछ। त्यहाँ हामी शैतानले स्त्रीसँग कुरा गरेको, अनि परमेश्वरले आदमलाई भन्नुभएको कुरामा शङ्का उत्पन्न गराउँदै, परमेश्वरले आदमलाई भन्नुभएको कुरा बङ्ग्याउँदै कसरी प्रवेश गऱ्यो भन्ने कुरा देख्दछौं, त्यसले स्त्रीलाई भन्यो, ‘यदि तिमीहरूले त्यो निषेध गरिएको असल र खराबको ज्ञान दिने रूखको फल खायौ भने तिमीहरू मर्दैनौ।’

हामीले यो याद राख्नुपर्छ कि त्यस बेला शैतान छल गर्न निपुण भइसकेको थियो। बाइबलले प्रकाशको पुस्तकमा भन्दछ,

‘त्यसको पुच्छरले स्वर्गको एक-तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो।’ (प्रकाश १२:४)

यो पदको अर्थ केही पदहरू पछि स्पष्ट पारिएको छ, प्रकाश १२:९ मा,

‘त्यो ठूलो अजिंगर तल फालियो- त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।’ (प्रकाश १२:९)

डा. हेनरी एम. मोरिसले भने,

त्यो अजिंगरलाई यहाँ अदनको त्यो सर्प (उत्पत्ति ३:१)... र उजाड-स्थानमा येशूको परीक्षा गर्ने त्यो शैतान ठानिएको छ (हेनरी एम. मोरिस, पीएचडी., द डिफेन्डर स्टडी बाइबल, वर्ल्ड पब्लिसिङ, १९९५, पृष्ठ १४४८, प्रकाश १२:९ को टिप्पणी)।

शैतानले परमेश्वरको विरुद्ध विद्रोह गरेको र परमेश्वरको सिंहासन् लिन खोजेको कारण त्यसलाई स्वर्गबाट तल फालियो (यशैया १४:१२-१५, इजकिएल २८:१३-१८)। शैतानलाई स्वर्गबाट पृथ्वीमा फालियो, जहाँ त्यो

‘आकाशको शक्तिको मालिक बन्यो, जसले अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्दछ।’ (एफिसी २:२)

ती स्वर्गदूतहरूलाई के भयो, जसले परमेश्वरको विरोध गर्न शैतानलाई साथ दिए? प्रकाश १२:९ ले भन्छ,

‘त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।’ (प्रकाश १२:९)

शैतानको साथमा कति जना स्वर्गदूतले विद्रोह गरे? तिनीहरूमध्ये कति जना ‘त्यसको साथमा पृथ्वीमा फालिए?’ प्रकाश १२:४ ले भन्छ,

‘त्यसको पुच्छरले स्वर्गको एक-तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो।’ (प्रकाश १२:४)

डा. मोरिसले भने,

यी स्वर्गका ताराहरूलाई प्रकाश १२:९ मा शैतानका दूतहरू भनी चिन्हित गरिएको छ (मोरिस, ऐजन, पृष्ठ १४४७)।

यसैले, हामी विश्वास गर्छौं, स्वर्गका एक-तिहाइ स्वर्गदूतहरूले तिनीहरूका अगुवा शैतानसँग मिलेर विद्रोह गरे, र तिनीहरू पृथ्वीमा फालिए र भूतात्माहरू बने, जोसँग येशूको सांसारिक सेवकाइमा उहाँको बारम्बार मुठभेट भयो।

शैतानले ती स्वर्गदूतहरूसँग झूटो बोलेको थियो। यसमा कुनै शंका छैन त्यसले अदनको बगैंचामा त्यस्तै झूट आदम र हव्वाको अगाडि प्रस्तुत गरेको थियो, त्यसले भन्यो, ‘तिमीहरू परमेश्वरजस्तै हुनेछौ’ (उत्पत्ति ३:५)। ‘तिमीहरू मेरो साथमा आओ, र तिनीहरू ईश्वरहरू जस्ता हुनेछौ’ भन्ने झूटो कुराले ती स्वर्गदूतहरूलाई नाश पारेको थियो। तिनीहरूले शैतानको झूटो कुरामा विश्वास गरे, तर तिनीहरू ‘ईश्वरहरूजस्ता भएनन्।’ अहो, तिनीहरू त डरलाग्दा अशुद्ध भूतहरू बने, जो रीस, कामवासना र प्रचण्ड क्रोध लिएर संसारभरि घुमिहिँड्छ।

जसरी शैतानले ती स्वर्गदूतहरूसँग झूटो बोलेर तिनीहरूलाई परमेश्वरको विरुद्ध पाप गर्ने परीक्षामा पाऱ्यो, त्यसरी नै फेरि त्यसले मानिससँग पनि झूटो बोल्यो। जुन उपाय गरेर त्यसले स्वर्गदूतरूलाई लोभ्याएको थियो, जसले तिनीहरूलाई नाश पारेको थियो, त्यसरी नै अदनको बगैंचामा आदम र हव्वालाई परीक्षा गर्न पनि त्यसले त्यही उपाय गऱ्यो। उत्पत्ति ३:४-५ को वचन सुन्नुहोस्,

‘सर्पले स्त्रीलाई भन्यो, ‘तिमीहरू मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।’(उत्पत्ति ३:४-५)

एक-तिहाइ स्वर्गदूतहरूलाई स्वर्गमा भएको तिनीहरूका उच्च स्थानबाट पतन गराउन शैतानले त्यस्तै तर्क दिएको, त्यस्तै किसिमको झूटो कुरा भनेको हुन सक्छ।

अब त्यसले त्यो झूटो कुरा, बङ्ग्याइएको परमेश्वरको वचन हाम्रा प्रथम आमाबुबाकहाँ ल्याउँदछ। अनि ती स्वर्गदूतहरूले जस्तै अदनको बगैंचामा हाम्रा आमाबुबाले पनि त्यसको झूटो कुरामा विश्वास गरे, अनि त्यस ‘झूटको पिता’ मा विश्वास गर्ने स्वर्गदूतहरूजस्तै उनीहरू पनि पतन भए, फरिसीहरूसँग बहस हुँदा येशू ख्रीष्टले शैतानलाई त्यही नाउँ दिनुभएको छ,

‘तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूटो बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो’ (यूहन्ना ८:४४)

त्यस पदमा येशूले शैतानको विषयमा हामीलाई दुइ वटा महत्त्वपूर्ण कुरा बताउनुभएको छः (१) ‘त्यो सुरुदेखि नै हत्यारा थियो’ अनि (२) त्यो झूटो, र झूटको पिता हो।’

शैतानले स्वर्गदूतहरूलाई त्यसको आफ्नो पछि लाग्ने परीक्षा गर्दा तिनीहरूसँग झूटो बोल्यो। शैतानले अदनको बगैंचाको निषेध गरिएको एउटा रूखको फल खाने परीक्षा गर्दा आदम र हव्वासँग झूटो बोल्यो।

शैतान ‘सुरुदेखि नै एक हत्यारा थियो।’ झूटो बोलेर त्यसले आफ्नो पछि लाग्ने स्वर्गदूतहरूको ‘हत्या’ गऱ्यो, किनकि तिनीहरू स्वर्गबाट निकालिएर पृथ्वीमा फालिए, जहाँ तिनीहरूले नरकको आगोको त्यो निश्चित विनाश पर्खिरहेका छन्, ‘जुन शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ’ (मत्ती २५:४१)। ‘त्यो सुरुदेखिनै हत्यारा थियो,’ त्यसले स्वर्गका एक-तिहाइ स्वर्गदूतहरूको मात्र हत्या नगरेर आफ्नो छल र झूटद्वारा त्यसले सारा मानवजातिको हत्या गऱ्यो। येशूले भन्नुभयो,

‘त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। (यूहन्ना ८:४४)

शैतानले स्वर्गदूतहरूको पतनहुँदा तिनीहरूको एक-तिहाइलाई नाश पाऱ्यो। अनि शैतानले जीवित परमेश्वरको विरुद्ध ठूलो पाप गर्ने पासोमा पारेर अनि शैतानको पछि लाग्ने चुनौती दिँदै मानिसलाई पतन गराएर सारा मानवजातिको ‘हत्या’ गऱ्यो, यस कुराको वर्णन उत्पत्ति ३:१-१० मा लेखिएको छ।

जुन बेला आदमले पाप गऱ्यो त्यस बेला ऊ साधारण मानिस थिएन। ऊ सारा मानवजातिको एक स्वाभाविक पिता, साथै अरू सबै सृष्टिको पनि प्रमुख थियो। जसरी शैतानको विद्रोहले स्वर्गका एक-तिहाइ स्वर्गदूतहरूलाई प्रभाव पाऱ्यो, त्यसरी नै आदम पतन भएको बेला उसको विद्रोह र पापले अरूहरूका निम्ति अति नराम्रो नतिजा ल्यायो। आदम सबै कुराका प्रमुख भएकोले आदममा सारा मानवजाति पतन भयो। विशुद्धवादीहरूले छापेका बाल-बालिकाहरूको एउटा पुरानो पुस्तकले ठीकै भनेको छ, ‘आदम पतन हुँदा हामी सबैले पाप गऱ्यौं।’ शैतानको झूटो कुरामा विश्वास गरेर, अनि निषेध गरिएको फल खाएर आदमले उसका सबै सन्तानमा- सारा मानवजातिमा मृत्यु ल्यायो। प्रेरित पावलले यो कुरा यसरी भनेका छन्,

‘एउटा मानिस (आदम) द्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।’ (रोमी ५:१२)

आदमको पापको मानवजातिमा ठूलो प्रभाव पऱ्यो। पापमा पतन हुनुभन्दा अघि परमेश्वर र मानिसको बीचमा संगति हुन्थ्यो। पतनपछि त्यो संगति टुटयो। तिनीहरू परमेश्वरबाट अलग भए। पापमा पतन भएपछि तिनीहरू परमेश्वरको नजरबाट लुक्न खोजे।

पापमा पतन हुनुभन्दा अघि मानिस निर्दोष र पवित्र थियो। आदम र हव्वामा पापको स्वभाव थिएन। पाप गरेपछि तिनीहरू पापी र लज्जित बने। प्रेरित पावलले भने,

‘एउटा मानिस (आदम) द्वारा संसारमा पाप आयो।’ (रोमी ५:१२)

यो पदले संसारमा ‘पापहरू’ ले प्रवेश गऱ्यो भन्दैन। तर एकवचनमा ‘पाप’ भन्दछ। आदमले नराम्रो उदाहरण देखाएर संसारमा पाप ल्याएको होइन। तिनको पापकर्मले तिनको आफ्नै स्वभावमा परिवर्तन ल्यायो। तिनको हृदय भ्रष्ट बन्यो।

मानिस पापमा पतन हुनुभन्दा अघि मानिसले जीवनको रूखको फल खाएर सधैंभरि जीवित रहने सक्थ्यो (उत्पत्ति २:९; ३:२२)। पापमा पतन भएपछि शरीरको मृत्यु आदमको पापको दण्डको एक भाग बन्यो। रोमी ५:१२ ले भन्छ,

‘एउटा मानिस (आदम)द्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु।’ (रोमी ५:१२)

यसले आत्मिक र शारीरिक दुवै मृत्युलाई बुझाउँछ। आदमले पाप गरेपछि परमेश्वरले भन्नुभयो,

‘...तँ माटै होस् र माटैमा फर्किजानेछस्।’ (उत्पत्ति ३:१९)

यसैले शारीरिक साथै आत्मिक मृत्यु आदमको पापको नतिजा हो।

आदम पापमा पतन भएको परिणामस्वरूप पाप सबै मानवजातिमा फैलियो। अहिले सबै मानिस पापको स्वभाव लिएर जन्मन्छ, जुन आदमबाट प्राप्त गरेको हो, जो मानवजातिको मुख्य पिता हुन्। बाइबलले भन्छ,

‘एउटा मानिस (आदम) द्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।’ (रोमी ५:१२)

पतित मानिसको पापी स्वभाव पवित्र बाइबलको सुरुदेखि अन्त्यसम्म पाइन्छ।

‘पाप नगर्ने मानिस कोही पनि छैन।’ (१ राजा ८:४६)

‘संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन।’ (उपदेशक ७:२०)

‘धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।’ (रोमी ३:१०-१२)

‘हरेक मुख चूप रहोस्, र सारा संसार परमेश्वरको अगि जवाफदेही होस्।’ (रोमी ३:१९)

‘यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोखा दिन्छौं, र हामीमा सत्य हुँदैन।’ (१ यूहन्ना १:८)

आदमको पाप पछिबाट आएको तिनका सबै सन्तानमा, अर्थात् सारा मानवजातिमा सारियो। मानवजातिको स्वाभाविक सम्बन्धको कारण परमेश्वरले आदमको पाप तुरुन्तै तिनका सन्तानमा राख्नुहुन्छ। यसैले, अहिले सबै मानिसमा हुने स्वभाव पतनपछि आदममा भएको भ्रष्ट स्वभाव नै हो। रोमी ५:१२ अनुसार मृत्यु (आत्मिक र शारीरिक, दुवै) सबै मानिसमा सरेर आयो, किनकि आदममा सबैले पाप गरेका छन्, जो तिनीहरूका स्वाभाविक पिता हुन्।

हामीले मानवजातिको ‘पूर्ण भ्रष्टता’ भनेको पनि यही नै हो। यसको अर्थ मानिस स्वभावले गर्दा नै भ्रष्ट छ, र उसमा परमेश्वरप्रति साँचो प्रेम हुँदैन भन्ने हो। यसको अर्थ उसले परमेश्वरलाई भन्दा आफैलाई रुचाउँछ भन्ने हो, अर्थात्, उसले आफ्ना सृष्टिकर्तालाई भन्दा बढी आफैलाई प्रेम गर्छ। पूर्ण भ्रष्ट’ हुनुको अर्थ प्रत्येक मानिसले उसको स्वभाविक अवस्थामा परमेश्वरलाई घृणा गर्छ, उहाँलाई घृणा गर्छ, र मन पराउँदैन अनि परमेश्वरको विरुद्धमा हुन्छ भन्ने हो।

‘किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो।’ (रोमी ८:७)क

‘शरीरतिर लागेको मन’ ले ‘पुनर्जन्म नभएको,’ नयाँ जन्म नभएको मानिसलाई बुझाउँछ (द जेनेभा बाइबल, १५९९, रोमी ८:७ को टिप्पणी)

यसैले उत्पत्ति तेस्रो अध्यायमा आदम पापमा पतन भएको घटनाको सोझो असर तपाईंमा पर्छ। तपाईं सानैबाट मण्डलीमा गएर हुर्किनुभएको भए वा नभए पनि तपाईंले त्यो स्वभाव प्राप्त गर्नुभएको छ, जसले परमेश्वर र ख्रीष्टलाई मन पराउँदैन, त्यो स्वभाव तपाईंका पुर्खा आदमबाट सरेर तपाईंमा आएको हो। तपाईंले जे नै सोच्नु, सिक्नु वा गर्नु भए पनि तपाईंले प्राप्त गर्नुभएको भित्रिय भ्रष्टता बदलिँदैन। त्यसकारण उद्धार ‘बाहिरी’ स्रोतबाट आउनुपर्छ, त्यो स्रोतबाट जुन तपाईंबाट पूर्ण रूपले बाहिर हुन्छ। अनि त्यो स्रोत स्वयम् परमेश्वर हुनुहुन्छ। परमेश्वरले तपाईंको भित्रिय भ्रष्टताका निम्ति तपाईंलाई जगाउनुपर्छ। उद्धार पाउनका निम्ति तपाईंले विश्वास गर्नुभएका झूटा विश्वासहरू परमेश्वरले हटाउनु पर्छ, र तपाईं भित्रिय रूपमा भ्रष्ट हुनुहुन्छ भन्ने निश्चयता उहाँले तपाईंलाई दिनुपर्छ। परमेश्वरले तपाईंलाई शुद्धीकरण र तपाईंभित्र नयाँ जन्म गराउन ख्रीष्टतिर खिँच्नुपर्छ। आदमको पापको कारण अरू कसैले होइन, तर ‘अन्तिम आदम’ ख्रीष्टले मात्र तपाईंलाई बचाउन सक्नुहुन्छ। त्यो अनुग्रहबाट ख्रीष्टद्वारा मात्र पाइने उद्धार हो। हामी त्यही कुरामा विश्वास र प्रचार गर्दछौं।

आदम पापमा पतन हुनुभन्दा अघि परमेश्वरसँग तिनको ठीक सम्बन्ध थियो। तिनी एक मित्रजस्तो परमेश्वरको साथमा हिँड्थे। तर तिनले पाप गरेपछि आदम र तिनकी पत्नी परमेश्वरको नजरबाट बच्न बगैंचाका रूखहरूको पछि लुके।

तपाईं आदमको सन्तान हुनुहुन्छ। त्यसैले परमेश्वरसम्बन्धी तपाईंका विचारहरू सधैं गलत छन्! तपाईं उहाँमाथि विश्वास नगरेर उहाँको विरुद्ध विद्रोह गर्नुहुन्छ, उहाँबाट लुक्नुहुन्छ, ठीक त्यस्तै जस्तो तपाईंका पुर्खा आदमले गरेका थिए। यसैकारण ख्रीष्टमा विश्वास गर्ने कोसिस गर्दा तपाईं एकपछि अर्को गल्ती गर्नुहुन्छ। अनि घरीघरी, अन्त्यहीन रूपमा त्यही गल्ती दोहोऱ्याउँदै तपाईंको मन घुमिरहन्छ।

कलेजको एक विद्यार्थीको जीवन गवाही

मेरो एकपछि अर्को गर्दै झूटो हृदय परिवर्तन भएको थियो। मैले आफूलाई हृदय परिवर्तनको अनुभवको खाँचो छ भनी सोचेको थिएँ। त्यस्तो झूटो हृदय परिवर्तनको अनुभव मेरो निम्ति भयानक थियो।

जब म परामर्श लिन आएँ, म के भनूँ भनी सोच्ने कोसिस गर्थेँ। मैले प्रवचनमा भनिएका कुराहरू सम्झने कोसिस गर्दै त्यही दोहोऱ्याएर भन्न सक्छु भनी सोच्थेँ। तर मैले बोलेका कुराहरूको कुनै अर्थ हुँदैनथ्यो। मैले अरू कसैको हृदय परिवर्तनको कुरा देखासिकी गर्ने कोसिस गर्थेँ। अहो, म कति बौलाह रहेछु!

मैले एकलै प्रार्थना गर्न थालेँ र मेरा आफ्नै पापहरूको बारेमा सोच्न थालेँ। अनि मात्र सुसमाचार प्रचार गर्दा मैले त्यो बुझ्न थालेँ। म आफूमा कुनै आशा नभएको नष्ट भएको पापीको रूपमा येशूकहाँ आएँ- तर मेरो आशा येशू ख्रीष्टमा थियो। मेरो निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा येशूकहाँ आउनु र उहाँको रगतद्वारा मेरा पापहरू पखालिनु थियो। मैले उहाँको रगतमा विश्वास गरेँ।

कलेज जाने उमेरकी एउटी महिलाको जीवन गवाही

शैतानले मलाई यसो भनिरहन्थ्यो, ‘यी मानिसहरू गलत छन्। तिमी जस्ती छ्यौ त्यस्तै ठिकै छ्यौ। तिमीलाई येशूको खाँचो छैन।’ म मण्डलीमा आएँ र म गलत रहिछु भनी थाहा पाएँ। म रुन थालेँ, रोएकी रोएकी भएँ। डा. केगनले मलाई सोध्नुभयो, ‘के तिमी ख्रीष्टमा आउन चाहन्छ्यौ?’ मैले भनेँ, ‘ज्यू, म उहाँमा आउन चाहन्छु।’ त्यो दिन मैले आफ्नो जीवन येशूमा सुम्पेँ। मैले आफैलाई पूर्ण रूपमा येशूमा समर्पण गरेँ। येशू ख्रीष्टले मलाई अंगाल्नुभयो र मेरा पापहरू उहाँको रगतमा पखालिए।

एउटा जवान केटोको जीवन गवाही

मेरो हृदय फोहोर, विद्रोही, दुष्टताले भरिएको र परमेश्वरको विरोधी छ भन्ने कुरा मैले इन्कार गरिरहन सकिनँ। आफैलाई एक असल व्यक्ति ठानेर म आफ्नो हृदयलाई धोखा दिन सक्दिनँथेँ। म ठीक थिइनँ र मभित्र कुनै असल कुरा थिएन। म त्यो बेला मरिहालेँ भने म सीधै नरकमा जानेछु भन्ने मलाई थाहा थियो। म नरक जान लायकको थिएँ। म एक पापी थिएँ। म मानिसहरूबाट आफ्नो पाप लुकाउन सक्छु भनी सोच्थेँ। तर परमेश्वरको नजरबाट ती लुकाउन सक्दिनँथेँ। परमेश्वरले मेरा सबै पाप देख्नुभएको थियो। मैले आफूलाई अति नै असहाय महसुस गरेँ। मैले गरेका सबै असल कार्यहरूले मजस्तो भयानक पापीलाई बचाउन सक्दैनथे। ख्रीष्टले मात्र मलाई बचाउनुभयो। उहाँको रगतले मलाई छोप्यो र मेरा सबै पापहरू पखालिदिनुभयो। ख्रीष्टले मलाई उहाँको रगतको वस्त्र पहिराउनुभयो। मलाई उहाँको धार्मिकताको वस्त्र पहिराउनुभयो। उहाँको रगतले मेरो हृदय पखालिदिनुभयो। मेरो विश्वास र आश्वासन् ख्रीष्टमा मात्र छ। म एक पापी थिएँ- तर येशूले मलाई बचाउनुभयो।

कलेज जाने उमेरकी एउटी केटीको जीवन गवाही

म मण्डलीभित्र पसेँ अनि मेरो हृदय गह्रौं भयो। म एक पापी हुँ भन्ने महसुस गरेँ। मेरो हृदय फोहोर, विद्रोही, दुष्टताले भरिएको र परमेश्वरको विरोधी छ भन्ने कुरा मैले इन्कार गरिरहन सकिनँ। प्रवचन अन्त्य हुन लागेको थियो, मैले जीवनमा पहिलोचोटि सुसमाचार सुनेकी थिएँ। मैले पहिले-पहिले त्यसको कुनै अर्थ बुझ्दिनँथेँ। मेरो पापको दाम तिर्न ख्रीष्ट मेरो बदली क्रूसमा मर्नुभयो। उहाँको रगत मेरो निम्ति बगाइएको थियो। मलाई येशूको ठूलो खाँचो थियो। मेरा आँखाहरू मबाट टाढा हटाइएको थियो। मैले पहिलोचोटि ख्रीष्टलाई हेरेँ, अनि त्यही क्षण ख्रीष्टले मलाई बचाउनुभयो। जोन न्यूटनले ‘उदेकको अनुग्रह! कति सुन्दर सुनिन्छ, बचायो मजस्तो तुच्छ पापीलाई, हराएको थिएँ, अब पाइएको छु, अन्धो थिएँ, अब देख्ने भएको छु!’ भनेर के भन्न खोजेका हुन् त्यो अहिले म बुझ्दछु। म एक पापी थिएँ, अनि येशू ख्रीष्टले मेरो पापबाट मलाई बचाउनुभयो।

मैले येशूलाई देखिनँ र महसुस गरिनँ। मैले ईश्वरीय धार्मिक अनुभव पाइनँ। मैले उहाँमा विश्वास मात्र गरेँ। मैले उहाँमा विश्वास गरेकै क्षण उहाँले आफ्नो रगतद्वारा मेरो पाप धोइदिनुभयो।

सक्छु सुन्न मेरा उद्धारकर्ताले बोलाएको, सक्छु सुन्न मेरा उद्धारकर्ताले बोलाएको,
सक्छु सुन्न मेरा उद्धारकर्ताले बोलाएको, जान्छु उहाँको साथमा, उहाँसित सधैंभरि
(‘वेयर ही लिड्स मी,’ अर्नेस्ट डब्लु. ब्लान्डी- १८९०- द्वारा रचित)

म आउँदैछु प्रभु, तपाईंकहाँ आउँदैछु,
धुनुहोस् मलाई, कल्भरीमा बगेको रगतमा
(‘आइ एम कमिङ, लर्ड,’ लिविस हार्टसग-१८२८-१९१९-द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('आइ एम कमिङ, लर्ड,' लिविस हार्टसग- १८२८-१९१९- द्वारा रचित)