Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टको पुनरुत्थानका तीन वटा प्रमाण

THREE PROOFS OF CHRIST’S RESURRECTION
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१ अप्रेल, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, April 1, 2018

‘किनकि राजा स्वयमले यी कुराको विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेका छैन, किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)


प्रेरितको पुस्तकको एघारौं अध्यायमा पावलको जीवन परिवर्तन भएको वर्णन तेस्रोचोटि गरिएको छ। लूकाले त्यो तीनचोटि वर्णन गर्नुको कारण सहजै बुझ्न सकिन्छ। ख्रीष्टिय मतको इतिहासमा ख्रीष्टको मृत्यु र पुनरुत्थानबाहेक प्रेरित पावलको जीवन परिवर्तनको घटनाभन्दा महत्त्वपूर्ण अर्को कुनै छैन।

पावलले प्रचार गरेका कारण तिनलाई पक्राउ गरिएको थियो,

‘...मरिसकेका येशूको विषयमा, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथ्यो’ (प्रेरित २५:१९)

अनि अब पावल तिनका हातहरू साङलाले बाँधिएको अवस्थामा राजा अग्रिपासको सामुन्ने खडा थिए। यसरी पावलले ख्रीष्टको पुनरुत्थानसम्बन्धी पुरानो करारका अगमवाणीहरूको आधारमा आफूले गरेको प्रचारको बचाउ गरे। पावलले राजा अग्रिपासले ख्रीष्टको क्रूसको मृत्यु र पुनरुत्थानको विषयमा अघिबाटै जानिसकेका छन् भन्दै आफ्नो बचाउमा बोले। येशूको क्रूसको मृत्यु र पुनरुत्थान त्योभन्दा करिब तीस वर्ष अघि भएको घटना थियो। राजा अग्रिपास लगायत प्रत्येक यहूदीले त्यसबारे जान्दथ्यो। यसैकारण पावलले भने,

‘...किनकि राजा स्वयमले यी कुराको विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेका छैन, किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

‘यी कुरा गुपचूपमा गरिएको होइन।’ ती दिनमा यो सामान्य ग्रीक अभिव्यक्ति थियो। डा. गेबिलिन्सको कमेन्टेरीले भन्दछ,

येशूको सेवकाइबारे प्यालेस्टाइनमा सबैले जान्दथे, अनि अग्रिपासले पनि त्यसबारे अवश्य सुनेका थिए। येशूको मृत्यु र पुनरुत्थान पूर्ण रूपमा प्रमाणित भएका थिए, अनि अब ख्रीष्टियन सुसमाचार प्रचार गरिएको तीन दशक भइसकेको थियो। निश्चय, ती राजाले यी कुराहरू जान्दथे, ‘किनकि ती कुरा गुपचूपमा गरिएको थिएन’ (दि एक्स्पोडिटर्स बाइबल कमेनटेरी, फ्रान्क ई. गेबिलिन्स, डी.डी. जेनेरल एडिटर, जोन्डरभन, पब्लिसिङ हाउस, १९८१, भाग ९, पृष्ठ ५५४, प्रेरित २६:२५-२७ को टिप्पणी)।

आज धेरै जना मानिसहरू ख्रीष्टको पुनरुत्थान एउटा अस्पष्ट घटना हो, जसको बारेमा केही अज्ञानी मछुवालाई मात्र थाहा थियो भनी सोच्छन्। तर त्यस्ता कुरा सत्यतादेखि टाढा छ। ख्रीष्टको पुनरुत्थानबारे इस्राएलको प्रत्येक यहूदीलाई थाहा थियो, अनि त्यो घटना भएको तीस वर्ष बितिसक्दा पनि सारा रोमी संसारभरि त्यसको चर्चा भएको थियो। ख्रीष्टको पुनरुत्थान गुप्तमा राखिएको थिएन!

‘किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

डा. लेन्सकीले भनेका छन्,

येशूको विषयमा भनिएका सबै कुराहरू त्यस देशको राजधानीमा लिखित रूपमा राखिएको थियो, अनि सभाघर र पिलातस (रोमी राज्यपाल) त्यसमा सामेल थिए, अनि येशू राष्ट्रले नै चिनेको व्यक्ति हुनुहुन्थ्यो, जसको ख्याति वरपरका देशहरूमा पनि फैलिएको थियो। ‘गुपचूपमा गरिएको होइन’... यो कसैले थाहा नपाउने सानोतिनो अस्पष्ट घटना थिएन, तर यो अति ठूलो र महत्त्वपूर्ण घटना थियो, जसको बारेमा जनतालाई थाहा थियो र (राजा) अग्रिपासले समेत त्यसमा आफ्नो राजकीय ध्यान दिनु परेको थियो (आर.सी.एच. लेन्सकी, डी.डी., दि इन्टरप्रिटिसन अफ दि एक्टस् अफ दि अपोस्टल्स्, अग्सवर्ग पब्लिसिङ हाउस, १९६१ संस्करण, पृष्ठ १०५३, प्रेरित २६:२६ को टिप्पणी)।

‘किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

ख्रीष्टका शत्रुहरूसँग उहाँ मरेकोबाट जीवित हुनुभएको होइन भनी प्रमाणित गर्न तीन दशकको समय थियो। तापनि तिनीहरूले प्रमाणित गर्न सकेनन्। शत्रुहरूले जत्ति नै कोसिस गरे पनि येशू उहाँको क्रूसको मृत्युपछि मरेकोमरेकै हुनुभयो भनी प्रमाणित गर्न असफल बने। पावलले राजा अग्रिपाससँग कुरा गरेका समयसम्म आइपुग्दा हजारौं यहूदीहरू, र हजारौं अन्यजातिहरूले पनि ‘ख्रीष्ट मरेकोबाट पुनर्जीवित हुनुभएको छ’ भनी घोषणा गर्न थालिसकेका थिए।

ख्रीष्टको पुनरुत्थान नै ख्रीष्टियन विश्वासको जग हो। यदि येशूको शरीर चिहानबाट बौरी नउठेको भए ख्रीष्टियन विश्वासको कुनै आधार हुनेथिएन। प्रेरित पावल आफैले यसो भनेका छन्,

‘यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।’ (१ कोरिन्थी १५:१४)

यो अचम्म मान्नु पर्ने कुरा होइन कि, ख्रीष्टका शत्रुहरूले उहाँको पुनरुत्थानलाई झूटा साबित गर्ने धेरै कोसिस गरे। तापनि तिनीहरू सबै असफल बने। म श्री ग्रेग लाउरीसँग धेरै वटा विषयमा सहमत छैनँ, तर ख्रीष्टको पुनरुत्थानको विषयमा म तिनीसँग सहमत छु। ग्रेग लाउरीले ख्रीष्टका शत्रुहरू असफल हुनुका तीन वटा कारण बताएका छन्- येशू ख्रीष्ट मृतकबाट पुनर्जीवित हुनुभएका तीन वटा कारण (ग्रेग लाउरी, वाइ द रिजरेक्सन्? चिन्डेल हाउस पब्लिसर्स, २००४, पृष्ठ १३-२४)। म ती कुराहरूलाई आफ्नै शब्दमा व्याख्या गर्न लागेको छु।

‘किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

१. पहिलो, रित्तो चिहान।

येशूको पुनरुत्थानको पहिलो प्रमाण रित्तो चिहान हो। येशू मर्नुभएको तीन दिनपछि उहाँको चिहान रित्तो थियो भन्ने कुरा उहाँको पुनरुत्थानको एउटा सबैभन्दा ठूलो प्रमाण हो। चारै वटा सुसमाचारका पुस्तकका लेखकहरू येशू मरेर गाडिनुभएको तीन दिनपछि उहाँको चिहान रित्तो थियो भन्ने कुरामा एकमत छन्। अरू धेरै जना साक्षीले पनि चिहान रित्तो भएको गवाही दिएका छन्।

ख्रीष्टको पुनरुत्थानमाथि सबैभन्दा पुरानो आक्रमणले येशूको शरीर चोरेर लगिएको थियो भन्छ। प्रधान पूजाहारीहरूले,

‘सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, ‘तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेका बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्।’... तब सिपाहीहरूले त्यो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ।’ (मत्ती २८:१२-१५)

तर यो कुरामा धेरै मानिसले विश्वास गरेनन्। सामान्य ज्ञानले पनि तपाईंलाई बताउन सक्छ कि, ती चेलाहरूले उहाँको लाश चोरेर लगेर उहाँ बौरी उठ्नुभयो भन्ने बहाना बनाएका थिएनन्। तीन दिन अघि येशू पक्राउ पर्नुहुँदा र क्रूसमा टाँगिनुहुँदा ती चेलाहरू आफ्नो ज्यान जोगाउन भागेका थिए। ती डराएका मानिसहरूले आफ्नो ज्यान जोखिममा पार्दै येशूको लाश चोर्ने आँट गरे- अनि उहाँ मृतकबाट बौरी उठ्नुभयो भनी साहससाथ प्रचार गर्न थाले भन्नु अति असम्भव कुरा हो। यो हुनै नसक्ने कुरा हो! त्यस्तो भनाइ कुनै मेल खाँदैन। ती चेलाहरू त ‘यहूदीहरूको डरले’ एउटा कोठाको ढोका बन्द गरी लुकेर बसिरहेका थिए। तिनीहरू अति नै डराएका थिए। उहाँ फेरि जीवित हुनुभयो भनी तिनीहरूले विश्वास गरेनन्। ख्रीष्टको कुनै पनि चेलामा येशूको लाश चोरेर शक्तिशाली रोमी सरकारलाई चुनौती दिन सक्ने विश्वास वा साहस थिएन। यो हामीले बेवास्ता गर्न नसक्ने मनौवैज्ञानिक कुरा हो।

ख्रीष्टको लाश चोर्न सक्ने अन्य संदिग्ध व्यक्तिहरू उहाँकै शत्रुहरू थिए। यस भनाइमा के समस्या छ भने ख्रीष्टका शत्रुहरूसँग उहाँको चिहान लुट्ने कुनै उद्देश्य थिएन। प्रधान पूजाहारीहरू र अन्य धार्मिक अगुवाहरूले ख्रीष्टको हत्या गरे, किनकि उहाँ तिनीहरूका धार्मिक व्यवस्था र जीवनशैलीका निम्ति खतरा हुनुभएको थियो। तिनीहरूले चाहेका अन्तिम कुरा, मानिसहरूले ख्रीष्ट फेरि जीवित हुनुभएको छ भन्ने नसोचून् भन्ने थियो! यसैकारण ती धर्मगुरुहरूले उहाँको पुनरुत्थानको नामनिशान मेटाउन सक्दो प्रयास गरे। मत्तीको सुसमाचारले हामीलाई बताउँछ, तिनीहरू रोमी राज्यपाल पन्तियस पिलातसकहाँ गए,

‘हजूर, हामीलाई याद छ, कि त्यस ठगाहले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोखा पहिलोभन्दा अझ नराम्रो हुनेछ।’ (मत्ती २७:६३-६४)

पिलातसले तिनीहरूलाई सुरक्षाकर्मीहरू राख्नू भने र त्यो चिहानलाई ‘सकेसम्म सुरक्षित’ राख्नू भने- तिनीहरूले चिहानमा सिपाहीहरू राखेर सकेसम्म त्यसलाई सुरक्षित बनाए (मत्ती २७:६५)। तिनीहरूले चिहानको ढुंगामा मोहोर लगाए, अनि त्यसको सुरक्षा गर्न सिपाहीहरू तैनाथ गरे (मत्ती २७:६६)। अचम्मको कुरा, ती प्रधान पूजाहारी र धार्मिक अगुवाहरूमा ख्रीष्टका चेलाहरूमा भन्दा धेरै उहाँको पुनरुत्थानमा विश्वास थियो।

खास कुरा के हो भने, ती धर्मगुरुहरूले ख्रीष्टको लाश नचोरिओस् भनी अति नै कडा उपाय अप्नाए। तिनीहरू ख्रीष्टले मृतकबाट बौरी उठनेबारे गर्नुभएको प्रतिज्ञालाई झूटो साबित गर्न चाहन्थे। ती धर्मगुरुहरूले ख्रीष्ट मरेकोबाट जीवित हुनुभएको कुरा नफैलिओस् भनी त्यसलाई रोक्ने हरसम्भव कोसिस गरे। ख्रीष्टको लाश चोर्नु उहाँका शत्रुहरूले गर्न सक्ने अन्तिम कुरा थियो। यदि तिनीहरूले उहाँको लाश चोरेका भए चेलाहरूले उहाँको पुनरुत्थानको प्रचार गर्न थाल्दा निःसन्देह तिनीहरूले त्यो लाश देखाउने थिए। तर ख्रीष्टका शत्रुहरूले उहाँको लाश देखाएनन्। किन? किनकि तिनीहरूसँग देखाउनका निम्ति त्यो लाश थिएन! चिहान रित्तो थियो! ख्रीष्ट मृतकबाट पुनर्जीवित हुनुभएको थियो!

‘किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

त्यो रित्तो चिहान ख्रीष्ट मृतकबाट बौरी उठ्नुभएको पहिलो प्रमाण हो, तर प्रमाण अरू पनि छन्!

२. दोस्रो, प्रत्यक्ष साक्षीहरूले दिएका बयानहरू।

येशू क्रूसमा टाँगिनुहुँदा, उहाँका चेलाहरू आशारहित बने। तिनीहरूका विश्वास नाश भयो। तिनीहरूमा उहाँलाई फेरि जीवित देख्ने कुनै आशा थिएन। अनि येशू आउनुभयो,

‘..तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूलाई शान्ति!’ (यूहन्ना २०:१९)

ती चेलाहरूले उहाँलाई घरीघरी देखे।

‘आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो।’ (प्रेरित १:३)

प्रेरित पावलले भने बौरी उठ्नुभएका ख्रीष्ट,

‘उहाँ केफास (पत्रुस) कहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो।... सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।’ (१ कोरिन्थी १५:५-८)

डा. जोन आर. राइसले भनेका छन्,

येशूलाई उहाँको पुनरुत्थानपछि देख्ने ती सयौं मानिसहरूको साक्षी साँच्चै कति गजबको थियो होला विचार गर्नुहोस्, तीमध्ये कतिले त चालीस दिनको अवधिमा घरीघरी उहाँलाई देखेका थिए (प्रेरित १:३)। बाइबलको नियमचाहिँ ‘दुइ वा तीन साक्षीका गवाही’ भन्ने थियो। यहाँ त सयौं साक्षी थिए। एक वा दुइ जना प्रत्यक्ष साक्षीको गवाहीको आधारमा धेरै जना मानिसलाई मृत्युदण्ड पनि दिइएको थियो।
     एउटा महत्त्वपूर्ण मुद्दा मिलाउन निर्णायक मण्डलमा बाह्र जनाको सहमति आवश्यक हुन्छ। यहाँ सयौं प्रत्यक्ष साक्षीहरू येशू मृतकबाट फेरि जीवित हुनुभएको साक्षी थिए। येशूको मृत्युको तीन दिनपछि उहाँको लाश देखेको दाबी गर्ने एकै जना मानिस देखा परेन, न त त्यो प्रमाणको विपरीत कुरा गर्ने कोही देखा पऱ्यो।
     ती साक्षीहरूको गवाही- प्रत्यक्ष साक्षीहरू, ती साक्षीहरू जसको उद्धारकर्तासँग सम्पर्क थियो, जसले उहाँलाई छोए, जसले उहाँका हात र पाउमा ठोकिएका काँटीहरूको अनुभव गरेका थिए, उहाँले खानुभएको देखेका थिए, चालीस दिनसम्म उहाँसँग संगत गरे- त्यो साक्षी अमेरिकाको सर्वोच्च अदालतमा वा संसारको कुनै पनि अदालतमा जुनै पनि मुद्दाका निम्ति चाहिने प्रमाणभन्दा अझ बलियो छ। त्यो प्रमाण यति बलियो थियो कि त्यसमा विश्वास गर्न नचाहने र प्रमाणलाई जाँच्न नचाहनेहरूले मात्र त्यसलाई इन्कार गर्थे। अचम्मको कुरा होइन, येशूले ‘धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो,’ प्रेरित १:३ (जोन आर. राइस्, डी.डी., द रिजरेक्सन् अफ जिजस क्राइष्ट, सोर्ड अफ द लर्ड पब्लिसर्स, १९५३, पृष्ठ ४९-५०)।

‘किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

त्यो रित्तो चिहान, ती सयौं प्रत्यक्ष साक्षीहरू ख्रीष्ट मृतकबाट बौरी उठ्नुभयो भन्ने दह्रो प्रमाणहरू हुन्। तर प्रमाण अरू पनि छन्।

३. तेस्रो, प्रेरितहरू शहिद भएका।

यदि त्यो पुनरुत्थान झूटो थियो भने त्यसको घोषणा गर्न प्रेरितहरूले किन त्यत्ति धेरै दुःख भोगे? प्रेरितहरूले ख्रीष्टको पुनरुत्थानको प्रचार मात्र गरिरहेनन्, तर त्यसलाई इन्कार गर्नुभन्दा बरु त्यसका निम्ति आफ्नो ज्यान दिए। मण्डलीको इतिहास पढ्दा हामी थाहा पाउँछौं (यूहन्नाबाहेक- जसलाई यातना दिएर निर्वासनमा पठाइएको थियो) अरू सबैले भयानक मृत्युको सामना गरे, किनकि तिनीहरूले ख्रीष्ट मृतकबाट बौरी उठ्नुभयो भनी प्रचार गरेका थिए। डा. डी. जेम्स केन्नेडीले भनेका छन्,

यो अति महत्त्वपूर्ण सत्यता हो। मनोविज्ञानको इतिहासमा कुनै पनि व्यक्तिले झूटो कुराका निम्ति आफ्नो ज्यान दिएको कहिल्यै पनि जानिएको छैन। म विचार गर्छु, परमेश्वरले ती प्रेरितहरू र सुरु-सुरुका ख्रीष्टियनहरूलाई किन त्यस्तो भयानक, विश्वासै गर्न नसकिने दुःखबाट भएर जान लगाउनुभयो! हामीसँग विश्वसनीयता, चरित्र, दुःख-भोग, ती साक्षीहरूका मृत्यु छन्, जसमध्ये धेरै जनाले आफ्नो साक्षीलाई आफ्नै रगतद्वारा छाप लगाए। पल लिटलले भनेका छन्, ‘मानिसहरू आफूले सत्य ठानेर विश्वास गरेका कुराका निम्ति ज्यान दिन्छन्। तापनि तिनीहरू आफूले झूटो ठानेका कुराका निम्ति ज्यान दिँदैनन्’ (डी. जेम्स केन्नडी, पीएचडी., व्हाइ आइ बिलिभ, थोमस नेलसन् पब्लिसर्स, २००५ संस्करण, पृष्ठ ४७)।

यी मानिसहरू ख्रीष्ट मृतकबाट पुनरुत्थान हुनुभएको साक्षी दिएका कारण मरेः

पत्रुस – क्रूरतासाथ कोर्रा लगाइयो, र क्रूसमा उल्टो झुण्ड्याइयो।
   अन्द्रियास – x आकारको क्रूसमा झुण्ड्याएर मारिएका थिए।
      याकूब, जब्दियाका छोरा, तिनको शिर काटिएर मारिए।
         यूहन्ना – उम्लिरहेको तेलको कराहीमा हालिए, अनि पछिबाट पत्मोस टापूमा निर्वासनमा पठाइए।
            फिलिप – कोर्रा लगाइए र क्रूसमा टाँगेर मारिए।
               बारथोलोमाइ – तिनको जिउँदै छाला काढियो र क्रूसमा टाँगिए।
                  मत्ती – तिनको शिर काटिएको थियो।
                      याकूब, प्रभुका भाइ – तिनलाई मन्दिरको टुप्पाबाट फालिएको थियो, र त्यसपछि कुटेर मारिएको थियो।
                        थेदियस – तिनलाई वाणहरू हानेर मारिएको थियो।
                           मर्कूस – तिनलाई घिस्साएर मारिएको थियो।
                              पावल – तिनको शिर काटेर मारियो।
                                 लूका – तिनलाई जैतूनको रूखमा झुण्ड्याएर मारियो।
                                    थोमा – तिनलाई भालाहरूले वारपार छेडिने गरी घोंचियो, र आगोको भट्टीमा फालियो।

(द न्यू फक्सेज अफ मार्टर्स, ब्रिज-लोगोस पब्लिसर्स, १९९७, पृष्ठ ५-१०; ग्रेग लाउरी,
व्हाइ द रिजरेक्सन्?
टिन्डेल हाउस पब्लिसर्स, पृष्ठ १९-२०)

यी मानिसहरूले भयानक दुःखहरू सहे, अनि डरलाग्दो किसिमले मरे, किनकि तिनीहरूले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो भनेका थिए। मानिसहरू आफूले देख्दैनदेखेको कुनै कुराका निम्ति मर्न चाहँदैनन्। यी मानिसहरूले ख्रीष्ट चिहानबाट बौरी उठ्नुभएपछि उहाँलाई देखेका थिए! त्यसैकारण यातना र मृत्युले समेत तिनीहरूलाई ‘ख्रीष्ट मृतकबाट जीवित हुनुभयो’ भनी घोषणा गर्नबाट रोक्न सकेन।

पत्रुसले उहाँलाई समुद्रको किनारमा देखे,
समुद्रको छेउ उहाँको साथमा खाए,
येशूले भनिरहनुभएको थियो, कुनै बेला मरेको ओंठले,
‘पत्रुस के तिमी मलाई प्रेम गर्छौ?’
जो मरेको थियो, भयो कसरी फेरि जीवित!
जो मरेको थियो, भयो फेरि जीवित!
तोडे मृत्युको बलियो, चिसो बन्धन-
जो मरेको थियो, भयो फेरि जीवित!
(‘अलाभ एगेन,’ पल ऱ्याडर, १८७८-१९३८)

यी मानिसहरू विश्वास नगर्ने कायरहरूबाट निडर शहिदहरूमा परिवर्तन भएका थिए- किनकि तिनीहरूले ख्रीष्ट चिहानबाट बौरी उठ्नुभएपछि उहाँलाई देखेका थिए।

थोमाले उहाँलाई कोठामा देखे,
भने उहाँलाई प्रभु र परमेश्वर,
हाले औंलाहरू ती प्वालहरूमा
बनेका काँटीहरू र तरवारले।
जो मरेको थियो, भयो कसरी फेरि जीवित!
जो मरेको थियो, भयो फेरि जीवित!
तोडे मृत्युको बलियो, चिसो बन्धन-
जो मरेको थियो, भयो फेरि जीवित!
(पल ऱ्याडर, ऐजन)।

हाम्रा चर्चहरूले पल ऱ्याडरले रचेका त्यो महान् भजन गाउन सिकून् भन्ने म कति इच्छा गर्दछु! यदि तपाईंले मलाई पत्र लेखेर माग्नुभयो भने यो भजन म तपाईंलाई पठाइदिनेछु। मेरो ठेगाना यस प्रकार छः Dr. R. L. Hymers, Jr., P.O. Box 15308, Los Angeles, CA 90015 – अनि पल ऱ्याडरले रचेका ‘अलाभ एगेन’ भजन मगाउनुहोस्।

हामी ख्रीष्टको पुनरुत्थानका अरू पनि धेरै प्रमाणहरू दिन सक्छौं, तर तिनले तपाईंलाई विश्वास दिलाउनेछैन। ख्रीष्ट मरेकोबाट फेरि जीवित हुनुभएका देख्ने कोही-कोहीले अझै ‘शङ्का’ गरे (मत्ती २८:१७)। तपाईं विश्वास गर्दै ख्रीष्टमा आउनुपर्छ। देहधारण गर्नुभन्दा अघिका ख्रीष्टले भन्नुभयो,

‘जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ’ (यर्मिया २९:१३)

‘किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ, र ऊ निर्दोष ठहरिन्छ’ (रोमी १०:१०)

मैले २८ सेप्टेम्बर, १९६१ को बिहान १०:३० बजे बायोला कलेज (अहिले विश्वविद्यालय)को हलमा डा. चार्ल्स जे. वुडरिजको सन्देश सुनेपछि बौरी उठ्नुभएको ख्रीष्टलाई भेटें, डा. वुडरिजले भर्खरै सुरु भइरहेको उदारवादी शिक्षाको कारण सन् १९५७ मा फुल्लर थिअलजिकल सेमिनरी छाडेका थिए (हेर्नुहोस्, हेरोल्ड लिन्डसेल, पीएचडी., द बेटल फर द बाइबल, जोन्डरभन पब्लिसिङ हाउस, १९७८ संस्करण, पृष्ठ १११)। अनि तपाईं पनि बौरी उठ्नुभएका ख्रीष्टलाई चिन्न सक्नुहुन्छ- यदि तपाईं उहाँलाई चिन्न चाहनुहुन्छ भने ‘साँघुरो ढोकाबाट भित्र पस्ने कोसिस’ (लूका १३:२४) गर्नुहोस्। जब तपाईं ख्रीष्टमा आउनुहुन्छ उहाँको रगतद्वारा तपाईंका पापहरूका निम्ति प्रायश्चित गरिन्छ र उहाँको रगतद्वारा धोइएर शुद्ध बन्नुहुनेछ- अनि मृतकबाट उहाँको बौरी उठाइद्वारा तपाईंको नयाँ जन्म हुनेछ। तपाईं चाँडै ख्रीष्टमा आउनुहोस् भन्ने मेरो प्रार्थना छ। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('इन क्राइष्ट एलोन,' केथ गेटी र स्टुअर्ट टाउनएन्डद्वारा रचित, २००१)


रूपरेखा

ख्रीष्टको पुनरुत्थानका तीन वटा प्रमाण

THREE PROOFS OF CHRIST’S RESURRECTION

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘किनकि राजा स्वयमले यी कुराको विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेका छैन, किनकि यी कुरा गुपचूपमा गरिएको होइन।’ (प्रेरित २६:२६)

(प्रेरित २५:१९; १ कोरिन्थी १५:१४)

१. पहिलो, रित्तो चिहान। मत्ती २८:१२-१५; यूहन्ना २०:१९;
मत्ती २७:६३-६४,६५,६६

२. दोस्रो, प्रत्यक्ष साक्षीहरूले दिएका बयानहरू। यूहन्ना २०:१९;
प्रेरित १:३; १ कोरिन्थी १५:५-८

३. तेस्रो, प्रेरितहरू शहिद भएका। मत्ती २८:१७;
यर्मिया २९:१३; रोमी १०:१०; लूका १३:२४