Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो

THIS SAYING WAS HID FROM THEM
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

११ मार्च, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 11, 2018

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३४)


लूकाको सुसमाचारमा येशूले आफ्ना चेलाहरूलाई उहाँ मर्न लाग्नुभएको कुरा बताउनुभएको यो तेस्रोचोटि हो (लूका ९:२२; ९:४४)। लूका १८:३१-३३ मा येशूले यसो भन्दै यो कुरा स्पष्ट बताउनुभयो,

‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ (लूका १८:३१-३३)

योभन्दा स्पष्ट अरू कसरी हुन सक्छ? तापनि, ‘तिनीहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन’(लूका १८:३४)। मर्कूस ९:३२ ले भन्छ, ‘उहाँले भन्नुभएको कुरा तिनीहरूले बुझेनन्।’ डा. ए. टी. रबर्टसनले मर्कूस ९:३२ माथि यसरी टिप्पणी गरेका छन्, ‘तिनीहरूले अझै पनि बुझेनन्। तिनीहरू मृत्यु र पुनरुत्थानको (ख्रीष्टको) विषयमा शंकालु (अविश्वासी)’ थिए (ए. टी. रबर्टसन, लिटडी.वर्ड पिक्चर्स इन द न्यू टेस्टामेन्ट, ब्रोडमेन प्रेस, १९३०, भाग १, पृष्ठ ३४४; मर्कूस ९:३२ माथिको टिप्पणी)।

प्रेरित पावलले ख्रीष्टको सुसमाचार संक्षेपमा र स्पष्ट बताएका छन्,

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।’ (१ कोरिन्थी १५:३-४)।

तापनि, यस बेला ती बाह्र चेलाले ख्रीष्टको सुसमाचार बुझेनन् वा विश्वास गरेनन्।

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३४)

डा. ए. टी. रबर्टसनले भनेका छन्, ‘तिनीहरू मृत्यु र पुनरुत्थानको (ख्रीष्टको) विषयमा शंकालु (अविश्वासी)’ थिए (ऐजन)।’ ती बाह्र चेलाले अझैसम्म सुसमाचारमा विश्वास गरेका थिएनन्। मर्कूस ९:३०-३२ माथि टिप्पणी गर्दै डा. जे. भर्नोन मेकजीले भनेका छन्, ‘उहाँले तिनीहरूका अगाडि उहाँको मृत्यु र पुनरुत्थानको घोषणा गर्नुभएको यो पहिलो पल्ट थिएन, तापनि तिनीहरूले बुझेनन्’ (जे. भर्नोन मेकजी, टीएचडी.,थ्रू द बाइबल, थोमस नेलसन पब्लिसर्स, १९८३, भाग ४, पृष्ठ २०१; मर्कूस ९:३०-३२ को टिप्पणी)।

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३४)

यस बाइबल पदका तीन वटा शब्दले सुसमाचारमा तिनीहरूले विश्वास नगरेका कुरा हामीलाई बताउँछ।

१. पहिलो, तिनीहरूले सुसमाचारलाई बुझेनन्।

‘तिनीहरूले यी कुराहरू एउटै पनि बुझेनन्।’ जुन ग्रीक शब्दलाई ‘बुझ्नु’ भनी अनुवाद गरिएको छ, त्यसको अर्थ ‘दिमागले बुझ्नु’ हो (स्ट्रङ्ग)। ख्रीष्टले स्पष्ट र ठीकसँगले बताउनु भए पनि चेलाहरू उहाँले भन्नुभएको कुरा बुझ्न असमर्थ थिए। हाम्रो बाइबल पदले भन्छ, ‘तिनीहरूले यी कुराहरू एउटै पनि बुझेनन्।’ श्री मेथ्यू पुलीले भनेका छन्, ‘ती शब्दहरू सजिलै बुझ्न सकिन्थे’ (कमेन्टेरी अन द होल बाइबल, द ब्यानर अफ त्रुथ ट्र्स्ट,१९९०, पुनर्प्रकाशित, भाग ३, पृष्ठ २५८, लूका १८:३४ को टिप्पणी),‘तापनि तिनीहरूले यी कुराहरू एउटै पनि बुझेनन्!’ ‘ख्रीष्ट अन्यजातिहरूका हातमा सुम्पिइनुहुनेछ’ भन्ने कुरा चेलाहरूले बुझ्न सकेनन्। तिनीहरूले उहाँलाई ‘गिल्ला गरिनेछ, विद्वेष पूर्ण रूपमा बिन्ती गरिनेछ र उहाँलाई थुकिनेछ’ भन्ने कुरा बुझ्न सकेनन्। उहाँको ढाडका हड्डीहरूमा ‘कोर्रा लगाइनेछ’ भन्ने कुरा पनि तिनीहरूले बुझेनन्। उहाँलाई क्रूसमा टाँगेर ‘मारिनेछ’ भनी तिनीहरूले बुझ्न सकेनन्। उहाँ ‘मरेको तीन दिनपछि’ फेरि जीवित हुनुहुनेछ भनी तिनीहरूले बुझेनन्। जसरी मर्कूसको सुसमाचारमा हामीलाई भनिएको छ,

‘मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिदिइनेछ, र तिनीहरूले उहाँलाई मार्नेछन्, र ऊ मारिएको तीन दिनपछि फेरि जीवित भई उठनेछ।’ तर उहाँले भन्नुभएका यो कुरा तिनीहरूले बुझेनन्, उहाँसँग सोध्न डराए।’ (मर्कूस ९:३१-३२)

मानिसले आफ्नो अज्ञानताबारे दिने जवाफको वर्णन श्री विलियम मेकडोनाल्डले गरेका छन्,

तिनीहरूका मन तिनीहरूलाई रोमबाट छुटकारा दिने र तुरुन्तै तिनीहरूका राज्य खडा गर्ने उद्धारक (राजनीतिक) को विचारले यति धेरै भरिएको थियो कि तिनीहरूले अरू कुनै पनि कार्यक्रमलाई (विश्वास गर्न) इन्कार गरे (विलियम मेकडोनाल्ड, बिलिभर्स बाइबल कमेन्टेरी, थोमस नेलसन पब्लिसर्स, १९८९ संस्करण, पृष्ठ १४४०, लूका १८:३४ को टिप्पणी)।

२८ जनवरी, २००६ को दिन इस्राएलका प्रमुख रब्बीहरूमध्ये एक यित्जाक कादुरीले मर्नुभन्दा अघि एउटा पत्र छाडेर गए, जुन तिनी मरेपछि मात्र खोल्नु पर्थ्यो। मध्य युगका रब्बीहरू मसीहहरू दुइ जना छन् भनी विश्वास गर्दथे - मसीह वेन जोसेफ, जो तिनीहरूका पापका निम्ति दुःख भोग्न आउनेछन्, जसरी योसेफले तिनका दाजूहरूका पापका निम्ति दुःख भोगेका थिए र उनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेका थिए, अनि अर्को मसीह वेन डेभिड, जो राजा दाऊदले जस्तो तिनीहरूका शत्रुहरूलाई जित्न र तिनीहरूमाथि शासन गर्न आउनेछन्। तर रब्बी कादुरीको मृत्युपछि तिनको पत्र खोल्दा तिनले मसीह एक जना मात्र छन् भनी विश्वास गरेका कुरा उजागर भयो। भनिन्छ, मसीहसम्बन्धी हिब्रू वाक्यको पहिलो अक्षरले ती मसीहको नाउँ- येशूअ प्रकट गर्दछ। अंग्रेजी/नेपालीमा त्यो नाउँ येशू हो। यस कुराले इस्राएलका विद्वानहरू माझ खलबली मच्चायो। दुःख भोग्ने मसीह र राज्य गर्ने मसीह एउटै हुन्। ‘दुइ जना मसीह’ वास्तवमा दुइ मसीह नभएर ख्रीष्टको पहिलो र दोस्रो आगमन हुन्!

ती चेलाहरूले मसीह वेन डेभिडको बाटो हेरिरहेका थिए, मसीह वेन जोसेफको होइन!

तिनीहरूका मन दुःख भोग्ने मसीह (मसीह वेन जोसेफ) मा विश्वास गर्ने कुराको विरुद्धमा थियो, किनकि ती समयका अधिकांश यहूदीहरूले एक त्यस्ता मसीहको बाटो हेरिरहेका थिए, जसले तिनीहरूलाई रोमको अधीनताबाट छुटकारा दिन सक्थे (मसीह वेन डेभिड)। तिनीहरूले ती दुइ मसीह एउटै व्यक्ति हुन् भनी बुझेनन्। हेर्नुहोस् मेरो प्रवचन “The Fear of the Disciples” (चेलाहरूको डर) – यहाँ क्लिक गर्नुहोस्। तर तिनीहरूमा सुसमाचारको अज्ञानता हुनुको अर्को कारण पनि थियो।

हाम्रा एक जना जवानले भन्यो, ‘धेरै पल्ट सुसमाचार सुनेपछि, फेरि हरेक आइतबार त्यो सुन्दा मेरो हृदय अझ कठोर भएको जस्तो हुन्थ्यो। सुसमाचारको सरलताले मलाई हतास बनाउँथ्यो। मैले केही पनि हुँदैन भनी सोचिरहन्थेँ, म मेरा भावनाहरू र आफैमाथि भरोसा राखेर थाकिसकेको थिएँ। [उसले मसीह वेन डेभिड चाहन्थ्यो, मनोचिकित्सक जस्तो मसीह, जसले उसका भावनाहरूलाई ठीक बनाउँछ]। डा. हिमर्सले मलाई येशूले मलाई प्रेम गर्नुहुन्छ भनी बारम्बार भन्नुभयो। अन्त्यमा, म केही पनि गर्न तयार भएँ। मैले त्यही गरेँ, जे डा. हिमर्सले भन्नुभयो। मैले येशूमा विश्वास गरेँ, किनकि क्रूसमा काँटी येशूलाई ठोकिएको थियो, मेरा भावनाहरूलाई होइन। [उसले मानसिक स्वास्थ्य पाउन मसीह वेन डेभिड चाहन्थ्यो]। अनि येशूले उहाँको रगतले मेरा पापहरू पखाल्नुभयो।’ त्यो जवान मानिस ती चेलाहरू जस्तै थियो। उसले येशू उसका पापहरूका निम्ति मर्नुभएको कुरा सुनेको थियो, तर त्यसमा विश्वास गरेको थिएन। उसले मानसिक स्वास्थ्य चाहन्थ्यो, पापहरूको क्षमा होइन। आज राति तपाईंहरूमध्ये कोही-कोही यस्तै हुनुहुन्छ।

२. दोस्रो, सुसमाचार तिनीहरूबाट गुप्तमा राखिएको थियो।

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो।...’ (लूका १८:३४)

‘गुप्त’ शब्द ग्रीकबाट अनुवाद गरिएको हो, जसको अर्थ ‘लुकाउनु, छिपाउनु’ हो (स्ट्रङ्ग) यूहन्ना ८:५९ मा पनि ठीक त्यही शब्द पाइन्छ, जहाँ यसो भनिएको छ, ‘येशू लुक्नुभयो।’ यसैले हाम्रो आजको बाइबल पदमा, ‘तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो’ भनिएको छ। येशूले आफैलाई लुकाउनुहुँदा कुनै अलौकिक कुरा सामेल थियो, किनकि मानिसहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपेका थिए (यूहन्ना ८:५९)। हाम्रो आजको बाइबल पदमा पनि अलौकिक कुरा छ, ‘तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो।’ लूका १८:३४ का वचनहरूमाथि बोल्दै डा. गेबिलिनको कमेन्टेरीले भन्छ, ‘लूकाले चेलाहरूको अज्ञानतालाई स्पष्ट रूपमा अलौकिक रूपमा तिनीहरूलाई समझ नै नदिइएको भन्दछन्’ (फ्रेन्क. ई. गेबिलिन, डी.डी., प्रमुख सम्पादक, दि एक्स्पोजिटर्स बाइबल कमेन्टेरी, जोन्डरभन पब्लिसिङ हाउस, १९८४ संस्करण, भाग ८, पृष्ठ १००५, लूका १८:३४ को टिप्पणी)। मेरो विचारमा यो पदको अर्थ त्यही नै हो। परमेश्वरबाटै तिनीहरूलाई बुझ्न दिइएको थिएन। ‘‘तिनीहरूका निम्ति यो कुरा (सुसमाचार) गुप्तमा राखियो।’’

शैतानले तपाईंलाई अन्धो बनाउँछ। बाइबलले भन्छ, ‘हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।...तिनीहरूले नदेखून् भनेर यस संसारको देव(शैतान)ले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ’ (२ कोरिन्थी ४:३-४)। यसैकारण तपाईं येशूमा विश्वास गर्नुको साटो भावनाहरू खोज्नुहुन्छ।

अब हामी देख्छौं, ती चेलाहरू त्यो बेला महान् सन्तहरू थिएनन्। तिनीहरू साधारण मानिसहरू थिए। तिनीहरू पनि हामीजस्तै मानिस र आदमका सन्तान थिए। यसैले तिनीहरू ‘पाप र अपराधमा मरेका’ थिए, म पनि उद्धार पाउनुभन्दा अघि चर्चमा सात वर्षसम्म त्यस्तै अवस्थामा थिएँ, अनि तपाईंहरूमध्ये कोही-कोही त्यस्तै हुनुहुन्छ (एफिसी २:१,५)। आदमको सन्तानको रूपमा तिनीहरूका शारीरिक मन ‘परमेश्वरप्रति शत्रु’ थियो (रोमी ८:७)। आदमको सन्तानको रूपमा तिनीहरू स्वाभाविक मानिसहरू मात्र थिए, अनि ‘स्वाभाविक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन’ (१ कोरिन्थी २:१४)। आदमको सन्तान भएकाले ‘क्रूसको प्रचार तिनीहरूका निम्ति मूर्खता थियो’ (१ कोरिन्थी १:१८)। ख्रीष्टले निकोदेमसलाई अति नै साँचो कुरा भन्नुभयो, ‘तिमी नयाँ गरी जन्मनै पर्छ’ (यूहन्ना ३:७) त्यसरी नै चेलाहरू पनि ‘नयाँ गरी जन्मनै पर्छ।’ तिनीहरू आफ्ना कामधन्दा छाडेर ख्रीष्टको पछि लाग्दैमा नयाँ गरी जन्मन सक्दैनथे। त्यसो गर्नु त काम गरेर उद्धार पाउन खोजेको जस्तो हुन्छ। रोमन केथोलिकहरूले त्यस्तै प्रकारको व्याख्या गर्छन्! तर बाइबलले भने अनुग्रद्वारा उद्धार पाइन्छ भनी सिकाउँछ, यसैले तिनीहरू ख्रीष्टको पछि लागेर मत्र उद्धार पाउन सक्दैनथे।

‘किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो- कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।’ (एफिसी २:८,९)

यहूदा बाह्र चेलामध्ये एक थिए। के उसको नयाँ जन्म भएको थियो? ख्रीष्टले भन्नुभयो, ऊ ‘नष्ट’ भएको थियो, उहाँले उसलाई ‘विनाशको छोरा’ भन्नुभयो (यूहन्ना १७:१२)। के थोमाको नयाँ जन्म भएको थियो? येशूको पुनरुत्थानपछि थोमाले हठी बन्दै भने, ‘म विश्वास गर्दिनँ’ (यूहन्ना २०:२५)। म जान्दछु, पत्रुसले परमेश्वरबाट केही प्रकाश पाएका थिए (मत्ती १६:१७), तर केही क्षणपछि येशूले उहाँ ‘मारिनुहुनेछ,’ र ‘मरेको तेस्रो दिन फेरि जीवित हुनुहुनेछ’ भनी तिनीहरूलाई भन्नुहुँदा तिनले उहाँलाई हप्काए (मत्ती १६:२१,२२), अनि येशूले पत्रुसलाई भन्नुभयो, ‘ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुरामा ध्यान (विचार गर्छस्)दिन्छस्’ (मत्ती १६:२३)। स्पष्ट छ, पत्रुसले सुसमाचारलाई इन्कार गरे, अनि शैतानद्वारा प्रभावित भएर ख्रीष्टको क्रुसिकरण र पुनरुत्थानलाई इन्कार गरे। आज राति तपाईंहरू पनि पत्रुसझैं हुनुहुन्छ। तपाईंहरू मसीह वेन डेभिडको खोजी गरिरहनुभएको छ (तपाईंलाई राम्रो महसुस गराउने, तपाईंलाई असल जीवन दिने, तपाईंलाई भौतिक थोकहरू दिने), त्यो मसीह वेन जोसेफ (क्रूसमा तपाईंको पापको मूल्य चुकाउने) खोज्नुभएको छैन।

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा (सुसमाचारको) गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।...’(लूका १८:३४)

प्रेरित पावलले भने,

‘हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।...तिनीहरूले नदेखून् भनेर यस संसारको देव(शैतान)ले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ’ (२ कोरिन्थी ४:३-४)।

शैतानले तपाईंलाई अन्धो बनाउँछ, यसैले तपाईं आफ्नो पापको क्षमा खोज्नुहुन्न, तर भौतिक कुराहरूको खोजी गर्नुहुन्छ।

हो, त्यहाँ ‘अलौकिक’ शक्तिले अन्धो पार्ने काम गरेको थियो, चेलाहरू शैतानद्वारा अन्धो पारिएका थिए, साथै तिनीहरूका आफ्नै शारीरिक, आदमको स्वभावले गर्दा सुसमाचारप्रति अन्धो भएका थिए। येशूले भन्नुभयो, ‘मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ’ (मत्ती १८:३)। उहाँले कसलाई यो कुरा भन्नुभएको थियो? उहाँले यो ‘ती चेलाहरूलाई’ भन्नुभएको थियो (मत्ती १८:१)। मत्ती १८:१-३ को वचन ध्यान लाएर सुन्नुहोस्,

‘त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, ‘स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?’ उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, र भन्नुभयो, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। (मत्ती १८:१-३)

चेलाहरू स्वर्गको राज्यमा तिनीहरूमध्ये को सबैभन्दा ठूलो हुनेछ भनी जान्न चाहन्थे (मत्ती १८:१)। येशूले चेलाहरूलाई भन्नुभयो, ‘मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।’ (मत्ती १८:३)

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो (सुसमाचार) कुरा गुप्तमा राखियो,’ (लूका १८:३४)

३. तेस्रो, तिनीहरूले अनुभवद्वारा सुसमाचार जानेनन्।

हाम्रो बाइबल पदको अन्तिम भागले भन्छ, ‘अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन’ (लूका १८:३४)। ‘समझले भ्याएन’ भनी अनुवाद गरिएको ग्रीक शब्दको अर्थ ‘थाहा पाउनु, निश्चित हुनु, अनुभवद्वारा सचेत हुनु’ हो (जर्ज रिकर बेर्री, अ ग्रीक-इंग्लिस लेक्सिकन अफ न्यू टेस्टामेन्ट सिनोनिम्स, स्ट्रङ्गको संकेत, नम्बर १०९७)। त्यही शब्द फिलिप्पी ३:१० मा पनि प्रयोग गरिएको छ, ‘म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति, र उहाँको दुःख भोग जान्न सकूँ।’ ती चेलाहरूले अनुभवद्वारा सुसमाचार जानेनन्। तिनीहरूले वचन सुने, सुसमाचारको वास्तविकतालाई अनुभव गरेका थिएनन्। तिनीहरू आफ्ना पापको निम्ति क्षमाको खोजी गरिरहेका थिएनन्, तर परमेश्वरको राज्यमा इनाम पाउन खोजिरहेका थिए। अब सम्पूर्ण खण्ड सुन्नुहोस्। यो खण्ड लूका १८:३१-३४ हो।

‘‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ (लूका १८:३१-३३)

के अब तपाईंले देख्नुभयो? ‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन (अनुभवद्वारा)।’ (लूका १८:३४)

श्री सी. एच. स्पर्जनको जीवन गवाही सुन्नुहोस्। तिनी सुसमाचार प्रचार गर्ने पास्टरको घरमा हुर्केका थिए- जो तिनका आफ्नै पिता थिए। ग्रीष्ममा तिनी बाजेको घरमा गएर बस्दथे, उनी पनि सुसमाचार प्रचारक थिए। तिनले सारा जीवन प्रत्येक आइतबार सुसमाचार सुने। तापनि येशूको पुनरुत्थानभन्दा अघिका चेलाहरूको जस्तै तिनको हृदय परिवर्तन भएको थिएन। स्पर्जनले भने,

मैले मेरो जवान अवस्थादेखि नै येशूको बलिदानद्वारा उद्धारको योजनाको बारेमा सुनेको थिएँ, तर मेरो भित्री आत्मामा म जन्मिएको छु (एक मूर्तिपूजक देशमा) कि छैन भनी जान्दिनँथें। यो मेरो निम्ति एउटा नयाँ प्रकाशको रूपमा आयो, मैल अघि कहिल्यै धर्मशास्त्र नै नपढेकोजस्तो गरी ताजा भएर आयो, (त्यसपछि) मैले परमेश्वरका पुत्र, उहाँको आफ्नै धन्य व्यक्तित्वमा मानिस बन्नुभयो, क्रूसमा उहाँको आफ्नै शरीरमा मेरो पाप बोक्नुभयो भनी बुझेँ र जाने...के तपाईंले यो कहिल्यै देख्नुभएको छ? (सी. एच. स्पर्जन, हाउ केन अ जस्ट गड जस्टीफाइ गिल्टी मेन? च्यापल लाइब्रेरी, पेन्साकोला, फ्लोरिडा)।

स्पर्जनले ख्रीष्टको बारेमा सबै कुरा जान्दथे। तिनले उद्धारको योजनाको बारेमा जानेका थिए। तर तिनले ‘ती कुराहरू एउटै पनि बुझेनन्। तिनका निम्ति यो कुरा (सुसमाचारको) गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनको समझले(अनुभवद्वारा) भ्याएन’ (लूका १८:३४)। सुसमाचार तिनीकहाँ यस्तो शक्तिसहित अचानक आयो, यसैले तिनले भने, ‘यो मेरो निम्ति एउटा नयाँ प्रकाशको रूपमा आयो, मैल अघि कहिल्यै धर्मशास्त्र नै नपढेकोजस्तो गरी ताजा भएर आयो।’ त्यो नयाँ प्रकाश के थियो? ख्रीष्टले पाप क्षमा गर्नुहुन्छ! तिनले बाँकी जीवनभरि पापबाट उद्धार पाउने विषयमा प्रचार गरे।

त्यही नै साँचो हृदय परिवर्तन हो- जुन बेला तपाईंको आत्मालाई पापको भारी महसुस गराइन्छ- र तपाईं बौरी उठ्नुभएका ख्रीष्टमा खिँचिनुहुन्छ। कसैले मलाई भन्यो, ‘चेलाहरूले बौरी उठ्नुभएका ख्रीष्टलाई भेटेपछि तिनीहरूका हृदय परिवर्तन भए भनी बाइबलमा कहाँनेर लेखिएको छ?’ यसको उत्तर सजिलो छ- चारै वटा सुसमाचारको अन्त्यमा- मत्ती २८ मा, मर्कूस १६ मा, लूका २४ मा (विशेष गरी यो खण्डमा, पद ३६-४५ मा स्पष्ट छ), अनि यूहन्ना २०:१९-२२। अमेरिकाका सुपरिचित बाइबल शिक्षक डा. जे. भर्नोन मेकजीले यूहन्ना २०:२२ को सम्बन्धमा यसो भनेका छन्, ‘म व्यक्तिगत रूपले विश्वास गर्दछु कि, हाम्रा प्रभुले तिनीहरूमाथि श्वास फुकिदिएर, ‘पवित्र आत्मा लेओ’ भन्नुहुँदा ती मानिसहरूको नयाँ जन्म भएको थियो। त्योभन्दा अघि तिनीहरूको नयाँ जन्म भएको थिएन।’ तिनीहरूले भौतिक फाइदाहरू खोज्न छाडेपछि, तिनीहरूले ख्रीष्टलाई त्यागेपछि र तिनीहरू पापी हुन् भनी जानेपछि मात्र तिनीहरू नयाँ गरी जन्मेका थिए। तपाईं पनि आफ्नो पापको निम्ति व्याकुल नभएसम्म उद्धार पाउनुहुन्न। त्यसपछि मात्र तपाईं येशूद्वारा बचाइनुहुनेछ (हेर्नुहोस्, जे. भर्नोन मेकजी, टीएचडी., थ्रू द बाइबल, थोमस नेलसन पब्लिसर्स, भाग ४, पृष्ठ ४९८. यूहन्ना २०:२१ को टिप्पणी)। तपाईं डा. मेकजीको सन्देश इन्टरनेटमा www.thruthebible.org. सुन्न सक्नुहुन्छ।

हाम्रो प्रार्थना छ, तपाईंले पवित्र आत्माद्वारा आफ्नो पाप थाहा पाउनुहोस्, अनि परमेश्वरका आत्माले तपाईंको हृदय खोल्नुहुनेछ, ख्रीष्टको अमूल्य रगतले पापबाट शुद्ध पार्न तपाईंलाई बौरी उठ्नुभएका परमेश्वरका पुत्र येशू ख्रीष्टमा खिँच्नुहुनेछ।

हाम्रो चर्चको एउटी महिलाले भनिन्, ‘म स्वार्थी थिएँ, डाहले भरिएकी, अरूहरूसँग क्रोधित थिएँ। मैले अनुभव गरेकी कुरा म सहनै सक्दिनँथेँ। मेरो पापमय स्वभावमा मैले येशूलाई इन्कार गरिरहेकी थिएँ। मेरो हृदय परिवर्तन झूटो थियो, किनकि मैले स्वयम् येशूमा होइन तर आफ्नै विचारहरूमा भरोसा राखेकी थिएँ। [तिनी भौतिक थोकहरू खोज्ने, र अन्त्यमा तिनीहरूलाई बचाउन ख्रीष्टले दुःख भोग्नुभएको रहेछ भनी बुझ्ने हृदय परिवर्तन नभएका ती चेलाहरूजस्तै थिए]। मैले जति बढी आफैलाई बचाउने कोसिस गरेँ, त्यत्ति नै बढी आफू हराएको महसुस गरेँ। त्यसपछि मैले मेरो निम्ति येशूले क्रूसमा नरकको जस्तो दुःख भोग्नुभएको कुरा बुझेँ। मेरो निम्ति उहाँको प्रेमलाई म कसरी इन्कार गर्न सक्थेँ र? अहिले मसँग येशू हुनुहुन्छ, जसले मलाई अरू कसैले भन्दा बढी प्रेम गर्नुहुन्छ। अब म बाँकी जीवनभरि उहाँमाथि भरोसा राख्नेछु।’

डा. मेकजीको हरेक कार्यक्रम यो भजन गाउँदै समाप्त हुँदछ, ‘येशूले सबै तिर्नुभो।’

सुन्छु उद्धारकर्ताले भनेका,’तिम्रो शक्ति साँच्चै थोरै छ,
कमजोर बालक जागा रही गर प्रार्थना, ममा पाऊ तिम्रा सबै कुरा।’
तिर्नुभो येशूले सब, उहाँको ऋणी छु म;
छोडेको पापले गाढा रातो सिन्दुरे दाग, हिँउँझैं सेतो पारी धुनुभो।

प्रभु, साँच्चै पाउँछु तपाईंको शक्ति, मात्र तपाईंमा,
कोरीको दाग हटाउन सक्छ, ढुंगाको हृदय पगाल्न सक्छ।
तिर्नुभो येशूले सब, उहाँको ऋणी छु म;
छोडेको पापले गाढा रातो सिन्दुरे दाग, हिँउँझैं सेतो पारी धुनुभो।

छैन केही असल ममा म अनुग्रहको माग गर्न सकूँ-
धुन्छु मेरो वस्त्र कल्भरीको थुमाको रगतमा सेतो,
तिर्नुभो येशूले सब, उहाँको ऋणी छु म;
छोडेको पापले गाढा रातो सिन्दुरे दाग, हिँउँझैं सेतो पारी धुनुभो।

अनि सिंहासनको अगि हुन्छु खडा पूर्ण भई,
मरे येशू मेरो प्राण बचाउन, मेरो ओठले बारम्बार भन्छ;
तिर्नुभो येशूले सब, उहाँको ऋणी छु म;
छोडेको पापले गाढा रातो सिन्दुरे दाग, हिँउँझैं सेतो पारी धुनुभो।
(‘जिजस पेड इट अल,’ एलभिना एम. हल- १८२०-१८८९- द्वारा रचित)।

यो सन्देशभन्दा अघि श्री ग्रिफिथले ‘इन क्राइष्ट एलोन’ भनिने सुन्दर भजन गाउनुभयो। प्रेस्बीटेरियन चर्च (अमेरिका) ले तिनीहरूको भजन पुस्तकबाट यो भजन हटायो, किनकि यो रच्नेले दोस्रो खण्डका ‘परमेश्वरको क्रोध भयो शान्त’ भन्ने शब्दहरू बदल्न इन्कार गरे। तर त्यस भजनका शब्दहरू पूर्ण ठीक थिए। श्री ग्रिफिथ यो गाउन आउनुहुँदा ध्यान लाएर सुन्नुहोस्।

ख्रीष्टमा मात्र छ मेरो आशा,
उहाँ मेरो ज्योति, मेरो शक्ति मेरो गीत,
यो कुनेढुङ्गो, यो बलियो भूमि
चर्को खडेरी र हुरीमा पनि अटल।
प्रेमको कसितो उचाइ, शान्तिको कस्तो गहिराइ
डरहरू शान्त भएपछि संघर्ष सकेपछि!
मेरा शान्तिदाता, मेरा सर्वेसर्वा-
यहाँ ख्रीष्टको प्रेममा हुन्छु खडा।

ख्रीष्टमा मात्र, जसले गरे धारण शरीर,
परमेश्वरको पूर्णता असहाय शिशु!
प्रेम र धार्मिकताको वरदान,
बचाउन आए जसलाई गरे तिनैले गिल्ला ।
क्रूसमा येशू नमरुञ्जेल,
परमेश्वरको क्रोध भयो शान्त,
सबैका पाप बोकाइयो उहाँलाई-
यहाँ जिउँछु ख्रीष्टको प्रेममा जिउँछु।

त्यहाँ जमिनमा छ राखेको शरीर उहाँको,
संसारको ज्योति अन्धकारले मारेको,
अनि उठ्नुभो महिमित दिनमा,
उठ्नुभो फेरि उहाँ चिहानबाट!
अनि उभ्नुहुन्छ उहाँ विजयमा,
पापको सरापको पकड्ले छोड्यो मलाई,
किनकि म उहाँको, उहाँ मेरा हुन्,
किनेको ख्रीष्टको अमूल्य रगतले।

छैन दोष जीवनमा, छैन डर मृत्युमा-
यो ममा रहेको ख्रीष्टको हो शक्ति,
जीवनको पहिलो रुवाइदेखि आखिरी साससम्म,
येशूले सम्हाल्नेछन् मेरो गन्तव्य।
न त नरकको शक्तिले, न मानिसको युक्तिले,
छुटाउन सक्छ मलाई उहाँको हातदेखि,
उहाँ नआऊञ्जेल वा मलाई घर नबोलाऊञ्जेल-
यहाँ ख्रीष्टको शक्तिमा हुन्छु म खडा।
(‘इन क्राइष्ट एलोन,’ केथ गेट्टी र स्टुअर्ट टाउनेन्ड- २००१- द्वारा रचित)

अब, श्री ग्रिफिथले दोस्रो खण्ड फेरि गाउनुहुन्छ, सुन्नुहोस्।

ख्रीष्टमा मात्र, जसले गरे धारण शरीर,
परमेश्वरको पूर्णता असहाय शिशु!
प्रेम र धार्मिकताको वरदान,
बचाउन आए जसलाई गरे तिनैले गिल्ला ।
क्रूसमा येशू नमरुञ्जेल,
परमेश्वरको क्रोध भयो शान्त,
सबैका पाप बोकाइयो उहाँलाई-
यहाँ जिउँछु ख्रीष्टको प्रेममा जिउँछु।

आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('इन क्राइष्ट एलोन,' केथ गेटी र स्टुअर्ट टाउनएन्डद्वारा रचित, २००१)।


रूपरेखा

तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो

THIS SAYING WAS HID FROM THEM

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३४)

(लूका १८:३१-३३; मर्कूस ९:३२; १ कोरिन्थी १५:३-४)

१. पहिलो, तिनीहरूले सुसमाचारलाई बुझेनन्। लूका १८:३४क; मर्कूस ९:३१-३२

२. दोस्रो, सुसमाचार तिनीहरूबाट गुप्तमा राखिएको थियो। लूका १८:३४ख; यूहन्ना ८:५९;
२ कोरिन्थी ४:३,४; एफिसी २:१,५; रोमी ८:७; १ कोरिन्थी २:१४; १:१८;
यूहन्ना ३:७; एफिसी २:८-९; यूहन्ना १७:१२; २०:२५;
मत्ती १६:१७,२१,२२,२३; मत्ती १८:१-३

३. तेस्रो, तिनीहरूले अनुभवद्वारा सुसमाचार जानेनन्। लूका १८:३४ग; फिलिप्पी ३:१०