Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




हाम्रो युद्धका अस्त्र-शस्त्रहरू

THE WEAPONS OF OUR WARFARE
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

शनिबार बेलुकी, ७ जनवरी, २०१७ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, January 7, 2017

'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ'(२ कोरिन्थी १०:४)।


मेरा मित्रहरू, हामी लडाइँमा होमिएका छौं। यो त्यस्तो लडाइँ होइन, जसको विषयमा संसारले कुरा गर्छ। यो मुसलमान अतिवादीहरूसितको लडाइँ होइन। यो देश-देशबीचको लडाइँ होइन। यो एउटा भिन्नै किसिमको लडाइँ हो। यो यस्तो लडाइँ हो, जुन अरू कुनै पनि लडाइँभन्दा धेरै भयानक छ। हामी यो लडाइँ बन्दूक वा हाते ग्रिनेड वा बमहरूद्वारा जित्न सक्दैनौं। हाम्रा पितापुर्खाहरू यस्तै हात-हतियारहरूसहित हिटलरको विरुद्धमा लडे। उनीहरूले दोस्रो विश्व युद्ध जिते, चर्चिलले भनेझैं, 'रगत, कठोर परिश्रम, पसीना र आँसुहरू' सहित त्यो युद्ध जिते। धेरै कठिनाइहरू हुँदाहुँदै पनि तिनीहरूले त्यो युद्ध जिते। हिटलरको फौजको शक्ति इंगल्याण्ड र अमेरिकाको संयुक्त सेनाको शक्तिभन्दा ठूलो थियो। यदि हिटलरले जितेका भए हाम्रो जीवनशैली खतम पार्नेथिए। तिनले पश्चिमी संसारको लामो इतिहास समाप्त गर्नेथिए। अहिले हामी बम खसालिएर विनाश र उजाड् भएको राज्यमा जिइरहेका हुनेथियौं। चर्चिल, रूसभेल्ट र हाम्रो संयुक्त सेनाका सिपाहीहरूका निम्ति परमेश्वरलाई धन्यवाद होस्, जुन सिपाहीहरूले ती शत्रुको पिछा गरे अनि अति क्रूर मानिस एडोल्फ हिटलर र तिनको नाजी युद्ध संयन्त्रको पागलपन र प्रचण्ड क्रोधले सृजना गरेको तानाशाही शासनलाई नाश पारे।

मलाई त्यो युद्धको धमिलो सम्झना मात्र छ। कालो अन्धकार, खतराका तीखा ध्वनिहरू र डरको मेरो बाल दिमागमा छाप बसेको थियो। तापनि हाम्रो आजको बाइबल पदले अर्को किसिमको युद्धको बारेमा बताउँदछ। यो रगत र मासु भएको शत्रुको विरुद्ध लडाइँ होइन। यो त्योभन्दा अझ बढी गुप्त प्रकारले हानि गर्ने र अस्तव्यस्त पार्ने युद्ध हुन्छ, धेरै जना मानिसले सोचेकाभन्दा कता हो कता ठूलो शक्ति विरुद्धको युद्ध हो। यो शैतान र त्यसका दुष्टात्माहरू झुन्डको शक्तिका विरुद्ध लडाइँ हो।

प्रेरित पावलले यस विषयमा स्पष्ट बताएका छन्, 'किनभने हामी संसारका हौं, तापनि सांसारिक लडाइँ त लड्दैनौं'(२ कोरिन्थी १०:३)। हामी मानिस मात्र हौं। हामी मानवीय युक्तिहरूद्वारा यो शत्रुलाई पराजित गर्न सक्दैनौं। न कुनै राजनेता, न सेनापति वा न उच्च सैनिक अधिकारी- न डोनाल्ड ट्रम्प, न रगत र मासुले बनेको कुनै पनि मानिसले यो सबैभन्दा दुष्ट युद्ध जित्न सक्छ।

'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ'(२ कोरिन्थी १०:४)।

१. पहिलो, हामी एउटा युद्धमा होमिएकाछौं भनी हामीले बुझ्नुपर्छ।

प्रायः मानिसहरूले यो युद्ध भैरहेको छ भन्ने थाहा पनि पाउँदैनन्। ऊ आफ्नो सानो मोबाएल फोनमा एक बालकजस्तो खेल्छ। उसले गाँजा तान्छ अनि त्यसले उत्पन्न गर्ने खराबीको बारेमा विचारसमेत गर्दैन। ऊ व्यभिचारिणी स्त्रीहरूसँग र अनैतिक पुरुषहरूसँग यौनको खेल खेल्छ। डा. टोजरले ठिकै भनेका छन्, उसको निम्ति 'संसार एउटा लडाइँको मैदान नभएर खेलको मैदान हो।'

हाम्रा चर्चहरूले पनि विभिन्न किसिमका खेलहरू खेल्छन्। हाम्रा अन्धा प्रचारकहरू उनीहरूका आइतबार बेलुकीका सेवाहरू बन्द गर्छन्। उनीहरू ती जवानहरूको बारेमा कहिल्यै पनि सोच्दैनन्, जसका निम्ति आइतबारका रातहरूमा पापको कालो अन्धकारभित्र जानबाहेक अरू कुनै विकल्प हुँदैन। दिमाग मरिसकेका ती प्रचारकहरूलाई ती कुराले कुनै फरक पार्दैन। आइतबार राति टेलिभिजन हेर्न, वा आफैलाई कोठामा बन्द गरी निर्लज्ज भई छाडा चलचित्रहरूको लतमा परेका उनीहरू, ती हेर्नका निम्ति हरेक आइतबारका बिहान उनीहरू आफूले सक्दो पैसा संग्रह गर्छन्। एक समयको महान् मुडी बाइबल इन्स्टिट्यूटले अहिले आफ्ना शिक्षक र सहकर्मीहरूलाई मद्य र सुर्ती प्रयोग गर्ने अनुमति दिएको छ। बायोला युनिभर्सिटीले पनि विगत वर्ष त्यस्तै किसिमको नियम बनाएको छ(डन बोइज,पीएचडी.,२६ दिसम्बर,२०१६)। मेरी श्रीमती र म त्यस बेला छक्क पऱ्यौं जब मैले वर्षौं अघि स्थापना गरेको चर्चका पास्टरको छोराको विवाह-भोजमा बियर र मद्य वितरण गरियो अनि मानिसहरू नाच्न र गाउन थाले। अक्सफोर्डको कनेक्टीकटको एउटा चर्चमा रिक बारेनको पुस्तकको अध्ययन गर्न 'बियर, बाइबल र ब्रदरहुड' भेला हुने गर्छ। यस्ता घटनाहरू सारा अमेरिकाका चर्चहरूमा हुन थालेका छन्(बोइज,ऐजन)।

हाम्रा धेरैओटा चर्चमा आइतबार बिहान प्रायः एक घन्टासम्म अनुशासनहीन संगीत बजाइन्छ- त्यसपछि पन्ध्र मिनेटसम्म पद-पद गरी शुष्क 'शिक्षा' दिइन्छ, त्यसमा कुनै सुसमाचार हुँदैन वा ख्रीष्टको उल्लेख हुँदैन, सुसमाचार प्रचारद्वारा कुनै मानिसलाई भित्र ल्याइँदैन, हराएको पापी कसरी बचाइन सक्छ भन्ने कुनै उल्लेख हुँदैन! साँच्चै एउटा ठूलो युद्ध भैरहेछ, तर यी चर्चका मानिसहरू पूर्ण अन्धो भएर त्यो देख्न सक्दैनन्, तिनीहरू आफ्ना ससाना खेलहरू खेल्छन् अनि तिनीहरू साँचो ख्रीष्टियन हुन् भन्ने सोच्छन्। तिनीहरू प्रार्थना सेवामा कहिल्यै जाँदैनन्। तिनीहरू हराएका आत्माहरूलाई सुसमाचार सुनाउन कहिल्यै चर्चमा ल्याउँदैनन्। 'तिनीहरूका बीचबाट निस्केर आऊ।' त्यस्तो चर्चमा कहिल्यै नजानुहोस्। यदि तपाईं पहिलेदेखि नै जानलाग्नुभएको छ भने दण्ड आएको दिन लोत सदोमबाट भागेझैं त्यो चर्चबाट भाग्नुहोस्।

म वृद्ध र पाको छु। कुनै दिन म यहाँ हुनेछैनँ। तर हाम्रो चर्चमा आउने तपाईं प्रत्येकलाई म जिम्मेवारी दिन्छु, कि त्यस्तो पागलपनको अगाडि कहिल्यै नझुक्नुहोस्। त्यस्तो सांसारिक मूर्खताको अगाडि कहिल्यै नझुक्नुहोस्। कहिल्यै, कहिल्यै, कहिल्यै पनि नझुक्नुहोस्। विगत समयको जागृतिका पुराना स्तुति-भजनहरू गाउन कहिल्यै नछाड्नुहोस्। श्री ग्रिफिथले केही अगाडि गाउनुभएको त्यो पुरानो स्तुति-भजन गाउन कहिल्यै नछाड्नुहोस्। त्यो भजनको पुस्तिकामा १० नम्बरमा छ। त्यो भजन 'अगि बढ ख्रीष्टिय सिपाही हो' भन्ने हो। कृपया, खडा भएर जोड र स्पष्टसँगले यो भजन गाउनुहोस्!

अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि
राजकीय मालिक ख्रीष्टले शत्रुविरुद्ध डोराउँछन्,
   लडाइँमा अगिअगि उहाँको झन्डा बढेको।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।

शक्तिशाली फौजझैं बढ्छ परमेश्वरको मण्डली
   भाइ हो, टेक्दै सन्तहरूका पाइलामा
छैनौं विभाजित हामी, हामी सब एक शरीर
   एउटा आशा र शिक्षा, एउटा दानमा।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।

मुकुटहरू र काँडाहरू नाश, राज्य उत्थान र पतन हुन्छ
   नरकका ढोकाहरू हुँदैनन् विजयी मण्डलीमाथि
छ हामीसँग ख्रीष्टको प्रतिज्ञा, जुन चुक्दैन
   अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
येशूको क्रूस बोकी अगिअगि।
        ('अनवर्ड क्रिश्चियन सोल्जर्स,' सविन बारिङ-गाउल्ड-१८३४-१९२४ द्वारा रचित)

तपाईंहरू बस्न सक्नुहुन्छ।

'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ'(२ कोरिन्थी १०:४)।

हाम्रो अस्त्र-शस्त्र शारीरिक होइनन्, मानवीय हात-हतियारहरू होइनन्। ती अलौकिक हात-हतियार हुन्। ती अलौकिक हतियार हुनै पर्छ, किनकि हामी अलौकिक शक्तिहरूसँग लडाइँ गर्दछौं। हामी शैतान र त्यसका दुष्टात्माहरूको विरुद्ध लडाइँ गर्दछौं। हामी 'शैतानका छलहरूको विरुद्धमा'(एफिसी ६:११) लडाइँ गरिरहेकाछौं। हामी, जो ख्रीष्टियन हौं, शैतानका युक्तिहरूको विरुद्धमा लडाइँ गर्दछौं। हामीले ती युक्तिहरू, झुटा धारणाहरू र बङ्ग्याइएका सोचविचारहरूको विरुद्ध लडाइँ गरिरहेकाछौं। त्यस्ता विचारहरू शैतानले विश्वास नगर्ने मानिसहरूका मनमा हालिदिन्छ। पवित्र बाइबलले भन्छ, 'हाम्रो युद्ध शरीर र रगतको विरुद्ध होइन... तर... अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र... दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्ध हो'(एफिसी ६:१२)। हामीले शैतान र दुष्टात्माहरूको विरुद्ध लडाइँ गर्नैपर्छ। हामीले हराएको प्रत्येक आत्माका निम्ति लडाइँ गर्नैपर्छ, जसलाई हामी चर्चमा ल्याउँदछौं। लडाइँ नगरी त्यसले उनीहरूलाई फुत्किन दिँदैन।

यदि तपाईंले अझसम्म उद्धार पाउनुभएको छैन भने अहिले तपाईंको मनभित्र दुष्टात्माहरूले काम गरिरहेका छन्! अहिले, यो सेवामा पनि शैतानले काम गरिरहेको छ। म अहिले बोलिरहँदा शैतानले त्यसका छल र युक्तिहरू तपाईंको मनमा हालिरहेको छ। शैतान 'त्यो आत्मा हो, जसले अनाज्ञाकारिताका सन्तानमा काम गर्दछ'(एफिसी २:२)। पवित्र बाइबलले भन्छ, शैतानले अहिले तपाईंको मन र हृदयमा 'काम गरिरहेको छ।'

जुली नाउँकी केटीले उद्धार पाउन अघि के भनी सुन्नुहोस्। 'डा. हिमर्सले म हराएकी छु र म सोधपुछ गरिने कोठामा जानुपर्छ भनी मलाई भन्नुभयो। यस्तो अवस्थामा मैले चर्चमा आउने साहस गरेँ।' त्यो उसको मन र हृदयमा शैतान बोलेको थियो। तपाईंहरूमध्ये कोही-कोही अहिले शैतानको छलमा पर्नुभएको छ। म तपाईं हराउनुभएको छ भन्छु, तर तपाईं त्यो सुन्न चाहनुहुन्न। तपाईं हराउनुभएको छ भन्ने कुरा तपाईं सुन्न चाहनुहुन्न, किनकि तपाईं शैतानका विचारहरू, दुष्टात्माका विचारहरू सुन्नुहुन्छ। जुलीले भनी,'म आफूलाई राम्रै छु भन्ने सोच्थें, अनि जीवनमा मलाई त्यत्ति नै चाहिएको थियो।' उ सधैं चर्च जाने गर्थी, के त्यत्ति भए पुग्दैन र? किन डा. हिमर्सले म हराएकी छु भन्नुहुन्छ? म एक असल व्यक्ति थिएँ। 'अरू केटाकेटीहरूले जे-जे गर्थे ती म गर्दिनँथें र म गर्व महसुस गर्थें अनि ममा कुनै पनि कमजोरी छैन भन्ने सोचेर अहङ्कार गर्थें।' शैतानले उसको हृदयमा काम गरेको कारण उसले त्यस्तो सोच्ने गर्थी।

के तपाईं पनि त्यस्तै विचार गर्नुहुन्छ? के तपाईं आफूलाई असल ठान्नुहुन्छ? पवित्र बाइबलले भन्छ,'अनाज्ञाकारिताका सन्तानमा अहिले शैतानले काम गरिरहेको छ।' शैतानले अहिले तपाईंमा पनि काम गरिरहेको छ। तपाईंको मनमा र तपाईंको हृदयमा!

जुलीले भनी, 'म आफूले सक्दो असल बनेकी थिएँ। तिनीहरू त्योभन्दा बढी अरू के चाहन्छन्? ... प्रत्येक प्रवचनको अघि म चिन्तित बन्थेँ। त्यो हप्ताको हरेक दिन म असहज महसुस गर्थेँ।' शैतानले उभित्र काम गरिरहेको थियो, उ असल छे भनिरहेको थियो। उसले उद्धार पाउनु पर्ने कुनै आवश्यकता छैन, उ एक असल व्यक्ति हो। अरूहरू उभन्दा अझ बढी पापी छन्। तिनीहरूले पो उद्धार पाउनुपर्छ। उसले पाउनु पर्दैन। उ पहिलेदेखि नै असल व्यक्ति हो भनिरहेको थियो। त्यस्तो विचार शैतानबाट आएको थियो। उसलाई शैतानले समातेर राखेको थियो। उ शैतानको दास बनेकी थिई, किनकि उ असल छे, बरु उ होइन, अरूहरू येशूको रगतद्वारा शुद्ध हुनु आवश्यक छ भन्ने शैतानको झुटो कुरामा उसले विश्वास गरेकी थिई। आखिर उ हरेक हप्ता(आइतबार) चर्च आउँथी। उसले बाइबल पढ्थी र प्रार्थना पनि गर्थी। 'तिनीहरू तीभन्दा बढी अरू के चाहन्छन्?' अनि मैले जुलीलाई उ हराएकी छ भनेको उसलाई मन पर्दैनथ्यो। येशूको रगतद्वारा शुद्ध नभएर हराएकी। तर रोक्न नसकिने परमेश्वरको अनुग्रहद्वारा उसलाई बारम्बार चर्चतिर खिँचियो। उद्धार पाउनका निम्ति उहाँद्वारा चुनिएकाहरूलाई परमेश्वरको रोक्न नसकिने अनुग्रहद्वारा प्रचार गरिने सुसमाचार सुन्नका निम्ति खिँचियो।

उ अरू कुन कारणले पो चर्चमा आइरहन्थी र? उसले हाम्रो चर्चमा जुन एक जना साथी ल्याएकी थिई उसलाई मैले उ सोधपुछ गर्ने कोठामा जानु जरूरी छ भन्दा उ यति धेरै रिसाई कि उ फेरि कहिल्यै पनि फर्केर आइन। त्यस केटीले शैतानको कुरा सुनी अनि उसको पुरानो चर्चमा फर्केर गई, जुन चर्चमा उ हराएकी छ भनी कसैले भन्दैन। त्यस अर्की केटीले शैतानको कुरा सुनी अनि यो चर्चबाट भागेर गई, किनकि मैले उसको पापको विषयमा प्रचार गरेको उ सुन्न चाहँदिन थिई। मलाई जुलीका बुबाले त्यस केटीको पाप के हो भनी बताएका थिए। त्यो एउटा घिनलाग्दो पाप थियो र उ त्यो त्याग्न चाहँदिन थिई। उ सत्यबाट भागी र सायद उसले कहिल्यै पनि उद्धार पाउँदिन- किनकि उ आफ्नो मालिक शैतानको आज्ञापालन गर्ने एक दासी हो।

त्यस केटीझैं मानिसहरू यो कोठामा छन्। तपाईंहरू साङलाले बाँधिनुभएको छ। तपाईंहरू पापलाई प्रेम गर्नुहुन्छ। तपाईं छाडा चलचित्र र पुस्तक-पुस्तिकाहरू मन पराउनुहुन्छ। तपाईंहरू आफ्नो फोहोरपन मन पराउनुहुन्छ। तपाईं भित्रबाट जस्तो हुनुहुन्छ, त्यस्तै हुन मन पराउनुहुन्छ। तपाईंहरूले आफूलाई शैतानको दास बनाउनुभएको थाहासमेत पाउनुभएको छैन।

तर तपाईंमा भएको सबैभन्दा नराम्रो पाप यो हो कि तपाईं येशूलाई इन्कार गर्नुहुन्छ। उहाँ तपाईंलाई बचाउन र उहाँको रगतले तपाईंका पापहरूबाट तपाईंलाई शुद्ध पार्न चाहनुहुन्छ। तर तपाईं आफ्नो मनबाट येशूका सबै विचारहरू निकाल्नुहुन्छ र पापमा लागिरहनुहुन्छ।

२. दोस्रो, हाम्रो युद्धका अस्त्र-शस्त्रहरू

हाम्रो आजको बाइबल पदले भन्छ, 'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ।' हामीले शैतानको विरुद्ध प्रयोग गर्ने हात-हतियारहरू मुख्य रूपले प्रार्थना र परमेश्वरको व्यवस्था हो, जुन व्यवस्थाले भन्छ, तपाईं एक हराएको पापी हुनुहुन्छ। त्यो व्यवस्थाले तपाईं पापी हुनुहुन्छ भनी भन्दछ। हाम्रा प्रार्थनाहरूले पवित्र आत्मालाई ओर्लाउँदछ, जसले तपाईंलाई तपाईंको पापका निम्ति दोषी ठहराउनुहुन्छ।

यसैकारण हामीले हराएका मानिसहरूले आफ्ना पापका निम्ति आफूलाई दोषी महसुस गरून् भनी प्रार्थना गर्नैपर्छ। आज राति यो चर्चभित्र त्यस्ता मानिसहरू छन्, जसको निम्ति हामीले प्रार्थना गरेनौं भने उनीहरूले उद्धार पाउनेछैनन्। हामीले ठूलो साहस र आँसुहरूसहित उनीहरूका निम्ति प्रार्थना गरेनौं भने उनीहरूले उद्धार पाउनेछैनन्। हामीले आँसुहरूसहित प्रार्थना गऱ्यौं भने मात्र हराएका पापीहरूले आफू पापको दोषी भएको महसुस गरेका हामी देख्नेछौं। आँसुहरूबिनाको प्रार्थनाको उत्तर कहिल्यै पनि पाइँदैन। हामीले पनि यशैयाले गरेझैं प्रार्थना गर्नुपर्छ,

'आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू (पापका)कामेका भए त हुनेथियो'(यशैया ६४:१)।

यदि परमेश्वरका आत्मा ओर्लेर हराएका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दोषी ठहराउनु हो भने हामीले त्यसरी प्रार्थना गर्नुपर्छ, जस्तो प्रकारले अघि कहिल्यै प्रार्थना गरेका छैनौं। तिनीहरूलाई छाडा चलचित्र र पुस्तक-पुस्तिकाहरू हेरेका निम्ति दोषी ठहराउन। तिनीहरूका आमा-बुबालाई घृणा गरेका पापको दोषी ठहराउन। आफैलाई असल ठान्ने तिनीहरूका अहङ्कारको पापका निम्ति दोषी ठहराउन। येशूलाई इन्कार गरेका तिनीहरूका पापको निम्ति दोषी ठहराउन।

अनि हामीले यो व्यवस्था तिनीहरूको अगाडि प्रचार गर्नुपर्छ। प्रार्थना र व्यवस्थाको प्रचार नै शैतान विरुद्ध हाम्रो लडाइँको मुख्य हात-हतियार हुन्। मैले प्रत्येक आइतबार जुलीलाई त्यो व्यवस्थाको प्रचार गरेँ। उसले भनी, 'त्यो त डा. हिमर्सले सीधै मेरो पापको विरुद्ध प्रचार गर्न थाल्नुभएको जस्तो थियो। उनले आमा-बुबाको विरुद्ध जाने छोरोछोरीहरू कति पापी हुन्छन् भनी प्रचार गर्नुभयो, म रुन थालेँ। परमेश्वरले मेरो त्यो पाप देखाउन थाल्नुभयो। म साँच्चै दुष्ट छोरी थिएँ, विशेष गरी मेरा आमा-बुबाका निम्ति। मेरा बुबाप्रतिको घृणा लुकाउन खोज्नु नै मेरो पाप थियो। पवित्र आत्माले म असल केटी होइन भनी देखाउन थाल्नुभयो। म साँच्चै असल थिइनँ। मानिसहरूले मलाई देखेजस्तो, र मैले आफूलाई सोचेजस्तो असल व्यक्ति म थिइनँ। म खराब केटी थिएँ, म स्वार्थी थिएँ, धेरै अहङकारी थिएँ, भित्र मनमा म कस्ती छु भन्ने सोचेर म ठूलो सर्म महसुस गर्थेँ। मलाई क्षमाको ठूलो आवश्यकता थियो, तापनि आफूलाई त्यो क्षमा पाउन नसक्ने ठान्थेँ। मैलै आफूलाई पापी र गलत महसुस गरेँ। मजस्ती छली पापीलाई कसले क्षमा दिन सक्थ्यो र?' प्रार्थना र व्यवस्थाको प्रचारको हतियारले उमाथि भएको शैतानको शक्तिलाई नाश पार्दैथियो। 'किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन्, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छन्'(१ कोरिन्थी १०:४)। शैतानका किल्लाहरू अति बलिया हुन्छन्। ती तपाईंको हृदयमा भएका किल्लाहरू हुन्, जसले तपाईंलाई शैतानको कैदमा राख्दछ। शैतानको झ्यालखानका पर्खालहरू भत्काएर तपाईंलाई स्वतन्त्र बनाउनका निम्ति परमेश्वरको शक्ति चाहिन्छ।

तोड्नुहुन्छ उहाँ रद्द गरिएको पापको शक्ति
   गर्नुहुन्छ कैदीलाई मुक्त
उहाँको रगतले पार्छ अति फोहोरलाई शुद्ध
   छ उहाँको रगत मेरो निम्ति।
('ओ फर अ थाउजन्ड टङ्गस्' चार्ल्स वेस्ली, १७०७-१७८८, द्वारा रचित)।

तपाईंको किल्ला के हो? कुन कुराले तपाईंलाई शैतानको झ्यालखानमा थुनेर राख्छ? के छाडा चलचित्रहरू वा पुस्तक-पुस्तिकाहरू हुन्? के लागू औषधी हो? के तपाईं एक असल व्यक्ति हुनुहुन्छ र तपाईं परिवर्तन हुनु पर्दैन, किनकि तपाईं चर्च आउनुहुन्छ, बाइबल पढ्नुहुन्छ र प्रार्थना गर्नुहुन्छ भन्ने विचार हो? के त्यसरी नै शैतानले तपाईंलाई त्यसको किल्लामा- त्यसको झ्यालखानमा बन्द गरेर राखेको छ?

परमेश्वरलाई धन्यवाद होस्, हाम्रा मानिसहरूले जुलीको छुटकाराका निम्ति खुरन्धार प्रार्थना गरे। परमेश्वरलाई धन्यवाद होस्, मैले व्यवस्थाको प्रचार गरेँ, अनि हरेक प्रवचनमा उ हराएकी छ भनी मैले भनेँ।

'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ'(२ कोरिन्थी १०:४)।

एकचोटि मैले प्रवचन प्रचार गरिसकेपछि जुली मकहाँ आई। उसले भनी,'डा. हिमर्सले येशू मेरो सट्टामा क्रूसमा मर्नुभयो, अनि दण्ड(परमेश्वरको) ममाथि नपरोस् भनी त्यो दण्ड उहाँमाथि पऱ्यो भनी भने। अब मैले बुझेँ, मलाई येशू र उहाँको रगतको खाँचो किन छ...। मेरा पापहरू पूर्ण रूपले पखालिनका निम्ति मलाई येशूको आवश्यकता थियो(उहाँको रगतद्वारा)। डा. हिमर्सले भन्नुभयो, येशूले मलाई प्रेम गर्नुहुन्छ, र मेरो जीवनमा जस्तोसुकै पाप भए पनि उहाँले मलाई बचाउनुहुन्छ। मैले अझ बढी पर्खन सकिनँ। मेरा आँखाहरूबाट धरधरी आँसुहरू बगे अनि म येशूमा विश्वास गर्न तयार भएँ... घुँडा टेकेर मैले ख्रीष्टमाथि विश्वास गरेँ। मैले ख्रीष्टमाथि भरोसा राखेँ, मेरो आफ्नै असलपनमा होइन। मैले ख्रीष्ट र उहाँको रगतमा विश्वास राखेँ।...अब म कति असल हुन सक्छु भन्ने कुरामा भर पर्दिनँ, अनि मैले मेरो अहङ्कार त्यागिदिएँ। मैले येशूमाथि भरोसा राखेँ र उहाँले मलाई बचाउनुभयो।'

अहो, कति सुन्दर जीवन गवाही! अब जुलीले उद्धार पाएकी छ र अब उ मेरी मित्र हो। उ एक ख्रीष्टियन हो भनी म साँच्चै विश्वास गर्दछु। डा. केगनले पनि त्यस्तै विश्वास गर्छन्। अनि निकट भविष्यमा म उसलाई बप्तिस्मा दिनेछु।

के आज राति उसले भनेकी कुराहरूले तपाईंको हृदय छोएको छ? के तपाईं कति पापी हुनुहुन्छ भनी महसुस गर्नुभएको छ? के तपाईंले येशूमा विश्वास गर्ने र उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा तपाईंका सबै पापहरूबाट शुद्ध हुन पर्ने आवश्यकता देख्नुभयो? येशूले तपाईंलाई धेरै प्रेम गर्नुहुन्छ। के तपाईं यहाँ तल आएर मसँग, जोन केगनसँग र डा. केगनसँग येशूमा विश्वास गर्नेबारे कुराकानी गर्नुहुनेछ? अरू सबै जना भोजन खान माथ्लो तलामा जाँदा के तपाईं यहाँ तल आउनुहुनेछ, र तपाईंलाई केही सल्लाह दिने र तपाईंका निम्ति प्रार्थना गर्ने मौका दिनुहुनेछ? यदि तपाईं शौचालय जान पर्छ भने जानुहोस् र फेरि फर्केर आउनुहोस्- वा हामीले भजन गाउँदै गर्दा अहिले नै आउनुहोस्। परमेश्वरले भोजनमा आशिष देऊन् र आज राति येशूमा विश्वास गर्ने प्रत्येक व्यक्तिलाई आशिष् देऊन्। आमेन!

कृपया, खडा भएर तपाईंको भजन पुस्तिकाको भजन नम्बर एघार गाउनुहोस्। 'मेरो दर्शन भर्नुहोस्।' यो भजन पुस्तिकामा एघार नम्बरमा छ। हामीले गाउँदै गर्दा तपाईंहरू यहाँ तल आउनुहोस्, ताकि म तपाईंहरूलाई सल्लाह दिन र तपाईंहरूका निम्ति प्रार्थना गर्न सकूँ।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता, गर्छु प्रार्थना,
   आज म देखूँ येशूलाई मात्र,
घाटीहरूबाट भएर मलाई डोऱ्याउनुहोस्
   तपाईंको नओइलाउने महिमाले घेर्छ मलाई।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।

मेरो दर्शन भर्नुहोस्, पाप एउटै नहोस्
   भित्रको चमकको छायाँ दिनुहोस्,
म देखूँ तपाईं महिमित अनुहार मात्र
   तपाईंको असीमित अनुग्रहमा मेरो प्राण रमाउँदै।
मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
      ('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)।

आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री जोन शमूएल केगनद्वारा पवित्रशास्त्र पठन गरियो – 2 कोरिन्थी १०:३-५
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अनवर्ड क्रिश्चियन सोल्जर्स, सबाइन बारिङ-गाउल्ड- १८३४ - १९२४- द्वारा
रचित; खण्ड र कोरस १, २ र ३)।


रूपरेखा

हाम्रो युद्धका अस्त्र-शस्त्रहरू

THE WEAPONS OF OUR WARFARE
द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'किनकि हाम्रो युद्धको अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने सामर्थ्य तिनमा छ'(२ कोरिन्थी १०:४)।

(२ कोरिन्थी १०:३)

१.  पहिलो, हामी एउटा युद्धमा होमिएकाछौं भनी हामीले बुझ्नुपर्छ।
एफिसी ६:११,१२; एफिसी २:२

२.  दोस्रो, हाम्रो युद्धका अस्त्र-शस्त्रहरू, यशैया ६४:१