Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




नरकमा ख्रीष्टमस

CHRISTMAS IN HELL – 2016
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, १८ दिसम्बर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, 18 December, 2016


'नरकमा ख्रीष्टमस,' मैले यो प्रवचन प्रचार गर्नुपर्छ कि पर्दैन भनी आफैलाई सोधें। शैतानले भन्यो,'होइन,नगर! यो ख्रीष्टमसमा प्रचार गर्नका निम्ति राम्रो सन्देश होइन। यो अति नै कठोर छ। त्यसले त्यसो भन्नासाथै हामी सबैले सामना गरेका कमजोर सुसमाचारवादी तरिका अप्नाउने परीक्षा मलाई आयो। तिनीहरूका कमजोर बानी हामीले अघिबाटै जानिसकेका छौं। अनि यो हामीबाट प्रचार हुनु आवश्यक छ। यसलाई जरैबाट उखेल्नुपर्छ, नत्र हामी परमेश्वरले चाहनुभएको जस्ता योद्धाहरू बन्न सक्नेछैनौं। हामी कायर र कमजोर बन्नेछौं, अनि हाम्रो समयका सुसमाचारवादीहरू रूपी पलिश्तीहरूलाई जित्न सक्नेछैनौं।

ख्रीष्टमसको समयमा वा अरू कुनै पनि बेला नरकको विषयमा प्रचार गर्न शैतानले हामीलाई डराउने बनाएको म चाहन्नँ। वर्षौं-वर्षदेखि नरक त्यहाँ छ। यसको विषयमा ख्रीष्टमसमा प्रचार किन नगर्ने? त्यसकारण, म तपाईंहरूको अगाडि 'नरकमा ख्रीष्टमस' नामक मेरो उत्कृष्ट प्रवचन प्रस्तुत गर्दैछु। विगत बत्तीस वर्षको अवधिमा मैले यो प्रवचन धेरैचोटि प्रचार गरेको छु। आज हाम्रो बीचमा भएका धेरै ओटा नारीवादी ससाना प्रचारकहरूले मलाई यो प्रचार नगर्नु भनेका थिए। तर यदि तपाईं ख्रीष्टमसको समयमा नरकको प्रचार गर्नुहुन्न भने ख्रीष्टमसको अर्थ नै के हुन्छ र? हराएका पापीहरूलाई आगो दन्किरहेको नरकले पर्खिरहेको छैन भने ख्रीष्टमसको कुनै अर्थ हुँदैन। बालक येशू हामीलाई ख्रीष्टमस वृक्ष र चम्कने ताराहरू दिनका निम्ति बेथलेहेममा जन्मनुभएको थिएन। उहाँ क्रूसमा मर्नका निम्ति जन्मनुभएको थियो, पापीहरू नरकको आगोदेखि अनन्ततासम्म बच्न सकून् भनी उहाँ मर्न आउनुभएको थियो। पापीहरू उहाँको आफ्नै पवित्र रगतद्वारा धोइएर शुद्ध होऊन् भनी उहाँ आउनुभयो। जब तपाईं नरकलाई ख्रीष्टमसबाट निकाल्नुहुन्छ, तब त्यो मूर्तिपूजकहरूको बिदाको दिनभन्दा बढी अरू केही हुँदैन। त्यसैकारण आज बिहान म मेरो सबैभन्दा राम्रो प्रवचन 'नरकमा ख्रीष्टमस' प्रचार गर्नेछु। यो मैले त्यो चिनियाँ चर्चमा प्रचार गरेको अन्तिम प्रवचन हो, जुन चर्च त्यसबेला डा. तिमोथी लिनको शिक्षाहरूबाट तर्केर गएको थिएन, तर्केर गएपछि त्यो चर्च कमजोर, नीरस भएको छ, अनि आज लाउडिकियालीको चलनलाई आप्नाएको छ। डा. लिनले जुन दुइ जना जवानलाई चर्च जिम्मा लगाएका थिए, तिनीहरूले यो प्रवचन अस्वीकार गरेका थिए। २७ जना जवान व्यक्ति आँसुसरि हुँदै अगाडि आए तापनि ती दुइ जनाले यो प्रवचनलाई तुच्छ ठाने। मैले अझ अरू पनि धेरैले विश्वास गर्ने आशा व्यक्त गर्दै तिनीहरूलाई दुइ घन्टा जति सम्झाएको थिएँ। ती प्रचारककहरू त्यो बेला गलत थिए, र अहिले पनि गलत छन् अनि अब त्यो चर्च डा. लिनले निर्माण गरेको चर्चजस्तो छैन। त्यो उनले निर्माण गरेका चर्चजस्तो छैन, किनकि त्यहाँ प्रचार गर्ने व्यक्तिहरू कायर छन्, तिनीहरू डराउने ससाना मानिसहरू हुन्, जसमा कुनै साहस छैन, कुनै मांशपेशी छैन, तिनीहरूका हाडमा कुनै आगो छैन, परमेश्वरबाट पाएको कुनै वास्तविक सन्देश छैन। तिनीहरू चर्चको खर्च उठाउने बूढी स्त्रीहरूलाई खुशी पार्न प्रचार गर्छन्। तिनीहरू जवान मानिसहरूलाई अनन्तकालसम्म नरकको आगोबाट बचाउनका निम्ति प्रचार गर्दैनन्।

म विचार गर्छु, 'नरकमा ख्रीष्टमस' मैले अहिलेसम्म प्रचार गरेको पुरानो समयको सबैभन्दा उत्तम प्रवचन हो। यसैले म सीधै यो तपाईंहरूको अगाडि प्रचार गर्न खुशी छु। आजको बाइबल खण्ड हो, लूका १६:२५। नेपाली बाइबलमा यो पृष्ठ १४५४ मा छ। हामी खडा भएर त्यो पदको पहिलो तीन ओटा शब्दमा ध्यान दिऔं,

'छोरो, याद गर' (लूका १६:२५)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

त्यो धनी मानिस मऱ्यो र गाडियो। उसको प्राण तुरुन्तै तल नरकको दन्किरहेको आगोमा गयो,'नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेऱ्यो'(लूका १६:२३)। त्यो धनी मानिसले 'टाढामा' अब्राहामलाई देख्यो। उसले 'आफ्नो जिब्रो शीतल पार्न' केही थोपा पानीको निम्ति बिन्ती गऱ्यो, किनकि 'उसले आगोमा भयङ्कर वेदना पाइरहेको थियो'(लूका १६:२४)। अब्राहामले उसलाई भने,

'छोरो, याद गर, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखै-दुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्' (लूका १६:२५)।

प्रभु येशूले यो कुरा भन्नुभएको हो। उहाँले हराएका पापीहरूलाई नरकको विषयमा चेताउनी दिनका निम्ति यो कुरा भन्नुभयो।

स्पर्जन अहिलेसम्मका सबैभन्दा महान् एक ब्याप्टिस्ट प्रचारक थिए। तिनले भनेका थिए, कि तिनको मृत्युपछिको समयमा मानिसहरू नरकको विषयमा प्रचार गर्न डराउनेछन्। विलियम बुथ सेल्भेसन आर्मीका संस्थापक थिए। १९ शताब्दीका यी महान् प्रचारकहरू दुवैले २० शताब्दीमा नरकको विषयमा कुनै प्रचार गरिनेछैन भनी भविष्यवाणी गरेका थिए। तिनीहरूले ठिकै भनेका थिए- अनि आज त अवस्था झन् खराब छ। बुथलाई बीसौं शताब्दीमा उनले कुन खतरा हुने सोचेका छन् भनी सोधियो। तिनले भने,'नरकबिनाको स्वर्ग'(द वर क्राइ, जनवरी १९०१, पृष्ठ ७)। बुथको भविष्यवाणी साँचो हुन आयो। आज नरकको बारेमा प्रचार गरिएको त्यत्ति सुनिँदैन। तर त्यस्तो हुनुहुँदैन। डा. जे. आइ. पेकर एक प्रसिद्ध ईश्वरशास्त्री हुनुहुन्छ। तिनले भने,

ख्रीष्टियन प्रचारकहरू नरकको विषयमा बोल्नुपर्छः यो तिनीहरूका कामको एक भाग हो। प्रभु येशू र प्रेरितहरूको भनाइअनुसार शारीरिक मृत्युपछि व्यक्तिगत जीवन रहिरहन्छ, अनि आउने संसारमा ख्रीष्टबिनाका मानिसहरूको अवस्था अति नराम्रो र डरलाग्दो हुन्छ, अनि यो कुरा प्रत्येक व्यक्तिलाई बताउनुपर्छ(जे. आइ. पेकर, पीएचडी. वटएभर हेपेन्ड टु हेल? को जोन ब्ल्याङकर्ड,डी.डी. प्रस्तावनामा, इभान्जलिकल प्रेस,२००५ संस्करण, पृष्ठ ९)।

म एक वृद्ध मानिस हुँ। म यहाँ धेरै लामो समयसम्म रहनेछैनँ। मेरो मृत्युपछि यहाँ प्रचार गर्नेहरू सायद नरकको बारेमा प्रचार गर्न डराउनेछन्। सायद तिनीहरू पापीहरूलाई मिठा-मिठा कुराहरू प्रचार गरेर बचाउन सकिन्छ भनी सोच्नेछन्। म यहाँ जीवित छँदै तपाईंहरूले म बूढो प्रचारकको सन्देश सुन्नु राम्रो हुन्छ।

पेकरको विरुद्ध मेरो एउटै मात्र आलोचना यो छ, कि तिनले नरकको विषयमा 'ख्रीष्टियन प्रचारकहरू' ले मात्र प्रचार गर्नुपर्छ भनेका छन्। तर प्रेरित पावलले चाहिँ पास्टरहरूले पनि प्रचार गर्नुपर्छ भनेका छन्,'..प्रचारकको काम गर'(२ तिमोथी ४:५)। पास्टरहरू पनि 'नरकको विषयमा बोल्नु पर्छः यो तिनीहरूका कामको हिस्सा हो'(पेकर,ऐजन)। म आशा गर्छु र मेरो प्रार्थना यही छ, कि जसरी मैले पचास वर्षदेखि गर्दैआएजस्तै मेरो मृत्युपछि आउने जवानहरूले पाप, नरक र दण्डको बारेमा प्रचार गर्नेछन्।

येशू हाम्रो नमुना हुनुहुन्छ,उहाँले 'हाम्रा लागि एउटा उदाहरण छोडिजानुभयो, र हामी उहाँकै पाइलामा हिँड्नुपर्छ'(१ पत्रुस २:२१)। येशूले बारम्बार नरकको विषयमा प्रचार गर्नुभयो, अनि उहाँ हाम्रा निम्ति उदाहरण हुनुहुन्छ। ख्रीष्टप्रति इमानदार हुनका निम्ति प्रत्येक पास्टरले कहिलेकाहीं नरकको विषयमा स्पष्ट र बुझ्ने गरी प्रचार गर्नुपर्छ, जस्तो ख्रीष्टले पनि 'धनी मानिस र लाजरस'को विषयमा प्रचार गर्नहुँदा गर्नुभएको थियो। ख्रीष्टले भन्नुभयो, त्यो मानिस मऱ्यो र सीधै नरकमा गयो, जहाँ उसले दन्किरहेको आगोमा भयङ्कर वेदना पायो। त्यो व्यक्तिले अब्राहामसँग केही थोपा पानी पाउँ भनी बिन्ती गऱ्यो। अब्राहामले भने,

'छोरो, याद गर, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखै-दुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्' (लूका १६:२५)।

म यो पदको पहिलो तीन शब्दमाथि विचार गर्न चाहन्छु,

'छोरो, याद गर'(लूका १६:२५)।

यो ख्रीष्टमसको समय हो। हाम्रो चर्च भवन अति राम्रोसँगले सिंगारिएको छ। हामीले ख्रीष्टमसका अति पुराना भजनहरू गाइरहेकाछौं। आज राति ठूलो ख्रीष्टमस भोज आयोजन गरेका छौं। अर्को आइतबार राति ख्रीष्टमसको बेलुकी ८ बजी यहाँ ख्रीष्टमसको प्रीतिभोज पनि हुनेछ। तर ख्रीष्टको जन्मको यी सबै सुन्दर र अर्थपूर्ण कुराहरूको बीचमा हामी नरकको विषयमा नभुलौं। नरक पापको परिणाम हो। प्रभु येशू तपाईंलाई पापदेखि बचाउन, तपाईं भयङ्कर आगोमा फालिन नपरोस् भनी क्रूसमा मर्नलाई जन्मनुभएको थियो। प्रेरित पावलले भने,

'पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो'(१ तिमोथी १:१५)।

परमप्रभुका दूत योसेफकहाँ देखा परे, र योसेफलाई भने,

'तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ'(मत्ती १:२१)।

यसैले ख्रीष्टमसको वास्तविक अर्थ के यही होइन र? के ख्रीष्टमसको वास्तविक सन्देश येशू स्वर्गबाट ओर्लेर आउनुभयो भन्ने होइन र? उहाँ तपाईंको पापको मूल्य चुकाउन क्रूसमा मर्न, तपाईंजस्ता पापीहरूलाई नरकबाट बचाउन आउनुभयो भन्ने होइन र?

तर यदि तपाईं ख्रीष्टमसभन्दा अगाडि मर्नुभयो भने के हुन्छ? आज बिहान यहाँ कोही यस्तो व्यक्ति होला जसको अबको केही दिनपछि मृत्यु हुन्छ। यदि तपाईंलाई त्यस्तो भयो भने २५ दिसम्बरको दिन तपाईं आफ्नो पहिलो ख्रीष्टमस नरकमा बिताउनुहुनेछ। अनि त्यो मानिसलाई भनिएझैं तपाईंलाई पनि भनिनेछ,

'छोरो, याद गर'(लूका १६:२५)।

यदि तपाईं पाप गरिरहनुहुन्छ भने, यो ख्रीष्टमसमा नभए पनि कुनै दिन, सायद तपाईंले सोच्नुभएको भन्दा चाँडै तपाईं आफ्नो पहिलो ख्रीष्टमस आगो दन्किरहेको नरकमा बिताउनुहुनेछ। आफ्नो पहिलो ख्रीष्टमस नरकमा मनाइरहेको बेला पनि तपाईं कुन कुरा याद गर्नुहुनेछ?

१. पहिलो, तपाईंले वास्ता नगरेका प्रवचनहरू याद गर्नुहुनेछ।

तपाईंले आफ्नो मनलाई बन्द गर्नु कसरी सिक्नुभयो त्यो याद गर्नुहुनेछ। प्रवचनहरूलाई कसरी मनबाट निकाल्नुभयो। त्यसो गर्न पनि बानी बसाल्नु परेको थियो भनी याद गर्नुहुनेछ। सुरु-सुरुमा त ती प्रवचनहरूले तपाईंलाई विचलित बनाए। तिनले तपाईंलाई अनन्तका कुराहरू सोच्न बाध्य बनाए। तर समय बित्दैजाँदा तपाईंको हृदयबाट ती प्रवचनहरू खोसेर लैजानु शैतानको निम्ति सजिलो भयो(हेर्नुहोस्, मत्ती १३:१९)। येशूले भन्नुभयो,

'वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ'(लूका ८:१२)।

पहिले-पहिले त त्यसो गर्न शैतानको निम्ति धेरै कठिन थियो। तर महीनाहरू बित्दैजाँदा शैतानको आक्रमणको तपाईंलाई बानी नै बस्यो, र त्यो अब तपाईंलाई केही पनि होइन जस्तो लाग्न थाल्यो, अनि प्रवचनको समयमा तपाईं मृत्युको निद्रामा पर्न थाल्नुभयो। अन्त्यमा तपाईंको विवेक डामिएर केही थाहा नपाउने बन्यो, अनि तपाईंको हृदय यति कठोर भयो, जसको विषयमा ख्रीष्टले भन्नुभएको छ,

'किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ(यूहन्ना ८:४३)।

तपाईंहरू सुन्ने कुरामा यति बोधो हुनुभयो, परमेश्वरको वचनप्रति यति बहिरो हुनुभयो, कि तपाईं विषयमा यसो भन्न सकिन्छ,'परमेश्वरले(तपाईंलाई) भ्रष्ट मनका अवस्थामा अनुचित आचरणका निम्ति त्यागिदिनुभयो'(रोमी १:२८)।

'छोरो, याद गर'(लूका १६:२५)।

छोरी, याद गर! नरकमा तपाईंलाई धेरैओटा प्रवचनहरू याद आउनेछन्। जब तपाईं आफ्नो पहिलो ख्रीष्टमस आगो दन्किरहेको कुण्डमा बिताउनुहुनेछ, त्यसबेला तपाईंको यो प्रवचन पनि याद गर्नुहुनेछ, त्यसमा कुनै शङ्का छैन। नरकमा तपाईंले बेवास्ता गर्नुभएका प्रवचनहरू याद गर्नुहुनेछ। तपाईं यसो भन्दै कराउनुहुनेछ,'हे परमेश्वर, मैले त्यो बूढो प्रचारकको वचन किन ध्यान लगाएर सुनिनँ? हे परमेश्वर, अब धेरै ढिलो भएको छ। सधैंका निम्ति ढिलो भएको छ। म नरकको आगोमा जलिरहेको छु। त्यो पुरानो ढाँचाको प्रचारकले मलाई चेताउनी दिँदा मैले किन सुनिनँ?'

२. दोस्रो, तपाईंले अस्वीकार गर्नुभएको परमेश्वरका आत्मालाई याद गर्नुहुनेछ।

नरकमा पहिलो ख्रीष्टमस मनाउँदा पवित्र आत्माले तपाईंलाई पापको निम्ति कतिचोटि दोषी ठहराउनुभयो भन्ने याद गर्नुहुनेछ। येशूले भन्नुभयो,

'अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप..का निम्ति दोषी ठहराउनुहुनेछ' (यूहन्ना १६:८)।

नरकमा पहिलो ख्रीष्टमस मनाउनुहुँदा तपाईं परमेश्वरका आत्माले तपाईंको हृदयलाई कोमल बनाउनुभएको क्षण याद गर्नुहुनेछ। उहाँका आत्माले तपाईंलाई भयभीत पार्नुभएको क्षण याद गर्नुहुनेछ। तपाईंका आँखाहरूबाट आँसुहरू बगेका याद गर्नुहुनेछ। उहाँले लगाउनुभएको दोषलाई तपाईंले विरोध गर्नुभएको, पवित्र आत्माले तपाईंलाई छोडेर जानुभएपछि तपाईंले ख्रीष्टको विरोध गर्नुभएको पनि याद गर्नुहुनेछ, अनि परमेश्वरले तपाईंको विषयमा भन्नुभएको छ,

'त्यो मूर्तिहरूको साथी भएको छ। त्यसलाई छोडिदेओ' (होशे ४:१७)।

जसरी डा. जोन आर. राइसले भनेका छन्,,

न्यायको सामना गर्नु कति दुःखको कुरा, तिमी कुनै दयाबिना सम्झन्छौ
आत्माले छोडेर नगइञ्जेल तिमीले पर्ख्यौं र ढिला गरिरह्यौ,
कस्तो निन्दा र शोक, यदि मृत्युले तिमीलाई आशारहित भेटे,
आत्माले छोडेर नगइञ्जेल तिमीले पर्ख्यौं र अति ढिला गरिरह्यौ!
   ('इफ यू लिङगर टु लङ' डा. जोन आर. राइस-१८९५-१९८०- द्वारा रचित)

'छोरो, याद गर'(लूका १६:२५)।

जब तपाईं नरकमा आफ्नो पहिलो ख्रीष्टमस मनाउनुहुन्छ तपाईं परमेश्वरका आत्माले तपाईंलाई दोषी ठहराउनुभएको,'आत्माले छोडेर नगइञ्जेल तपाईंले पर्खनु र ढिला गरिरहनुभएको' याद गर्नुहुनेछ(राइस, ऐजन)।

'छोरो, याद गर'(लूका १६:२५)।

छोरी, याद गर! जब पर्दा झर्छ र बत्तीहरू निभ्छन्, र तपाईंको प्राण आगोका ज्वालाहरूमा पर्छ- छोरा याद गर! छोरी याद गर! तपाईंले बेवास्ता गर्नुभएका प्रवचनहरू सम्झनुहुनेछ। तपाईंले इन्कार गर्नुभएको परमेश्वरका आत्मालाई याद गर्नुहुनेछ।

३. तेस्रो, तपाईंले अनादर गर्नुभएका उद्धारकर्तालाई याद गर्नुहुनेछ।

होइन! तपाईं ख्रीष्टलाई आदर गर्नुहुन्छ भनी मलाई नभन्नुहोस्। यस विषयमा झुटो नबोल्नुहोस्। तपाईं उहाँलाई आदर गर्नुहुन्न। पटक्कै गर्नुहुन्न। बाइबलले भन्छ, तपाईं ख्रीष्टलाई घृणा गर्नुहुन्छउहाँलाई इन्कार गर्नुहुन्छ। बाइबलले भन्छ,

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो...ऊदेखि हामीले आफ्ना मुख फर्कायौं, ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं' (यशैया ५३:३)।

यदि तपाईंले ख्रीष्टलाई आदर गर्नुहुँदो हो त उहाँलाई खोज्नु हुनेथियो। यदि ख्रीष्टलाई आदर गर्नुहुन्थ्यो भने तपाईं उहाँमा प्रवेश गर्न 'प्रयत्न(तपाईंको सारा शक्तिले) गर्नुहुने थियो'(लूका १३:२४)। तपाईंले कस्तो प्रयत्न गर्नुभएको छ? के तपाईंले लुथरले झैं घन्टौंसम्म प्रार्थना गर्नुभएको छ? के तपाईंले बनयानझैं प्राणको पीडामा पर्नुभएको छ? के व्हाइटफिल्डले जस्तो हप्तौंसम्म उपवास गर्नुभएको छ। के वेस्लीले झैं तपाईं जोशिलो हुनुभएको छ? के स्पर्जनझैं ख्रीष्टलाई भेट्टाउन आँधीबेहरीमा बाहिर जानुभएको छ? म भन्छु, तपाईंले पटक्कै प्रयत्न गर्नुभएको छैन। अनि कुनै दिन, जब तपाईं नरकमा पुग्नुहुन्छ, तपाईं आफू अति अल्छे भएको याद गर्नुहुनेछ, जसले ख्रीष्टलाई खोज्ने प्रयत्न कहिल्यै पनि गरेन।

'छोरो, याद गर'(लूका १६:२५)।

छोरी, याद गर! त्यो तपाईं नरकमा याद गर्नुहुनेछ। तपाईंले ख्रीष्टलाई थोरै मात्र आदर गर्नुहुन्थ्यो र उहाँलाई गम्भीरतासाथ कहिल्यै पनि खोजिनौ भनी याद गर्नुहुनेछ। प्रभु येशूले भन्नुभयो,

'जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ' (यर्मिया २९:१३)।

छोरा, याद गर! छोरी, याद गर! त्यो अनन्त आगोमा पर्दा तपाईंले ख्रीष्टलाई अनादर गर्नुभएको, उहाँले दिनुहुने उद्धारलाई इन्कार गर्नुभएको याद गर्नुहुनेछ। मैले यसरी प्रचार गरेको कुरालाई तपाईंले कसरी घृणा गर्नुभएको छ। यी सुन्दर जवानहरूले मिठा-मिठा बाइबल अध्ययनहरू दिएका चाहनुहुन्छ,जुन प्रचारकहरूले तपाईंहरूका पापको निम्ति पश्चात्ताप गर्दै ख्रीष्टकहाँ आउने आज्ञा नदिएर तपाईंहरूलाई आफैप्रति आकर्षित गर्छन्। हो, म जान्दछु, म मरेँ भने तपाईंहरूमध्ये कोही-कोही खुशी बन्नुहुनेछ। तर तपाईंहरूलाई चेताउनी दिन म यहाँ नभए पनि तपाईंहरू नरक जानुहुनेछ। महान् डा. जोन आर. राइसले भनेका कुरा सुन्नुहोस्,

अनादरसाथ पर्ख्यौ, हलुकासाथ उहाँलाई इन्कार गऱ्यौ
धेरै पाप गऱ्यौ भयानकरूपले, तिम्रो हृदय गलत थियो
अहो, परमेश्वर अधैर्य बने, प्रिय आत्मा दुःखी बने
यदि तपाईंलाई नबोलाउनुभए, उहाँले छोडिदिए विनाश तपाईंको हुन्छ
न्यायको सामना गर्नु कति दुःखको कुरा, तिमी कुनै दयाबिना सम्झन्छौ
आत्माले छोडेर नगइञ्जेल तिमीले पर्ख्यौं र ढिला गरिरह्यौ,
कस्तो निन्दा र शोक, यदि मृत्युले तिमीलाई आशारहित भेटे,
आत्माले छोडेर नगइञ्जेल तिमीले पर्ख्यौं र अति ढिला गरिरह्यौ!
   ('इफ यू लिङगर टु लङ' डा. जोन आर. राइस-१८९५-१९८०- द्वारा रचित)

ख्रीष्टलाई ग्रहण गर्न निम्तो दिँइँदा यदि तपाईं अगाडि आउनुहुन्छ भने तपाईंले नरकको विषयमा एउटा शब्द भनेको म चाहन्नँ। म चाहन्छु, तपाईं आफ्नो पाप र प्रभु येशूको विषयमा मात्र कुरा गर्नुहोस्। प्रभु येशूले मात्र तपाईंको पाप क्षमा गर्न सक्नुहुन्छ। येशूले मात्र उहाँको अमूल्य रगतले तपाईंको पाप पखाल्न सक्नुहुन्छ। येशूकहाँ आउनुहोस् र तपाईंका पापहरूबाट उहाँद्वारा बच्नुहोस्।

तपाईं अगाडि आउनुहुँदा येशूको बारेमा सोच्नुभएन भने त्यो कति डरलाग्दो कुरा हुन्छ। यदि मैले मेरो प्रवचनमा परमेश्वरले गर्नुभएका प्रबन्धहरूको बारेमा कुरा गरें भने तपाईं ती प्रबन्धहरूको बारेमा कुरा गर्नुहोस्। यदि मैले मेरो प्रवचनमा चुनाउको बारेमा चर्चा गरें भने तपाईं चुनाउ कै बारेमा कुरा गर्नुहोस्। यदि मैले मेरो प्रवचनमा शैतानको कुरा गरें भने तपाईंले शैतानकै बारेमा कुरा गर्नुहोस्। यदि मैले सुरुको पाप वा फल ल्याउने बोलावटको बारेमा चर्चा गरें भने तपाईंले पनि त्यस्तै विषयमा कुरा गर्नुपर्छ। यदि मैले नरकको बारेमा प्रचार गरें भने तपाईंले पनि त्यही विषयमा कुरा गर्नुपर्छ।

मेरा प्रवचनहरू प्रायः नै प्रभु येशूको विषयमा केन्द्रित भए पनि हामी तपाईंलाई स्वयम् येशू ख्रीष्टको विषयमा कुरा गर्ने बनाउन सक्दैनौं। हामी तपाईंलाई येशू ख्रीष्टको विषयमा विचार गर्ने बनाउन सक्दैनौं। तपाईं उहाँलाई घृणा र इन्कार गर्नुहुन्छ(यशैया ५३:३)। तापनि अरू कुनै व्यक्तिले तपाईंका पापहरूबाट तपाईंलाई बचाउन सक्दैन। जोसेफ हार्ट(१७१२-१७६८)ले भनेका छन्,'अरू कसैले होइन, मात्र येशूले, अरू कसैले होइन मात्र येशू, गर्छन् असहाय पापीहरूको भलाइ'('कम ये सिनर्स')।

गेतसमनीको बगैंचामा तपाईंका पापहरू प्रभु येशूमाथि राखिए। त्यो बगैंचामा तपाईंको पापको बोझले उहाँ दबिनुभयो, उहाँका शरीरका कोशिकाहरूबाट रगतका पसीनाहरू खसे। तिनीहरूले उहाँलाई पक्राउ गरे, र उहाँको अनुहारमा हिर्काए। तिनीहरूले उहाँको दाह्री लुछे। पिलातसले उहाँको पिठ्यूँको मासु चिथ्राचिथ्रा होऊञ्जेल उहाँलाई कोर्रा लगाउन लगाए। तिनीहरूले उहाँका हात र खुट्टाहरूमा क्रूसमा कीला ठोके। एक जना सिपाहीले भालाले उहाँको कोखामा घोच्यो,'अनि तुरुन्तै रगत र पानी निस्क्यो'(यूहन्ना १९:३४)। तपाईंको पापको मूल्य चुकाउन, उहाँको पवित्र रगतले तपाईंलाई पापबाट शुद्ध पार्न येशूले यस्तो भयानक त्रास, पीडा, र वेदना सहनुभयो। पवित्र बाइबलले भन्छ,'ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो'(१ कोरिन्थी १५:३)।

अहो, तपाईंका पापहरूको बारेमा सोच्नुहोस्! अहो, प्रभु येशूको बारेमा सोच्नुहोस्, जसले तपाईंलाई पापदेखि बचाउन दुःख भोग्नुभयो, रगत बगाउनुभयो र मर्नुभयो। येशूको बारेमा सोच्नुहोस्, उहाँले मात्र तपाईंका सबै पापहरू क्षमा गर्न र तपाईंलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईंको पापको बारेमा सोच्नुहोस्। येशूको विषयमा सोच्नुहोस्, उहाँले मात्र तपाईंलाई बचाउन सक्नुहुन्छ। येशूकहाँ आउनुहोस्। अहिले नै उहाँकहाँ आउनुहोस्। 'अरू कसैले होइन, मात्र येशूले, अरू कसैले होइन मात्र येशू, गर्छन् असहाय पापीहरूको भलाइ; 'अरू कसैले होइन, मात्र येशूले, अरू कसैले होइन मात्र येशू, गर्छन् असहाय पापीहरूको भलाइ'।

व्यवस्था गर्न पूरा उद्योग पुग्दैनन् मेरा
उत्साह मेरो भए अपार, आँसु चुहे लगातार
तै तीबाट पाइन्न त्राण, खाली ख्रीष्ट बचाउँछन् प्राण,
खाली ख्रीष्ट बचाउँछन् प्राण
   ('रक अफ एजेस, क्लेफ्ट फर मी ' अगस्टस टपलेडी-१७४०-१७७८- द्वारा रचित)

'अरू कसैले होइन, मात्र येशूले, अरू कसैले होइन मात्र येशू, गर्छन् असहाय पापीहरूको भलाइ'। सरल विश्वाससहित उहाँकहाँ आउनुहोस्। एक जना कप्तानले क्रूसको फेदमा उभिएर प्रभु येशू उसका पापका निम्ति मरिरहनुभएको देखे। उसले घुँडा टेके र ख्रीष्टमाथि विश्वास गरे। उहाँलाई मार्ने त्यो व्यक्तिलाई येशूले त्यही क्षण बचाउनुभयो। येशूलाई मार्ने त्यो व्यक्तिले यसरी पुकारा गरे,'साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्'(मर्कूस १५:३९)। परम्पराले हामीलाई बताउँछ, यो व्यक्ति ख्रीष्टियन बनेको थियो। के त्यो मानिसझैं तपाईं पनि येशूकहाँ आउनुहुन्छ? येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाईंलाई बचाउनुहुनेछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो, ऐबेल प्रुद्योमेद्वारा – लूका १६:१९-२५
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
'इफ यू लिङ्गर टू लङ' (डा. जोन आर, राइसद्वारा रचित, १८९५-१९८०)


रूपरेखा

नरकमा ख्रीष्टमस

CHRISTMAS IN HELL – 2016
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'छोरो, याद गर' (लूका १६:२५)।

(लूका १६:२३,२४,२५; २ तिमोथी ४:५; १ पत्रुस
१:२१; १ तिमोथी १:१५; मत्ती १:२१)

१.  पहिलो, तपाईंले वास्ता नगरेका प्रवचनहरू याद गर्नुहुनेछ।
मत्ती १३:१९, लूका ८:१२; यूहन्ना ८:४३; रोमी १:२८

२.  दोस्रो, तपाईंले अस्वीकार गर्नुभएको परमेश्वरका आत्मालाई
याद गर्नुहुनेछ।
यूहन्ना १६:८; होशे ४:१७

३.  तेस्रो, तपाईंले अनादर गर्नुभएका उद्धारकर्तालाई याद गर्नुहुनेछ।
यशैया ५३:३; लूका १३: २४; यर्मिया २९:१३; यूहन्ना १९:३४;
१ कोरिन्थी १५:३; मर्कूस १५:३९