Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्ट- सबैतिर कुनै मोलको गनिनु भएन

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ४)
CHRIST – UNIVERSALLY DEVALUED
(SERMON NUMBER 4 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

१६ मार्च, २०१३, शनिबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, March 16, 2013

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं'(यशैया ५३:३)।


डा. एडवर्ड जे. यङले भनेका छन्,

'यशैयाले यहाँ वर्णन गरेका अविश्वास त्यस्तै अविश्वास हो, जुन आज हाम्रो चारैतिर पाइन्छ। मानिसहरू ख्रीष्टको विषयमा असल र प्रशंसनीय कुराहरू भन्छन्। उहाँको नैतिकताको, उहाँको शिक्षाको प्रशंसा गर्छन्, अनि उहाँ एक असल मानिस र एक महान् अगमवक्ता हुनुहुन्थ्यो, अनि आज संसारले सामना गरिरहेका सबै सामाजिक समस्याहरूको समाधान उहाँसँग छ भनी स्वीकार गर्छन्। तापनि, तिनीहरूले आफूहरू अनन्त दण्ड पाउने योग्यका पापी हुन्, अनि ख्रीष्टको मृत्यु परमेश्वरको न्यायलाई सन्तुष्ट पार्ने अनि दुःखी परमेश्वरलाई पापी मानिसहरूसँग मिलाप गराउने प्रतिनिधिरूपी बलिदान थियो भनी स्वीकार गर्दैनन्। मानिसहरू परमेश्वरले उहाँका पुत्रको विषयमा भन्नुभएका कुराहरू ग्रहण गर्दैनन्। आज पनि त्यो दास(ख्रीष्ट)मानिसहरूद्वारा हेला र घृणा गरिनुभएको छ, अनि मानिसहरू उहाँलाई आदर गर्दैनन्(एडवर्ड जे. यङ, पीएचडी. द बुक अफ आइजैया, विलियम बी. अर्डमन्स् पब्लिसिङ कम्पनी, १९७२, भाग ३, पृष्ठ ३४४)।

लुथरले भने, यशैया त्रिपन्न अध्याय बाइबलको विशेष केन्द्र थियो। मलाई लाग्छ, तिनले ठिकै भनेका हुन्। यदि तपाईं त्यो भनाइलाई स्वीकार गर्नुहुन्छ भने आज हामीले लिएका बाइबल पदको ठूलो महत्त्व हुन्छ। म विश्वास गर्छु, यो पद बाइबलमा वर्णन गरिएको मानव जातिको पूर्ण चरित्रहीनतासम्बन्धी अति नै स्पष्ट भनाइ हो। 'चरित्रहीनता' भनेको 'भ्रष्टता' हो। 'पूर्ण' भन्नाले 'पूर्णरूपले' हो। मानिस हाम्रा पहिलो आमा-बुबाको कारण पूर्ण रूपले भ्रष्ट भयो। जसरी हेडेलवर्गको धर्मशिक्षाले भनेको छ, मानव जातिको चरित्रहीनता 'स्वर्गलोकमा हाम्रा प्रथम आमा-बुबा, आदम र हव्वाको पापमा पतन र अनाज्ञाकारिताबाट आउँछ। यो पतनले हाम्रो स्वभावमा यति धेरै विष हालेको छ कि हामी जन्मैदेखि पापी हुन्छौं- हामी गर्भमा आएको समयमा नै भ्रष्ट हुन्छौं(द हेडलवर्ग केटेकिज्म, प्रश्न सात)। परमेश्वरप्रति भएको मानिसको विरोधमा पूर्ण भ्रष्टता देखाइएको छ।

'किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता(विरोध) हो'
      (रोमी ८:७)।

त्यो शत्रुता ख्रीष्टसम्म बढेको छ, जो परमेश्वरका पुत्र हुनुहुन्छ। पूर्ण चरित्रहीनताको कारण नै रोमी सिपाहीहरूले उहाँलाई पक्राउ गरे।

'तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए' (मत्ती २७:३०)।

पूर्ण चरित्रहीनताको कारण नै रोमी राज्यपाल पिलातसले

'येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए' (मत्ती २७:२६)।

पूर्ण चरित्रहीनताको कारण नै मानिसहरू उहाँलाई देखेर चिच्च्याए र उहाँ क्रूसमा टाँगिएर मर्न लाग्नुहुँदा तिनीहरूले उहाँको अपमान गरे। पूर्ण चरित्रहीनता नै त्यो कारण हो, जसले गर्दा आज पनि,

'उहाँ मानिसहरूबाट घृणित हुनुहुन्छ र इन्कार हुनुभएको छ, अफसोसमा परेको मानिस र कष्टसित परिचित। उहाँ त्योजस्तो हुनुहुन्थ्यो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। उहाँ घृणित हुनुहुन्थ्यो, र हामीले उहाँलाई केही मोलको गनेनौं' (यशैया ५३:३)।

१. पहिलो, पूर्ण चरित्रहीनताको कारण मानव जातिले ख्रीष्टलाई घृणा र इन्कार गर्छ।

'उहाँ मानिसहरूबाट घृणित हुनुहुन्छ र इन्कार हुनुभएको छ' (यशैया ५३:३)।

यसले ख्रीष्टलाई सबैले नै इन्कार गर्ने कुरा देखाउँछ, जुन आज हामी संसारमा देखिरहेका छौं। त्यो हामी ख्रीष्टमस र ईस्टरको समयमा अमेरिकाको टाइम र निउजविकजस्ता पत्रिकाहरूको आवरणमा देख्छौं। यी पत्रिकाहरूले प्रत्येक दिसम्बर र प्रत्येक अप्रेलको अंकमा निरन्तर ख्रीष्टको विषयमा मुख्य लेख छाप्छन्। तर म निश्चित रूपले भन्न सक्छु, कि ती लेखहरू कहिल्यै पनि आनन्द दिने किसिमका हुँदैनन्। तिनीहरूले सधैं पत्रिकाको आवरणका निम्ति अनौठो देखिने येशूको मध्ययुगीन तस्वीर चुन्छन्, यस्तो तस्वीर, जसमा ख्रीष्ट अनौठो र आधुनिक मनलाई नछुने पुरानो देखिनुहुन्छ। निश्चय तिनीहरूले कुनै उद्देश्यले त्यसो गर्छन्। तिनीहरूले छाप्ने मुख्य लेख पनि अति उदारवादी झुन्डका ईश्वरशास्त्रीहरूले लेखेका हुन्छन्, जसले ख्रीष्टलाई परमेश्वरका एक मात्र पुत्र र उद्धारको एक मात्र उपायको रूपमा इन्कार गर्छन्। म निश्चित रूपले जान्दछु, ब्रिटिस पत्रिकाहरूमा र सारा संसारका पत्र-पत्रिकाहरूमा पनि यस्तै कुराहरू छापिन्छन्। धेरैचोटि टेलिभिजनको कार्यक्रम र चलचित्रहरूमा पनि ख्रीष्टलाई खुल्लमखुल्ला आक्रमण गरिन्छ।

तपाईंहरू जो सांसारिक उच्च महाविद्यालय वा कलेजका विद्यार्थीहरू हुनुहुन्छ, तपाईंहरूलाई थाहा छ, तपाईंका प्राध्यापक(शिक्षक)हरूले ख्रीष्ट वा ख्रीष्टियमतको बारेमा कहिल्यै पनि राम्रो कुरा गर्दैनन्। ख्रीष्ट र उहाँका शिक्षाहरूमाथि तपाईंका प्राध्यापक(शिक्षक)हरू निरन्तर आक्रमण गर्दछन् र उहाँलाई तुच्छ देखाउने कोसिस गर्छन्।

'उहाँ मानिसहरूबाट घृणित हुनुहुन्छ र इन्कार हुनुभएको छ'
      (यशैया ५३:३)।

तपाईंको कक्षाका मित्रहरू, तपाईंले काम गर्ने ठाउँका सहकर्मीहरू ख्रीष्टको नाउँलाई गाली-सराप दिने शब्दको रूपमा प्रयोग गर्छन्, अनि प्रायः दिनैपिच्छे उहाँको विषयमा दुष्ट कुराहरू गर्छन्।

यदि तपाईं अख्रीष्टियन परिवारबाट आउनुभएको हो भने, त्यहाँ पनि तपाईं कुनै शरण पाउनुहुनेछैन। तपाईंका अख्रीष्टियन आमा-बुबाले उद्धारकर्तालाई घृणा र इन्कार गर्छन् भनी तपाईं राम्ररी जान्नुहुन्छ। तपाईंहरूमध्ये धेरैलाई थाहा छ, कि ख्रीष्टको विरुद्ध- अनि तपाईं उहाँमा विश्वास गरी ब्याप्टिस्ट मण्डलीको साँचो ख्रीष्टियन भएकोमा उनीहरूले गरेका गिल्ला र निन्दा सहन कति कठिन हुन्छ। यी सबै कुरा मानव जातिको परमेश्वर विरोधी, चरित्रहीन हृदयबाट निस्कन्छन्।

'उहाँ मानिसहरूबाट घृणित हुनुहुन्छ र इन्कार हुनुभएको छ'
       (यशैया ५३:३)।

२. दोस्रो, पूर्ण चरित्रहीनताले ख्रीष्टलाई अफसोस र कष्टित बनाउँछ।

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरिनुभएको छ, अफसोसमा परेको मानिस र कष्टसित परिचित (यशैया ५३:३)।

कुन कुराले ख्रीष्टलाई अफसोस र कष्टित बनाउँछ?
हराएको संसारले उहाँप्रति देखाएको शत्रुता र इन्कारबाहेक अरू कुन कुराले हो र!

उहाँ पृथ्वीमा जिउनुभएको बेला शास्त्रीहरू र फरिसीहरू र प्रधान पूजाहारीहरू उहाँका विरोधी थिए, अनि यति जोरदार ढङ्गले उहाँलाई इन्कार गरे, उहाँले वेदनामा यसो भन्दा पुकार गर्नुभयोः

'यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छे, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, तर तँ मानिनस्'(लूका १३:३४)।

तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नुभन्दा एक रातअघि गेतसमनीको बगैंचामा ख्रीष्ट दुःख र शोकले यति व्याकुल हुनुभएको थियो, मानिसको पापले यति दबिनुभएको थियो,

'उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए'(लूका २२:४४)।

त्यहाँ मेरा परमेश्वरले मेरा सबै दोष बोक्नुभयो
    यो अनुग्रहद्वारा विश्वास गर्न सकिन्छ
तर उहाँले अनुभव गर्नुभएको संत्रास
    सोच्न नसक्ने विशाल छन्।
कसैले पनि तपाईंलाई छेड्न सक्दैन,
   निराश, अन्धकार गेतसमनी!
कसैले पनि तपाईंलाई छेड्न सक्दैन,
   निराश, अन्धकार गेतसमनी!
('गेतसेमने' जोसेफ हर्ट-१७१२-१७६८, द्वारा रचित, पास्टरद्वारा       'कम ये सिनर्स' को लयमा परिवर्तन गरिएको)।

यदि तपाईंको पापले होइन भने, कुन कुराले गर्दा ख्रीष्टले उहाँको शरीर र प्राणमा यस्तो वेदना अनुभव गर्नुभयो? यदि उहाँमाथि परमेश्वरको दण्ड ल्याउने तपाईंको शत्रुता र भ्रष्ट चरित्रको स्वभावले होइन भने अरू कुन कुराले गेतसमनीदेखि क्रूससम्म तपाईंका पापहरू बोक्दै उहाँलाई त्यत्ति दुःखी र कष्टित बनायो?

शोकित मानिस, यो कस्तो नाउँ
परमेश्वरका पुत्र जो आउनुभयो
नष्ट भएका पापीहरूलाई वापस लिनु
हल्लेलूयाह, कति उदेकका उद्धारकर्ता!

सहेर अपमान र नराम्रो गिल्ला
मेरो स्थानमा दोषी भई खडा हुनुभो
मेरो क्षमामा उहाँको रगतको छाप लगाई
हल्लेलूयाह, कति उदेकका उद्धारकर्ता!
   ('हल्लेलूयाह, वाट्ए वन्डरफूल सेभियर!' फिलिप पी. ब्लि सद्वारा रचित-१८३८-१८७६)।

अनि आज तपाईंको भित्रिय स्वभावमा त्यस्तो के छ, जसले आज येशूले स्वर्गबाट तल हेर्नुहुँदा उहाँलाई दुःखी र कष्टित बनाउँछ? उहाँ दुःखी र कष्टित हुनुहुन्छ, किनकि तपाईं आफैले उहाँलाई घृणा र इन्कार गर्नुहुन्छ। सायद तपाईं उहाँलाई प्रेम गर्छु भन्नुहुन्छ होला। तर तपाईंले उहाँमाथि भरोसा गर्न इन्कार गर्नुभएको कुराले वास्तवमा साँच्चै उहाँलाई घृणा र इन्कार गरेको हुन्छ। आफैसित इमानदार हुनुहोस्। यदि तपाईं उहाँलाई घृणा र इन्कार गर्नुहुन्न भने अरू कुन सम्भावित कारणले तपाईंलाई उहाँमाथि भरोसा राख्न दिएको छैन? तपाईंले उहाँमाथि भरोसा राख्न इन्कार गर्नुहुँदा त्यसले उहाँलाई ठूलो दुःख र कष्ट दिन्छ।

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरिनुभएको छ, अफसोसमा परेको मानिस र कष्टसित परिचित' (यशैया ५३:३)।

३. तेस्रो, पूर्ण चरित्रहीनताले मानव जातिलाई ख्रीष्टबाट आफ्नो मुख लुकाउने बनाउँछ।

यस पदको तेस्रो उपवाक्य हेर्नुहोस्,

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्' (यशैया ५३:३)।

डा. गिलले भनेका छन्, उहाँलाई अति नराम्रो र घृणित ठानेर, उहाँप्रति अनिच्छुक बनेर, उहाँप्रति घृणा बोकेर, उहाँलाई तिरस्कार गर्दै, कुनै जानकारीको अयोग्य बन्दै'हामीले उहाँबाट आफ्ना मुख लुकायौं (जोन गिल.डी.डी.,एन एक्स्पोजिसन अफ दि ओल्ड टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टनडर्ड बेरिअर, १९८९ पुर्नप्रकाशित, भाग १, पृष्ठ ३११-३१२)।

मानिसहरूले तिनीहरूका चरित्रभ्रष्टताको स्वाभाविक अवस्थामा ख्रीष्टदेखि आफ्ना मुख लुकाउँछन्। डा. यङले भनेझैं तिनीहरू 'उहाँको विषयमा सुन्दर र प्रशंसनीय कुराहरू' भन्न सक्छन्, तापनि तिनीहरू आफूलाई अनन्त दण्ड पाउने योग्यका पापी हुन्, अनि ख्रीष्टको मृत्यु परमेश्वरको न्यायलाई सन्तुष्ट पार्ने अनि दुःखी परमेश्वरलाई पापीहरूसँग मिलाप गराउने प्रतिनिधिरूपी बलिदान हो भनी स्वीकार गर्दैनन्। तिनीहरू परमेश्वरले उहाँका पुत्रको विषयमा भन्नुभएको कुरालाई स्वीकार गर्दैनन् (यङ, ऐजन)।

अख्रीष्टियन धर्महरू ख्रीष्टलाई पूर्ण रूपले इन्कार गर्छन्, वा उहाँलाई एक 'अगमवक्ता' वा 'शिक्षक' को स्थानमा खसाल्छन्। यसरी तिनीहरू बाइबलमा प्रकट गरिएको साँचो ख्रीष्टलाई इन्कार
गर्छन्। झुटा शिक्षाहरूले पनि ख्रीष्टलाई इन्कार गर्छन्। तिनीहरू परम्परागत ख्रीष्टियमतलाई इन्कार
गर्दै वास्तविक ख्रीष्टको साटो 'हामीले प्रचार गरेका भन्दा अर्कै येशू' (२ कोरिन्थी ११:४)को प्रचार गर्छन्। येशूले यसो भन्नुहुँदै यसको विषयमा अगमवाणी गर्नुभएको थियो,'झुटा ख्रीष्टहरू खडा हुनेछन्'(मत्ती २४:२४) को प्रचार गर्छन्। एक मात्र साँचो ख्रीष्ट पुरानो र नयाँ करारहरूमा प्रकट गरिएको छ। ख्रीष्टसम्बन्धी अरू सबै धारणाहरू 'झुटा ख्रीष्टहरू' हुन् वा प्रेरित पावलले भनेझैं, 'हामीले प्रचार गरेकाभन्दा अर्कै ख्रीष्ट' हुन्। मोर्मोनहरूसँग झुटो ख्रीष्ट छ। जेहोभा विटनेस(यहेवेका साक्षीहरू) झुटो ख्रीष्ट छ। आजका धेरैओटा सुसमाचारीय मण्डलीहरूसँग पनि 'झुटो ख्रीष्ट' छ, जुन कुरा डा. माइकल होर्टनले आफ्नो पुस्तक क्राइस्टलेस क्रिश्चियनिटी (बेकर बुक्स,२००८)मा बताएका छन्। झुटो ख्रीष्टमा विश्वास गरेर तिनीहरू पवित्र बाइबलमा प्रकट गरिनुभएको साँचो ख्रीष्टबाट आफ्नो मुख लुकाउँछन्।

दुःखको कुरा, सुसमाचारीय ख्रीष्टियनहरूको बीचमा पनि प्रायः यस्तो हुने गर्दछ। सुसमाचारीय लेखकहरूमा अति नै मानिएका लेखक, डा. ए.जे. टोजरले निम्न कुरा भन्दै यो स्पष्ट बताएका छन्,

      यी दिनहरूमा हाम्रो(सुसमाचारीय ख्रीष्टियनहरू)बीचमा धेरै ओटा नकली ख्रीष्टहरू छन्। प्राचीन समयका विशुद्धवादी जोन ओवेनले मानिसहरूलाई आफ्नो समयका मानिसहरूलाई चेताउनी दिँदै यसो भनेका थिए,'तिमीहरूसँग एउटा काल्पनिक ख्रीष्ट छ र यदि तिमीहरू त्यस काल्पनिक ख्रीष्टसँग सन्तुष्ट हुन्छौ भने काल्पनिक उद्धारसँग पनि सन्तुष्ट हुनुपर्छ। तर साँचो ख्रीष्ट एक मात्र हुनुहुन्छ, अनि परमेश्वरले भन्नुभएको छ, उहाँ उहाँकै पुत्र हुनुहुन्छ। ख्रीष्टको ईश्वरत्वलाई स्वीकार गर्नेहरू पनि उहाँको मानवतालाई स्वीकार गर्न असफल भएका छन्। उहाँ पृथ्वीमा जिउनुहुँदा उहाँ मानिसहरूको साथमा हुनुहुने परमेश्वर हुनुहुन्थ्यो भनी झट्टै स्वीकार गर्छौं, तर अहिले उहाँ मध्यस्थ गर्ने सिंहासन(माथि स्वर्ग)मा बस्नुहुँदा परमेश्वरको साथमा मानिसको रूपमा हुनुहुन्छ भन्ने त्यत्तिकै महत्त्वपूर्ण कुरालाई वास्ता गर्दैनौं। नयाँ करारको शिक्षाले भन्छ, कि अहिले यही समयमा स्वर्गमा परमेश्वरको उपस्थितिमा हाम्रो पक्षमा बोल्नुहुने एक जना मानिस हुनुहुन्छ। उहाँ निश्चय नै आदम वा मोशा वा पावलजस्तै मानिस हुनुहुन्छ। उहाँ महिमित हुनुभएका मानिस हुनुहुन्छ, तर उहाँको महिमाले उहाँलाई अमानव बनाउँदैन। आज उहाँ मानव जातिको एक वास्तविक मानिस हुनुहुन्छ।
      उद्धार न 'पूरा गरिएको कामद्वारा,' वा 'ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गरेर' पाइँदैन। उद्धार सम्पूर्ण, जीवित, विजयी प्रभु येशू ख्रीष्टलाई परमेश्वर र मानिसको रूपमा विश्वास गरेर पाइन्छ, जो हाम्रो पक्षमा लडाइँ लड्नुभयो र जित्नुभयो, ऋण(पापको) स्वीकार गर्नुभयो र त्यो तिर्नुभयो, हाम्रा पाप लिएर त्यसको बोझ बोकेर मर्नुभयो र हामीलाई छुटकारा दिन फेरि मरेकोबाट जीवित हुनुभयो। उहाँ नै साँचो ख्रीष्ट हुनुहुन्छ, अनि त्योभन्दा कम कोही ख्रीष्ट होइन(ए. जे. टोजर, डी.डी. जिज, 'क्राइष्ट इज लर्ड' जेम्स फ्रम टोजर, क्रिश्चियन पब्लिकेसन,१९६९, सेन्ड द लाइट ट्र्स्ट-१९७९को अनुमतिमा, पृष्ठ २४,२५)।

मानिसको हृदयको स्वाभाविक भ्रष्टताले गर्दा नै उद्धार नपाएका मानिसहरू ख्रीष्टदेखि आफ्ना मुख फर्काउँछन्।

हामीले उहाँदेखि आफ्ना मुख फर्कायौं'(यशैया ५३:३)।

४. चौथो, पूर्ण चरित्रहीनताले गर्दा मानव जातिले ख्रीष्टलाई कम मूल्यको ठान्छन्।

आज हामीले हेरेका तेस्रो पदको अन्तिम भाग हेर्नुहोस्। आउनुहोस्, हामी सबै खडा भएर यो पद पढौं, हामी 'ऊ मानिसहरूबाट घृणित थियो' वाक्यबाट सुरु गरौं,

'ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं'(यशैया ५३:३)।

तपाईंहरू बस्न सक्नुहुन्छ। प्रचारकहरूका राजकुमार, स्पर्जनले 'हामीले उसलाई केही मोलको गरेनौं' भन्ने विषयमा बोल्दै भने,

'यो सारा संसारमा मानव जातिले स्वीकारेको कुरा हुन पर्छ। सर्वोच्च राजादेखि तल्लो स्तरको किसानसम्मले, उच्चस्तरको बुद्धिजीविदेखि लिएर तल्लो स्तरको समझ भएको मानिससम्म, सबै मानिसले प्रशंसा गरेको व्यक्तिदेखि अन्जान र महत्त्वहीन मानिससम्मले यो एउटा कुरा स्वीकार गर्छ नै, 'हामीले उहाँलाई केही मोलको गनेनौं।' यहाँ सम्म कि सबैभन्दा पवित्र सन्तहरूले पनि कुनै बेला 'उहाँलाई केही मोलको गनेनन्,... एकचोटि 'उहाँलाई केही मोलको गनेनन्(तिनीहरूले ख्रीष्टमा विश्वास गर्नुभन्दा अघिको समयमा)'[सी. एच. स्पर्जन, व्हाइ क्राइष्ट इज नट एस्टिम्ड' द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७८, पुनर्प्रकाशित,भाग ५३, पृष्ठ १५७]।

स्पर्जनले 'ख्रीष्टलाई किन कुनै मोलको गनिँदैन? नामक तिनको प्रवचनमा यो हराएको संसारले ख्रीष्टलाई ग्रहण गर्न नसक्नुको, हृदय परिवर्तन नभएका मानिसहरूले ख्रीष्टको महत्त्व बुझ्न नसक्नुको, उहाँलाई उच्च नसम्झनुको, उहाँलाई आदर र आराधना गर्न नसक्नुका चार ओटा कारण बताएका छन्। स्पर्जनको भनाइअनुसार यी चार ओटा कारणले गर्दा मानिसहरू उहाँलाई महत्त्व दिँदैनन्:

(१)  मानिसहरू आफैलाई अति उच्च ठान्छन् त्यसैले ख्रीष्टलाई आदर गर्दैनन्। स्पर्जनले भने,'स्वाभिमानले येशूलाई बाहिर बनाउँछ, अनि हाम्रो स्वाभिमान जति-जति बढ्दै जान्छ, त्यत्ति बलियोसँगले हामी ख्रीष्टका निम्ति ढोका बन्द गर्दछौं। आफैप्रतिको प्रेमले उद्धारकर्ताको प्रेमलाई रोक्दछ।'

(२)  मानिसहरू संसारलाई ठूलो महत्त्व दिन्छन्, त्यसैले ख्रीष्टलाई महत्त्व दिँदैनन्। स्पर्जनले भने,'हामीले उहाँलाई कुनै मूल्यको गनेनौं, किनकि हामीले पृथ्वी र त्यसका सारा मूर्खतालाई प्रेम गऱ्यौं।'

(३)  मानिसहरू ख्रीष्टलाई कुनै महत्त्व दिँदैनन्, किनकि तिनीहरू उहाँलाई चिन्दैनन्। स्पर्जनले भने,'ख्रीष्टको विषयमा जान्नु र स्वयम् ख्रीष्टलाई जान्नु बीच ठूलो भिन्नता छ। ख्रीष्टको विषयमा गलत प्रकारले विचार गर्नेहरूले उहाँलाई कहिल्यै पनि चिनेका छैनन्। हामीले उहाँलाई कुनै मोलको गनेनौं, किनकि हामीले उहाँलाई चिनेका छैनौं।'

(४)  मानिसहरू ख्रीष्टलाई कुनै महत्त्व दिँदैनन्, किनकि तिनीहरू आत्मिक रूपमा मरेका छन्। स्पर्जनले भने,'हामीले ख्रीष्टलाई कुनै मोलको नगनेकामा हामी छक्क पर्नु पर्दैन, किनकि हामी आत्मिक रूपमा मरेका छौं, हामी 'अपराध र पापमा' मरेका थियौं, अनि चिहानमा रहेको लाजरसजस्तै जति समय बित्दै जाँदैथियो, उति नै हामी कुहुँदै थियौं।


स्पर्जनले यिनै कारणले गर्दा मानव जातिले ख्रीष्टलाई उद्धारकर्ताको रूपमा इन्कार गरेको हो भन्छन्, किनकि तिनीहरू उहाँमा कुनै महत्त्व देख्दैनन्। म सोच्छु, के यो कुरा तपाईंका निम्ति पनि लागु हुन्छ?

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं'(यशैया ५३:३)।

यो प्रवचनका वचनहरूले के तपाईंको भ्रष्टता, येशूप्रतिको तपाईंको हठी विरोधको बारेमा सोच्न तपाईंलाई बाध्य पारेको छ? के तपाईंले ख्रीष्टलाई इन्कार गर्ने र उहाँलाई कुनै मूल्यको नगन्ने आफ्नो हृदयको त्यो भयानक भ्रष्टताको थोरै भए पनि अनुभव गर्नुभयो? यदि तपाईंले आफैमा त्यो भयानक भ्रष्टता केही मात्रमा भएको अनुभव गर्नुभयो भने म तपाईंलाई निश्चयता दिन सक्छु, कि परमेश्वरको अनुग्रहद्वारा मात्र तपाईंले त्यो अनुभव गर्नुभयो। जसरी जोन न्यूटनले भनेका छन्,

अचम्भित प्यार, सुमधुर
   म पापी बाँचेछु,
हराएको थिएँ,पाइएको छु,
   अन्धो थिएँ, देख्दैछु।

अनुग्रहमा भय सिकेर,
   अनुग्रहमा भय मुक्त
अनमोल थियो त्यो अनुग्रह
विश्वासको त्यस बखत
   ('अमेजिङ ग्रेस,' जोन न्यूटन-१७२५-१८०७, द्वारा रचित)

यदि तपाईंको हठी हृदय ख्रीष्टको विरुद्धमा रोकावट भएको महसुस गर्नुहुन्छ भने, यदि तपाईंको आफ्नै खराब भ्रष्टताले कुनै हदसम्म ख्रीष्टलाई इन्कार गरेको अनुभव गर्नुहुन्छ भने, के अहिल्यै नै तपाईं आफैलाई उहाँमा समर्पण गर्नहुन्छ? के तपाईं संसारले घृणा र इन्कार गरेको ख्रीष्टमा विश्वास गर्नुहुनेछ? जब तपाईं ख्रीष्टमा विश्वास गर्नुहुन्छ तपाईं उहाँको रगत र धार्मिकताद्वारा पाप र नरकबाट तुरुन्तै बचाइनुहुनेछ। आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पास्टरद्वारा पवित्रशास्त्र पठन गरियो – यशैया ५२:१३-५३:३
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अमेजिङ ग्रेस,' जोन न्यूटन-१७२५-१८०७, द्वारा रचित)


रूपरेखा

ख्रीष्ट- सबैतिर कुनै मोलको गनिनु भएन

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ४)
CHRIST – UNIVERSALLY DEVALUED
(SERMON NUMBER 4 ON ISAIAH 53)
द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं'(यशैया ५३:३)।

(रोमी ८:७ मत्ती २७:३०,२६)

१. पहिलो, पूर्ण चरित्रहीनताको कारण मानव जातिले ख्रीष्टलाई घृणा र इन्कार
गर्छ, यशैया ५३:३क

२. दोस्रो, पूर्ण चरित्रहीनताले ख्रीष्टलाई अफसोस र कष्टित बनाउँछ।
यशैया ५३:३ख; लूका १३:३४; २२:४४

३. तेस्रो, पूर्ण चरित्रहीनताले मानव जातिलाई ख्रीष्टबाट आफ्नो मुख लुकाउने
बनाउँछ। यशैया ५३:३ग; २ कोरिन्थी ११:४; मत्ती २४:२४

४. चौथो, पूर्ण चरित्रहीनताले गर्दा मानव जातिले ख्रीष्टलाई कम मूल्यको ठान्छन्।
यशैया ५३:३घ

५. यशैया ५३:३ग यशैया ५३:३ग यशैया ५३:३घ