Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




पत्रुस- बोलाइए, दोषी ठहराइए र परिवर्तन भए

PETER – CALLED, CONVICTED AND CONVERTED
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१८ मार्च, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 18, 2018


पत्रुसको पूरा नाउँ सिमोन पत्रुस थियो। येशूले कहिलेकहीं तिनलाई ‘सिमोन’ मात्र भनेर पनि बोलाउनुहुन्थ्यो, हाम्रो आजको बाइबल पदमा उहाँले त्यसरी नै बोलाउनुभएको छ,

‘प्रभुले भन्नुभयो, ‘सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।’(लूका २२:३१-३२)

तपाईं प्रायः प्रचारकहरूलाई पत्रुसको हृदय परिवर्तन कहिले भएको थियो भनी सोध्नुहोस् त। गएर सोध्नुहोस् न। प्रायः उनीहरू सबैले नै पत्रुसको हृदय परिवर्तन प्रभुले तिनलाई बोलाउनुहुँदा भएको थियो भन्नेछन् (मत्ती ४:१९)। थोरैले यसो भन्लान्, ‘पत्रुसले येशूलाई ‘तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र’ भनेको बेला र येशूले ‘किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो’ (मत्ती १६:१६,१७) भन्नुहुँदा तिनको हृदय परिवर्तन भएको थियो।’ तर यी कुनै पनि घटनाले पत्रुसको हृदय परिवर्तन भएको देखाउँदैन। यदि पत्रुस येशूको पछि लागेको कारण परिवर्तन भएको थियो भने त्यो त कामद्वारा मुक्ति पाएको जस्तो हुनेथियो- त्यसैले त्यो पत्रुसको हृदय परिवर्तन हुन सक्दैनथ्यो। यदि पत्रुसले येशूलाई परमेश्वरका पुत्र ख्रीष्टको रूपमा स्वीकार गर्दा तिनी परिवर्तन भएको थियो भने त्यो त सिद्धान्तमा विश्वास गरेर, प्रकाश पाएकोले मुक्ति पाएको जस्तो हुन्थ्यो। पत्रुसलाई प्रकट गरिएको कुरा भूतात्माले जान्दथ्यो, किनकि हामी पढ़छौं, ‘धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, ‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।...किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे’’ (लूका ४:४१)। यसकारण पत्रुसको ज्ञान (समझ)भूतको भन्दा त्यत्ति राम्रो थिएन! ध्यान लगाएर अध्ययन गरेपछि हामीलाई पत्रुसको हृदय अझै परिवर्तन भएको थिएन भन्न कर लाग्छ। तिनी ख्रीष्टियन बन्ने कोसिसमा हृदय परिवर्तन नभई यताउति लरखराउँदै थिए।

आज हामी धेरै जना सुसमाचारवादी ख्रीष्टियनहरूमा पत्रुसको तस्वीर पाउँछौं। पत्रुसझैं उनीहरू पनि ख्रीष्टको पछि लाग्ने कोसिस गर्दै लरखराउँदैछन्! तिनीहरूमा ख्रीष्ट को हुनुहुन्छ भन्ने केही ज्ञान त हुन्छ, तर जसरी ईस्टरको आइतबार बेलुकीसम्म पत्रुसको हृदय परिवर्तन भएको थिएन। धेरै जना प्रचारकहरू आफै परिवर्तन भएका हुँदैनन्। तिनीहरू ख्रीष्टलाई पछ्याउने कोसिस गर्छन्। उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी उनीहरू जान्दछन्। तर हृदय परिवर्तन भनेको के हो सो उनीहरूले बुझेका हुँदैनन्। मलाई लाग्छ, त्यही कारणले गर्दा आज सुसमाचार प्रचार धेरै कम हुन्छ। धेरै जना पास्टरहरू हृदय परिवर्तन नभएका मानिसहरूलाई ख्रीष्टयन जीवन कसरी जिउने भन्ने कुरा सिकाउँदै समय नष्ट पार्छन्! कस्तो हाँसउठ्दो कुरा! ‘पापमा मरेको मानिस’ ले कसरी ख्रीष्टियन जीवन जिउन सक्छ? (एफिसी २:१,५)

धेरै जना प्रचारकहरू अरूहरूलाई बोलाएर तिनीहरू मानिसहरूलाई सुसमाचार प्रचार गर्न लगाउनु डराउँछन्। मैले दक्षिणको एउटा चर्चमा प्रचार गर्ने तय भएको थियो। त्यो आमा दिवसको दिन थियो। मेलै केही कोमल वचनहरू प्रचार गर्ने सोचें, ता कि कोही पनि विचलित नबनोस्, किनकि म त्यो चर्चमा पाहुना थिएँ। मैले मेरी आफ्नी आमाको जीवन परिवर्तनको साक्षी सुनाउने विचार गरें। म करिब १२ मिनेट जति मात्र बोलेँ। मैले मण्डलीलाई मेरी प्यारी आमाले कसरी येशूमा विश्वास गरेर उद्धार पाइन् भन्ने कुरा मात्र बताएँ। सायद तपाईंहरू मैले मण्डलीको प्रतिक्रियास्वरूप नरकको विषयमा दुइ घन्टा प्रचार गरेँ भनी सोच्नुहुन्छ होला। पास्टर र उनकी पत्नी म र मेरी पत्नीसँग हात पनि नमिलाइ मण्डलीबाट कुदेर गए। मण्डलीका मानिसहरू खडा भए, अनि म र मेरी पत्नीलाई यसरी हेरे, मानौँ मैले तिनीहरूले अघि कहिल्यै नसुनेका कुनै अनौठो शिक्षा दिएँ। अन्त्यमा एउटी वृद्धा महिला हामीकहाँ आइन् र हामीसँग हात मिलाइन्। उनले मुस्कुराउँदै भने, ‘कति सुन्दर वचन सुनाउनु भयो। मैले धेरै वर्षदेखि यस्तो वचन सुन्न पाएकी थिइनँ।’ त्यो प्रवचन थिएन। तर मेरी प्यारी आमाको जीवन परिवर्तन सम्बन्धी १२ मिनेटको छोटो जीवन गवाही थियो।

म र मेरी पत्नी गाडी चढेर फर्किँदा मैले सोचेँ, ‘के यो त्यत्ति नराम्रो छ? यहाँ हामी भित्रिय दक्षिणतिर एउटा स्वतन्त्र कट्टर ब्याप्टिस्ट चर्चमा छौं, अनि उनीहरू मेरी आमाको जीवन परिवर्तनको सरल कथाद्वारा उत्तेजित र ‘अचम्मित बने।’

एउटा अर्को ब्याप्टिस्ट चर्चमा मैले मेरो आफ्नै हृदय परिवर्तनको विषयमा छोटो सन्देश प्रचार गरेँ। पछिबाट एउटी वृद्ध स्त्रीले मेरी पत्नीलाई मैले उनका पाको पतिलाई ख्रीष्टमा ल्याउन सक्छु कि भनी सोधिन्। मेरी पत्नीले तिनकै पास्टरले तिनका वृद्ध पतिलाई येशूमा ल्याउन सक्छन् भनी सल्लाह दिइन्। ती स्त्रीले भनिन्, ‘अहँ, उनले सक्दैनन्। मैले उनलाई धेरै पल्ट भनिसकेँ। मलाई लाग्छ, उनी मेरा पतिलाई दुःखी बनाउन चाहँदैनन्।’

के त्यत्ति नराम्रो अवस्था छ. डा. हिमर्स? हो साँच्चै डरलाग्दो अवस्था छ? यहाँसम्म कि, अति राम्रा भनिएका पास्टरहरू समेत उच्चाटलाग्दो सोरमा मुखको शब्द मात्र बोल्छन्, हौसलाबिनाको, कुनै भावना नभएको, दया नभएको- आइतबार बिहानको आधा घन्टा समय खेरो फाल्छन्, तिर्खाएका आत्माहरूलाई चम्चीले पानी खुवाउँछन्। प्रायः सुसमाचारीय पास्टरहरू अर्धमृत एपिस्कोपल पादरीहरूजस्तो बोल्छन्। हाम्रा ब्याप्टिस्ट पास्टरहरू पनि त्यत्ति गतिला छैनन्। तिनीहरूले ‘व्याख्यात्मक’ प्रचार गर्दा मानिसहरू आँखाहरू बन्द गरेर घुर्न थाल्छन्। ती पास्टरहरूले जवानहरूलाई कुनै चुनौती दिँदैनन्, हराएका आत्माहरूलाई कुनै आशा प्रदान गर्दैनन्। त्यस्ता पास्टरहरू अजायबघर (म्युजियम) राख्नेहरू भन्दा असल हुँदैनन्। आत्मिक मुर्दा-बाकस बनाउनेहरूभन्दा बढी हुँदैनन्। हे परमेश्वर, हामीलाई सहायता गर्नुहोस्। हाम्रा चर्चहरू मरिरहेका छैनन्, तर मरिसकेका छन्। अहिलेको समयमा रगतले रंगिएको सुसमाचार कसले पो प्रचार गर्छ र? ‘मानिस नयाँ गरी जन्मनै पर्छ’ भनी गर्जने को छ? क्रूसको सन्देश र पापीहरूको हृदय परिवर्तनका निम्ति अहिले खडा हुन कसले साहस गर्छ? चर्चका केही प्रौढ महिलाहरूलाई यो कुरा मन नपर्नु सक्छ। अहो, हामीले ती महिलाहरूलाई बाधा पुऱ्याउनु हुँदैन! यसैले तपाईंको चर्चका जवानहरू डुबिरहेको जहाजबाट भाग्ने मुसाहरूजस्तो पौडिएर भाग्छन्।

म निश्चय छु कि, पुरानो प्रकारको सुसमाचारका सन्देशहरूविना हामी हाम्रो जातिलाई कुनै प्रभाव पार्न सक्नेछैनौं। हाम्रो चर्च कलेज पढ्ने उमेरका केटाकेटीहरूले भरिएको छ। म हरेक आइतबार पाप, नरक र साँचो हृदय परिवर्तनको बारेमा प्रचार गर्दछु! संसारबाट आउने जवान मानिसहरू आकर्षित छन्। तिनीहरूले यस्तो कुरा अघि कहिल्यै सुनेका थिएनन्। अनि तिनीहरूका बीचबाट विश्वास गर्ने हामीसँग धेरै जना हुन्छन्। बितेका केही हप्तामा हामीले धेरै जनासँग कुराकानी गऱ्यौं- तिनीहरू अख्रीष्टियन परिवारका जवान मानिसहरू थिए।

साँचो हृदय परिवर्तनको बारेमा जान्ने एउटा तरिका बाइबलमा पाइने ती व्यक्तिहरूको विषयमा अध्ययन गर्नु हो, जसका हृदय परिवर्तन भएका थिए। आज बेलुकी म त्यसै गर्न लागेको छु। हामी सिमोन पत्रुसको हृदय परिवर्तनबारे विचार गर्नेछौं। पत्रुस सब समयका सबैभन्दा महान् ख्रीष्टियन हुन्। तर तिनी कसरी परिवर्तन भएका थिए? तिनी कसरी एक ख्रीष्टियन बने?

१. पहिलो, पत्रुस बोलाइएका थिए।

मत्तीरचित सुसमाचारले भन्छ,

‘गालील समुद्रको किनारमा हिँड्नुहुँदा येशूले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।’ तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।’ (मत्ती ४:१८-२०)

त्यसो गर्नु सजिलो थियो! वा सजिलो देखिन्थ्यो। तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छाडे र ख्रीष्टको पछि लागे। पत्रुसको निम्ति त्यसो गर्नु सजिलो किन थियो? बाइबलले भन्छ,

‘तपाईंको पराक्रम दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आ-आफूलाई दिइहाल्नेछन्।’ (भजन ११०:३)

परमेश्वरले जसलाई बचाउनका निम्ति चुन्नुभएको छ, तिनीहरू पत्रुसझैं पहिलो कदम चाल्न तयार हुन्छन्।

मैले यो वाक्य लेखरहँदा मेरी पत्नीले ग्यारेजबाट मेरो निम्ति एउटा पोस्टकार्ड ल्याइन्। त्यो देख्नेसाथ मैले चिनिहालेँ। त्यसमा हटिङटन पार्कको मेरो पहिलो चर्चको फोटो थियो। त्यसमा सन् १९५० दशकको अन्त्यतिरको हुलाकको छाप थियो, जुन मैले प्रभुमा विश्वास गर्नु अघिको कुरा हो। त्यो कार्ड बाल-संगतिका शिक्षिका श्रीमती बोकेरले पठाएकी थिइन्। उनले लेखेकी थिइन्, र

प्यारो बब,
विश्वास गर्छु, तिमी हाम्रा अरू धेरै जना मानिसहरूजस्तो बिरामी छैनौं। हामी तिमीलाई खूबै याद गर्छौं, यसैले तिमी टाढा हुनुको कारण जे नै भए पनि कृपया फर्केर आऊ।

- श्रीमती बोकेर

ती असल महिलाले मलाई चर्चमा फर्काएर ल्याउने कोसिस गरिरहेकी थिइन्। म केटौले थिएँ, त्यसै घुमिहिँड्थेँ। मैले त्यो कार्डको मिति देखेँ। तर केही महिनापछि मलाई चर्चबाट बाहिर राख्न कसैले केही पनि गर्न सक्दैनथ्यो। ती केही महिनामा के भएको थियो? म यति मात्र भन्न सक्छु कि, परमेश्वरले मलाई फाइदाका निम्ति बोलाउनुभएको थियो। उहाँको पराक्रमको दिनमा म इच्छुक बनाइएँ।

‘तपाईंको पराक्रम दिनमा तपाईंका प्रजाले स्वेच्छासाथ आ-आफूलाई दिइहाल्नेछन्।’ (भजन ११०:३)

जब परमेश्वरले मलाई खिँच्नुभयो, तब मलाई चर्चमा फर्काएर ल्याउने कोसिस गर्न श्रीमती बोकेरको वा अरू कसैको आवश्यकता परेन। परमेश्वरको पराक्रमले मलाई खिँचेपछि वन घोडको दल लगाएर कसैले मलाई चर्चबाट बाहिर राख्न सक्दैन।

अनि पत्रुसलाई पनि त्यस्तै भएको थियो। तिनले अझसम्म उद्धार पाएका थिएनन्। श्रीमती बोकेर त्यो कार्ड पठाउँदा न त मैले नै उद्धार पाएको थिएँ। परमेश्वरको शक्तिले मलाई इच्छुक बनायो- अनि पत्रुसलाई पनि त्यस्तै भएको थियो। मजस्तै तिनी पनि अझै हराएकै अवस्थामा थिए, तर परमेश्वरले तिनलाई येशूको पछि लाग्ने बनाउनुभयो। यसैले पत्रुसले तुरुन्तै आफ्नो जाल छोडेर येशूको पछि लागे। तापनि यसको अर्थ तिनले मुक्ति पाएका थिए भन्ने होइन।

के तपाईंले कहिल्यै यो सोच्नुभएको छ कि, हामी जुन जवानहरूलाई यहाँ चर्चमा ल्याउँछौं, तिनीहरू तुरुन्तै किन आइहाल्छन्? किनकि परमेश्वरको शक्तिले तिनीहरूलाई खिँचेकोले नै हो। तापनि तिनीहरूले मुक्ति पाएका छन् भन्ने हुँदैन। येशूले भन्नुभयो, ‘बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्’ (मत्ती २०:१६; २२:१४)। परमेश्वरले धेरै जनालाई बोलाउनुहुन्छ। आज साँझ उहाँले तपाईंलाई बोलाउनुभयो। तपाईंले हामीलाई आफ्नो नाउँ र फोन नम्बर दिनुभयो। त्यसैकारण तपाईंलाई ल्याउन हामीले गाड़ी पठायौं। ‘धेरै जना बोलाइएका छन्’- जसरी तपाईं पनि बोलाइनुभएको थियो। ‘तर चुनिएकाहरू थोरै छन्।’ यो कुरा म सबै बुझ्दिनँ। तर मेरो लामो अनुभवबाट यो जान्दछु, यदि तपाईं परमेश्वरद्वारा चुनिएकाहरूमध्ये एक हुनुहुन्छ भने, उहाँले तपाईंलाई खिँच्नुहुनेछ, र तपाईंलाई यहाँ राख्नुहुनेछ, तपाईंको हृदय परिवर्तन नहोऊञ्जेल तपाईंलाई यहाँ समात्नुहुनेछ! यदि परमेश्वरद्वारा चुनिएकाहरूमध्ये एक हुनुहुन्न भने ढिलोछिटो तपाईं चर्च छोडेर जानुहुनेछ- किनकि ‘बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्!’

अनुग्रहद्वारा मात्र बचेको
यही मेरो सारा विन्ती।
येशू मरे हाम्रा सब पापका निम्ति,
अनि मरे येशू मेरो निम्ति।
('अनुग्रह! यो आकर्षक आवाज,' फिलिप डडरिज,
१७०२-१७५१-द्वारा रचित, डा. हिमर्सद्वारा केही फेरबदल गरिएको)

२. दोस्रो, पत्रुसलाई दोषी ठहराइयो।

मैले पत्रुसले येशूलाई पछ्याएको तीन वर्षको समयको कुरा छोडिदिएको छु। ती तीन वर्षमा पत्रुसले धेरै अनुभवहरू प्राप्त गरेका थिए। तर तिनको जीवनमा साँच्चै प्रभाव पार्ने कुरा तिनले येशू को हुनुहुन्छ भनी स्वीकार गर्नु नै थियो। यो मैले मेरो यस सन्देशको सुरुमा नै भनिसकेको छु। पत्रुसले भने, ‘तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।’ येशूले तिनलाई जवाफ दिँदै भन्नुभएको थियो, ‘किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।’ (मत्ती १६:१६,१७)

यसलाई ‘प्रकाश’ भनिन्छ। यो हृदय परिवर्तन हुनुभन्दा अघि, हृदय परिवर्तन भइरहेको बेला, र हृदय परिवर्तन भएपछि पनि हुन सक्छ। पत्रुसको मामिलामा परमेश्वरले पत्रुसको हृदय परिवर्तन हुनुभन्दा अघि नै येशू को हुनुहु्न्छ भन्ने प्रकाश तिनलाई दिनुभयो। मलाई पनि ठीक त्यस्तै भएको थियो। धेरै वर्षसम्म मैले ख्रीष्टलाई उहाँका शत्रुहरूले सहिद बनाएको एक असल व्यक्ति सोचेको थिएँ। मेरो हृदय परिवर्तन हुनुभन्दा तीन दिन अघि मात्र परमेश्वरले मलाई येशू देहधारण गर्नुभएका परमेश्वर हुनुहुन्छ भनी प्रकट गर्नुभयो। त्यो प्रकाश चार्ल्स वेस्लीको भजन –‘अचम्मको प्रेम, यो कसरी हुन सक्छ, कि मेरा परमेश्वर, मेरो निम्ति मर्न पर्ने?’ भजन गाउँदै गर्दा मकहाँ आएको थियो। त्यो भजनले मेरो मनलाई उज्यालो बनायो, तापनि त्यसको अझै तीन वर्षसम्म मेरो हृदय परिवर्तन भएन। न त पत्रुसको नै भएको थियो।

अब लूका १८:३१-३४ खोल्नुहोस्, र त्यहाँ तपाईं पत्रुस र अन्य चेलाहरूको हृदय परिवर्तन भएको थिएन भन्ने स्पष्ट देख्नुहुनेछ। नेपाली बाइबलमा यो पृष्ठ १४५८ मा छ।

‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३१-३३)

येशूले पत्रुस र अरूहरूलाई सुसमाचारको अर्थ बताउनुभएको यो तेस्रो पटक थियो। ख्रीष्टलाई कोर्रा लगाइनेछ, मारिनेछ, अनि तेस्रो दिनमा उहाँ मरेकोबाट फेरि जीवित भइ उठनुहुनेछ। सुसमाचार त्यही नै हो- ख्रीष्टियन विश्वासको मुख्य सन्देश, जुन १ कोरिन्थी १५:१-४ मा घोषणा गरिएको छ। तर पत्रुसले ती कुनै पनि कुरा बुझेनन्, अनि भनिएका ती कुराहरू तिनीहरूबाट ‘लुकाइयो।’ पत्रुसले सुसमाचारमा विश्वास गरेनन्।

यदि तपाईंले अझसम्म पनि मुक्ति पाउनुभएको छैन भने- के तपाईंको अवस्था पनि पत्रुसको जस्तै छैन र? तपाईंहरू यो चर्चमा ‘बोलाइनुभएको’ छ। तपाईंलाई तपाईंका आमाबुबाले वा अरू कसैले यहाँ ल्याएका हुन्। तपाईं जन्म दिनका पाटीहरूमा आउनुभयो। तपाईंले हरेक आइतबार हाम्रो साथमा दिउँसो र रातिको भोजन खानुभयो। तपाईंले हरेक आइतबार जोन केगन र मैले प्रचार गरेको सुन्नुभयो। हामीले येशूको क्रूसको मृत्यु, उहाँको रगत र उहाँ कसरी मरेकोबाट फेरि जीवित हुनुभयो भन्ने विषयमा प्रचार गरेका सुन्नुभयो। तर हामीले ख्रीष्टको रगत र उहाँको पुनरुत्थानको विषयमा कुरा गर्दा तपाईंको मन त्यसै उडिरहेको थियो। तपाईंले घरीघरी त्यो सुन्नुभयो, तर बुझ्नुभएन। त्यो तपाईंलाई साँचो वा अति महत्त्वपूर्ण जस्तो लागेन। तपाईंले जे नै सोच्नुभए पनि ती कुराहरू महत्त्वपूर्ण किन छन् भनी स्पष्ट बुझ्नु भएन। तपाईं ठीक हृदय परिवर्तन हुनुभन्दा अघिका पत्रुसजस्तो हुनुहुन्छ!

‘तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।’ (लूका १८:३१-३३)

अब कृपया खडा हुनुहोस् र तपाईंको बाइबलमा लूका २२:३१ हेर्नुहोस्। यो नेपाली बाइबलमा पृष्ठ १४६५ मा छ।

‘प्रभुले भन्नुभयो, ‘सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।’ अनि पत्रुसले उहाँलाई भने, ‘हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।’ अनि उहाँले भन्नुभयो, ‘पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन।’ (लूका २२:३१-३२)

तपाईंहरू बस्न सक्नुहुन्छ।

मैले धर्मशास्त्र र सम्झनामा सिमोन पत्रुस (बेकर एकाडेमिक,२०१२) नामक पुस्तक पढिरहेको थिएँ। त्यो डा. मार्कुस बोकमुल्हले लेखेका हुन्। उनी इंगल्याण्डको अक्सफोर्ड युनिभर्सिटीमा बिब्लिकल एन्ड अरली क्रिश्चियन स्टडीज विषयका प्रोफेसर हुन्। यस प्रसिद्ध विद्वानले ठीक कुरा गरेका छन्। उनले पत्रुसको हृदय येशूलाई क्रूसमा टाँग्नुभन्दा अघिल्लो रातसम्म परिवर्तन नभएको कुरा निर्भयतासाथ बताएका छन्। उनले सही कुरा गरेका छन्। अरू कमेन्टेरीहरूले यो कुरा स्पष्ट बताएका छैनन्, वा यस विषयमा चर्चा नै गरेका छैनन्। डा. बोकमुल्हले त्यसो गरेका छैनन्। उनले यो कुरा स्पष्ट बताएका छन्। उनी के भन्छन्, सुन्नुहोस्। डा. बोकमुल्हले भनेका छन्,

‘यहाँ पत्रुसले शैतानको विरुद्ध गर्ने (चाँडै गर्न लागेको) संघर्षलाई संकेत गरिएको छ, जुन बेला तिनको कठोर जाँच हुनेथियो (र असफल हुनेथियो), यसैले यहाँ ‘फर्किने’ कुरा गरिएको छ। यहाँ यस कुरामा जोड दिनु आवश्यक छ कि, धेरै जना अनुवादकहरू ‘तिमी मतर्फ फर्केपछि’ भन्ने वाक्यांशको पक्षमा भए पनि मूल ग्रीक भाषाको बाइबलमा यो वाक्यांश पाइँदैन’(डा. बोकमुल्ह, ऐजन, पृष्ठ १५६,१५७)।

‘प्रभुले भन्नुभयो, ‘सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।’ (लूका २२:३१-३२)

यसैले अंग्रेजीको NIV, NASV, ESV अन्य आधुनिक अनुवादहरू गलत छन्। धेरै जना अनुवादकहरू ‘तिमी मतर्फ फर्केपछि’ भन्ने वाक्यांशको पक्षमा भए पनि मूल ग्रीक भाषाको बाइबलमा यो वाक्यांश पाइँदैन।’ डा. बोकमुल्ह अझै भन्छन् कि, ग्रीक शब्द ‘एपिस्थ्रेपो’ लाई यहाँ ‘हृदय परिवर्तन’ भनेर नै अनुवाद गर्नुपर्छ। यसैले फेरि एक पल्ट म के.जे.भी. सही पाउँछु र आधुनिक अनुवादहरू अलमल्ल पार्ने खालका छन्! तर डा. बोकमुल्ह अझै भन्छन्,

‘कहिले, कहाँ र कसरी पत्रुस फर्केर आए (तिनको हृदय परिवर्तन भयो)? यही नै हामी समस्याको मुख्य जड़ पाउँछौं। लूका वर्णन गरेका येशूको सेवकाइको अन्तिम रातमा पनि पत्रुसको हृदय परिवर्तनलाई भविष्य हुने कुराको रूपमा बताइएको छ।’ (ऐजन, पृष्ठ १५६)

‘लूका २२:३२ मा पत्रुसको हृदय परिवर्तन अझै पनि भविष्यमा हुने कुरा जस्तो देखिन्छ।’ (ऐजन)

‘तिमी मतर्फ फर्केपछि [भविष्य]’(ऐजन, पृष्ठ १५६)। येशूले पत्रुसको हृदय परिवर्तन हुने कुरालाई स्पष्ट रूपमा भविष्यमा हुने घटनाको रूपमा हेर्नुहुन्छ’ (ऐजन, पृष्ठ १५८)।

तर पत्रुस भने तिनी परिवर्तन हुनु आवश्यक छैन भनी ढुक्क छ। तिनी भन्छन्,

‘हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।’ (लूका २२:३३)

येशूले पत्रुसलाई जवाफ दिनुहुन्छ, ‘पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पल्ट अस्वीकार नगरुञ्जेल आज भाले बास्नेछैन’ (लूका २२:३४)। पत्रुसले तिनको हृदय परिवर्तन (एपिस्थ्रेपो) नभई आफू शैतानको विरुद्ध खडा हुन र ख्रीष्टका निम्ति जिउन सक्छु भनी सोच्छन्। तिनी कति गलत थिए! अनि तपाईं कति गलत हुनुहुन्छ!

तिनीहरूले येशूलाई पक्राउ गरे अनि उहाँलाई घिस्साउँदै प्रधान पूजाहारीको घरमा लगे। ‘पत्रुस टाढैबाट उहाँको पछिपछि लागे’ (लूका २२:५४)। पत्रुसले भने, ‘म उहाँलाई चिन्दिनँ।’ केही क्षणपछि एक जना व्यक्तिले पत्रुस ख्रीष्टका चेलाहरूमध्ये एक हो भने। पत्रुसले भने, ‘ए मानिस, म होइनँ।’ एक घन्टापछि तेस्रो व्यक्तिले पत्रुसलाई औंलाउँदै भन्यो, ‘यिनी पनि तिनीसँग थिए।’ पत्रुसले भने, ‘ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।’ तिनी बोल्दाबोल्दै भाले बास्यो।

मेरी पत्नी र म यो घटना घटेको ठाउँ यरूशलेम गएका थियौं। हामीलाई घुमाउने व्यक्तिले त्यो बेला येशू कहाँ उभिनुभएको थियो, र पत्रुस कहाँ उभेका थिए त्यो देखायो। उहाँहरू धेरै टाढ़ामा थिएनन्। अनि येशूले फर्केर पत्रुसलाई हेर्नुभयो। अनि पत्रुसले येशूका आँखामा हेर्नुभयो।

‘अनि पत्रुस बाहिर निस्केर धुरुधुरु रोए।’ (लूका २२:६२)

अब, अन्त्यमा पत्रुसले आफूलाई पापको दोषी भएको महसुस गरे। पत्रुसले गरेझैं, तपाईंले पनि आफूलाई पापको दोषी महसुस नगर्नुभइञ्जेल तपाईंको साँचो हृदय परिवर्तन हुने कुनै आशा हुँदैन।

‘अनि पत्रुस बाहिर निस्केर धुरुधुरु रोए।’ (लूका २२:६२)

३. तेस्रो, पत्रुसको हृदय परिवर्तन भयो।

कृपया, लूका २४:३४ हेर्नुहोस्। यो पद महत्त्वहीनजस्तो लाग्छ, तर डा. बोकमुल्ह भन्नुहुन्छ, यहीँबाट नै पत्रुसको हृदय परिवर्तन हुन थालेको हो। ‘प्रभुले फर्केर पत्रुसलाई हेर्दै तिनलाई पापको दोषी ठहराउनुभयो’ (लूका २२:६१), अनि ईस्टरको बिहान पत्रुसले येशूलाई देख्दा तिनलाई आफ्नो पापको गहिरो ज्ञान भएको थियो। प्रेरित पावलले पनि हामीलाई ईस्टरको बिहान पत्रुसले येशूलाई भेटेका कुरा बताउँछन्। पावल भन्छन्, ‘उहाँ केफासकहाँ देखा पर्नुभयो, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो’ (१ कोरिन्थी १५:५)। अब पत्रुसले सुसमाचारमा विश्वास गर्छन्, तर अझै पनि तिनको हृदय परिवर्तन भएको थिएन।

बाइबलले हामीलाई पत्रुसको बोलावट, तिनी डगमगाएका, तिनको विश्वासको कमी, तिनी सुसमाचार र येशूले भोग्नुहुने दुःखप्रति अन्धो भएकाको बारेमा त्यत्ति धेरै कुराहरू किन बताएको छ? बाइबलले किन एउटा पूरै अध्यायमा पत्रुसले ख्रीष्टलाई इन्कार गरेका र तिनी आफ्नो दोष महसुस गर्दै धुरुधुरु रोएका बारेमा बताएको छ? अनि ती सबै भएपछि, पत्रुसको हृदय परिवर्तनको कुराचाहिँ एउटा छोटो पदमा बताइएको छ, ‘अनि उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, ‘पवित्र आत्मा लेओ’ (यूहन्ना २०:२२)। डा. जे. भर्नोन मेकजी भन्छन्, यही बेला पत्रुसको नयाँ जन्म भएको थियो। म उनीसँग सहमत छु। किन- साँचो हृदय परिवर्तन हुनका निम्ति ठोकर खानु र पापको निम्ति दोषी महसुस गर्नु अति नै जरूरी हुन्छ। तपाईंलाई आफ्नो पापका निम्ति ‘बाहिर गएर धुरुधुरु रुने’ नबनाइञ्जेल तपाईंका निम्ति थोरै आशा छ। तपाईंले पनि पत्रुसले जस्तो अनुभव प्राप्त नगर्नुभएसम्म तपाईंका निम्ति सुसमाचारको कुनै अर्थ हुनेछैन। तपाईं आफ्ना पापहरूमा मर्नुहुनेछ। येशूमा विश्वास गर्नुभन्दा अघि तपाईंलाई येशूको खाँचो छ भनी महसुस गर्नुपर्छ, र उहाँको रगतद्वारा तपाईंका पापहरूबाट शुद्ध हुनुपर्छ। साँचो रूपले हृदय परिवर्तन हुने धेरै जना मानिसहरू तिनीहरूका हृदय परिवर्तन हुँदा शोकको आँसु खसाल्दै धुरुधुरु रुन्छन्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('अनुग्रह! यो आकर्षक आवाज,' फिलिप डडरिज,१७०२-१७५१-द्वारा रचित,
डा. हिमर्सद्वारा केही फेरबदल गरिएको)


रूपरेखा

पत्रुस- बोलाइए, दोषी ठहराइए र परिवर्तन भए

PETER – CALLED, CONVICTED AND CONVERTED

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘प्रभुले भन्नुभयो, ‘सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति निम्ति प्रार्थना गरेँ, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।’ (लूका २२:३१-३२)

(मत्ती ४:१९; १६:१६,१७; लूका ४:४१; एफिसी २:१,५)

१. पहिलो, पत्रुस बोलाइएका थिए। मत्ती ४:१८-२०; भजन ११०:३;
मत्ती २०:१६; २२:१४

२. दोस्रो, पत्रुसलाई दोषी ठहराइयो। मत्ती १६:१६,१७; लूका १८:३१-३४;
लूका २३:३१-३४,५४,५६,६२;

३. तेस्रो, पत्रुसको हृदय परिवर्तन भयो। लूका २४:३४; १ कोरिन्थी १५:५;
यूहन्ना २०:२२: