Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टलाई विश्वासघात र उहाँको पक्राउ

THE BETRAYAL AND ARREST OF CHRIST
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

२५ फरवरी, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, February 25, 2018

‘तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र?’ (मत्ती २६:५३)


जब येशूले गेतसमनीमा तेस्रोचोटि प्रार्थना गरिसक्नुभयो तब उहाँ निदाइरहेका चेलाहरूकहाँ आउनुभयो र भन्नुभयो,

‘उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।’ (मत्ती २६:४६)

अनि अन्धकार बीचबाट करिब ३०० जना सिपाहीहरूको भीड आइपुग्यो।

‘तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर...आयो।’ (यूहन्ना १८:३)

यहूदाले उनीहरूलाई त्यहाँ ल्याएको थियो, किनकि उसले `

‘त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो।’ (यूहन्ना १८:२)

यहूदा येशूको छेउमा आयो र उहाँलाई म्वाइँ खायो, यसरी येशू को हुनुहुन्छ भनी सिपाहीहरूलाई संकेत दियो। उसले म्वाइँ खाएर येशूसँग विश्वासघात गऱ्यो।

येशूले सिपाहीहरूलाई भन्नुभयो, ‘तिमीहरू कसलाई खोज्दैछौ?’ तिनीहरूले भने, ‘नासरतका येशूलाई।’ येशूले भन्नुभयो, ‘म उही हुँ।’ उहाँले तिनीहरूलाई ‘म उही हुँ’ भन्नुहुँदा तिनीहरू पछि हटे र भुइँमा लोटे। त्यसले परमेश्वरका पुत्रको रूपमा उहाँको शक्ति प्रकट गऱ्यो। फेरि येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई भनिहालेँ, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ’ (यूहन्ना १८:८)।

त्यस क्षण पत्रुस जुरुक्क उठेर आफ्नो तरवार चलाएर पूजाहारीको नोकरलाई हान्यो र त्यसको दाहिने कान च्वाट्टै काटिदियो। येशूले ‘त्यस मान्छेको कान छोएर त्यसलाई निको पारिदिनुभयो’ (लूका २२:१५)। अनि येशूले पत्रुसलाई भन्नुभयो।

‘तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र?’ (मत्ती २६:५२-५३)

यस बाइबल खण्डबाट मैले दुइ वटा सरल शिक्षाहरू निकालेको छु।

१. पहिलो, ख्रीष्टले आफैलाई बचाउन हजारौं स्वर्गदूतलाई बोलाउन सक्नुहुन्थ्यो।

एउटा रोमी पल्टन ६ हजार सिपाहीहरूद्वारा बन्थ्यो। येशूले भन्नुभयो कि उहाँले पिता परमेश्वरसँग बिन्ती गर्न सक्नुहुन्थ्यो र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुनेथियो। यदि उहाँले ती सिपाहीहरूका हातबाट बच्न चाहनुभएको भए, उहाँले परमेश्वरलाई बिन्ती गर्न सक्नुहुन्थ्यो, र ७२ हजार स्वर्गदूतह उपस्थित हुनेथिए। डा. जोन गिलले भनेका छन् कि, ‘एउटा स्वर्गदूतले एकै रातमा एक लाख पचासी हजार मानिसहरूलाई मारे’ (२ राजा १९:३५)। यसकारण यदि ख्रीष्टको मनमा वर्तमान खतराबाट जोगिने अलिकति पनि इच्छा हुन्थ्यो भने उहाँलाई पत्रुसको तरवारको कुनै आवश्यकता थिएन’(डा. जोन गिल, एन एक्स्पोजिसन अफ द न्यू टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टेन्डर्ड बेरर, १९८९ पुनर्प्रकाशित, भाग १, पृष्ठ ३४०)।

ख्रीष्टका वचन र कार्यहरूले त्यस परिस्थितिमाथि उहाँको पूर्ण नियन्त्रण थियो भन्ने देखाउँछ। जब उहाँले ‘म उही हुँ’ भन्नुभयो, सिपाहीहरू पछि हटे, अनि परमेश्वरको शक्तिले भुइँमा लोटे। जब पत्रुसले प्रधान पूजाहारीको नोकर माल्खसको कान च्वाट्टै काटे तब ख्रीष्टले अनुग्रहपूर्वक उसको चोटमा हात राख्नुभयो र उसलाई निको पार्नुभयो। अब ख्रीष्टले शान्तभावले पत्रुसलाई भन्नुहुन्छ कि यदि उहाँले ती मानिसहरूको हातबाट छुटकारा पाउन चाहनुभयो भने परमेश्वरले हजारौं शक्तिशाली स्वर्गदूतको शक्तिद्वारा उहाँलाई छुटकारा दिन सक्नुहुन्छ। तर उहाँले छुटकारा पाउनका निम्ति बिन्ती गर्नुभएन।

बाँधे तिनीहरूले उहाँको हात बगैंचामा, जहाँ गर्नुभो उहाँले प्रार्थना,
लगे तिनीहरूले उहाँलाई बेइज्जत साथ बाटोमा।
थुके तिनीहरूले उद्धारकर्तालाई, शुद्ध र पापरहित,
भने तिनीहरूले, ‘क्रूसमा टाँग त्यसलाई,’ दोष लगाए।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत
संसार नाश पार्न, आफैलाई छुटाउन।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत
तर मर्नुभयो एकलै तपाईं र मेरो लागि।
(टेन थाउजन्ड एन्जल्स,’ रे ओभरहोल्ट, १९५९)

२. दोस्रो, ख्रीष्ट स्वेच्छाले क्रूसमा जानुभयो।

हामीले ख्रीष्ट त्यस बगैंचामा अचानक पक्राउ पर्नुभयो भनी सोच्नुहुँदैन। त्यो रात उहाँ पक्राउ पर्नुभन्दा धेरै अघि नै उहाँले के हुनेछ भन्ने कुरा जान्नुभएको थियो।

उहाँले आफ्ना चेलाहरूलाई यरूशलेम लग्नुभन्दा एक दिन अघि त्यहाँ के हुनेछ भनी तिनीहरूलाई बताउनुभयो। येशूले त्यो समय, उहाँ पक्राउ पर्नुभन्दा धेरै दिन अघि नै भन्नुभएको कुरा लूकाले लेखेका छन्ः

‘हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूको हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठनेछ।’ (लूका १८:३१-३३)

यसले देखाउँछ कि, उहाँहरू यरूशलेम पुग्नुभएपछि उहाँलाई के हुनेछ भनी उहाँले राम्ररी जान्नुभएको थियो। तापनि उहाँ त्यहाँ जानुभयो। उहाँ आफ्नै इच्छा र राजीखुशीले एउटा उद्देश्यसहित आफ्नो दुःख र क्रूसको मृत्यु भोग्न जानुभयो।

येशूले दुइपल्ट उहाँ त्यही समय र त्यही उद्देश्यका निम्ति आउनुभएको हो भनी भन्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,

‘अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु।’ (यूहन्ना १२:२७)

जब उहाँ रोमी राज्यपाल पन्तियस पिलातसको को अगाडि खडा हुनुभयो, उहाँले भन्नुभयो, ‘यसैको निम्ति म जन्मेको हुँ, यसैका निम्ति म संसारमा आएको हुँ’ (यूहन्ना १८:३७)।

ख्रीष्ट स्वेच्छाले सिपाहहरूसँग क्रूसमा जानुभयो, किनकि उहाँ त्यही उद्देश्यका निम्ति जन्मनुभएको हो अर्थात् मानिसको पापको निम्ति मूल्य चुकाउनलाई क्रूसमा मर्न आउनुभएको हो भनी जान्नुहुन्थ्यो। ती कुराहरू उहाँको जीवनमा हुनेछन् भनी उहाँले जान्नुहुन्थ्यो। ‘यसै कारणले नै म यस घडीसम्म आइपुगेको छु’ (यूहन्ना १२:२७)। ‘यसैको निम्ति म जन्मेको हुँ’ (यूहन्ना १८:३७)।

ख्रीष्ट कोर्रा खान र क्रूसमा टाँगिन स्वेच्छाले सिपाहीहरूको साथमा जानुभयो, त्यसरी उहाँ आफ्नो जीवनमा भएको परमेश्वरको योजनाप्रति आज्ञाकारी हुनुभयो। ख्रीष्टले

‘आफैलाई कुनै मानबिनाको व्यक्ति बनाउनुभयो, अनि आफैलाई एक नोकरजस्तो बनाउनुभयो, अनि मानिसको रूपसमान बनाउनुभयोः अनि मानिसको रूप धारण गरेर उहाँले आफैलाई नम्र तुल्याउनुभयो अनि मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो।’ (फिलिप्पी २:७-८)

‘उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।’ (हिब्रू ५:८-९)

सिपाहीहरूले गेतसमनीको बगैंचामा उहाँलाई पक्राउ गर्दा उहाँका पिता परमेश्वरको आज्ञापालन गर्दै उहाँ चूपचाप तिनीहरूको साथमा जानुभयो, कुनै विरोध गर्नुभएन।

‘ऊ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट पऱ्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोऱ्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उसले आफ्नो मुख खोलेन।’ (यशैया ५३:७)

उहाँको अमूल्य शिरमा राखिदिए काँडाको मुकुट
हाँस्दै भने, ‘हेर, त्यो राजालाई।’
तिनीहरूले पिटे र सरापे उहाँलाई,
गरे उहाँको पवित्र नाउँको गिल्ला।
एकलै सबै थोक सहनुभो उहाँले।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत
नाश पार्न संसार र आफैलाई मुक्त गर्न।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत

परमेश्वरको आज्ञापालन गर्दै ख्रीष्टले स्वेच्छाले क्रूसमा वेदना सहनुभयो। ‘मारिनलाई लगेको थुमाजस्तै उहाँ डोऱ्याएर लगिनुभयो।’ (यशैया ५३:७)

विचार गर्नुहोस्, त्यो रात ख्रीष्ट ‘मारिनलाई लगेको थुमाजस्तै’ सिपाहीहरूको साथमा नजानुभएको भए हामीलाई के हुनेथियो। उहाँले त्यत्ति धेरै स्वर्गदूतहरूको दल बोलाउनुभएको भए के हुनेथियो? तपाईं र मलाई के हुनेथियो होला?

पहिलो, हाम्रो निम्ति एक पूजाहारी बनेर क्रूसमा हाम्रो पापको दाम तिर्ने कोही पनि हुनेथिएन। हाम्रो प्रतिनिधि कोही हुनेथिएन, पापका निम्ति हाम्रो साटोमा मर्ने कोही हुनेथिएन। त्यस्तो हुँदा हामी अति भयानक अवस्थामा हुनेथियौं। हामीले आफ्नो पापका निम्ति नरकको अन्धकार कुण्डमा अनन्तसम्म आफै मूल्य चुकाउन पर्नेथियो।

दोस्रो, यदि ख्रीष्ट ‘मारिनलाई लगेको थुमाजस्तै’ सिपाहीहरूको साथमा नजानुभएको भए हाम्रो र पवित्र अनि न्यायी परमेश्वरको बीचमा कुनै मध्यस्थकर्ता हुनेथिएन। हामीले त्यस अन्तिम न्यायमा परमेश्वरको सामा गर्नुपर्नेथियो र हाम्रो निम्ति परमेश्वरसँग मध्यस्थबिन्ती गर्ने कोही पनि हुनेथिएन।

‘किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ- मानिस, ख्रीष्ट येशू’ (१ तिमोथी २:५)।

यदि उहाँलाई पक्राउ गर्दा ख्रीष्ट सिपाहीहरूको साथमा गएर क्रूसमा नटाँगिनुहुँदो हो त हाम्रो कुनै मध्यस्थकर्ता हुनेथिएन। मध्यस्थकर्ता त्यो व्यक्ति हो, जसले दुइ व्यक्ति बीचको झगडा मिलाउने काम गर्दछ। येशू ख्रीष्ट मात्र यस्तो मध्यस्थकर्ता हुनुहुन्छ जसले परमेश्वर र पापीहरूको बीचमा मिलाप गराउनुहुन्छ। परमेश्वरका पुत्रले मात्र पिता परमेश्वर र पापी मानिसलाई एकसाथ ल्याउन सक्नुहुन्छ। यदि येशू सिपाहीहरूको साथमा क्रूसमा नजानुभएको भए हामीलाई पवित्र परमेश्वरसित मिलापको सम्बन्ध ल्याउने व्यक्ति कोही पनि हुनेथिएन।

तेस्रो, यदि ख्रीष्ट ‘मारिनलाई लगेको थुमाजस्तै’ सिपाहीहरूको साथमा नजानुभएको भए हामी अनन्त जीवनमा प्रवेश गर्न सक्नेथिएनौ। बाइबलको सुपरिचित पदले भन्छ,

‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।’ (यूहन्ना ३:१६)

यदि उहाँलाई पक्राउ गर्दा ख्रीष्ट सिपाहीहरूको साथमा नजानुभएको भए यूहन्ना ३:१६ ले भनेको कुरा सत्य हुनेथिएन, अनि तपाईंको निम्ति अनन्त जीवन पाउने कुनै पनि आशा हुनेथिएन।

चौथो, यदि ख्रीष्ट ‘मारिनलाई लगेको थुमाजस्तै’ सिपाहीहरूको साथमा नजानुभएको भए तपाईंका पापहरूबाट शुद्ध हुन त्यसको भोलिपल्ट उहाँले क्रूसमा बगाउनुभएको रगत तपाईंको निम्ति उपलब्ध हुनेथिएन। यदि उहाँले परमेश्वरको आज्ञापालन नगर्नुभएको भए, र क्रूसबाट उम्कनुभएको भए तपाईंका पापहरू पखाल्ने क्रूसको रगत तपाईंसँग हुनेथिएन। तर ख्रीष्ट तपाईंको निम्ति क्रूसमा टाँगिन त्यो रात तिनीहरूको साथमा जानुभयो। अनि अब प्रेरित पावलले हिम्मतसाथ यसो भन्न सके,

‘परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ।’ (रोमी ३:२४-२५)

छ मुहान रगतले भरिएको
निकालिएको इम्मानुएलका नसाहरूबाट
पापीहरू त्यसको भलमा डुब्छन्,
दोषको पाप सबै हट्छन्।
(‘दियर इज अ फाउन्टेन,’ विलियम काउपरद्वारा रचित- १७३१-१८००)

के तपाईं आएर ख्रीष्टमा विश्वास गर्नुहुन्छ? उहाँले तपाईंका पापहरूको मूल्य तिर्नुहुनेछ। उहाँ तपाईंका मध्यस्थकर्ता बन्नुहुनेछ, तपाईंलाई परमेश्वरको कृपाभित्र ल्याउनुहुनेछ। तपाईं अनन्त जीवन पाउनुहुनेछ। परमेश्वरको पुस्तकबाट तपाईंका पापहरू मेटाइनेछ, र ख्रीष्टको अनमोल रगतद्वारा अनन्तसम्मका निम्ति धोइनेछ।

मलाई खुशी लाग्छ कि, येशूले पिता परमेश्वरको आज्ञापालन गर्नुभयो र त्यो रात सिपाहीहरूले उहाँलाई पक्राउ गर्दा तिनीहरूको साथमा जानुभयो। यदि उहाँ त्यो अपमान, उहाँको दुःख, त्यो क्रूसको कष्ट सहन नजानुहुन्थ्यो भने म यी महत्त्वपूर्ण कुराहरू तपाईंलाई बताउन सक्नेथिइनँ।

चिच्याइरहेको भीडको अघि झुक्नुभो, दयाको भीख माग्नुभएन,
शरमको क्रूस उहाँ एकलैले सहनुभयो।
अनि जब कराउनुभो, ‘अब सिद्धियो’ भनी
उहाँले आफैलाई मृत्युमा सुम्पिनुभो,
उद्धारको अचम्मको योजना भयो पूरा।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत
नाश पार्न संसार र आफैलाई मुक्त गर्न।
सक्नुहुन्थ्यो उहाँ बोलाउन दश हजार स्वर्गदूत
तर मर्नुभो उहाँ एकलै तपाईं र मेरो निम्ति।

अनि म तपाईंलाई सोद्धछु, के तपाईं संसारको पाप उठाइलैजाने परमेश्वरको थुमामा विश्वास गर्नुहुनेछ? धेरै समयदेखि तपाईंले उहाँको विरोध गर्दैआउनुभएको छ। धेरैचोटि तपाईंले आफ्न हृदय उद्धारकर्ताप्रति कठोर पार्नुभएको छ। आज राति के उहाँमा आफ्नो जीवन समर्पण गर्नुहुनेछ?

अहो, तपाईं उहाँको गिल्ला गर्ने ती क्रूर सिपाहीहरू जस्तो नहुनुहोस्! त्यो अहंकारी र क्रूर प्रधान पूजाहारीजस्तो नहुनुहोस्, जसले उहाँलाई इन्कार गरे, र ती फरिसीहरू जसले उहाँको मुहारमा थुके र उहाँमाथि विश्वास गर्न इन्कार गरे। म बिन्ती तपाईं अझै पनि तिनीहरूजस्तो नहुनुहोस्। तपाईं धेरै समयेदखि त्यस्तो हुनुभएको छ। विश्वास मात्र गर्दै आफ्नो हृदय उहाँलाई सुम्पनुहोस्। के तपाईं संसारको पाप उठाइलैजाने परमेश्वरको थुमामा विश्वास गर्नुहुनेछ?(यूहन्ना १:२९)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(टेन थाउजन्ड एन्जल्स,’ रे ओभरहोल्ट, १९५९)


रूपरेखा

ख्रीष्टलाई विश्वासघात र उहाँको पक्राउ

THE BETRAYAL AND ARREST OF CHRIST

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र?’ (मत्ती २६:५३)

(मत्ती २६:४६, यूहन्ना १८:३,२,८, लूका २२:५१)

१. पहिलो, ख्रीष्टले आफैलाई बचाउन हजारौं स्वर्गदूतलाई बोलाउन सक्नुहुन्थ्यो।
२ राजा १९:३५

२. दोस्रो, ख्रीष्ट स्वेच्छाले क्रूसमा जानुभयो। लूका १८:३१-३३, यूहन्ना १२:२७, १८:३७,
फिलिप्पी २:७-८, हिब्रू ५:८-९, यशैया ५३:७, १ तिमोथी २:५, यूहन्ना ३:१६,
रोमी ३:२४-२५, यूहन्ना १:२९