Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

प्रवचनका यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ३७ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्।

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglocal.net




त्यो रगतको पसीना

THE BLOODY SWEAT
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१८ फरवरी, २०१८, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, February 18, 2018

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’
(लूका २२:४४)


यो सन्देश श्री सी. एच. स्पर्जनका दुइ वटा महान् सन्देशहरूमा आधारित छ, ती हुन् ‘त्यस बगैंचाको वेदना’ (१८ अक्टोबर, १८७४) र ‘गेतसमनी’ (८ फरवरी, १८६३)। म तपाईंलाई प्रचारकहरूका राजकुमारका यी दुइ उत्कृष्ट उपदेशकलाहरूको बारेमा छोटकरीमा बताउँछु। मैले भन्न लागेको कुनै पनि कुरा मौलिक छैन। मैले कम पढेका र आधुनिक मनका मानिसहरूले बुझ्न सकून् भनी यिनलाई सरल बनाएको छु। यी विचारहरू त्यस महान् प्रचारकका सन्देशहरूबाट संकलन गरिएका हुन्, अनि म यो आशासहित ती सन्देशहरू प्रस्तुत गर्दछु कि, स्पर्जनले ख्रीष्टलाई गेतसमनीको बगैंचामा जुन रूपमा वर्णन गरेका छन्, त्यसले तपाईंको आत्मालाई छुनेछ अनि तपाईंको अनन्त लक्ष्य बदलाउनेछ।

येशूले निस्तार-चाड़को भोज खानुभयो अनि आफ्ना चेलाहरूको साथमा प्रभु-भोज पालन गर्नुभयो। त्यसपछि उहाँ तिनीहरूको साथमा गेतसमनीको बगैंचामा जानुभयो। उहाँको वेदना सुरु गर्न किन उहाँले गेतसमनी नै चुन्नुभयो? के हामीलाई आदमको पापले बगैंचामा नै नाश पारेकोले गर्दा हो, जुन अदनको बगैंचा थियो; यसैले के अन्तिम आदमले हामीलाई अर्को बगैंचा, अर्थात् गेतसमनीको बगैंचामा फेरि पहिेलेको अवस्थामा उठाउन चाहनुभएकाले गर्दा हो?

ख्रीष्ट प्रार्थना गर्न प्रायः गेतसमनीको बगैंचामा जाने गर्नुहुन्थ्यो। त्यो एउटा त्यस्तो ठाउँ थियो, जहाँ उहाँ पहिले पनि धेरैचोटि जानुभएको थियो। येशू हामीलाई यो देखाउन चाहनुहुन्थ्यो कि हाम्रा पापले उहाँसम्बन्धी सबै कुरालाई दुःखमा बदलाइदिएको थियो। उहाँलाई त्यही स्थानमा सबैभन्दा बढी आनन्द हुन्थ्यो, जहाँ उहाँ दुःख भोग्न बोलाइनुहुन्थ्यो।

वा आफूले विगतमा प्रार्थना गर्नुभएको कुरा सम्झेर उहाँले गेतसमनी चुन्नुभएको हुन सक्छ। त्यो त्यही ठाउँ थियो, जहाँ परमेश्वरले उहाँलाई बारम्बार उत्तर दिनुभएको थियो। सायद अब उहाँ वेदनामा चुर्लुम्म डुब्नुभएको बेला परमेश्वरले प्रार्थनाका उत्तरहरू दिनुभएको कुरा उहाँले सम्झनुपर्छ भन्ने उहाँलाई लागेको थियो।.

सायद उहाँलाई बानी परेको कारण नै गेतसमनीमा प्रार्थना गर्न जानुभएको थियो, अनि त्यो कुरा सबैले जान्दथे। यूहन्ना हामीलाई भन्छन्, ‘उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो’ (यूहन्ना १८:२)। उनीहरूले उहाँलाई पक्राउ गर्नेछन् भन्ने जानीबुझी पनि येशू त्यस ठाउँमा जानुभयो। उहाँलाई धोखा दिने समय आएपछि ‘मारिनलाई लगेको थुमाजस्तै उहाँ डोऱ्याएर लगिनुभयो’(यशैया ५३:७)। उहाँ प्रधान पूजाहारीका सिपाहीहरूदेखि लुक्नुभएन। उहाँलाई चोरलाई जस्तो खोज्नु परेन, वा जासूस लगाएर खोज्नु परेन। येशू स्वेच्छाले त्यो ठाउँमा जानुभयो, जहाँ उहाँलाई धोखा दिनेहरूले भेट्टाउन र उहाँका शत्रुहरूले उहाँलाई पक्राउ गर्न सक्थे।

अब हामी गेतसमनीको बगैंचामा प्रवेश गर्दछौं। यो रात कति अन्धकार र भयानक छ। निश्चय हामी याकूबको साथमा यसो भन्न सक्छौं, ‘यो ठाउँ कति भययोग्य रहेछ’ (उत्पत्ति २८:१७)। गेतसमनीको बारेमा विचार गर्दा हामीलाई ख्रीष्टको वेदनाको सम्झना हुन्छ, अनि म त्यस बगैंचाको दुःखसम्बन्धी तीन वटा प्रश्नको उत्तर दिने कोसिस गर्नेछु।

१. पहिलो, गेतसमनीमा ख्रीष्टको पीड़ा र वेदनाको कारण के थियो?

पवित्र धर्मशास्त्रले भन्दछ येशू ‘अफसोसमा परेको मानिस र कष्टसित परिचित’ व्यक्ति हुनुहुन्थ्यो (यशैया ५३:३), तर उहाँमा निराशाले भरिएको व्यक्तित्व थिएन। उहाँ आफैभित्र यति ठूलो शान्ति थियो, जसको कारण उहाँले यसो भन्न सक्नुभयो, ‘म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु’ (यूहन्ना १४:२७)। मैले येशू शान्तिले भरिएको र आनन्दित मानिस हुनुहुन्थ्यो भनी भन्दा गल्ती हुन्छ जस्तो लाग्दैन।

तर गेतसमनीमा सबै कुरा बदलिए। उहाँको शान्ति हरायो। उहाँको आनन्द चरम दुःखमा परिणत भयो। किद्रोनको खोल्साहुँदै यरूशलेमदेखि भिरालो ओह्रालो लाग्ने बाटो भएर गेतसमनीतिर जानुहुँदा उद्धारकर्ताले प्रार्थना गर्नुभयो र आनन्दित हुँदै कुराकानी गर्नुभयो (यूहन्ना १५-१७)।

‘यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैंचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो।’ (यूहन्ना १८:१)

येशूले उहाँको सम्पूर्ण जीवनमा उहाँलाई दुःख लागेको वा उहाँ निराश हुनुभएको कुरा कहिल्यै गर्नुभएन। तर अहिले गेतसमनीमा प्रवेश गर्नुहुँदा सबै कुरा बदलिएका छन्। उहाँले यसरी पुकारा गर्नुभयो, ‘हुन सक्छ भने, यो कचौरा मबाट हटोस्’ (मत्ती २६:३९)। उहाँको सम्पूर्ण जीवनमा येशूले शोक वा निराशाको वचन कहिल्यै बोल्नुभएन, तर यहाँ उहाँले सुस्केरा हाल्नुभयो, उहाँको रगत पसीना बनेर बग्यो, र उहाँले भन्नुभयो, ‘मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ’ (मत्ती २६:३८)। हे येशू, तपाईं त्यत्ति साह्रो विचलित हुनुपर्ने त्यस्तो के भएको थियो तपाईंलाई?

स्पष्ट छ, उहाँको शरीरको पीड़ाले गर्दा उहाँलाई दुःख र निराशा भएको थिएन। येशूले अघिबाट कहिल्यै पनि कुनै शारीरिक समस्याको विषयमा गुनासो गर्नुभएको थिएन। उहाँको मित्र लाजरसको मृत्युमा उहाँ शोकित हुनुभएको थियो। निःसन्देह, उहाँका शत्रुहरूले उहाँलाई जँड्याह भन्दा र उहाँले शैतानको शक्तिद्वारा भूतहरू निकाल्नुहुन्छ भन्दा उहाँ दुःखी बन्नुभयो। तर ती सबै सामना गर्नुपर्दा उहाँ साहसी बन्नुभयो र तीमाथि विजयी बन्नुभयो। त्यो उहाँको पछि थियो। सायद त्यहाँ पीड़ाभन्दा अझ चर्को, निन्दाभन्दा अझ बढी चोट पुऱ्याउने, शोकभन्दा अझ बढ़ी भयानक कुनै कुरा थियो, जसले अहिले उद्धारकर्तालाई समातेको थियो, र उहाँलाई ‘शोकित र व्याकुल’ बनाएको थियो (मत्ती २६:३७)।

के त्यो मृत्युको डर र क्रुसिकरणको भय थियो भनी तपाईं सोच्नुहुन्छ? धेरै जना सहिदहरू साहसपूर्वक आफ्नो विश्वासका निम्ति मरेका छन्। ख्रीष्टमा ती सहिदहरूमा भन्दा कम साहस थियो भनी सोच्नु उहाँलाई अनादर गर्नु हो। हाम्रा प्रभुलाई उहाँले जस्तै मृत्यु भोग्ने उहाँका सहिदहरू भन्दा कम आँक्नुहुन्न। साथै बाइबलले भन्छ, ‘जसले उहाँको सामुन्ने राखिदिएको आनन्दका निम्ति अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो’ (हिब्रू १२:२)। कसैले पनि मृत्युको पीड़ा येशूले भन्दा साहसी बनेर सहने चुनौती दिनु सक्दैन। सायद यही कारणले गर्दा उहाँ बगैंचामा ठूलो वेदनामा पर्नुभएको थियो।

साथै, गेतसमनीको वेदना शैतानको असाधारण आक्रमणको कारण भएको थियो भनी म विश्वास गर्दिनँ। ख्रीष्टको सेवकाइको सुरुमा उहाँ उजाड़-स्थानमा हुनुहुँदा उहाँले शैतानसँग कठोर लडाइँ गर्नुभयो। तापनि येशू उजाड-स्थानमा ‘वेदनामा’ हुनुहुन्थ्यो भन्ने पढ़दैनौं। उजाड़-स्थानको परीक्षामा गेतसमनीको जस्तो रगतको पसीनाका थोप्लाहरू थिएन। स्वर्गदूतहरूका प्रभु शैतानको आमनेसामने हुनुहुँदा उहाँले चर्को पुकारा गर्नुभएन र आँसुहरू खसाल्नुभएन, भुइँमा लम्पसार परेर पितासँग विन्ती गर्नुभएन। यसको तुलनामा शैतानसँग ख्रीष्टको लड़ाइँ सहज थियो। तर गेतसमनीको यो वेदनाले उहाँको प्राणमा चोट पुऱ्यायो र झन्डै उहाँको प्राण लियो।

त्यसोभए, कुन कुराले उहाँलाई त्यो वेदामा पारेको थियो? त्यस बेला परमेश्वरले हाम्रा निम्ति उहाँलाई दुःखमा पार्नुभएको थियो। यस बेला येशूले पिताबाट कुनै कचौरा पिउन परेको थियो। उहाँले त्यो खतरा उठाउनुभयो। त्यसकारण त्यो शारीरिक पीड़ाभन्दा अझ खतरनाक थियो भनी तपाईं निश्चित हुन सक्नुहुन्छ, तापनि उहाँ त्यसबाट पछि हटनुभएन। यो मानिसहरू उहाँसँग रिसाएका भन्दा नराम्रो कुरा थियो- त्यसबाट उहाँ पन्छिनु भएन। त्यो शैतानको आक्रमणभन्दा अझ खतरनाक थियो- त्यसमा उहाँले विजय पाउनुभयो। त्यो समझदेखि बाहिरको खतरा थियो, अनि नै भयानक, जुन पिता परमेश्वरबाट उहाँमाथि आइपरको थियो।

यसले उहाँको वेदनासम्बन्धी सबै शङ्काहरू हटाउँदछ:

‘परमप्रभुले उसमाथि हामी सबैका अधर्म हालिदिनुभएको छ।’ (यशैया ५३:६)

अब उहाँले त्यो सराप बोक्नुहुन्छ, जुन पापीहरूले सहनु पर्नेथियो। उहाँ पापीहरूको स्थानमा खड़ा हुनुभयो र दुःख भोग्नुभयो। त्यही नै ती वेदनाहरूका कारण थियो, जुन कुराको वर्णन म पूर्ण रूपमा गर्न मेरो निम्ति सम्भव छैन। कुनै मानिसको समझले यो दुःखलाई पूर्ण रूपले बुझ्न सक्दैन।

‘यो परमेश्वरका निम्ति, परमेश्वर मात्र,
   उहाँका दुःखहरू पूरा जानिएका छन्।’
('दाइन् अननोन सफरिङ,' जोसेफ हार्टद्वारा रचित, १८१२-१७६८)

परमेश्वरका थुमाले उहाँको शरीरमा मानवजातिको पाप बोक्नुभयो, र हाम्रा पापहरूको बोझ उहाँको प्राणमाथि पऱ्यो।

‘हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो।’ (१ पत्रुस २:२४)

म विश्वास गर्छु, गेतसमनीमा हाम्रा सबै पापहरू ‘उहाँको आफ्नै शरीरमा’ राखियो, अनि त्यसको भोलिपल्ट उहाँले ती पापहरू क्रूसमा बोक्नुभयो।

त्यो बगैंचामा ख्रीष्टले पाप बोक्ने व्यक्ति हुनु भनेको के हो त्यो राम्ररी बुझ्नुभयो। उहाँ इस्राएलको पाप आफ्नो शिरमा बोकेर अरूको साटो दुःख भोग्ने पाठो बन्नुभयो, जो पापबलि बनाइनुभयो, जसलाई छाउनीदेखि बाहिर लगिन्थ्यो र परमेश्वरको क्रोधको भयानक आगोले नाश पारिन्थ्यो। अब बुझ्नुभयो, ख्रीष्ट त्यसबाट किन डराउनुभयो? ख्रीष्टका निम्ति हामी पापीहरूको स्थान लिएर परमेश्वरको अगाड़ि उभिनु अति डरलाग्दो कुरा थियो- जसरी लुथरले भनेका थिए, कि परमेश्वरद्वारा संसारमा भएका सबै पापीहरू उहाँ नै हुन् भनेजस्तो गरी हेरिनु। अब उहाँ परमेश्वरको सारा बदला र क्रोधको केन्द्र बन्नुहुन्छ। पापी मानिसमाथि आउनुपर्ने सारा दण्ड उहाँले सहनुहुन्छ। यस्तो अवस्थामा पर्नु ख्रीष्टका निम्ति निकै भयानक कुरा भएको हुन सक्छ।

त्यसपछि त्यो बगैंचामा अरू धेरै पाप उहाँमाथि खस्न थाले। पहिलो, स्वयम् पाप नै उहाँमाथि खस्यो, त्यसपछि पापको दण्ड। मानिसको पापका निम्ति परमेश्वरको न्याय पूरा गर्न सहनुभएको दुःख सानो थिएन। हाम्रा प्रभुले जे सहनुभयो, त्यसलाई बढ़ाइचढ़ाइ बताउन मलाई डर लाग्दैन। उहाँले पिउनुभएको कचौरामा सारा नरक खन्याइएको थियो।

त्यो दुःखले हाम्रा उद्धारकर्ताको आत्मालाई तोड़यो, बयान गर्न नसकिने त्यो ठूलो र अथाहा पीड़ा, जसले उद्धारकर्ताको आत्मालाई उहाँको बलिदानरूपी मृत्युमा छोप्यो, कि त्यो बुझ्नै सकिँदैन, अनि मैले त्यो बुझाउने कोसिस पनि गर्नुहुँदैन, नत्र मैले अवर्णीय कुरा बुझाउने कोसिस गरेँ भनी कसैले दोष लगाउला। तर म यो भन्दछु, त्यो ठूलो आँधीभन्दा अझ ठूलो आँधी, जुन मानवजातिको पापभन्दा गहिरो छ, त्यसैमा ख्रीष्ट खस्नुभएको जस्तो भयो, रगतको पसीनामा उहाँलाई चोपलियो। एक पापीसँग जस्तो व्यवहार गरियो एक पापीलाई जस्तो दण्ड दिइयो, यसै कुराले उहाँलाई वेदनामा डुबायो, जसको बारेमा आजको हाम्रो बाइबल पदले बताउँछ।

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’(लूका २२:४४)

अब हामी अर्को प्रश्नमा आउँछौं।

२. दोस्रो, ख्रीष्टको रगतको पसीनाको अर्थ के थियो?

इल्लिकोटले हामीलाई बताउँछन् कि, रगतको पसीना भनेको वास्तवमा ‘सामान्य रूपले स्वीकार गरिएको विचार’ हो (चार्ल्स जोन इल्लिकोट, कमेन्ट्री अन द होल बाइबल, भाग ६, पृष्ठ ३५१)। तिनी अझै भन्छन्, ‘रगतको पसीना’ भन्ने वाक्यांशलाई अरस्तुमा पाइएको अति धेरै थकानको रूपमा लिइएको छ’ (ऐजन)। अगस्टिनको समयदेखि अहिलेसम्मका धेरै जना टिप्पणीकारहरूले ‘जस्तो थियो’ भन्ने वाक्यांशले त्यो साँच्ची कै रगत भएको संकेत गर्दछ भनी भन्दछन्। हामी ख्रीष्टले साँच्चै रगतको पसीना बगाउनुभयो भन्ने विश्वास पनि गर्दछौं। यो केही असामान्य कुरा भए पनि इतिहासमा विभिन्न मानिसहरूलाई पनि त्यस्तो भएको देखिएको छ। प्राचीन चिकित्सक गालिनको औषधिको पुस्तकमा, र हालसालैका समयमा पनि धेरै लामो समयसम्म कमजोर रहेका मानिसहरूबाट रगतको पसीना बगेको कुरा पाइन्छ।.

तर ख्रीष्टले रगतको पसीना बगाउनुभएको कुरा विचित्र छ। उहाँले रगतको पसीना मात्र बगाउनुभएन, तर त्यो ठूल्ठुला थोप्ला, फल्साहरू, पोटिला थोप्लाहरू थिए। अरू कुनै घटनामा यस्तो देखिएको छैन। केही रोगी मानिसहरूको पसीनामा रगत देखिएको छ, तर थोप्ला देखिएको छैन। भनिएको छ कि, रगतका ती ठूल्ठुला थोप्लाहरू उहाँको कपड़ामा सोसिएनन्, तर ‘भुइँमा खसिरहेका थिए।’ मेडिकलको इतिहासमा ख्रीष्टसँग मात्र यस्तो भएको छ। उहाँको स्वास्थ्य राम्रो थियो, उहाँ करिब तेत्तीस वर्षको व्यक्ति हुनुहुन्थ्यो। तर पापको बोझको भारीबाट उत्पन्न भएको मानसिक दबाब, उहाँको सारा बलको तनावले उहाँको शरीरलाई यति अस्वाभाविक रूपले उत्तेजित बनायो कि, उहाँको छालाका प्वालहरू खुलेर त्यसबाट ठूल्ठुला रगतका थोप्लाहरू भुइँमा खस्न थाले। यसले उहाँमाथि परेको पापको बोझ कति ठूलो थियो भन्ने देखाउँछ। त्यसले उद्धारकर्तालाई चकनाचूर पाऱ्यो र अन्त्यमा उहाँको छालाबाट रगत बग्न थाल्यो।

यसले ख्रीष्टको दुःखको स्वैच्छिक स्वभाव प्रकट गर्दछ, किनकि छुरी नपरी रगत भलल बगेको थियो। मेडिकल डाक्टरहरू भन्छन् कि, धेरै जना मानिस अति साह्रै डराउँदा रगत तीव्र गतिमा बगेर मुटुमा पुग्छ। गालाहरू पहेंला बन्छन्, मूर्च्छा पर्लाजस्तो हुन्छन्, रगत सबै शरीरभित्र पस्छ। तर हाम्रा उद्धारकर्तालाई उहाँको वेदनामा हेर्नुहोस्। उहाँले आफैलाई यसरी भुल्नुहुन्छ, कि उहाँको रगत उहाँलाई पोषण गर्न भित्रतिर नगएर बाहिर भुइँतिर खस्छ। भुइँमा उहाँको रगत खस्नुले तपाईंलाई सत्तैंमा दिइएको उद्धारको चित्रण गर्दछ, ता कि तपाईंले येशूमा विश्वास गर्नुहुँदा तपाईं सित्तैंमा आफ्ना पापहरूबाट शुद्ध हुनुहोस्।

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’(लूका २२:४४)

रगतको पसीना उहाँको प्राणमा भएको दुःखको कारण निस्किएको थियो। हृदयको पीड़ा सबैभन्दा नराम्रो किसिमको पीड़ा हुन्छ। शोक र निराशा अति घोर दुःखहरू हुन्। गहिरो निराशमा पर्नेहरूले यो कुरा साँचो हो भनी तपाईंलाई बताउन सक्छन्। मत्तीको पुस्तकमा हामी पढ्न सक्छौं, उहाँ ‘अति शोकित र व्याकुल’ हुनुहुन्थ्यो (मत्ती २६:३७)। ‘अति व्याकुल’ भन्ने वाक्यांशका धेरै अर्थ छन्। यसले दुःखले भरिएको त्यस्तो मनलाई बुझाउँछ, जहाँ अरू कुनै विचार आउन सक्दैन। हाम्रो पाप बोक्ने व्यक्तिको रूपमा उहाँको स्थानले उहाँको मनलाई अरू सबै कुराबाट अरूतिर लग्यो। उहाँ मानसिक समस्याको शक्तिशाली समुद्रमा अघि र पछि हुत्त्याइनुभयो। ‘हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं’ (यशैया ५३:४)। ‘उसको प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ’ (यशैया ५३:४)। उहाँको हृदयले उहाँलाई धोखा दियो। उहाँ त्रास र डरले भरिनुभयो। उहाँ ‘अति व्याकुल’ बन्नुभयो। विद्वान विशुद्धवादी थोमस गुडविनले भने, ‘त्यो शब्दले चुक्नु, कमजोरी, र आत्मामा डुब्नु भन्ने बुझाउँछ, जुन बिरामी र अचेत मानिसलाई हुने गर्दछ।’ इपाफ्रोडिटसको बिरामी भए, जसको कारण तिनी झन्डै मरेका थिए, त्यसलाई पनि त्यही शब्दद्वारा सम्बोधन गरिएको छ। यसैले, हामी देख्छौं कि ख्रीष्टको प्राण बिमारी र अचेत थियो। उहाँको पसीना थकानको कारण निस्किएको थियो। मर्न लागेको मानिसबाट निस्कने चिसो, चिपचिप पसीना तिनीहरूका शरीरको कमजोरीबाट निस्कन्छ। तर येशूको रगतको पसीना हाम्रो पापको बोझले गर्दा उहाँको प्राणको भित्रिय मृत्युको कारण निस्केको थियो। उहाँ भयानक प्राणको बेहोशीमा हुनुहुन्थ्यो, र भित्रिय मृत्यु भोग्नुभयो, त्यसको साथमा उहाँको सम्पूर्ण शरीरको रगत पनि बगेर निस्कियो। उहाँ ‘अति व्याकुल’ हुनुहुन्थ्यो।

मर्कूसको सुसमाचारले बताउँछ कि, उहाँ ‘अति खिन्न’ (मर्कूस १४:३३) हुनुभयो। यहाँ प्रयोग गरिएको ग्रीक शब्दको अर्थ उहाँको आश्चर्यले चर्को डर उत्पन्न गऱ्यो भन्दछ, यस्तो बेला मानिसका रौंहरू ठाड़ा हुन्छन् र शरीर काँप्छ भनिन्छ। मोशालाई व्यवस्था दिइँदा मोशा डरले काँपेका थिए। त्यसरी नै हाम्रा प्रभु पनि उहाँमाथि लादिएको पापलाई देखेर त्रासले व्याकुल बन्नुभएको थियो।

उद्धारकर्ता पहिले शोकित हुनुहुन्थ्यो, अनि निराश र व्याकुल अनि अन्त्यमा ‘अति खिन्न’ हुनुहुन्थ्यो। उहाँ आश्चर्यचकित हुनुभयो। जब हाम्रा पापहरू बोक्नु पर्ने समय आयो उहाँ अति छक्क पर्नुभयो, र परमेश्वरको सामुन्ने पापी मानिसको स्थानमा उभिँदा छक्क पर्नुभयो। परमेश्वरको अगाड़ि पापीको प्रतिनिधि भएर खडा हुँदा उहाँ छक्क पर्नुभयो। परमेश्वरद्वारा त्यागिएको कुरा सोचेर उहाँ अचम्मित हुनुभयो। यस कुराले उहाँको पवित्र, कोमल, प्रेमिलो स्वभावलाई डगमगायो, र उहाँ ‘अति खिन्न’ र ‘अति व्याकुल’ हुनुहुन्थ्यो।

हामीलाई अझ भनिएको छ, उहाँले भन्नुभयो, ‘मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ’ (मत्ती २६:३८)। ग्रीक शब्द ‘पेरिलुपोस’ को अर्थ दुःखहरूले घेरिनु हो। साधारण दुःखमा त्यसबाट उम्कने उपाय हुन्छन्, आशाका केही कुरा हुन्छ। दुःखमा पर्नेहरूलाई हामी तिनीहरूका अवस्था अति खराब छ भनी स्मरण गराउन सक्छौं। तर येशूको घटनामा त्योभन्दा खराब अवस्थाको कल्पना गर्न सकिँदैन, किनकि उहाँले दाऊदसँगै यसो भन्न सक्नुभयो, ‘चिहानको वेदना ममाथि आइपऱ्यो’ (भजन ११६:३)। परमेश्वरका सबै छाल र तरंगहरू उहाँमाथि आइपरे। उहाँमाथि, उहाँको मुनि, उहाँको वरिपरि, उहाँको बाहिर, उहाँभित्र सबैतिर वेदना नै वेदना थियो, उहाँको पीड़ा र शोकबाट उम्कने कुनै उपाय थिएन। ख्रीष्टको दुःखजस्तो अरू कुनै छैन, र उहाँले भन्नुभयो, ‘मेरो प्राण गहिरो शोकमा छ,’ दुःखले घेरिएर ‘मरेतुल्य भएको छ’- मृत्युको डीलमा पुगेको!

उहाँ गेतसमनीको बगैंचामा मर्नुभएन, तर उहाँले मरेकै जस्तो गरी दुःख भोग्नुभयो। उहाँको पीड़ा र वेदना मृत्युकै मुखमा पुग्यो– र त्यसपछि रोकियो।

भित्रको त्यस्तो दबाबले हाम्रा प्रभुको रगत ठूल्ठुला पसीनाका थोप्लाको रूपमा झारेकोमा म अचम्मित हुँदिनँ। म मानिसको दृष्टिकोणले यसलाई सकेसम्म स्पष्ट पार्ने कोसिस गर्नेछु।

‘यो परमेश्वरका निम्ति, परमेश्वर मात्र,
उहाँका दुःखहरू पूरा जानिएका छन्।’

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’(लूका २२:४४)

३. तेस्रो, ख्रीष्ट किन यी सबै कुराहरूबाट भएर जानु पऱ्यो?

म निश्चय छु, धेरै जना मानिसहरू ख्रीष्ट किन त्यस्तो वेदनाबाट भएर जान पऱ्यो र किन रगतका थोप्लाहरूको पसीना बगाउनु पऱ्यो भन्ने सोच्छन्। सायद उनीहरू भन्छन्, ‘म जान्दछु उहाँले यी सबै सहनुभयो, तर उहाँले किन ती कुराहरू सहनुभयो सो म जान्दिनँ।’ येशू गेतसमनीको बगैंचामा ती अनुभवबाट भएर किन जानुभयो सोबारे पाँच वटा कारण म तपाईंलाई बताउनेछु।

१. पहिलो, हामीलाई वास्तविक मानवता देखाउन। उहाँलाई परमेश्वरको रूपमा मात्र विचार नगर्नुहोस्, उहाँ निश्चय ईश्वरीय व्यक्ति हुनुहुन्छ, तापनि उहाँलाई तपाईंको सहोदर, तपाईंकै हाड़को हाड़, मासुको मासु ठान्नुहोस्। उहाँले तपाईंलाई कतिसम्म सान्त्वना दिन सक्नुहुन्छ! उहाँले तपाईंका सारा बोझहरू बोक्नुभयो, तपाईंका सारा दुःखहरू भोग्नुभयो। येशूले बुझ्न नसक्नुहुने कुनै पनि कुरा तपाईंको जीवनमा भएको छैन। त्यसैकारण तपाईंका परीक्षाहरूमा उहाँले तपाईंलाई बोक्न सक्नुहुन्छ। येशूलाई तपाईंका मित्रको रूपमा लिनुहोस्। उहाँले तपाईंलाई सान्त्वना दिनुहुनेछ अनि तपाईंको जीवनका सारा कठिनाइहरूमा तपाईंलाई बोक्नुहुनेछ।

२. दोस्रो, त्यस बगैंचामा उहाँले जे अनुभव गर्नुभयो त्यसले पापको खराबी प्रकट गर्दछ। तपाईं एक पापी हुनुहुन्छ, येशू कहिल्यै पनि त्यस्तो हुनुहुन्न थियो। हे पापी मानिस, तपाईंको पाप भयानक नै छ, जसले येशूलाई त्यस्तो डरलाग्दो पीड़ा दियो। हाम्रो पाप उहाँमा हालिएकोले नै उहाँको रगत पसीना बग्यो।

३. तेस्रो, त्यस बगैंचामा उहाँको कठिनाइको समयले हामीप्रति भएको उहाँको प्रेमलाई देखाउँछ। उहाँले हाम्रो स्थानमा पापी गनिनु भएर त्यो डरलाग्दो कुरा सहनुभयो। हाम्रो पापको मूल्य चुकाउन उहाँले हाम्रो स्थानमा दुःख भोग्नुभएको कारण हामी सबै कुराका निम्ति उहाँप्रति ऋणी छौं। हामीलाई त्यत्ति धेरै प्रेम गर्नुभएको कारण हामीले पनि उहाँलाई धेरै प्रेम गर्नुपर्छ।

४. चौथो, त्यस बगैंचामा येशूलाई हेर्नुहोस् र उहाँको प्रायश्चित कति महान् छ सो जान्नुहोस्। परमेश्वरको नजरमा म कति कालो छु, कति फोहोर छु। मलाई लाग्छ, म नरकमा फालिने योग्यको मात्र छु। तर म छक्क पर्छु, परमेश्वरले धेरै अघि नै मलाई त्यहाँ फाल्नुभएको छैन। तर म गेतसमनीको बगैंचामा जान्छु, अनि ती जैतूनका रूखहरूको मुनि हेर्छु, र मेरा उद्धारकर्तालाई म देख्छु। म उहाँलाई यातनाले गर्दा भुइँमा लम्पसार परेको देख्छु, अनि उहाँले पीडामा सुस्केरा हाल्नुभएको देख्छु। म उहाँको छेउछाउको भुइँमा हेर्छु र त्यो रगतले रातो भएको देख्छु, अनि उहाँको मुहार भने रगतले रक्ताम्य भएको देख्छु। म उहाँलाई भन्छु, ‘हे उद्धारकर्ता, तपाईंलाई के समस्या छ?’ उहाँको यस्तो जवाफ सुन्छु, ‘म तिम्रा पापहरूका निम्ति दुःख भोगिरहेको छु।’ अनि म बुझ्न सक्छु, मेरो निम्ति उहाँको बलिदानद्वारा परमेश्वरले मेरा पापहरू क्षमा गर्न सक्नुहुन्छ। येशूकहाँ आउनुहोस् र उहाँमा विश्वास गर्नुहोस्। उहाँको रगतद्वारा तपाईंका पापहरू क्षमा गरिनेछन्।

५. पाँचौं, उहाँको प्रायश्चितको रगतलाई इन्कार गर्नेहरूमाथि आउने भयानक दण्डको बारेमा विचार गर्नुहोस्। विचार गर्नुहोस्, यदि तपाईंले उहाँलाई इन्कार गर्नुभयो भने एक दिन तपाईं पवित्र परमेश्वरको अगि खड़ा हुनुहुनेछ र तपाईंका पापहरूका निम्ति न्याय गरिनेछ। तपाईंले उद्धारकर्ता येशू ख्रीष्टलाई इन्कार गर्नुभयो भने के हुनेछ सो मेरो हृदयमा ठूलो पीड़ासहित तपाईंलाई बताउँछु। एउटा बगैंचामा होइन, तर ओछ्यानमा तपाई अचम्मित हुनुहुनेछ अनि मृत्युले तपाईंलाई जित्नेछ। तपाईं मर्नुहुनेछ र तपाईंको आत्मालाई न्यायका लागि लगिनेछ र तपाईंलाई नरकमा पठाइनेछ। गेतसमनीले तपाईंलाई चेतावनी दिएको होस्। त्यहाँको पीड़ाको सुस्केरा र आँसुहरू अनि रगतका पसीनाहरूले तपाईंको हृदयलाई छुन सकोस्, र तपाईंले आफ्ना पापहरूका निम्ति पश्चात्ताप र येशूमा विश्वास गर्न सक्नुहोस्। उहाँकहाँ आउनुहोस्। उहाँमाथि विश्वास गर्नुहोस्। उहाँ मरेकोबाट जीवित हुनुभएको छ र जीवित हुनुहुन्छ, अहिले उहाँ स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। ढिलो हुनुभन्दा अघि अहिले नै उहाँकहाँ आउनुहोस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('दाइन् अननोन सफरिङ,' जोसेफ हार्टद्वारा रचित, १८१२-१७६८)


रूपरेखा

त्यो रगतको पसीना

THE BLOODY SWEAT

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए।’ (लूका २२:४४)

(यूहन्ना १८:२; यशैया ५३:७; उत्पत्ति २८:१७)

१. पहिलो, गेतसमनीमा ख्रीष्टको पीड़ा र वेदनाको कारण के थियो?
यशैया ५३:३; यूहन्ना १४:२७; १८:१; मत्ती २६:३९,३८,३७; हिब्रू १२:२;
यशैया ५३:६; १ पत्रुस २:२४; लूका २२:४४

२. दोस्रो, ख्रीष्टको रगतको पसीनाको अर्थ के थियो?
लूका २२:४४; मत्ती २६:३७; यशैया ५४:४,११; मर्कूस १४:३३; मत्ती २६:३८; भजन ११६:३; लूका २२:४४

३. तेस्रो, ख्रीष्ट किन यी सबै कुराहरूबाट भएर जानु पऱ्यो?
१ पत्रुस २:२१; २ तिमोथी ३:१२; २:३; प्रेरित १४:२२