Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




सुरु-सुरुको चर्चको रहस्य खुलाउने तीन वटा शब्द

THREE WORDS GIVE THE SECRET
OF THE EARLY CHURCH!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

१९ नोभेम्बर, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, November 19, 2017

‘तिनीहरू सबै एकै मनको भई मन्दिरमा एकसाथ भेला हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे, परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।’ (प्रेरित २:४६,४७)


हाम्रा चर्चहरू भत्किँदै र मर्दै जाँदैछन्। तिनीहरूले १६ देखि ३० वर्ष बीचका आफ्ना जवानहरूमध्ये ८८% भन्दा बढी गुमाउँदैछन्। प्रसिद्ध चुनावकर्ता श्री जर्ज बारनाले वर्षौंदेखि हामीलाई त्यो कुरा भन्दै आएका छन्। ‘पारिवारिक जीवनको विषयमा साउदर्न ब्याप्टिस्ट काउन्सिल’ ले यसो भनेको छ, ‘सुसमाचारीय परिवारमा हुर्केका ८८% छोराछोरीहरू करिब १८ वर्ष पुग्दानपुग्दै चर्च आउन छोड्छन्, र कहिल्यै फर्केर आउँदैनन्’(ब्याप्टिस्ट प्रेस, १२ जून, २००२)। साथै हाम्रा चर्चहरूले संसारका जवानहरूलाई जित्न मुश्किलै पर्छ भन्ने पनि हामीले जानेकै कुरा हो। डा. जेम्स डबसनले भनेका छन्, ‘चर्चको ८०% वृद्धि सदस्यहरूको स्थानान्तरणको कारण हुने गर्दछ’ (‘फोकस अन द फेमिली न्यूजलेटर,’ अगस्ट १९९८)। सुसमाचारीय समूहका लेखक श्री जेन हेटमार्कले भनेका छन्, ‘हामीले नयाँ मानिसहरूलाई ल्याउन (चर्चमा) सकेका छैनौं भन्ने मात्र होइन, तर चर्चमा भएकैहरूलाई पनि राख्न सकिरहेका छैनौं।’ अमेरिकाका सम्पूर्ण चर्चहरूमध्ये झन्डै आधाले विगत वर्ष एकजना व्यक्तिलाई विश्वासमा ल्याएर आफूलाई वृद्धि गराएको छैन। ९४% चर्चहरू कि त बढिरहेका छैनन्, वा त आफूले सेवा गरिरहेका समुदायमा मानिसहरू गुमाइरहेका छन्। स्पष्ट छ, यो गति ओह्रालोतिर लागेको छ [‘द सर्भाइबल अफ क्रिश्चियानिटी इज एट स्टेक’] (इन्टरपटेडः वेन जिजस रेक्स योर कम्फर्टेबल क्रिश्चियानिटी; नेभ प्रेस, २०१४, पृष्ठ ७९,८०) ।

अब साउदर्न ब्याप्टिस्टहरूलाई हेर्नुहोस्। श्री केरोल पाइप्सले ‘केलिफोर्निया साउदर्न ब्याप्टिस्ट’ मा दिएको रिपोटले भन्दछ, ‘चर्चहरूले विगत वर्ष करिब २ लाख सदस्य गुमाए, यो सन् १८८१ (वार्षिक चर्च प्रोफाइल) पछिको सबैभन्दा ठूलो ह्रास हो। विगत १० वर्षमध्ये आठ वर्षमा बप्तिस्मा लिनेहरूको संख्यामा कमी आएको छ, अनि सन् १९४७ पछि विगत वर्षको त्यो संख्या सबैभन्दा कम थियो। श्री थोम रानियर (एस. बी. सी. का अधिकृत) ले भने, ‘हाम्रो सम्प्रदायको मुख्य विषय नै पतन हुनु भएको छ।’ डा. फ्रेन्क पेज (साउदर्न ब्याप्टिस्टका अर्का मुख्य अगुवा)ले भनेका छन्, ‘साँचो कुरा के हो भने, हामीसँग चर्चहरूमा थोरै मानिसहरू छन्, जसले थोरै पैसा दिन्छन्, किनकि हामीले मानिसहरूलाई ख्रीष्टमा जितिरहेका छैनौं, र हामीले तिनीहरूलाई हाम्रा प्रभुको आत्मिक शिक्षामा तालिम दिइरहेका छैनौं।’ तिनले अझै भने, ‘परमेश्वरले हामीलाई क्षमा गरून्। पहिलो शताब्दीको चर्चजस्तै चेलाहरू बनाउने कुरामा गम्भीर बन्न परमेश्वरले हामीलाई सहायता गरून्’ (ऐजन, पृष्ठ ४)।

यी अंकहरूले अमेरिकी चर्चहरूको निराश, हताश बनाउने तस्वीर प्रस्तुत गर्दछन्। तिनीहरूले आफ्नै सदस्यहरू गुमाइरहेका छन्, अनि हराएको संसारबाट कसैलाई मुश्किलले प्राप्त गरिरहेका छन्। यहाँसम्म कि, अति ठूला र असल भनिएका चर्चहरूले समेत हराएको संसारबाट थोरैलाई मात्र चर्चमा थप्दछन्।

अमेरिका र पश्चिमी संसारका चर्चहरूको दुःखलाग्दो तस्वीर यस्तै छ। अब हाम्रा चर्चहरूलाई प्रेरितको पुस्तकका चर्चहरूसँग तुलना गर्नुहोस्। म हाम्रो आजको बाइबल पद फेरि पढ्नेछु।

‘तिनीहरू सबै एकै मनको भई मन्दिरमा एकसाथ भेला हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे, परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।’ (प्रेरित २:४६,४७)

अहो कस्तो उल्टो कुरा! तिनीहरू आनन्दले भरिएका थिए। तिनीहरू दिनहुँ एकसाथ भेला हुन्थे। तिनीहरू निरन्तर परमेश्वरको प्रशंसा गर्दथे। अनि उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।’ (प्रेरित २:४७)

डा. मार्टिन लोयड-जोनेसले भनेका छन्, ‘जानु पर्ने त्यो ठाउँ प्रेरितको पुस्तक हो। त्यहाँ शक्ति दिने थोक (बलियो बनाउने औषधि) छ, त्यो ताजा बन्ने ठाउँ हो, जहाँ हामी सुरु-सुरुको चर्चमा परमेश्वरको जीवन धडकिरहेको पाउँछौं’(अथेन्टिक क्रिश्चियानिटी, भाग १ (प्रेरित १-३),द ब्यानर अफ त्रुथ ट्रस्ट, पृष्ठ २२५)। पहिलो शताब्दीको चर्चको आनन्द, जोश र शक्ति़को विषयमा पढ्दा हाम्रो हृदय रोमांचित हुँदछ! म डा. माइकल ग्रीनका पुस्तक इभान्जलिज्म इन द अर्ली चर्च (अर्डस्मण्ड,२००३ संस्करण) द्वारा प्रेरित भएको छु। त्यो पुस्तक साथै प्रेरितको पुस्तक पढदा मैले नयाँ करारको पुस्तकमा केही ग्रीक शब्दहरू फेला पारेको छु, जुन शब्दहरूले पहिलो शताब्दीका चर्चहरूको जीवनको तस्वीर प्रस्तुत गर्दछन्।

१. पहिलो, त्यहाँ ‘कुरिओस’ भन्ने ग्रीक शब्द छ

अंग्रेजीमा यो शब्दको अर्थ ‘प्रभु’ हो। यसको अर्थ ‘प्रभु,’ ‘मालिक,’ ‘स्वामी,’ ‘शासक’ हो। प्रेरित पावलले प्रेरित १०:३६ मा येशूको बारेमा कुरा गर्दा यही शब्द प्रयोग गरेका छन्,

‘येशू ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सन्देश...(उहाँ नै सबैका प्रभु हुनुहुन्छ)।’ (प्रेरित १०:३६)

डा. ग्रीनले हामीलाई सुरु-सुरुका ख्रीष्टियनहरूले येशूको बारेमा कसरी साक्षी दिए र प्रचार गरे भन्ने कुरा बताउँछन्,

हामी देख्छौं, तिनीहरूले येशू नै ख्रीष्ट हुनुहुन्छ वा उहाँद्वारा नै प्राचीनका प्रतिज्ञाहरू पूरा भए भन्दै सुसमाचार फैलाए। हामी तिनीहरूले येशूद्वारा शान्तिको सुसमाचारको, येशूको प्रभुत्वको, येशूको क्रूसको, येशूको पुनरुत्थानको, वा येशूको मात्र घोषणा गरेका पाउँछौं,... सुसमाचार प्रचार गर्ने सुरु-सुरुका प्रचारकहरूको एउटै विषय येशू, मात्र येशू हुनुहुन्थ्यो! ओरिजेन (१८५-२५४) ले भनेका छन्, ‘एउटा असल कुरा जीवन होः तर येशू त्यो जीवन हुनुहुन्छ। अर्को असल कुरा संसारको ज्योति होः तर येशू त्यो ज्योति हुनुहुन्छ। त्यस्तै कुरा सत्य, ढोका र पुनरुत्थानको विषयमा पनि भन्न सकिन्छ। हाम्रा उद्धारकर्ताले यी सबै कुरा उहाँ नै हुनुहुन्छ भनी सिकाउनुहुन्छ।’ ओरिजेनले ‘सुरु-सुरुका प्रेरितहरू र अरूहरू (उनीहरूबाट सिक्नेहरू) दुवैका निम्ति सुसमाचारको स्वरूप ख्रीष्टमा केन्द्रित भएको कुरामा जोड् दिँदछन्।’... ओरिजनले सुसमाचार प्रचारको सम्पूर्ण उद्देश्य बताएका छन्ः ‘ख्रीष्टको पृथ्वीको जीवनसम्बन्धी ज्ञानलाई स्थायी बनाउनु र उहाँको दोस्रो आगमनका निम्ति तयारी गर्नु’ (ग्रीन, ऐजन, पृष्ठ ८०,८१)।

सुरु-सुरुका ख्रीष्टियनहरूले मानिस आफैले बनाएका सन्देशहरू सुनेनन्। तिनीहरूले बाइबलका एक-एक पदको ‘व्याख्या’ गर्दै दिइने सन्देश पनि सुनेनन्। तिनीहरूले बारम्बार जे सुने त्यो सुसमाचार नै थियो- अर्थात् ‘कुरिओस्’, प्रभु येशू ख्रीष्टको मृत्यु, गडाइ र पुनरुत्थानको सन्देश सुने! ‘उहाँ नै सबैका प्रभु हुनुहुन्छ’ (प्रेरित १०:३६)!

कुनै अर्को चर्चको एक जना व्यक्तिले मैले मेरो प्रत्येक सन्देश ख्रीष्टको मृत्यु र पुनरुत्थानद्वारा अन्त्य गरेकोमा मेरो आलोचना गऱ्यो। त्यस विषयमा मैले लामो समयसम्म विचार गरेँ। अनि स्पर्जनले भनेका कुरा मैले स्मरण गरेँ, ‘म एउटा पद लिन्छु, र त्यसलाई सीधा रेखा कोर्दै क्रूससम्म पुऱ्याउँछु।’ सुरु-सुरुका ख्रीष्टियनहरूले झैं स्पर्जन पनि पूर्ण रूपले ख्रीष्टमा केन्द्रित थिए- स्वयम् येशू ख्रीष्टमा, प्रभु येशू ख्रीष्टमा केन्द्रित थिए। सायद सुरु-सुरुको चर्चले तलको कोरस राम्ररी गाउँथ्यो होला,

तिमी नै हौ प्रभु,
   मृत्युबाट बौरिने तिमी प्रभु
हरेक घुँडा टेक्नेछ, हरजिब्रोले भन्नेछ
   येशू ख्रीष्टनै हुन प्रभु
(‘ही इज लर्ड,’ मारभिन भी. फ्रे- १९१८-१९९२- द्वारा रचित)

मेरो साथमा गाउनुहोस्!

तिमी नै हौ प्रभु,
   मृत्युबाट बौरिने तिमी प्रभु
हरेक घुँडा टेक्नेछ, हरजिब्रोले भन्नेछ
   येशू ख्रीष्टनै हुन प्रभु

पहिलो शब्द ‘कुरिओस’ ले तिनीहरूका सन्देशको मुख्य केन्द्र ख्रीष्ट हुनुहुन्थ्यो, जो तिनीहरूको जीवनका प्रभु हुनुहुन्थ्यो भन्ने देखाउँछ। प्रेरित पावलले निम्न कुरा भनेकोमा हामीले अचम्म मान्नुपर्दैन,

‘हामी क्रूसमा टाँगिनुभएका ख्रीष्टको प्रचार गर्दछौं।’ (१ कोरिन्थी १:२३)

‘तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ।’ (१ कोरिन्थी २:२)

हामीले निरन्तर क्रूसमा टाँगिनुभएका र मरेकोबाट जीवित हुनुभएका ख्रीष्टको प्रचार गर्नुपर्छ। सधैंभरि हाम्रो सन्देशको विषय त्यही नै हुनुपर्छ। म जान्दछु, धेरै वटा चर्चले त्यसो गरिरहेका छैनन्। अनि त्यही कारण आज ती मर्दै गइरहेका छन्।

मुश्लिम कट्टरपन्थीहरूले मानिसहरूलाई तिनीहरूका साथमा आएर मर्नका निम्ति बोलाउँछन्। अमेरिका र पश्चिमी मुलुकका हजारौं जवान मानिसहरू तिनीहरूका पछि लागेका छन्। आइ.एस.आइ.एस.ले उनीहरूलाई बोलाउँछ र उनीहरूका शरीरमा बम बाँधिदिन्छन्, र गएर अरू मानिसहरूलाई मार्न लगाउँछन्। प्रभु येशू ख्रीष्टले त्यसो गर्नुहुन्न। उहाँ तपाईंलाई अनन्त जीवनको वरदान दिनका निम्ति बोलाउनुहुन्छ। ख्रीष्टले भन्नुभयो, ‘तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्’ (यूहन्ना १०:२८)। अनि प्रभु येशूले तपाईंलाई उहाँको चेला हुनका निम्ति बोलाउनुहुन्छ। प्रभु येशू ख्रीष्टले भन्नुभयो, ‘कोही मेरो पछि आउन इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्’ (मत्ती १६:२४)। ख्रीष्टले तपाईंलाई हाम्रो चर्चमा आउन र आत्माहरू जित्ने व्यक्ति बन्नका निम्ति बोलाइरहनुभएको छ। तपाईंले अरूहरूलाई यहाँ ल्याउन र तिनीहरूको उद्धार गराउन हामीलाई सहायता गर्नका निम्ति उहाँले तपाईंलाई बोलाउनुहुन्छ।

म तपाईं जवानहरूलाई पूर्ण परिवर्तनमा विश्वास गर्ने ख्रीष्टियन बन्नुहोस् भनी आह्वान गर्दछु। एक चेला बन्नुहोस्। येशू ख्रीष्ट र सर्वशक्तिमान् परमेश्वरको चर्चका निम्ति एक परिवर्तनकारी व्यक्ति बन्नुहोस्। आइतबार बिहानको सेवामा आउनुहोस्। आइतबार दिउँसो आत्माहरू जित्नका निम्ति हामीसँग जानका निम्ति आउनुहोस्। आइतबार बेलुकी आउनुहोस्। पूर्ण रूपले परिवर्तन भएको ख्रीष्टको एक चेला बन्नुहोस्। त्यस्तै बन्नुहोस्! त्यस्तै बन्नुहोस्! के कुनै-कुनै ब्याप्टिस्ट प्रचारकले हाम्रा जवान मानिसहरूलाई यस समयको बारेमा भनेका थिएनन् र? तपाईंको क्रूस उठाएर ख्रीष्टको पछि लाग्नुहोस्। एक चेला बन्नुहोस्! ख्रीष्टको सेनामा एक सिपाही बन्नुहोस्! तपाईंको भजनको पुस्तिकाको भजन नम्बर ८ गाउनुहोस्!

अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि
राजकीय मालिक ख्रीष्टले शत्रुविरुद्ध डोराउँछन्,
   लडाइँमा अगिअगि उहाँको झन्डा बढेको।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।
('अनवर्ड क्रिश्चियन सोल्जर्स,' सविन बारिङ-गाउल्ड-१८३४-१९२४ द्वारा रचित)

अनि त्यसले हामीलाई नयाँ करार पुस्तकको दोस्रो ग्रीक शब्द ‘अगापे’ मा पुऱ्याउँछ।

२. दोस्रो, त्यहाँ ‘अगापे’ भन्ने ग्रीक शब्द छ

डब्लु. ई. भाइन भन्छन्, अगापे ‘ख्रीष्टिय मतको विशेषता बुझाउने’ शब्द हो। यसको अर्थ आफैलाई दिन प्रेम हो। येशूले आफ्ना सुरु-सुरुका चेलाहरूसँग कुराकानी गर्नुहुँदा यो शब्द प्रयोग गर्नुभयो। येशूले भन्नुभयो,

एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछुः तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ। (यूहन्ना १३:३४,३५)

डा. तिमोथी लिन एउटा चिनियाँ चर्चमा धेरै वर्षसम्म मेरा पास्टर थिए। डा. लिन भन्थे,

प्रेरितहरूले यो प्रेम गर्ने आज्ञा सोझै प्रभुबाट पाएका थिए, अनि पछिबाट तिनीहरूले निरन्तर त्यसै गरे। फलस्वरूप, ‘हेर्नुहोस्, ख्रीष्टियनहरूले एक-अर्कालाई कसरी त्यत्ति धेरै प्रेम गर्दथे!’ तिनीहरू अरू (अख्रीष्टियन) हरूबाट प्रशंसा पाउने मानिसहरू बने। आज ‘एक-अर्कालाई प्रेम गर्नु’ भन्ने कुरा एउटा नारा मात्र भएको छ, जुन चर्चहरूले मन्त्रजस्तो दोहोऱ्याउँछन्, यसैले परमेश्वरका निम्ति मानिसहरूको माझमा रहनु असम्भव भएको छ। परमेश्वरले हामीमाथि कृपा गरून्! (तिमोथी लिन, एस. टी. एम., पीएचडी., द सिक्रट अफ चर्च ग्रोथ, एफ.सी.बी. सी,१९९२, पृष्ठ ३३)।

डा. माइकल ग्रीनले उनको ‘पहिलो र दोस्रो शताब्दीका ख्रीष्टियनहरू’ नामक आफ्नो पुस्तकमा यस विषयमा चर्च गरेका छन्। डा. ग्रीनले भनेका छन्, ‘ती ख्रीष्टियनहरूमा एक-अर्कालाई प्रेम गर्ने शक्ति थियो’ र नै मूर्तिपूजक रोमीहरू ख्रीष्टियन विश्वासप्रति आकर्षित भए’ (माइकल ग्रीन, इभान्जलिज्म इन द अर्ली चर्च, अर्डस्मण्ड, २००३, पृष्ठ १५८)

३. तेस्रो, त्यहाँ ‘कोइनोनिया’ भन्ने ग्रीक शब्द छ

यसको अर्थ संगति, सहभागिता, राम्रो संगत, मित्रता हो। संगति भनेको चर्चमा एक-अर्काप्रति अगापे प्रेम फैलाउनु हो

केही प्रचारकहरूले मलाई अख्रीष्टियनहरूलाई हाम्रो संगतिमा आउन दिनुहुँदैन भनेका थिए। एक प्रकारले उनीहरूको भनाइ ठिकै हो। बाइबलले भन्छ, ‘अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ’ (एफिसी ५:११)। यो पदले अरू चर्चका धेरै मानिसलाई अन्योलमा पारेको छ। तिनीहरू ‘चर्चका मानिसहरू’ नयाँ मानिसहरूबाट अलग बस्नुपर्छ भनी सोच्छन्। डा. जे भर्नोन मेकजीले यस विषयमा राम्ररी टिप्पणी गरेका छन्। तिनको विचार पनि डा. थोमस हेलले भनेका कुराजस्तै छ, ‘पावल हामीले अन्धकारका कार्यहरूसँग कुनै सम्बन्ध राख्नुहुँदैन भन्छन्, तिनले हामीलाई हराएका मानिसहरूसँग कुनै प्रकारको सम्बन्ध राख्नुहुँदैन भनेका होइनन्, किनकि येशू आफैल पनि पापीहरूको साथमा बसेर भोजन गर्नुभयो’ (थोमस हेल, एम.डी. दि एप्लाइड न्यू टेस्टामेन्ट कमन्टेरी, किङसवे पब्लिकेसन्स्, १९९७ संस्करण, पृष्ठ ७८०, एफिसी ५:११ माथिको टिप्पणी)।

पहिलो शताब्दीको सुरु-सुरुका चर्चहरूको विषयमा डा. ग्रीनले भनेका कुरा मलाई मन पर्छ। उनले भने, ‘सोध्नेहरूबाट शिक्षा लुकाउने काम हुँदैनथ्यो; संगति रोक्ने गरिँदैनथ्यो’ (ऐजन, पृष्ठ २१८)। ‘विश्वास नगर्ने मूर्तिपूजकहरूलाई चर्चभित्र र संगतिमा ल्याइन्थ्यो, तापनि तिनीहरूलाई करिब तीन वर्षसम्म बप्तिस्मा दिइँदैनथ्यो’(ऐजन)।

आज हाम्रा ब्याप्टिस्ट चर्चहरू अर्कै बाटो हिँडिरहेका छन्। तिनीहरू नयाँ विश्वासीहरूलाई तुरुन्तै बप्तिस्मा दिन्छन्, तर उनीहरू आफ्ना छोराछोरीले ती नयाँ व्यक्तिहरूसँग संगति गरेको चाहँदैनन्। सुरु-सुरुको चर्चले त्यो ठीकसँगले गर्थ्यो।

ज्याक हाइलेसको त झन् संगति गर्ने दुइ वटा भवन थिए। एउटा भवन तिनीहरूका निम्ति थियो, जसलाई बसगाडीद्वारा ल्याइन्थ्यो। तिनीहरूका निम्ति सेवा पनि अलग्गै हुन्थ्यो। तर ‘वास्तविक’ चर्च मूल भवनमा भेला हुन्थ्यो। ‘चर्चका जवानहरूलाई’ ती नयाँ जवानहरूबाट टाढै राखिन्थ्यो। तिनीहरू ती नयाँ जवानहरूले तिनीहरूका प्रिय’ छोराछोरीलाई बिगारिदेलान् भनी डराउँथे।

जब म एक जवानको रूपमा पहिलोचोटि चर्च गएँ, त्यस चर्चका केटाकेटीहरूले मलाई बिगार्ने सक्दो कोसिस गरे। तिनीहरूले यस्तायस्ता खराब कार्यहरू गरेका बारेमा कुरा गर्थे, जस्तो कार्य संसारको हराएका केटाकेटीहरूले पनि सायद गर्दैनथे। यसैले चर्च नआउने केटाकेटीहरूलाई अलग्गै राख्नु बाइबल शिक्षाअनुरूप होइन, अनि सुरु-सुरुको चर्चले पनि त्यसो गरेन, जुन बेला तिनीहरूले साँच्चै सयौं मानिसहरूलाई सुसमाचार सुनाइरहेका थिए।

म भन्छु, हामीले ‘बाल-संगति’ (वा सन्डे स्कुल) सम्बन्धी केही विचारहरूबाट छुटकारा पाउनुपर्छ। उद्धार नपाएका बाल-बालिकाहरूलाई त्यो संगतिमा ल्याउनुपर्छ। तिनीहरूलाई राम्रो भोजन खुवाउनुपर्छ। तिनीहरूलाई असल समय देखाउनुपर्छ- ‘आखिर येशू आफैले पनि पापीहरूसँग बसेर खानुभयो’ (थोमस हेल, ऐजन)। ‘तिनीहरूलाई भित्र ल्याऊ’ नामक भजन हाम गाऔं!

तिनीहरूलाई भित्र ल्याऊ, भित्र ल्याऊ तिनीहरूलाई
पापका खेतहरूबाट तिनीहरूलाई भित्र ल्याऊ
तिनीहरूलाई भित्र ल्याऊ, भित्र ल्याऊ तिनीहरूलाई
भौंतारिरहेकाहरूलाई येशूकहाँ ल्याऊ
(‘ब्रिङ देम इन,’ श्री एलेक्ससिना थोमसद्वारा रचित, १९ औं शताब्दी)

चिढिने स्वभावका, प्राचीनका धर्मगुरुहरूले येशूमा दोष देखे। मत्ती कर उठाउने व्यक्ति थिए। येशूले तिनलाई बोलाउनुभयो, अनि मत्ती येशूको पछि लागे। मत्तीले आफ्नो घरमा एउटा ठूलो भोज दिए। येशू र उहाँका बाह्र चेला त्यहाँ थिए। धेरै जना कर उठाउनेहरू र पापीहरू येशूको साथमा भोज खान त्यहाँ आए। ती धर्मगुरुहरूले येशूले ठीक गर्नुभएन भनी सोचे। तिनीहरूले भने, ‘उहाँ किन पापीहरूको साथमा बसेर खान्छन्?’ येशूले जवाफ दिनुभयो, ‘म धर्मीलाई होइन, तर पापीहरूलाई पश्चात्तापका बोलाउन आएँ’ (मत्ती ९:१३)।

जुन प्रचारकहरू आफ्नो साथमा धेरै जना पापीहरूलाई राख्न डराउँछन्, तिनीहरूले यसबारे विचार गर्नुपर्छ। म भन्छु, ‘पापीहरूलाई भित्र ल्याउनुपर्छ। जति जना भेट्टाउनुहुन्छ ती सबैलाई ल्याउनुपर्छ। जति धेरै हुन्छन् त्यत्तिनै खुशीको कुरा हुन्छ।’ तिनीहरूलाई संगतिभित्र ल्याउनुहोस्, जसरी येशूले पनि ल्याउनुभयो, जसरी सुरु-सुरुको चर्चले ल्यायो! ‘तिनीहरूलाई भित्र ल्याऊ’ भन्ने कोरस हामी गाऔं।

तिनीहरूलाई भित्र ल्याऊ, भित्र ल्याऊ तिनीहरूलाई
पापका खेतहरूबाट तिनीहरूलाई भित्र ल्याऊ
तिनीहरूलाई भित्र ल्याऊ, भित्र ल्याऊ तिनीहरूलाई
भौंतारिरहेकाहरूलाई येशूकहाँ ल्याऊ

पहिलो शताब्दीको त्यस जीवित, शक्तिशाली चर्चको बारेमा भनिएको कुरा सुन्नुहोस्।

‘तिनीहरू प्रेरितहरूका शिक्षा, संगति (कोइनोनिया)...मा लागिरहन्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो’ (प्रेरित २:४२,४७)।

ज्याक हाइलेस र तिनका व्यभिचारी छोरा साथै कलिला केटीहरूलाई बलात्कार गर्ने तिनका ज्वाइँजस्ता व्यक्तिहरू पो त्यो ‘अर्को’ भवनमा हुनुपर्छ। तिनीहरूलाई टाढा राख्नुहोस्, तिनीहरूले उद्धार नपाएका नयाँ केटाकेटीहरूलाई हानि पुऱ्याउन सक्छन्। सेवकाइ गर्ने ती ‘कुकुरहरू’ लाई हराएका जवानहरूबाट टाढा राख्नुपर्छ। अनि हराएका ती जवानहरूलाई सोझै मुख्य सेवा भवनभित्र ल्याउनुपर्छ। साँच्चै भनेको, हराएकाहरूलाई भित्र ल्याउनुपर्छ, अनि व्यभिचारी ब्याप्टिस्ट फरिसीहरू र तिनीहरूका सन्डे स्कुलमा बिग्रेका केटाकेटीहरूलाई बाहिर राख्नुपर्छ। हराएका केटाकेटीहरूलाई ल्याउनुहोस् र हामी रात्रीभोज र जन्मदिनको पाटी गर्नेछौं- र पोपिइ कार्टुन फिल्म हेर्नेछौं। आमेन्। अनि म बूढो प्रचारकको प्रचार सुन्नेछौं, केही भजनहरू गाउनेछौं, ताली बजाउनेछौं र ‘आमेन्’ भन्दै जयजयकार गर्नेछौं- यसरी आनन्दको समय बिताउनेछौं।

ती ग्रीक शब्दहरूले हामीलाई एक सजीव, शक्तिशाली चर्च देखाउँछन्। उहाँ हाम्रा प्रभु हुनुहुन्छ। फर्केर आउनुहोस् र ख्रीष्टको विषयमा सिक्नुहोस्, ख्रीष्टलाई पछ्याउनुहोस्, र तपाईंको सारा हृदयले ख्रीष्टलाई प्रेम गर्नुहोस्। ‘अगापे’- ‘ख्रीष्टियन प्रेम!’ फर्केर आउनुहोस्, हामी तपाईंहरूलाई प्रेम गर्नेछौं। अनि तपाईंले पनि हामीलाई प्रेम गर्नुहोस् भन्ने हामी चाहन्छौं। ‘हिप्पीहरू’ ‘प्रेम गर्ने’ कुरा गर्दथे। साँचो ‘प्रेम’ यहाँ चर्चमा छ। हाम्रो प्रेममा फर्केर आउनुहोस्। म यो वुडस्टोकलाई सन्डे स्कुलको वनभोजजस्तो देखिने बनाउनेछु। अनि अर्को शब्द हो ‘कोइनोनिया।’ यसको अर्थ संगति, मित्रता, सहभागिता, असल संगत हो। कोइनोनिया संगति हो। संगति भनेको स्थानीय चर्चमा हुने ‘अगापे’ को विस्तारित रूप हो।

हामी त्यही संगतिमा छौं। हामीले तपाईंलाई पर्खिरहेका छौं। अर्को आइतबार बिहान आउनुहोस्! अर्को आइतबार बेलुकी आउनुहोस्। शनिबार बेलुकी आउनुहोस्। आउनुहोस् र अरूहरूलाई पनि भित्र ल्याउन हामीलाई सहायता गर्नुहोस्। आउनुहोस्, र यो चर्चलाई त्यस्तो बनाउन हामीलाई सहायता गर्नुहोस्, जहाँ जवानहरू आउँछन् र असल मित्रहरू बनाउँछन्; जहाँ जवानहरू रमाउनका निम्ति आउँछन्; जहाँ जवानहरू येशूका चेलाहरू- क्रूसका सिपाहीहरू बन्न आउँछन्। आमेन्। भजन नम्बर ८ गाउनुहोस्, ‘अगि बढ ख्रीष्टिय सिपाही हो।’ यो भजन गाऔं।

अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि
राजकीय मालिक ख्रीष्टले शत्रुविरुद्ध डोराउँछन्,
   लडाइँमा अगिअगि उहाँको झन्डा बढेको।
अगि बढ ख्रीष्टिय सिपाही हो, लडाइँमा बढेझैं
   येशूको क्रूस बोकी अगिअगि।

डा. चान, कृपया हामीलाई प्रार्थनामा अगुवाइ गर्नुहोस्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('द चर्चेज् वान फाउन्डेसन्,' शमूएल जे. स्टोनद्वारा रचित-१८३९-१९००)


रूपरेखा

सुरु-सुरुको चर्चको रहस्य खुलाउने तीन वटा शब्द

THREE WORDS GIVE THE SECRET
OF THE EARLY CHURCH!

द्वारा डा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तिनीहरू सबै एकै मनको भई मन्दिरमा एकसाथ भेला हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे, परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।’ (प्रेरित २:४६,४७)

१. पहिलो, त्यहाँ ‘कुरिओस’ भन्ने ग्रीक शब्द छ, प्रेरित १०:३६;
१ कोरिन्थी १:२३; २:२; यूहन्ना १०:२८; मत्ती १६:२४

२. दोस्रो, त्यहाँ ‘अगापे’ भन्ने ग्रीक शब्द छ, यूहन्ना १३:३४,३५

३. तेस्रो, त्यहाँ ‘कोइनोनिया’ भन्ने ग्रीक शब्द छ, एफिसी ५:११
मत्ती ९:१३; प्रेरित २:४२,४७