Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




कोर्रा, ठट्टा र थुकाइ

THE SCOURGING, SHAME AND SPITTING
(Nepali)

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

२६ मार्च, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 26, 2017

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।


हामी इथियोपियाको त्यस नपुंसकले झैं प्रश्न गर्न सक्छौं, ‘अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा’ (प्रेरित ८:३४)? यशैया ५३ औं अध्यायमा जस्तै यहाँ पनि अगमवक्ताले प्रभु येशू ख्रीष्टको विषयमा भनेका हुन्, यसमा हामी कुनै शङ्का गर्न सक्दैनौं। येशू चेलाहरूको साथमा यरूशलेमतिर उक्लिनुहुँदा उहाँले चेलाहरूसँग बोल्दै संकेत गर्नुभएको अगमवाणी निश्चय यो पनि एउटा थियो, जुन बेला उहाँले भन्नुभयो,

‘हेर, हामी यरूशलेमतिर जाँदैछौं,र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूको हातमा सुम्पिइनेछ,र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ’ (लूका १८:३१-३३)।

येशूले तिनीहरूलाई भन्नुभयो, अन्यजातिहरूले उहाँको गिल्ला गर्नेछन्, उहाँलाई अपमान गर्नेछन् र कोर्रा लगाउनेछन्, अनि उहाँलाई मार्नेछन्। अनि यी सबै कुरा ‘अगमवक्ताहरूद्वारा’ अघिबाटै भनिएको छ भनी उहाँले भन्नुभयो। यसैकारण उहाँले संकेत गर्नुभएको एउट बाइबल पद हामीले आज हेरिरहेको खण्ड पनि हुनसक्छ,

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई,र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

अब हेर्नुहोस्, यो अगमवाणी कसरी दुरुस्तै पूरा भयो। रोमी राज्यपाल पन्तियस पिलासलले उहाँलाई कोर्रा लगाए। त्यसपछि रोमी सिपाहीहरूले,

‘...तिनीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि यहूदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके...’ (मर्कूस १५:१७-१९)।

त्यसकारण मलाई पूरा विश्वास छ कि अगमवाणीका ती वचनहरू पूरा गर्नुहुने व्यक्ति नासरतका येशू, हाम्रा उद्धारकर्ता नै हुनुहुन्थ्यो।

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

हामी जोसेफ हार्टलाई त्यो दृश्यको वर्णन गर्न दिऔं,

हेर कति धीरजी भई येशू उभिनुहुन्छ,
   त्यस भयानक स्थानमा अपमानित भई
पापीहरू सर्वशक्तिमानका हातहरू बाँधिदिन्छन्,
   अनि थुक्छन् सृष्टिकर्ताको हातमा।

काँढाहरूले उहाँको कन्चट घोंचेको र काँटेको
   हरेक भागबाट बगेको रगतको धारा,
उहाँको पीठ कोर्राको चोटले रक्ताम्मे,
   धारिलो कोर्राले उहाँको हृदय छियाछिया पार्छ।
(‘हीज प्यासन,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित,
   पास्टरद्वारा केही फेरबदल गरिएको)

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

आजको रात म दुःख भोग्नु हुने उद्धारकर्तालाई तपाईंहरूको सामुन्ने ल्याउँदछु। अनि पिलातसले झैं म पनि यसो भन्दछु, ‘हेर, यो मानिस!’ तपाईंको हृदय फिराएर उहाँको दुःखमा उहाँलाई हेर्नुहोस्। उहाँ को हुनुहुन्छ, उहाँले कस्तो उदाहरण छोड्नुभएको छ, नाश भएका पापीहरूलाई अनन्त आगोबाट बचाउन उहाँले के गर्नुभएको छ सो हेर्नुहोस्।

१. पहिलो, उहाँलाई देहधारण गर्नुभएका परमेश्वरको रूपमा हेर्नुहोस्।

परमेश्वर यस पृथ्वीमा मानिसहरूको माझमा बस्नाका निम्ति मानव शरीर लिएर आउनुभयो। यशैया ५०:२ मा उहाँ भन्नुहुन्छ, ‘म आएँ।’ पुत्र परमेश्वर स्वर्गबाट ओर्लेर ‘आउनुभयो’ र हाम्रो माझमा वास गर्नुभयो।

‘...वचन परमेश्वर हुनुहुन्थ्यो...। अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो; हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो’ (यूहन्ना ३:१६)।

‘परमेश्वर शरीरमा प्रकट हुनुभयो’ (१ तिमोथी ३:१६)।

प्राचीन ख्रीष्टियनहरूले येशूलाई ‘परमेश्वरका परमेश्वर, ज्योतिका ज्योति, साँचो परमेश्वरका साँचो परमेश्वर, जन्मनुभएको, सृष्टि गरिनुभएको होइन’ भनी ठिकै भनेका थिए।

यस विषयमा विचार गर्नुहोस् र यो अति नै महत्त्वपूर्ण सिद्धान्त मानिसको मनमा प्रवेश गरेको रहेछ भनी तपाईं बुझ्नुहुनेछ। स्पर्जनले भनेका छन्,

‘यो यति राम्ररी प्रमाणित नभएको हुँदो हो त सबै कुरालाई भर्नुहुने असीमित परमेश्वर, जो हुनुहुन्थ्यो र हुनुहुन्छ, र हुन आउनुहुनेछ, सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ, उहाँले आफैलाई सानो बनाएर हाम्रो जस्तो हीन माटोको शरीर धारण गर्नुभयो भन्ने कुरा अविश्वसनीय लाग्छ। उहाँले सबै कुरा बनाउनुभयो, तापनि उहाँले कृपा गरी एउटा प्राणीको शरीर धारण गर्ने कृपा गर्नुभयो। हाम्रा प्रभुको मानवता एउटा काल्पनिक कुरा मात्र थिएन... उहाँ मानिसको रूपमा देखिनुभएको मात्र होइनः यसमा कुनै शङ्का छैन ‘वचन देहधारी हुनुभयो, र...हाम्रा बीचमा वास गर्नुभयो।’ उहाँले भन्नुभयो, ‘मलाई छोएर हेर, किनकि प्रेतको मासु र हाड् हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्’ (सी. एच. स्पर्जन, ‘द ग्रेट मिस्ट्री अफ गडलिनेस,’ द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम बप्लिकेसन्स्, १९७९पुनर्प्रकाशित, भाग २८, पृष्ठ ६९८)।

येशू त्रिएकत्वको एकताद्वारा मानव शरीरमा परमेश्वर हुनुहुन्थ्यो। उहाँ देहधारण गर्नुहुने परमेश्वर, पवित्र त्रिएकत्वका दोस्रो व्यक्ति, देहधारण गर्नुभएका वचन हुनुहुन्छ।

यस कुराले आजको हाम्रो बाइबल पदलाई मानिसको मनले बुझ्नै नसक्ने बनाउँछ। उहाँ मानिसको शरीरमा आउनुहुने परमेश्वर हुनुहुन्छ, जसले आफैलाई खसालिन र यातना सहन दिनुभयो! देहधारण गर्नुभएका परमेश्वरले निम्न कुरा भन्न सक्छन् भनी मानिसले सोच्न पनि नसक्ने कुरा हो,

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६) ।

यहाँ ब्रह्माण्डका सृष्टिकर्ताले, र त्यसभित्रका सबै कुराले उहाँको पिठिउँमा हान्ने र उहाँको दाह्री लुछ्ने अनुमति दिनुहुन्छ। यहाँ मेरा परमेश्वरले दुष्ट पापीहरूलाई उहाँको पवित्र अनुहारमा थुक्ने अनुमति दिनुहुन्छ। तिनीहरूले परमेश्वरको अनुहारमा थुके!

हेर कति धीरजी भई येशू उभिनुहुन्छ,
   त्यस भयानक स्थानमा अपमानित भई
पापीहरू सर्वशक्तिमानका हातहरू बाँधिदिन्छन्,
   अनि थुक्छन् सृष्टिकर्ताको हातमा।
(‘हीज प्यासन,’ जोसेफ हार्टद्वारा रचित)

२. दोस्रो, उहाँलाई हाम्रो उदाहरणको रूपमा हेर्नुहोस्।

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

परमेश्वरको सेवकको रूपमा येशूले पापीहरूलाई उहाँको पीठमा हिर्काउन, उहाँको दाह्री लुछ्न र उहाँको अनुहारमा थुक्ने अनुमति दिनुभयो। कोरहलाई भएझैं उहाँले तिनीहरूले टेकेका जमीन फटाउन सक्नुहुन्थ्यो, वा एलियाले गरेझैं आगोले तिनीहरूलाई भष्म पार्न सक्नुहुन्थ्यो। तर उहाँ ‘मारिनलाई लगेको थुमाजस्तै डोऱ्याएर लगिनुभयो, आफ्नो ऊन कत्रनेको सामु भेडा मौन भएझैं उहाँले आफ्नो मुख खोल्नुभएन’ (यशैया ५३:७)। प्रेरित पत्रुसले भने,

‘किनकि यसैका निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन। तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो’ (१ पत्रुस २:२१-२३)।

सायद हामी परमेश्वरलाई हाम्रो जीवन र धन दिनु इच्छुक हौंला, तर हामीसँग दुर्व्यवहार गरिँदा र हाम्रो निन्दा गरिँदा हामीलाई पछि फर्कौं जस्तो लाग्न सक्छ। तर येशू अति नीच पापीहरूद्वारा गिल्ला गरिन साथै ठग कहलिन तयार हुनुहुन्थ्यो, उहाँले कहिल्यै आफ्नो बचाऊ गर्नुभएन। हामीलाई पाखण्डी भन्ने मित्र र हामी ख्रीष्टियन भएकोमा हाम्रो विरुद्ध नराम्रा कुराहरू गर्ने आफन्तहरूलाई हामी के भन्छौं? हामीले यो याद राख्नुपर्छ, येशूलाई क्रूसमा टाँग्नुभन्दा एक रात अघि झुटा गवाहहरूले उहाँमाथि आरोप लगाउँदा उहाँ चुप लागेर बस्नुभयो (मत्ती २६:६३)। पिलातसले उहाँलाई ‘तिम्रो विरुद्ध तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्दैनौं?’ भनी भन्दा येशूले तिनलाई एउटै पनि जवाफ दिनुभएऩ, हाकिम पनि यस कुरामा साह्रै छक्क परे (मत्ती २७:१३-१४)।

येशूको निन्दा गर्ने चलचित्र ‘द लास्ट टेम्पटेसन अफ जिजस’ को विरुद्ध विरोध प्रदर्शन गर्दा येशूको पक्षमा बोल्नुपर्दा मैले ठूलो कठिनाइसँग यो पाठ सिकें। ममाथि सेमिवाद विरोधी र विश्वासघात गरेको दोष लगाउन झुटा गवाहहरू अगि आए। त्यो कुरा पूर्ण रूपले झुटो थियो। म यहूदीहरू र इस्राएल देशलाई मेरो सारा हृदय र प्राणले प्रेम गर्छु, र सधैं गर्दै आएको छु। तर म येशूको पक्षमा बोल्दा मेरो जीवनका विशेष मित्रहरू मेरै विरुद्धमा खनिँदा मैले चुपचाप त्यस्ता दुर्व्यवहारहरू सहन सिकेको छु। बीस वर्षसम्म मैले मेरो आफ्नै बचाऊमा थोरै कुरा मात्र भनेको छु। हालैमा मात्र मैले हाम्रो चर्चको साक्षीको सुरक्षा गर्न झुटो आरोप लगाउनेहरूको विरुद्ध केही कुरा बोलेको छु। येशूले भन्नुभयो,

‘धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। त्यस दिन रमाओ, र खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे’ (लूका ६:२२-२३)।

उद्धारकर्ताका ती वचनहरूले कठिनाइको समयमा मलाई ठूलो सान्त्वना दिने गरेको छ। संसारले येशूको खातिर हामीलाई दोष लगाउँदा हामीले तुरुन्तै आफ्नो बचाऊ गरिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन। ‘द लास्ट टेम्पटेसन’ को विरुद्ध प्रदर्शन गर्दा एक जना व्यक्तिले साँच्चै मेरो अनुहारमा थुक्यो। म त्यहाँ धेरै जना सम्वाददाताहरूको केमेराको अगाडि खडा भएँ, मेरो अनुहारमा त्यो व्यक्तिको थुक बगिरहेको थियो। बदला लिनुहुँदैन भन्ने कुरा मैले येशूबाट सिकेको थिएँ, किनकि उहाँले ‘ठट्टा र थुकाइबाट आफ्नो अनुहार’ लुकाउनु भएन। पछिबाट मैले त्यस व्यक्तिप्रति सक्दो दयालु हुने कोसिस गरें। बिचरा त्यो मानिस! पछिबाट कसैले उसको हत्या गरिदियो। त्यसबेला मैले अनुभव गरेको दुःख अनि ऊ र उसको परिवारका निम्ति मैले बगाएको आँशु परमेश्वरले जान्नुहुन्छ।

हाम्रो आजको बाइबल पदसम्बन्धी एउटा प्रवचनमा स्पर्जनले यसो भनेका छन्, ‘मानिसहरूले तपाईंलाई हेला र इन्कार गर्दा तपाई झनझन् घटदै जानुपर्छ, किनकि अनन्त महिमामा पुग्ने बाटो यही नै हो’ (‘द शेम एन्ड स्पीटिङ,’ द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७२ पुनर्प्रकाशित, भाग २५, पृष्ठ ४३१)।

हामी यो खराब समयमा येशूका चेलाहरू भएको कारण मानिसहरूले हाम्रो निन्दा गर्दा र तिनीहरू हाम्रो विरुद्धमा बोल्दा हामी प्रत्येकले येशूको उदाहऱण सम्झौं। स्पर्जनले भनेका छन्,

के तपाईं कष्ट र पीडाले भरिनुभएको छ...? येशूले ती सबैको विषयमा जान्नुहुन्छ, किनकि उहाँले आफ्नो ‘पीठ उहाँलाई पिट्नेहरूलाई फर्काइदिनुभयो।’ के तपाईं निन्दाको कारण कष्ट भोगिरहनुभएको छ? ‘उहाँले थुकाइबाट आफ्नो मुख लुकाउनु भएन।’ के तपाईंको गिल्ला गरिँदैछ? अनुग्रहहीन मानिसहरूले तपाईंको् भक्तिको हाँसो उडाउँदैछन्? येशूले तपाईँलाई सान्त्वना दिन सक्नुहुन्छ, किनकि तिनीहरू उहाँलाई हेरेर कसरी रमाएका थिए भनी तपाईं जान्नुहुन्छ। तपाईंको हृदय फटाउने त्यो अचानक हुने पीडामा तपाईँका प्रभु सहभागी हुनुहुन्छ (स्पर्जन, ऐजन)।

हेर कति धीरजी भई येशू उभिनुहुन्छ,
   त्यस भयानक स्थानमा अपमानित भई
पापीहरू सर्वशक्तिमानका हातहरू बाँधिदिन्छन्,
   अनि थुक्छन् सृष्टिकर्ताको हातमा।

३. तेस्रो, उहाँलाई पापीहरूको प्रतिस्थापनको रूपमा हेर्नुहोस्।

‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

याद राख्नुहोस्, येशूले यो कष्ट उहाँको आफ्नै पापको कारण भोग्नुभएको थिएन, किनकि उहाँमा कुनै पाप थिएन।

‘तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं’ (यशैया ५३:५)।

यशैया ५३ अध्यायको यो पदले स्पष्ट बताउँछ, उहाँका चोट र दागहरू साथै उहाँको मृत्यु पापीहरूलाई बचाउनाका निम्ति आवश्यक थियो। येशूले हाम्रा पापहरू उहाँ आफैमाथि लिनुभयो। अनि बाइबलले हामीलाई स्पष्ट बताउँछ, ‘हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो’ (२ कोरिन्थी ५:२१)। येशूले दुःख भोग्नुहुँदा त्यो उहाँले हाम्रा पापको निम्ति भोग्नुभयो, हाम्रा पापको मूल्य तिर्न, यसैले कि हामीले उद्धार पाउन सकौं। पाप सम्भवतः सबैभन्दा नराम्रो कुरा हो। पाप कोर्रा खाने योग्यको हुन्छ। पाप थुकिन योग्यको हुन्छ। पाप क्रूसमा टाँगिन योग्यको हुन्छ। येशूले हाम्रा पापहरू उहाँ आफैमाथि लिनुभएको कारण उहाँलाई कोर्रा लगाइन परेको थियो। उहाँलाई थुकिन परेको थियो। उहाँ शर्ममा पर्न परेको थियो। परमेश्वरले पापलाई के ठान्नुहुन्छ भनी तपाईं जान्न चाहनुहुन्छ भने उहाँका पुत्रलाई हेर्नुहोस्, तपाईँ र मेरो निम्ति उहाँलाई पापको बलि बनाइँदा उहाँको पीठमा कोर्रा हानिएको छ, जसका दाह्री लुछिएको छ, सिपाहीहरूले उहाँको मुखमा थुकेका छन्। यदि हाम्रा पापका निम्ति हामीलाई कोर्रा लगाइएको र हाम्रो दाह्री लुछिएको भए त्यो कुनै अचम्मको कुरा हुनेथिएन। तर जसले हाम्रा पापहरू बोक्नुभयो उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो। येशू हाम्रो साटोमा खडा हुनुभयो, अनि ‘उहाँलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो, परमप्रभुले उसको प्राणलाई दोष बलिझैं बनाउनु भयो’ (यशैया ५३:१०)। येशूलाई हाम्रा पापहरू बोकाइएको मात्र भए पनि क्रूसमा ती पापको मूल्य चुकाउनुभन्दा अघि त्यसले उहाँलाई ठूलो कष्ट र शर्ममा पाऱ्यो।

ध्यान दिनुहोस्, हाम्रो आजको बाइबल पदले भन्छ, ‘मैले मेरो पीठ मलाई पिट्नेहरूलाई फर्काइदिएँ।’ येशूले जानीजानी आफैलाई उहाँलाई पिट्नेहरूको, उहाँको दाह्री लुछ्नेहरूको, उहाँको मुखमा थुक्नेहरूको हातमा दिनुभयो। उहाँले आफैलाई क्रूसमा मर्नका निम्ति दिनुभयो। कुनै मानिसले उहाँलाई हाम्रो पापका निम्ति दुःख भोग्न लगाएको होइन। उहाँले आफ्नै इच्छाले त्यसो गर्नुभयो। हाम्रो पापको मूल्य चुकाउन परमेश्वरका पुत्र आफ्नै इच्छाले हाम्रा निम्ति सराप, हाम्रो प्रतिस्थापन (वा प्रतिनिधि) बन्नुभयो- यसैले कि हामी परमेश्वरद्वारा क्षमा पाउन सकौं र उहाँको दृष्टिमा धर्मी बनाइन सकौं।

के यो कुरा सुनेर पनि तपाईं छक्क नपरी रहन सक्नुहुन्छ? परमेश्वरका पुत्र पिटिइनुभयो, उहाँको दाह्री लुछियो र उहाँलाई थुकियो भनी जानेर पनि के तपाईं छक्क नपरी र उहाँको प्रशंसा नगरी रहन सक्नुहुन्छ? उहाँ, जसले आकाशलाई बादलले ढाक्न सक्नुहुन्छ, आफ्नो मुखलाई ठट्टा र थुकाइबाट लुकाउनु भएन। उहाँ, जसले पर्वतहरूका पछिल्ला भागहरू बनाउनुभयो, उहाँले आफ्नो पिठिउँ कोर्राद्वारा चिथ्राचिथ्रा हुनबाट रोक्नुभएन। उहाँ, जसले ब्रह्माण्डलाई एकसाथ राख्ने डोरीले त्यसलाई बाँधेर राख्नुहुन्छ, उहाँ आफैले सृष्टि गर्नुभएका मानिसहरूद्वारा बाँधिनुभयो र उहाँको आँखामा पट्टी बाँधियो। स्वर्गका दूतहरूले उहाँको प्रशंसामा उच्च सोरमा गाउँदा उहाँलाई क्रूसमा किला ठोकिनु के सम्भव देखिन्छ? मलाई लाग्छ, त्यसैकारण किलाका ती डोबहरू सधैं उहाँको हातमा हुन्छन्, यसकारण हामीले स्वर्गमा उहाँलाई देख्दा उहाँले हाम्रो निम्ति के गर्नुभएको छ भन्ने कुरा हामी भुल्नेछैनौं। पापीहरूले उहाँको दाह्री लुछेका र उहाँको पवित्र गालाबाट थुक बगेको कुरा नसम्झी महिमामा म उहाँको अनुहार कसरी हेर्न सक्छु र!

हेर कति धीरजी भई येशू उभिनुहुन्छ,
   त्यस भयानक स्थानमा अपमानित भई
पापीहरू सर्वशक्तिमानका हातहरू बाँधिदिन्छन्,
   अनि थुक्छन् सृष्टिकर्ताको हातमा।

उहाँको मुख! स्वर्गदूतहरूलाई किन थुकिएन? के उहाँको सुन्दर मुखबाहेक थुक्ने अर्को ठाउँ थिएन? उहाँको मुहार! परमेश्वरले हामीलाई सहायता गरून्। तिनीहरूले येशूको पवित्र मुखमा थुके! स्पर्जनले भनेका छन्,‘त्यस्तो भयानक कार्य गर्नाका निम्ति बाँच्नुभन्दा त बरू मानिसलाई सृष्टि नगरिएको भए, वा उसलाई अस्तित्वविहीन बनाएको भए हुनेथ्यो भनी म इच्छा गर्न सक्थें’ (ऐजन, पृष्ठ ४२८)। परमेश्वरले हामीलाई सहायता गरून्! तिनीहरूले सृष्टिकर्ताको मुखमा थुके!

यदि तपाईँ हराउनु भएको छ भने म आग्रह गर्छु, तपाईं उहाँमाथि विश्वास गर्नुहोस्। उहाँमाथि विश्वास गर्नुहुँदा तपाईंको पाप हट्छन्,किनकि उहाँलाई क्रूसमा किला ठोकिँदा उहाँले तपाईंका सबै अधर्म र गिल्लाहरू बोक्नुभयो। अनि त्यसपछि तपाईंले पाउनु पर्ने दण्ड हटाइयो, किनकि ती सब येशूले उहाँको पीठमा, उहाँको गालामा, उहाँको मुखमा, अनि उहाँका हात र गोडाहरूमा लागेका घाउहरूमा सहनुभयो। उहाँमाथि विश्वास गर्नुहोस् र तपाईंको पापको सबै दण्ड हटाइनेछ, तपाईं बचाइनुहुनेछ, अनि छुटकारा दिने उहाँको प्रेमद्वारा तपाईं सधैंका निम्ति, अनन्तकालका निम्ति धर्मी ठहराइनुहुनेछ! कृपया खडा भएर भजन नम्बर छ गाऔं, यो भजन डा. जोन आर. राइसले रचेका हुन्, ‘अहो, कस्तो उदेकको फोहरा’

हामीसँग नाप्न नसकिने प्रेमको कथा छ,
   हामी भन्छौं पापीहरू क्षमा कसरी पाउँछन्।
क्षमा छ, किनकि येशूले दुःख भोग्नुभयो,
   कल्भरीको काठमा प्रयश्चित गर्नुभयो।
अहो, कृपाको कस्तो फोहरा बग्दैछ,
   मानिसको क्रूसित उद्धारकर्ताबाट।
अमूल्य रगत हाम्रो छुटकारामा बगाइयो,
   हाम्रा सब पापको निम्ति अनुग्रह र क्षमा।
(‘ओ, वाट अ फाउन्टेन!’ डा. जोन आर, राइस- १८९५-१८८०, द्वारा रचित)

मेरो यही प्रार्थना छ, कि आज बेलुकी तपाईं येशूमा विश्वास गर्नुहोस्। उहाँको रगतले तपाईंलाई सबै पापबाट शुद्ध पार्दछ। अहिल्यै उहाँमा विश्वास गर्नुहोस् र तपाईं सधैं र अनन्तकालका निम्ति बचाइनुहुनेछ।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वार बाइबल पाठ गरियोः लूका १८:३१-३३
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘लिड मी टु केल्भरी,’ जेन्नी इबलिन-१८७४-१९५८ द्वारा रचित)


रूपरेखा

कोर्रा, ठट्टा र थुकाइ

THE SCOURGING, SHAME AND SPITTING

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ’ (यशैया ५०:६)।

(प्रेरित ८:३; लूका १८:३१-३३; मर्कूस १५:१७-१९)

१. पहिलो, उहाँलाई देहधारण गर्नुभएका परमेश्वरको रूपमा हेर्नुहोस्। यशैया ५०:२;
 यूहन्ना १:१,१४; १ तिमोथी ३:१६

२. दोस्रो, उहाँलाई हाम्रो उदाहरणको रूपमा हेर्नुहोस्, यशैया ५३:७;
१ पत्रुस २२१-२३; मत्ती २६:६३; २७:१३-१४; लूका ६:२२-३३प्रतिस्थापन

३. तेस्रो, उहाँलाई पापीहरूको प्रतिस्थापनको रूपमा हेर्नुहोस्। यशैया ५३:५;
२ कोरिन्थी ५:२१; यशैया ५३:१०