Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




गेतसमनीमा ख्रीष्टको सङ्कष्ट

CHRIST’S AGONY IN GETHSEMANE
(Nepali)

डा. आर. एल हिमर्स,जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

१९ मार्च, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, March 19, 2017

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)


केही समय अगाडि मैले ख्रीष्टको ‘ख्रीष्टका आँसुहरू’ विषयमा प्रचार गरेको थिए, त्यो पढ्नका निम्ति यहाँ क्लिक गर्नुहोस्। त्यस प्रवचनको अन्तिम बुँदा ‘येशू गेतसमनीको बगैंचामा रुनु भयो’ भन्ने थियो। मैले भनेको थिएँ, ‘उहाँलाई क्रूसमा किला ठोक्नुभन्दा एक रात अघि गेतसमनीको बगैंचामा येशूले कष्ट भोग्नुभयो र एकलै प्रार्थना गर्नुभयो। गेतसमनीको त्यस अन्धकारमा उद्धारकर्ताले परमेश्वरसँग प्रार्थना गर्दै आफ्नो प्राणनै खन्याउनुभयो। हिब्रू ५:७ अनुसार उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना सुनियो’ (हिब्रू ५:७)। उहाँ किन डराउनु भयो? येशू हाम्रा पापका निम्ति क्रूसमा प्रायश्चित गर्न जानुभन्दा अघि नै गेतसमनीमा मर्नुपर्ने पो हो कि भनी डराउनु भयो।’

डा. जोन आर. राइसले भनेका छन्, ‘येशूले भोलिको दिन क्रूसमा मर्न सकूँ भनी त्यो रात मृत्युको कचौरा उहाँबाट हटाइओस् भनी प्रार्थना गर्नुभयो।’ ईश्वरशास्त्री डा. जे. ओलिभर बुसवेलले पनि यसो भनेका छन्, ‘उहाँले क्रूसमा आफ्नो उद्देश्य पूरा गर्न सकूँ भनी त्यस बगैंचामा उहाँलाई मृत्युबाट छुटकारा दिइओस् भनी प्रार्थना गर्नुभयो।’ डा. जे. भर्नोन मेकगीले पनि त्यसै भनेका छन्ः ‘मेरो मित्र, उहाँको प्रार्थना सुनियो; उहाँ गेतसमनीको बगैंचामा मर्नुभएन।’ परमेश्वरले हाम्रा पापहरू उहाँमाथि राख्नुहुँदा येशू ठूलो सङ्कष्टमा पर्नुभयो।

त्यो प्रवचन पढ्ने कसैले मलाई येशू किन क्रूसमा टाँगिनु आवश्यक थियो भनी सोधेको थियो। हाम्रा पापको निम्ति उहाँ त्यस बगैंचामा नै किन मर्न सक्नुभएन? मैले त्यस्तो हुनु सम्भव थिएन भनी उसलाई जवाफ दिएँ। पवित्र बाइबलले भन्छ,

‘पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो’ (१ कोरिन्थी १५:३)

ख्रीष्टलाई ‘पवित्र धर्मशास्त्रअनुसार’- काटा टास ग्रापास, मर्न परेको थियो। यदि उहाँ गेतसमनीको बगैंचामा मर्नुभएको भए उहाँ पुरानो करार धर्मशास्त्रले अगमवाणी गरेको त्यस उद्धारकर्ता हुन सक्नुहुन्थेन। ‘धर्मशास्त्र’ ले पुरानो करार बाइबललाई बुझाउँछ, किनकि नयाँ करार बाइबल अझैसम्म लेखिएको थिएन। येशूले गेतसमनीमा प्रवेश गर्नुभन्दा ठीक अघि यसो भन्नुभयो, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ’ (लूका २२:३७)। उहाँ दुइ अपराधीको माझमा क्रूसमा टाँगिएर यशैया ५३:१२ ले भनेको कुरा पूरा गर्नुपर्छ भन्दै त्यो पद उद्धृत गर्नुभयो। यदि उहाँ गेतसमनीमा मर्नुभएको हुँदो हो त यशैया ५३:१२ ले भनेको कुरा पूरा हुनेथिएन, उहाँ काटा टास ग्रापास, ‘पवित्र धर्मशास्त्र’ अनुसार मर्नु हुनेथिएन; यसरी उहाँ यशैयाले अगमवाणी गरेका उद्धारकर्ता बन्नुहुनेथिएन!

यशैया ५३ अध्यायले ख्रीष्ट क्रूसमा टाँगिनुहुने सम्बन्धमा पुरानो करारको पूर्ण अगमवाणी प्रस्तुत गर्दछ। वास्तवमा अंग्रेजी बाइबलमा त्यो पद यशैया ५२:१३ बाट सुरु भएर १५ पदसम्म छ। यसले ख्रीष्टको क्रूसिकरणको विषयमा एकपछि अर्को अगमवाणी दिँदछ। यदि येशू गेतसमनीमा नै मर्नुभएको भए उहाँको क्रूसिकरण सम्बन्धी ती अगमवाणीमध्ये केही मात्र पूरा हुनेथिए। यशैया ५०:६ पदले उहाँलाई कोर्रा लगाइने छ, अपमान गरिने छ र थुकिने छ भनी गरेको अगमवाणी पूरा हुनेथिएन। यदि येशू गेतसमनीमा मर्नुभएको भए भजन २२:१६ ले एकपछि अर्को गर्दै गरेको अगमवाणी पूरा हुनेथिएन। यदि येशू त्यस बगैंचामा मर्नुभएको भए पुरानो करार बाइबलका धेरैवटा वचन पूरा हुने थिएनन्। यो अचम्म मान्नु पर्ने कुरा होइन, कि येशूले गेतसमनीमा ‘उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना सुनियो’ (हिब्रू ५:७)। उहाँ त्यस बगैंचामा नै मर्नुपर्ला र भोलिको दिन क्रूससम्म पुग्न नसकिएला कि भनी डराउनु भएको थियो। उहाँ काटा टास ग्रापास, ‘पवित्र धर्मशास्त्र’ अनुसार मर्नु परेको थियो। ख्रीष्टले क्रूसमा मर्नुभएर पुरानो करार धर्मशास्त्रका एक-एकवटा कुरा पूरा गर्नुभयो। यदि उहाँ गेतसमनीमा मर्नुभएको भए यी अगमवाणीमध्ये कुनै पनि पूरा हुनेथिएन; अनि ख्रीष्ट धर्मशास्त्रले अगमवाणी गरेको मानवजातिका उद्धारकर्ता होइन तर एक ठग बन्नु हुनेथियो। ख्रीष्ट ‘धर्मशास्त्रअनुसार हाम्रा पापका निम्ति मर्नुहुने थिएन’ (१ कोरिन्थी १५:३)। उहाँले ‘हे पिता, तपाईँको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्’(लूका २२:४२) भन्दै प्रार्थना गर्नुभएकोमा हामीले अचम्म मान्नु पर्दैन।

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

‘सङ्कष्ट’ भनी अनुवाद गरिएको ग्रीक शब्द ‘एगोनिया’ हो। यसले ‘धेरैवटा भावनात्मक तनाउ र पीडा’ लाई बुझाउँछ (भाइन)। येशूले त्यस अन्धकारमा तीव्र कष्ट, यातना र पीडाको छटपटाहटको अनुभव गर्नुभयो। हामी आज राति केही मिनेट उहाँले गेतसमनीको बगैंचामा अनुभव गर्नुभएको सङ्कष्टको बारेमा विचार गरौं।

१. पहिलो, उहाँको सङ्कष्टको वर्णन।

येशूले उहाँका चेलाहरूको साथमा निस्तार-चाडको भोज खानुभयो। त्यहाँ उहाँले तिनीहरूको साथमा प्रभु-भोज खानुभयो। यहूदाले उहाँलाई धोखा दिनका निम्ति त्यो झुन्ड छोडेर गई मुख्य पूजाहारीहरूलाई भेट्यो। उहाँको साथमा हुने चेलाहरूले भने एउटा भजन गाए अनि किद्रोन खोल्सा तरेर जैतून डाँडातिरबाट हुँदै गेतसमनीको बगैंचाको अन्धकारभित्र पसे। येशूले आफ्ना आठ जना चेलालाई त्यो बगैंचाको किनारमा छोडदै यसो भन्नुभयो, ‘मैले प्रार्थना गरुञ्जेल तिमीहरू यहीँ बस’ (मर्कूस १४:३२)। त्यसपछि उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग बगैंचाको अझ भित्र लैजानुभयो, जहाँ उहाँ ‘अति विचलित र खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस र जागा रहो’ (मर्कूस १४:३३-३४)। जोसेफ हार्टले भनेका छन्,

धेरै दुःख उहाँले सहनुभयो,
   धेरै दुःखद परीक्षाहरूको सामना गर्नुभयो,
धैर्य, र कष्टमा अभ्यस्त;
   तर आउने अझ दुःखद जाँच
तपाईंले सहनु थियो,
   दुःखी, उदास गेतसमनी!
तपाईंले सहनु थियो,
   दुःखी, उदास गेतसमनी!
(‘मेनी वोज ही ह्याड एनडुयड,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित, ‘आऊ सब
      पापी’ को लयमा)

मत्ती भन्छन्, उहाँ ‘शोकित र व्याकुल हुन लाग्नुभयो’ (मत्ती २६:३७)। जुन ग्रीक शब्दलाई ‘व्याकुल’ भनी अनुवाद गरिएको छ, त्यसको विषयमा गुडविन भन्छन् कि येशूको सङ्कष्टमा खल्बलाउने वा ध्यान भङ्ग गर्ने कुरा थियो, किनकि त्यो शब्दको अर्थ ‘मानिसहरूबाट अलग हुनु- मानिसहरूमा खलबल हुनु, मानवजातिबाट अलग हुनु हो।’ अहो,कस्तो अचम्मको विचार! येशूलाई व्याकुलताको किनारमा धकेलियो, यहाँसम्म कि उहाँको सङ्कष्टको तीव्रताको कारण उहाँ झन्डै पागल बन्नुभयो। मत्तीले यसो भन्दै उद्धारकर्तालाई उद्धृत गर्छन्, ‘मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ’ (मत्ती २६:३८)। जुन ग्रीक शब्दलाई ‘गहिरो शोक’ भनी अनुवाद गरिएको छ त्यसको अर्थ ‘सबैतिरबाट दुःखी हुनु, अति नै शोकित हुनु’ (स्ट्र्ङ), दुःखले व्याकुल हुनु हो। गुडविनले भनेका छन्, ‘उहाँका शिर र कानहरू दुःखमा डुबेका थिए, र त्यहाँ सास फेर्ने कुनै प्वाल थिएन।’ रिइनेकरले भनेका छन्, ‘उहाँ दुःखले घेरिनुभएको थियो, र निराशाले थिचिनुभएको थियो।’ येशू गहिरो दुःख र शोकमा डुब्नुभएको थियो। मर्कूस भन्छन्, ‘उहाँ अत्यन्त विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो’ (मर्कूस १४:३३)। जुन ग्रीक शब्दलाई ‘ज्यादै खिन्न’ भनी अनुवाद गरिएको छ त्यसको अर्थ ‘अति नै अचम्मित पार्ने’ (स्ट्र्ङ), ‘त्रासले गर्दा लगलग काम्नु’(रिइनेकर), ‘अति नै दुःखी हुनु, आतंकित हुनु, पूरै आत्तिनु, भयभीत हुनु, डरले भुतुक्क हुनु’ (वोस्ट) हो। जोसेफ हार्टले भनेका छन्,

आओ सबै परमेश्वरका चुनिएका हो,
   जो शुद्ध पार्ने रगतको अनुभव गर्न चाहन्छ
विचार गर्दै अब मेरो साथ आओ
   गेतसमनीको दुःखको गीत गाउन।

त्यही नै जीवनका प्रभु देखा पर्नु भयो
   सुस्केर, वेदना र प्रार्थना र भय
देहधारी परमेश्वरले सक्ने सबै बोक्नुभयो
त्यो पूरा शक्तिसहित, कसैलाई बाँकी नराखी।
(‘गेत्सेमने, दि ओलिभ प्रेस,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित, ‘टिस
      मिडनाइट एन्ड अन ओलिभ्स ब्रो’ को लयमा)

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

२. दोस्रो, उहाँको सङ्कष्टको कारण।

कुन कारणले ख्रीष्टलाई गेतसमनीमा शोकित बनायो? उहाँको सङ्कष्ट शैतानको आक्रमणबाट आएको थियो भनी म सोच्ने गर्थें। तर अहिले म त्यस्तो विश्वास गर्दिनँ। गेतसमनीको त्यस विवरणमा शैतानको कुनै उल्लेख गरिएको छैन। येशूको सेवकाइको सुरुमा शैतानले उहाँमाथि आक्रमण गरेको थियो। उजाड्-स्थानमा ‘त्यो परीक्षा गर्ने’ (मत्ती ४:३) तीन पल्ट उहाँकहाँ आएको थियो। तर त्यो परीक्षाको समयमा येशू ‘अत्यन्त विचलित र ज्यादै खिन्न’ हुनुभयो भन्ने पढ्दैनौं। उजाड्-स्थानमा उहाँको पसीना रगतको थोपाजस्तो भई बग्यो भनी उल्लेख गरिएको छैन। उजाड्-स्थानमा शैतानद्वारा परीक्षा हुँदा येशूले परमेश्वरको वचन उल्लेख गर्दै तुलनात्मक रूपमा सहजै त्यसमाथि विजय पाउनुभयो। तर गेतसमनीमा उहाँको सङकष्ट यति ठूलो थियो कि त्यसले उहाँलाई मृत्युको मुखैमा पुऱ्यायो। डा. मेकगीले भनेका छन्, ‘उहाँले गेतसमनीमा ‘यो कचौरा मबाट हटोस्’ (लूका २२:४४) भनी प्रार्थना गर्नुहुँदा, त्यो ‘कचौरा’ मृत्यु थियो। उहाँ गेतसमनीको बगैंचमा मर्न चाहनुहुन्न थियो’(जे. भर्नोन मेकगी,टी.एच.डी., थ्रु द बाइबल, थोमस नेल्सन पब्लिसर्स, भाग ५, पृष्ठ ५४०, हिब्रू ५:७ को टिप्पणी)।

गेतसमनीको त्यो ठूलो सङ्कष्ट पिताबाट आएको थियो। म विश्वास गर्छु, त्यो बगैंचामा,

‘परमप्रभुले उहाँमाथि हामी सबैको अधर्म हालिदिनुभएको थियो’ (यशैया ५३:६)।

स्पर्जनले भने, गेतसमनीको बगैंचामा पिता परमेश्वरले ‘पाप नचिन्नुहुनेलाई हाम्रा खातिर पाप बनाउनु भयो’ (२ कोरिन्थी ५:२१)। ‘अब उहाँले त्यो सराप बोक्न परेको थियो, जुन पापीहरूले बोक्न पर्थ्यो, किनकि उहाँ पापीहरूको स्थानमा खडा हुनुभएको थियो र उहाँले पापीको सट्टामा त्यो भोग्नै पर्थ्यो।... पापहरू बोकाइनु भनेको के हो भन्ने कुरा सायद अब उहाँले पहिलोचोटि बुझ्नुभयो... किनकि ती सबै उहाँलाई बोकाइएको थियो’(सी. एच. स्पर्जन, ‘दि एगोनी इन गेत्सेमने,’ द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९७१, भाग २०, पृष्ठ ५९३)।

प्रायश्तिचको दिनमा हारूनले दुइवटा बाख्रा बलि चढाउँथे। गेतसमनीको ख्रीष्टको चित्रण दोस्रो बाख्राले गर्दछ। दोस्रो बाख्रालाई पापको बलि बनाइँदा त्यसले ठूलो सङ्कष्ट भोग्न पऱ्यो। त्यस पशुले अनुभव गरेको डर र पीडा ख्रीष्टको सङ्कष्टको सानो सानो तस्वीर मात्र थियो। गेतसमनीमा ख्रीष्टको सङकष्टको चिन्ह थियो, परिपूर्ति थियो।

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

अगमवक्ता यशैयाले भने,

‘तापनि उसलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो [ उसलाई दुःखमा पारेर चकनाचूर पार्न परमप्रभुको इच्छा थियो,NASV]: जब तपाईं उसको प्राणलाई दोष बलि बनाउनुहुन्छ (यशैया ५३:१०)।

निश्चय त्यो कुरा गेतसमनीको बगैंचामा सुरु भयेको थियो!

‘मध्यरात छ, अरूकै दोषका निम्ति,
    शोकित मानिस रगतमा रुन्छन्,
उसले पीडा घुँडा टेके तापनि
   उसका परमेश्वरद्वारा त्यागिएका छैनन्।’
(‘टिस मिडनाइट, एन्ड अन ओलिभ्स् ब्रो,’ विलियम बी. टप्पन- १७९४-१८४९, द्वारा रचित)

‘मध्यरात छ, अरूकै दोषका निम्ति, शोकित मानिस रगतमा रुन्छन्।’ डा. जोन

गिलले भनेका छन्, ‘अब उहाँ आफ्ना पिताद्वारा चकनाचूर र शोकित पारिनुभयो; अब उहाँका दुःखहरू सुरु हुँदछ, किनकि ती यहाँ नै समाप्त हुँदैनन्, तर क्रूसमा हुन्छन्...उहाँ आफ्ना मानिसहरूको पापको बोझ र परमेश्वरको क्रोधको कारण ज्यादै व्याकुल हुनुभयो, जसद्वारा उहाँ यति धेरै थिचिनु र व्याकुल हुनुभएको थियो कि उहाँ मुर्छा पर्न, कमजोर हुन र मर्न लाग्नुभएको थियो, उहाँलाई मृत्युको धूलोमा ल्याइयो; क्रूसमा जबसम्म उहाँको शरीर र प्राण एक-अर्कोबाट अलग भएन, तबसम्म उहाँको दुःखले उहाँलाई छोडेन...’ (जोन गिल, डी.डी., एन एक्स्पोजिसन अफ द न्यू टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टेनडर्ड बेरिअर, १९८९ पुनर्प्रकाशित, भाग १, पृष्ठ ३३४)।

गेतसमनीमा नै ‘परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो’ (यशैया ५३:६)। जोसेफ हार्टले भनेका छन्,

त्यहाँ [ परमेश्वरका पुत्रले ] मेरा सबै दोष बोक्नुभयो.
   यो अनुग्रहद्वारा विश्वास गर्न सकिन्छ,
तर जुन त्रासको अनुभव उहाँले गर्नुभयो
   ती बुझ्नै नसकिने विशाल छन्।
कसैले भेद्न सकेन तपाईंलाई
   अँध्यारो, कालो गेतसमनी!
कसैले भेद्न सकेन तपाईंलाई
   अँध्यारो, कालो गेतसमनी!
(‘मेनी वोज ही ह्याड एनडुयड,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित, ‘आऊ सब पापी’ को लयमा)।

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

हेर, परमेश्वरका पुत्रको दुःख
   तृषित, पीडाको सुस्केरा, रगतको पसीना!
असीमित ईश्वरीय(अनुग्रह) गहिराइ
   येशू, कस्तो प्रेम थियो तपाईंको!
(‘दाइन् अननोन सफरिङस्,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित, ‘‘टिस मिडनाइट, एन्ड अन ओलिभ्स् ब्रो,’ को लयमा)।

परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो’ (यशैया ५३:६)।

ख्रीष्टले गेतसमनीको बगैंचामा हाम्रा पापहरू आफैमाथि लिनुभयो, अनि उहाँले हाम्रा पापहरू ‘उहाँको आफ्नै शरीरमा’ क्रूससम्म बोक्नुभयो, जहाँ भोलिपल्ट उहाँ मर्नुभयो। हाम्रो पापले नै उहाँलाई रगतको पसीना बगुञ्जेलसम्म चकनाचूर पाऱ्यो!

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४) ।

हो साँच्चै, उहाँले क्रूससम्म आफ्नो शरीरमा तपाईंका पापहरू बोक्नुभयो।

‘उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो’ (१ पत्रुस २:२४)।

गेतसमनीको बगैंचामा जानुहोस् र येशूले तपाईं र मेरो निम्ति के गर्नुभएको छ त्यो हेर्नुहोस्। तपाईं आफ्नो पापको कारण नरक जानुपर्थ्यो। तर येशूले ती पाप आफैमाथि लिनुभयो, अनि तपाईंका अधर्मको पूरा मूल्य चुकाउन त्यो बगैंचा र क्रूसमा एक जीवित नरकमा पर्नुभयो।

प्रत्येक ख्रीष्टियनले सधैं गेतसमन र क्रूसको बारेमा मनन गर्नुपर्छ। ‘हामी उद्धार पाइरहेकाहरूका निम्ति (क्रूस) परमेश्वरको शक्ति हो’ (१ कोरिन्थी १:१८)। ख्रीष्टले गेतसमनीमा जे गर्नुभएको कामको कारण हामीलाई परमेश्वरका निम्ति जिउने शक्ति दिइएको छ! हामी ख्रीष्टको सङ्कष्ट सम्झेर उहाँका निम्ति जिउने प्रेरणा पाउँदछौं। जब जीवनका कठिनाइहरूले निराश बनाउँछन्, त्यो बेला साँचो ख्रीष्टियनहरूले शान्ति पाउँछन् अनि येशूले गेतसमनी र क्रूसमा हाम्रा पापको निम्ति तिर्नुभएको पूर्ण मूल्यलाई सम्झन्छन्। जब हामी येशूले मरेकोबाट जीवित भई मृत्युमाथि विजय पाउनुभएको कुरा सम्झन्छौं, तब हामी शान्ति पाउँछौं!

क्रूसको छेउमा, हे परमेश्वरको थुमा,
   त्यसको दृश्य मेरो अगि ल्याउनुहोस्;
सहायता गर्नुहोस् मलाई दिन-दिन हिँड्न
   त्यसको छायाँमुनि रहेर।
क्रूसमा, क्रूसमा
   गर्छु म सधैं गर्व;
मेरो पुनर्जीवित प्राणले
   त्यो नदीपारि विश्राम नपाऊञ्जेल
(‘नियर द क्रस,’ फेन्नी जे. क्रसबाइ-१८२०-१९१५,द्वारा रचित)

अनि तपाईंहरू, जसले आजसम्म उद्धार पाउनुभएको छैन, तपाईँहरूलाई म भन्न चाहन्छु, तपाईंहरू उहाँलाई गेतसमनीको त्यो अन्धकारमा कष्ट र रगतमा पर्नुभएको, तपाईंको निम्ति दुःख भोग्नुभएको सम्झँदासम्झँदै पनि कसरी उहाँबाट तर्केर जान सक्नुहुन्छ? उहाँले तपाईंका पापको निम्ति दुःख भोगिरहनुभएको छ! तपाईं उहाँलाई कसरी इन्कार गर्न सक्नुहुन्छ, त्यस्तो प्रेमलाई कसरी अस्वीकार गर्न सक्नुहुन्छ?

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

हेर,परमेश्वरका पुत्रको दुःख
   तृषित,पीडाको सुस्केरा,रगतको पसीना!
असीमित ईश्वरीय(अनुग्रह) गहिराइ
   येशू, कस्तो प्रेम थियो तपाईंको!

येशूले गेतसमनीमा तपाईंका पापहरू आफैमाथि बोक्नुभयो, किनकि उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ! क्रूसमा उहाँले तपाईंका पापहरू पूरा मूल्य तिर्नुभयो, किनकि उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ!

के आज राति तपाईँ उहाँमाथि विश्वास गर्नुहुनेछ? तपाईंलाई अनन्त प्रेमले प्रेम गर्नुहुनेकहाँ के तपाईं आउनुहुनेछ? सङ्कष्ट भोग्नुहुने उद्धारकर्तामा विश्वास गर्नुहोस्! अहिले नै उहँमाथि विश्वास गर्नुहोस्! उहाँले तपाईंका पापहरू क्षमा गर्नुहुनेछ र तपाईंले अनन्त जीवन पाउनुहुनेछ। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वार बाइबल पाठ गरियोः मर्कूस १४:३२-४१
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
(‘मेनी वोज ही ह्याड एनडुयड,’ जोसेफ हार्ट-१७१२-१७६८ द्वारा रचित, ‘आऊ सब पापी’ को लयमा)।


रूपरेखा

गेतसमनीमा ख्रीष्टको सङ्कष्ट

CHRIST’S AGONY IN GETHSEMANE

डा. आर. एल हिमर्स, जुनियरद्वारा
by Dr. R. L. Hymers, Jr.

‘अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए’ (लूका २२:४४)।

(हिब्रू ५:७; १ कोरिन्थी १५:३; लूका २२:३७; यशैया ५३:१२; यशैया ५०:६;
भजन २२:१६; जकरिया १२:१०; लूका २२:४२)

१. पहिलो, उहाँको सङ्कष्टको वर्णन, मर्कूस १४:३२,३३-३४ मत्ती २६:३७-३८

२. दोस्रो, उहाँको सङ्कष्टको कारण, मत्ती ४:३; यशैया ५३:६; २ कोरिन्थी ५:२१;
यशैया ५३:१०; १ पत्रुस २:२४; १ कोरिन्थी १:१८