Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




तिमीहरू पृथ्वीका नून र संसारका ज्योति हौ!

YOU ARE THE SALT OF THE EARTH
AND THE LIGHT OF THE WORLD!
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

२६, २०१७, बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, February 26, 2017

‘तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नूनिलो पारिने रॽ त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको शहर लुक्न सक्दैन। मानिसहरूले त बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैका निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्’ (मत्ती ५:१३-१६)।


प्रभु येशू गालीलको समुद्र किनारमा हिँडिरहनुभएको थियो। उहाँले पत्रुस र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरूले समुद्रमा जाल हानिरहेका थिए, किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्नुभयो, ‘मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।’ तब उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट अलिक पर पुगेपछि येशूले अर्का दुइ भाइ याकूब र यूहन्नालाई देख्नुभयो। तिनीहरूले माछा मार्नका निम्ति जाल तुनिरहेका थिए। उहाँले तिनीहरूलाई बोलाउनुभयो अनि तिनीहरू डुङ्गा छोडेर उहाँको पछि लागे। येशूले जे-जे गर्नुभयो ती तिनीहरूका निम्ति खूबै रोमांचकारी भएको हुन सक्छ। येशूले प्रचार गरिरहनुभएको र मानिसहरूको बीचमा भएका हरप्रकारका रोगहरू निको पारिरहनुभएको थियो। मानिसहरूको ठूलो भीडले उहाँलाई पछ्याइरहेको थियो। जब उहाँले ठूलो भीड देख्नुभयो, तब उहाँ माथि डाँडामा जानुभयो। उहाँ बस्नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए। अनि येशूले आफ्ना चेलाहरूलाई शिक्षा दिन लाग्नुभयो। उहाँले तिनीहरूलाई आशीर्वचन दिनुभयो। ती वचनले एक साँचो ख्रीष्टियनभित्र हुने वास्तविक गुणहरूको र उसले भविष्यमा पाउने आशिषको बारेमा बताउँथे। त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई तिनीहरू पृथ्वीका नून र संसारका ज्योति हुन् भनी भन्नुभयो। प्रभु येशूले तिनीहरूलाई भन्नुभएको कुरा आजका ख्रीष्टियनहरूका निम्ति पनि सत्य छ।

‘तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नूनिलो पारिने रॽ त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको शहर लुक्न सक्दैन। मानिसहरूले त बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैका निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्’ (मत्ती ५:१३-१६)।

१. पहिलो, तिमीहरू पृथ्वीका नून हौ।

प्रभु येशूले भन्नुभयो, ‘तिमीहरू पृथ्वीका नून हौ।’ त्यो बेला नूनको विशेष प्रयोग खाने कुराहरूलाई बचाएर राख्नका निम्ति गरिन्थ्यो। तिनीहरू मासुमा नून हाल्थे, अनि चिसो नभए पनि त्यो धेरै महीनासम्म सुरक्षित राख्न सकिन्थ्यो। नूनले त्यसलाई कुहुन दिँदैनथ्यो। जब आदमले पाप गरे, तिनले संसारमा मृत्यु र सड्न ल्याए। त्यही पहिलो पापी व्यक्ति आदमबाट सारा मानव जातिले पाप उत्तराधिकारको रूपमा प्राप्त गरेको छ। ख्रीष्टबाहेक अरू कसैले मृत्युलाई रोक्न सक्दैन। उहाँले आफ्ना चेलाहरूलाई तिनीहरू मानिसहरूलाई सड्न र मृत्युबाट बचाएर राख्ने नून बन्नुपर्छ भन्नुभयो। प्रेरित याकूबले भनेका छन्, ‘जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फिराएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ’ (याकूब ५:२०)।

तपाईं जुन सुसमाचार प्रचारको काम र प्रार्थना गर्नुहुन्छ त्यसको कुनै मूल्य छैनजस्तो तपाईंलाई लाग्न सक्छ। तर त्यो शैतान तपाईंसँग बोलेको हो। बाहिर गएर सुसमाचार प्रचार गरी पापीहरूलाई ख्रीष्टमा ल्याउने ख्रीष्टियन संसारको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हो। तपाईं पृथ्वीको नून हुनुहुन्छ। तपाईंले पृथ्वीमा सबैभन्दा महत्त्वपूर्ण काम गरिरहनुभएको छ। यदि तपाईं आफूलाई महत्त्वपूर्ण ठान्नुहुन्न भने एक जना मानिसले भनेका यो कुरा सुन्नुहोस्, ‘म धेरै घृणा र झर्को बोकेर चर्चमा आएको थिएँ... मेरो जीवन अति दयनीय थियो। मेरा धेरै जना मित्रहरू र परिवारले मलाई निराश पारेका थिए। मेरो वरिपरिको संसार टुक्रा-टुक्रा हुँदै भत्किरहेछ जस्तो लाग्थ्यो। अब जिउन पर्ने कुनै कारण नै छैनजस्तो लाग्थ्यो। धेरै भ्रष्टता र विनाश भएकोले कुनै कुरा गर्नु जरूरी छैनजस्तो लाग्थ्यो। कहिलेकाहीं त बरु म नजन्मिएको भए असल हुन्थ्यो जस्तो लाग्थ्यो। कहिलेकाहीं म आत्महत्या गर्ने पनि सोच्थेँ। म अलमल्ल परेको थिएँ, र म परमेश्वरमा विश्वास गर्दिनथें।

त्यस जवान मानिसले सुसमाचार सुनोस् भनी कसैले उसलाई हाम्रो चर्चमा ल्याएको थियो। यदि तपाईं उसलाई भेट्न नजानुभएको भए उसले ख्रीष्टलाई कहिल्यै पनि चिन्ने थिएन। तपाईंहरूमध्ये कसले उसलाई यहाँ ल्याउनुभयो त्यो मलाई थाहा छैन। त्यसबारे मलाई सबै कुरा थाहा छैनँ। तर तपाईंहरूमध्ये एक जनाले उसलाई यहाँ ल्याउनुभएको हो। तपाईं अरूहरूले उसलाई हाम्रो चर्चमा सहज महसुस गराउनुभयो। त्यस जवान मानिसको जीवनलाई बचाउन परमेश्वरले तपाईंलाई प्रयोग गर्नुभयो। उसको प्राणलाई मृत्यु, निराशा र अशारहित अवस्थाबाट बचाउन परमेश्वरले तपाईंलाई प्रयोग गर्नुभयो। त्यसैकारण प्रभु येशूले भन्नुभयो, ‘तिमीहरू पृथ्वीका नून हौ!’ तपाईंबिना त्यो जवान मानिस बचाइनेथिएन।

तर आज चर्चहरू उसलाई सहायता गर्न सक्षम हुन सकेका छैनन्। हाम्रा चर्चहरू सेलाएका र विश्वास त्याग गरेका भयानक अवस्थामा छन्। डा. कार्ल एफ. एच. हेनरी (१९१३-२००३) एक सुपरिचित ईश्वरशास्त्री थिए। उनले लेखेका अन्तिम पुस्तक थियो- ट्वाइलाइट अफ अ ग्रेट सिभिलाइजेसन्ः द ड्रिफ्ट टुअर्ड निओ-पेगनिज्म। उनले भनेका छन्, आजको हाम्रा चर्चहरूमा केही कुरा गलत छ। उनले भने, ‘व्यवस्थित ख्रीष्टियमत माथिको भ्रम धेरै नै बढिरहेछ, चर्चमा विश्वासीहरूको उपस्थित संख्या घटेकोबाट कसैले पनि त्यो बुझ्न सक्छ।...क्रूर मानिसहरूले नाश भइरहेको सभ्यताको धूलो उडाइरहेका छन्, अनि असमर्थ पारिएको चर्चको छायाँमा गुप्त रूपले प्रवेश गरेको छ (पृष्ठ १७)। तिनले सही कुरा भनेका थिए। मलाई अरू चर्चहरूको बारेमा त थाहा छैन, तर हाम्रो लस एन्जलसको यो चर्चले कलेजहरूका अनि सहरका बजारतिर जवान मानिसहरूलाई सुसमाचार सुनाउने गर्छ। साउदर्न ब्याप्टिस्ट चर्चले अहिले एक वर्षमा करिब एक चौथाइ लाख सदस्य गुमाउँदैछ। अरू सम्प्रदायको अवस्था पनि त्यत्ति राम्रो छैन। पहिले तिनीहरू प्रार्थना सेवा बन्द गर्छन्। अनि फेरि आइतबार बेलुकी हुने सेवा बन्द गर्छन्। अनि आइतबार बिहान हुने सेवा खस्किन थाल्छ। प्रभु येशूले भन्नुभयो, ‘तर नूनको स्वाद गयो भने त्यो केले फेरि नूनिलो पारिने रॽ त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन’ (मत्ती ५:१३)। डा. हेनरीले भनेझैं चर्चहरू ‘असक्षम’ भएका छन्। जवान मानिसहरूलाई परिवर्तन गर्न चर्चहरू आज सक्षम छैनन्। यो कुरा किन सत्य़ छॽ किनकि नूनले आफ्नो स्वाद गुमाएको छ। एक-एक पद गर्दै दिइने बाइबल शिक्षाले मरेको चर्चलाई जगाउँदैन। कोमल शिक्षाले जीवन उत्पन्न गर्दैन। केवल ठोस सुसमाचारीय प्रचारले मात्र त्यो काम गर्न सक्छ। हामीलाई ‘स्वादिलो’ प्रचार, पाप र नरकको, ख्रीष्टको रगतको विषयको प्रचार, आत्माहरू जित्नेसम्बन्धी प्रचार चाहिन्छ। आत्माहरू जित्ने जोशले मात्र चर्चमा ‘नून’ बचाएर राख्न सक्छ। जोरदार प्रार्थना सेवाहरूले मात्र एउटा चर्चमा ‘नून’ राख्न सक्छ। डा. जोन आर. राइसले ठिकै भनेका छन्, ‘सबैको कोसिसले मात्र नयाँ करारको आत्मा जित्ने कार्यको तुलना गर्न सक्छ’ (वाइ आवर चर्चेज डु नट विन सोल्स्, पृष्ठ १४९)।

यदि हामी हाम्रो चर्चको मृत्यु नहोस् भन्ने चाहन्छौं भने हामीले निरन्तर काम र प्रार्थना गरिरहनुपर्छ, अनि हराएका जवानहरूले सुसमाचार सुन्ने मौका पाऊन् भनी हरसम्भव उपाय गर्नुपर्छ। प्रभु येशूले भन्नुभयो, ‘मूल सड्कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्’ (लूका १४:२३)। हामीले आत्माहरू जित्नुलाई जीवनको पहिलो काम बनाउनु पर्छ, नत्र हाम्रो चर्चले जीवन बचाउने ‘नून’ गुमाउनेछ। यदि हामीले त्यसो गर्न सकेनौं भने हाम्रो चर्च ‘बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन’ (मत्ती ५:१३)। हाम्रो चर्चलाई मर्न नदिऔं! बाहिर जानुहोस् र पापीहरूलाई येशूको विषयमा सुन्न र उहाँद्वारा उद्धार पाउनका निम्ति यहाँ ल्याउनुहोस्।

२. दोस्रो, तिमीहरू संसारका ज्योति हौ।

येशूले भन्नुभयो, ‘तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको सहर लुक्न सक्दैन’ (मत्ती ५:१४)। डा. लोयड-जोनेसले भनेका छन्, ‘यो भनाइमा जोड् दिइएको कुरा यो होः ‘तिमीहरू, केवल तिमीहरू मात्र, संसारका ज्योति हौ’- ‘तिमीहरू’ शब्दमा जोड् दिइएको छ, र त्यसद्वारा सल्लाह दिइएको छ... यसले केही कुराहरू बुझाउँछ। पहिलो कुरा, संसार अन्धकार अवस्थामा छ’(सर्मन अन द माउन्ट, पृष्ठ १३९)। संसार भयानक कालो अन्धकारको अवस्थामा छ। येशू भन्नुहुन्छ, ख्रीष्टियनहरूले मात्र अरूहरूलाई त्यस अन्धकारबाट उम्कने उपाय देखाउन सक्छन्। यो संसारमा एउटै पनि ज्योति छैन। अनि ज्योति यदि आउँछ भने ख्रीष्टियनहरूबाट र हाम्रोजस्तो चर्चबाट आउँछ। येशूले उहाँका चेलाहरूको सानो झुन्डलाई हेर्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरू, केवल तिमीहरू संसारका ज्योति हौ।’ त्यसका केही उदाहरणहरू यहाँ छन्।

तपाईंहरूमध्ये कुनै एक जनाले चर्चमा ल्याउनुभएको त्यस जवानले भन्यो, ‘जिउने कुनै कारण छैनजस्तो लाग्थ्यो।... कहिलेकाहीं त म नजन्मेको भए हुन्थ्यो जस्तो लाग्थ्यो, अनि कहिलेकाहीं आत्महत्या हो गरूँ कि जस्तो लाग्थ्यो। डा. हिमर्सले मलाई परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ कि हुँदैन भनी सोध्नुभयो। मैले तुरुन्तै ‘गर्नुहुन्छ’ भनें।.. डा. हिमर्सले फेरि एकचोटि सोध्नुभयो। मैले अचानक ‘गर्नुहुन्न’ भनें, मेरा आँखाहरूबाट आँसुहरू बग्न थाले। त्यसपछि डा. हिमर्सले म येशूमा विश्वास गर्छु कि भनी सोध्नुभयो, तर मैले गर्छु भन्न सकिनँ, म मेरा पापहरू त्याग्न धेरै डराएको थिएँ। अर्को हप्ता मैले मेरा पापहरू जोरदार रूपमा थाहा पाएँ। म शौचालयको कोठाभित्र पसेर ढोका बन्द गर्थें र मेरा पापहरू सम्झेर रून्थें। म स्कूलमा वा काम गर्ने ठाउँमा हुँदा पनि मेरो पापले मलाई छोड्दैनथ्यो। अनि एक आइतबार मैले समर्पण गरें, अनि ख्रीष्टको निम्ति सबै कुरा त्याग्न तयार भएँ। म डा. हिमर्सलाई भेट्न गएँ र मैले येशूमा विश्वास गरें। मैले विश्वासद्वारा मात्र येशूमा भरोसा राखें। त्यो दिन म अति नै आनन्दित भएँ र राति सुत्न पनि सकें। मैले विद्रोह गरेको भए पनि क्रूसमा टाँगिनुभएका प्रेमिलो उद्धारकर्ताले मलाई दया देखाउनुभयो, अनि यो कुरा म कहिल्यै पनि भुल्नेछैनँ।’

अब एक शुद्ध जीवन जिउने चिनियाँ केटीले भनेकी कुरा सुन्नुहोस्। तिनले भनी, ‘म चर्चभित्र पसें र मेरो हृदय दुःखी थियो। परमेश्वरले म एक पापी हुँ भन्ने कुरा मलाई थाहा गराउनुभएको थियो। मेरो छेउछाउका सबै जना आनन्दित थिए, तर मैले मेरो दोषी विवेकलाई दबाएर राख्न सकिनँ। मेरो हृदय घिनलाग्दो, विद्रोही र परमेश्वरको विरुद्धमा छ भन्ने कुरालाई मैले धेरै लामो समयसम्म बेवास्ता गरिरहन सकिनँ। म ठिकै छु र म एक असल व्यक्ति हुँ भन्दै मेरो हृदयलाई धोखा दिइरहन सकिनँ। म ठिक थिइनँ र मेरो हृदयमा कुनै असल कुरा थिएन। प्रवचन सुन्दैजाँदा पास्टरले ती कुराहरू सीधै मलाई नै भनिरहेका छन् जस्तो लाग्यो। उहाँले मेरो मृत्युको कुरा गर्नुहुँदा मलाई ठूलो असहजताले घेऱ्यो। मलाई यस्तो लाग्यो मानौं म सीधै नरक जानेछु। म नरक जान योग्यकी थिएँ। म एक पापी थिएँ। मैले मानिसहरूको नजरबाट मेरा पापहरू लुकाउन सके पनि परमेश्वरको नजरबाट ती लुकाउन सक्दिनँ भन्ने सोचें। परमेश्वरले ती सबै देख्नुभयो...मैले आफूलाई पूर्ण रूपले असहाय महसुस गरेँ। अनि त्यो प्रवचन समाप्त हुन लाग्दा मैले जीवनमा पहिलोचोटि सुसमाचार सुनें। ख्रीष्ट मेरो पापको मूल्य चुकाउन मेरो स्थानमा क्रूसमा मर्नुभयो। म एक दोषी पापीप्रति भएको उहाँको प्रेम यति महान् छ कि उहाँ मेरो निम्ति क्रूसमा मर्नुभयो। उहाँको रगत पापीहरूका निम्ति बगाइएको थियो। उहाँको रगत मेरो निम्ति बगाइएको थियो। मलाई येशूको अत्यन्तै खाँचो थियो। मैले आफैमा असल कुरा नखोजेर पहिलो पल्ट येशूलाई हेरें। अनि त्यो क्षण येशूले मलाई बचाउनु भयो, र उहाँको रगतले मेरा पापहरू पखालिदिनुभयो। मैले येशूमा विश्वास गरें र उहाँले मलाई बचाउनु भयो। मजस्तो घोर पापीलाई मेरा सबै असलपनले बचाउन सक्दैनथ्यो। मलाई पापमा बाँध्ने साङलो ख्रीष्टले तोडिदिनुभएको थियो। ख्रीष्टले मलाई उहाँको रगतले ढाक्नुभयो। उहाँले मलाई उहाँको आफ्नो धार्मिकताले ढाक्नु भयो। मेरो विश्वास र निश्चयता केवल ख्रीष्टमा मात्र छ। म एक पापी थिएँ, तर ख्रीष्टले मलाई बचाउनुभयो।’

अब फेरि अर्की जवान स्त्री छिन्। उ संसारको नजरमा ‘असल’ स्त्री थिई। उ जीवनभरि चर्च गएकी थिई, तर पनि हराएकी थिई। उ आफ्नो हृदयमा परमेश्वरसँग रिसाएकी थिई। उसले भनेकी कुरा सुन्नुहोस्। ‘सेवा अगि बढ्दैजाँदा म झनझन् विचलित बनें। सबै जनाले मसँग हात मिलाउँदा म मुस्कुराउन पनि सकिरहेकी थिइनँ। मेरो पराजय र मेरो पापप्रतिको घृणा बढ्दै गयो। अनि जोन केगनले ‘परमेश्वर ठीक र तपाईं गलत हुनुहुन्छ’ भन्ने सन्देश प्रचार गरे। अनि उनले भनेका हरेक कुराले पापले विरक्तिएको मेरो विचारलाई अझ तीव्र बनायो। जोन केगनले प्रचार गर्दा परमेश्वर मसँग बोलिरहनुभएको मैले थाहा पाएँ। जोनले प्रचार गरिसक्दा म अति निराश भैसकेकी थिएँ। त्यसपछि डा. हिमर्स पुल्पिटमा आउनुभयो, अनि प्रभु येशूले व्यभिचारमा पक्राउ परेकी त्यस स्त्रीलाई क्षमा गर्नुभएको बारेमा बताउनुभयो। मैले त्यो कथा पहिलेबाट सुनेकी भए पनि त्यो बिहान जस्तो त्यसले मलाई कहिल्यै असर पारेको थिएन। येशूको प्रेमले मलाई छोयो। म येशूमा आउनुपर्छ भन्ने एउटा तीव्र इच्छा उत्पन्न भयो। डा. हिमर्सले मलाई उहाँसँग कुराकानी गर्नका निम्ति बोलाउनु भयो। मेरो मनमा विचारहरू र डरहरूको हुरी-बतास थियो। डा. हिमर्सले उहाँ आफैलाई औल्याउँदै म उहाँमा विश्वास गर्छु कि भनी सोध्नुभयो, र मैले ‘गर्छु’ भनें। उहाँले मलाई प्रभु येशूमा विश्वास गर्नु पनि त्यस्तै हो भन्नुभयो। मलाई ‘येशूमाथि भरोसा’ राख्नुहोस् भन्दा मैले सधैं त्यो कुरालाई घृणा गरेकी थिएँ। म विचार गर्थें, ‘त्यसो गर्नुको अर्थ के होलाॽ मैले त्यो कसरी गर्नु पर्छॽ’ तापनि जब डा. हिमर्सले मलाई त्यो उहाँमाथि भरोसा राख्नुजस्तै हो भनी बुझाउनु भयो, तब मैले त्यो बुझें। त्यस बेला म येशूले मलाई प्रेम गर्नुहुन्छ, उहाँले मेरा पापहरू क्षमा गर्नुहुन्छ, मलाई उहाँको धेरै आवश्यकता छ भन्ने मात्र जान्दथें। डा. हिमर्सले उहाँको हात मेरो शिऱमाथि राख्नुभयो अनि रुँदै मेरो निम्ति प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, येशू मैले उहाँमाथि विश्वास गरेकी चाहनुहुन्छ। मेरो विश्वास सानोभन्दा भए पनि त्यो मेरो निम्ति पर्याप्त थियो। येशू मैले त्यत्ति मात्र गरेकी चाहनुहुन्थ्यो। अनि केही समयमा नै मैले येशूमाथि विश्वास राखें। उहाँले मलाई बचाउनुहुनेछ भनी मैले विश्वास गरिनँ। तर मैले जसरी हाम्रा पास्टर, डा. हिमर्समा विश्वास गर्थें त्यसरी नै स्वयम् येशूमा भरोसा राखेँ। पहिले-पहिले मैले येशूमा कसरी भरोसा गर्ने र त्यस पछिको अनुभव कसरी पाउने भन्ने उपाय खोज्न मेरो मनको गहिराइमा खोतल्थें। मैले कुनै अनुभूतिबिना येशूमा भरोसा राख्न अस्वीकार गरें। अनि त्यो अनुभूति प्राप्त गर्न नसकेपछि म निराश र आफैसँग दुःखी बन्दै रुन्थें। मेरो परिवर्तन झुटो पो हो कि भनेर म डराउँथे पनि। म पूरा स्वार्थमा काम गर्ने व्यक्ति बन्ने खतरा पनि थियो। तापनि राम्ररी विचार गरेपछि संसारसँग मलाई दिन सक्ने केही पनि छैन भनी मैले थाहा पाएँ। प्रेम छैन। उद्देश्य छैन। अनि आशा छैन। अब मैले येशूमा भरोसा राखें। उहाँ मेरो एक मात्र आशा हुनुहुन्छ। येशू मैले उहाँमाथि विश्वास गरेकी मात्र चाहनुहुन्छ भन्ने कुराले मेरो मन आनन्दित बनाउँछ। मैले उहाँमाथि, केवल उहाँमाथि विश्वास गरेकी उहाँ चाहनुहुन्थ्यो। अनि अरू सबै कुरा उहाँले गर्नु भयो। मेरो जीवन गवाही अति सरल छ मैले येशूमाथि भरोसा राखें र उहाँले मलाई बचाउनुभयो।’

ती आत्माहरू ख्रीष्टमा जित्नका निम्ति धेरै जना व्यक्तिहरूको आवश्यकता पऱ्यो। फोन गर्नेहरूमध्ये एक जनाले तिनीहरूलाई फोन गऱ्यो। डा. चानले तिनीहरूलाई ल्याउने गाडीको प्रबन्ध गरे। एरोन यान्सीले चर्चदेखि बाहिर, संसारमा, संसारले दिने रित्तोपन र उदासिनताको विषयमा दिएका वचनहरू थिए। तिनीहरूले पढेका र डा. केगनले टाइप गरेका प्रवचनका पाण्डुलिपिहरू थिए, अनि श्री ओलिभेसी ध्यान लगाएर हेरेका र तयार पारेका भिडियो प्रवचनहरू थिए। त्यहाँ जोन केगनले दिएका सरसल्लाहहरू थिए। तपाईंहरूले तिनीहरूलाई दिनुभएका मित्रताहरू थिए। अन्त्यमा त्यहाँ मेरा प्रवचनहरू, जोन केगनका प्रवचनहरू र नोआ सङका प्रवचनहरू थिए। केही हप्तासम्म मैले भित्रिय संघर्ष गरेपछि म आफैले तिनीहरूलाई प्रश्न गरेँ, ‘के तपाईंहरू येशूमा विश्वास गर्नुहुन्छॽ’ अनि तिनीहरूले येशूमा विश्वास गरे। यो अति सरल जस्तो सुनिन्छ अनि यो सरल नै । तिनीहरूलाई येशूमा ल्याउन परमेश्वरले हाम्रो चर्चका धेरै जनालाई प्रयोग गर्नुभयो। यो अन्धकार संसारमा येशूलाई भेट्टाउन तिनीहरूलाई सहायता गर्ने हामी सबै जना ज्योतिहरूजस्तै थियौं। जसरी डा. लोयड-जोनेसले भनेका छन्, ‘तपाईंहरू, र तपाईंहरू मात्र संसारका ज्योति हुनुहुन्छ।’ एउटा पुरानो स्तुति-भजनले भन्छ, सारा संसार पापको अन्धकारमा हराएको थियो;

संसारको ज्योति येशू हुन्;
मध्यदिनको सूर्यजस्तो उहाँको महिमा चम्कन्छ,
   संसारको ज्योति येशू हुन्।
ज्योतिमा आओ, तिम्रो निम्ति त्यो चम्केको छ;
मधुरतामा त्यो ज्योति ममाथि चम्केको छ;
एक पल्ट अन्धो थिएँ, अहिले देख्तछु;
संसारको ज्योति येशू हुन्।
(‘द लाइट अफ द वर्ल्ड इज जिजस,’ फिलिप पी. ब्लिस, १८३८-१८७६- द्वारा रचित)

प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, पापले अँध्यारो पारेको संसारमा येशूको ज्योति चम्काउने तपाईं र मसँग ठूलो मौका छ। ख्रीष्टले हामीलाई ज्योति दिनुभएको छ। हाम्रो जागृतिको विशेष गीतले यसलाई स्पष्ट पार्छ।

मेरो दर्शन भर्नुहोस्, उद्धारकर्ता दिव्य
   नचम्कूञ्जेल मेरो आत्मा तपाईंको महिमासित,
मेरो दर्शन भर्नुहोस्, सबले देखून्
   तपाईंको पवित्र रूप ममा झल्केको।
('फिल अल माई भिजन' एभिस बर्जिसन क्रिस्टियनसेन, १८९५-१९८५, द्वारा रचित)।

प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, ख्रीष्टियन भएको कारण हामीले गर्नुपर्ने महान् काम छ। हामी पृथ्वीका नून हौं। अनि हामी, मात्र हामी संसारका ज्योति हौं। यो अन्धकार र डरले भरिएको संसारमा हामी त्यो ज्योति चम्काऔं। आत्माहरू जित्ने काम कहिल्यै नरोक्नुहोस्। अनि आत्माहरू जित्ने कार्यमा कहिल्यै हतोत्साहित नबन्नुहोस्। येशू तपाईंको साथमा हुनुहुन्छ। उहाँले तपाईंलाई सबै समस्या र कठिनाइहरूबाट पार गराउनुहुनेछ।

अब, तपाईंहरू जो अहिलेसम्म हराएको अवस्थामा हुनुहुन्छ, तपाईंलाई पनि येशूले बचाउनुहुनेछ भनी बताउने मेरो निम्ति मौका छ। तपाईंले येशू ख्रीष्टमा विश्वास गर्नबाहेक अरू धेरै केही पनि गर्नुपर्दैन, मानिस येशू, जो तपाईंको साटो क्रूसमा मर्नुभयो अनि तपाईंलाई सबै पापबाट शुद्ध पार्न उहाँको रगत बगाउनुभयो। एउटा भजनले यो कुरा बताउँछ,

उहाँमा मात्र भरोसा, उहाँमा मात्र भरोसा
अहिले उहाँमा मात्र भरोसा राख।
उहाँले तिमीलाई बचाउनेछन्, उहाँमा मात्र भरोसा
उहाँले अहिले तिमीलाई बचाउनेछन्
(‘ओनली ट्रस्ट हीम,’ जोन एच. स्टकटन,१८१३-१८७७- द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
          (‘सेभ्ड वाई द ब्लड’- श्री एस. जे. हेन्डरसन- १९ औं शताब्दीद्वारा रचित)


रूपरेखा

तिमीहरू पृथ्वीका नून र संसारका ज्योति हौ

YOU ARE THE SALT OF THE EARTH
AND THE LIGHT OF THE WORLD!

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

‘तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नूनिलो पारिने रॽ त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालिएको शहर लुक्न सक्दैन। मानिसहरूले त बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैका निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, क स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्’ (मत्ती ५:१३-१६)।

१. पहिलो, तिमीहरू पृथ्वीका नून हौ। याकूब ५:२०; मत्ती ५:१३; लूका १४:२३

२. दोस्रो, तिमीहरू संसारका ज्योति हौ। मत्ती ५:१४