Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




जर्ज व्हाइटफिल्डको सन्देश ‘अनुग्रहको विधि’
डा. आर. एल. हिमर्स, जुनियरद्वारा आधुनिक अंग्रजीमा संक्षिप्त पारिएको

“THE METHOD OF GRACE” BY GEORGE WHITEFIELD,
CONDENSED AND ADAPTED TO MODERN ENGLISH
(Nepali)

by Dr. R. L. Hymers, Jr.

८ जनवरी, २०१७, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
श्री जोन शमूएल केगनद्वारा प्रचार गरिएको प्रवचन
A sermon preached by Mr. John Samuel Cagan
at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, January 8, 2017

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’
     (यर्मिया ६:१४)


परिचयः जर्ज व्हाइटफिल्ड इंगल्याण्डको ग्लुसेस्टर भनिने ठाउँमा सन् १७१४ मा जन्मेका थिए। तिनी एक भट्टी पसलका मालिकको छोरा थिए। यस्तो वातावरणमा बाल्यकाल बितेकोले तिनीमाथि ख्रीष्टियन प्रभाव कम नै परेको थियो, तर स्कुलमा हुँदा तिनमा असाधारण योग्यता थियो। तिनी अक्सफोर्ड विश्वविद्यालय पढे, त्यहीं तिनी जोन र चार्ल्स वेस्लीका मित्र बने, उनीहरूको प्रार्थना र बाइबल अध्ययन झुन्डको एक सदस्य बने।

अक्सफोर्डका विद्यार्थी छँदा व्हाइटफिल्डको हृदय परिवर्तन भयो। त्यसको केही समयपछि तिनलाई चर्च अफ इंगल्याण्डमा एक अगुवा नियुक्त गरियो। तिनले नयाँ जन्म पाउन अति नै आवश्यक छ भनी प्रचार गरेका कारण केही चर्चहरूले तिनका निम्ति आफ्ना ढोकाहरू बन्द गरे। किनकि ती शारीरिक पास्टरहरू नयाँ जन्म पाउन आवश्यक छ भन्ने तिनको प्रचार सुनेर विश्वासीहरू रिसाउनेछन् भनी डराए। यसैले तिनलाई जबरदस्ती चर्चहरूबाट बाहिर राखियो, तिनले खुल्ला स्थानहरूमा प्रचार गरे, त्यही कार्यले तिनी प्रसिद्ध भए।

सन् १७३८ मा व्हाइटफिल्ड अमेरिका गए। पछिबाट प्रचार गर्दै र अनाथहरूका निम्ति धन संग्रह गर्दै तिनले सारा अमेरिकी उपनिवेशहरू र ग्रेट ब्रिटेनको यात्रा गरे। तिनी स्पेन, होल्याण्ड, जर्मनी, फ्रान्स, इंगल्याण्ड, वेल्स र स्कटल्याण्ड गए, अनि अमेरिकामा प्रचार गर्न प्रशान्त क्षेत्र भएर तेह्र पल्ट यात्रा गरे।

तिनी बेन्जामिन फ्रेन्कलिन, जोनाथन एडवर्ड र जोन वेस्लीका घनिष्ठ मित्र थिए, अनि आफूले जस्तै वेस्लीलाई पनि खुल्ला ठाउँमा प्रचार गर्ने उत्साह दिने तिनी नै थिए। बेन्जामिन फ्रेन्कलिनले एकचोटि अनुमान गरेअनुसार व्हाइटफिल्डले तीस हजार मानिसको भिडलाई प्रचार गरेका थिए। तिनले गर्ने खुल्ला ठाउँका सभाहरूमा प्रायः पच्चीस हजारभन्दा बढी मानिसहरू हुन्थे। एकचोटि तिनले स्कटल्याण्डको ग्लास्गो भनिने ठाउँमा प्रचार गरे, जहाँ एक लाख मानिस भेला भएका थिए- त्यो पनि त्यस्तो समयमा जब माइक भन्ने कुरै थिएन। त्यो सभामा दश हजार मानिसले प्रभुमा विश्वास गरेका थिए।

धेरै जना इतिहासकार तिनलाई अहिलेसम्मकै महान् अंग्रेजी भाषी प्रचारक मान्छन्। बिल्ली ग्राहम विद्युत माइकको सहायताद्वारा अझ बढी मानिसहरूका अगाडि बोलेका भए पनि संस्कृतिमा व्हाइटफिल्डले पारेका प्रभाव निःसन्देह ठूलो थियो।

व्हाइटफिल्ड पहिलो महान् जागृतिको, १८ औं शताब्दीको मध्यतिर अमेरिकाको चरित्रलाई आकार दिने ठूलो जागृतिका एक प्रमुख व्यक्तित्व थिए। तिनले प्रचार गर्दा हाम्रो देशका उपनिवेशहरूमा जागृतिको आगो सल्किन्थ्यो। यो जागृति सन् १७४० को अवधिमा त्यसको उच्चतामा पुग्यो, जुन अवधिमा व्हाइटफिल्ड छ पल्ट न्यू इंगल्याण्ड गएका थिए। केवल ४५ दिनमा तिनले हजारौं-हजार मानिसलाई एक सय पचहत्तर वटा सन्देश प्रचार गरे, अनि ती क्षेत्रमा आत्मिक जागृति ल्याए, त्यो अमेरिकी ख्रीष्टिय मतको अति नै महत्त्वपूर्ण काल थियो।

व्हाइटफिल्डको मृत्यु हुने बेलातिर तिनले सम्पूर्ण अंग्रेजी भाषी संसारको प्रशंसा पाएका र ध्यान खिँचिसकेका थिए। प्रिन्सटन विश्वविद्यालय, डार्टमाउथ कलेज र पेन्सिलभेनियाको विश्वविद्यालय खडा गर्न तिनले सहायता गरेका थिए। अमेरिकी क्रान्ति सुरु हुनुभन्दा छ वर्ष अघि, न्यूबरीपोर्टमा प्रचार गरेको केही समयपछि, सन् १७७० मा तिनको मृत्यु भयो। जर्ज वसिङटन हाम्रो देशका पिता थिए, तर जर्ज व्हाइटफिल्ड हाम्रो देशका हजूरबा थिए।

व्हाइटफिल्डले प्रचार गरेका तलको प्रवचन आधुनिक भाषा (अंग्रेजी) मा प्रस्तुत गरिएको छ। यो तिनले प्रचार गरेका सन्देश हो। तर यसलाई हाम्रो समयमा बुझ्न सकिने बनाउन डा. हिमर्सले यसमा केही परिवर्तन गरेका छन्।

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’ (यर्मिया ६:१४)

प्रवचनः परमेश्वरले एउटा देशमा पठाउन सक्नुहुने सबैभन्दा महान् आशिष् भनेको असल र विश्वासयोग्य प्रचारकहरू हुन्। तर परमेश्वरले कुनै पनि देशमा पठाउन सक्नुहुने सबैभन्दा ठूलो सराप भनेको त्यहाँका चर्चहरू उद्धार नपाएका प्रचारकहरूद्वारा संचालित हुन दिनु हो, जुन प्रचारकहरू पैसा कमाउने कुरासँग मात्र मतलब राख्छन्। तापनि हरेक युगमा झुटा प्रचारकहरू हुने गरेका छन्, जो सान्त्वनाले भरिएका सन्देशहरू प्रचार गर्छन्। यस्ता सेवकहरू धेरै छन्, जसले मानिसहरूलाई धोखा दिन बाइबलको वचन बिगार्छन् र बङ्ग्याउँछन्।

यर्मियाको समयमा पनि त्यस्तै थियो। अनि यर्मियाले इमानदारीसाथ परमेश्वरको आज्ञापालन गर्दै ती मानिसहरूको विरुद्धमा बोले। तिनले आफ्नो मुख खोले र ती शारीरिक प्रचारकहरूको विरुद्धमा बोले। यदि तपाईंले यर्मियाको पुस्तक पढ्नुभयो भने झुटा प्रचारकहरूको विरुद्ध तिनीभन्दा कठोर रूपले बोल्ने अरू कोही पाउनुहुनेछैन। हाम्रो आजको बाइबल पदमा भएको अध्यायमा तिनी उनीहरूको विरुद्ध अति कठोर रूपले बोलेका छन्।

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’ (यर्मिया ६:१४)

तिनीहरू पैसाका निम्ति मात्र प्रचार गर्छन् भनी यर्मियाले भने, तेह्रौं पदमा तिनले भनेका छन्,

‘सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धन-सम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌।’ (यर्मिया ६:१३)

तिनीहरू लोभी छन् र झुटो प्रचार गर्छन्।

हाम्रो आजको बाइबल पदमा तिनीहरूले झुटो प्रचार गर्ने एउटा तरिका देखाएका छन्। तिनीहरू हराएका आत्माहरूसँग कसरी छली व्यवहार गर्छन् भन्ने अगमवक्ताले देखाएका छन्ः

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’ (यर्मिया ६:१४)

परमेश्वरले यर्मियालाई आउने लडाइँको बारेमा मानिसहरूलाई चेताउनी दिनु भन्नुहुन्छ। तिनले उनीहरूका घरहरू भत्काइनेछ भनी बताओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो- त्यो लडाइँ हुन लागेको थियो (हेर्नुहोस्, यर्मिया ६:११,१२)।

यर्मियाले गर्जिने सोरमा त्यो सन्देश भने। त्यसले धेरै मानिसलाई भयभीत पारेको र तिनीहरूलाई पश्चात्ताप गर्ने अवस्थामा ल्याएको हुन पर्छ। तर शारीरिक अगमवक्ता र पूजाहारीहरू मानिसहरूलाई झुटो आश्वासन दिँदै हिँडे। तिनीहरूले यर्मिया एक धर्मान्ध बौलाहा हुन् भने। तिनीहरूले कुनै लडाइँ हुनेछैन भने। तिनीहरूले मानिसहरू शान्तिमा रहनेछन् भने, तर यर्मियाले भने शान्ति हुनेछैन भने।

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’ (यर्मिया ६:१४)

यो बाइबल पदका शब्दहरूले खास गरी बाहिरी शान्तिलाई बुझाउँछ, तर आत्माको शान्तिलाई पनि बुझाउँछन्। म विश्वास गर्छु, ती शब्दले ती झुटा प्रचारकहरूलाई पनि बुझाउँछन्, जसले उद्धार नपाएका मानिसहरूलाई तिनीहरू असल छन् भनी भन्छन्। उद्धार नपाएका मानिसहरू यस किसिमका प्रचारहरू मन पराउँछन्। मानिसको हृदय अति छली र दुष्ट हुन्छ। मानिसको हृदय कतिसम्म धोखेबाज हुन्छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ।

तपाईंहरूमध्ये धेरैले सायद परमेश्वरमा तपाईंलाई शान्ति छ भन्नुहुन्छ, वास्तवमा साँचो शान्ति भने छँदैछैन। तपाईंहरूमध्ये धेरैले आफूलाई ख्रीष्टियन ठान्नुहुन्छ, तर वास्तवमा हुनुहुन्न। शैतान नै हो, जसले तपाईंलाई झुटो शान्ति दिएको छ। परमेश्वरले तपाईंलाई यो ‘शान्ति’ दिनुभएको होइन। परमेश्वरको शान्ति यस्तो शान्ति हो, जुन मानिसको समझले बुझ्न सकिंदैन। तपाईंसँग भएको शान्ति झुटो शान्ति हो।

तपाईंलाई परमेश्वरमा साँचो शान्ति छ कि छैन भनी जान्नु अति नै महत्त्वपूर्ण कुरा हो। सबै मानिस शान्ति चाहन्छन्। शान्ति एउटा ठूलो आशिष् हो। त्यसैले मैले तपाईंलाई शान्ति कसरी पाइन्छ भन्ने कुरा बताउनै पर्छ। म तपाईंको रगतको दोषबाट जोगिनुपर्छ। मैले तपाईंलाई परमेश्वरको सम्पूर्ण अभिप्राय बताउनै पर्छ। आजको बाइबल पदका शब्दहरूबाट परमेश्वरको साँचो शान्ति पाउन तपाईंलाई के हुनपर्छ, तपाईंभित्र के परिवर्तन हुनुपर्छ भन्ने कुरा म बताउने कोसिस गर्नेछु।

१. पहिलो, परमेश्वरको शान्ति पाउनअघि तपाईंले परमेश्वरको व्यवस्थाको विरुद्धमा गर्नुभएका वास्तविक पापहरू देख्नु, महसुस गर्नु, त्यसका निम्ति रुनु र शोक गर्नुपर्छ ।

बाइबलले भन्छ, ‘जुन प्राणले पाप गर्, त्‍यही मर्छ’ (इजकिएल १८:४)। परमेश्वरको व्यवस्थामा लेखिएका सबै कुराहरू निरन्तर पालन नगर्ने हरेक व्यक्ति श्रापित हो।

तपाईंले केही कुरा गर्ने मात्र होइन, तर सबै कुरा गर्नुपर्छ नत्र तपाईं श्रापित बन्नुहुन्छः

‘किनकि धर्मशास्त्रमा यसो लेखिएको छ,‘व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ।’ (गलाती ३:१०)

परमेश्वरको व्यवस्थाअनुसार चाहे विचारमा होस् वा बोलीवचनमा, वा काममा परमेश्वरको कुनै पनि व्यवस्था भंग गर्दा त्यसले तपाईंलाई अनन्त दण्डको योग्य बनाउँछ। अनि एउटा दुष्ट शब्द, यदि एउटा दुष्ट कार्यका निम्ति अनन्त दण्ड पाइन्छ भने तपाईं नरकबाट कसरी उम्कन सक्नुहुन्छ? हृदयमा साँचो शान्ति पाउनका निम्ति परमेश्वरको विरुद्ध पापहरू गर्नु कति भयानक कुरा भनी तपाईंले बुझ्नुपर्छ।

तपाईंको हृदय जाँच्नुहोस्। तपाईंलाई म सोध्न चाहन्छु- के कुनै बेला तपाईंले गर्नुभएको पापले तपाईंलाई पीडा दिएको थियो? के कुनै बेला तपाईंको पापको बोझ तपाईंका निम्ति असहनीय भएको थियो? तपाईंले परमेश्वरका नियमहरू तोड्दा उहाँको क्रोध उचित रूपले तपाईंमाथि आउनेछ भन्ने के तपाईं बुझ्नुहुन्छ? के तपाईं आफ्ना पापका निम्ति मनभित्र दुःखी हुनुभएको छ? के तपाईं ‘मेरा पापहरू मैले बहन नै गर्न नसक्ने गह्रौं छन्’ भन्न सक्नुहुन्छ? के तपाईंले कुनै दिन यस्तो अनुभव गर्नुभएको छ? यदि गर्नुभएको छैन भने आफैलाई ख्रीष्टियन नभन्नुहोस्! तपाईंसँग शान्ति छ भन्नुहुन्छ होला, तर तपाईंका निम्ति साँचो शान्ति छैन। प्रभुले तपाईंको समझ खोलिदेऊन्! प्रभुले तपाईंको हृदय परिवर्तन गरून्।

२. दोस्रो, परमेश्वरको शान्ति पाउनअघि तपाईंलाई आफ्नो पाप स्वभाव, तपाईंको पूर्ण भ्रष्ट प्राणको विषयमा गहिरो दोष महसुस हुनुपर्छ।

तपाईंलाई आफ्ना वास्तविक पापहरूको बारेमा थाहा हुनुपर्छ। तपाईं तिनका निम्ति काँप्नुपर्छ। तर त्योभन्दा अझ बढी कुरा तपाईंलाई त्यसको दोष महसुस हुनुपर्छ। तपाईंले परमेश्वरको व्यवस्था भंग गर्नुभएको छ भनी थाहा हुनुपर्छ। अझ त्योभन्दा बढी, तपाईंको हृदयमा उत्पन्न भएको त्यो सुरुको पाप महसुस गर्नुपर्छ, जुन पापले तपाईंलाई नरक पठाउँछ।

आफैलाई बुद्धिमान् ठान्ने केही मानिसहरू सुरुको पाप भन्नेजस्तो कुनै कुरा हुँदैन भनी सोच्छन्। उनीहरूलाई नरक पठाउने परमेश्वर अन्यायी हुनुहुन्छ, किनकि उनीहरूले आदमको पाप प्राप्त गरेका छन् भन्ने गर्छन्। उनीहरू आफू पापमा जन्मेका होइनन् भन्छन्। उनीहरू नयाँ गरी जन्मनु आवश्यक छैन भन्छन्। तापनि तपाईंको वरिपरिको संसारलाई हेर्नुहोस्। के यो परमेश्वरले मानव जातिका निम्ति प्रतिज्ञा गर्नुभएको स्वर्गलोकजस्तो छ? छैन! संसारमा सबै कुरा अव्यवस्थित छ। मानव जातिमा केही समस्या भएकै कारण यस्तो भएको हो। त्यो सुरुको पापले संसारलाई नाश पारेको छ।

तपाईंले यो कुरालाई जति नै जोरदार ढंगमा इन्कार गर्नुभए पनि जब तपाईं होशमा आउनुहुन्छ तब तपाईंको पाप तपाईंको आफ्नै भ्रष्ट हृदयबाट आएको हो भनी बुझ्नुहुनेछ, जुन हृदय सुरुको त्यो पापले विषाक्त पारेको छ।

जब हृदय परिवर्तन नभएको व्यक्तिको समझ खुल्छ, तब उसले यस्तो सोच्न थाल्छ, ‘म कसरी यति दुष्ट बनें?’ त्यसपछि परमेश्वरका आत्माले उसको स्वभावमा कुनै असल कुरा छैन भन्ने उसलाई देखाउँछ। त्यसपछि उसले आफूलाई पूर्ण पापीको रूपमा हेर्छ, अनि उसलाई दण्ड दिनु परमेश्वरको अधिकार छ भनी बुझ्छ। उसले आफ्नो सम्पूर्ण जीवनमा एउटै पनि बाहिरी पाप नगरेको भए पनि उसको स्वभावमा उ अति विषाक्त र विद्रोही छ र परमेश्वरले उसलाई दण्ड दिनु उचित छ भनी बुझ्छ।

के तपाईंले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ? परमेश्वरले तपाईंलाई दण्ड दिनु उचित छ भन्ने कहिल्यै महसुस गर्नुभएको छ? के तपाईं स्वभावले नै क्रोधको सन्तान (एफिसी २:३) हुनुहुन्छ भनी सहमत हुनुहुन्छ?

यदि तपाईं नयाँ गरी जन्मनुभएको थियो भने तपाईंले यो अनुभव गर्नुभएको हुन सक्छ। अनि यदि तपाईंले सुरुको पापको भारी कहिल्यै महसुस गर्नुभएको छैन भने तपाईं आफैलाई ख्रीष्टियन नभन्नुहोस्! सुरुको पाप नै साँचो हृदय परिवर्तनको एउटा ठूलो बोझ हो। जुन व्यक्ति साँच्चै नयाँ गरी जन्मेको हुन्छ ऊ आफ्नो सुरुको पाप र विषाक्त स्वभावका निम्ति दुःखी बन्छ। साँचो हृदय परिवर्तन भएको व्यक्तिले सुस्केरा हाल्दै यसो भन्छ, ‘हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला’ (रोमी ७:२४)? पापको दोषी महसुस गर्ने व्यक्तिलाई यही कुराले- अर्थात् पाप गर्ने भित्रिय हृदयले विचलित बनाउँछ। यदि तपाईंको स्वभावमा यो भित्रिय पाप छ भन्ने थाहा पाउनुभएको छैन भने तपाईं आफ्नो हृदयमा साँचो शान्ति कहिल्यै पनि अनुभव गर्न सक्नुहुन्न।

३. तेस्रो, परमेश्वरको शान्ति पाउनअघि तपाईं आफ्नो जीवन र तपाईंको स्वभावमा भएको पापका निम्ति मात्र होइन, तर तपाईंका सर्वोत्तम निर्णयहरूमा, भनाइहरूमा र तथाकथित ‘ख्रीष्टियन जीवन’ मा भएका पापहरू निम्ति तपाईं विचलित हुनुपर्छ।

मेरो मित्र, तपाईंको धर्ममा कुन त्यस्तो कुरा छ, जसले तपाईंलाई परमेश्वरको अगि स्वीकारयोग्य बनाउँछ? तपाईंको स्वभावले नै तपाईं धर्मी नठहराइएको र हृदय परिवर्तन नभएको व्यक्ति हुनुहुन्छ। तपाईंका बाहिरी पापहरूको कारण तपाईं दश गुणा बढी नरकको दण्ड पाउने योग्यका हुनुहुन्छ। तपाईंको धार्मिक आस्थाले तपाईंका निम्ति कुन राम्रो कुरा गर्छ? तपाईंको हृदय परिवर्तन नभई तपाईं केही पनि असल गर्नु सक्नुहुन्न।

‘पाप-स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।’ (रोमी ८:८)

हृदय परिवर्तन नभएको व्यक्तिले परमेश्वरको महिमाका निम्ति केही गर्नु असम्भव हुन्छ।

हाम्रो हृदय परिवर्तन भएपछि पनि हामी केही अंशमा मात्र नयाँ भएका हुन्छौं। हामीभित्र वास गर्ने पाप रहिनैरहन्छ। हामीले गर्ने प्रत्येक कार्यमा पनि केही मात्रामा भ्रष्टता मिसिएको हुन्छ। यसैले, हाम्रो हृदय परिवर्तन भइसकेपछि यदि येशू ख्रीष्टले हामीलाई हाम्रा ‘असल’ कामहरूअनुसार ग्रहण गर्ने हो भने हाम्रा कामहरूले नै हामीलाई दण्डको योग्य बनाउने थिए। हामीमा कुनै पाप, स्वार्थीपन, अल्छीपन, नैतिक कमजोरी र त्यस्तै अरू कुरारहित भएर प्रार्थना गर्न सक्दैनौं। तपाईं के सोच्नुहुन्छ, त्यो मलाई थाहा छैन, तर पाप गर्न छोडेर म प्रार्थना गर्न सक्दिनँ। पाप नगरी म तपाईंहरूलाई प्रचार गर्न सक्दिनँ। पापबिना म केही पनि गर्न सक्दिनँ। मेरा पश्चात्तापका निम्ति मैले पश्चात्ताप गर्नुपर्छ, र मेरा आँसुहरू मेरा उद्धारकर्ता येशू ख्रीष्टको अमूल्य रगतले धोइनुपर्छ!

हाम्रा सर्वोत्तम संकल्पहरू, हाम्रा सर्वोत्तम कर्तव्यहरू, हाम्रो सर्वोत्तम धर्महरू अरू केही होइन, तर धेरै पापहरू मात्र हुन्। हाम्रा धार्मिक कर्तव्यहरू पापले पूर्ण छन्। तपाईंले हृदयमा शान्ति पाउनुभन्दा अघि तपाईं आफ्नो सुरुको र बाहिरी पापहरूका निम्ति व्याकुल हुनुपर्छ, तपाईं आफ्नै धार्मिकता, कर्तव्य र धर्म पालनका निम्ति व्याकुल हुनुपर्छ। आफ्नो स्व-धार्मिकताबाट बाहिर निस्किनुभन्दा अघि तपाईंले आफूलाई गहिरो रूपले दोषी महसुस गर्नुपर्छ। यदि तपाईंको कुनै आफ्नो धार्मिकता छैन भन्ने कहिल्यै महसुस गर्नुभएको छैन भने तपाईं येशू ख्रीष्टद्वारा बचाइन सक्नुहुन्न। तपाईं अझै पनि परिवर्तन हुनुभएको छैन।

कसैले भन्न सक्छ, ‘ठीक, छ म यी सब कुरामा विश्वास गर्छु।’ तर ‘विश्वास गर्नु’ र ‘अनुभव गर्नु’ बीच ठूलो भिन्नता छ। के तपाईंलाई कुनै बेला ख्रीष्टको कमी महसुस भएको छ? तपाईं आफैमा केही असल कुरा नभएकोले के तपाईंलाई ख्रीष्टको खाँचो छ भन्ने महसुस गर्नुभएको छ? अनि के तपाईं यसो भन्न सक्नुहुन्छ, ‘हे प्रभु, मैले गर्न सक्ने सबैभन्दा उत्तम धार्मिक कार्यका निम्ति पनि तपाईंले मलाई दण्ड दिन सक्नुहुन्छ।’ यदि तपाईंले आफैलाई आफूबाट बाहिर निकाल्नुभएन भने परमेश्वरबाट वास्तविक शान्ति कहिल्यै पाउन सक्नुहुन्न।

४. चौथो, परमेश्वरको शान्ति पाउनअघि तपाईं एउटा विशेष पापका निम्ति धेरै व्याकुल हुनुपर्छ। तापनि मलाई लाग्छ, तपाईंमध्ये थोरैले मात्र यसबारे विचार गर्नुहुन्छ। यो अति निन्दनीय पाप हो, तापनि संसारले यसलाई पाप सोच्दैन। तपाईं सोध्नुहुन्छ, ‘त्यो पाप कुन हो?’ यो यस्तो पाप हो, जसको दोषी तपाईं आफूलाई मान्नुहुन्न- अनि त्यो अविश्वासको पाप हो।

तपाईंले शान्ति पाउनुभन्दा अघि तपाईं आफ्नो हृदयको अविश्वासद्वारा, अर्थात् तपाईं प्रभु येशू ख्रीष्टमा साँच्चै विश्वास नगर्नुभएकोमा विचलित हुनुपर्छ।

म आफ्नै हृदयलाई आग्रह गर्दछु। मलाई लाग्छ, येशू ख्रीष्टमा तपाईंको विश्वास शैतानको भन्दा धेरै छैन। मलाई लाग्छ, शैतानले तपाईंले भन्दा बढी बाइबलमा विश्वास गर्छ। शैतानले येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्छ। त्यसले विश्वास गर्छ र काँप्दछ। आफूलाई ख्रीष्टियन भन्ने हजारौं ख्रीष्टियनहरूभन्दा बढी काँप्दछ।

तपाईं विश्वास गर्नुहुन्छ, किनकि तपाईं बाइबलमा विश्वास गर्नुहुन्छ, वा तपाईं चर्च जानुहुन्छ। तपाईं ख्रीष्टमा साँच्चै विश्वास नगरी यी सब कुरा गर्न सक्नुहुन्छ। कैसर वा महान् अलेक्जेन्डर भन्ने व्यक्ति थियो भनी विश्वास गर्दा जसरी कुनै फाइदा हुँदैन त्यसरी नै ख्रीष्ट भन्ने कुनै व्यक्ति हुनुहुन्थ्यो भनी विश्वास गरेर केही फाइदा हुँदैन। बाइबल परमेश्वरको वचन हो। हामी बाइबलका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छौं। तर तपाईं यसमा विश्वास गर्न सक्नुहुन्छ, तापनि प्रभु येशू ख्रीष्टमा भरोसा नगर्नुभएको हुन सक्छ।

यदि मैले तपाईंलाई येशू ख्रीष्टमा विश्वास गर्नुभएको कति भयो भनी सोधें भने तपाईं उहाँमा सधैं विश्वास गर्दैआउनुभएको छ भन्नुहुन्छ होला? तपाईंले येशू ख्रीष्टमा अहिलेसम्म कहिल्यै पनि विश्वास गर्नुभएन भन्ने कुनै ठूलो प्रणाम दिनुभएन। साँचो रूपले ख्रीष्टमा भरोसा गर्नेहरूले जान्दछन् कि तिनीहरूले कुनै बेला उहाँमा भरोसा नगरेको समय पनि हुन्छ।

मैले यस विषयमा अझ धेरै कुरा बताउनुपर्छ, किनकि यो अति नै बढी छलपूर्ण भ्रम हो। धेरै जनालाई यसले बहकाएको छ- तिनीहरू आफूले अघिबाटै विश्वास गरेका छौं भनी सोच्छन्। एक जना व्यक्तिले भनेको कुरा हो, उसले दश आज्ञाअन्तर्गत उसका सबै पापहरूको सूची बनायो, त्यसपछि उसका पास्टरकहाँ आयो र उसको मनमा किन शान्ति छैन भनी सोध्यो। पास्टरले त्यो सूची हेरे अनि भने, ‘जानुहोस्! म तपाईंको सूचीमा अविश्वासको पापको एउटै पनि शब्द पाउँदिनँ।’ परमेश्वरका आत्माको कामले नै तपाईंलाई आफ्नो अविश्वासको पापको दोषी ठहराउँछ- तपाईंमा कुनै विश्वास छैन भन्ने देखाउँछ। येशू ख्रीष्टले पवित्र आत्माको विषयमा यसो भन्नुभयोः

‘उहाँले संसारलाई पापका निम्ति दोषी ठहराउनुहुनेछ.. पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्।’ (यूहन्ना १६:८,९)

अब मेरा प्रिय मित्र हो, के परमेश्वरले कहिल्यै तपाईंको येशूमा वास्तविक विश्वास छैन भन्ने देखाउनुभएको छ? के तपाईं आफ्नो कठोर हृदयको अविश्वासका निम्ति दुःखले शोकित पारिनुभएको छ? के तपाईंले कहिल्यै ‘हे प्रभु, मलाई ख्रीष्टमा भरोसा गर्न सहायता गर्नुहोस्’ भन्दै प्रार्थना गर्नुभएको छ? के परमेश्वरले कहिल्यै तपाईं ख्रीष्टमा आउन अयोग्य हुनुहुन्छ भन्ने निश्चयता दिँदै ख्रीष्टमा विश्वासका निम्ति पुकारा गर्ने तुल्याउनुभएको छ? तपाईं को मृत्यु हुनुभन्दा अघि र अरू कुनै मौका नपाउनुभन्दा अघि परमेश्वरले तपाईंलाई जगाऊन्, र येशूमा विश्वास गरी तपाईंलाई साँचो शान्ति देऊन्।

५. पाँचौं, परमेश्वरको शान्ति पाउनअघि तपाईं ख्रीष्टको धार्मिकतामा पूर्ण रूपले विश्वास गर्नुपर्छ।

तपाईंले आफ्नो वास्तविक र सुरुको पाप, तपाईंको आफ्नै धार्मिकताका पापहरू, अविश्वासका पापहरू मात्र निश्चित रूपले थाहा नगरेर तपाईंले प्रभु येशू ख्रीष्टको सिद्ध धार्मिकतामा पनि विश्वास गर्न सक्नुपर्छ। तपाईंले ख्रीष्टको धार्मिकता धारण गर्नुपर्छ। तब तपाईं शान्ति पाउनुहुनेछ। प्रभु येशूले भन्नुभयो,

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’(मत्ती ११:२८)

यो पदले थाकेका र बोझले दबिएका सबैलाई उत्साह दिँदछ, तर अरूलाई दिँदैन। तापनि विश्रामको प्रतिज्ञा तिनीहरूसँग मात्र गरिएको छ, जो आउँछ र येशू ख्रीष्टमा विश्वास गर्छ। तपाईंले परमेश्वरको शान्ति पाउनुभन्दा अघि हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गरी तपाईं धर्मी ठहरिनुपर्छ। तपाईंले स्वयम् ख्रीष्टलाई प्राप्त गर्नुपर्छ, यसरी उहाँको धार्मिकता तपाईंको धार्मिकता बनाइनेछ।

मेरा प्रिय मित्र हो, के ख्रीष्टसँग तपाईंको कहिल्यै विवाह भएको छ? के येशू ख्रीष्टले कहिल्यै आफैलाई तपाईंका निम्ति दिनुभएको छ? के तपाईं जीवित विश्वाससहित कहिल्यै ख्रीष्टमा आउनुभएको छ? मेरो प्रार्थना छ, ख्रीष्ट तपाईंकहाँ आएर तपाईंको निम्ति शान्ति बोलून्। नयाँ गरी जन्मका निम्ति तपाईंले यी कुराहरूको अनुभव गर्नै पर्छ।

अब म अर्को संसारका अदृश्य कुराहरूको, भित्रिय ख्रीष्टिय मतको एक पापीको हृदयमा परमेश्वरले गर्नुहुने कामको बारेमा बताउँछु। अब म त्यसको विषयमा कुरा गर्छु, जुन तपाईंका निम्ति ठूलो महत्त्वको छ। तपाईंले यस विषयमा ठूलो वास्ता राख्नुपर्छ। यो तपाईंको प्राणसँग सम्बन्धित छ। तपाईंको अनन्त मुक्ति यसैमा निर्भर छ।

तपाईं ख्रीष्टविना पनि शान्तिको अनुभव गर्न सक्नुहुन्छ। शैतानले तपाईंलाई निद्रामा पारेको छ र तपाईंलाई झुटो सुरक्षा दिएको छ। त्यसले तपाईंलाई नरकमा नपठाउञ्जेल मस्त निद्रामा पारेर राख्छ। नरकमा मात्र तपाईं बिउँझिनु हुने, तर त्यो बिउँझाइ डरलाग्दो हुनेछ, तपाईंले आफैलाई आगोको ज्वालामा पाउनुहुनेछ र त्यो बेला उद्धार पाउन धेरै ढिलो भइसकेको हुनेछ। नरकमा सारा अनन्तताभरि तपाईं आफ्नो जिब्रोलाई शीतल पार्न एक थोपा पानीका निम्ति पुकारा गर्नुहुनेछ, तर तपाईंलाई पानी दिइनेछैन।

तपाईंले येशू ख्रीष्टमा विश्राम नलिनुभएसम्म आफ्नो आत्माका निम्ति कुनै विश्राम पाउनुहुनेछैन। मेरो उद्देश्य हराएका पापीहरूलाई उद्धारकर्ताकहाँ ल्याउनु हो। परमेश्वरले तपाईंहरूलाई येशूकहाँ ल्याउनुभएको होस्। पवित्र आत्माले तपाईंहरू पापी हुनुहुन्छ भनी महसुस गराउनुभएको होस्, र तपाईंहरूलाई दुष्ट मार्गबाट फर्काएर येशू ख्रीष्टमा ल्याउनुभएको होस्। आमेन्।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा प्रार्थना गरियो।
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('ओ लर्ड, हाउ भाएल एस आई,' जोन न्यूटनद्वारा रचित, १७२५-१८०७)


रूपरेखा

जर्ज व्हाइटफिल्डको सन्देश ‘अनुग्रहको विधि’
डा. आर. एल. हिमर्स, जुनियरद्वारा आधुनिक अंग्रजीमा संक्षिप्त पारिएको

“THE METHOD OF GRACE” BY GEORGE WHITEFIELD,
CONDENSED AND ADAPTED TO MODERN ENGLISH

by Dr. R. L. Hymers, Jr.

‘मेरो प्रजाको चोटलाई साह्रो नभएझैं गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।’
     (यर्मिया ६:१४)

(यर्मिया ६:१३)

१. पहिलो, परमेश्वरको शान्ति पाउनअघि तपाईंले परमेश्वरको व्यवस्थाको विरुद्धमा गर्नुभएका वास्तविक पापहरू देख्नु, महसुस गर्नु, त्यसका निम्ति रुनु र शोक गर्नुपर्छ इजकिएल १८:४; गलाती ३:१०

२. दोस्रो, परमेश्वरको शान्ति पाउनअघि तपाईंलाई आफ्नो पाप स्वभाव, तपाईंको पूर्ण भ्रष्ट प्राणको विषयमा गहिरो विश्वास हुनुपर्छ। एफिसी २:३; रोमी ७:२४

३. तेस्रो, परमेश्वरको शान्ति पाउनअघि तपाईं आफ्नो जीवन र तपाईंको स्वभावमा भएको पापका निम्ति मात्र होइन, तर तपाईंका सर्वोत्तम निर्णयहरूमा, भनाइहरूमा र तथाकथित ‘ख्रीष्टियन जीवन’ मा भएका पापहरू निम्ति तपाईं विचलित हुनुपर्छ। (रोमी ८:८)

४. चौथो, परमेश्वरको शान्ति पाउनअघि तपाईं एउटा विशेष पापका धेरै व्याकुल हुनुपर्छ। तापनि मलाई लाग्छ, तपाईंमध्ये थोरैले मात्र यसबारे विचार गर्नुहुन्छ। यो अति निन्दनीय पाप हो, तापनि संसारले यसलाई पाप सोच्दैन। तपाईं सोध्नुहुन्छ, ‘त्यो पाप कुन हो?’ यो यस्तो पाप हो, जसको दोषी तपाईं आफूलाई मान्नुहुन्न- अनि त्यो अविश्वासको पाप हो। यूहन्ना १६:८,९

५. पाँचौं, परमेश्वरको शान्ति पाउनअघि तपाईं ख्रीष्टको धार्मिकतामा पूर्ण रूपले विश्वास गर्नुपर्छ। मत्ती ११:२८