Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




दुइ जना आदम-आज मरिरहेका हाम्रा चर्चहरूमा सुन्नै पर्ने किसिमको प्रवचन

(उत्पत्तिको पुस्तकमाथि- प्रवचन संख्याः ९०)

THE TWO ADAMS –
THE KIND OF SERMON WE NEED TO HEAR
IN OUR DYING CHURCHES TODAY!
(SERMON #90 ON THE BOOK OF GENESIS)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, ४ दिसम्बर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Evening, December 4, 2016

'अनि परमप्रभु परमेश्वरले मानिसलाई यो आज्ञा दिनुभयो, बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्' (उत्पत्ति २:१६-१७) ।


परमेश्वरले पहिलो मानिसलाई भूमिको माटोबाट बनाउनुभयो। म जवान छँदा यो कुरामा पटक्कै विश्वास गर्दिनँथें। सन् १९६१ को सेप्टेम्बर महीनाको चौथो हप्तासम्म म विकासवादको सिद्धान्तमा विश्वास गर्थें। त्यस वर्षको २८ तारिख सेप्टेम्बरको दिन ममा अचानक परिवर्तन आयो, जीवन परिवर्तन गर्ने गरी मेरो हृदय परिवर्तन भयो। त्यो एक हप्ताको अवधिमा सबै कुरा परिवर्तन भए। सबैभन्दा महत्त्वपूर्ण परिवर्तन यो भयो कि ममा पवित्र बाइबलमाथि दह्रो विश्वास उत्पन्न भयो। त्यो समयदेखि मैले विकासवादको सिद्धान्त एउटा छल, विज्ञानको काल्पनिक कुरा, मोर्मोनहरूको झुटो पुस्तकजस्तै, कुरानजस्तै झुटो पुस्तक मात्र रहेछ भनी थाहा पाएँ। मेरो हृदय परिवर्तन हुँदा डार्विनवादमाथि विश्वास गर्ने मेरो मनले बाइबलमा भएको प्रत्येक हिब्रू र ग्रीक शब्द परमेश्वरको मौखिक प्रेरणाद्वारा लेखिएको हो भनी विश्वास पक्का विश्वास गऱ्यो। मेरो भित्री प्राणमा म 'सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो' (२ तिमोथी ३:१६) भनी जान्दथें। पवित्रशास्त्रको प्रत्येक शब्द परमेश्वरको सास(थिअन्यूस्टोस)द्वारा दिइएकोले बाइबलमा कुनै गल्ती हुनु सम्भव छैन- किनकि यो पवित्र ग्रन्थ लेख्ने व्यक्तिहरूलाई उत्पत्तिदेखि प्रकाशित वाक्यसम्मको प्रत्येक शब्द लेख्न दिइएको थियो। पवित्र बाइबलले भनेको छ,'परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए'(उत्पत्ति २:७)। अनि मैले बुझें, पहिलो मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको रहेछ, मानिस कुनै क्षुद्र प्राणीबाट विकसित हुँदै अहिलेको अवस्थामा आइपुगेको होइन रहेछ। उत्पत्तिको पुस्तकमा दिइएको मानिसको सृष्टिको वर्णन साँच्चै सत्य हो र विकासवादको कुरा शैतानले फैलाएको झुट हो भनी म जान्दछु।

त्यसपछि परमेश्वरले मानिसलाई एउटा सुन्दर बगैंचमा राख्नुभयो, जुन बगैंचामा हरकिसिमको पोषिलो र स्वादिष्ट फल थियो। आज ती धेरैओटा स्वास्थ्यबर्द्धक रूखहरू र फलहरू छैनन्, किनकि ती त्यो ठूलो जलप्रलयद्वारा नष्ट भए।

तर त्यो बगैंचाको बीचमा दुइ ओटा महत्त्वपूर्ण रूखहरू थिए- जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख। परमेश्वरले आदमलाई एउटा मात्र व्यवस्था(नियम) पालन गर्न दिनुभयो,'असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्'(उत्पत्ति २:१७)। उत्पत्ति २:१७ को त्यो 'ज्ञान' शब्द मूल भाषोको 'यादा' शब्दबाट आएको हो। यसको अर्थ 'परिचित मित्रझैं चिनिनु' हो(स्ट्रङ्ग)। तिनीहरूले त्यो मनाही गरिएको फल खाँदा त्यसको लतमा पर्नेथिए। विवाह सम्बन्धभन्दा बाहिर एकचोटि गरिएको यौन-सम्पर्कको अनुभव सधैंभरि मनमा रहन्छ, किनकि त्यसो गर्ने व्यक्ति अब त्योसँग परिचित भएको हुन्छ। लागु पदार्थ खाने एक वा दुइ चोटिको अनुभवले मानिसमा यस्तो भावना जगाउँछ, जसले उसलाई त्यसको कुलतमा फसाउँछ। उसको निर्दोषता सधैंका निम्ति हटेर जान्छ। असल र खराबको ज्ञान दिने रूखको फल खाँदा त्यसले मानिसको निर्दोषतालाई सधैंका निम्ति नाश पार्थ्यो, अनि पहिले आत्मिक मृत्यु त्यसपछि शारीरिक मृत्यु गराउँथ्यो।

शैतानले त्यो कुरा राम्ररी जान्दथ्यो। त्यसैकारण त्यसले मानिसलाई मनाही गरिएको फल खाने परीक्षा गऱ्यो। त्यो खायो भने मानिसले आफ्नो निर्दोषता गुमाउनेछ र सधैंका निम्ति एक पापी हुनेछ भनी जान्दथ्यो। त्यो फल खानासाथै उसको विवेक मर्नेथियो। त्यसपछि ऊ परमेश्वरको नजरबाट लुक्ने हुन्थ्यो। उसको आत्मा 'अपराध र पापमा मरेको' हुन्थ्यो(एफिसी २:१)। ऊ 'पापमा मरेको'(एफिसी २:५) हुन्थ्यो। ऊभित्र एक शारिरिक मन हुन्थ्यो र परमेश्वरलाई उसले एक शत्रुको रूपमा हेर्थ्यो(रोमी ८:७)। ऊ आत्मिक रूपमा मात्र नमरेर उसको शरीर पनि बूढो हुँदैजान्थ्यो र अन्त्यमा शारीरिक मृत्युमा पर्थ्यो। एक मरेको मानिसको रूपमा उसले 'परमेश्वरका आत्माका कुराहरूलाई ग्रहण गर्न' नसक्ने हुन्थ्यो(१ कोरिन्थी २:१४)।

तर त्योभन्दा अझ नराम्रो कुरा, उसको भ्रष्ट भएको स्वभाव र आत्मिक मृत्यु उसका सबै सन्तान, पृथ्वीमा हुने प्रत्येकले प्राप्त गर्थ्यो, किनकि 'आदमको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए'(रोमी ५:१९)। 'यसैले जसरी एउटै मानिस(आदम)को अपराधले सबै मानिसहरू दण्डको भागीदार बने'(रोमी ५:१८)। 'आदमको मूल पापको अर्थ ती पापपूर्ण दागहरू हुन्, जुन प्रत्येक व्यक्तिले पापतिर झुकेको हृदयसहित प्राप्त गरेको हुन्छ...त्यो भित्र हुने पापमय अवस्था नै सबै वास्तविक पापहरूको जरा र स्रोत हो, यो आदमबाट हामीमा सरेको(वा उत्तराधिकारको रूपमा प्राप्त भएको)छ,...हामीले पाप गरेका कारण हामी पापी भएका होइनौं, तर हामी पापी भएकाले, पापको दास बनेको स्वभाव लिएर जन्मेकाले हामी पाप गर्दछौं'(द रिफर्मेसन् स्टडी बाइबल, पृष्ठ ७८१ को टिप्पणी)। 'पापमा मरेको मानिस आफ्नै शक्तिले आफूलाई परिवर्तन गर्न सक्षम हुँदैन'(वेस्टमिनिस्टर कन्फेसन, IX, ३)।

आदमको पाप उसका सबै सन्तान(सारा मानव जाति)मा सरेर आयो। त्यो कुरा प्रमाणित भएको छ। यो आदमका छोरा कयिनद्वारा प्रमाणित भएको छ, जसले आफ्नै भाइको हत्या गऱ्यो(हेर्नुहोस्, उत्पत्ति ४:८)। यसैले तपाईं आदमको एक सन्तान हुनुहुन्छ। तपाईं स्वभावले नै एक पापी हुनुहुन्छ। तपाईंले गर्नुहुने वा भन्नुहुने कुनै पनि कुराले तपाईंको उद्धार गराउन सक्दैन। तपाईंले गर्नुहुने कुनै पनि कुराले तपाईंलाई उद्धार पाउन सहायता गर्न सक्दैन। तपाईं स्वभावले नै एक पापी हुनुहुन्छ। चर्च आएर तपाईं उद्धार पाउन सक्नुहुन्न। तपाईंका प्रार्थनाहरूले तपाईंको उद्धार गराउन सक्दैन। तपाईं जत्तिनै राम्रो हुनुभए पनि त्यसले तपाईंलाई बचाउन सक्दैन। म फेरि दोहोऱ्याएर भन्दैछु, तपाईंले गर्नुहुने वा भन्नुहुने कुनै पनि कुराले तपाईंको उद्धार गराउन सक्दैन। तपाईँ एक हराएको पापी हुनुहुन्छ। मैले चिनेको ठूला पापीहरूमध्ये केही प्रचारकहरू- दिनदिनै बाइबल अध्ययन गर्ने व्यक्तिहरू नै छन्। मैले चिनेको अति अनाज्ञाकारी पापीहरू ख्रीष्टियन आमा-बुबाहरूद्वारा जन्मेका व्यक्तिहरू नै छन्, तर तिनीहरू हुर्किएपछि विद्रोही बने, परमेश्वरको विरुद्धमा विद्रोही, ख्रीष्टको विरुद्धमा विद्रोही, तिनीहरूका आमा-बुवाको विरुद्धमा विद्रोही, तिनीहरूले चर्चमा सिकेका सबै कुराको विरोधी भए। तिनीहरूले बाइबल राम्ररी जानेका हुन सक्छन्, तर तिनीहरूको त्यसको विरुद्धमा विद्रोह गर्छन्। तिनीहरूले आफ्नो हृदयमा सत्य कुरालाई घृणा गरेका कारण त्यसरी विद्रोह गर्छन्। तिनीहरू बाइबलको शिक्षा दिने आफ्ना पास्टरको विरूद्धमा विद्रोह गर्छन्। तिनीहरू आफ्नो हृदयमा सत्यतालाई घृणा गर्छन्, यसैले विद्रोह गर्छन्। म 'चर्चका त्यस्ता बाल-बालिकाहरू' लाई चिन्दछु, जो शैतानझैं दुष्ट छन्। चर्चमा त्यस्ता युवतीहरू हुर्कन्छन्, जसले युवकहरूलाई तिनीहरूसित यौन-सम्पर्क गर्न लोभ्याउँछन्। फेरि अर्को हप्ता चर्चमा तिनीहरू स्वर्गदूतहरू जस्तो बनेर भजन गाउँछन्, वास्तवमा जो घोर पापीहरू हुन्छन्। म 'चर्चका त्यस्ता केटाहरू' लाई चिन्दछु, जो केटीहरूसँग यौन-सम्पर्क गर्छन् अनि अरू ससाना केटाहरूको अगाडि आफ्नो त्यो पापको विषयमा घमन्ड गर्छन्, अनि ती ससाना केटाहरूको मनमा कामवासनाको यस्तो विचार हालिदिन्छन्, जसले तिनीहरूलाई नाश पार्न सक्छ।

तपाईं, 'मैले त त्यस्तो कहिल्यै पनि गरेको छैनँ' भन्नुहुन्छ होला। तर तपाईंले त्यस्तो गर्ने विचार गर्नुभएको छ। तपाईंको मनमा फोहोर कुराहरू विचार गर्नुभएको छ, के गर्नुभएको छैन र? प्रभु येशूले भन्नुभयो त्यसो गर्नु पनि पाप गर्नुजस्तै हो।

तपाईं परमेश्वरलाई प्रेम गर्छु भन्नुहुन्छ, तर के उहाँको आज्ञापालन गर्नुहुन्छ? के तपाईंको सारा हृदयले परमेश्वरलाई प्रेम गर्नुहुन्छ? के तपाईं हरेक दिन बाइबल पढ्न मन पराउनुहुन्छ? के तपाईं हरेक दिन प्रार्थनामा एकलै परमेश्वरसित समय बिताउन मन पराउनुहुन्छ? के तपाईं फुर्सदको समयमा प्रार्थना र बाइबल पढ्ने कुरामा समय बिताउने विचार नगरी भिडियो गेम खेलेर वा टेलिभिजनमा खेल हेरेर बिताउनुहुन्छ? म भन्छु, त्यसरी तपाईं परमेश्वरलाई साँच्चै प्रेम गर्नुहुन्न भन्ने देखाउनुहुन्छ, तपाईं परमेश्वरलाई प्रेम गर्ने कुरा मात्र गर्नुहुन्छ। तर वास्तवमा तपाईं परमेश्वरलाई घृणा गर्नुहुन्छ। तपाईं वास्तवमा आफैलाई मात्र प्रेम गर्नुहुन्छ। विचार गर्नुहोस्! के मैले भनेको कुरा सत्य होइन र? के तपाईं साँच्चै परमेश्वरलाई तुच्छ ठान्ने एक पापी हुनुहुन्न र? के तपाईं पास्टरसँग डराउनुहुन्न र? तपाईं मसँग किन डराउनुहुन्छ? के मैले तपाईंलाई परमेश्वर र पापको विषयमा सोच्न बाध्य पारेकोले गर्दा होइन र? के त्यही कारण तपाईंहरू मसँग डराउनुभएको होइन र?

के तपाईंलाई जोन केगनको प्रेमी-प्रेमिकासँग कसरी भेट्ने भन्ने सम्बन्धी प्रवचन साँच्चै मन परेको होइन र? तपाईं चनाखो भई बस्नुभयो र ध्यान लगाएर सुन्नुभयो। मैले पाप, उद्धार र ख्रीष्टको विषयमा प्रचार गर्दा तपाईं त्यसो गर्नुहुन्न। मैले ख्रीष्ट र तपाईंलाई बचाउन क्रूसमा भएको उहाँको मृत्युको बारेमा गरेको प्रचारभन्दा कसैसँग प्रेम-मिलन गर्ने विचार धेरै चाखलाग्दो भएको जस्तो लाग्छ। यदि त्यस्तै हो भने र मैले भनेको कुरा सही हो भनी तपाईं जान्नुहुन्छ भने त्यसले यही प्रमाण दिन्छ, कि ख्रीष्टलाई हृदयबाटै प्रेम नगर्ने एक विद्रोही पापी हुनुहुन्छ। यो कुरा मानिलिनुहोस्। तपाईंले मानिलिनै पर्छ र तपाईं एक हराएको पापी हुनुहुन्छ भनी बुझ्नुपर्छ। यो कुरा तपाईंले स्वीकार गर्नै पर्छ, नत्र भने तपाईंको निम्ति कुनै आशा छैन। अँहँ, तपाईंको निम्ति एउटै पनि आशा छैन।

“आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ” (हितोपदेश २८:१३)।

अहिले, तपाईंको भित्री पापी हृदयको पापमय अवस्था स्वीकार गर्नुहोस्, नत्र भने तपाईंले अनन्तको समय आगोको कुण्डमा बिताउनु पर्नेछ। यो सत्य कुरा हो। म तपाईंसँग एक वयस्कसँग जस्तो बोलिरहेको छु। यो बाल-संगति(सन्डे स्कुल)को मिठो पाठ होइन। यो जोएल अस्टीनले केटाकेटीहरूसँग गरेको मिठो कुरा होइन। यो जोन म्याक अर्थरले गरेको एक-एक पदको व्याख्या होइन। यो तपाईंलाई जगाउने पुरानो समयको जस्तो प्रवचन हो। यो प्राचीन स्कूलको एउटा सुसमाचारीय प्रवचन हो। यो एउटा यस्तो प्रवचन हो, जुन प्रवचनलाई परमेश्वरले तपाईंमा पापी हृदय छ, पापमा मरेको हृदय छ भनी देखाउन प्रयोग गर्न सक्नुहुन्छ। म तपाईंहरूसँग त्यसरी बोलिरहेको छु, जसरी हरेक प्रचारक बोल्नुपर्छ। म तपाईंहरूको पैसा चाहँदिनँ। तपाईंहरूको पैसा नरकमा जाओस्। म तपाईंहरूको आत्मा चाहन्छु। म तपाईंहरूले येशूद्वारा उद्धार पाएका देख्न चाहन्छु। म परमेश्वरले तपाईंहरूका पापी हृदयलाई परिवर्तन गर्नुभएको अनि त्यसलाई ख्रीष्टको रगतले शुद्ध पारेको देख्न चाहन्छु। म त्यत्ति मात्र चाहन्छु। अहिले तपाईंहरू जस्तो पाखण्डी हुनुहुन्छ, त्यसबाट परिवर्तन भएर आनन्दित ख्रीष्टियन बन्नुहोस् भन्ने म चाहन्छु। एक पाखण्डी व्यक्ति हेर्दा ख्रीष्टियनजस्तै देखिन्छ, तर भित्रपट्टि उसको हृदय 'मरेका मान्छेहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्,... बाहिर मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछ, तर भित्र भने कपट र दुष्टताले भरिएको हुन्छ'(मत्ती २३:२७,२८)। अनि तपाईंहरू जस्तो हुनुहुन्छ त्यस्तै हुन तपाईंहरूलाई मन पर्छ। तपाईंहरूको हृदय यति धेरै पापले भरिएको छ, कि तपाईंहरू ख्रीष्टियन जस्तो देखिने कोसिस गर्नुहुन्छ- तर तपाईंहरूको हृदयलाई हेर्नुहोस्। तपाईंहरूको हृदय पाप, कामवासना र अविश्वासले भरिएको छ। तपाईंहरूको हृदय पनि कयिनको जस्तै विद्रोही छ।

उत्पत्ति ५:१,३ ले आदमको पापले सारा मानव जातिलाई नाश पाऱ्यो भन्ने प्रमाण दिन्छ। त्यसैकारण तपाईंहरूको हृदय पापमा मरेको छ। उत्पत्ति ५:१ मा हामी 'परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा बनाउनुभएको' देख्छौं(उत्पत्ति ५:१)। तर आदमले विद्रोह गऱ्यो अनि पाप गरेर आफ्नो निर्दोषपन गुमाए। त्यसपछि हामी पढ्छौं आदमले 'आफ्नै स्वरूपमा एउटा छोरा जन्माए' (उत्पत्ति ५:३)। आदम निर्दोष अवस्थामा हुँदा तिनी परमेश्वरको स्वरूपमा- परमेश्वरजस्तै निर्दोष अवस्थामा सृष्टि गरिएका थिए भनिएको छ। तर तिनले पाप गरेपछि तिनी 'आफ्नै स्वरूपको छोराको' पिता बने- जो पापको दोषी, स्वभावले नै एक पापी थियो(उत्पत्ति ५:३)।

अनि तपाईंहरू पनि त्यही स्वरूप लिएर जन्मनुभएको थियो- विद्रोह गरेपछि आदम स्वभावैले पापी भएझैं तपाईं पनि हुनुहुन्छ। तपाईं स्वभावले नै पापी हुनुहुन्छ। तपाईंका आमा-बुबाहरू स्वभावले नै पाप हुन्। तपाईंले स्कूल वा काम गर्ने ठाउँमा चिन्नुभएको प्रत्येक व्यक्ति स्वभावले नै पापी हुन्। सुधार्न नसकिने पापीहरू, जसले आफ्नो दुष्ट हृदय परिवर्तन गर्नका निम्ति एउटै पनि कुरा गर्न सक्दैन। तपाईं भन्नुहुन्छ,'के रे, मेरी आमामा पापी हृदय छ के?' हो छ, तिनको हृदय पनि तपाईंको जस्तै, वा आदमको अरू कुनै पनि सन्तानको जस्तै विद्रोही र पापी छ। सारा मानव जाति नाश भएको थियो र मृत्यु सबैका निम्ति आउँछ। यी सबै कुराहरू आदमको पापको कारण आउँछ। याद गर्नुहोस्, तिनलाई चेताउनी दिइएको थियो। याद गर्नुहोस्, तिनले आज्ञापालन नगर्ने कुनै कारण थिएन। याद गर्नुहोस्, तिनी मर्नेछन् र पछिबाट जन्मने सारा मानव जातिलाई नाश पार्नेछन् भनी तिनले राम्ररी जान्दथे। याद गर्नुहोस्, आदम जो अति असल र शुद्ध मानिस थियो- तिनी पापद्वारा परिवर्तन भई अति खराब मानिस बने। हरेक सद्दे मानिसले हिटलरलाई घृणा गर्दछ, किनकि तिनले साठी लाख यहूदीहरूको हत्या गरेका थिए। तर आदमको तुलनामा हिटलर स्वर्गदूतझैं निर्दोष थिए। हिटलरले साठी लाख मानिसको हत्या गरे। तर आदमले सारा मानव जातिको हत्या गरे। अर्बौं, खर्बौं मानिसको हत्या गरे। आदमले तपाईंको हृदयलाई नाश पाऱ्यो। आदमले तपाईंलाई चर्च जाने पाखण्डी बनायो- तिनले तपाईंलाई यस्तो पाखण्डी बनायो जसले आफ्नो हृदय परिवर्तन गर्न सक्दैन- यस्तो पाखण्डी जो नरक जान्छ- जसले पाप उत्तारधिकारको रूपमा प्राप्त गरेको कारण अनि उसलाई बचाउने एक मात्र व्यक्ति अर्थात् येशू वा अन्तिम आदमलाई इन्कार गरेको कारण त्यहाँ जाने लायकको छ। पहिलो आदमले तपाईंलाई विद्रोही र पापी हृदय दियो। अन्तिम आदम, ख्रीष्ट एक मात्र त्यो व्यक्ति हुनुहुन्छ जसले तपाईंलाई एउटा नयाँ हृदय दिन सक्नुहुन्छ। ख्रीष्टले मात्र तपाईंको ढुङ्गाको हृदय हटाएर 'मासुको हृदय दिन सक्नुहुन्छ'(इजकिएल ३६:२६)। पुनर्जन्म वा नयाँ गरी जन्मनु भनेको त्यही नै हो।

अब हामी कठिन भागमा आइपुग्यौं। आफ्नो हृदय परिवर्तन गर्न नसक्ने व्यक्तिले कसरी उद्धार पाउन सक्छ? तपाईं नयाँ गरी जन्मनै पर्छ। नयाँ जन्म हुनु भनेको एउटा अति नै महत्त्वपूर्ण सिद्धान्त हो। अहिलेको समयमा प्रचारकहरू यस विषयमा बोलेका म त्यत्ति सुन्दिनँ। हाम्रा चर्चहरू मरिरहेका छन्, जुन अचम्म मान्नुपर्ने कुरा होइन। 'पुनर्जन्म' वा 'नयाँ जन्म' भन्ने शब्दले परमेश्वरले गर्नुहुने त्यो कामलाई बुझाउँछ, जसले हृदय परिवर्तन गर्दछ अनि त्यसलाई मृत्युबाट जीवनमा ल्याउँदछ। ख्रीष्टले पुनर्जन्मलाई 'नयाँ गरी जन्मनु' भन्नुभयो, जुन आत्मिक परिवर्तन हो, पवित्र आत्माको कामद्वारा एउटा नयाँ हृदय सृष्टि गर्नु हो, एउटा यस्तो काम जसमा एक व्यक्ति आदमको सन्तानबाट परमेश्वरको सन्तानमा परिवर्तन हुन्छ। पुनर्जन्म परमेश्वरले मात्र गर्नुहुने काम हो, एउटा यस्तो काम जसमा उहाँले आदमबाट प्राप्त भएको त्यो मरेको हृदयलाई फेरि जीवित पार्नुहुन्छ। नयाँ जन्म आवश्यक छ, किनकि तपाईंको पुनर्जन्म हुनुभन्दा अघि तपाईं तपाईंको हृदय मरेको थियो।

मैले कुनै जवान मानिसको सर्वोत्तम जीवन गवाही पढेको छु भने त्यो जोन केगनको जीवन गवाही हो। यो पनि सही हो कि त्यो पढने एक जना व्यक्तिले मलाई पन्ध्र वर्षे केटोले त्यस्तो गवाही दिन सक्दैन भनेको थियो। त्यस व्यक्तिले त मैले नै त्यो लेखेको हुनपर्छ, होइन भने मैले त्यो सच्च्याएको र त्यसमा थपथाप पारेको हुनुपर्छ भनी मलाई दोष लगायो। तर जोन आफै यहाँ मञ्चमा मेरो साथमा बसिरहेका छन्। मैले वा तिनका पिता डा. केगनले त्यो लेखेको वा त्यसमा कुनै परिवर्तन गरेको होइन भनी तिनले तपाईंलाई निश्चयता दिन सक्छन्। जोनको जीवन गवाही पढेर वा सुनेर मात्र पनि प्रभुमा विश्वास गरेका मानिसहरू हामीसँग छन्।

पहिलो आदममा भएको मानिसको हृदयको मृत्युलाई उल्टाउनु परेको थियो। ख्रीष्ट, अर्थात् अन्तिम आदमद्वारा फेरि त्यसलाई जीवित पार्न परेको थियो। यो कुरा प्रेरित पावलले स्पष्ट बताएका छन्,

“यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति छुटकारा र जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्” (रोमी ५:१८,१९)।

फेरि प्रेरित पावलले आदम र ख्रीष्टको तुलना गर्छन्,

'पहिलो मानिस आदम जीवित प्राणी भयो।' अन्तिम आदम(ख्रीष्ट)जीवन दिने आत्मा बन्यो” (१ कोरिन्थी १५:४५)।

ख्रीष्ट(अन्तिम आदम)ले मात्र एक पापीको मरेको हृदयलाई जीवन दिन सक्नुहुन्छ। ख्रीष्टले हृदयलाई पापको दासत्वबाट एउटा नयाँ हृदयमा परिवर्तन गर्नुहुन्छ, एउटा यस्तो हृदय जसले परमेश्वरलाई प्रेम गर्दछ। यो काम त्यत्ति बेला शुरु हुँदछ, जब पवित्र आत्माले तपाईंको पापी हृदयका निम्ति तपाईंलाई दोषी ठहराउनुहुनेछ(यूहन्ना १६:८)। त्यसपछि परमेश्वरका आत्माले तपाईंलाई ख्रीष्ट प्रकट गर्नुहुन्छ (यूहन्ना १६:१४,१५)। अन्त्यमा परमेश्वरले तपाईंलाई ख्रीष्टमा खिँच्नुहुन्छ (यूहन्ना ६:४४)। जोन केगनको जीवन गवाहीमा पुनर्जन्मका ती तीन चरण देखाइएका छन्। पहिलो खण्डमा जोनले आदमबाट प्राप्त गरेको तिनको दुष्ट हृदयको कुरा गर्छन्। दोस्रो खण्डमा परमेश्वरले तिनलाई जोरदार रूपले दोषी ठहराउनुभएको र त्यसको कारण तिनलाई ठूलो पीडा भएको चर्चा गर्छन्। तिनी भन्छन्,'मैले आफैलाई, मेरो पापलाई र त्यसद्वारा हुने अनुभवलाई घृणा गर्न थालें।' तेस्रो खण्डमा जोनले मेरो प्रचारलाई तिनको पापी हृदयले घृणा गरेको अनि तिनले ख्रीष्टलाई इन्कार गरेका बारेमा बताएका छन्। त्यो तिनको पापी हृदय र परमेश्वर बीचको ठूलो लडाइँ थियो, अनि ख्रीष्टमा आउन तिनको अयोग्यता थियो। चौथो खण्डमा ख्रीष्टले तिनलाई पापबाट बचाउन क्रूसमा कष्ट भोग्नु भएको बारेमा तिनले सोच्न थालेको कुरा गर्छन्। त्यो विचारले तिनको हठी इच्छालाई तोड्यो अनि अन्त्यमा ख्रीष्टको शरणमा गयो। आखिरीमा तिनको जीवन परिवर्तन भएपछि जोन भन्छन्,'ख्रीष्टले मेरो निम्ति उहाँको आफ्नो जीवन दिनुभयो र यसको निम्ति म मेरा सबै कुरा उहाँलाई दिन्छु, किनकि उहाँले मलाई परिवर्तन गर्नुभएको छ।' म ठोकुवा दिएर भन्छु। तिनी एक खराब केटो थिए। तर अब तिनी परमेश्वरका जन भएका छन्।

अर्को महीना जोन केगन एक ब्याप्टिस्ट सेवक बन्ने तयारी गर्न थिअलजिकल सेमिनरीमा भर्ना हुँदैछन्।

तपाईं चाहे जो हुनुभए पनि- तपाईं मरेको हृदय भएको एक हराएको पापी हुनुहुन्छ, मरेको हुनुहुन्छ, किनकि तपाईं आदमको पापको साङलोले बाँधिएको हुनुहुन्छ। यदि तपाईं त्यस्तो हुनुहुन्छ भने ख्रीष्ट येशू एक मात्र आशा हुनुहुन्छ- जसरी चार्ल्स वेस्लीले भनेका छन्, किनकि उहाँले मात्र 'रद्द गरिएको पापको शक्तिलाई तोड्न अनि कैदीलाई छुटकारा दिन सक्नुहुन्छ।' ख्रीष्टमा तपाईंको हृदय परिवर्तन गर्ने अनि त्यसलाई उहाँको आफ्नै रगतले शुद्ध पार्ने शक्ति छ। उहाँमाथि विश्वास गर्नुहोस् र उहाँले तपाईंलाई बचाउनुहुनेछ।

यदि तपाईं पापबाट उद्धार पाउने विषयमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने कृपया आउनुहोस् अनि डा. केगन, जोन केगन र मसँग कुराकानी गर्नुहोस्। श्री ग्रिफिथले 'येशूमा..' भन्ने भजनका तीनैओटा खण्ड दुइ चोटि गाउने छन्, त्यो समय तपाईंहरू हामीसँग कुराकानी गर्न आउनुहोस्।

मेरा हजारौं कोसिस भयो व्यर्थ
   मेरो डर दबाउने, मेरो आशा जगाउने
तर मलाई जे चाहिन्छ, बाइबलले भन्छ
   सधैं येशू मात्र हुन्।

मेरो आत्मा अँध्यारो, मेरो हृदय कठोर छ
   देख्न म सक्तिनँ, महसुस गर्न सक्तिनँ
ज्योति, जीवनका निम्ति बिन्ती गर्नैपर्छ
   सरल विश्वास लिई येशूमा।

कोही हाँसे पनि, कसैले दोष्याए पनि
   म मेरा सारा दोष र शरम लिई जान्छु
म उहाँकहाँ जान्छु किनकि
   सबैभन्दा सर्वोच्च नाउँ येशू हो
('इन जिजस' जेम्स् प्रोक्टकद्वारा रचित,१९१३)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री नोआ सङद्वारा पवित्रशास्त्र पठन गरियो– रोमी ५:१७-१९
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('इन जिजस' जेम्स् प्रोक्टकद्वारा रचित,१९१३)