Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




डामेको विवेक

THE SEARED CONSCIENCE
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, १६ अक्टोबर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, October 16, 2016

'पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्। झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ' (१ तिमोथी ४:१-२) ।


बाइबलले भन्छ, आखिरी समयमा मानव जाति खराब झन्-झन् दुष्ट बन्नेछ। अहिले देखिने हरेक चिन्हले हामी त्यो आखिरी समयमा जिइरहेका छौं भन्ने संकेत गर्दछ। बाइबलको आधुनिक अनुवादले यो समय कस्तो हुने बताउँछ, सो सुन्नुहोस्। इतिहासको आखिरी समयमा मानिसहरूको व्यवहार कस्तो हुनेछ। यसले भन्छ,

“'तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन् किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमन्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बाबुको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने,.. ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्”' (२ तिमोथी ३:१-४,१२,१३)।

आखिरी दिनहरूमा यस्तो डरलाग्दो अवस्थाको हामी सबैले सामना गर्नेछौं। विश्वास त्याग र पाप भइरहेको यस समयमा तपाईं यही कुराको सामना गर्नुहुन्छ। बाइबलले हामी डरलाग्दो, भयानक समयमा जिउनेछौं भनेकोमा हामी अचम्मित हुनु पर्दैन। हामी व्यभिचार फैलिएको समयमा जिउन परेकोमा अचम्मित हुनु पर्दैन। अहिलेका चलचित्रहरू डरलाग्दा छन्, कामवासना, रगत चुस्ने पिसाचहरू र रक्तपातहरूले भरिएका छन्- यसमा हामी छक्क पर्नुपर्दैन। यो कुनै अचम्मको कुरा होइन, कि मानिसहरू मृतकहरूको आत्मा जाग्ने दिवस, भूतात्माहरू र मृत्यु मन पराउँछन्। हाम्रा चर्चहरू खाली हुनु कुनै अचम्मको कुरा होइन, किनकि हाम्रा जवानहरू मात्ने र नाच्ने, गाँजा तथा नशालु औषधीहरू खाने पाटीहरूमा जान्छन्। तपाईं हरेक हप्ता चर्च गएको देखेर तिनीहरू हाँस्छन्, जुन अचम्मित हुनु पर्ने कुरा होइन। तपाईं शुद्ध जीवन जिउनुहुँदा, तपाईंले प्रार्थना गर्दा र बाइबल पढ्दा तिनीहरू तपाईंलाई अनौठो व्यक्ति मान्छन्, तर तपाईं अचम्मित नहुनुहोस्। बाइबलले त्यस्तै हुनेछ भनी भनेको छ,'आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्' (२ तिमोथी ३:१)।

तर यी सबै पाप, अन्यौलता र हत्याहरू कुन कारणले भइरहेछन्? हाम्रा राजनीतिज्ञहरू किन यति विघ्न दुष्ट भएका? किन दुष्टहरूको झुन्ड हाम्रा सड्कहरूमा भेला भएर पुलिसकर्मीहरूमाथि गोली हान्छ र भवनहरूमा आगो लगाउँछ? आज मुसलमान आतंकवादीहरूले बम फाल्नु र हत्या गर्नुको पछि कुन कारण छ? अनि तपाईंको पुस्ताले स्वार्थी र पापी जीवन जिउनका निम्ति किन हाम्रा चर्चहरूलाई त्यागेको छ? त्यसको उत्तर आजको हाम्रो बाइबल पदमा दिइएको छ,

'पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्। झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ' (१ तिमोथी ४:१-२)।

पवित्र आत्मा 'प्रष्टै' भन्नुहुन्छ। त्यसको अर्थ हो, परमेश्वरले यसको विषयमा स्पष्ट बताउनुभएको छ। तपाईंले यो महत्त्वपूर्ण सत्यता जान्नुहोस् भन्ने उहाँ चाहनुहुन्छ। संसारमा वास्तविक भूतात्माहरू छन् भनी तपाईंले राम्ररी जान्नुहोस् भन्ने परमेश्वर चाहनुहुन्छ। परमेश्वर भन्नुहुन्छ तिनीहरू बहकाउने(छल गर्ने) भूतात्माहरू हुन्। ती भूतात्माहरूले तपाईंलाई झुटो शिक्षा, 'भूतात्माहरूको सिद्धान्त' तिर लैजान्छ। यस्ता झुटा शिक्षाहरू पाखण्डी शिक्षकहरूद्वारा आउँछन्। तिनीहरू तपाईं स्कुल वा कलेजका शिक्षक हुन सक्छन्। तिनीहरूले तपाईंलाई विकासवादको झुटो कुरा सिकाउँछन्। तिनीहरूले तपाईं केही होइन एक पशु मात्र हुनुहुन्छ भनी भन्छन्। तिनीहरू तपाईंलाई परमेश्वर हुनुहुन्न भन्ने शिक्षा दिन्छन्। तिनीहरू तपाईंलाई सही र गलत भन्ने कुनै कुरा हुँदैन भनी सिकाउँछन्। तिनीहरू बाइबलमा धेरै गल्तीहरू छन् भन्छन्। यहाँसम्म कि तपाईंहरूमध्ये धेरै जनाका आमा-बुबाले पनि यस्तै कुरा सिकाउँछन्। हाम्रा सहरहरू अपराधले भरिएको देख्दा अचम्मित हुनु पर्दैन। तपाईं कुन कुरामा विश्वास गर्ने भनी अलमल्ल पर्नुहुन्छ भने त्यसमा पनि अचम्मित हुनु पर्दैन।

भूतात्माको वशमा परेका यी मानिसहरूले त्यसै गर्छन्, किनकि तिनीहरूका विवेक 'तातो फलामले डामेको' हुन्छ। अर्थात् तिनीहरूका विवेक डढेको र त्यसमा खाटो बसेको हुन्छ। तिनीहरू केही थाहा नपाउने भइञ्जेलसम्म भूतात्माहरूले तिनीहरूका विवेकलाई डढाउँछ। तिनीहरू सही र गलतबीचको भिन्नता छुट्ट्याउन नसक्ने होउञ्जेल तिनीहरूका विवेक डढाइन्छ र डामिन्छ। तिनीहरूमध्ये धेरै जनाका हृदय र मनमाथि भूतात्माहरूको पूर्ण नियन्त्रण छ।

अनि यी भूतात्माहरूको उद्देश्य तपाईंको विवेकलाई नाश पार्नु पनि हो। तिनीहरू तपाईंलाई आफ्नो अधीनमा राख्न चाहन्छन्। अनि तपाईंको विवेकलाई डामेर तपाईंलाई आफ्नो अधीनमा पार्न चाहन्छन्।

जब परमेश्वरले मानिस सृष्टि गर्नुभयो, उहाँले उसलाई विवेक दिनुभयो। उहाँले मानिसभित्र 'जीवनको सास' हालिदिनुभयो। यसको हिब्रू शब्द 'नेसामाह' हो। नेसामाहले मानिसलाई पशुहरूमा नपाइने दुइ ओटा थोक दियो, पहिलो, परमेश्वरलाई चिन्ने क्षमता; र दोस्रो, सही र गलत जान्ने क्षमता।

के तपाईंले डिस्नी चलचित्र 'पिनोकिओ' हेर्नुभएको छ? पिनोकिओ एउटा कठपुतली हो। तर ऊ एक वास्तविक केटो हुन चाहन्छ। तापनि कठपुतली भएकोले उसँग विवेक हुँदैन। विवेकको साटो उसँग एउटा सानो फटेङ्ग्रो हुन्छ, जसले उसलाई के सही र के गलत हो भनी बताउँछ। त्यो फटेङ्ग्रो साथमा नहुँदा ऊ धेरै ओटा समस्यामा पर्छ। तर जब ऊ एक वास्तविक केटो बन्छ, तब उसलाई मार्गनिर्देशन गर्न फटेङ्ग्रोको आवश्यकता पर्दैन। वास्तविक केटो बनेपछि उसलाई सही र गलत बताउने एक वास्तविक विवेक उसले पाउँछ।

पहिलो मानिस आदमसँग यसको ठीक विपरीत कुरा भयो। जब आदमले पाप गऱ्यो तब ऊ एक वास्तविक मानिसबाट शैतानको कठपुतली बन्यो। भूतात्माद्वारा उसको विवेक तातो फलामले डामियो र ठीकसँगले काम गर्न छोड्यो। परमेश्वरले उसको पापको बारेमा सोध्नुहुँदा उसले बहाना बनायो। आफूलाई पापको दोषी मान्नुको साटो उसले बरु परमेश्वरदेखि लुक्ने कोसिस गऱ्यो। परमेश्वरले उसलाई भेट्टाउनुहुँदा आदमले आफ्नो पाप स्वीकार नगरेर त्यसको निम्ति बहाना बनायो। उसको पहिलो छोरो कयिनमा पनि पिता कै नष्ट भएको विवेक थियो। उसले आफ्नै भाइको हत्या गर्दा पनि आफूलाई पापको दोषी मानेन। आफ्नो पाप मानिलिनुको साटो उसले बहानाहरू बनायो। पाप स्वीकार गर्नुको साटो ऊ झन्-झन् दुष्ट हुँदै गयो। अब शैतानले उसको विवेकलाई तातो फलामले डामेको थियो। 'तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर गयो,' अनि नोद भन्ने देशमा बस्न लाग्यो, नोदको अर्थ 'घुमिहिँड्नुपर्ने' देश हो। उसले आफ्नो पापको निम्ति क्षमा पाउनुपर्ने आवश्यकता महसुस गरेन। ऊ एक डुलुवा, नमरूञ्जेल संसारमा डुलिहिँड्ने व्यक्ति बन्यो अनि मरेपछि नरक गयो। शैतानले उसलाई परीक्षा गऱ्यो। शैतानले उसलाई आफ्नै भाइको हत्या गर्न लगायो। शैतानले तातो फलामले उसको विवेक डाम्यो- उसको निम्ति उद्धार पाउन धेरै ढिलो भइसकेको थियो। जब शैतानले त्यो हदसम्म तपाईंको विवेकलाई डाम्छ, तब तपाईंको निम्ति उद्धार पाउन धेरै ढिलो भइसकेको हुन्छ। तपाईं फेरि कहिल्यै पनि आफूलाई दोषी महसुस गर्नुहुन्न। तपाईंको विवेक मर्नेछ। तपाईं येशूको रगतद्वारा शुद्ध हुन कहिल्यै पनि उहाँकहाँ आउनुहुनेछैन। तपाईं जीवनभरि भड्किरहनुहुनेछ, अनि अन्त्यमा मरेर अनन्तका निम्ति नरक जानुहुनेछ। तपाईंको विवेक नडामिन्जेल यदि तपाईं पापमा लागिरहनुहुन्छ भने आज बिहान तपाईंहरू प्रत्येकलाई यस्तो हुन सक्छ। त्यसपछि तपाईं कहिल्यै पनि आफूलाई पापको दोषी महसुस गर्नुहुन्न। त्यसपछि तपाईं कहिल्यै पनि ख्रीष्टकहाँ आउन सक्नुहुन्न र क्रूसमा बगाइएको उहाँको रगतद्वारा कहिल्यै पनि शुद्ध हुन सक्नुहुन्न। आफ्नो पापको निम्ति आफूलाई दोषी महसुस नगर्ने व्यक्तिले कहिल्यै पनि उद्धार पाउन सक्दैन। ऊ परमेश्वरद्वारा त्यागिएको हुन्छ। उसले क्षमा हुन नसक्ने पाप गरेको हुन्छ। ऊ कयिनजस्तै शैतानको दास बनेको हुन्छ।

म तपाईंलाई होसियार गराउँछु, शैतानलाई तपाईंको विवेक डाम्न नदिनुहोस्। तपाईंको विवेक सधैंका निम्ति डामिनुभन्दा अघि नै पापबाट येशूमा फर्कनुहोस्।

तपाईं बिग्रिएको विवेक लिएर जन्मनुभएको थियो। तपाईंले पनि कयिनले झैं आदमबाट त्यो प्राप्त गर्नुभयो। एक बालकको रूपमा तपाईंले आफ्नो विवेकलाई अझ डाम्नुभयो। हरेक पल्ट जब तपाईं आफ्ना आमा-बुबासँग झुटो बोल्नुभयो, त्यसलाई अझ डाम्नुभयो। हरेक पल्ट तपाईंले कुनै थोक चोरी गर्दा त्यसलाई अझ बढी डाम्नुभयो। हरेक पल्ट स्कुलमा ठग्नुहुँदा त्यसलाई अझ बेसी डाम्नुभयो। हरेक पल्ट तपाईंले छाडा पुस्तक-चलचित्र हेरेर आफैलाई कामवासनाका विचारहरूले उत्तेजित पार्दा त्यसलाई अरू डाम्नुभयो। अन्त्यमा तपाईंले यस्ता कुराहरू जानीजानी गर्नुभयो- अझ ठूल्ठूला पापहरू गर्दै आफ्नो विवेकलाई डाम्नुभयो। यस्ता पापाहरू जसको विषयमा कसैले पनि जान्दैन। त्यस्तो पाप जसले तपाईंकी आमालाई तपाईंको कारण लज्जित तुल्याउँछ। तपाईंको विवेक झन्-झन्- डामिँदै जान्छ, अन्त्यमा तपाईं यस्ता पापहरू गर्न थाल्नुहुन्छ, जुन तपाईंले गर्नुहुनेछ भनी कहिल्यै पनि सोच्नुभएको हुँदैन। तर अब तपाईं ती गर्नुहुन्छ र ती गर्न तपाईंलाई रमाइलो लाग्छ- ती गर्न तपाईंलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन। तपाईंका पापहरू के-के छन् भनी तपाईं जान्नुहुन्छ। मैले ती भनिरहनुपर्दैन। तपाईं ती पापको विषयमा कुनै चिन्ता गर्नुहुन्न। वास्तवमा, अब त तपाईं एक पापी हुन मन पराउनुहुन्छ।

त्यसैकारण तपाईंहरूमध्ये कोही-कोही चर्चमा आउन मन पराउनुहुन्न। हामीले तपाईंका पापहरूको बारेमा बताउँदा त्यो तपाईंलाई मन पर्दैन। मैले तपाईंहरूको पापको विषयमा प्रचार गरेको मन पराउनुहुन्न। तपाईंहरूमध्ये कोही-कोही म बिरामी भएर कठोर प्रकारले प्रचार गर्न नसक्दा खुशी बन्नुहुन्छ। मेरो बदली जोन केगन र नोआ सङले प्रचार गर्दा तपाईंहरू खुशी बन्नुहुन्छ। उनीहरू मभन्दा सहज छन् भन्ने तपाईंहरू सोच्नहुन्छ। तर तपाईंहरू देख्नुहुन्छ, उनीहरूले अहिले मैलेभन्दा पनि कठोर प्रकारले पापको विरुद्ध प्रचार गर्न थालेका छन्। अब तपाईंहरूमध्ये कसै-कसैले यो चर्च छोडेपछि मात्र यस्तो प्रचारबाट बच्न सकिनेछ भनी सोच्न थाल्नुभएको छ। तपाईंहरू को हुनुहुन्छ म जान्दछु। तपाईंहरू आफ्नो सारा हृदयले मलाई घृणा गर्नुहुन्छ। तपाईहरू म मरेको चाहनुहुन्छ। तपाईंहरू नोआ र जोन पनि यहाँबाट चाँडै जाऊन् भन्ने चाहनुहुन्छ। तपाईंको विवेक यति नराम्रोसँगले डामिएको छ, कि तपाईंहरू यो चर्च छोडेर जान चाहनुहुन्छ। शैतानले तपाईंहरूलाई दह्रिलो गरी पक्रेर राखेको छ। त्यसले तपाईंहरूको विवेक तातो फलामले डामेको छ। एउटा यस्तो समय थियो, जब तपाईं उद्धार पाउनका निम्ति येशूमा आउन सक्नुहुन्थ्यो। तर अहिले तपाईंहरूमध्ये कसै-कसैले येशूलाई समेत घृणा गर्न थाल्नुभएको छ। तपाईं येशूको नाउँ सुन्न मन पराउनुहुन्न

अहो, तपाईं उहाँलाई त्यत्ति धेरै घृणा कसरी गर्न सक्नुहुन्छ? उहाँले तपाईंलाई यति धेरै प्रेम गर्नुहुन्छ, त्यस्तो प्रेम त तपाईंलाई अहिलेसम्म कसैले गरेको छैन। येशूले तपाईंको निम्ति संसारमा आई दुःख भोग्नका निम्ति स्वर्गको महिमा त्याग्नुभयो। तपाईंको पाप उहाँको पापरहित प्राण(आत्मा)मा राखियो। तपाईंलाई उद्धार गर्न गेतसमनीको बगैंचामा उहाँले पसीन रगतका ठूला-ठूला थोप्लाजस्तै बगाउनुभयो। तपाईंलाई उद्धार गर्न उहाँलाई पिटिँदा, उहाँको दाह्री तान्दा र उहाँलाई थुकिँदा पनि उहाँ चुप लागेर बस्नुभयो। तपाईंलाई बचाउन, तपाईंलाई निको पार्न र तपाईंलाई एउटा नयाँ जीवन दिन त्यत्तिसम्म दुःख भोगेर तपाईंलाई प्रेम गर्ने अरू कोही पनि भेट्नुहुनेछैन। येशू तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई बचाउनुहुनेछ। उहाँले तपाईंको डरलाई शान्त पार्नुहुनेछ र तपाईंको प्राणलाई निको पार्नुहुनेछ। उहाँले तपाईंको बिग्रेको, भत्केको विवेकलाई फेरि नयाँ बनाउनुहुनेछ। त्यसैकारण उहाँ क्रूसमा तपाईंका निम्ति मर्नुभएको हो। तिनीहरूले उहाँका हात र खुट्टाहरूमा ठूल्ठूला कीलाहरू ठोके। चर्को घाममा उहाँ क्रूसमा झुन्डिनुभयो- उहाँको जिब्रो यसरी सुक्यो कि त्यो उहाँको मुखको तालुमा टाँसियो।

येशूले तपाईंलाई घृणा गर्नुहुन्न। उहाँले तपाईंलाई घृणा कसरी गर्न सक्नुहुन्छ र? तपाईंलाई प्रेम गर्नुभएकै कारण उहाँ संसारमा आउनुभयो। तपाईंलाई प्रेम गर्नुभएकै कारण उहाँले क्रूसमा वर्णन नै गर्न नसकिने भयानक मृत्यु भोग्नुभयो। येशूले सधैं तपाईंलाई प्रेम गर्नुभएको छ। अनि येशूले अहिले पनि तपाईंलाई प्रेम गर्नुहुन्छ।

मेरो जीवन गवाही जोन केगेनको भन्दा ठीक विपरीत छ। तापनि मूल रूपमा उस्तोउस्तै छ। जोनले उसका पापहरूका निम्ति गर्व गर्थ्यो र मानिसहरूलाई दुःख दिन रमाइलो मान्थ्यो। म आफ्नो पापमा गर्व गर्दिनँथेँ र मानिसहरूलाई दुःख दिने कोसिस कहिल्यै पनि गरिनँ। जोन परमेश्वरलाई घृणा गर्ने मानिसहरूसित- अर्को शब्दमा भन्नुपर्दा, हराएको चर्चका केटाकेटीहरूसँग हेलमेल गर्थ्यो। म चर्चका केटाकेटीहरूलाई मन पराउँदिनँथेँ, अनि सकेसम्म तिनीहरूबाट टाढा बस्थेँ। जोनले केही हप्तासम्म आफूलाई पापको निम्ति दोषी महसुस गऱ्यो। मैले सात वर्षसम्म आफूलाई पापको निम्ति दोषी महसुस गरेँ। जोन नराम्रो केटो हुन चाहन्थ्यो। म राम्रो केटो हुन चाहन्थेँ। हामी दुइको जीवन गवाहीका यी कुराहरू पूर्णरूपले विपरीत छन्।

तर दुइ प्रकारले हामी दुवै जना एउटै थियौं। हामी दुवैले उद्धार पाउन खोजिरहेका थियौं र पाउन सकेका थिएनौं। जोनले भन्यो, 'मैले आफैलाई ख्रीष्टमा दिने इच्छा गर्न सकिनँ, मैले ख्रीष्टियन बन्ने निर्णय गर्न सकिनँ, र यसले मलाई अति आशारहित महसुस गराएको थियो।' मैले पनि ठीक त्यस्तै महसुस गरेको थिएँ। जोनले केही हप्तासम्म आफूलाई पापको निम्ति दोषी महसुस गरेको थियो। मैले सात वर्षसम्म आफूलाई पापको निम्ति दोषी महसुस गरेको थिएँ। जोनको भनाइअनुसार परमेश्वरले नै उसलाई ख्रीष्टतिर खिँच्नुभएको थियो। तिनले भने,'किनकि मेरो आफ्नै इच्छामा म कहिल्यै पनि ख्रीष्टमा आउनेथिइनँ।' मलाई पनि ठीक यस्तै भएको थियो। जोनले नराम्रो हुने कोसिस गर्थ्यो। म राम्रो हुने कोसिस गर्थेँ। अनि हामी दुवैले आफैमाथि भरोसा राखेका थियौं, हामीमध्ये कसैले पनि ख्रीष्टमाथि भरोसा राखेका थिएनौं।

मैले असल बन्ने कोसिस गरेँ। परमेश्वर जान्नुहुन्छ, मैले असल बन्ने कति ठूलो कोसिस गरेको थिएँ। मैले चुरोट तान्न छाडेँ। म हरेक आइतबार बिहान चर्च जान्थेँ। म हरेक आइतबार बेलुकी चर्च जान्थेँ। एक पास्टर बन्नका निम्ति मैले सहज जीवन त्यागिदएँ। मैले सत्र वर्षको उमेरमा प्रचार गर्नका निम्ति आफूलाई समर्पण गरेँ। उन्नाईस वर्षको उमेरमा मैले ब्याप्टिस्ट प्रचारकको अनुमति-पत्र पाएँ। केही महीनापछि म एक मिसनेरी बन्न एउटा चिनियाँ चर्चमा गएँ। सबैले मलाई अति असल केटो ठान्थे। तर तिनीहरूले मेरो बारेमा वास्तविक कुरा जान्दैनथे। मेरो हृदय कति नराम्रो छ भनी तिनीहरू जान्दैनथे। म येशूले लूका १८ अध्यायमा चर्चा गर्नुभएको फरिसीजस्तो छु भनी तिनीहरू जान्दैनथे- असल कर्महरू गरेर उद्धार पाउन खोज्ने! म एक चिनियाँ बालकजस्तो थिएँ। म आफ्नो हृदयमा एक पापी नै छु भनी बताउने मेरो विवेकलाई त्यसो भन्नबाट म रोक्न सक्दिनँथेँ। एक जना यस्तो फोहोर पापी, जसले येशूलाई पटक्कै प्रेम गर्दैनथ्यो। एक बिहान येशू मकहाँ आउनुभयो र मैले जाने कि उहाँले मलाई प्रेम गर्नुहुन्छ। त्यो मैले पहिले कहिल्यै जानेको थिइनँ। मैले आफूलाई चर्चका अरू केटाकेटीभन्दा राम्रो ठान्थेँ- तर वास्तवमा म तिनीहरूभन्दा नराम्रो थिएँ। मैले धर्म पालन गर्थेँ, तर म येशूलाई पटक्कै चिन्दिनँथेँ। अनि उहाँ मकहाँ आउनुभयो। म आफै कहिल्यै पनि उहाँकहाँ जाने थिइनँ। मेरो विवेकले मेरो विचार झुटो हो भने पनि म आफूलाई असल ठान्थेँ। येशू मकहाँ आउनुभयो। मैले उहाँलाई मलाई बचाउनुहोस् भनी बिन्ती पनि गरिनँ। तर जे भए पनि उहाँले मलाई बचाउनुभयो। उहाँ ओर्लेर मकहाँ आउनुभयो र मलाई उहाँतिर खिँच्नुभयो। उहाँले आफ्नो रगतले धोएर मलाई शुद्ध पार्नुभयो।

कसैले मलाई प्रश्न गऱ्यो,'पास्टर, तपाईं किन सधैं येशूको रगतको विषयमा कुरा गर्नुहुन्छ?' कुरा सरल छ। म आफैले जे गर्न सक्दिनँ थिएँ, त्यो उहाँको रगतले गऱ्यो। उहाँले मलाई यति धेरै प्रेम गर्नुभयो,कि मेरो पापी प्राणलाई उहाँले आफ्नै रगतले धुनुभयो।

येशूले तपाईंलाई पनि प्रेम गर्नुहुन्छ। उहाँ तपाईंकहाँ आउनुहुनेछ। येशूमा विश्वास गर्नुहोस्, अनि तपाईंको विवेक र तपाईंका शङ्काहरू, तपाईंका परीक्षाहरू उहाँको बहुमूल्य रगतद्वारा पखालिएर हिउँजस्तै सेता हुन्छन्- किनकि उहाँले तपाईंलाई धेरै प्रेम गर्नुहुन्छ।

मैले कसैले मलाई प्रेम गरेको कहिल्यै महसुस गरिनँ। म एक त्यागिएको व्यक्ति थिएँ। म दुइ वर्षको हुँदा मेरा पिताले मलाई छोडेर गए। बाह्र वर्षको भएपछि म मेरी आमाको साथमा रहन सकिनँ। म ती मानिसहरूसँग बस्थेँ, जसले मलाई चाहँदैनथे। कसैले मलाई चाहँदैनथ्यो। त्यस कुराले मलाई उत्साहीन फरिसी बनाएको थियो। मैले तिनीहरू सबैभन्दा अझ असल बन्ने सोचेँ। मैले आफैलाई एक ख्रीष्टियन बनाउने भएँ।

तर मैले त्यसो गर्न सकिनँ। मैले धेरै कोसिस गरेँ। तर मैले त्यो गर्न सकिनँ। म हराएको थिएँ- धर्मभित्र हराएको थिएँ। तर येशूले मलाई प्रेम गर्नुभयो। अचानक मैले थाहा पाएँ, कि उहाँले मलाई प्रेम गर्नुहुन्छ। अनि उहाँ मकहाँ आउनुभयो र मेरो प्राणलाई उहाँको रगतले बचाउनुभयो। यदि उहाँले मजस्तो पाखण्डीलाई बचाउन सक्नुभयो भने आज बिहान यहाँ हुनुहुने कसैलाई पनि उहाँले बचाउन सक्नुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईंकहाँ आउनुहुनेछ। उहाँले तपाईंलाई आफ्नो पवित्र रगतले धोएर शुद्ध पार्नुहुनेछ। म जान्दछु, उहाँले त्यसो गर्नुहुनेछ, किनकि उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ। आमेन।

सुन्छु भनेको उद्धारकर्ताले, 'तिम्रो शक्ति तुच्छ छ;
कमजोर बालक, जाग र प्रार्थना गर, सर्वस्व तिम्रो ममा पाऊ।'
तिर्नुभो येशूले त्यो पूरा, छु म उहाँको ऋणी;
     पापले छोडेको दाग सिन्दूरे, हुन्छ हिउँझैं सेतो धोएर।


प्रभु, पाउँछु अब शक्ति तपाईंको, मात्र तपाईंको,
     कुष्ठरोगीको हुन्छ घाउ निको, पग्लन्छ ढुङ्गे हृदय मेरो
तिर्नुभो येशूले त्यो पूरा, छु म उहाँको ऋणी;
     पापले छोडेको दाग सिन्दूरे, हुन्छ हिउँझैं सेतो धोएर।

छैन कुनै असल ममा, माग्न अनुग्रह तपाईंको
धुन्छु वस्त्र मेरो सेतो रगतमा कल्भरीको थुमाको
तिर्नुभो येशूले त्यो पूरा, छु म उहाँको ऋणी;
     पापले छोडेको दाग सिन्दूरे, हुन्छ हिउँझैं सेतो धोएर।
('जिजस पेड इट अल'-एल्भिना एम. हल,१८२०-१८८९, द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो एरोन यान्सीद्वारा : २ तिमोथी ३:१-८
प्रवचनको अघि श्री नोआ सङद्वारा एकल गीत प्रस्तुत गरियो :
('जिजस पेड इट अल' -एल्भिना एम. हल,१८२०-१८८९, द्वारा रचित)