Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




एक जवान प्रचारकको हृदय परिवर्तनमा प्रयोग
गरिएका पाँच प्रवचनहरू

FIVE SERMONS USED IN THE CONVERSION
OF A YOUNG EVANGELIST
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बेलुकी, ९ अक्टुबर, २०१६ मा लस एन्जलसको द ब्याप्टिस्ट
टेबरनेकलमा प्रचार गरिएको प्रवचन।
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, October 9, 2016

'प्रचारकविना तिनीहरूले कसरी सुन्ने' (रोमी १०:१४)


मैले प्रचार गरेका प्रवचनहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण सायद सन् २००९ को जून महिनाका थिए। यी पाँच ओटा प्रवचन परमेश्वरद्वारा त्यस जवान मानिसलाई परिवर्तन गर्न प्रयोग गरिए, जुन जवानले प्रचार गरेको आज बिहान तपाईंहरूले सुन्नुभयो। ती पाँच ओटा प्रवचन जोन शमूएल केगनले तिनी परिवर्तन हुनुभन्दा ठीक अघि सुनेका थिए। जोन एक महान् प्रचारक हुने कुरामा म निश्चित छु, यसैले तिनको हृदय परिवर्तनमा प्रयोग गरिएका पाँच ओटा प्रवचन सायद मैले अहिलेसम्म प्रचार गरेका सबैभन्दा महत्त्वपूर्ण प्रवचनहरू हुन्। हिजोआज हृदय परिवर्तन गराउने प्रचार बिरलै हुन्छन्। तर प्रचार पापीहरूलाई परिवर्तन गराउन परमेश्वरले मुख्य़ साधनको रूपमा दिनुभएको एउटा तरिका हो। बाइबलले भन्छ,'प्रचारकविना तिनीहरूले कसरी सुन्ने'(रोमी १०:१४)। डा. जोन केगनले उद्धार पाउन ठीक अघि तलका पाँच ओटा प्रवचन सुने। यो प्रवचनको अन्त्यमा म तिनको सम्पूर्ण जीवन गवाही पढेर सुनाउनेछु। तर पहिले म तपाईंहरूलाई जोनले आफ्नो हृदय परिवर्तन हुनुभन्दा ठीक अघि सुनेका पाँच ओटा प्रवचनको सारांश बताउँछु। आज साँझ मैले बताउन लागेका बुँदाहरू ती प्रवचनका शीर्षकहरू हुन्।

१. पहिलो, 'उद्धार पाउनबाट टाढा नभएकाहरूलाई उत्साह' 'Encouragement to Those who are Not Far from Salvation' (यो ७ जून, २००९, आइतबार बिहान प्रचार गरिएको थियो।)

त्यस प्रवचनको मुख्य बाइबल पद थियो,'तिमी परमेश्वरको राज्यदेखि टाढा छैनौ'(मर्कूस १२:३४)। पवित्र आत्माले निश्चित रूपले यस व्यक्तिको हृदयमा काम गरिरहनुभएको थियो, किनकि परमेश्वरका आत्माले मात्र एक व्यक्तिमा भएको परमेश्वर विरोधी र ख्रीष्टलाई इन्कार गर्ने भावनालाई तोड्न सक्नुहुन्छ। परिवर्तन नभएको व्यक्ति परमेश्वरको विरुद्धमा र ख्रीष्टको शत्रु हुन्छ। मैले अर्को जवान मानिसको कुरा पनि गरें, जसले मलाई सोध्यो,'येशू किन क्रूसमा मर्न परेको थियो?' त्यो केटोले मैले यसो भनेको सुनेको थियो,'ख्रीष्ट हाम्रा पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो।' मैले केही वर्षदेखि बारम्बार त्यसो भनेको उसले सुनेको थियो, तर उसको अन्धो समझले त्यो कहिल्यै पनि बुझ्न सकेको थिएन। यी वचनहरूमाथि तपाईंले गहिरोरूपले विचार गर्नुपर्छ, 'ख्रीष्ट हाम्रा पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो।' कुन कुराले तपाईंलाई ख्रीष्टमा आउनदेखि रोक्दछ? के अरूहरूले के भन्लान् भनी तपाईं डराउनुहुन्छ? तिनीहरूले जेसुकै भनून् त्यो वास्ता नगर्नुहोस्। तपाईं जब नरकमा पुग्नुहुन्छ त्यसबेला तिनीहरूका कुराको कुनै महत्त्व हुँदैन। तपाईंका पापहरूबाट फर्केर ख्रीष्टमा आउनुहोस्। नरकबाट उम्कने अर्को कनै उपाय छैन।

२. दोस्रो, 'आधुनिक केल्भिनवाद र वास्तविक हृदय परिवर्तन' 'Modern Calvinism and Real Conversion' (यो ७ जून, २००९, आइतबार बेलुकी प्रचार गरिएको थियो।)

त्यस प्रवचनको मुख्य बाइबल पद थियो,'कोही ख्रीष्टमा छ भने त्यो एउटा नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्, हेर, सबै कुराहरू नयाँ भएका छन्'(२ कोरिन्थी ५:१७)। मैले केल्भिनवादको सिद्धान्त विरुद्ध प्रचार गरिनँ। बरु मैले भनें कि सिद्धान्तमा विश्वास गरेर तपाईं उद्धार पाउनुहुन्न। यहाँसम्म कि साँचो सिद्धान्त विश्वास गर्दा पनि तपाईं उद्धार पाउन सक्नुहुन्न। तपाईंले आफ्ना पापको कारण आफूलाई दोषी मान्नुपर्छ। तपाईंले आफ्ना पापहरू स्वीकार गर्नै पर्छ। तपाईं स्वयम् येशूकहाँ आउनुपर्छ, नत्र तपाईं नरक जानुहुनेछ। जब तपाईं आफ्ना पापहरूको कारण विरक्त बन्नुहुन्छ, तब मात्र उद्धार पाउनका निम्ति तपाईंलाई ख्रीष्टको खाँचो छ भनी बुझ्नुहुनेछ। यदि तपाईं आफ्नो दुष्ट हृदय परिवर्तन गर्न ख्रीष्टको चाहना गर्नुहुन्न भने तपाईं कहिल्यै पनि परिवर्तन हुनुहुनेछैन। के तपाईं आफ्नो पापपूर्ण हृदयका निम्ति लज्जित हुनुहुन्न? के त्यसले तपाईंलाई विचलित पार्दैन? यदि तपाईं परिवर्तन हुने आशा गर्नुहुन्छ भने त्यसले तपाईंलाई विचलित पार्नुपर्छ। जब तपाईं आफ्नो पापपूर्ण हृदयको कारण विरक्त बन्नुहुन्छ, तब मात्र पापबाट शुद्ध पार्ने येशूको रगत तपाईंका निम्ति महत्त्वपूर्ण बन्छ। स्पर्जनले भनेका छन्,'वास्तविक रूपमा नै हृदय परिवर्तन हुनुपर्छ, जसले तपाईंको सम्पूर्ण जीवनलाई प्रभावित गरोस्।' वास्तविक हृदय परिवर्तन त्यत्ति बेला हुन्छ जब हराएको एक जना पापीले आफूलाई पापको दोषी मान्दछ र ती पापलाई घृणा गर्दछ।

त्यो प्रवचनमा मैले स्पर्जनको 'के हृदय परिवर्तन हुनु आवश्यक छ' नामक प्रवचनबाट उदधृत गरेको थिएँ। स्पर्जनले भनेका छन्,

सबै साँचो हृदय परिवर्तनमा चार ओटा कुरा मिलेको हुनुपर्छः पश्चात्ताप गर्ने व्यक्तिले पाप स्वीकार गरेको हुनुपर्छ, र पाप क्षमाको निम्ति येशूलाई हेर्नुपर्छ। त्यसपछि साँचो रूपले हृदय परिवर्तन हुनुपर्छ, जसले सारा बाँकी जीवनभरि प्रभाव पारोस्। अनि जहाँ यी कुराहरू पाइँदैनन् भने त्यहाँ साँचो हृदय परिवर्तन भएको पाइँदैन।'(सी.एच. स्पर्जन,'इज कन्भर्सन् नेससरी? मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १०७१, भाग xx पृष्ठ ३९८)।

३. तेस्रो, 'प्रार्थना र उपवासद्वारा मात्र' 'Only by Prayer and Fasting' (यो १४ जून, २००९, आइतबार बिहान प्रचार गरिएको थियो।)

त्यस प्रवचनको मुख्य बाइबल पद थियो,'यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन'(मर्कूस ९:२९)। मैले भनें 'अनि उपवास' शब्दहरू हटाइएका थिए, किनकि ज्ञानवादी झुटा शिक्षाहरूले प्रतिलिपि बनाएका दुइ ओटा प्राचीन पाण्डुलिपिमा ती दुइ शब्द छोडिए, यसरी आधुनिक बाइबल प्रयोग गर्ने मण्डलीहरूलाई कमजोर बनाए। तापनि धेरै ओटा प्राचीन पाण्डुलिपिहरूमा 'प्रार्थना र उपवास' भन्ने शब्दहरू पाइन्छ। चीनका विश्वासीहरूको बाइबलमा ती शब्दहरू छन्। त्यो पनि एउटा कारण हो, जसले गर्दा तिनीहरूमा निरन्तर जागृति छ, पश्चिमी मुलुकहरूमा भने बाइबलका आधुनिक अनुवादहरू भएकाले तिनीहरूले साँचो, प्राचीन समयको जस्तो जागृतिको अनुभव गर्दैनन्। तर हाम्रो चर्चमा धेरै जना जवान मानिसहरू परिवर्तन हुन सकून् भनी हामीले प्रार्थना र उपवासको समय राख्नुपर्छ। तिनीहरूले आफ्ना पापहरू थाहा पाऊन्, पश्चात्ताप गरून् र क्रूसमा टाँगिएर फेरि बौरी उठ्नुभएका उद्धारकर्तालाई साँच्चै भेटून् र उहाँको अन्मोल रगतद्वारा तिनीहरू शुद्ध होऊन् भनी हामीले प्रार्थना र उपवास गर्नै पर्छ। त्यो प्रवचन 'हिउँभन्दा सेतो' नामक भजनको एक अनुच्छेद गाएर समाप्त भएको थियो। त्यो भजनले भन्छ, 'प्रभु येशू, तपाईं देख्नुहुन्छ, म धैर्यसाथ पर्खन्छु, अब आउनुहोस्, र मभित्र एउटा नयाँ हृदय सृजना गर्नुहोस्।' तर हाम्रो चर्चका मानिसहरूले प्रार्थना र उपवास गर्दा जोन केगनले उपवास बस्ने कुरामा अप्रसन्नता व्यक्त गरे। यस कुराले तिनलाई रिस उठायो- तापनि तिनी चाँडै परिवर्न हुन लागेका थिए, किनकि तिनले उद्धार पाऊन् भनी तिनका आमाबुबाले प्रार्थना र उपवास गरिरहेका थिए।

४. चौथो, 'विवेक र हृदय परिवर्तन' 'Conscience and Conversion' (यो १४ जून, २००९, आइतबार बेलुकी प्रचार गरिएको थियो।)

त्यस प्रवचनको मुख्य बाइबल पद थियो,'तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्' (रोमी २:१५)। विवेक हामीभित्रै भएको त्यो शक्ति हो, जसले हामी आफ्नै नैतिक न्याय गर्दछ, हाम्रो कामलाई स्वीकार वा अस्वीकार गर्दछ, विचार गर्छ र योजना बनाउँछ, हामीले गरेको काम गलत हो भनी हामीलाई बताउँछ, अनि त्यसको निम्ति हामीले दुःख उठाउनु पर्छ भनी भन्दछ। आदमले पाप गऱ्यो, र उसको विवेक दूषित भयो, यसैले उसले आफ्नो पापका निम्ति विभिन्न बहानाहरू बनायो। तिनीहरूका नष्ट भएको विवेक मानव जातिमा सरेर आयो भन्ने कुराको प्रमाण यो हो, कि तिनीहरूका जेठो छोरो कयिनले आफ्नै भाइको हत्या गऱ्यो, तर उसले आफूलाई दोषी महसुस गरेन, बरु आफ्नो पापका निम्ति बहाना बनायो। एक जना व्यक्तिले जति धेरै पाप गर्छ उसको विवेक उत्ति नै दूषित र नष्ट हुन्छ। मानिसले झनझन् धेरै पाप गरेर आफ्नो विवेकलाई तातो फलामले डाम्छ,'झूट बोल्ने मानिसहरूको छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेकोजस्तो हुन्छ'(१ तिमोथी ४:२)। मैले हाम्रो चर्चका जवानहरूलाई भनें, कि तिनीहरूले आफ्नी आमासँग झुटो बोलेर, स्कुलमा ठगेर, चोरी गरेर आफ्नो विवेकलाई डाम्छन्। अझ ठूला पापहरू गर्दै घरीघरी आफ्नो विवेकलाई डाम्छन्- जुन पापहरू म यहाँ चर्चमा उल्लेख गर्न चाहन्नँ। ती पापहरू के-के हुन् तपाईंहरू जान्नुहुन्छ। तपाईं जान्नुहुन्छ कि तपाईंले आफैलाई दोषी महसुस गर्न प्रायः असम्भव छ- किनकि तपाईंले बारम्बार पाप गर्नुभएको छ, बारम्बार पाप गर्दै परमेश्वरको खिल्ली उडाउनुभएको छ, यसरी तपाईंको विवेक नष्ट भएको छ। तपाईंलाई सहायता गर्न म के गर्न सक्छु? तपाईंले नै आफ्नो विवेकलाई चिन्नै नसकिने गरी डढाउनुभयो। म तपाईंलाई देखेर कुनै भविष्य र आशा नभएर नाश भइरहेको व्यक्ति ठानेर बिचरा मात्र भन्न सक्छु। म तपाईंलाई टिठाउन मात्र सक्छु। म तपाईंलाई सहायता गर्न सक्दिनँ, किनकि तपाईं नाश हुने निश्चित छ र तपाईं अघिबाटै दोषी ठहरिनुभएको छ। येशूले भन्नुभयो,'जसले उहाँमाथि विश्वास गर्दैन त्यो अघि नै दोषी ठहरिएको छ'(यूहन्ना ३:१८)। तपाईं नरक जाने निश्चित छ, तापनि तपाईं अघिबाटै त्यहाँ पुगिसक्नुभएको जस्तो छ। मैले भनेको वा गरेको कुनै पनि कुराले तपाईंलाई सहायता गर्न सक्दैन। परमेश्वरले मात्र तपाईंलाई पापको निम्ति दोषी ठहराउन सक्नुहुन्छ। यदि उहाँले पहिलेबाटै तपाईंलाई पापको निम्ति दोषी ठहराइसक्नुभएको छ भने उहाँले फेरि कुनै बेला तपाईंलाई दोषी ठहराउनुहुनेछ भन्ने कुनै निश्चयता छैन। धेरैचोटि के हुन्छ भने आफूलाई पापको निम्ति दोषी महसुस गरिसकेका व्यक्तिहरूलाई परमेश्वरका आत्माले फेरि भेट्नुहुन्न। धेरै गिल्ला र मूर्खता गरिसक्नुभए पछि तपाईं पापको निम्ति दोषी महसुस गर्ने एकै पल पाउने योग्यको पनि रहनुहुन्न। यदि तपाईं आफूलाई पापको निम्ति दोषी महसुस गर्ने शक्ति गुमाइसक्नुभएको छ भने परमेश्वरले त्यो फेरि तपाईंलाई दिनुहुन्न। एक भिखारीजस्तो बनी परमेश्वरको अगाडि आउनुहोस्। उहाँ सर्वशक्तिमान् परमेश्वर तपाईंको कुनै कुराको ऋणी हुनुहुन्न भनी जानेर नम्रतासाथ उहाँको अगि निहुरिनुहोस्। तपाईंले यतिका वर्षसम्म आफ्नो हृदयमा उहाँलाई थुक्नुभएको छ। त्यसको बारेमा विचार गर्नुहोस्। तपाईंले आफ्नो व्यवहारद्वारा ख्रीष्टको अनुहारमा थुक्नुभएको छ। अब ख्रीष्ट तपाईंको कुनै पनि थोकको ऋणी हुनुहुन्न। उहाँले तपाईंलाई क्रोध, दण्ड र नरकको आगोका ज्वालाहरू दिनु मात्र ऋणी हुनुहुन्छ। अहिले तपाईं मनमनै यस्तो सोचिरहनुभएको होला,'यो सत्य हो, परमेश्वर मलाई नरकका ज्वालाहरू दिनु मात्र ऋणी हुनुहुन्छ। म अरू कुनै कुरा पाउने योग्यको छैनँ।' यदि तपाईं यस्तै महसुस गर्नुहुन्छ भने म तपाईंलाई येशूकहाँ आउने स्त्रीझैं उहाँ आउने बिन्ती गर्दछु, जसले उहाँकहाँ आएर उहाँको पाउमा चुम्बन गरी। एक दयनीय तुच्छ मानिसजस्तो भएर उहाँकहाँ आउनुहोस्। जोन बनयानझैं रुँदै र विलाप गर्दै उहाँकहाँ आउनुहोस्; व्हाइट फिल्डझैं दया पाउनका निम्ति रुँदै र कराउँदै आउनुहोस्। सायद उहाँले तपाईंमाथि दया गर्नुहुन्छ होला! तर म 'सायद' मात्र भन्छु– किनकि हुन सक्छ, तपाईंले उद्धार पाउने समय अघिबाटै बितिसक्यो कि! तपाईंले पाप गरेर अनुग्रहको समयलाई सधैंका निम्ति गुमाइसक्नुभयो कि! रुँदै ख्रीष्टकहाँ आउनुहोस्- अनि सायद उहाँले तपाईंलाई अर्को मौका दिनुहुन्छ कि- तापनि तपाईंको अवस्था हेर्दा उहाँले दिनुहुनेछ भन्ने निश्चयता छैन। पुल्पिटको अगि आउनुहोस् । घुँडा टेक्नुहोस् र दया पाउनका निम्ति रुनुहोस्। तपाईंको पुकार सुनेर ख्रीष्टले उहाँको पवित्र रगतद्वारा शुद्ध हुने अर्को मौका तपाईंलाई दिनु सक्नुहुन्छ। उहाँको रगतले मात्र 'तपाईंको विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्न सक्दछ'(हिब्रू ९:१४)।

५. 'पाँचौं 'सुकेका हाडहरू भएको बेँसी' 'The Valley of Dry Bones' (२१ जून, २००९, यस बिहान मैले यो प्रवचन प्रचार गर्दा जोन केगनको हृदय परिवर्तन भएको थियो।)

प्रवचनको मुख्य बाइबल पद थियो,'यी हाड्हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ'(इजकिएल ३७:५)। जोन यो प्रवचन सुनेर परिवर्तन भए भन्ने सोच्दिनँ। तिनले त्यो प्रवचन साँच्चै सुनिरहेका थिए भन्ने म सोच्दिनँ। मलाई लाग्छ, तिनलाई परिवर्तन गर्न पहिलो चार प्रवचन प्रयोग गरिको थियो। केही क्षणपछि मैले जोनको जीवन गवाही पढ्दा तपाईंले थाहा पाउनुहुनेछ कि जोनले मलाई आदर गर्दैनथे। वास्तवमा, तिनले मलाई घृणा गर्थे। मैले यो प्रवचन प्रचार गर्दा पनि जोनले भने, 'मैले त्यो प्रवचनलाई अस्वीकार गर्ने, सुन्दैनसुन्ने सक्दो कोसिस गरेँ, त्यो प्रवचन कहिले सकिएला भनी मैले पलपल गिन्ती गर्दै थिएँ, तर पास्टरले प्रचार गरिरहे। ' त्यसैकारण तिनले आफ्नो जीवन गवाहीमा त्यस बिहान मैले भनेको कुनै पनि कुरा उल्लेख गरेका छैनन्। एउटा शब्द पनि छैन। जोनले भने, 'अगाडि आउन निम्तो दिँदा पनि मैले मनमनै विरोध गरें।' फेरि तिनले भने,'पास्टरले मलाई परामर्श दिए, अनि ख्रीष्टमा आउनु भने, तर म आइनँ।'

यो महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण छ, किनकि अहिले तपाईंहरूमध्ये कसै-कसैले त्यस्तै महसुस गरिरहनुभएको छ। तपाईंहरू मलाई आदर गर्नुहुन्न। मलाई मन पराउनुहुन्न। मेरो प्रवचन सुन्न चाहनुहुन्न।

तर त्यो बिहान जोनलाई केही भयो। मलाई लाग्छ, मैले टेलिफोन पुस्तकका केही पन्ना पढेको भए पनि तिनी परिवर्तन हुनेथिए। म किन त्यसो भन्दैछु? किनकि मेरो पहिलेका चार ओटा प्रवचनले तिनको हृदयलाई छेंडेको थियो, विशेष गरी विवेकसम्बन्धी मेरो प्रवचनले! तपाईं बुझ्नुहुन्छ, तिनलाई आफ्नो पापको बारेमा सोच्न लगाउनका निम्ति स्वयम् परमेश्वरले त्यो र अरू तीन ओटा प्रवचन प्रयोग गर्नुभयो। अनि तिनले तिनको लडाइँ मेरो विरुद्धमा होइन रहेछ भनी थाहा पाए। तिनले वास्तवमा परमेश्वरको विरुद्ध संघर्ष गरिरहेका रहेछन् भनी बुझे। अब तिनको गवाही सुन्नुहोस्, अनि जोनलाई परिवर्तन गर्न मैले खास केही गरेको थिइनँ भनी तपाईंहरू थाहा पाउनुहुनेछ। परमेश्वरले नै ती पहिलो चार ओटा प्रवचनद्वारा तिनलाई पापको निम्ति दोषी ठहराउनुभएको थियो। परमेश्वर नै हुनुहुन्थ्यो, जसले पन्ध्र वर्षे ठिटोलाई पापको निम्ति दोषी ठहराउन मेरा कमजोर शब्दहरू प्रयोग गर्नुभयो। त्यसपछि परमेश्वर नै हुनुहुन्थ्यो जसले 'जोरदार ढङ्गमा(तिनलाई) ख्रीष्टमा खिँच्नुभयो।' त्यो काम गर्ने म थिइनँ। 'प्रचारकविना तिनीहरूले कसरी सुन्ने?' भन्ने कुरा साँचो हो। तर परमेश्वर नै हुनुहुन्छ, जसले पापीहरूलाई परिवर्तन गर्न प्रचारकको प्रवचन प्रयोग गर्नुहुन्छ। जसरी अगमवक्ता योनाले भनेका छन्,'उद्धार परमप्रभुबाटै हुन्छ'(योना २:९)। अब मैले जोन शमूएल केगनको जीवन परिवर्तनको गवाही पढ्दा त्यसमाथि विचार गर्नुहोस्।

मेरो जीवन गवाही
२१ जून,२००९
जोन शमूएल केगनद्वारा

         मैले विश्वास गरेको क्षण मलाई स्पष्ट र राम्ररी थाहा छ, ख्रीष्टले मेरो जीवनमा जुन ठूलो भिन्नता ल्याउनुभयो त्यसको वर्णन शब्दहरूमा गर्न सकिँदैन। विश्वास गर्नुभन्दा अघि म धेरै क्रोध र घृणाले भरिएको थिएँ। मेरा पापहरूमा म घमन्ड गर्थेँ, मानिसहरूलाई पीडा दिनु मलाई आनन्द लाग्थ्यो। म तिनीहरूका मित्र थिएँ, जसले परमेश्वरलाई घृणा गर्थे। म पापलाई पछितो गर्न पर्ने कुनै "गल्ती" मान्दिनँथें। मैले जानीजानी आफैलाई त्यो बाटोमा लगाएको थिएँ। परमेश्वरले ममा यस्तो प्रकारले काम गर्न थाल्नुभयो, जस्तो मैले कहिल्यै सोचेको थिइनँ, मेरो संसार चाँडै मेरो वरिपरि टुक्रा-टुक्रा भएर भत्किन थाल्यो। म विश्वासमा आउनुभन्दा अघिका हप्ताहरूमा मैले मरेतुल्य अनुभव गरेँ, म निदाउन सकिनँ, मुस्कुराउन सकिनँ, कुनै प्रकारको शान्ति पाइनँ। हाम्रो चर्चमा सुसमाचारीय सभाहरू हुँदैथिए, मलाई राम्ररी याद छ, मैले तिनीहरूको हाँसो उडाउँथें, मैले मेरा पास्टर र मेरा बुबालाई समेत अनादर गर्थेँ।
         त्यो समय पवित्र आत्माले निश्चित रूपले मलाई मेरा पापका निम्ति दोषी ठहराउन थाल्नुभयो, तर मैले मेरो सम्पूर्ण इच्छाले ममा भएका परमेश्वर र हृदय परिवर्तन गर्ने विचारहरूलाई इन्कार गरेँ। मैले त्यसको विषयमा सोच्न इन्कार गरेँ, तापनि मैले त्यो पीडाको भावनालाई रोक्न सकिनँ। २१ जुन, सन् २००९, आइतबार बिहानसम्म म पूर्ण थकित भइसकेको थिएँ। यी सबै कुराद्वारा म थकित भएको थिएँ। मैले आफैलाई, मेरो पापलाई र त्यस समयको मेरो अनुभवलाई घृणा गर्न थालेँ।
         डा. हिमर्सले प्रचार गरिरहनुहुँदा मेरो अहङ्कारले त्यो प्रचारलाई इन्कार गर्ने र त्यो नसुन्ने ठूलो कोसिस गरिरहेको थियो, तर उहाँले प्रचार गर्नुहुँदा मैले साँच्चै मेरो आत्मामा भएका सबै पापहरू महसुस गरेँ। मैले त्यो प्रवचन कहिले सकिन्छ भनी पल-पल गिन्ती गरिरहेको थिएँ, तर पास्टरले प्रचार गरिरहनुभयो, अनि मेरा पापहरू निरन्तर झन्-झन् खराब बन्दै गए। मैले अझ धेर व्यर्थको प्रयास गरिरहन सकिनँ, मैले उद्धार पाउन परेको थियो। प्रभुलाई ग्रहण गर्ने निमन्त्रणा दिँइँदा पनि मैले विरोध गरेँ, तर मैले अझै विरोध गरिरहन सकिनँ। म अति नराम्रो पापी हुँ, परमेश्वर धर्मी हुनुहुन्छ र मलाई नरकमा पठाउन सक्नुहुन्छ भनी म जान्दथेँ। संघर्ष गर्दागर्दा म धेरै थाकिसकेको थिएँ। म जस्तो थिएँ, त्यसमा पनि म थाकिसकेको थिएँ। पास्टरले मलाई सल्लाह दिनुभयो, र मलाई ख्रीष्टमा आउनु भन्नुभयो। तर म आइनँ। मेरा सबै पापले मलाई दोष दिए पनि मैले प्रभु येशूलाई ग्रहण गरिनँ। यी क्षणहरू सबैभन्दा नराम्रा थिए, किनकि म उद्धार पाउन सक्दिनँ र म नरक जान पर्नेछ भन्ने मैले सोचेँ। मैले उद्धार पाउने "कोसिस गरिरहेको" थिएँ, मैले ख्रीष्टमा भरोसा गर्ने "कोसिस गरिरहेको" थिएँ, तर सकिरहेको थिइनँ, मैले आफैलाई ख्रीष्टमा दिने इच्छा गर्न सकिनँ, मैले ख्रीष्टियन बन्ने निर्णय गर्न सकिनँ, अनि त्यस कुराले गर्दा मैले आफूलाई असहाय महसुस गरेँ। मेरा पापले मलाई नरकतिर धकेलिरहेको म महसुस गर्न सक्थेँ, तापनि मेरो हठीपनले मेरा आँसुहरू रोकिरहेको अनुभव गरेँ। म त्यो संघर्षमा अल्झिएको थिएँ।
         अचानक केही वर्ष अघि प्रचारिएको एउटा प्रवचनका शब्दहरूले मेरो मनमा प्रवेश गरेः"ख्रीष्टमा समर्पण गर!" "ख्रीष्टमा समर्पण गर!" मैले प्रभु येशूमा समर्पण गर्नुपर्छ भन्ने विचारले मलाई यति निराश बनायो कि म कहिल्यै पनि त्यसो गर्न सक्दिनँजस्तो लाग्यो। येशूले आफ्नो प्राण मेरो निम्ति अर्पण गर्नुभएको थियो। म उहाँको शत्रु छँदा नै वास्तविक येशू मेरो निम्ति क्रूसमा टाँगिनुभयो र मचाहिँ उहाँको अगाडि समर्पण गरिरहेको थिइनँ। यस्तो विचारले मलाई तोड्यो, मैले ती सबै विचार त्याग्न पऱ्यो। म आफैलाई रोकिराख्न सकिनँ, मैले येशूलाई पाउन परेको थियो। त्यो क्षण मैले आफैलाई उहाँमा समर्पण गरेँ, अनि विश्वासद्वारा येशूमा आएँ। त्यो क्षण मानौँ, मैले आफैलाई मर्न दिनुपरेको जस्तो लाग्यो, अनि ख्रीष्टले मलाई जीवन दिनुभयो। त्यहाँ कुनै कार्य वा मेरो मनको इच्छा थिएन, तर मैले ख्रीष्टमा विश्वास गर्ने कुरा मात्र थियो, उहाँले मलाई बचाउनुभयो। उहाँको रगतमा मेरा पापहरू उहाँले पखाल्नुभयो। त्यो क्षणदेखि मैले ख्रीष्टको विरोध गर्न छोडेँ। मैले उहाँमाथि भरोसा मात्र गर्नुपर्छ भनी स्पष्ट बुझेँ, अब म होइनँ, ख्रीष्ट मात्र हुनुहुन्छ भनी म स्वीकार गर्न सक्छु। मैले समर्पण गर्न परेको थियो। त्यो क्षण कुनै शारीरिक अनुभव वा आँखा तिर्मिराउने ज्योति थिएन, मलाई अनुभवको आवश्यकता थिएन, मसँग ख्रीष्ट हुनुहुन्थ्यो! ख्रीष्टमा विश्वास गर्दा मेरो पाप मेरो आत्माबाट उठाएर लगिएको अनुभव मलाई भयो। म मेरो पापबाट फर्किएँ, र मैले प्रभु येशूलाई मात्र हेरेँ! प्रभु येशूले मलाई बचाउनुभयो।
          एउटा असल चर्चमा हुर्किए पनि उहाँको विरोध गर्ने मजस्तो अयोग्य पापीलाई क्षमा गर्न येशूले मलाई कति धेरै प्रेम गर्नुभएको छ। मेरो हृदय परिवर्तनको वर्णन गर्न र ख्रीष्टप्रतिको मेरो प्रेम प्रकट गर्न शब्दहरू पर्याप्त हुँदैनन्। ख्रीष्टले मेरो निम्ति उहाँको प्राण दिनुभयो र यसका निम्ति मेरा सबै कुरा उहाँलाई दिँदछु। मैले उहाँको चर्चलाई थुक्दा र उहाँको उद्धारको हाँसो उडाउँदा पनि प्रभु येशूले मेरो निम्ति क्रूसमा टाँगिन आफ्नो सिंहासन् त्याग्नुभयो, म उहाँको प्रेम र कृपाको घोषणा पर्याप्त रूपमा कसरी गर्न सक्छु? येशूले मेरो घृणा र क्रोध हटाउनुभयो र त्यसको साटो मलाई प्रेम दिनुभयो। उहाँले मलाई एउटा नयाँ सुरुआत् मात्र होइन तर त्योभन्दा धेरै कुरा दिनुभयो- उहाँले मलाई नयाँ जीवन दिनुभयो। विश्वासद्वारा मात्र म प्रभु येशूले मेरा सबै पाप पखाल्नुभयो भनी जान्दछु, अनि त्यसको कुनै ठोस प्रमाण नहुँदा म त्यो कसरी जान्न सक्छु भनी सोच्दछु, तर म सधैँ आफूलाई यो स्मरण गराउँछु कि "विश्वास..नदेखिएका कुराको दृढ् भरोसा हो," अनि राम्ररी विचार गर्दै मेरो विश्वास प्रभु येशूमा छ भन्ने जानेपछि मलाई शान्ति हुन्छ। प्रभु येशू मेरो एक मात्र उत्तर हुनुहुन्छ।
         परमेश्वरले मलाई अनुग्रह, र धेरै ओटा मौकाहरू दिनुभएको निम्ति साथै मलाई जबरजस्ती उहाँका पुत्रतिर खिँच्नुभएको निम्ति उहाँलाई धन्यवाद दिँदछु, किनकि मेरो आफ्नै कोसिसले म कहिल्यै पनि प्रभु येशूकहाँ आउनेथिइनँ। यी केवल शब्दहरू हुन्, तर मेरो विश्वास येशूमा छ, किनकि उहाँले मलाई परिवर्तन गर्नुभएको छ। उहाँ सधैं मेरो साथमा हुनुहुन्छ, मेरा उद्धारक, मेरो विश्राम र मेरा मुक्तिदाता! उहाँले मलाई गर्नुभएको प्रेमको तुलनामा मेरो प्रेम अति तुच्छ देखिन्छ। म उहाँको निम्ति जति नै लामो र इमानदारीसाथ जिए पनि त्यो पर्याप्त हुँदैन, मैले उहाँका निम्ति जत्ति नै काम गरे पनि त्यो पर्याप्त हुँदैन। प्रभु येशूको सेवा गर्नु मेरो निम्ति आनन्द हो। उहाँले मलाई जीवन र शान्ति दिनुभयो, किनकि मैलै त घृणा गर्न मात्र जानेको थिएँ। प्रभु येशू मेरो महत्त्वाकांक्षा र मेरो दिशा हुनुहुन्छ। म आफैमाथि भरोसा राख्दिनँ, तर म उहाँमा मात्र आशा राख्दछु, किनकि उहाँले मलाई कहिल्यै निराश पार्नुभएको छैन। ख्रीष्ट मकहाँ आउनुभयो, यसकारण म उहाँलाई छोड्नेछैनँ।

तपाईं पनि जोन केगनजस्तै हराएको एक पापी हुनुहुन्छ। मैले प्रवचनको अन्त्यमा जोनलाई जे भनेको थिएँ र तिनले उद्धार पाएका थिए, त्यही कुरा मात्र तपाईंलाई भन्न सक्छु,'तपाईं एक पापी हुनुहुन्छ। तपाईं हराउनुभएको छ। येशूबाहेक अरू कसैले पनि तपाईंलाई बचाउन सक्दैन। त्यसैकारण तपाईंको पापको मूल्य चुकाउन र तपाईंका पापहरू उहाँको रगतद्वारा पखाल्न उहाँ क्रूसमा मर्नुभयो। अहिले हामीले भजन गाउँदै गर्दा तपाईं बसेको स्थानबाट उठ्नुहोस् र यहाँ अगाडि आउनुहोस्।' 'हे येशू, म हराएको छु, तपाईंले क्रूसमा बगाउनुभएको रगतद्वारा मेरा पापहरू पखालिदिनुहोस्।' हामीले यो 'क्रूसको छेउमा' भन्ने भजनको पहिलो अनुच्छेद गाउँदै गर्दा यहाँ पुल्पिटको अगाडि आउनुहोस्। जोन केगनले उद्धार पाएका बेला हामीले यही निमन्त्रणा गर्ने भजन गाएका थियौं। तपाईंहरू धेरै जनाले यो भजन जान्नुहुन्छ। त्यो भजन गाउनुहोस्। हामीले गाउँदै गर्दा यहाँ पुल्पिटको अगाडि आउनुहोस् र येशूमा विश्वास गर्नुहोस्।

'क्रूसको छेउमा मलाई राख्नुहोस्, जहाँ मक्तिको धारा छ,
   सबैलाई सित्तैंमा, चंगाइको खोला क्लभरीको पहाडबाट बग्दछ।
क्रूसमा. क्रूसमा, मेरो महिमा सधैं बनिरहोस्
   नदी पारि मेरो उठाइएको प्राणले विश्राम नपाऊञ्जेल'
('नियर द क्रस', फेन्नी जे. क्रबाई-१८२०-१९१५ द्वारा रचित)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो एनोर यान्सीद्वारा – रोमी १०:९-१४
बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
( ''नियर द क्रस''- फेन्नी जे. क्रबाई-१८२०-१९१५ द्वारा रचित)


रूपरेखा

एक जवान प्रचारकको हृदय परिवर्तनमा प्रयोग
गरिएका पाँच प्रवचनहरू

FIVE SERMONS USED IN THE CONVERSION
OF A YOUNG EVANGELIST

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'प्रचारकविना तिनीहरूले कसरी सुन्ने'(रोमी १०:१४)

१. पहिलो,'उद्धार पाउनबाट टाढा नभएकाहरूलाई उत्साह'
(यो ७ जून, २००९, आइतबार बिहान प्रचार गरिएको थियो।)
मर्कूस १२:३४

२. दोस्रो, 'आधुनिक केल्भिनवाद र वास्तविक हृदय परिवर्तन'
(यो ७ जून, २००९, आइतबार बेलुकी प्रचार गरिएको थियो।)
२ कोरिन्थी ५:१७

३. तेस्रो, 'प्रार्थना र उपवासद्वारा मात्र'
(यो १४ जून, २००९, आइतबार बिहान प्रचार गरिएको थियो।)
मर्कूस ९:२९

४. चौथो, 'विवेक र हृदय परिवर्तन'
(यो १४ जून, २००९, आइतबार बेलुकी प्रचार गरिएको थियो।)
रोमी २:१५; १ तिमोथी ४:२; यूहन्ना ३:१८; हिब्रू ९:१४

५. पाँचौं 'सुकेका हाड्हरू भएको बेँसी'
(२१ जून, २००९, यस बिहान मैले यो प्रवचन प्रचार गर्दा
जोन केगनको हृदय परिवर्तन भएको थियो।)
इजकिएल ३७:५; योना २:९