Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




अमेरिका र पश्चिमी मुलुकका चर्चहरूले जागृतिको अनुभव
नगर्नुका दुइ ओटा कारणहरू

THE TWO REASONS WHY THE CHURCHES IN AMERICA
AND THE WEST DON’T EXPERIENCE REVIVAL
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

२५ सेप्टेम्बर, २०१६, आइतबार साँझ लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, September 25, 2016


आज साँझ म अमेरिका र पश्चिमी मुलुकका चर्चहरूमा जागृति नहुनुका दुइ ओटा मुख्य कारणमाथि बोल्न गइरहेको छु। मैले "जागृति" भन्नुको अर्थ प्राचीन समयका ती जागृतिहरू हुन्, जुन १८औं शताब्दीमा र १९औं शताब्दीको पहिलो भागतिर भएका थिए भन्ने हामी पढ्दछौं। मैले हामी जिएका २०औँ र २१औं शताब्दीमा न्यू इभान्जलिकल्स् र पेन्टिकोस्टलहरू बीच भएको तथाकथित "जागृतिहरू" को कुरा गरेको होइन।

कृपया, तपाईंहरूको बाइबलमा दोस्रो तिमोथी ३:१ खोल्नुहोस्(नेपाली बाइबलमा यो पृष्ठ १६७१ मा छ)। यस अध्यायको पहिलो सात ओटा पद तपाईंहरूले मसँगसँगै पढ्नुहोस् भन्ने म चाहन्छु।

"तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बाबुको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्। जुन स्त्रीहरू सिक्न त सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्" (२ तिमोथी ३:१-७)।

अब १३ पद पढ्नुहोस्।

"तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्"
       (२ तिमोथी ३:१३)।

यी पदहरूले हामीलाई "आखिरी दिनहरूमा"(३:१) चर्चहरूमा धेरै जनाले विश्वास त्याग गर्ने कुरा बताउँछन्। पद २-४ ले हाम्रो समयमा अधिकांश तथाकथित "ख्रीष्टियनहरू" ले विश्वास त्याग गरेका अवस्थाको वर्णन गर्दछ। पद ५ ले यी झुटा ख्रीष्टियनहरू त्यत्ति धेरै दुष्ट र विद्रोही किन हुन्छन् त्यसको कारण बताउँछ।

"भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने"
       (२ तिमोथी ३:५)।

त्यो पदको व्याख्या गर्नुभन्दा अघि डा. जे. भर्नन् मेकगीले यस खण्डको विषयमा भनेका केही कुरा बताउन चाहन्छु। पद १ देखि ४ को विषयमा डा. मेकगीले भनेका छन्,"पद १ को "आखिरी दिनहरूमा" एउटा यस्तो प्राविधिक शब्द हो, जुन चर्चको आखिरी दिनहरूको बारेमा बताउन प्रयोग गरिएको छ।" पद १ देखि ४ को विषयमा डा. मेकगीले भनेका छन्,"हामीलाई उन्नाईस ओटा विभिन्न विवरणहरू दिइएको छ। यो एउटा घिनलाग्दो समूह हो। ती शब्दहरूले चर्चको आखिरी दिनहरूमा के भइरहेको छ त्यसको पवित्रशास्त्रीय तस्वीर प्रस्तुत गर्दछन्"(जे. भर्नन् मेकगी,Th.D.,थ्रु द बाइबल, २ तिमोथी ३ अध्यायमाथि टिप्पणी)। त्यसपछि डा. मेकगीले पद ५ को व्याख्या यसरी गरेका छन्,"भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने।" डा. मेकगीले भनेका छन्,"तिनीहरू धर्मका रीतिविधिहरू पूरा गर्छन्, तर तिनीहरूसित जीवन र वास्तविकता हुँदैन"(ऐजन)। यी तथाकथित "ख्रीष्टियनहरू" मा "भक्तिको भेष" हुन्छ- अर्थात् बाहिरी भेष, तर तिनीहरूले त्यसको शक्तिलाई इन्कार गर्छन्। यसको अर्थ तिनीहरू परमेश्वरको शक्ति र ख्रीष्टको रगतद्वारा साँचो रूपले कहिल्यै पनि जन्मेका हुँदैनन्। आजका अधिकांश सुसमाचारीय ख्रीष्टियनहरू किन पद ७ ले भनेको जस्तै छन् सो यसबाट बुझ्न सकिन्छ। तिनीहरू "सिक्न त सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्। आज राति यहाँ पनि केही त्यस्ता मानिसहरू छन्।

धेरै दशकसम्म तिनीहरू बाइबल अध्ययन गर्न सक्छन्, तापनि तिनीहरूका हृदय परिवर्तन भएको हुँदैन। डा. चार्ल्स् सी. रिर्रीले यसको अर्थ बताएका छन्,"तिनीहरू ख्रीष्टको उद्धारको ज्ञानमा कहिल्यै पनि आउन सक्दैनन्"(रिर्री स्टडी बाइबल, पद ७ को टिप्पणी)। आज करोडौं सुसमाचारीय ख्रीष्टियनहरू त्यस्तै अवस्थामा छन्। तिनीहरूका हृदय परिवर्तन भएको छैन, तिनीहरू शारीरिक मानिस नै छन्। पहिलो कोरिन्थी २:१४ ले तिनीहरूको वर्णन गर्दछ,"तर शारीरिक (हृदय परिवर्तन नभएको) मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन..किनकि ती आत्मिक रीतिले मात्र चिन्न सकिन्छ।" अब म तपाईंहरूलाई अमेरिका र पश्चिमी मुलुकहरूमा करिब १४० वर्षभन्दा धेरै समयदेखि कुनै ठूलो जागृति नहुनुका दुइ ओटा मुख्य कारण बताउँछु।

१. पहिलो, करिब १४० वर्षभन्दा धेरै समयदेखि कुनै ठूलो जागृति भएको छैन, किनकि हामी प्रायः हराएका मानिसहरूलाई मात्र बप्तिस्मा दिँदछौं!

करोडौं सुसमाचारीय ख्रीष्टियनहरूका हृदय परिवर्तन भएकै छैन, किनकि तिनीहरू चार्ल्स् जी. फिन्नेद्वारा चर्चहरूमा भित्र्याइएको "निर्णय गर्ने" सिद्धान्तद्वारा धोखामा परेका छन्। चर्चहरूमा तिनको शिक्षा यति जोड्दार रूपले आयो कि करोडौं मानिसले "प्रभुलाई ग्रहण गर्ने निर्णय" गर्दा, एक "पापीले गर्ने प्रार्थनाका शब्दहरू" दोहोऱ्याउँदै प्रार्थना गर्दा, वा कुनै एउटा बाइबल पदमा विश्वास गर्दा उद्धार पाइन्छ भन्ने सोचे। तर तिनीहरू पवित्र आत्माको कामद्वारा परिवर्तन भएका हुँदैनन्। परमेश्वरका आत्माको पहिलो काम पापीलाई पापको निम्ति दोषी ठहराउनु हो। यूहन्ना १६:८,९ ले भन्छ,"अनि जब उहाँ (पवित्र आत्मा) आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्।" जबसम्म एक जना पापीले आफूलाई गहन रूपले दोषी मान्दैन, तबसम्म उसले आफूलाई ख्रीष्टको, उहाँको क्रूसको बलिदानको अनि ख्रीष्टको रगतद्वारा आफू शुद्ध हुन पर्ने खाँचो भएको महसुस गर्दैन। धेरैचोटि हामी यस्ता मानिसहरू देख्छौं, जो उद्धार पाउन चाहन्छन्, तर तिनीहरूले आफ्ना पापका निम्ति आफूलाई दोषी महसुस नगरेकाले तिनीहरूले ख्रीष्टमा भरोसा गर्न सक्दैनन्।

पवित्र आत्माको दोस्रो काम ख्रीष्टको महिमा गर्नु हो। प्रभु येशूले भन्नुभयो,"उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जो मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ"(यूहन्ना १६:१४), वा प्रभु येशूले यूहन्ना १५:२६ मा भन्नुभएको छ, पवित्र आत्माले "मेरो विषयमा गवाही दिनुहुनेछ।" एक व्यक्तिले आफूलाई पापहरूको दोषी मानेपछि मात्र पवित्र आत्माले उसलाई प्रभु येशूले मात्र उसको पाप क्षमा गर्न सक्नुहुन्छ भनी देखाउनुहुन्छ। हृदय परिवर्तन हुँदा अन्तिम कार्य स्वरूप परमेश्वरले त्यस पापीलाई ख्रीष्टकहाँ ल्याउनुहुनेछ। प्रभु येशूले भन्नुभयो,"मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन"(यूहन्ना ६:४४)। "म ख्रीष्टमा कसरी आउन सक्छु?" भन्ने व्यक्तिले यो बुझेको हुँदैन कि पहिले उसले आफूलाई पापको निम्ति दोषी मान्नुपर्छ, अनि पापबाट मुक्ति पाउने एक मात्र उपायको रूपमा ख्रीष्टलाई हेर्नुपर्छ, र ख्रीष्टमा आउनुपर्छ। मुक्ति वा उद्धारको सम्पूर्ण कार्य परमेश्वरको शक्तिमा निर्भर हुन्छ। चेलाहरूले प्रभु येशूलाई सोधे,"त्यसो भए को बाँच्न सक्छ?" येशूले जवाफ दिनुभयो,"मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्वरका लागि छैन"(मर्कूस १०:२६,२७)।

प्राचीन प्रोटेस्टेन्टहरू बीच भएका हृदय परिवर्तनका घटनाहरूमा पहिला एक जना पापीले आफू पापको दोषी भएको र उसले आफैलाई बचाउन नसक्ने महसुस गर्दथ्यो। अनि त्यो पापीले ख्रीष्टलाई आफ्नो एक मात्र आशाको रूपमा हेर्दै उहाँकहाँ आउँथ्यो, अनि परमेश्वरले उसलाई उद्धारकर्ताकहाँ खिँच्नुहुन्थ्यो। आधुनिक "निर्णय गराउने" सिद्धान्तले निश्चय यी सबै कुरालाई इन्कार गरेको छ। आज त प्रार्थना गर्न र वेदीको अगि आउन मात्र लगाइन्छ। मानिसको आत्मामा परमेश्वरले गर्नुहुने कामलाई पूर्ण रूपले इन्कार गरिएको छ। हामीमा जागृति नहुनुको पहिलो कारण यही नै हो।

जोन केगन हाम्रो चर्चको एक जवान हुन्, जो सेवकाइमा आउन चाहन्छन्। पन्ध्र वर्षको उमेरमा तिनको हृदय परिवर्तन भयो । दुइ ओटा कारणले गर्दा म यहाँ तिनको सम्पूर्ण जीवन गवाही प्रस्तुत गर्दैछु। पहिलो, यो हृदय परिवर्तनको बारेमा सिकाउने सही "पुरानो शिक्षा" हो, जसको अहिले हामीलाई अति नै खाँचो छ, फिन्नेले हृदय परिवर्तनलाई निर्णय मात्र गर्न लगाउने सिद्धान्तमा बदल्नुभन्दा अघि त्यसो गरिन्थ्यो। अनि दोस्रो, यसकारण कि करिब दुइ वर्षसम्म ख्रीष्टको विरोध गर्ने एक जना कलेज विद्यार्थीले विगत शनिबार मैले यो जीवन गवाही पढेको सुनेपछि प्रभुमा विश्वास गरेको छ। कसैलाई विश्वासमा डोऱयाउने जीवन गवाहीहरू बारे मैले थोरै मात्र जानेको छु। जोन केगनले उद्धार पाएको गवाही यस्तो छ।

      मैले विश्वास गरेको क्षण मलाई स्पष्ट र राम्ररी थाहा छ, ख्रीष्टले मेरो जीवनमा जुन ठूलो भिन्नता ल्याउनुभयो त्यसको वर्णन शब्दहरूमा गर्न सकिँदैन। विश्वास गर्नुभन्दा अघि म धेरै क्रोध र घृणाले भरिएको थिएँ। मेरा पापहरूमा म घमन्ड गर्थेँ, मानिसहरूलाई पीडा दिनु मलाई आनन्द लाग्थ्यो। म तिनीहरूका मित्र थिएँ, जसले परमेश्वरलाई घृणा गर्थे। म पापलाई पछितो गर्न पर्ने कुनै "गल्ती" मान्दिनँथें। मैले जानीजानी आफैलाई त्यो बाटोमा लगाएको थिएँ। परमेश्वरले ममा यस्तो प्रकारले काम गर्न थाल्नुभयो, जस्तो मैले कहिल्यै सोचेको थिइनँ, मेरो संसार चाँडै मेरो वरिपरि टुक्रा-टुक्रा भएर भत्किन थाल्यो। म विश्वासमा आउनुभन्दा अघिका हप्ताहरूमा मैले मरेतुल्य अनुभव गरेँ, म निदाउन सकिनँ, मुस्कुराउन सकिनँ, कुनै प्रकारको शान्ति पाइनँ। हाम्रो चर्चमा सुसमाचारीय सभाहरू हुँदैथिए, मलाई राम्ररी याद छ, मैले तिनीहरूको हाँसो उडाउँथें, मैले मेरा पास्टर र मेरा बुबालाई समेत अनादर गर्थेँ।
      त्यो समय पवित्र आत्माले निश्चित रूपले मलाई मेरा पापका निम्ति दोषी ठहराउन थाल्नुभयो, तर मैले मेरो सम्पूर्ण इच्छाले ममा भएका परमेश्वर र हृदय परिवर्तन गर्ने विचारहरूलाई इन्कार गरेँ। मैले त्यसको विषयमा सोच्न इन्कार गरेँ, तापनि मैले त्यो पीडाको भावनालाई रोक्न सकिनँ। २१ जुन, सन् २००९, आइतबार बिहानसम्म म पूर्ण थकित भइसकेको थिएँ। यी सबै कुराद्वारा म थकित भएको थिएँ। मैले आफैलाई, मेरो पापलाई र त्यस समयको मेरो अनुभवलाई घृणा गर्न थालेँ।
      डा. हिमर्सले प्रचार गरिरहनुहुँदा मेरो अहङ्कारले त्यो प्रचारलाई इन्कार गर्ने र त्यो नसुन्ने ठूलो कोसिस गरिरहेको थियो, तर उहाँले प्रचार गर्नुहुँदा मैले साँच्चै मेरो आत्मामा भएका सबै पापहरू महसुस गरेँ। मैले त्यो प्रवचन कहिले सकिन्छ भनी पल-पल गिन्ती गरिरहेको थिएँ, तर पास्टरले प्रचार गरिरहनुभयो, अनि मेरा पापहरू निरन्तर झन्-झन् खराब बन्दै गए। मैले अझ धेर व्यर्थको प्रयास गरिरहन सकिनँ, मैले उद्धार पाउन परेको थियो। प्रभुलाई ग्रहण गर्ने निमन्त्रणा दिँइँदा पनि मैले विरोध गरेँ, तर मैले अझै विरोध गरिरहन सकिनँ। म अति नराम्रो पापी हुँ, परमेश्वर धर्मी हुनुहुन्छ र मलाई नरकमा पठाउन सक्नुहुन्छ भनी म जान्दथेँ। संघर्ष गर्दागर्दा म धेरै थाकिसकेको थिएँ। म जस्तो थिएँ, त्यसमा पनि म थाकिसकेको थिएँ। पास्टरले मलाई सल्लाह दिनुभयो, र मलाई ख्रीष्टमा आउनु भन्नुभयो। तर म आइनँ। मेरा सबै पापले मलाई दोष दिए पनि मैले प्रभु येशूलाई ग्रहण गरिनँ। यी क्षणहरू सबैभन्दा नराम्रा थिए, किनकि म उद्धार पाउन सक्दिनँ र म नरक जान पर्नेछ भन्ने मैले सोचेँ। मैले उद्धार पाउने "कोसिस गरिरहेको" थिएँ, मैले ख्रीष्टमा भरोसा गर्ने "कोसिस गरिरहेको" थिएँ, तर सकिरहेको थिइनँ, मैले आफैलाई ख्रीष्टमा दिने इच्छा गर्न सकिनँ, मैले ख्रीष्टियन बन्ने निर्णय गर्न सकिनँ, अनि त्यस कुराले गर्दा मैले आफूलाई असहाय महसुस गरेँ। मेरा पापले मलाई नरकतिर धकेलिरहेको म महसुस गर्न सक्थेँ, तापनि मेरो हठीपनले मेरा आँसुहरू रोकिरहेको अनुभव गरेँ। म त्यो संघर्षमा अल्झिएको थिएँ।
      अचानक केही वर्ष अघि प्रचारिएको एउटा प्रवचनका शब्दहरूले मेरो मनमा प्रवेश गरेः"ख्रीष्टमा समर्पण गर!" "ख्रीष्टमा समर्पण गर!" मैले प्रभु येशूमा समर्पण गर्नुपर्छ भन्ने विचारले मलाई यति निराश बनायो कि म कहिल्यै पनि त्यसो गर्न सक्दिनँ जस्तो लाग्यो। येशूले आफ्नो प्राण मेरो निम्ति अर्पण गर्नुभएको थियो। म उहाँको शत्रु छँदा नै वास्तविक येशू मेरो निम्ति क्रूसमा टाँगिनुभयो र मचाहिँ उहाँको अगाडि समर्पण गरिरहेको थिइनँ। यस्तो विचारले मलाई तोड्यो, मैले ती सबै विचार त्याग्न पऱ्यो। म आफैलाई रोकिराख्न सकिनँ, मैले येशूलाई पाउन परेको थियो। त्यो क्षण मैले आफैलाई उहाँमा समर्पण गरेँ, अनि विश्वासद्वारा येशूमा आएँ। त्यो क्षण मानौँ, मैले आफैलाई मर्न दिनुपरेको जस्तो लाग्यो, अनि ख्रीष्टले मलाई जीवन दिनुभयो। त्यहाँ कुनै कार्य वा मेरो मनको इच्छा थिएन, तर मैले ख्रीष्टमा विश्वास गर्ने कुरा मात्र थियो, उहाँले मलाई बचाउनुभयो। उहाँको रगतमा मेरा पापहरू उहाँले पखाल्नुभयो। त्यो क्षणदेखि मैले ख्रीष्टको विरोध गर्न छोडेँ। मैले उहाँमाथि भरोसा मात्र गर्नुपर्छ भनी स्पष्ट बुझेँ, अब म होइनँ, ख्रीष्ट मात्र हुनुहुन्छ भनी म स्वीकार गर्न सक्छु। मैले समर्पण गर्न परेको थियो। त्यो क्षण कुनै शारीरिक अनुभव वा आँखा तिर्मिराउने ज्योति थिएन, मलाई अनुभवको आवश्यकता थिएन, मसँग ख्रीष्ट हुनुहुन्थ्यो! ख्रीष्टमा विश्वास गर्दा मेरो पाप मेरो आत्माबाट उठाएर लगिएको अनुभव मलाई भयो। म मेरो पापबाट फर्किएँ, र मैले प्रभु येशूलाई मात्र हेरेँ! प्रभु येशूले मलाई बचाउनुभयो।
      एउटा असल चर्चमा हुर्किए पनि उहाँको विरोध गर्ने मजस्तो अयोग्य पापीलाई क्षमा गर्न येशूले मलाई कति धेरै प्रेम गर्नुभएको छ। मेरो हृदय परिवर्तनको वर्णन गर्न र ख्रीष्टप्रतिको मेरो प्रेम प्रकट गर्न शब्दहरू पर्याप्त हुँदैनन्। ख्रीष्टले मेरो निम्ति उहाँको प्राण दिनुभयो र यसका निम्ति मेरा सबै कुरा उहाँलाई दिँदछु। मैले उहाँको चर्चलाई थुक्दा र उहाँको उद्धारको हाँसो उडाउँदा पनि प्रभु येशूले मेरो निम्ति क्रूसमा टाँगिन आफ्नो सिंहासन् त्याग्नुभयो, म उहाँको प्रेम र कृपाको घोषणा पर्याप्त रूपमा कसरी गर्न सक्छु? येशूले मेरो घृणा र क्रोध हटाउनुभयो र त्यसको साटो मलाई प्रेम दिनुभयो। उहाँले मलाई एउटा नयाँ सुरुआत् मात्र होइन तर त्योभन्दा धेरै कुरा दिनुभयो- उहाँले मलाई नयाँ जीवन दिनुभयो। विश्वासद्वारा मात्र म प्रभु येशूले मेरा सबै पाप पखाल्नुभयो भनी जान्दछु, अनि त्यसको कुनै ठोस प्रमाण नहुँदा म त्यो कसरी जान्न सक्छु भनी सोच्दछु, तर म सधैँ आफूलाई यो स्मरण गराउँछु कि "विश्वास..नदेखिएका कुराको दृढ् भरोसा हो," अनि राम्ररी विचार गर्दै मेरो विश्वास प्रभु येशूमा छ भन्ने जानेपछि मलाई शान्ति हुन्छ। प्रभु येशू मेरो एक मात्र उत्तर हुनुहुन्छ।
      परमेश्वरले मलाई अनुग्रह, र धेरै ओटा मौकाहरू दिनुभएको निम्ति साथै मलाई जबरजस्ती उहाँका पुत्रतिर खिँच्नुभएको निम्ति उहाँलाई धन्यवाद दिँदछु, किनकि मेरो आफ्नै कोसिसले म कहिल्यै पनि प्रभु येशूकहाँ आउनेथिइनँ। यी केवल शब्दहरू हुन्, तर मेरो विश्वास येशूमा छ, किनकि उहाँले मलाई परिवर्तन गर्नुभएको छ। उहाँ सधैं मेरो साथमा हुनुहुन्छ, मेरा उद्धारक, मेरो विश्राम र मेरा मुक्तिदाता! उहाँले मलाई गर्नुभएको प्रेमको तुलनामा मेरो प्रेम अति तुच्छ देखिन्छ। म उहाँको निम्ति जति नै लामो र इमानदारीसाथ जिए पनि त्यो पर्याप्त हुँदैन, मैले उहाँका निम्ति जत्ति नै काम गरे पनि त्यो पर्याप्त हुँदैन। प्रभु येशूको सेवा गर्नु मेरो निम्ति आनन्द हो। उहाँले मलाई जीवन र शान्ति दिनुभयो, किनकि मैलै त घृणा गर्न मात्र जानेको थिएँ। प्रभु येशू मेरो महत्त्वाकांक्षा र मेरो दिशा हुनुहुन्छ। म आफैमाथि भरोसा राख्दिनँ, तर म उहाँमा मात्र आशा राख्दछु, किनकि उहाँले मलाई कहिल्यै निराश पार्नुभएको छैन। ख्रीष्ट मकहाँ आउनुभयो, यसकारण म उहाँलाई छोड्नेछैनँ।

यी, जोन शमूएल केगनको १५ वर्षको उमेरमा हृदय परिवर्तन भएका कुराहरू हुन्। अब तिनी सेवकाइमा प्रवेश गर्न चाहन्छन्। साँचो रूपले हृदय परिवर्तन हुँदा जे हुन्छ, जोन केगनलाई त्यही भयो! परमेश्वरले जोनका निम्ति जे गर्नुभयो, त्यस्तै तपाईंको निम्ति पनि गर्नुभएको हुनपर्छ।

आजका अधिकांश प्रचारकहरू हुँदो हो त तिनलाई तुरुन्तै प्रार्थना गर्न लगाउनेथिए, र तिनलाई बप्तिस्मा दिइहाल्थे- अनि तिनलाई हाम्रा चर्चहरूका करोडौं हराएका मानिसमध्ये एक जना बनाउनेथिए। हामीमा कुनै जागृति नहुनुको पहिलो कारण यो हो कि प्रचारकहरूले परमेश्वरलाई पापीको हृदयमा काम गर्न दिँदैनन्। तिनीहरूले पापीलाई परमेश्वरदेखि तानेर पर लैजान्छन् अनि उसलाई हराएकै अवस्थामा बप्तिस्मा दिन्छन्। म विश्वास गर्दछु, आज हुने प्रायः बप्तिस्माहरू हराएका मानिसहरूलाई दिइने बप्तिस्मा हुन्छन्। यही पहिलो कारणले गर्दा हामीसँग कुनै जागृति छैन! प्रायः साँचो रूपले हृदय परिवर्तन नभई नै सबैलाई उद्धार पाएको घोषणा गर्दै बप्तिस्मा दिइन्छ! म स्वीकार गर्दछु, म आफैले पनि त्यस्तो पाप गर्ने गर्थेँ। परमेश्वर मलाई क्षमा दिनुहोस्! नत्र भने अरू कुन कारणले गर्दा परमेश्वरले करिब १४० वर्षसम्म जागृति रोकेर राख्नुहुन्छ र? अरू कुन कारणले? अझै अर्को एउटा कारण पनि छ!

२. दोस्रो, करिब १४० वर्षभन्दा धेरै समयदेखि कुनै ठूलो जागृति भएको छैन, किनकि हामी ख्रीष्टियनहरूले आफ्ना पाप स्वीकार गर्न पर्ने र प्रभु येशूको रगतद्वारा शुद्ध हुन पर्ने कुरामा भन्दा बढी पवित्र आत्मामा जोड् दिँदछौं!

यो यस्तो कुरा हो, जुन म अघिबाटै जान्दथें। तर हालैमा मैले यो कुरा अझ स्पष्टसँग बुझेको छु। म तीन ओटा जागृतिको प्रत्यक्ष साक्षी भएको छु। पहिलोचाहिँ सबैभन्दा शक्तिशाली थियो- अनि त्यो आत्माको "बप्तिस्मा," अन्यभाषा, चंगाइ वा आश्चर्यकर्महरूमा निर्भर थिएन। यो पूर्ण रूपले ख्रीष्टियनहरूले तिनीहरूका पाप स्वीकार गरेका र ख्रीष्टको रगतले पखालिएर नयाँ भएका कुरामा निर्भर थियो।

आज हाम्रा चर्चहरूमा साँचो रूपले हृदय परिवर्तन भएका मानिसहरू पनि पापमा लागिरहन्छन्- हृदयका पापहरू, शरीरका पापहरू। त्यो पहिलो जागृतिमा मैले देखें चर्चका प्रायः सम्पूर्ण विश्वासीले वेदीमा आएर परमेश्वरको अगाडि आफ्ना पाप स्वीकार गरेका थिए, अनि परमेश्वरले प्रभु येशूको रगतद्वारा तिनीहरूका हृदयमा शान्ति दिनु नभईञ्जेल आँसु बगाउँदै रोएका थिए। प्रेरित यूहन्नाले भनेका छन्,

"यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ।" (१ यूहन्ना १:९)

अनि परमेश्वरले ख्रीष्टियनहरूका पापहरू कसरी शुद्ध पार्नुहुन्छ? "उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ"(१ यूहन्ना १:७)।

पहिलो, भित्रिय र बाहिरी सबै पापहरू स्वीकार गर्नुपर्छ। दोस्रो, हाम्रो पापको शुद्धीकरण प्रभु येशूको रगतद्वारा हुँदछ। यो सजिलो सुनिन्छ, होइन? तापनि आज कति ओटा चर्चले यस कुरामा जोड् दिन्छन्? म त्यस्तो कुनै चर्चको बारेमा जान्दिनँ। यही दोस्रो कारणले गर्दा करिब १४० वर्षसम्म कुनै जागृति छैन।

साँचो जागृतिको विषयमा धेरै अध्ययन गरेका ब्रेयन एडवर्डको कुरा सुन्नुहोस्। तिनले भनेका छन्,

जागृति...गहन रूपले पापप्रति कायल भएपछि सुरु हुँदछ। कहिलेकाहीं त पापप्रति कायल हुने कुरा यस्तो स्वरूपको हुन्छ, जसले जागृतिको विषयमा पढ्नेहरूलाई विचलित बनाउन सक्छ। कहिलेकाहीं यो अनुभव अति दमनकारी हुन्छ। मानिसहरू नियन्त्रण गर्न नसकिने गरी र त्योभन्दा बढी रुन्छन्। तर दोष महसुस र शोकको आँसुबिना वास्तविक जागृति हुँदैन(एडवर्डस्, रिभाइभल, इभान्जलिकल प्रेस,२००४, पृष्ट ११५)।

गहन, असहजता र दीनतासहित पापप्रति कायल नभई कुनै जागृति हुँदैन
      (एडवर्डस्,ऐजन, पृष्ठ ११६)।

मैले देखेको पहिलो जागृति रुने र आफ्ना पापहरू स्वीकार गर्ने थोरै ख्रीष्टियनहरूसित सुरु भएको थियो। चाँडै नै सम्पूर्ण चर्च भवन घन्टौंसम्म रूने, आफ्नो पाप स्वीकार गर्ने र बिस्तारै सुँकसुँकाउने मानिसहरूद्वारा भरियो। त्यत्ति मात्र भयो। अन्यभाषा कसैले बोलेन। आत्माले भरिने काम पनि भएन। चंगाइ पनि भएन। आत्मामा लड्ने कार्य पनि भएन। पाप स्वीकार, रुवाइ, प्रार्थनाहरू र बिस्तारै सुँकसुँकाउने कार्य मात्र भए। घन्टौंसम्म त्यस्तो भइरह्यो।

त्यसपछि त्यो एक वा दुइ दिनका निम्ति रोकिन्थ्यो- तर फेरि आत्मा आउनुहुन्थ्यो- तीन वर्षको अवधिभरि घरीघरी यस्तै भइरहन्थ्यो। १५ जनाभन्दा कम मानिसहरूद्वारा सुरु भएको त्यस चर्चमा त्यो जागृति समाप्त हुँदासम्म तीन हजार मानिस थपिएको थियो। अब तिनीहरूले हरेक आइतबार बिहान एउटाको बदली चार ओटा सेवाहरू गर्न पर्ने भयो, साथै आइतबार राति पनि दुइ ओटा सेवा गर्नु पर्ने भयो।

तर हाम्रा चर्चमा धेरै मानिसहरू ल्याउन जागृति आओस् भनेर हामीले प्रार्थना गर्नुपर्छ भनी म विश्वास गर्दिनँ। हाम्रो मुख्य उद्देश्य चर्च शुद्ध होस् भन्ने हुनुपर्छ। हामीसँग शुद्ध चर्च हुनुपर्छ।

हामीले ठूल्ठूला आत्मिक सम्मेलनहरू गरेका छौं। हामीले ख्रीष्टियन टेलिभिजन कार्यक्रमहरू गरेका छौं। हामील चंगाइका सेवाहरू गरेका छौं। चर्चहरूमा अन्यभाषाहरू बोलिएका र अन्य अनुभवहरू देखेका छौं। तर अमेरिकामा करिब १४० वर्षभन्दा धेरै समयदेखि हामीले त्यो प्राचीन, ऐतिहासिक जागृति देखेका छैनौं। यी अन्य कुराहरूले हामीलाई अर्कैतिर लगेका छन्। हामी ख्रीष्टियनहरूले पवित्र आत्मालाई हाम्रा पापहरूको निम्ति हामीलाई दोषी ठहराउन दिएका छैनौं। येशूले उहाँको अमूल्य, पवित्र रगतले धोएर हामीलाई नयाँ बनाऊन् भन्दै हामी रोएका छैनौं।

हाम्रो चर्चमा हामीले जागृतिको "छुवाइ" पाएका छौं। करिब चार ओटा रातका सेवाहरूमा एघार जना व्यक्तिले प्रभुमा विश्वास गरे, जुन मानिसहरूलाई डा. केगनले दुइचोटि जाँचे, तिनी यस विषयमा निपुण छन्। ती एघारै जनाको हृदय परिवर्तन भएको छ भनिएको छ। हामीसँग ती आठ जना ख्रीष्टियन पनि थिए, जसले आफ्ना पापहरू स्वीकार गरे, अनि हरेक रात आँसु बगाउँदै प्रार्थना गरे। हाम्रो चर्च सुरुभएदेखि यता ४१ वर्षमा हाम्रो त्यस्तो सेवा कहिल्यै भएको थिएन।

तर मैले पाप गरेँ। डा. केगनले मलाई त्यसलाई "पाप" नभन्नुहोस् भने। तर मलाई लाग्छ, मैले पाप गरेँ। मैले घमन्ड गरेँ, हामीमा जागृति आयो भनेर घमन्ड गरेँ। जागृति साँच्चै भर्खरै सुरु भएको थियो। तर मैले पापप्रति कायल हुने र येशूको रगतको विषयमा प्रचार गर्न बन्द गरेँ। मैले त्यो सेवा कसैको जिम्मामा सुम्पें, अनि सेवामा येशूलाई छोडेर विशेष जोड् पवित्र आत्मामा दिन थालियो। प्रभु येशूले पवित्र आत्माको विषयमा भन्नुभएको कुरा मैले सम्झनु पर्थ्यो,"उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ"(यूहन्ना १५:२६)। मैले अरू कसैलाई त्यहाँ आएर पवित्र आत्माको विषयमा प्रचार गर्न दिनुहुन्थेन। ती मैले गरेका पापहरू थिए। अहङ्कारको पाप र दुःसाहसको पाप। अनि आज राति तपाईंहरूको अगाडि म ती स्वीकार गर्छुI मेरो अहङ्कारको पाप र मेरो दुःसाहसको पाप। कृपया, सबैले प्रार्थना गर्नुहोला कि मैले प्रभु येशू र पाप स्वीकारलाई बेवास्ता गरेकोमा परमेश्वरले मलाई क्षमा गरून्(तिनीहरू प्रार्थना गर्छन्)। मैले देखेको त्यो पहिलो जागृतिमा जस्तो अब परमेश्वर हामीकहाँ फर्केर आऊन् भनी प्रार्थना गर्नुहोस्। परमेश्वरको उपस्थिति हामीकहाँ फर्केर आओस् भनी प्रार्थना गर्नुहोस्। चिनियाँहरूझैं रुँदै प्रार्थना गर्नुहोस् (तिनीहरू प्रार्थना गर्छन्)। कृपया, खडा भएर "हल्लेलूयाह, व्हाट अ सेभियर" भजन गाउनुहोस्। अब "स्प्रीट अफ लिभिङ गड" भजन गाउनुहोस्। फेरि "सर्च मी ओ गड" भजन गाउनुहोस्। अनि "फिल अल माई भिजन" नामक भजनको पहिलो र अन्तिम खण्ड गाउनुहोस्। सुश्री ङगुयेन, कृपया परमेश्वर फेरि ओर्लेर आऊन् भनी प्रार्थना गर्नुहोस्। यहाँ धेरै जना छन् जो अझै पनि हराएका र विश्वासबाट पछि हटेका छन्। परमेश्वर तिनीहरूका निम्ति ओर्लेर आऊन् भनी प्रार्थना गर्नुहोस्।

तपाईंहरूमध्ये जस-जसले आफ्नो जीवनमा जागृति फर्केर आओस् भनी प्रार्थना गर्न चाहनुहुन्छ, कृपया खडा हुनुहोस्, र परमेश्वर फेरि ओर्लेर आऊन् भनी प्रार्थना गर्नुहोस्। चीनका विश्वासीहरूले झैं प्रार्थना गर्नुहोस्। जस-जसले आफ्ना पापहरू स्वीकार गर्न चाहनुहुन्छ, यहाँ वेदीको सामुन्ने आउनुहोस्। प्रभु येशूको रगतले शुद्ध हुन चाहनेहरू यहाँ आउनुहोस् र आफ्ना पापहरू स्वीकार गर्नुहोस्। येशूद्वारा बचाइन चाहनेहरू पनि यहाँ आउनुहोस्। साउदर्न ब्याप्टिस्ट चर्चका एक साधारण विश्वासी श्री भिर्गिल निकेल एक हराएको व्यक्ति थिए, तिनी विगत २५ वर्षदेखि हाम्रो चर्चमा आउँथे, तिनी पनि अगाडि आए, अनि हृदय परिवर्तनको साँचो अनुभवमा प्रभु येशूमाथि विश्वास गरे। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो श्री एरोन यान्सीद्वारा – २ तिमोथी ३:१-५
श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
      ( ''फादर एलङ''- डब्ल्यु. बी. स्टीभेन्सद्वारा रचित, १८६२-१९४०;
बार्ने ई. वारेन,१८६७-१९५१ द्वारा मिलाइएको र बदलाइएको)।


रूपरेखा

अमेरिका र पश्चिमी मुलुकका चर्चहरूले जागृतिको अनुभव
नगर्नुका दुइ ओटा कारणहरू

THE TWO REASONS WHY THE CHURCHES IN AMERICA
AND THE WEST DON’T EXPERIENCE REVIVAL

द्वारा डा. आर. एल. हिमर्स

"तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बाबुको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्। जुन स्त्रीहरू सिक्न त सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्" (२ तिमोथी ३:१-७)।

(२ तिमोथी ३:१३,५; १ कोरिन्थी २:१४)

१.  पहिलो, करिब १४० वर्षभन्दा धेरै समयदेखि कुनै ठूलो जागृति भएको छैन,
किनकि हामी प्रायः हराएका मानिसहरूलाई मात्र बप्तिस्मा दिँदछौं!
यूहन्ना
१६:८,९,१४; १५:२६; ६:४४; मर्कूस १०:२६,२७

२.  दोस्रो, करिब १४० वर्षभन्दा धेरै समयदेखि कुनै ठूलो जागृति भएको छैन,
किनकि हामी ख्रीष्टियनहरूले आफ्ना पाप स्वीकार गर्न पर्ने र प्रभु येशूको
रगतद्वारा शुद्ध हुन पर्ने कुरामा भन्दा बढी पवित्र आत्मामा जोड् दिँदछौं! १
यूहन्ना
१:९,७; यूहन्ना १५:२६