Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




साँचो हृदय परिवर्तन − २०१५ संस्करण

REAL CONVERSION – 2015 EDITION
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, ४ जनवरी, २०१५ मा लस एन्जलसको द ब्याप्टिस्ट
टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord's Day Morning, January 4, 2015

"येशूले भन्नुभयो, 'साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ" (मत्ती १८:३)


प्रभु येशूले स्पष्ट भन्नुभयो, 'मन परिवर्तन गरेनौ भने.. कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।' यसरी प्रभुले तपाईंमा हृदय परिवर्तनको अनुभव हुनैपर्छ भनी स्पष्ट भन्नुभयो। उहाँले भन्नुभयो, यदि तपाईंले हृदय परिवर्तनको अनुभव गर्नुभएन भने 'तपाईं स्वर्गको राज्यमा प्रवेश गर्नुहुनेछैन।'

आज बिहान म तपाईंलाई साँचो हृदय परिवर्तन भएको व्यक्तिलाई के हुन्छ भन्ने कुरा बताउन लागेको छु। ध्यान दिनुहोस्, मैले 'साँचो' हृदय परिवर्तन भनेको छु। 'पापीले गर्ने प्रार्थना' गरेर वा अरू प्रकारले प्रभुलाई ग्रहण गर्ने निर्णय गरेर लाखौं मानिसहरूले झुटो हृदय परिवर्तनको अनुभव गरेका छन्।

हाम्रो मण्डलीमा केही यस्ता मानिसहरू छन्, त्यसमा मेरी पत्नी पनि पर्छिन्, जुनहरूले सुसमाचार स्पष्ट रूपमा प्रचार गरिएको पहिलोचोटि सुन्दा नै प्रभुमा विश्वास गरेका थिए। तर यिनीहरू सबै नै वयस्क थिए, अनि सुसमाचार सुन्नुभन्दा अघिबाटै जीवनका परिस्थितिहरूद्वारा राम्ररी तयार भएका थिए। तिनीहरूमध्ये कोही पनि बाल-बालिका थिएनन्। अहिलेसम्म हामीद्वारा जुन साँचो परिवर्तन भएका छन् ती जवान मानिसहरूको बीचमा भएका छन्, जुनहरू धेरै महीना (वा वर्ष) सम्म सुसमाचारका सन्देशहरू सुनेपछि ख्रीष्टमा आएका हुन्। स्पर्जनले भनेका थिए, 'पहिलो नजरमा त्यो विश्वासजस्तो पनि हुन सक्छ, तर प्रायः हामी धेरै चरणहरू पार गरेपछि मात्र विश्वाससम्म पुग्दछौं' (सी. एच. स्पर्जन, अराउन्ड द विकेट गेट, पिलग्रिम पब्लिकेसन्स्, १९९२, पुन-प्रकाशित, पृष्ठ ५७)। अधिकांश मानिसहरू निम्न 'चरणहरू' बाट भएर जान्छन्।

१. पहिलो, तपाईं कुनै अरू कारणले मण्डलीमा आउनुहुनेछ अनि तपाईंको हृदय परिवर्तन हुन्छ।

प्रायः पहिलो केही पल्ट मण्डलीमा आउने व्यक्ति 'गलत' कारणले आएको हुन्छ, जस्तो मलाई पनि भएको थियो। म केटौले उमेरमा मण्डलीमा गएको थिएँ, किनकि मेरो छिमेकीले मलाई तिनीहरूको साथमा मण्डलीमा जाने निमन्त्रणा दिएको थियो। यसरी म सन् १९५४ देखि मण्डलीमा जान थालें, किनकि म एकलो थिएँ, र मेरो छिमेकीले मसँग राम्रो व्यवहार गर्थ्यो। त्यो मण्डलीमा जाने 'उचित' कारण होइन, उचित हो त? मैले सुनेको पहिलो प्रवचनको अन्त्यमा म 'अगाडि' गएँ, अनि मलाई केही परामर्श नदिई र म अगाडि आएको कारण पनि नसोधी मलाई बप्तिस्मा दिइयो। त्यसरी म एक ब्याप्टिस्ट बनें। तर मेरो हृदय परिवर्तन भएको थिएन। मैले मुक्ति पाउन चाहेकोले होइन, तर मेरो छिमेकीले मसँग राम्रो व्यवहार गर्ने गरेको कारण म मण्डलीमा आएको थिएँ। त्यसकारण मैले करिब सात वर्षसम्म लामो संघर्ष गर्न पऱ्यो, अनि अन्त्यमा २८ सेप्टेम्बर १९६१ मा बायोला कलेज (अहिले बायोला विश्वविद्यालय भनिन्छ) मा डा. चार्ल्स जे. उडब्रिजको प्रचार सुनेपछि मेरो हृदय परिवर्तन भयो। त्यही दिन थियो, जुन दिन मैले प्रभु येशूमाथि विश्वास गरें अनि उहाँले मलाई शुद्ध पार्नुभयो र मेरा पापबाट मलाई बचाउनुभयो।

आज तपाईंको अवस्था कस्तो छ? के तपाईं एकलो हुनुभएको कारण- वा बाल्यकालदेखि नै तपाईंका आमाबुवाले तपाईंलाई मण्डलीमा जाने बानी लगाएका कारण मण्डलीमा आउनुभएको हो? यदि तपाईं आज बिहान बानी परेको कारण यहाँ आउनुभएको छ भने त्यसको अर्थ तपाईंको हृदय परिवर्तन भएको छ भन्ने हुँदैन। वा के तपाईं पनि मजस्तै एकलो भएकोले, कसैले निम्त्याएको वा मानिसहरू तपाईंप्रति असल भएका कारणले मण्डलीमा आउनुभएको हो? यदि ती कारणले मण्डलीमा आउनुभएको हो भने त्यसको अर्थ तपाईंको हृदय परिवर्तन भएको छ भन्ने हुँदैन। मेरो भनाइलाई गलत प्रकारले नलिनुहोला। तपाईं चाहे बाल्यकालदेखि बानी भएकोले होस् वा एकलोपनले, चाहे म तेह्र वर्षको हुँदा जसरी आएँ त्यसरी नै आउनुभएको हो भने पनि तपाईं यहाँ आउनुभएकोमा म खुशी छु। हामी बुझ्न सक्छौं, मण्डलीमा आउने कारणहरू यी पनि हुन्छन्, तर यी कारणहरूले तपाईंलाई बचाउँदैनन्। मुक्ति पाउनका निम्ति तपाईंको हृदय साँचो रूपले परिवर्तन भएको हुनुपर्छ। तपाईंले साँच्चै प्रभु येशूद्वारा मुक्ति पाउने इच्छा गर्नुपर्छ। त्यो नै 'उचित' कारण हो, यो कारणले मात्र तपाईंलाई पापको जीवनबाट बचाउँछ।

यदि तपाईं बानी बसेकोले वा एकलो भएकोले यहाँ आउनुभएको हो भने पनि त्यसमा केही नराम्रो छैन। तर त्यो मण्डलीमा आउने सही कारण भने होइन। मण्डलीमा आउँदा तपाईंलाई राम्रो लागेर मात्र हुँदैन, तपाईंको हृदय परिवर्तन हुनका निम्ति तपाईंले अझ धेरै केही कुराको चाहना गर्नुपर्छ।

२. दोस्रो, तपाईं साँच्चै एक साँचो परमेश्वर हुनुहुन्छ भनी थाहा पाउन थाल्नुहुनेछ।

सायद मण्डलीमा आउनुभन्दा अघिदेखि तपाईंलाई परमेश्वर हुनुहुन्छ भनी थाहा थियो। तर धेरै जना मानिसमा सुसमाचार सुन्नुभन्दा अघि परमेश्वरमाथि धमिलो, अस्पष्ट विश्वास हुन्छ। तपाईंलाई पनि कसैले यहाँ ल्याएको हो भने तपाईंको अवस्था पनि यस्तै हुन सक्छ।

यदि तपाईं मण्डलीको शिक्षा पाएर हुर्कनुभएको हो भने पवित्रशास्त्रको बारेमा तपाईंले धेरै कुरा जानिसक्नुभएको छ। तपाईं बाइबलका पदहरू तुरुन्तै खोल्न सक्नुहुन्छ। तपाईंलाई उद्धारको योजना थाहा छ। तपाईं धेरै ओटा बाइबल पदहरू र भजन-गीतहरू जान्नुहुन्छ। तर तपाईंका निम्ति परमेश्वर अझै पनि अवास्तविक र अस्पष्ट हुनुहुन्छ।

त्यसपछि, तपाईं चाहे नयाँ व्यक्ति वा बाल्यकालदेखि मण्डलीमा आउनुभएको व्यक्ति, जे भए पनि केही हुन थाल्छ। तपाईं परमेश्वरको बारेमा कुरा मात्र गर्नुहुन्न, तर परमेश्वर साँच्चै हुनुहुन्छ भनी थाहा पाउन थाल्नुहुन्छ। परमेश्वर तपाईंका निम्ति एक वास्तविक व्यक्ति बन्नुहुन्छ।

म एउटा सानो बालक छँदादेखिनै ममा परमेश्वरमाथि धमिलो, अस्पष्ट विश्वास थियो। पन्ध्र वर्षको नभइञ्जेलसम्म मलाई बाइबलका 'महान् र भययोग्य' (नहेम्याह १:५) परमेश्वरको बारेमा थाहा थिएन- त्यसको करिब दुई वर्षपछि म मेरो छिमेकीसँग ब्याप्टिस्ट मण्डली जान थालें। मेरी हजूरआमाको मृत्यु भएको दिन म चिहानघारीमा रूखहरूको पछिल्तिर छेलिएर रोइरहेको थिएँ, म भूइँमा स्याँ-स्याँ र असिनपसिन भइरहेको थिएँ। अचानक परमेश्वर मकहाँ ओर्लेर आउनुभयो- उहाँ साँचो परमेश्वर हुनुहुन्छ, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, अनि उहाँको पवित्रतामा उहाँ भयानक पनि हुनुहुन्छ भनी म जान्दथेँ। तर त्यो बेला पनि मेरो हृदय परिवर्तन भएको थिएन।

के तपाईंले पनि कुनै बेला यस्तो अनुभव गर्नुभएको छ? के बाइबलका परमेश्वर तपाईंको निम्ति एक वास्तविक व्यक्ति हुनुहुन्छ? यो एउटा अति नै महत्त्वपूर्ण कुरा हो। पवित्र बाइबलले भन्छ,

"विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजीक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ, र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।" (हिब्रू ११:६)

परमेश्वरमा विश्वास गर्नका निम्ति केही मात्रामा भरोसा हुनु आवश्यक हुन्छ, तापनि त्यो बचाउने (उद्धार गराउने) विश्वास भने होइन। त्यो हृदय परिवर्तन होइन। मेरी आमा भन्ने गर्थिन्, 'म सधैँ परमेश्वरमाथि विश्वास गर्छु।' उनले विश्वास गर्थिन् भन्ने कुरामा मलाई कुनै शङ्का छैन। बाल्यकालदेखि नै उनले परमेश्वरमा विश्वास गर्थिन्। तर उनको उमेर ८० वर्षको हुँदासम्म उनको हृदय परिवर्तन भएको थिएन। उनले परमेश्वरमा विश्वास गर्नु जरूरी थियो, तर साँचो हृदय परिवर्तन हुनका निम्ति एक व्यक्तिमा त्योभन्दा धेरै केही कुरा हुन पर्छ।

मैले के भनिरहेको छु भने, आज बिहान तपाईं परमेश्वरको वास्तविकता नजानी मण्डलीमा आउनुभएको हुन सक्छ। अनि त्यसपछि बिस्तारै वा सायद चाँडै तपाईं परमेश्वर साँच्चै हुनुहुन्छ भनी बुझ्नुहुनेछ। त्यो दोस्रो चरण हो, तापनि अझै हृदय परिवर्तन भएको हुँदैन।

३. तेस्रो, तपाईंले आफ्नो पापले परमेश्वरलाई दुःखी र क्रोधित तुल्याउनुभएको थाहा पाउनुहुनेछ।

पवित्र बाइबलले भन्छ, "पाप-स्वभावको वशमा हुने(अर्थात्, हृदय परिवर्तन नभएका)हरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्" (रोमी ८:८)। यसरी हृदय परिवर्तन नभएको एक व्यक्तिको रूपमा तपाईंले गर्नुहुने कुनै पनि कुराले परमेश्वर प्रसन्न बन्नुहुन्न भनी थाहा पाउन थाल्नुहुनेछ। वास्तवमा, तपाईं एक पापी हुनुहुन्छ भनी थाहा पाउनुहुन्छ। प्रत्येक दिन तपाईंको "अपश्चात्तापी हृदयले गर्दा आफैमाथि क्रोध थुपार्नुहुन्छ" (रोमी २:५)। पवित्र बाइबलले भन्छ,

"दुष्टहरूप्रति परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ" (भजन ७:११)।

परमेश्वर हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईंले आफ्नो पापले परमेश्वरलाई दुःखी बनाउनुभएको पनि थाहा पाउनुहुनेछ। परमेश्वरलाई प्रेम नगरेर पनि तपाईंले उहाँलाई दुःखी बनाउनुभएको छ। जुन पापहरू तपाईंले गर्नुभयो ती परमेश्वर र उहाँका आज्ञाहरूको विरुद्धमा गर्नुभयो। यो कुरा सत्य हो भनी तपाईं स्पष्ट बुझ्नुहुनेछ। यो समयमा परमेश्वरप्रति तपाईंमा प्रेमको कमी हुनुलाई तपाईं एउटा ठूलो पापको रूपमा हेर्नुहुनेछ। तर त्योभन्दा अझ बढी तपाईंको त स्वभाव नै पापी भएको, तपाईंभित्र कुनै असल कुरा नभएको, तपाईंको त मन नै पापी भएको देख्नुहुनेछ।

यो चरणलाई विशुद्धवादीहरूले प्रायः 'जागृति' को चरण भन्ने गर्थे। तर आफ्नो पापको ज्ञान र आफू दोषी भएको महसुस नगरी कुनै प्रकारको जागृति हुन सक्दैन। तपाईं पनि जोन न्यूटनले झैं अनुभव गर्नुहुनेछ, जुन बेला तिनले यस्तो लेखे,

हे प्रभु, म कति बेकम्मा, अपवित्र र अशुद्ध छु!
म पापको भारी बोकेर कसरी माथिमाथि उड्ने साहस गर्न सक्छु?
के अशुद्ध हृदय तपाईंको वासस्थान हो र?
अहो, सबैतिर दुष्टता फैलिएको म देख्तछु!
   (जोन न्यूटनद्वारा लिखित "हे प्रभु, म कति बेकम्मा छु" जोन न्यूटन,
      १७२५-१८०७)

तपाईं आफ्नो मन र हृदयको भित्रिय पापमय अवस्थाबारे गहिरो रूपले विचार गर्न थाल्नुहुनेछ। तपाईं यस्तो सोच्नुहुनेछ,"मेरो हृदय पापी छ, अनि परमेश्वरदेखि धेरै टाढा छ।" यस्तो विचारले तपाईंलाई विचलित बनाउँछ। तपाईं आफ्नै पापमय विचारहरू र परमेश्वरप्रति प्रेमको कमीको कारणले गर्दा दुःखी र विचलित बन्नुहुनेछ। यो चरणमा परमेश्वरप्रतिको चिसो निर्जीव हृदयले तपाईंलाई विचलित बनाउनेछ। पापी हृदय भएको तपाईंजस्तो व्यक्तिका निम्ति कुनै आशा छैन भनी तपाईं बुझ्न थाल्नुहुनेछ। परमेश्वरले तपाईंलाई नरकमा पठाउनु आवश्यक र उचित छ भनी बुझ्नुहुनेछ, किनकि तपाईं नरक जाने योग्यका हुनुहुन्छ। तपाईंमा साँचो जागृति आउँदा तपाईं यस्तै विचार गर्नुहुनेछ, र तपाईंको पापले परमेश्वरलाई दुःखी र क्रोधित पार्नुभएको छ भनी थाहा पाउनुहुनेछ। त्यस्तो ज्ञान प्राप्त गर्ने यो चरण एउटा महत्त्वपूर्ण चरण हो, तर अझै पनि हृदय परिवर्तन भएको हुँदैन। जुन व्यक्तिले आफू कति पापी छु भनी बुझेको हुन्छ उ जागृत भएको हुन्छ। तर अझै पनि उसको हृदय परिवर्तन भएको हुँदैन। हृदय परिवर्तन हुनु भनेको पाप थाहा पाउनुभन्दा अझ बढी कुरा हो।

तपाईंलाई अचानक यो थाहा हुन्छ कि, तपाईंले परमेश्वरलाई दुःखी बनाउनुभएको छ, वा कुनै शिक्षा वा सिद्धान्तलाई बुझेपछि तपाईंभित्र यस्तो ज्ञान उत्पन्न हुन सक्छ। यसरी आफ्नो पापमय र अपवित्र अवस्था थाहा पाएपछि तपाईं हृदय परिवर्तनको चौथो र पाँचौं "चरणहरू" का निम्ति तयार हुनुहुनेछ।

चार्ल्स स्पर्जनले १५ वर्षको उमेरमा आफ्नो पापाको बारेमा थाहा पाए। तिनका पिता र हजूरबा दुवै प्रचारक थिए। तिनीहरू त्यस समयमा जिएका थिए, जुन बेला प्रभुलाई ग्रहण गर्ने आधुनिक ''निर्णय'' जस्ता कुराले साँचो हृदय परिवर्तनलाई धमिलो र अस्पष्ट बनाएको थिएन। यसकारण तिनका पिता र हजूरबाले "ख्रीष्टलाई ग्रहण गर्ने" देखावटी कुरा गर्न तिनलाई कर लाएनन्। बरु उनीहरूले तिनको हृदय परिवर्तन गराउन परमेश्वरले पूर्ण रूपले काम गरून् भनी पर्खे। मेरो विचारमा उनीहरूले ठीक गरे।

स्पर्जन पन्ध्र वर्षको भएपछि तिनलाई पापको गहन बोध भयो। स्पर्जनले आफूलाई आफ्नो पापी अवस्थाको बारेमा थाहा भएको वर्णन यी शब्दहरूमा गरेका छन्:

अचानक, मैले मोशालाई भेटें, जो हातमा परमेश्वरको व्यवस्था बोकेर गइरहेका थिए, अनि तिनले मलाई हेरे, तिनका अग्निमय आँखाहरूले मलाई पूर्ण रूपले जाँचे। तिनले मलाई परमेश्वरका दश आज्ञा पढ्नू भने, अनि जब मैले ती पढें, ती सबैले एकसाथ पवित्र परमेश्वरको अगि मलाई दोष लाउन र मेरो निन्दा गर्न थाले।

स्पर्जनले आफ्नो त्यस अनुभवमा तिनी परमेश्वरको नजरमा पापी ठहरिएका छन्, अनि कुनै पनि प्रकारको "धर्मकर्म" वा "असलपना" ले तिनलाई बचाउन सक्दैन भनी थाहा पाए। जवान स्पर्जन ठूलो निराशाको अवस्थाबाट भएर गए। तिनले धेरै उपाय अप्नाउँदै परमेश्वरसँग मिलाप गर्ने ठूलो कोसिस गरे, तर असफल बने। यसले हामीलाई हृदय परिवर्तनको चौथो चरणमा पुऱ्याउँछ।

४. चौथो, तपाईं आफ्नै कोसिसले उद्धार पाउन खोज्नुहुनेछ वा उद्धार कसरी पाइन्छ भन्ने कुरा सिक्नुहुनेछ।

सचेत व्यक्तिले आफ्नो पापी अवस्था थाहा पाउँछ, तर अझै पनि येशूतिर फर्कंदैन। अगमवक्ता यशैयाले यस्तो अवस्थामा रहेका मानिसहरूको वर्णन गर्दै भने,"जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्, ..उसलाई हामीले केही मोलको गनेनौं" (यशैया ५३:३)। हामी आदमजस्तै छौं, जसले आफू कति पापी छ भनी जान्दथ्यो, तर उद्धारकर्तादेखि लुक्यो, अनि नेभाराका पातहरूले आफ्नो पाप ढाक्न खोज्यो (उत्पत्ति ३:७, ८)।

आदमझैं आफ्नो पापप्रति सचेत व्यक्तिले आफैलाई पापदेखि बचाउन केही गर्ने कोसिस गर्दछ। उसले पापदेखि बच्ने उपाय "सिक्ने" कोसिस गर्दछ। तर त्यसरी "सिकेर" केही फाइदा नहुने उसले थाहा पाउँछ, उसले "सधैँ सिकिरहेको त हुन्छ, तर सत्यको ज्ञानामा कहिल्यै आउन सक्दैन" (२ तिमोथी ३:७)। वा उसले स्वयम् येशूलाई खोज्नुको साटो "भावनाहरू" को खोजी गर्दछ। यस्ता केही मानिसहरू धेरै महीनासम्म "भावना" को खोजी गर्दछन्, किनकि भावनाद्वारा कसैले पनि मुक्ति पाउँदैनन्। स्पर्जनलाई तिनका पापको बारेमा थाहा भइसकेको थियो। तर तिनले प्रभु येशूमा साधारण रूपले भरोसा राखेर मुक्ति पाउन सकिने कुरामा विश्वास गर्न सकिरहेका थिएनन्। तिनले लेखे,

ख्रीष्टको नजीकमा आउनुभन्दा अघि मैले आफैलाई भनें, "निश्चय यो हुन सक्दैन, मजस्तो छु, त्यस्तै अवस्थामा प्रभु येशूमा विश्वास गरेँ भने के म मुक्ति पाउँछु? मैले केही महसुस गर्नुपर्छ, म आफैले केही गर्नै पर्छ" (ऐजन)।

अनि त्यसले तपाईंलाई पाँचौं चरणमा पुऱ्याउँछ।

५. पाँचौं, तपाईं अन्त्यमा प्रभु येशूकहाँ आउनुहुन्छ, र उहाँमाथि मात्र भरोसा राख्नुहुन्छ।

जवान स्पर्जनले अन्त्यमा एक जना प्रचारकले यसो भन्दै प्रचार गरेको सुने, ''ख्रीष्टतिर हेर....आफैलाई हेरेर कुनै फाइदा हुनेछैन.....ख्रीष्टलाई हेर।'' हरप्रकारको आफ्नो संघर्ष अनि भित्रिय अशान्ति र पीडापछि – स्पर्जनले अन्त्यमा येशूलाई हेरे, र उहाँमाथि विश्वास गरे। स्पर्जनले भने, "मलाई रगतद्वारा (येशूको) बचाइयो, घर फर्कँदा म बाटोमा नाच्दै आउन सक्थें।"

त्यस्तो संघर्ष र शङ्कापछि, तिनले आफैमा कुनै पनि किसिमका भावनाहरू वा अरू कुराहरू खोज्न छोडिदिए। तिनले प्रभु येशूमा मात्र भरोसा राखे- अनि प्रभु येशूले त्यत्ति नै बेला तिनलाई बचाउनुभयो। प्रभु येशूको रगतद्वारा त्यही क्षण नै तिनी पापबाट शुद्ध पारिए। यो साधारण कुरा हो, तर मानव जातिले प्राप्त गर्न सक्ने एउटा गहन अनुभव हो। अर्थात् मेरो मित्र, यही साँचो हृदय परिवर्तन हो। पवित्र बाइबलले भन्छ, ''प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ'' (प्रेरित १६:३१) । जोसेफ हार्टले भनेका थिए,

जुन क्षण एक पापीले विश्वास गर्छ,
   क्रूसमा टाँगिएका परमेश्वरमाथि भरोसा राख्छ,
त्यही क्षण उसले क्षमा पाउँछ,
   उहाँको रगतद्वारा पूर्ण छुटकारा पाउँछ।
(''द मोमेन्ट ए सिनर बिलिभ्स्'' जोसेफ हार्ट, १७१२-१७६८)

निष्कर्ष

प्रभु येशूले भन्नुभयो,

''मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ" (मत्ती १८:३)।

पिलग्रिम प्रोग्रेस पुस्तकको मुख्य पात्रझैं ''ख्रीष्टलाई ग्रहण गर्ने देखावटी निर्णय'' नगर्नुहोस्। कदापि नगर्नुहोस्। तपाईंको हृदय परिवर्तन साँचो हो भनी निश्चित गर्नुहोस्, किनकि यदि तपाईं वास्तविक रूपले परिवर्तन हुनुभएको छैन भने तपाईं स्वर्गको राज्यमा पस्नुहुनेछैन (मत्ती १८:३)।

साँचो परिवर्तनका निम्ति आवश्यक कुराहरू

१.   तपाईं परमेश्वर हुनुहुन्छ भनी साँच्चै विश्वास गर्ने स्थितिमा आउनुपर्छ –एक साँचो परमेश्वर, जसले पापीहरूलाई दण्डको रूपमा नरक पठाउनुहुन्छ, अनि विश्वास गर्नेहरूलाई तिनीहरूका मृत्युपछि स्वर्ग लैजानुहुनेछ।

२.   तपाईंले आफ्नो भित्रिय मनमा यो जान्नुपर्छ कि तपाईं एक पापी हुनुहुन्छ, र परमेश्वरलाई गहिरो चोट पुऱ्याउनुभएको छ। तपाईं लामो (वा सायद छोटो) समयसम्म यस्तै अवस्थामा रहन सक्नुहुन्छ। डा. केगन, हाम्रा सह-पास्टरले भनेका थिए, "परमेश्वर मेरो निम्ति वास्तविक नबनिनुभइञ्जेल धेरै महीनासम्म म सुत्न सकिनँ। मेरो जीवनको यो अवधिलाई म दुई वर्षको मानसिक पीडा मात्र भन्न सक्छु।" (सी. एल. केगन. पी. एच. डी. फ्रम डार्विन टू डिजाईन, वाइटेकर हाउस, २००६, पृष्ठ ४१)

३.   तपाईंले यो जान्नुपर्छ कि, दुःखी र रिसाउनुभएका परमेश्वरसँग मिलाप गर्न तपाईं कुनै असल कुरा गर्न सक्नुहुन्न। तपाईंले भन्नुहुने, सिक्नुहुने, गर्नुहुने वा अनुभव गर्नुहुने कुनै पनि कुराले फाइदा गर्दैन। त्यो तपाईंले राम्ररी बुझेको हुनुपर्छ।

४.   तपाईं परमेश्वरका पुत्र येशू ख्रीष्टकहाँ आउनुपर्छ अनि उहाँको रगतद्वारा तपाईंको पापबाट शुद्ध हुनुपर्छ। डा. केगनले भनेका छन्, "मलाई त्यो एक-एक क्षण याद छ, जुन बेला मैले विश्वास (येशूमा) गरें,.. मलाई यस्तो लाग्यो कि म उहाँ (येशू)को आमनेसामने छु। निश्चित रूपले म येशू ख्रीष्टको उपस्थितिमा थिएँ अनि निश्चित रूपले उहाँ मेरो निम्ति उपलब्ध हुनुहुन्थ्यो। धेरै वर्षसम्म म उहाँदेखि तर्केर गएको थिएँ, तापनि उहाँ सधैँ मेरो निम्ति हुनुहुन्थ्यो, र प्रेमपूर्वक मलाई मुक्तिको प्रस्ताव दिइरहनुभएको थियो। तर त्यो रात मैले उहाँमाथि विश्वास गर्ने समय आएछ भनी जानें। म जान्दथें, म उहाँकहाँ आउनपर्थ्यो वा त उहाँदेखि तर्केर जानपर्थ्यो। त्यो बेला केही क्षणमा नै म येशूकहाँ आएँ। अब म आफैमाथि भरोसा राख्ने अविश्वासी रहिनँ। मैले येशू ख्रीष्टमा भरोसा गरेको थिएँ। मैले उहाँमाथि विश्वास गरेको थिएँ। यो अति सजिलै भयो, सारा जीवन म उहाँदेखि टाढा भागिरहेको थिएँ, तर त्यो रात म फर्किएँ अनि सोझै र तुरुन्तै ख्रीष्ट येशूकहाँ आएँ" (सी. एल. केगन. ऐजन, पृष्ठ १९)। साँचो हृदय परिवर्तन त्यही हो। ख्रीष्ट येशूमा आउनका निम्ति तपाईंले यस्तै कुराको अनुभव गर्नुपर्छ। प्रभु येशूकहाँ आउनुहोस् र उहाँमाथि भरोसा गर्नुहोस्। उहाँले तपाईंलाई बचाउनुहुनेछ अनि उहाँले क्रूसमा बगाउनुभएको रगतद्वारा तपाईंका सारा पापबाट तपाईंलाई शुद्ध पार्नुहुनेछ! आमेन्।


यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्स तपाईंबाट त्यो सुन्न चाहनुहुन्छ। डा. हिमर्सलाई पत्र लेख्नुहुँदा तपाईंले कुन देशबाट लेख्दै हुनुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि यी प्रवचनहरूबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई यो ठेगानामा ईमेल गर्नुहोस्- rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।


सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघिको प्रार्थना ऐबेल प्रुद्योमेद्वारा गरियो।
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
"अमेजिंग ग्रेस'' (रचनाकारः जोन न्यूटन- १७२५−१८०७)


रूपरेखा

साँचो हृदय परिवर्तन − २०१५ संस्करण

REAL CONVERSION – 2015 EDITION

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

"येशूले भन्नुभयो, 'साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ" (मत्ती १८:३)

१.   पहिलो, तपाईं कुनै अरू कारणले मण्डलीमा आउनुहुनेछ
अनि तपाईंको हृदय परिवर्तन हुन्छ।

२.   दोस्रो, तपाईं साँच्चै एक साँचो परमेश्वर हुनुहुन्छ
भनी थाहा पाउन थाल्नुहुनेछ। नहेम्याह १:५; हिब्रू
११:६

३.   तेस्रो, तपाईंले आफ्नो पापले परमेश्वरलाई दुःखी र क्रोधित
तुल्याउनुभएको थाहा पाउनुहुनेछ। रोमी ८:८; २:५; भजन
७:११

४.   चौथो, तपाईं आफ्नै कोसिसले उद्धार पाउन खोज्नुहुन्छ वा
उद्धार कसरी पाइन्छ भन्ने कुरा सिक्नुहुनेछ। यशैया ५३:३,
उत्पत्ति ३:७,८, २ तिमोथी ३:७

५.   पाँचौं, तपाईं अन्त्यमा प्रभु येशूकहाँ आउनुहुन्छ, र
उहाँमाथि मात्र भरोसा राख्नुहुन्छ। प्रेरित १६:३१