Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




येशू छेडिनुभयो, चोटैचोट हुनुभयो र पिटिइनु भयो

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ६)
JESUS WOUNDED, BRUISED AND BEATEN
(SERMON NUMBER 6 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

शनिबार बेलुकी, २३ मार्च, २०१३ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Saturday Evening, March 23, 2013

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं' (यशैया ५३:५)।


रोमी पहिलो अध्यायमा पाइने दुइ ओटा ग्रीक शब्दलाई कुनै कुराको विषयमा जान्नु र त्यसको विषयमा पूरा ज्ञान हुनु बीचको भिन्नता देखाउनका निम्त प्रयोग गर्न सकिन्छ। रोमी १:२१ मा प्राचीन कालका मानिसहरूले 'परमेश्वरलाई चिन्दथे' भनी हामीलाई भनिएको छ। 'चिन्यो' भनी बुझाउने ग्रीक शब्द 'नोसिस' हो। यसको अर्थ तिनीहरूले परमेश्वरको बारेमा जान्दथे। तर रोमी १:२८ ले तिनीहरूले 'परमेश्वरलाई कुनै मान्यता' दिएनन् भनी भन्छ। यहाँ मान्यताका निम्ति प्रयोग गरिएको ग्रीक शब्द 'इपिनसिस' हो। यसले बलियो ज्ञान(जान्नु)लाई बुझाउँछ, अझ बढी प्रभावसहितको पूर्ण ज्ञान प्रकट गर्ने ज्ञान(हेर्नुहोस्, डब्ल्यु. इ. भाइन, एन एक्स्पोजिटेरी डिक्सनेरी अफ न्यू टेस्टामेन्ट वर्डस, रिभेल १९६६, भाग २, पृष्ठ ३०१)। प्राचीन कालका मानिसहरूले परमेश्वरको बारेमा जाने(नसिस) पनि तिनीहरूमा उहाँको व्यक्तिगत ज्ञान(इपिनसिस) भने थिएन। तिनीहरू परमेश्वरलाई व्यक्तिगत रूपले जान्दैनथे।

जब हामी प्रभु-भोजको विधिहरूलाई हेर्छौं, मलाई लाग्छ, रोमी पहिलो अध्यायका ती दुइ ग्रीक शब्दले तपाईंहरूको वर्णन गर्दछन्, जो हामीले रोटी र कचौरा लिएका हेर्नुहुन्छ, तर आफै त्यसमा सहभागी बन्न सक्नुहुन्न, किनकि तपाईंको उद्धार भएको छैन। तपाईंहरू प्रभु-भोज के हो भन्ने कुरा बाहिरी र दिमागी तौरमा जान्नुहुन्छ, तर त्यसले चित्रण गर्ने ख्रीष्टलाई तपाईंहरू अनुभवद्वारा जान्नुहुन्न। तपाईंहरूलाई त्यसको बारेमा 'ज्ञान'('नसिस') छ, तर तपाईंहरूमा ख्रीष्टको पूर्ण ज्ञान(इपिनसिस) भने छैन। तपाईहरू स्वयम् येशू ख्रीष्टलाई चिन्नुहुन्न।

आजको हाम्रो बाइबल पदले पनि त्यसै भन्छ। तपाईं शब्दहरूको बाहिरी स्वरूप र तिनका अर्थ जान्न सक्नुहुन्छ, तर तिनका भित्रिय अर्थ बुझ्नुभएको हुँदैन, त्यतिसम्म पूर्ण रूपले बुझ्नुभएको हुँदैन, जसले 'शक्तिशाली रूपले प्रभाव' पार्दछ(ऐजन)। त्यसकारण त्यस पदको गहिरो अर्थतिर तपाईंको ध्यान खिँच्ने मेरो उद्देश्य छ, अनि आशा गर्छु, कि यी शब्दहरूबारे तपाईंको दिमागी ज्ञान गहिरिएर येशू ख्रीष्टसँग व्यक्ति अनुभव बन्न सकोस्।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं'(यशैया ५३:५)।

यदि तपाईं परिवर्तन हुन चाहनुहुन्छ भने यो एउटा यस्तो पद हो जसले तपाईंको हृदयलाई खिँच्नुपर्छ। मेरो प्रार्थना छ, यसले तपाईंलाई दिमागी ज्ञानबाट सारेर येशू ख्रीष्टमा साँचो रूपले विश्वास गर्ने बनाओस्- जो तपाईंको पापको मूल्य तिर्न क्रूसमा मर्नुभयो। यो बाइबल पदमा तीन ओटा मुख्य बुँदा छन्।

१. पहिलो, ख्रीष्ट हाम्रा अपराधहरूका निम्ति छेडिनुभयो, हाम्रा अधर्मका निम्ति पेलिनुभयो।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो'(यशैया ५३:५)।

यसको पहिलो शब्द 'तर' ले पद ४ को अन्त्यमा वर्णन गरिएको-ख्रीष्ट उहाँका आफ्नै पापहरू र मूर्खताका निम्ति मर्नुभयो भन्ने झुटो विचार अनि उहाँ हाम्रा पापहरूको मूल्य तिर्न मर्नुभयो भन्ने साँचो तथ्य बीच तुलना गर्दछ। डा. एडवर्ड जे. यङ्ग पुरानो करार बाइबलका विद्वान थिए। उनी मेरा चिनियाँ पास्टर डा. तिमोथी लीनका व्यक्तिगत मित्र थिए, उनी पनि पुरानो करार बाइबलका एक महान् विद्वान थिए। डा. यङ्गले भनेका छन्, 'सर्वनाम शब्द ऊ लाई पहिलो स्थानमा राख्नुमा पनि अर्को महत्त्व छ, यसले साँच्चै दण्ड पाउने लायकका मानिसहरूको तुलना गर्दै उहाँले ती दोषीहरूका निम्ति दण्ड भोग्नुभयो भन्ने देखाउँछ'(एडवर्ड जे. यङ्ग,द बुक अऱ आइजैया, विलियम बी, एर्डमन्डस् पब्लिसिङ कम्पनी,१९७२, भाग ३, पृष्ठ ३४७)।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो'(यशैया ५३:५)।

यो 'छेडियो' शब्द धेरै महत्त्वपूर्ण छ। डा. यङ्गले यसको हिब्रू शब्दको अर्थ 'वारपार छेड्नु, हो भनेका छन्, अनि यसमा नमरूञ्जेल छेडिरहनु भन्ने विचार पनि हुन्छ'(यङग, ऐजन)। हिब्रू शब्दको अर्थ 'वारपार छेड्नु,' 'छेडेर प्वाल पार्नु' हो(ऐजन)। यो शब्द जकरिया १२:१० मा पनि पाइन्छ।

'तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्' (जकरिया १२:१०)।

यो स्पष्ट रूपमा ख्रीष्टसम्बन्धी अगमवाणी हो, जसको शिर काँडाको मुकुटले घोचेको थियो, जसका हात र गोडाहरूमा क्रूसमा कीलाहरू ठोकिएका थिए, जसको कोखामा रोमीको भाला रोपिएको थियो। जसरी प्रेरित यूहन्नाले हामीलाई भन्दछन्,

'सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो।... धर्मशास्त्रको वचन पूरा होस् भनेर कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ,'जसलाई तिनीहरूले घोचेका छन्' (यूहन्ना १९:३४,३६,३७)।

त्यसपछि हाम्रो आजको पदको अर्को भागले भन्छ, 'ऊ हाम्रा अधर्मका निम्ति पेलियो' (यशैया ५३:३)। 'पेलियो' का निम्ति हिब्रू शब्दको अर्थ 'किच्नु' हो(यङ्ग, ऐजन)। ख्रीष्ट गेतसमनीको बगैंचादेखि नै किचिनु र पेलिनु थाल्नुभएको थियो, क्रूसमा टाँगिनुभन्दा एक रात अघि येशू

'अत्यन्त सङ्कष्टमा पर्नुभयो,...उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमीनमा खसिरहेका थिए' (लूका २२:४४)।

गेतसमनीको बगैंचामा ख्रीष्ट हाम्रो पापको बोझले मिचिनु भयो, जुन पाप त्यहाँ उहाँलाई बोकाइएको थियो।

त्यसको केही घन्टपछि ख्रीष्ट कुटाई र कोर्राको मारले गर्दा पेलिनुभयो र किचिनु भयो, जुन क्रूसमा टाँगिनुभन्दा र भालाले घोचिनु भन्दा अगाडि उहाँले सहनुभयो। तर पेलिनुको अझ गहिरो अर्थले उहाँलाई बोकाइएको हाम्रो पापको बोझालाई बुझाउँछ, जसरी प्रेरित पत्रुसले भनेका छन्,

'...उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो'(१ पत्रुस २:२४)।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो' (यशैया ५३:५)।

डा. आइजक वाट्सले आफ्नो प्रसिद्ध स्तुति-भजनमा कुरा स्पष्ट पारेका छन्

के त्यो थियो मेरा अपराधहरूका निम्ति
   क्रूसमा उहाँ पीडाले कराउनु भएको?
अचम्मको दया! अन्जान अनुग्रह
   अनि हदभन्दा पारीको प्रेम!
अन्धकारमा सूर्य लुके पनि
   त्यसको महिमाहरू बन्द भए पनि
जब ख्रीष्ट, शक्तिशाली सृष्टिकर्ता मर्नुभो
   मानिस, सृष्टिको पापका निम्ति।
('अलास! एन्ड डिड माई सेभियर ब्लिड' आइजक वाट्स,डी.डी.-१६७४-१७४८- द्वारा रचित)

२. दोस्रो, ख्रीष्टलाई हाम्रो बदलीमा दण्ड दिइयो।

हाम्रो आजको बाइबल पदको तेस्रो भागले के भन्छ ध्यान दिनुहोस्,

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो' (यशैया ५३:५)।

मैले यो पदको वास्तविक अर्थ नबुझी धेरै वर्षसम्म यो पढें। डा. डिलिटचेले यसलाई यसरी अनुवाद गरेका छन्,'यस्तो ताड्ना वा दण्ड जसले हामीमा शान्ति ल्याउँछ'(सी.एफ. केल र एफ. डिलिटचे, कमेन्टेरी अन दि ओल्ड टेस्टामेन्ट, एर्डमन्डस् पब्लिसिङ कम्पनी,१९७३, पुनर्प्रकाशित, भाग ७, पृष्ठ ३१९)। 'त्यो हाम्रो शान्ति थियो... हाम्रो सबै भलाइ, हाम्रो आशिषमय अवस्था, जुन त्यो दुःख भोगाइले उपलब्ध गरायो'(ऐजन)। यो 'ताडना' शब्दको अर्थ 'दण्ड' हो। डा. यङ्गले भनेका छन्, 'कसैले पनि यदि त्यो जुन ताडना(दण्ड) आयो(ख्रीष्टमाथि), त्यसको उद्देश्य प्रायश्चित गर्नु थियो भनी जोड् दिन्छ भने उसले त्यो पद बुझेर पढिरहेको हुँदैन'(यङ्ग, ऐजन, पृष्ठ ३४९)। परमेश्वरको दण्ड ख्रीष्टमाथि पऱ्यो- प्रायश्चित गर्दै र पापको विरुद्ध भएको परमेश्वरको क्रोध शान्त पार्दै। डा. जोन गिलले त्यो कुरा भनेका छन् जुन भन्न धेरै जना आधुनिक टिप्पणीकारहरू डराउँछन्, अनि तिनले सही कुरा नै भनेका छन्,

हाम्रो शान्तिको दण्ड उहाँमाथि पऱ्यो; अर्थात्, हाम्रा पापहरूको दण्ड उहाँलाई बोकाइयो, यसरी उहाँद्वारा परमेश्वरसँग हाम्रो शान्ति र मिलाप भयो..., जसद्वारा परमेश्वरको क्रोध शान्त पारियो, न्याय पूरा गरियो र मिलाप गराइयो (जोन गिल,डी.डी.एन एक्स्पोजिसन अफ दि ओल्ड टेस्टामेन्ट, द ब्याप्टिस्ट स्टेन्डर्ड बेरिअर, १९८९ पुनर्प्रकाशित, भाग १, पृष्ठ ३१२)।

प्रेरित पावलले ख्रीष्टले परमेश्वरको क्रोधको निम्ति 'प्रायश्चित' गर्नुभएको कुरा गर्दै यसरी लेखेका छन्,

'ख्रीष्ट येशूः जसलाई परमेश्वरले उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो' (रोमी ३:२४,२५)।

'प्रायश्चित' द्वारा प्रेरितले भन्न खोजेका अर्थ के हो त्यो श्री ग्रिफिथले प्रवचनभन्दा अगाडि गाएका भजनमा अलबर्ट मिडलेनले बताएका छन्,

उहाँले सहनु भएको क्रोध कुनै जिब्रोले भन्न सक्दैन,
   जुन क्रोध मैले सहनु पर्थ्यो;
पापले पाउन योग्य कुरा, उहाँले सब सहनुभयो
   पापीलाई छुटकारा दिन।

एउटा थोपा पनि बाँकी रहँदैन,
   'अब सिद्धियो' उहाँ कराउनु भो
एउटा फलदायी स्रोतबाट उहाँले पिउनु भो
   क्रोधको कचौरा भो रित्तो
('द कप अफ रयाथ्' अलबर्ट मिडलेन-१८२५-१९०९- द्वारा रचित)

ख्रीष्टलाई तपाईंको बदलीमा ताडना दिइयो, दण्ड दिइयो, यसरी तपाईंको पापको विरुद्ध भएको परमेश्वरको क्रोधको दण्ड शान्त गराइयो।

'हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो' (यशैया ५३:५)।

३. तेस्रो, ख्रीष्टले उहाँका कोर्राका चोटहरूद्वारा हाम्रो पाप निको पार्नुहुन्छ।

कृपया, खडा भएर यो पद ठूलो सोरमा पढ्नुहोस्, अनि 'उसको कोर्राको चोटले हामी निको भयौं' भन्ने अन्तिम वाक्यांशमा राम्रो ध्यान दिनुहोस्,

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं' (यशैया ५३:५)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

'र उसको कोर्राको चोटले हामी निको भयौं।' 'चोटहरू' भनेको हिब्रूमा 'घाउहरू' हुन्(Strong)। प्रेरित पत्रुसले १ पत्रुस २:२४ मा यो पद उल्लेख गरेका छन्।' पत्रुसले प्रयोग गरेका ग्रीक शब्दलाई 'चोटहरू' भनी अनुवाद गरिएको छ। यसको अर्थ 'हिर्काइएका दागहरू' हुन्। म विश्वास गर्छु, यशैया ५३:५ र पहिलो पत्रुस २:२४ को 'उसको कोर्राको चोटले हामी निको भयौं' शब्दहरूले विशेष गरी ख्रीष्टले कोर्रा खानुभएको कुरालाई बुझाउँछ। म विश्वस्त छु, येशू क्रूसमा टाँगिनुभन्दा केही समय अगाडि यहूदियाका राज्यपाल पिलातसको आदेशमा सिपाहीहरूले उहाँलाई कोर्राले हानेका थिए। बाइबलले भन्छ,

'तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए' (यूहन्ना १९:१)।

'तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए' (मत्ती २७:२६)।

डब्ल्यु. इ. भाइनले 'कोर्रा लगाइयो' भन्ने ग्रीक शब्दको अनुवादमाथि टिप्पणी गर्दै,'ख्रीष्टले सहनुभएको र पिलातसको आदेशमा उहाँलाई लगाइएको कोर्राको बारेमा चर्चा गरेका छन्। कोर्रा लगाउने रोमीहरूको तरिकाअनुसार त्यो व्यक्तिको वस्त्र खोलेर नाङ्गो पारिन्थ्यो र एउटा खामोमा निहुराएर बाँधिन्थ्यो। त्यस्तो कोर्रा पशुको छालाका लामा-लामा टुक्राद्वारा बनेको हुन्थ्यो, जसको टुप्पामा तिखा-तिखा हड्डी वा शिशाका टुक्राहरू हुन्थे, जसले पिठ्यूँ र छाती दुवैका मासुहरू चिथ्रा-चिथ्रा पार्थ्यो। इसुबियस (इतिहासकार)ले त्यस्तो व्यवहार सहेर मरेका शहिदहरू आफूले देखेका कुरा उल्लेख गरेका छन्'(डब्ल्यु. इ. भाइन,एन एक्स्पोजिटेरी डिक्सनेरी अफ द न्यू टेस्टामेन्ट वर्डस, फ्लेमिङ एच. रिभेल कम्पनी, १९६६, पुनर्प्रकाशित, भाग ३ पृष्ठ ३२७,३२८)। 'कोर्रा लगाउने' भन्ने शब्द प्रभु येशूले पनि उहाँको आउने दुःख-भोगसम्बन्धी अगमवाणीमा प्रयोग गर्नुभएको छ, जुन बेला उहाँले यसो भन्नुभयो,

'हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्। उसलाई गिल्ला गर्न,कोर्रा लगाउन र क्रूसमा टाँग्न...' (मत्ती २०:१८,१९)।

स्पर्जनले ख्रीष्टलाई कोर्रा लगाइएको विषयमा यस्तो टिप्पणी गरेका छन्:

सीधा खडा हुनुहोस्, अनि रोमी खम्बामा (येशूलाई)बाँधिएको अनि क्रूरतासाथ कोर्रा लगाइएको हेर्नुहोस्। कोर्राका ती भयानक मारहरू सुन्नुहोस्, रगत बगिरहेका घाउहरू हेर्नुहोस्, अनि उहाँको धन्य शरीरमा पनि उहाँ कसरी पीडोको पिण्ड बन्नुभयो सो हेर्नुहोस्। त्यसपछि उहाँको प्राणलाई कसरी पिटियो त्यसमा ध्यान दिनुहोस्। उहाँको भित्रिय आत्मा यातनाले चोटैचोट नहुञ्जेल कोर्रा उहाँको आत्मामा कसरी बर्सिरहेछ सुन्नुहोस्, असहनीय, जुन उहाँले हाम्रो निम्ति सहनुभयो...एकाग्रचित्तले यो गम्भीर विषयमाथि मनन गर्नुहोस्, अनि म प्रार्थना गर्छु कि, तपाईं र म, (येशूको) यो अतुलनीय दुःख-भोगमाथि एकसाथ विचार गर्न सक्नेछौं, अनि हाम्रा हृदय हामीभित्रै उहाँप्रतिको कृतज्ञतापूर्ण प्रेमले पग्लिनेछ'(सी.एच. स्पर्जन, 'क्रिस्टोपेथी,'द मेट्रोपोलिटन टेबरनेकल पुल्पिट, पिलग्रिम पब्लिकेसन्स, १९७६ पुनर्प्रकाशित भाग ५३, पृष्ठ १३)।

फेरि, स्पर्जनले फेरि हाम्रा पापका निम्ति उहाँले कोर्रा र क्रूसको मृत्यु सहनुभयो भनी भनेका छन्। येशूलाई कोर्रा लगाइँदा र क्रूसमा टाँग्दा उहाँले तपाईं र मेरो निम्ति नै त्यस्ता कोर्राका चोटहरू सहनुभयो। स्पर्जनले भनेका छन्,

निश्चय उहाँका दुःखहरूमा हाम्रो पनि भाग थियो। अहो, 'उहाँले खानुभएका कोर्राका चोटहरूमा हामी निको भएका छौं' भन्ने कुरामा हामी त्यत्ति नै निश्चित छौं। प्रिय मित्र, तपाईंले उहाँलाई प्रहार गर्नुभयो(उहाँलाई हिर्काउनुभयो),र उहाँलाई चोट पार्नुभयो, त्यसकारण 'उहाँका कोर्राको चोटहरूले म निको भएको छु' भन्न नसकुञ्जेल तपाईं विश्राम नगर्नुहोस्। यदि हामी उहाँले खानुभएका कोर्राका चोटहरूले निको हुनु हो भने हामीमा उहाँ(येशू)को दुःख-भोगको व्यक्तिगत ज्ञान हुनै पर्छ। हामीले यो महान् बलिदानमाथि आफ्ना हातहरू राख्नै पर्छ, अनि त्यसरी यसलाई स्वीकार गर्न पर्छ(त्यो हाम्रो निम्ति हो भनेर); किनकि ख्रीष्ट पिटिइनु भएको थियो भनी जानेर पनि 'उहाँका कोर्राको चोटहरूले म निको भएको छु' भनी नजान्नु एक दयनीय(भयानक) कुरा हुनेछ। यदि परमेश्वरले पापलाई एक रोग नठान्नुभएको भए निको हुने विषयमा कुराकानी गर्ने कुनै आवश्यकता थिएन(ऐजन, पृष्ठ १४)। 'उहाँका कोर्राका चोटहरूले हामी निको भएका छौं।' यो अस्थायी समाधान होइन, यो एउटा यस्तो औषधी हो, जसले यस्तो स्वास्थ्य ल्याउँछ, जसले तपाईंको प्राणलाई पूर्ण रूपले स्वस्थ्य बनाउँछ,जसको कारण मानिस(अरूहरूको साथमा मिलेर)ले अन्त्यमा परमेश्वरको सिंहासनको अगाडि पवित्र जनहरूको बीचमा 'उहाँका कोर्राको चोटहरूले हामी निको भएका छौं' भनी गाउनेछ।' रगतपच्छे हुनुभएका ख्रीष्टको महिमा होस्! उहाँलाई सदासर्वदा सारा आदर, पराक्रम र अधिकार र प्रशंसा भइरहोस्। अनि सबै (निको हुनेहरू)ले भनून्, आमिन अनि आमिन'(ऐजन, पृष्ठ २१)।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं' (यशैया ५३:५)।

तर यी कुराहरू जानेर मात्र तपाईं उद्धार पाउनुहुन्न! जबसम्म यो पदमा भएको ख्रीष्टको दुःखले तपाईंको हृदयलाई खिँच्दैन तबसम्म तपाईं परिवर्तन हुनुहुन्न! बाइबलको यो पद तपाईंको हृदयमा बसोस्। यी वचनहरूले तपाईंको प्राणलाई ख्रीष्टको धेरै चाहना गर्ने बनाऊन्।

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं' (यशैया ५३:५)।

यी वचनहरूले तपाईंलाई ख्रीष्टमा विश्वास गर्ने व्यक्ति बनाओस्, र तपाईंलाई हरेक पापबाट निको पारोस्, ताकि तपाईं यसो भन्न सक्नुहोस्, 'उहाँले खानुभएका कोर्राका चोटहरूले म पापको यातनाबाट अहिले र सधैंका निम्ति निको भएको छु।' आमिन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि पवित्रशास्त्र पठन गरियो, पास्टरद्वारा – यशैया ५२:१३-५३:५
प्रवचन अघि बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('द कप अफ रयाथ्' अलबर्ट मिडलेन-१८२५-१९०९- द्वारा रचित)


रूपरेखा

येशू छेडिनुभयो, चोटैचोट हुनुभयो र पिटिइनु भयो

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ६)
JESUS WOUNDED, BRUISED AND BEATEN
(SERMON NUMBER 6 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं'(यशैया ५३:५)।

(रोमी १:२१,२८)

१.  पहिलो, ख्रीष्ट हाम्रा अपराधहरूका निम्ति छेडिनुभयो, हाम्रा अधर्मका निम्ति पेलिनुभयो। यशैया ५३:५क; जकरिया १२:१०; यूहन्ना १९:३४,३६,३७; लूका २२:४४; १ पत्रुस २:२४

२.  दोस्रो, ख्रीष्टलाई हाम्रो बदलीमा दण्ड दिइयो। यशैया ५३:५ख; रोमी ३:२४,२५

३.   तेस्रो, ख्रीष्टले उहाँका कोर्राका चोटहरूद्वारा हाम्रो पाप निको पार्नुहुन्छ।
यशैया ५३:५ग; यूहन्ना १९:१; मत्ती २७:२६; २०:१८,१९