Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




ख्रीष्टको दुःख-भोगः साँचो र झुटो

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ५)
CHRIST’S SUFFERING – THE TRUE AND THE FALSE
(SERMON NUMBER 5 ON ISAIAH 53)
(Nepali)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

आइतबार बिहान, १७ मार्च, २०१३ मा लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Morning, March 17, 2013

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४) ।


यो पदको पहिलो भागले भन्छ, प्रभु येशूले 'निर्बलताहरू बोक्नुभयो, र हाम्रा दुःख भोग्नुभयो।' यस पदको यो भाग नयाँ करारको पुस्तकमा मत्ती ८:१७ उदधृत गरिएको छ।

'यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, 'उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो'(मत्ती ८:१७)।

मत्ती ८:१७ यशैयाको अगमवाणीबाट सीधै गरिएको उदधृतभन्दा बढी एउटा निवेदन हो। डा. एडवर्ड जे. यङ्गले भनेका छन्,'मत्ती ८:१७ को उल्लेख उचित छ, किनकि यहाँ बिमारीको वर्णन गरिए पनि त्यसले स्वयम् पापलाई संकेत गर्दछ, त्यो पदमा पापका परिणामहरू हटाइने विचार पनि सामेल गरिएको छ। बिमारी पापको अभिन्न संगी हो'(एडवर्ड जे. यङ्ग, पीएचडी.द बुक अफ आइजैया, विलियम बी. एर्डमन्डस् पब्लिसिङ कम्पनी, भाग ३, पृष्ठ ३४५)।

मत्ती ८:१७ मा जुन प्रायश्चितको कुरा छ त्यो बिमारी निको हुने विषयमा लागू हुन्छ। तर हामीले यो याद राख्नुपर्छ, त्यो निवेदन मत्तीले मात्र दिएका छन्, र त्यो हाम्रो आजको पदको मुख्य अर्थ होइन। प्रोफेसर हेन्जस्टेनवर्गले त्यस दास(ख्रीष्ट)ले पापलाई त्यसका परिणामहरूसहित बोक्नुहुन्छ, र ती परिणामहरूमध्ये बिमारीहरू र पीडाहरूले मुख्य स्थान लिन्छ भनी ठिकै भनेका छन्। हामीले यसमा ध्यान दिनुपर्छ, कि ख्रीष्टले साँच्चै हाम्रा बिमारीहरू बोक्नुभयो भन्ने कुरामा जोड् दिनाका निम्ति मत्तीले जानीजानी कुरा अर्कोतिर(यशैया ५३:४ को हिब्रू)लगेका छन्'(यङ्गको त्यही पुस्तकमा उदधृत, पृष्ठ ३४५, पादटिप्पणी १३)।

सुसमाचारका चार ओटा पुस्तक ध्यान लगाएर पढदा यो थाहा पाइन्छ, कि ख्रीष्टले मानिसको हृदय परिवर्तन हुँदा उसको आत्मालाई निको पार्न सक्नुहुन्छ भन्ने प्रमाणको रूपमा रोग-बिमारी निको पार्नुभयो। यसको उदाहरण दश जना कुष्ठरोगीहरूमा देख्न सकिन्छ, जसले येशूलाई पुकार्दै यसो भने,'हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्'(लूका १७:१३)। येशूले तिनीहरूलाई मन्दिरमा गएर पूजाहारीहरूकहाँ आफैलाई देखाउनू भन्नुभयो, अनि तिनीहरू जाँदजाँदै निको भइहाले'(लूका १७:१४)। तिनीहरू ख्रीष्टको शक्तिले शारीरिक रूपमा निको भए, तर तिनीहरूले उद्धार पाएका थिएनन्। तिनीहरूमध्ये एक जना मात्र फर्केर आयो। ऊ येशूकहाँ फर्केर आएपछि उसको हृदय परिवर्तन हुँदा उसका पापहरूका निम्ति आत्मिक चंगाइ पनि पायो,'र येशूलाई धन्यवाद दिएर ऊ येशूका पाउमा घोप्टो पऱ्यो'(लूका १७:१६)। अनि येशूले उसलाई भन्नुभयो,'उठ, र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ'(लूका १७:१९)। यही बेला ऊ आत्मिक रूपमा साथै शारीरिक रूपमा निको पारिएको थियो। यो हामी येशूले गर्नुभएका धेरैओटा आश्चर्यपूर्ण चंगाइका कार्यहरूमा देख्दछौं, जस्तै यूहन्नाको सुसमाचार नौ अध्यायमा दृष्टिहीनले दृष्टि पाएको घटनामा। पहिले त्यस मानिसलाई दृष्टिहीनताबाट निको पारियो, तर उसले येशू 'एक अगमवक्ता' मात्र हुनुहुन्छ भन्ने सोच्यो(यूहन्ना ९:१७)। पछिबाट उसले भन्यो,

'प्रभु, म विश्वास गर्दछु।' र उसले उहाँलाई दण्डवत गऱ्यो (यूहन्ना ९:३८)।

अनि मात्र त्यस व्यक्तिले उद्धार पायो।

त्यसकारण हामी शारीरिक चंगाइ दोस्रो कुरा हो, अनि यशैया ५३:४ ले आत्मिक चंगाइमा विशेष जोड् दिएको छ। डा. जे. भेर्नोन मेकजीले भनेका छन्,

यशैयाको यो खण्डले हामी हाम्रा अपराध र अधर्महरूबाट(यशैया ५३:५) निको पारिएका छौं भनी स्पष्ट भन्दछ। तपाईं मलाई भन्नुहोस्,'के यस विषयमा तपाईं निश्चय हुनुहुन्छ?' म जान्दछु, यी पदहरूले त्यही विषयमा कुरा गरेका हुन्, किनकि पत्रुस भन्छन्,'हामी पापको लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौं'(१ पत्रुस २:२४)। केबाट निको भएको? 'पापहरूबाट।' पत्रुसले पापको बारेमा नै आफूले कुरा गरेका हुन् भनी स्पष्ट बताएका छन्'(मेकजी, ऐजन, पृष्ठ ४९)।

यो व्याख्याले हामीलाई हाम्रो आजको मूल पदमा फर्काएर लैजान्छ,

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४)।

यो पद स्वाभाविक रूपले दुइ भागमा बाँडिन्छः(१) ख्रीष्टले दुःख भोग्नुभएको वास्तविक कारण, जुन बाइबलमा दिइएको छ, अनि(२) अन्धो मानिसहरूले विश्वास गरेका झुटो कारण।

१. पहिलो, ख्रीष्टले दुःख भोग्नुभएको वास्तविक कारण, जुन पवित्रशास्त्रमा दिइएको छ

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो..” (यशैया ५३:४)।

यो 'निश्चय' भन्ने शब्द ख्रीष्टले दुःख भोग्नुभएको वास्तविक कारण र अन्धो मानिसहरूले विश्वास गरेका झुटो कारणबीच भिन्नता देखाउँछ। 'निश्चय' साँचो भनाइ हो भने, 'तापनि' झुटो भनाइ हो,

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४)।

साथै, 'दुर्बलताहरू' र 'दुःखहरू' भन्ने शब्दहरूलाई पनि बुझ्नुपर्छ। 'दुर्बलताहरू' का निम्ति प्रयोग गरिएको हिब्रू शब्दको अर्थ 'रोगहरू' हो। यो शब्द यशैयाले १:५,६ मा 'पाप'को प्रतिशब्दको रूपमा प्रयोग गरेका छन्। यस पदमा पनि यो 'पाप'को प्रतिशब्द हो। निर्बलताले पापको बिमार र रोगलाई बुझाउँछ। 'दुःखहरू'ले पापले उत्पन्न गर्ने कष्ट, वेदनालाई बुझाउँछ, अनि त्यसको अर्थ स्वयम् पापको रोग र त्यसको पीडा हो।

त्यसपछि 'बोक्यो' शब्दमा ध्यान दिनुहोस्। यसको अर्थ 'बोक्नु' हो। तर यसको 'अर्थ हटाउनु(वा बोक्नु) मात्र नभएर त्योभन्दा बढी हो। यसमा बरू उठाउनु र लैजानु भन्ने धारणा छ(यङ्ग,ऐजन, पृष्ठ ३४५)। ख्रीष्टले ती पापहरू उठाउनुहुन्छ, जुन मानिसको हो, ती उहाँले आफै उठाउनुहुन्छ, र ती पापहरू हटाउनुहुन्छ। ख्रीष्टले उहाँको क्रूस उठाउनुभयो र त्यो बोकेर कल्भरीतिर जानुभयो, यसैले उहाँले विश्वास गर्ने मानिसको पाप उठाउनुहुन्छ र त्यो बोकेर टाढा लैजानुहुन्छ। प्रेरित पत्रुसले ख्रीष्टको सम्बन्धमा भनेका निम्न वचनको अर्थ त्यही नै हो,

'उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो'(१ पत्रुस २:२४)। ।

जसरी श्री केल र डिलिटचेको टिप्पणीको पुस्तकले भन्दछ,

यसको अर्थ ख्रीष्ट हाम्रो दुःखको संगतिमा प्रवेश गर्नुभयो भन्ने मात्र होइन, तर उहाँले ती दुःखहरू आफैमा लिनुभयो जुन हामीले भोग्न पर्थ्यो र हामी त्यो भोग्ने लायकका पनि थियौं, यसैले त्यो उहाँले हटाउनु मात्र भएन तर हामीलाई त्यसबाट छुटकारा दिन उहाँले त्यो आफैले(उहाँको शरीरमा) बोक्नुभयो। तर जब एक जना व्यक्तिले अरू कसैले भोग्नुपर्ने दुःख आफैमाथि लिन्छ, र उसको साथमा त्यो सहने मात्र नगरेर उसको स्थान नै लिन्छ, तब त्यसलाई प्रतिस्थापना भनिन्छ(फ्रान्ज डिलिटचे, टीएचडी.कमेनटेरी अन दि ओल्ड टेस्टामेन्ट इन टेन भल्यूम्स्, विलियम बी. एर्डमन्डस् पब्लिसिङ कम्पनी, १९७३, पुनर्प्रकाशित, भाग ७, पृष्ठ ३१६)।

ख्रीष्टले उहाँको आफ्नै शरीरमा हाम्रा पापहरू उठाउनुभयो अनि हटाउनुभयो, माथि कल्भरी डाँडामा, क्रूसमा, अनि त्यहाँ उहाँले हाम्रा पापहरूको दाम तिर्नुभयो। 'यसैलाई प्रतिस्थापना भनिन्छ। 'अपमान र ठूलो गिल्ला सहेर।' हामी यो भजन गाऔं!

अपमान र ठूलो गिल्ला सहेर
मेरो स्थानमा उहाँ निन्दित भई उभिनुभो
मेरो क्षमा उहाँको रगतले पक्का गर्दै
हल्लेलूयाह, कति अचम्मका उद्धारकर्ता!
('हल्लेलूयाह, कति अचम्मका उद्धारकर्ता' फिलिप पी. ब्लिसद्वारा रचित,१८३८-१८७६)

'तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो।' (यशैया ५३:५)।

'पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो' (१ कोरिन्थी १५:३)।

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो.. (यशैया ५३:४)।

डा. डब्ल्यु. ए. क्रिसवेलले भनेका छन्,

क्रूसमा भएको ख्रीष्टको मृत्यु हाम्रा पापहरूको फल र परिणाम हो। प्रभु येशूको हत्या कसले गऱ्यो? महिमाका राजकुमारलाई कसले मृत्युदण्ड दियो? कसले उहाँलाई क्रूसमा कीला ठोकिदिए, जहाँ उहाँले दुःख भोग्नुभयो र मर्नुभयो? त्यो कसको गल्ती थियो? हामीले यो मानिलिनु पर्छ कि त्यसमा हामी सबैको हिस्सा थियो। मेरा पापहरूले उहाँको शिरमा काँडाको मुकुट पहिरायो। मेरा पापहरूले उहाँका हातहरूमा तीखा कीलाहरू ठोके। मेरा पापहरूले उहाँको मुटुमा भाला रोपे। मेरा पापहरूले प्रभु येशूलाई क्रूसमा कीला ठोके। हाम्रा प्रभुको मृत्युको अर्थ त्यही नै हो(डा. डब्ल्यु. ए. क्रिसवेल, पीएचडी,'द बल्ड अफ द क्रस,'मेसेज फ्रम माई हार्ट, रिल पब्लिकेसन्स्,१९९४, पृष्ठ ५१०-५११)।

'पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो' (१ कोरिन्थी १५:३)।

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो.. (यशैया ५३:४)।

'अपमान र ठूलो गिल्ला सहेर।' हामी यो भजन फेरि गाऔं!

अपमान र ठूलो गिल्ला सहेर
मेरो स्थानमा उहाँ निन्दित भई उभिनुभो
मेरो क्षमा उहाँको रगतले पक्का गर्दै
हल्लेलूयाह, कति अचम्मका उद्धारकर्ता!

ख्रीष्टले दुःख भोग्नुभएको वास्तविक कारण त्यही नै हो- तपाईंका पापहरूको मूल्य तिर्नु। तर मानव जातिले त्यसको अन्धोपन र विद्रोहमा यो सुन्दर र उद्धार गर्ने ख्रीष्टको यो सट्टाको मृत्युको सत्यतालाई बङ्ग्याएको छ। यसले हामीलाई दोस्रो बुँदातिर लैजान्छ।

२. दोस्रो, ख्रीष्टको दुःख-भोगको विषयमा दृष्टिहीन मानिसहरूले दिएका झुटो कारण

हाम्रो आजको बाइबल पद फेरि हेर्नुहोस्। हामी सबै खडा भएर एक साथ जोडले यो पढौं।

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४)।

तपाईंहरू बस्न सक्नुहुन्छ।

'तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं।' 'हामी' मानव जाति आदमबाट आएका सन्तान हौं। स्वयम् शैतानद्वारा अन्धो पारिएका छौं, हामी ख्रीष्टको दुःख-भोग हाम्रो सट्टामा थियो, उहाँले हाम्रो स्थान लिनुभयो, उहाँ हाम्रो प्रतिनिधि हुनुहुन्थ्यो भनी बुझ्न असफल भयौं। हामीले उहाँलाई बिचरा मूर्ख, सायद बौलाहा वा भ्रममा परेको, वा फरिसीहरूले भनेको जस्तो 'भूत लागेको' व्यक्ति ठान्यौं, जसले स्थापित व्यवस्थाको विरुद्ध कुरा गर्दै र जोड्ले कराउँदै आफैमाथि दुःख-कष्ट ल्याउनुभयो। अय्यूबका मित्रहरूझैं, हामीले उहाँका आफ्नै पापहरू र मूर्खताहरूले उहाँको विरुद्धमा मानिसहरूका क्रोध ल्यायो भन्ने सोच्यौं। हामीले उहाँलाई बिनाकारण मर्नुभएको एक सहिद ठान्यौं। कुनै न कुनै बेला हामीमध्ये धेरैले येशू केही ज्यादा नै कट्टरवादी हुनुहुन्थ्यो भन्ने सोचेका छौं। हामीमध्ये धेरैले यो सोचेका छौं, कि येशूले धर्मगुरुहरूलाई रिस उठाउनुभयो र आफ्नै निम्ति मृत्यु ल्याउनुभयो।

हिर्काइएको? हो, हामी जान्दछौं, उहाँ हिर्काइनुभएको थियो! पिटिएको? हो, हामी जान्दछौं, उहाँ पिटिइनु भएको थियो! दुःखमा परेको? हो, यो पनि हामी जान्दछौं। हामी जान्दछौं, तिनीहरूले आफ्नो मुड्कीले उहाँको अनुहारमा हाने। हामी जान्दछौं, तिनीहरूले उहाँलाई कोर्राले हिर्काए। हामी जान्दछौं, उहाँलाई क्रूसमा कीला ठोकियो। यी कुराहरू प्रायः सबैले नै जान्दछन्। तर हामीले ती कुराहरूलाई बङ्ग्याएका छौं। ती कुराहरूलाई गलत प्रकारले बुझेका छौं। हामीले यो बुझेनौं, कि उहाँले हाम्रा निर्बलताहरू बोक्नुभएको थियो, हाम्रा दुःखहरू भोग्नुभएको थियो। जब हामीले आफ्नो मनमा उहाँलाई क्रूसमा कीला ठोकिनुभएको देख्यौं, तब उहाँले आफ्नै विद्रोह र गल्तीहरूका निम्ति दण्ड पाइरहनुभएको छ भन्ने सोच्यौं।

'तर होइन! त्यो त हाम्रा अपराधहरूका निम्ति थियो, हाम्रा अधर्महरूका निम्ति थियो, अनि हाम्रो मिलाप(परमेश्वरसँग) होस् भनेर, अनि हामी निको(पापबाट) हुन सकौं भनेर थियो। वास्तविक कुरा यो हो, कि बरालिने र आफ्नै इच्छामा चल्ने त हामी थियौं, अनि परमेश्वरले हाम्रा अधर्महरू उहाँलाई बोकाउनुभयो, जो पापरहित प्रतिस्थापन हुनुहुन्थ्यो'(विलियम मेकडोनाल्ड,बिलिभर्स बाइबल कमेनटेरी, थोमस नेलसन पब्लिसर्स्,१९९५, पृष्ठ ९७९)।

हाम्रो दोषका साटो दिनुभयो हामीलाई शान्ति
हाम्रो बन्धनबाट दिनुभयो छुटकारा
अनि उहाँका कोर्राका चोटहरूले, अनि उहाँका कोर्राका चोटहरूले
अनि उहाँका कोर्राका चोटहरूले, हाम्रा आत्माहरू निका भए
('उहाँलाई चोट पारियो' थोमस ओ. चिसोल्मद्वारा रचित,१८६६-१९६०)

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४)।

श्रीमान ग्रिफिथ, कृपया त्यो पद गाउनुहोस्।

के त्यो तपाईंको निम्ति सत्य भएको छ? के प्रभु येशू तपाईंका पापहरू बोक्न होइन तर अरू कारणले क्रूसमा मर्नुभएको हो भन्ने सोच्नुभएको छ? त्यसो हो भने, अब ख्रीष्ट तपाईंका पापहरूको दण्ड हटाउन तपाईंको स्थानमा मर्नुभएको हो भन्ने जानेर के उहाँमाथि विश्वास गर्नुहुन्छ? के तपाईं परमेश्वरका पुत्रमा विश्वास गरी उहाँको अन्मोल रगतद्वारा धर्मी र शुद्ध ठहरिनुहुन्छ?

म तपाईंलाई उहाँको दुःख र मृत्युको विषयमा तपाईंको मनमा भएको हरेक गलत विचार हटाउनुहोस् भनी आग्रह गर्दछु। उहाँ तपाईंका पापहरूको मूल्य तिर्न मर्नुभयो। उहाँ मरेकोबाट फेरि जीवित हुनुभएको छ। उहाँ अहिले स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। म तपाईंलाई आग्रह गर्दछु, उहाँमाथि विश्वास गर्नुहोस् र तपाईंका पापहरूबाट उद्धार पाउनुहोस्।

तर येशूको बारेमा यी कुराहरू जानेर मात्र पुग्दैन। तपाईं उहाँको मृत्युको बारेमा यी सबै कुराहरू जानेर पनि एक ख्रीष्टियन नबनेको हुन सक्छ। तपाईं क्रूसमा भएको ख्रीष्टको प्रतिस्थापनाको मृत्युको बारेमा जान्न सक्नुहुन्छ, उहाँ पापीहरूको स्थानमा मर्नुभयो भनी जान्न सक्नुहुन्छ, तापनि परिवर्तन नभएको हुन सक्छ। तपाईंले बौरी उठ्नुभएका येशू ख्रीष्टमा विश्वास गर्नैपर्छ। तपाईंले वास्तवमा उहाँमाथि विश्वास गर्नुपर्छ र उहाँमा समर्पण गर्नुपर्छ। उद्धार पाउने बाटो उहाँ नै हुनुहुन्छ। उहाँ अनन्त जीवनमा पुऱ्याउने ढोका हुनुहुन्छ। श्रीमान ग्रिफिथले भजनको त्यो खण्ड फेरि गाउनेछन्। अहिले नै उहाँमाथि विश्वास गर्नुहोस्, अनि उहाँले तुरुन्तै तपाईंका पापहरू क्षमा गरी तपाईंलाई उद्धार गर्नुहुनेछ। यदि तपाईंको उद्धारको विषयमा हामीसँग बातचीत गर्न चाहनुहुन्छ भने श्रीमान ग्रिफिथले भजन गाउँदै गर्दा कृपया पछिल्लो कोठामा जानुहोस्।

हाम्रो दोषका साटो दिनुभयो हामीलाई शान्ति
हाम्रो बन्धनबाट दिनुभयो छुटकारा
अनि उहाँका कोर्राका चोटहरूले, अनि उहाँका कोर्राका चोटहरूले
अनि उहाँका कोर्राका चोटहरूले, हाम्रा आत्माहरू निका भए

डा. चान, कृपया, प्रभुलाई ग्रहण गर्नेहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। आमेन।


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि श्री एबेल प्रुद्योमेद्वारा पवित्रशास्त्र पठन गरियो– १ पत्रुस २:२१-२५
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('उहाँलाई चोट पारियो' थोमस ओ. चिसोल्मद्वारा रचित,१८६६-१९६०, 'ओक पार्क' को लयमा)


रूपरेखा

ख्रीष्टको दुःख-भोगः साँचो र झुटो

(यशैया ५३ अध्याय- प्रवचन संख्याः ५)
CHRIST’S SUFFERING – THE TRUE AND THE FALSE
(SERMON NUMBER 5 ON ISAIAH 53)

द्वारा डा. आर. एल. हिमर्स
by Dr. R. L. Hymers, Jr.

'निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं' (यशैया ५३:४) ।

(मत्ती ८:१७; लूका १७:१३,१४,१६,१९; यूहन्ना ९:१७,३८; १ पत्रुस २:२४)

१. पहिलो, ख्रीष्टले दुःख भोग्नुभएको वास्तविक कारण, जुन पवित्रशास्त्रमा दिइएको छ। यशैया ५३:४क; १ कोरिन्थी १५:३

२. दोस्रो, ख्रीष्टको दुःख-भोगको विषयमा दृष्टिहीन मानिसहरूले दिएका झुटोकारण, यशैया ५३:४ख