Print Sermon

यो वेबसाइटको उद्देश्य सारा संसारका, विशेष गरी तेस्रो विश्वका पास्टरहरू र मिसनरीहरूलाई सित्तैंमा प्रवचनका पाण्डुलिपी र प्रवचनका भिडियोहरू उपलब्ध गराउनु हो, जहाँ थिअलजीका सेमिनरीहरू वा बाइबल स्कुलहरू छन् भने पनि थोरै छन्।

यी पाण्डुलिपि र भिडियोहरू प्रत्येक महीना करिब २२१ देशका १५,००,००० कम्प्यूटरहरूमा वेबसाइट ठेगाना www.sermonsfortheworld.com मा जान्छन्। अरू हजारौं मानिसले यूट्यूबमा यी भिडियोहरू हेर्दछन्, तर अब तिनीहरूले चाँडै यूट्यूब छोड्नेछन्, किनकि प्रत्येक प्रवचनले तिनीहरूलाई हाम्रो वेबसाइट हेर्ने निर्देशन दिन्छ। यूट्यूबले मानिसहरूलाई हाम्रो वेबसाइट हेर्ने सल्लाह दिन्छ। प्रत्येक महीना प्रवचनका यी पाण्डुलिपिहरू ४३ वटा भाषामा १,२०,००० कम्प्यूटरहरूमा दिइन्छ। यी प्रवचनहरू कपीराईट नगरिएका हुनाले प्रचारकहरूले अनुमति नलिई ती प्रयोग गर्न सक्छन्। सारा संसारमा सुसमाचार पुऱ्याउने महान् कार्यमा हामीलाई सहायता गर्न तपाईं आफ्नो मासिक भेटी कसरी दिन सक्नुहुन्छ सो जान्नका निम्ति यहाँ क्लिक गर्नुहोस्

जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। डा. हिमसको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net




के तपाईं ख्रीष्टमा आउनुभएको छ?

HAVE YOU COME TO CHRIST?
(Nepali)

द्वाराडा. आर. एल. हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

९ नवम्बर,२००३, आइतबार बेलुकी लस एन्जलसको द ब्याप्टिस्ट टेबरनेकलमा
प्रचार गरिएको प्रवचन
A sermon preached at the Baptist Tabernacle of Los Angeles
Lord’s Day Evening, November 9, 2003

‘तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।’
(यूहन्ना ५:४०)


ख्रीष्टको समयका धार्मिक अगुवाहरूले पुरानो करार धर्मशास्त्र ध्यान लगाएर अध्ययन गर्थे। तर पवित्र धर्मशास्त्रले ख्रीष्टको बारेमा बताएको कुरा तिनीहरू बुझ्दैनथे- यसैले तिनीहरू ख्रीष्टकहाँ आएनन्, र उहाँद्वारा मुक्ति पाएनन्। तिनीहरूका बीचमा एउटा सामान्य भनाइ थियो, ‘जोसँग व्यवस्थाका वचनहरू हुन्छ, तिनीहरूसँग अनन्त जीवन हुन्छ’ (मेथ्यू हेनरी, यूहन्ना ५:३९ को टिप्पणी)। तर येशूले भन्नुभयो, कि धर्मशास्त्रले उहाँको बारेमा बताउँदछ।

‘तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने तीनै धर्मशास्‍त्र हुन्‌, तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।’ (यूहन्ना ५:३९,४०)

तिनीहरू पवित्र धर्मशास्त्रका वचनहरूमाथि भरोसा राख्थे, तर तिनीहरू ती वचनमा बताइएका ख्रीष्टमाथि विश्वास गर्दैनथे। डा. वलभुर्डले भनेका छन्, ‘त्यसरी नै आजका धेरै जना मानिस पनि बाइबल अध्ययन नै मुख्य उद्देश्य हो भनी सोच्छन्’(वलभुर्ड र जुक, द बाइबल नलेज कमेन्ट्री, भिक्टोर बुक्स, १९८४, भाग २, पृष्ठ २९२)।

तिनीहरू बाइबल पढ्छन्, अनि बाइबलका वचनहरू मा विश्वास गर्छन्- तर तिनीहरू ख्रीष्ट मा आउँदैनन्, र उहाँ माथि विश्वास गर्दैनन्।

‘तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।’ (यूहन्ना ५:४०)

पापमा पतित भएको मानव जातिमा ख्रीष्टमा भन्दा बरु अर्कै कुरामा आउने, र ख्रीष्टमा भन्दा बरु अर्कै कुरामा विश्वास गर्ने बानी हुन्छ।

‘उहाँलाई देखेर हामीले आफ्ना मुख लुकायौं।’ (यशैया ५३:३)

‘तिनीहरूका प्राणले पनि मलाई घृणा गऱ्यो।’ (जकरिया ११:८)

“लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्।’ (यूहन्ना १९:१५)

सबै मानिसले ख्रीष्टसँग यस्तै व्यवहार गर्छ। परमेश्वरको अनुग्रहबाहेक, कुनै न कुनै प्रकारले सारा मानव जातिको बारेमा यो भन्न सकिन्छ।

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौं।’ (यूहन्ना ५:४०)

परमेश्वरको अनुग्रहबिना कुनै पनि मानिस परमेश्वरकहाँ आउन सक्दैन। प्रभु येशूले भन्नुभयो,

‘मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन।’ (यूहन्ना ६:४४)

के आज बेलुकी परमेश्वरले तपाईंलाई खिँचिरहनुभएको छ? के तपाईंलाई ख्रीष्टको खाँचो छ भन्ने महसुस गर्नुहुन्छ? के उहाँबिना तपाईं हराउनुभएको छ भन्ने महसुस गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने, परमेश्वरले झुटा विचारहरूबाट तपाईंलाई स्वयम् ख्रीष्टतिर खिँचिरहनुभएको छ। मैले भनेको कुरा ध्यान लगाएर सुन्नुहोस्, र ख्रीष्टकहाँ आउनुहोस्। अहिलेसम्म तपाईं ख्रीष्टमा आउनुभएको छैन। अहिलेसम्म ख्रीष्टले तपाईंलाई यसो भनिरहनुभएको छ,

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।’ (यूहन्ना ५:४०)

१. पहिलो, मानिसहरू ख्रीष्टमा आउनुको साटो के गर्छन्?

पेन्टिकोस्टल केरेस्मेटिक पृष्ठभूमि भएका मानिसहरू अनुभव र भावनाहरूद्वारा मुक्ति पाइन्छ भन्ने सोच्छन्। त्यस्तो हुँदा परमेश्वर र मानिस बीचको मध्यस्थकर्ताको रूपमा धेरैचोटि ख्रीष्टको स्थान ‘पवित्र आत्मा’ ले लिनुहुन्छ (हेर्नुहोस्, १ तिमोथी २:५)। वास्तवमा धेरैचोटि येशूको स्थानमा ‘पवित्र आत्मा’ लाई राखिन्छ।

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।’ (यूहन्ना ५:४०)

रोमन केथोलिक पृष्ठभूमिका मानिसहरू भने ख्रीष्टको स्थानमा पश्चात्तापका कार्यहरूलाई राख्दछन्, जस्तै हृदयको चूर्णता, पाप स्वीकार र असल कर्महरू। तिनीहरू आफ्ना पापहरू एक-एक गरी स्वीकार गर्दै वा दिनदिनै ख्रीष्टको पछि लाग्ने कोसिस गर्दै मुक्ति पाउन खोज्छन्।

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।’ (यूहन्ना ५:४०)

संसारका अरू धर्म, जस्तै बौद्धधर्म, हिन्दुधर्म, ईस्लाम, यहूदीधर्म, आदि पृष्ठभूमिबाट आएका मानिसहरू मुक्ति पाउने कुरा ख्रीष्टमा छ भनी विश्वास गर्दैनन्। तिनीहरू ख्रीष्टलाई ‘एक महान् अगमवक्ता’ ठानेर उहाँलाई ओठे सेवा चढाउँछन् होला, तर ख्रीष्टले मात्र मुक्ति दिन सक्नुहु्न्छ भनी तिनीहरू विश्वास गर्दैनन्। तिनीहरू उद्धार पाउनका निम्ति प्रायः ‘असल जीवन’ जिउने कुरामा विश्वास गर्छन्।

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौं।’ (यूहन्ना ५:४०)

ब्याप्टिस्टहरू र इभान्जलिकलहरूले पनि ख्रीष्टबाहेक अरू नै कुरामा विश्वास गरेकाजस्तो देखिन्छ। डा. जोन आर. राइसले भनेका छन्,

चर्चका धेरै जना मानिसका हृदय परिवर्तन भएको छैन, तिनीहरू पुनर्जन्म नभएका पापीहरू हुन्, जो परमेश्वरको क्रोधको अधीनमा जिइरहेका छन्। आज नरकमा अनगिन्ती ...कट्टर ब्याप्टिस्टहरू छन्,... जो साँचो रूपले उद्धार नपाएका कारण नरकमा पुगेका छन्। तिनीहरूले बाटो बिराए, झुटो आशामा जिए र अहिले ठूलो यातनामा परेका छन् (डा. जोन आर, राइस, रिलिजन बट लस्ट, स्वर्ड अफ द लर्ड, १९३९, पृष्ठ ८)।

त्यसपछि डा. राइसले भनेका छन्,

बाइबलमा घरीघरी उल्लेख गरिएकोबाट यो कुरा स्पष्ट हुन्छ, कि छलमा पर्नु र झुटो आशामा भर पर्नु र अन्त्यमा अनन्तका निम्ति आफू हराएको थाहा पाउनु साँच्चै खतरनाक कुरा हुन्छ (ऐजन)।

ब्याप्टिस्टहरू र इभान्जलिकलहरूले ख्रीष्टमा विश्वास गर्नुको साटो ‘पापीले गर्ने प्रार्थना’ मा भरोसा गर्छन्। तिनीहरू भन्छन्, ‘मैले उहाँसँग मलाई मुक्ति दिनुहोस् भनी बिन्ती गरें। के त्यत्ति गरे पुग्दैन त?’ अहँ, पुग्दैन। मुक्ति पाउनका निम्ति तपाईं ख्रीष्टकहाँ आउनैपर्छ। तपाईंले आफ्नै प्रार्थनाहरूमा भरोसा राख्नुहुँदैन। तपाईंले परमेश्वरका पुत्रमा भरोसा राख्नुपर्छ। ख्रीष्टले उहाँसँग माग्नुपर्छ भनी कहिल्यै भन्नुभएन। बरु उहाँकहाँ आउनुपर्छ भन्नुभयो। ख्रीष्टले भन्नुभयो,

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’ (मत्ती ११:२८)

तपाईं धोकामा पर्नुभएको छ, किनकि उहाँकहाँ आउनुको साटो तपाईंले उहाँसँग माग्नुभएको छ।

अरूहरू ख्रीष्टकहाँ आउनुको साटो बाइबलले भनेका कुराहरूमा विश्वास गरेर धोकामा परेका छन्। तिनीहरू बाइबलमा पाइने ‘उद्धारको योजना’ को बारेमा जान्दछन्। ख्रीष्ट तिनीहरूका पापका निम्ति मर्नुभयो भन्ने कुरा पनि जान्दछन्। ख्रीष्ट मरेकोबाट फेरि जीवित हुनुभयो भन्ने कुरा पनि जान्दछन्। तिनीहरू बाइबलका ती सत्यताहरू जान्दछन्, तर तिनीहरू स्वयम् ख्रीष्टकहाँ कहिल्यै पनि आएका छैनन्। जसरी डा. वलभुर्डले भनेका छन्, ‘आजका धेरै जना मानिस बाइबल अध्ययन नै मुख्य उद्देश्य हो भनी सोच्छन्।’

तपाईं फरिसीहरूभन्दा कसरी भिन्नै हुनुहुन्छ? येशूले तिनीहरूलाई भन्नुभयो,

‘तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने तिनै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउँदैनौ।’ (यूहन्ना ५:३९,४०)

मानिसहरूले ख्रीष्टमा आउनुभन्दा त्यसको साटोमा गर्ने कुराहरू यिनै हुन्। हुन सक्छ, कहीं तपाईंले पनि यस्तै गल्ती गर्नुभएको छ कि?

२. दोस्रो, ख्रीष्टकहाँ नआई अरू उपायहरूले किन बचाउँदैन?

जब अन्तिम न्यायको समयमा तपाईं परमेश्वरको सिंहासनको अगाडि उभिनुहुन्छ, त्यसबेला येशूले तपाईंलाई यसो भन्नुहुनेछ,

‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ (मत्ती ७:२३)

उहाँले तपाईंलाई उहाँबाट दूर भएर नरकको आगोमा जानू किन भन्नुहुनेछ? किनकि ‘उहाँले तपाईंलाई कहिल्यै चिन्नुभएको छैन।’ उहाँले तपाईंलाई कहिल्यै नचिन्नुको कारण यो हो, कि तपाईं कहिल्यै पनि उहाँकहाँ आउनुभएन! कुरा यति मात्र हो!

तपाईंले प्रार्थनाका शब्दहरू उच्चारण गरेर वा बाइबलमा भएको कुनै कुरामा विश्वास गरेर उद्धार पाउने कोसिस गर्नुभयो। तर त्यस्ता कुराले कसैलाई पनि बचाउँदैनन्। बाइबलले भन्छ,

‘तिनीहरूले उहाँलाई भने, ‘परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?’ येशूले तिनीहरूलाई भन्नुभयो, ‘परमेश्वरको काम यही होः जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।’ (यूहन्ना ६:२८,२९)

एउटा मात्र ‘काम’ जुन स्वीकारयोग्य छ, त्यो येशूमा विश्वास गर्नु हो। ‘येशूमा विश्वास गर्नु’ र ‘उहाँकहाँ आउनु,’ एउटै कुरा भन्ने दुइ वटा तरिका हुन्। प्रभु येशूले भन्नुभयो,

‘मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु। ‘अनि ती सबै जना परमेश्‍वरद्वारा सिकाइनेछन्‌’ भनी अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ। प्रत्‍येक जसले पिताबाट सुन्‍छ र सिक्‍छ त्‍यो मकहाँ आउँछ। पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्‍वरबाट आएको हो, उसैले पितालाई देखेको छ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ।’ (यूहन्ना ६:४४-४७)

यस बाइबल खण्डमा हामी देख्छौं, येशूकहाँ आउनु र येशूमा विश्वास गर्नु भनेको एउटा कुरा भन्ने दुइ वटा तरिका हुन्। अब, तपाईंलाई मेरो प्रश्न यो छ,के तपाईं येशूकहाँ आउनुभएको छ? के तपाईंले उहाँमाथि विश्वास गर्नुभएको छ?

तर येशूकहाँ आउनुको परिणाम उद्धार पाउनुहुन्छ- किनकि अरू कसैले होइन, तर येशूले तपाईंलाई बचाउनुहुन्छ। अरू कोही होइन, तर येशू तपाईंको पापको मूल्य चुकाउन क्रूसमा मर्नुभयो। अरू कोही होइन, तर येशू तपाईंलाई जीवन दिन मरेकोबाट शारीरिक रूपमा फेरि जीवित हुनुभयो।

अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।’ (प्रेरित ४:१२)

तपाईं येशूकहाँ आउनै पर्छ, नत्र तपाईंले उद्धार पाउनुहुनेछैन। अरू सबै उपाय, र अरू सबै तरिका, अरू सबै मार्गले नरकतिर डोऱ्याउँछ। तर अहिलेसम्म तपाईं उहाँकहाँ आउनुभएको छैन, आउनुभएको छ र? तपाईं प्रभु येशूको विषयमा बाइबलले भनेका कुराहरूमा विश्वास गर्नुहुन्छ। तपाईंले उहाँसँग मलाई बचाउनुहोस् भनी बिन्ती पनि गर्नुभयो। तर अझै पनि तपाईं उहाँकहाँ आउनुभएको छैन- के आउनुभएको छ?

‘तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।’ (यूहन्ना ५:४०)

३. तेस्रो, तपाईं ख्रीष्टकहाँ आउनुभएको छ कि छैन भनी कसरी जान्न सक्नुहुन्छ?

तपाईं भन्नुहुन्छ होला, ‘’म ख्रीष्टकहाँ आएको छु कि छैनँ भन्ने कुरा मलाई थाहा छैन। त्यो म कसरी भन्न सक्छु र? त्यो बताउने तरिका २ कोरिन्थी १३:५ मा दिइएको छ। प्रेरित पावल भन्छन्,

‘तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर...’ (२ कोरिन्थी १३:५)

यस पदको विषयमा स्पर्जनले भनेका छन्,

आफैलाई जाँच्नुहोस्, किनकि तपाईंले गल्ती गर्नुभयो भने यो संसारमा बाहेक फेरि त्यो कहिल्यै सुधार्न सक्नुहुन्न। म मेरो आत्मालाई नरकमा जान दिनु सक्दिनँ। यदि तपाईं र मैले आफैलाई जाँचेनौं भने कति डरलाग्दो कुरा गरिरहेका हुनेछौं। त्यो एउटा अनन्त खतरा हो; त्यो स्वर्ग वा नरकको खतरा हो, परमेश्वरको अनन्त कृपा कि अनन्त सराप भन्ने खतरा हो। त्यसैले प्रेरितले भनेका छन्, ‘तिमीहरूले आफैलाई जाँच’ (सी. एच. स्पर्जन, ‘सेल्फ एक्जामिनेसन्,’ द न्यू पार्क स्ट्रीट पुल्पिट, पिलग्रिम पब्लिकेसन्स्, १९८१ पुनर्प्रकाशित, भाग २, पृष्ठ ४२९)।

डा. जे. भर्नोन मेकगीले २ कोरिन्थी १३:५ माथि आफ्नो टिप्पणी यसरी दिएका छन्,

‘पावलले हामी विश्वासमा छौं कि छैनौं भनी आफैलाई जाँच्नुपर्छ भन्छन्। हामी यो विषयको सामना गर्न तयार हुनुपर्छ’ (जे. भर्नोन मेकगी, थ्रु द बाइबल, थोमस नेलसन, १९८३, भाग ५, पृष्ठ १४५)।

दोस्रो जागृतिको समयका महान् मुख्य प्रचारक डा. असहेल नेट्टलटनले भनेका छन्,

(आफैलाई जाँच्ने) यस कार्यमा प्रत्येक व्यक्ति आफै न्यायको सिंहासनमा बस्नुपर्छ। आफ्नो प्राणलाई इमानदारीसाथ जाँच्नुपर्छ। कुनै आशा नै नहुनुभन्दा झुटो आशा हुनु अझ नराम्रो हो। यस क्षण गरिने एउटै मात्र गल्ती भयानक हुन्छ। तपाईंले कुन कुराको आधारमा स्वर्गको आशा राख्नुभएको छ त्यो जाँच्नुहोस्, नत्र तपाईंले आफ्नो गल्ती थाहा पाउनुहुँदा धेरै ढिला भइसकेको हुनेछ (असहेल नेट्टलटन,सर्मन्स फ्रम द सेकेन्ड ग्रेट अवेकेनिङ, इन्टरनेसनल आउटरिच, १९९५ पुनर्प्रकाशित, पृष्ठ ३३३)।

विगतमा फर्केर गई तपाईंले उद्धार पाउनुभएको क्षणको बारेमा सोच्नुहोस्। के तपाईं ख्रीष्टमा आउनुभएको थियो? वा तपाईंले अरू नै केही गर्नुभयो? जसरी डा. नेट्टलटनले भनेका छन्, ‘तपाईंले स्वर्गको आशा कुन जग माथि राख्नुभएको छ, त्यो राम्ररी जाँच्नुहोस्।’ के तपाईं साँच्चै ख्रीष्टमा आउनुभएको थियो? स्वयम् ख्रीष्टमा, जो तपाईंका आशाहरूका जग हुनुहुन्छ? यदि तपाईं साँच्चै ख्रीष्टमा आउनुभएको थिएन भने, आजको रात तपाईं उहाँकहाँ आउनुपर्छ। येशूले भन्नुभयो,

‘मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ’ (यूहन्ना ६:३७)

येशूले भन्नुभयो,

‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’ (मत्ती ११:२८)

मेरो आशा येशूको रगत र धार्मिकताबाहेक कुनै कुरामा निर्माण भएको छैन
म सबैभन्दा मिठो ढाँचामा भरोसा गर्ने साहस गर्दिनँ, तर पूर्ण रूपले येशूको नाउँमा भर पर्दछु।
येशू बलियो चट्टानमाथि म उभिन्छु; अरू सबै जमिन भासिने बालुवा हुन्,
अरू सबै जमिन भासिने बालुवा हुन्।
('द सलिड रक,' एडवर्ड मोटद्वारा रचित, १७९७-१८७४)


जब-जब तपाईं डा. हिमर्सलाई पत्र लेख्नुहुन्छ त्यसबेला तपाईं कुन देशमा बस्नुहुन्छ त्यो अवश्य लेख्नुहोस्, नत्र उहाँले तपाईंलाई जवाफ दिन सक्नुहुनेछैन। यदि तपाईंले यो प्रवचनबाट आशिष् पाउनुभएको छ भने डा. हिमर्सलाई ईमेल गर्दै त्यो बताउनुहोस्। डा. हिमर्सको ईमेल ठेगाना यस प्रकार छः rlhymersjr@sbcglobal.net (यहाँ क्लिक गर्नुहोस्)। तपाईं कुनै पनि भाषामा डा. हिमर्सलाई पत्र वा ईमेल लेख्न सक्नुहुन्छ, तर सक्नुहुन्छ भने अंग्रेजीमा नै लेख्नुहोस्। यदि तपाईं डाकद्वारा पत्र पठाउन चाहनुहुन्छ भने डा. हिमर्सको ठेगाना यस प्रकार छः P.O. Box 15308, Los Angeles, CA 90015. यो नम्बरमा तपाईं टेलिफोन पनि गर्न सक्नुहुन्छः (818)352-0452.

(प्रवचन समाप्त)
तपाईं डा. हिमर्सका प्रवचनहरू इन्टरनेटमा हरेक हप्ता पढ्न सक्नुहुन्छ
www.sermonsfortheworld.com मा
''नेपाली प्रवचन" मा क्लिक गर्नुहोस्।

सन्देशका पाण्डुलिपिहरूको कपीराईट गरिएको छैन। तपाईं डा. हिमर्सको अनुमति नलिई ती
प्रयोग गर्न सक्नुहुन्छ। तापनि डा. हिमर्सका सबै भिडियो सन्देशहरूको कपीराईट छ, अनुमति
लिएर ती प्रयोग गर्न सकिन्छ।

प्रवचन अघि डा. क्रिगटन एल. चानद्वारा पवित्रशास्त्र पठन गरियो– यूहन्ना ५:३९-४७
प्रवचन अघि श्री बैंजामिन किन्केड ग्रिफिथद्वारा एकल गीत प्रस्तुत गरियो।
('द सलिड रक,' एडवर्ड मोटद्वारा रचित, १७९७-१८७४)


रूपरेखा

के तपाईं ख्रीष्टमा आउनुभएको छ?

HAVE YOU COME TO CHRIST?

द्वाराडा. आर.एल.हिमर्स, जुनियर
by Dr. R. L. Hymers, Jr.

‘तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।’
(यूहन्ना ५:४०)

(यूहन्ना ५:३९; यशैया ५३:३; जकरिया ११:८; यूहन्ना १९:१५; ६:४४)

१. पहिलो, मानिसहरू ख्रीष्टमा आउनुको साटो के गर्छन्?
१ तिमोथी २:५; मत्ती ११:२८

२. दोस्रो, ख्रीष्टकहाँ नआई अरू उपायहरूले किन बचाउँदैन?
मत्ती ७:२३; यूहन्ना ६:२८,२९, ४४-४७; प्रेरित ४:१२

३. तेस्रो, तपाईं ख्रीष्टकहाँ आउनुभएको छ कि छैन भनी कसरी जान्न सक्नुहुन्छ?
२ कोरिन्थी १३:५; यूहन्ना ६:३७